सर्जन डा. किरणले बेहोस बालकको शल्यक्रिया गर्न चक्कु मात्रै के समाएका थिए भवन पुरै हल्लिन थाल्यो

सर्जन डा. किरणले बेहोस बालकको शल्यक्रिया गर्न चक्कु मात्रै के समाएका थिए भवन पुरै हल्लिन थाल्यो

प्लास्टिक तथा ह्याण्ड सर्जन डा. किरण नकर्मी आफैले नेतृत्व गरेर सात हजार भन्दा बढीको शल्यक्रिया गरेका छन्। त्यसमा रोगको जटिलता लगायतका अन्य कारणले करिब ३० वटा शल्यक्रिया सफल हुन सकेन। डा. किरण संलग्न चिकित्सकको टिमले ३० हजार भन्दा बढीको शल्यक्रिया गरिसकेको छ।

शल्यक्रिया गरेकामध्ये चार वर्ष अघिको एउटा प्रसङ्ग सम्झँदा डा. किरणलाई अहिले पनि अचम्म लाग्छ रे।

ट्रकमा मजदुरी काम गर्ने युवा कीर्तिपुर अस्पताल पुगे। उमेर करिब २८ वर्ष। ट्रकमा काम गर्ने क्रममा नै ती युवाको दायाँ हातको बुढी औँला काटेर च्वाट्टै छिनेको थियो। डा. किरणको टिमले युवाको छिनेको औला जोड्न शल्यक्रिया सुरु गर्यो। करिब ६ घण्टाको शल्यक्रियापछि छिनेको बुढी औँला जोडियो। शल्यक्रिया गरेको पाँचौँ दिनमा औँला राम्रोसँग जोडिसकेको थियो।

उपचार सफल भएपछि युवाको डिस्चार्ज गर्ने तयारी गरिरहेको थियो। डिस्चार्ज गर्नुअघि उपचारमा लागेको खर्च तिर्नुपर्ने नै भयो। ट्रकमा काम गर्ने क्रममा नै औँला छिनेकाले ट्रक मालिकले नै उपचार खर्च बेहोर्ने कुरा भएको थियो।

तर, डिस्चार्ज हुने समयमा त ती युवा अस्पताललाई उपचार बापत तिनुपर्ने पैसा नै नतिरी भागेछन्। उनैले तिर्नुपर्ने भए त भाग्नुको कारण खुल्थ्यो। तर पैसा त ट्रकको साहुले तिर्ने सहमति थियो।

भू–कम्पमा शल्यक्रिया गरिरहँदाको त्यो क्षण

२०७२ वैशाख १२ गते भू–कम्प गइरहँदा वीरगन्जस्थित नारायणी अस्पतालको शल्यक्रिया कक्षमा थिए डा. किरण। भू–कम्प गइरहँदा नारायणी अस्पतालको पुरानो भवनको पहिलो तलामा ओठ फाटेका ६ महिने बालकको शल्यक्रियाको तयारी गरिरहेका थिए डा. किरण।

शल्यक्रियाका लागि बालकलाई चिकित्सकको टिमले बेडमा एनेस्थेसिया पनि दिइसकेको थियो। बालकलाई बेहोस भइसकेका थिए। शल्यक्रियाका लागि डा. किरणले चक्कु मात्रै के समाएका थिए भू–कम्पको झड्का आइहाल्यो।

शल्यक्रिया कक्षमा दुई जना बेहोस बनाउने चिकित्सक, डा. किरण र अर्का एक चिकित्सक गरी चार जना चिकित्सकको टिम थियो। अब बेहोस बनाएको बालकलाई छोडेर कहाँ भाग्ने! कुनै उपाय थिएन। भू–कम्प गइरह्यो। चिकित्सकको टिम ती बालकलाई सम्हाल्दै अप्रेशन कक्षमा बसिरहे।

भवन भत्केर मरिने पो हो कि भन्ने डर लाग्ने नै भयो। केही बेरमा भू–कम्पको झड्का कम भयो। बेहोस बनाउने चिकित्सकले डा. किरणलाई सोधे,‘डाक्टरसाब शल्यक्रिया गर्ने कि बच्चालाई ब्यूझाउँ?’

डा. किरणले अब भूकम्प फर्कँदैन होला भनेर शल्यक्रिया गर्ने निर्णय लिए। उनले शल्यक्रिया सुरु गरे। अनि करिब आधा घण्टामा बालकको ओठ सिलाए। ठ्याक्कै शल्यक्रिया सकिएको मात्रै के थियो भू–कम्पको अर्को ठुलो झड्का आइहाल्यो।

केही बेरमा कम्पन कम भएपछि सम्हालिँदै चिकित्सकको टिमले बालकलाई बोकेर बाहिर निस्कियो। बाहिर निस्कँदा त अस्पताल पुरै खाली थियो। चौर भरी मान्छे थिए। स्थिति कोलाहलपूर्ण थियो। त्यसपछि ती बालकका बाजेलाई भेटेर डा. किरणले शल्यक्रिया गरिएका बालक दिए।

शल्यक्रिया सफल भएको नाति पाएपछि बाजे यति खुसी भएकी शब्दमा वर्णन गर्न सक्दैनन् डा. किरण। नाति पाएपछि बाजेको ओठमा देखिएको त्यो मुस्कान अहिले पनि डा. किरण सम्झन्छन्।

शल्यक्रिया कक्षबाट निस्किएर ती बाजेलाई बालक जिम्मा लगाएपछि डा. किरणले घर परिवारमा सम्पर्क गरे। सकुशल भएको खबर पाए। तर यातायात अवरुद्ध भएकाले उनी चार दिन वीरगन्जमा नै बस्नुपर्यो।

दुवै खुट्टा जलेर थला परेकी ती महिला हिँडेपछि....

उकेरासँग आफ्ना पेसाको सुख दुखबारे कुरा गर्दागर्दै उनले करिब १४ वर्ष अघि बुटवलमा स्वास्थ्य शिविरमा गएको समयको एउटा प्रसङ्ग सम्झिए।

करिब १६ वर्षीय महिलालाई गाउँलेले बोकेर अस्पताल ल्याएका थिए। ती महिलाको दुवै खुट्टा जलेर घुँडा भन्दा तलको भाग खुम्चिएको रहेछ। ती महिला हिँडडुल त परै जाओस् सिधा उठ्न समेत सक्दिन थिइन्।

ती १६ वर्षे महिलाको दुई वर्षे छोरा पनि थिए। डा. किरणको टिमले ती महिलाको घुँडा तथा खुट्टाको दुई चरणमा शल्यक्रिया गर्ने योजना बनायो। पहिलो चरणको शल्यक्रिया सफल भयो। दोस्रो चरणको शल्यक्रिया तीन महिनामा डा. किरणकै टिमले गर्यो। ती महिलाको दुवै खुट्टाको घुँडाको शल्यक्रिया सफल भयो।

शल्यक्रिया सफल भएको केही महिनापछि डा. किरणको टिम ती महिलालाई भेट्न उनकै घर पुग्यो। ती महिला राम्रोसँग हिँडडुल गर्न सक्ने भइसकेकी थिइन्। ती महिला सिलाई कटाई सिकेर कपडा सिलाउनले मात्रै हैन तालिम दिन थालेकी रहिछन्।

आफूलाई हिँड्ने बनाउने चिकित्सकको टिम देखेपछि ती महिला पनि खुसी नहुने कुरै भएन। आर्थिक अवस्था कमजोर भएकी ती महिलालाई डा.किरणको टिमले दाताको सहयोगमा कपडा सिलाउने मेशिन उपहार दिएर फर्कियो।

दुवै खुट्टा नटेक्ने महिलाको उपचार सफल भएपछि आर्थिक रूपमा पनि सक्षम भएको देख्दा निक्कै आनन्द लागेको डा. किरणले सुनाए।

बच्चाकी आमाले मिठाई खुवाइन्

कतिपय बिरामी तथा बिरामीका आफन्तले शल्यक्रिया सफल भएपछि चिकित्सकप्रति गर्ने कृतज्ञताको व्यवहार रोचक हुन्छन्।

वीरगन्जमा एक महिलाले आफ्नो दुई वर्षको बच्चाको शल्यक्रिया सफल भएपछि खुसी भएर डा. किरणलाई मिठाई खुवाइन्। ती महिलाको बच्चाको तालु फाटेको थियो। जसले गर्दा बच्चालाई बोल्न समेत समस्या थियो। डा. किरण नेतृत्वको टिमले शल्यक्रिया गरेर बच्चाको त्यो समस्या समाधान भयो।

अर्को चोटि स्वास्थ्य शिविर लिएर बीरजगञ्ज जाँदा ती बच्चाकी आमा बच्चा लिएर फलोअपमा पुगेकी थिइन्। सँगै एक बट्टा मिठाई पनि बोकेकी थिइन्। ती बच्चाकी आमाले बट्टाबाट मिठाई झिकिन्। डा. किरणले बच्चाकी आमाले दिएको मिठाई टिपेर खान खोजेका थिए। तर, ती महिलाले त किरणलाई मिठाई खुवाइदिइन्।

सन्तानको सफल उपचारपछि महिला खुसीले गदगद भएर मिठाई खुवाइदिएको त्यो क्षण सम्झँदा अहिले पनि डा. किरणको मन आनन्दित हुन्छ। चिकित्सक भएर गरेको कामप्रति सन्तुष्ट हुन्छन्।

पिपले थलिएका बिरामी

त्रिभुवन विश्व विद्यालय शिक्षण (टिचिङ) अस्पतालमा जनरल सर्जरी विषयको अध्ययन गरिरहँदा करिब २१ वर्षीय युवा अस्पतालको आकस्मिक कक्षमा आए। ती बिरामी तराइबाट शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्याइएको थियो। उनलाई जन्डिस भएको रहेछ।

बिरामीलाई ट्रलीमा राखेर डा. किरणले भिडियो एक्स–रे गराए। चेक जाँचका क्रममा बिरामीको मेरुदण्डको भागमा पिप जमेको पत्ता लाग्यो। नितम्बको जोर्नी खुम्चिएर चलाउन सक्ने अवस्थामा नै थिएनन् बिरामी। सङ्क्रमण सरेर मस्तिष्कमा पुगेकाले बिरामी बेहोस अवस्थामा थिए।

त्यसपछि तुरुन्तै राती नै चिकित्सकको टिमले ती युवाको पिप जमेको भागको शल्यक्रिया गर्यो। शल्यक्रियाको टिममा डा.किरण पनि सहभागी थिए। पिप करिब आधा लिटर निस्कियो। डा. किरणका अनुसार त्यो चुनौतीपूर्ण शल्यक्रिया थियो तर, सफल भयो। शल्यक्रिया सफल भएपछि बिरामीलाई वार्डमा सारियो।

भोलिपल्ट बिहानै डा. किरण ती बिरामीलाई खोज्दै वार्डमा पुगे। अघिल्लो दिन बेहोस अवस्थामा अस्पताल पुगेका ती बिरामी भोलिपल्ट बेडमा बसेर आफैँ खाना खाइरहेका थिए। शल्यक्रिया गरेपछि त्यति चाँडै बिरामी ठिक भएको देख्दा डा. किरणलाई सर्जरी विषयप्रति थप चासो र विश्वास बढ्यो। यो विषप्रति उनलाई थप प्रेरणा मिल्यो।

मस्तिष्कमा क्यान्सर फर्किएपछि

यी त भए सफल भएका शल्यक्रिया। सफल भएका मात्रै हैन असफल भएका घटना पनि सम्झिरहन्छन् उनी।  करिब ११ वर्ष अगाडिको एउटा यस्तै घटनाले अलि बढी मन चस्स बनाउने रहेछ उनको। घटना क्यान्सरको शल्यक्रिया सफल भए पनि २२ वर्षका युवालाई बचाउन नसकेको प्रसङ्ग।

अप्रेशन त सफल भयो। तर तीन वर्षपछि पुनः क्यान्सर फर्किएर २२ वर्षे युवाका मृत्यु भयो। यो प्रसङ्ग सम्झँदा डा.किरणको मन भारी हुन्छ।

ती युवाको टाउकामा जलेर घाउ भएको थियो। घाउ निको भए पनि घाउको खत बसेछ। त्यही खतमा क्यान्सर देखियो। अस्पताल पुग्दा ती युवाको टाउकोमा क्यान्सर भएको घाउ ठुलो भइसकेको थियो।

डा. किरणको टिमले टाउकाको त्यो घाउलाई शल्यक्रिया गरेर निकाल्यो। घाउ भएको ठाउँको हड्डी पनि निकाल्नुपर्ने भयो।  हड्डी निकालेपछि मस्तिष्क देखिने भयो। त्यसैले न्युरो सर्जनको टिमसँगको समन्वयमा टाउकामा मस्तिष्क छोप्न कृत्रिम हड्डी राखियो। शल्यक्रिया पनि सफल भयो। तर, मस्तिष्कको बोली केन्द्रमा नै क्यान्सरको ट्युमर परेकाले दुई दिनसम्म त ती युवाको बोली नै फुटेन। तर बिस्तारै बोली आयो।

दुर्भाग्य, शल्यक्रिया गरेको तीन वर्ष पछि पुनः क्यान्सर फर्किएर ती युवाको मृत्यु भयो। जटिल किसिमको शल्यक्रिया गर्दा समेत ती युवालाई गुमाउनुपर्दा डा. किरणको मन चसक्क भयो।

तर, चिकित्सकीय विधामा शतप्रतिशत सफलता मिल्छ भन्ने पनि हुँदैन। यसैमा उनी चित्त बुझाउँछन्। यसमा चित्त बुझाउनुको विकल्प पनि हुँदैन।

ताप्लेजुङ जाँदाको काहालीलाग्दो  ट्रक यात्रा

स्वास्थ्य शिविर लिएर नेपालका करिब २५ भन्दा बढी जिल्ला पुगिसकेका छन् डा. किरण। जसमध्ये ताप्लेजुङ जाँदाको यात्राको एउटा प्रसङ्ग उनी कहिल्यै भुल्दैनन्।

झापाको चार आलिबाट ताप्लेजुङको फेदीमा पुगेका थिए। रात परिसकेकाले त्यहाँ बास बसे। भोलिपल्ट बिहानै कबेली खोलाबाट उकालो लाग्नासाथ गाडी बिग्रिहाल्यो।

त्यसपछि उनीहरूले बिग्रेको गाडी त्यहीँ छोडे। आफ्नो गाडी बिग्रिएपछि सामानले टन्न भरिएको एउटा ट्रकमा औषधि तथा चिकित्सकीय उपकरण बोकेर डा. किरणको टिम ताप्लेजुङतर्फ लाग्यो। सामानले भरिएको ट्रक। उकालो, कच्ची अनि भिरालो कहालीलाग्दो बाटो थियो। करिब २५ किलोमिटर बाटो पाँच घण्टामा पार भएको उनले सुनाए। त्यो बाटो सम्झँदा अहिले पनि उनको आङ सिरिङ्ग हुन्छ।

त्यसै गरी तेह्रथुममा पनि एक पटक वर्षा याममा गएका बेला गाडी बिग्रिएर फसाद परेको प्रसङ्ग सुनाए डा. किरणले। जाँदा जाँदै भीरको बिचमा गाडी बिग्रिएछ। तलबाट पहिरो खसिरहेको थियो। माथिबाट ढुङ्गा। डरै डर।

आधा घण्टापछि गाडी बनाएर त्यहाँबाट निस्किएपछि मात्रै मन शान्त भएको उनले सुनाए।  स्वास्थ्य शिविरमा जाने सिलसिलामा नेपालका यस्ता धेरै कठिन यात्रा गरेको अनुभव छ उनीसँग।

जनरल सर्जरी’मा चासो

प्युठानको खलङ्गामा २०२७ मा जन्मिएका किरणले स्थानीय ‘महेन्द्र मावि’ बाट २०४३ मा एसएलसी उत्तीर्ण गरे। त्यसपछि उनी काठमाडौँ आए।

ललितपुरको ‘पाटन संयुक्त क्याम्पस’बाट आइएस्सी गरे। किरणलाई सानै देखि डाक्टर बन्ने इच्छा थियो। त्यसैले उनले आइएस्सीमा साइन्स विषय लिएर नै अध्ययन गरे।

आइएस्सीपछि किरणले  त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (महाराजगन्ज क्याम्पस) मा एमबिबिएस अध्ययनका लागि सन् १९९० मा भर्ना भए।

सन् १९९५ एमबिबिएस अध्ययन पूरा भयो। त्यसपछि उनले त्रिवि शिक्षण अस्पतालमा नै एक वर्ष इन्टर्नसिप गरे। सन् १९९६ मा इन्टर्नसिप सकियो।

त्यसो त अध्ययनपछि डा. किरणले आफू पढेको त्रिवि शिक्षण अस्पतालमा नै काम पाए। त्यहाँ उनले करिब तीन महिना मेडिकल अधिकृतका रूपमा काम गरे। दुई महिना तिलगंगा आँखा अस्पतालमा काम गरे।

त्यसपछि डा. किरणले चिकित्साशास्त्र अध्ययन संस्थानमा नै सन् १९९७ बाट स्नातकोत्तर तहको ‘एमएस’ ‘जनरल सर्जरी’ विषय अध्ययन गर्न थाले। सन् २००० मा एमएस जनरल सर्जरी विषयको अध्ययन पूरा भयो।

मध्यमवर्गीय परिवारमा जन्मेका उनी परिवारको पहिलो डाक्टर  रहेछन्। त्यसैले किरणलाई डाक्टर पढाउने बुवाको ठुलो सपना थियो।

डा. शंकरमानको त्यो प्रेरणाले देखाएको बाटो

जनरल सर्जरी विषयमा स्नातकोत्तर गरे पनि उनलाई प्लास्टिक सर्जरीमा औधी रुचि थियो। किरणको त्यो रुचिलाई साकार पार्न त्रिवि शिक्षण अस्पतालका प्लास्टिक सर्जन डा. शङ्करमान राईको महत्त्वपूर्ण भूमिका रह्यो।

डा. शङ्करमान उनका एमबिबिएस र स्नातकोत्तर (एमएस) गुरु हुन्। उनै शङ्करमान शिक्षण अस्पतालको जागिर छाडेर काठमाडौँ मोडल अस्पतालमा पुगेका थिए। डा. शङ्करमानले नै किरणलाई पनि काठमाडौँ मोडल अस्पतालमा काम गर्न बोलाए।

किरणले पनि आफ्नै गुरुले गरेको प्रस्तावको अवसर गुमाउन चाहेनन्। त्यसैले डा. किरण एमएस जनरल सर्जरी विषयको अध्ययन सक्नेवित्तिकै सन् २००० मा काठमाडौँ मोडल अस्पतालमा काम गर्न पुगे।

डा. शङ्करमानसँग काम गर्ने उनको पनि इच्छा थियो। नभन्दै दुवैले काठमाडौँ मोडल अस्पतालमा प्लास्टिक सर्जरी गर्न थाले।

एक (रिसर्ज इन्टरनेशनल) एनजिओको सहयोगमा नेपालका धेरै ठाउँमा पुगेर ओठ फाट्ने, तालु फाटेका बालबालिकाको शल्यक्रिया गर्थे शङ्करमान। डा. शंकरमानको जुन कामबाट किरण प्रभावित भइसकेका थिए।

मोडल अस्पतालमा सँगै काम गर्न थालेपछि किरणले शङ्करमानसँग प्लास्टिक सर्जरीको सीप तथा ज्ञान राम्रोसँग सिक्ने मौका समेत पाए। शङ्करमानसँगै नेपालका धेरै ठाउँमा पुगेर बालबालिकाका ओठ, तालु फाटेका लगायत समस्या भएका व्यक्तिको शल्यक्रिया गरेका छन् डा. किरणले। गाउँमा जन्मिएका किरणले विशेष गरी दुर्गम गाउँमा पुगेर सेवा गर्दा आनन्द लाग्ने गरेको अनुभूति सुनाए।

त्यसो त शिक्षण अस्पतालका तत्कालीन सर्जन प्राध्यापक डा. गोविन्दराज शर्माले पनि उनलाई सर्जरी विषय अध्ययनका लागि राम्रैसँग प्रेरित गरेका थिए।

पहिलो ह्याण्ड सर्जनको सौभाग्य

मोडल अस्पतालमा डेढ वर्ष काम गरिसकेपछि डा. किरण थप ज्ञान तथा सीपका लागि सन् २००१ मा अमेरिका पुगे। त्यहाँ करिब दुई वर्ष सर्जरी सम्बन्धी ज्ञान तथा सीप आर्जन गर्नुकासाथै चिकित्सकीय अनुमति पत्र लिएर काम गरे।

दुईमध्ये एक वर्ष ‘ह्याण्ड एन्ड माइक्रो सर्जरी’ विषयमा नै ज्ञान तथा सीप सिके। बाँकी समय उनले ‘बर्न सर्जरी’ र ‘प्लास्टिक सर्जरी’को ज्ञान तथा सीप लिए।

फेलोसिपमार्फत जुन ज्ञान तथा सीप लिएपछि डा. किरण सन् २००३ मा नेपाल फर्किए। ह्याण्ड एन्ड माइक्रो सर्जरी विषयको सो ज्ञान तथा सीप लिएर नेपाल फर्किएपछि आफूले नेपालको पहिलो ह्याण्ड सर्जन बन्ने सौभाग्य पाएको उनले सुनाए।

हातमा भएका जन्मजात समस्या देखि लिएर, चोटपटक लागेको समस्या, ट्युमरको समस्या, हात जोड्नेलगायत हातको कुनै पनि समस्याको शल्यक्रिया तथा उपचार ह्याण्ड एन्ड माइक्रो सर्जनले गर्ने उनले सुनाए। जुन काममा उनी तल्लीन हुन्छन्।

हात काम गर्ने अङ्ग भएकाले कस्मेटिकको तुलनामा रिकन्स्ट्रक्टिभ सर्जरी मा नै बढी जोड दिइने उनले सुनाए। कस्मेटिक सर्जरी सुन्दरतासँग बढी सम्बन्धित हुन्छ।

अस्ट्रेलियामा प्लास्टिक सर्जरीको फेलोसिप

सन् २००३ मा अमेरिकाबाट नेपाल फर्किएर करिब ६ महिना डा. किरणले मोडेल अस्पतालमा नै काम गरे। त्यसपछि फेरी उनी अस्ट्रेलिया पुगे। त्यहाँ उनले प्लास्टिक सर्जरी विषयमा एक वर्षे फेलोसिप गरे।

त्यो बेला नेपालमा प्लास्टिक सर्जरी सम्बन्धी तालिम लिने अवसर थिएन रे। त्यसैले विदेशमा पुगेर यो ज्ञान तथा सीप लिनुपर्ने बाध्यता थियो। अस्ट्रेलियाबाट प्लास्टिक सर्जरी सम्बन्धी थप ज्ञान तथा सीप लिएर डा. किरण सन् २००५ मा नेपाल फर्किए। त्यसपछि पनि मोडल अस्पतालको डा.  शङ्करमानकै टिममा फर्केर उनले काम गर्न थाले।

२१ वर्षदेखिको टिमसँगै काम

डा. किरण काम गरिरहेकै थिए। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा समेत तीन वर्षे प्लास्टिक सर्जरी सम्बन्धी कोर्ष सुरु भयो। किरण पनि सन् २०१२ मा त्यहाँ भर्ना भएर प्लास्टिक सर्जरी (एमसीएच) विषय अध्ययन सुरु गरे। जुन प्लास्टिक सर्जरी विषयको विशिष्टीकृत (स्पेशलाईजेशन) विषय हो।

उनले जागिरलाई निरन्तरता दिइरहेका थिए। सन् २०१५ मा उनको एमसीएच अध्ययन पूरा भयो।

त्यसपछि पनि डा. किरणको निरन्तर काम भने काठमाडौँ मोडल कलेजमा डा. शंकरमानको टिमसँग अघि बढिरह्यो। सन् २०१३ पछि मोडल अस्पतालकै विस्तारित अस्पताल ‘कीर्तिपुर अस्पताल’मा सरेर काम गर्न थालेको डा. किरणले सुनाए।

मोडल अस्पतालमा आएपछि डा. शङ्करमानसँग डा. किरणले काम गर्न थालेको करिब २१ वर्ष भयो।

डा. किरणले सर्जनका रूपमा काम गर्न थालेको भने करिब २२ वर्ष भयो। सह प्राध्यापक समेत रहेका प्लास्टिक तथा ह्याण्ड सर्जन (विशेषज्ञ) डा. किरण कीर्तिपुर अस्पतालमा नै कार्यरत छन्।

२५ असार, २०७९, २१:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।