डा. रवीन्द्रले भोगेकाे र्‍यागिङ– एमबिबिएस पढ्दा सिनियर विद्यार्थीले केटीलाई लभलेटर दिन लगाउँथे 

डा. रवीन्द्रले भोगेकाे र्‍यागिङ– एमबिबिएस पढ्दा सिनियर विद्यार्थीले केटीलाई लभलेटर दिन लगाउँथे 
तस्बिरहरू : उपेन्द्र खड्का।

काठमाडौं : चितवनको भरतपुरस्थित कलेज अफ साइन्सेसमा एमबिबिएस पढ्न जानु (२०५७ साल)अघि  रवीन्द्र शर्माले कलेजमा र्यागिङ परिएला भन्ने कल्पनासम्म गरेका थिएनन्। उनलाई त्यति बेलासम्म एमबिबिएस पढ्दा सिनियर विद्यार्थीले जुनियरलाई र्यागिङ गर्छन् भन्ने थाहा पनि थिएन।

‘एमबिबिएस पढ्दा सिनियर विद्यार्थीले जुनियरलाई र्यागिङ गर्दा रहेछन्। यो कुरा एमबिबिएस पढ्न कलेज भर्ना भएपछि मात्रै थाहा पाएँ,’ २०७४ सालदेखि सिभिल अस्पतालमा कार्यरत छाला तथा यौन रोग विशेषज्ञ डा. रवीन्द्र शर्माले उकेरालाई सुनाए। 

कलेज गएको केही दिनमै उनी पनि र्यागिङमा परे। ‘भर्खर कलेज सुरु भएको थियो। सिनियर विद्यार्थी मेरो कोठामा आए। र, मलाई बेडमा स्विमिङको अभिनय गर्न लगाए,’ उनले आफूमाथि पहिलो पटक गरेको र्यागिङ सम्झिए, ‘मैले उनीहरूले भनेजस्तो नगरी सुखै पाइनँ।’

र्यागिङको शृंखला त्यतिमै सकिएन। त्यसपछि पनि आफूलाई सिनियर विद्यार्थीले थुप्रै पटक र्यागिङ गरेको उनी सम्झन्छन्। 

‘सिनियर विद्यार्थीले कहिले केटीलाई लभ लेटर लेखेर दे भन्थे, कहिले चम्चाले एक बकेट पानी भर भन्थे,’ उनले एमबिबिएस पढ्दाको क्षण सम्झिएँ।

उनले आफूलाई मात्रै होइन, अरु विद्यार्थीलाई सिनियरले र्यागिङ गरेको पनि देखेका छन्। ‘त्यति बेला सिनियर विद्यार्थीले जुनियरलाई सरसफाइ, बेडमा स्विमिङको अभिनयलगायत गर्न लगाउँथे,’ उनले सम्झिए। 

र्यागिङमा पर्नेलाई मानसिक तनाव हुने भएकाले यसको अन्त्य गरिनुपर्ने उनको भनाइ छ। ‘कतिपयले र्यागिङलाई सहनै सक्दैनन्। अनि, मानसिक तनाव भोग्छन्,’ उनी भन्छन्। 

०००

सिनियर विद्यार्थी मात्रै होइनन्, सिनियर डाक्टरले पनि जुनियर महिला डाक्टरलाई र्यागिङ गर्ने गरेको उनले सुनाए। ‘र्यागिङ गर्दागर्दै सिनियर डाक्टरको जुनियर महिला डाक्टरसँग लभ पनि पर्थ्यो,’ उनले भने। 

...अनि मोडियो न्युरो सर्जन बन्ने लक्ष्य 

एमबिबिएस अध्ययनपछि उनी न्युरो सर्जन बन्न चाहन्थे। तर, इन्टर्नसिप गर्दा घटेको एक घटनाले उनी न्युरो सर्जन बन्ने सपना त्यागिदिए। 

उनी एमबिबिएस सकेर आफ्नै कलेजमा तीन महिना इन्टर्नसिप गरे। त्यो अवधिमा उपचार गरेका करिब १२ बिरामी उपचार असफल भई मृत्यु भएको उनले देखें। 

‘सर्जनले ती बिरामीलाई निको बनाउने निकै प्रयास गरे। तर, सफल भएनन्,’ उनले सुनाए, ‘त्यसपछि सर्जन बन्दा जस नपाइने रहेछ भन्ने लाग्यो। र, एमडीमा सर्जरी विषय नपढ्ने निर्णय गरें।’ 

सफल सल्यक्रियापछि पनि नबाँचेका पुरुष 

इन्टर्नसिपकै क्रममा सफल शल्यक्रिया गरिएका पुरुषको मृत्यु भएको घटना पनि उनको मस्तिष्कमा ताजै छ। 

घटना यस्तो रहेछ– करिब ३५ वर्षका एक पुरुष अस्पताल ल्याइयो। ती पुरुषको कलेजोमा पिप भरिएको थियो। ती पुरुषको शल्यक्रिया गरियो। शल्यक्रिया सफल भयो। तर, बिरामी बाँचेनन्। 

‘सर्जरी गरेका धेरै बिरामी मरेको देखें। त्यो नदेखेको भए सायद म सर्जरी नै पढ्थें होला,’ उनले भने। 

त्यसाे त न्युरो सर्जरी गरेकामध्ये करिव ५० प्रतिशत बिरामीको मृत्यु हुने गरेको उनले बताए। 

घाँटी छेडिएकी बालिका बाँच्दा...

इन्टर्नसिप गर्दा उपचारपछि बाँचेकी बालिकाको घटना पनि उनी सम्झिन्छन्। 

त्यो बेला ११ वर्षकी बालिकाको घाँटीबाट लालुपातेको घोचाले छेडेर कानसम्म पुगेको थियो। ती बालिकालाई अस्पताल ल्याएपछि उनको शल्यक्रिया गरियो। र, उनी बाँचिन्। 

ती बालिकालाई अस्पताल ल्याउँदा आफू आकस्मिक कक्षमै रहेको उनले सम्झिए। ‘बालिकाको यस्तो अवस्था देखेपछि हतारहतार सिनियर डाक्टरलाई खबर गरें,’ उनले सम्झिए। 

र, भास्कुलर सर्जन डा. दिगविजय तिमिल्सिनाले बालिकाको शल्यक्रिया गरे। ‘बालिकाको शल्यक्रिया गर्दा म पनि सहयोगी थिएँ,’ उनले सुनाए।  

बालिका बाँचेपछि आफू चकितसँगै खुसी पनि भएको उनले सुनाए। 

...अनि छाने छाला तथा यौन विषय 

एमडीमा सर्जरी विषय नपढ्ने निर्णयमा पुगिसकेका थिए। उनलाई लाग्यो– स्वस्थ जीवनशैलीका लागि छाला तथा यौन रोग विषय पढ्न् उपयुक्त हुन्छ। र, उनले एमडीमा यही विषय अध्ययन गरे। 

‘एमबिबिएसपछि मैले एमडीमा पढ्ने विषयको छनोट सूचीमा छाला तथा यौन रोगलाई तेस्रो प्राथमिकतामा राखेको थिएँ,’ उनले सुनाए। 

‘हिच्किचाउँछन् महिला बिरामी’

उनी छाला तथा यौन रोग विशेषज्ञ भएका नाताले रोगको पहिचान र उपचारका लागि गोप्य अंगमा भएका समस्या जाँच गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा विशेषगरी महिला बिरामी हिचकिचाउने गरेको उनी बताउँछन्।

तर, महिला स्वास्थ्यकर्मीलाई बिरामीका अगाडि राखेर मात्रै आफूले महिला बिरामीको यौनांग जाँच तथा उपचार गर्ने गरेको उनले सुनाए। डा. रविन्द्रले भने, ‘सिस्टरलाई अगाडि राखेर बिरामी जाँचिन्छ। त्यसो गर्दा बिरामीलाई पनि कम्फर्ट हुन्छ।’ 

४० वर्ष पूरा गरेका डा. रवीन्द्रलाई करिव १५ वर्षको पेशाको अनुभवमा अहिलेसम्म पेशाको क्रममा आफूलाई भने खासै असहज र अपजस नआएको सुनाए। 

अध्ययन र जागिर यात्रा 

बागलुङको बागलुङ नगरपालिकामा जन्मिएका रवीन्द्रले २०५४ सालमा पोखराको गण्डकी आवासीय उच्च माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे। 
शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटाबाट एमबिबिएस अध्ययन गरेका रविन्द्रले २०६२ सालमा एमबिबिएस उत्तीर्ण गरे। 

लगत्तै उनले जिल्ला अस्पताल, म्याग्दीमा करारमा काम थाले। त्यहाँ उनले दुई वर्ष काम गरे। छात्रवृत्तिमा एमबिबिएस पढेकाले दुई वर्ष सरकारी स्वास्थ्य सेवामा काम गर्नुपर्छ। 

त्यसपछि उनले चिकित्सकको लोकसेवा परीक्षा दिए। सँगै त्रिवि शिक्षण अस्पतालमा एमडी अधययनका परीक्षा पनि दिए। 

उनको दुवैतिर नाम निस्कियो। 

लोकसेवाको परीक्षा उत्तीर्ण भएपछि उनले करिब १५ दिन सरकारी जागिरेका रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिरी गरे। तर, उनको पोस्टिङ विराटनगरमा भयो। 

उनले विराटनगर जानुको सट्टा एमडी अध्ययन गर्ने निधो गरे। ‘बाग्लुङ पोस्टिङ मागेको थिएँ। विराटनगर जानुपर्ने भयो,’ उनले सरकारी जागिर नगर्नुको कारण खुलाए, ‘त्रिविमा पनि एमडी भर्ना गरिसकेको थिएँ। त्यसैले जागिर खान छोडेर पढें।’ 

उनी २०६८ सालमा एमडी उत्तीर्ण भए। 

०००

एमडी पढेर अमेरिका जाने उनको धोको थियो। त्यसैले उनले एमडी अध्ययनमा नै जोड दिएका थिए। तर, एमडी उत्तीर्ण भएपछि अमेरिका जानै मन नलागेको उनले सुनाए। 

‘एमडी गरेपछि परिवारका सदस्यले विवाह गरेर मात्रै अमेरिका जाने सुझाए। त्यसपछि निजी अस्पतालमा काम गर्न थालें। कमाई पनि हुन थाल्यो। त्यसपछि त्यहाँ जाने मनै लागेन,’ उनले हाँस्दै अमेरिका जान मन नलागेको कारण खुलाए। 

उनले एमडी उत्तीर्ण भएको चार वर्षपछि विवाह गरे। उनकी श्रीमती पनि चिकित्सक नै हुन्। उनीहरूका एक छोरी र एक छोरा छन्। 

२८ चैत, २०७७, १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।