उकेरा कोलम

डा. रविनको अनुभव : चौध वर्षको बालकले दुई हात जोडेर डाक्टरसाब म बाँचे भन्दा...


तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : सर्जन डा. रविन बहादुर बस्नेतले करिब चार वर्ष अघि गरेको उपचारको एउटा प्रसङ्ग सम्झिए। एकाबिहानै ललितपुरको सुमेरु सिटी अस्पतालबाट उनलाई फोन आएपछि हतार हतार अस्पताल पुगे।

अस्पताल पुगेर बिरामी हेरे। उनी थिए चिरपरिचित ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन। महर्जन पेट दुखेर पिडाले छटपटाइरहेका थिए।

उनले महर्जनको स्वास्थ्य परीक्षण गरे। परीक्षणको नतिजाले शल्यक्रिया गर्नुपर्ने देखियो। त्यो पनि जटिल शल्यक्रिया। महर्जनको स्वास्थ्य अवस्था असहज थियो। शल्यक्रियामा स्वास्थ्य जटिलता निम्तिएर गम्भीर अवस्था आउन सक्ने जोखिम उस्तै।

डा. रविन अलि डराए। सोचे,'मेयरसाबको शल्यक्रिया सफल भएन भने?

उनले महर्जनलाई रोगको जटिलता जानकारी गराए। अनि उनैलाई शल्यक्रिया गर्ने की नगर्ने भनेर सोधे। पिडाले छटपटाएका चिरिबाबुले डा. रविनलाई आवश्यकता अनुसारको उपचार गर्न भने।

चिकित्सक, मेयर महर्जनका आफन्त लगायतसगँको परामर्श अनि अनुमतिपछि डा. रविनले शल्यक्रियाको तयारी गराए।

रविन नेतृत्वको चिकित्सकको टिमले मेयर चिरिबाबुको पेटको शल्यक्रिया थाल्यो। शल्यक्रिया गर्न करिब तीन घण्टा लाग्यो। शल्यक्रिया सक्दा दिउँसोको करिब एक बज्यो। शल्यक्रिया सफल भयो। तर, शल्यक्रियापछि पनि सङ्क्रमण भएर स्वास्थ्य जटिलता निम्तने जोखिम थियो।

शल्यक्रियापछि बिरामी होसमा फर्के। डा. रविनले चिरिबाबुलाई कस्तो हुनुहुन्छ? भन्दै सोधे। बेडमा रहेका चिरिबाबुले मुसुक्क मुस्कुराउँदै रविनलाई जवाफ दिए,‘तपाईँले राम्रो पार्दिसक्नु भयो नि डाक्टरसाब।’

५-६ दिनको अस्पताल बसाइपछि ठिक भएर मेयर चिरिबाबु अस्पतालबाट डिस्चार्ज भए।

सामान्य व्यक्तिको उपचार गर्दाको तुलनामा सेलिब्रेटी तथा परिचित (जनप्रतिनिधिको) को उपचार तथा शल्यक्रिया गर्दा अलि दबाब महसुस हुने डा. रविनको अनुभव छ।

उनले भने,‘सेलिब्रेटी व्यक्तित्वको शल्यक्रिया सफल नभए करिअर नै सक्किने हो कि भन्ने डर हुँदो रहेछ।’

प्रचण्डले 'डाक्टरसाब अप्रेसन राम्रो हुनपर्छ भनेपछि...'

माओवादी नेता लीलामणि पोखरेलको उपचार गरेको प्रसङ्ग पनि डा. रविनका लागि अविस्मरणीय रहेछ।

केही वर्ष अघि माओवादी केन्द्रका नेता पोखरेल डा. रविनकहाँ स्वास्थ्य जाँचका लागि आए।

पोखरेलको मिर्गौलामा ढुङ्गा रहेछ। ढुङ्गा निकाल्नका लागि शल्यक्रिया गर्नुपर्ने थियो। पोखरेल भारतमा स्वास्थ्य जाँच गर्न जाँदा नेपालमै शल्यक्रिया गर्न सकिने थाहा पाएपछि शल्यक्रिया नगरी फर्किएका रहेछन्।

डा. रविनले पनि नेपालमा शल्यक्रिया गर्न सकिने र त्यसका लागि प्रविधि भएको पोखरेललाई सुझाव दिए।

पोखरेलको शल्यक्रिया गर्ने मिति तय भएको एक दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. रविनलाई भेट्न बोलाए।

‘अध्यक्षले भेट्न खोज्नु भएको छ’ भनेर पोखरेलले नै डा. रविनलाई बोलाएका थिए। त्यसपछि डा. रविन खुमलटार पुगे। प्रचण्डसँग भेट्दा पोखरेल, शशी श्रेष्ठ समेत थिए।

कुराकानीको क्रममा प्रचण्डले नेपालमा राम्रो प्रविधि नभए पोखरेललाई विदेश पनि पठाउन सकिने भन्दै कहाँ पठाउन उपयुक्त हुन्छ भन्ने सल्लाह मागे।

डा. रविनले प्रचण्डलाई 'संसारको जहाँसुकै देशमा गरे जसरी वीर अस्पतालमा  शल्यक्रिया गर्न सकिन्छ। यहाँ पनि स्रोत साधन र दक्ष जनशक्ति छ’ भने।

पोखरेलले पनि प्रचण्डलाई वीर अस्पतालमै शल्यक्रिया गर्छु भने। पोखरेलै राजी भएपछि प्रचण्डले डा रविनतिर हेर्दै भने' डाक्टरसाब अप्रेसन राम्रो हुनपर्छ है। उहाँ मेरो दायाँ हात हो।'

प्रचण्डलाई भेटेर वीर अस्पताल फर्किएर डा. रविनले पोखरेलको शल्यक्रियाको योजना बनाए। त्यही दिन दिउँसो नेता पोखरेल वीर अस्पतालमा भर्ना भए।  भोलिपल्ट डा. रविन नेतृत्व चिकित्सकको टिमले नेता पोखरेलको शल्यक्रिया गरेर मिर्गौलामा भएको ढुङ्गा निकाल्यो। शल्यक्रिया सफल भयो। भोलिपल्ट उनी डिस्चार्ज पनि भए।

तर, डिस्चार्ज भएको ३-४ दिनपछि पोखरेललाई निक्कै ज्वरो आयो। ज्वरोपछि उनी अस्पतालमा पुनः भर्ना भए। शल्यक्रियापछि मिर्गौलादेखि पिसाप थैलीसम्म राखिएको पाइपका कारण ज्वरो आएको  डा. रविनलाई थाहा थियो। त्यो पाइप निकाल्नासाथ ज्वरो कम हुन्थ्यो।

डा. रविनले पोखरेललाई सबै जानकारी गराएर पाइप निकाल्नासाथै ज्वरो कम हुन्छ भने। शल्यक्रिया कक्षमा राखेर पाइप निकालियो। पाइप निकालेको आधा घण्टापछि पोखरेलको ज्वरो स्वाट्टै कम भयो। त्यही पाइपको सङ्क्रमणले ज्वरो आएको थियो।

भोलिपल्टै नेता पोखरेल डिस्चार्ज भए। अहिले पनि बेलाबेलामा पोखरेल उनीसँग स्वास्थ्य जाँचका लागि आउँछन्। अहिले उनको स्वास्थ्य समस्या छैन।

सर्जरीको नसा

ललितपुरको जावलाखेलका स्थानीय रविन २०३६ सालमा जन्मिएका हुन्। उनले जावलाखेलकै सेन्टजेभियर्स स्कुलबाट २०५२ मा एसएलसी र सेन्टजेभियर्स कलेजमा आइएस्सी गरे।

रविन सानैदेखि अध्ययनमा तीक्ष्ण थिए। डाक्टर नै पढ्छु भनेर भने उनले सोचेका थिएनन्। आइएस्सी पढिरहेको समयमा उनकी आमा बिरामी भएर उपचार गर्दा नै हो उनले नजिकबाट चिकित्सक देखेको। त्यसपछि नै हो उनले डाक्टर पढ्ने सपना बुन्न थालेको।

आइएस्सीपछि रविनले शिक्षा मन्त्रालयको छात्रवृत्तिमा एमबिबिएस अध्ययनका लागि छनोट परीक्षा दिए। छनोट पनि भए।

सन् १९९८ मा चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा रविन एमबिबिएस अध्ययन गर्न थाले। अध्ययन गर्दा उनलाई सबैभन्दा बढी सर्जरी विषयप्रति नै चासो हुन्थ्यो। इन्टर्नसिप गर्दा पनि समय मिल्यो की सर्जरी विभागमा पुगिहाल्थे।

अप्रेसन थिएटरभित्र छिरेर केही न केही ज्ञान लिइहाल्थे। सन् २००४ मा उनको एमबिबिएस अध्ययन पूरा भयो। एमबिबिएस अध्ययनपछि एक वर्ष कलेज अफ मेडिकल साइन्सेसमै सर्जरी विभागमा नै काम गरे। त्यसपछि त झन् उनलाई सर्जरी विषयको नसा नै लाग्यो।

अहिले डा रविन मिर्गौला, मिर्गौलादेखि पिसाब थैलीसम्म आउने नली, पिसाब थैली, पिसाब थैली भन्दा तलको नली, प्रोस्टेट जस्ता मूत्र प्रणाली रोगको औषधि, उपचार तथा सर्जरी गर्छन्। उनको दैनिकी पनि यही हो। उनी मिर्गौला प्रत्यारोपण पनि गर्छन्।

दुर्गमको दुःख

सरकारी जागिरे भएपछि विदेश जान अध्ययनका लागि समय पाइन्छ भन्ने उनको सोच थियो। उनले २०६१ मा सरकारी जागिरका लागि लोकसेवा परीक्षा दिए। नभन्दै उनी स्थायी मेडिकल अधिकृत चिकित्सकको रूपमा जागिरे भए।

उनको सोलुखुम्बुको सल्लेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टिङ भयो। त्यो बेला मेडिकल अधिकृत नै भए पनि सोलुखुम्बु जिल्लाभरिमा सर्जरी गर्न जान्ने चिकित्सक उनी एक्लो थिए।

कहिलेकाहीँ कामको सिलसिलामा सल्लेरीबाट लुक्ला जानुपर्थ्यो। तर, एउटै जिल्लाभित्र पनि काठमाडौँ नआई लुक्ला जान मुस्किल थियो। उनी काम गर्ने सल्लेरीबाट हिँडेर लुक्ला पुग्न तीन दिन लाग्थ्यो। फाप्लुहुँदै हवाई जहाजबाट काठमाडौँ आएर हवाई जहाजबाटै लुक्ला पुग्नुपर्थ्यो।

पोस्टमार्टम, खोपलगायत कामका लागि डा. रविन धेरै पटक फाप्लुबाट काठमाडौँ आएर लुक्ला पुगेका छन्।

त्यो बेला तलब मासिक आठ हजार पाँच सय। दुर्गम भत्तासहित मासिक करिब १२ हजार। तर, त्यो पैसाले पुग्दैनथ्यो। खर्च धान्न घरबाट पैसा मगाउनुपर्थ्यो।

चौध वर्षको बालकले दुई हात जोडेर डाक्टरसाब म बाँचे भन्दा...

सल्लेरीबाट फाप्लु जिल्ला अस्पताल नजिकै थियो। जहाँ पुगेर एक पटक शल्यक्रिया गरेको प्रसङ्ग डा. रविन सम्झिरहन्छन्।

करिब १४ वर्षका बालकलाई फाप्लु अस्पतालमा पुर्‍याइएको रहेछ। करिब डेढ घण्टा हिँडेर उनी फाप्लु अस्पताल पुगे। बालकको स्वास्थ्य परीक्षण गरे। ती बालकलाई एपेन्डिसाइटिस भएको रहेछ।

स्वास्थ्य जाँचपछि उनले एन्टीबायोटिक र पेनकिलर औषधि दिएर प्लेनमा काठमाडौँ गएर उपचार गर्न अनुरोध गरे। तर, खराब मौसमका कारण तीन दिनसम्म प्लेन उडेन।

उनको मनमा शल्यक्रिया गर्न सक्छु भन्ने आत्मविश्वास त थियो। तर  उनले सोचे,'म सर्जन हैन।' शल्यक्रियाको समयमा स्वास्थ्य जटिलता निम्तिएर बिरामीको ज्यान तलमाथि भए ठुलो आपत् आउन सक्थ्यो।

अर्कातर्फ तुरुन्तै शल्यक्रिया नगरे बालकको ज्यानै जाने जोखिम पनि बढिरहेको  थियो। तर, तीन दिनसम्म पनि प्लेन नउडेपछि आफन्त तथा गाउँलेको सहमतिमा उनले बालकको शल्यक्रिया गर्ने निर्णय लिए।

अन्तिम उपायका रूपमा आफैँले ऐनेस्थेसिया दिई डा. रविनले ती बालकको एपेन्डिसाइटिसको शल्यक्रिया थाले। शल्यक्रियाको टिममा उनी र करिब चार जना नर्स थिए। बालकको शल्यक्रिया सफल भयो। बालकको ज्यान बाँच्यो। डा. रविनको चिकित्सकीय कर्म सफल भयो।

शल्यक्रिया गरेको दोस्रो दिन अस्पतालमा डा. रविनले ती वालकलाई ‘के छ खबर’ भनेर सोधे। डा. रविनप्रति हेर्दै ती बालकले दुई हात जोडेर भने,‘डाक्टरसाब म बाँचे।’

बालकको मुखबाट निस्किएको त्यो शब्दले डा. रविन भावुक भए। शल्यक्रिया गरेको चौथो दिन बालक डिस्चार्ज भए।

तिम्ल्याहा बच्चा जन्मिएपछि...

सोलुखुम्बुमै काम गर्दाको अर्को प्रसङ्ग पनि सम्झिए डा. रविनले। राती सुतिसकेका थिए उनी। फाप्लु जिल्ला अस्पताल आउनुपर्‍यो भन्दै खबर आयो। उनलाई लिन पुगेका अस्पतालका एक कर्मचारीले भने‘डाक्टरसाब बच्चा जन्माउन नसकेर एक महिलालाई अस्पताल ल्याइएको छ, जसरी पनि तुरुन्तै जानुपर्‍यो।

त्यसपछि डा. रविन हत्तपत्त उठेर अस्पताल पुगे। औषधि उपचार गरेर महिलाको बच्चा निकाल्न थाले। एउटा बच्चा जन्मिएपछि फेरी अर्को बच्चाको टाउको निस्कियो। उनले दोस्रो बच्चा पनि निकाले।

दोस्रो बच्चा जन्मिएको केही बेरमा फेरी अर्को बच्चाको टाउको निस्कियो। तेस्रो बच्चा पनि डा. रविनले निकाले। करिब २२ वर्षकी महिलाको पहिलो पटकमा नै तिम्ल्याहा बच्चा जन्मिए।

डा. रविनले तीन वटा बच्चा त निकालिदिए। तर, ती नवजात शिशुको तौल निक्कै कम थियो। त्यसमाथि सोलुखुम्बुको त्यो चिसोमा कसरी तीन वटै नवजात शिशु बचाउने भन्ने चिन्ता पर्‍यो। सुगममा भएको भए ती नवजात शिशु एनआइसियुमा राख्नुपर्ने हुन्थ्यो। जुन शिशु बचाउन सुविधा सम्पन्न अस्पतालमा पनि चुनौती हुन्थ्यो। तर, त्यहाँ त्यो सुविधा थिएन।

सुरुमा त आमाको ज्यान त बचाइयो बच्चा चाहिँ बचाउन सक्दिन होला भन्ने लागेको थियो। डा. रविनले सोचको थिए,‘सके तीन वटै। नसके एउटा त बच्चा बचाउनुपर्छ।’

त्यसपछि उनले अस्पतालमा भएका कपडा (कटन, गजपिस) जम्मा गरेर नवजात शिशुलाई न्यानो बनाएर राखिदिए। शिशुलाई थप न्यानोका लागि डा. रविनले टेबल ल्याम्पको प्रयोग गरे।

शिशुलाई सुरुमा त ग्लुकोज र आमाको दूध खुवाइयो। बिस्तारै शिशु आमाको दूध चुस्न सक्ने भए। आमा र तीन वटै शिशुको स्वास्थ्य राम्रो हुँदै गयो। करिब दश दिनपछि त आमा र तीन वटै शिशुलाई अस्पतालबाट डिस्चार्ज गर्न डा. रविन सफल भए।

ती महिलाले अस्पतालमा तिम्ल्याहा बच्चा जन्माएको करिब सात महिनापछि गाउँ घुम्दै लोदिङ जाँदा तीन वटै बच्चा र आमा स्वस्थ रहेको देख्दा निक्कै खुसी लागेको डा. रविनले सुनाए।

बिदाइ हुँदा खादाले भरिएको गला

सोलुखुम्बुमा डा. रविन निक्कै परिचित भइसकेका थिए। एक दिन त त्यहाँका सिडिओले ठट्यौलीमा भनेछन्,‘सोलुखुम्बुमा त चुनाव उठ्नुभयो भने पनि जित्नुहुन्छ डाक्टरसाब।’

डा. रविन सोलुखुम्बुको सल्लेरीमा करिब डेढ वर्ष काम गरे। डेढ वर्षमा उनले करिब एक सय भन्दा बढी व्यक्तिको शल्यक्रिया गरे। धेरैको उपचार गरी ज्यान बचाए। करिब ६ महिना त सोलुखुम्बु जिल्लामा नै उनी एक्लो डाक्टर भए। सोलुखुम्बुपछि आफ्नै गृह जिल्ला ललितपुरको जनस्वास्थ्य कार्यालयमा उनको सरुवा भयो।

एकातर्फ आफ्नै ठाउँमा सरुवा हुँदा उनलाई खुसी लागको थियो। अर्कोतर्फ उनी यति घुलमिल भइसकेका थिए की सोलुखुम्बुवासीसँग छुट्टिनै कठिन भएको थियो।

सरुवा हुनुभएपछि गाउँलेले विभिन्न ठाउँमा बिदाइ कार्यक्रम गरे। एक पछि अर्को गर्दै काटिसकेको टिकट सार्दै बिदाइ कार्यक्रम सरिक हुँदै बसे उनी। हवाई जहाजको टिकट सार्दै चार दिन राखेपछि बल्ल उनलाई गाउँलेले फर्कन दिए।

काठमाडौँ फर्कने दिन पनि सयौँ सोलुखुम्बुवासी एयरपोर्टमा बिदाइ गर्न आएको कहिल्यै भुल्दैनन् उनी। जहाज चढ्दा उनका गला खादाले भरिएको थियो। भारी मन बनाउँदै उनी गाउँलेलाई बिदाइको हात हल्लाउँदै प्लेन चढे।

प्लेन चढेपछि एयर होस्टेसले भनेको एउटा वाक्य डा. रविनलाई अझै सम्झना छ। एयरहोष्टेसले जहाज चढेपछि उनलाई भनेको त्यो वाक्य हो,–तपाईँ यहाँ धेरै पपुलर हुनुहुँदो रहेछ। धेरै बिदाइ गरेको देखेकी छु। तर, अहिलेसम्म यति धेरै मान्छे एयरपोर्टमा आएर बिदाई गरेको देखेकी थिइन।

कुराकानीको क्रममा सोलुखुम्बुबाट बिदाइको प्रसङ्ग सुनाई रहँदा डा. रविनका आँखा  हल्का रसाएको देखियो।  उनले मुस्कुराउँदै भने,त्यहाँबाट सरुवा भएको १६ वर्षपछि पनि फाप्लुमा फलेका स्याउ, किवी र विभिन्न मौसमी तरकारी अझै सोलुखुबुबासीहरुले पठाउनुहुन्छ।'

जुन कोसेली पाउँदा सरकारले दिने तक्मा भन्दा कम महसुस गर्दैनन् उनी।

ललितपुरको दुर्गम गाउँ पुग्दा...

सोलुखुम्बुपछि डा. रविनले ललितपुरको जिल्ला जनस्वास्थ्य कार्यालयमा काम गरे। ललितपुर फर्केपछि उनी सोलुखुम्बु जस्तै दुर्गम ठाउँ पुगे। देखे। ललितपुरदेखि दुई दिन हिँडेरै ललितपुरका आश्राङ, प्युटार जस्ता विकट ठाउँमा पुगेका छन् उनी।

ललितपुरमा उनले करिब एक वर्ष काम गरे।

त्यो बिचमा जापान अध्ययनका लागि पनि उनले छनोट परीक्षा दिए। पहिलो नम्बरमा नै छनोट भए। तर गएनन्। उनको त्यो निर्णयलाई जापानी दूतावासका कर्मचारीलगायतले मूर्खता समेत भने।

युरो सर्जरीको नसा

सोलुखुम्बुदेखि ललितपुरसम्मको कामको यात्राका क्रममा डा. रविनलाई विदेश जाने सोच नै हराइसकेको थियो। नेपालमा नै सेवा गर्ने अठोट लिइसकेका थिए। उनलाई सर्जरीको नसा नै लागिसकेको थियो। डा. रविनले सर्जरी नै पढ्ने अठोट लिए।

त्यसैले डा. रविनले स्नातकोत्तर तहको अध्ययनका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छनोट परीक्षा दिए। त्यहाँ उनले सर्जरी विषय अध्ययन गर्न नपाउने भएपछि अन्य विषय अध्ययन गरेनन्।

त्यसपछि  उनले चिकित्सा शास्त्र अध्ययन संस्थान (महाराजगन्ज क्याम्पस) मा छनोट परीक्षा दिए। त्यहाँ पनि सर्जरी विषय पढ्न पाएनन्। अन्य विषय अध्ययन गरेनन्।

फेरी डा. रविनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्नातकोत्तर तहको अध्ययनका लागि छनोट परीक्षा दिए। डा. रविनको पहिलो नम्बरमा नै नाम निस्कियो।

त्यसपछि डा. रविनले २०६४ मा आफूले चाहेकै जनरल सर्जरी विषयको एमएस अध्ययन गर्न थाले। जुन उनको जीवन कै खुसी मिलेको क्षण हो। जनरल सर्जरी अध्ययन गर्ने क्रममा उनलाई सर्जरीमध्ये पनि युरोलोजी विषयमा नै बढी चासो हुन थाल्यो। यो विषयमा लत नै बसेको थियो उनलाई।

डा. रविनले २०६७ सालमा स्नातकोत्तर तहको एमएस जनरल सर्जरी अध्ययन पूरा गरे। अध्ययनकै क्रममा उनको वीर अस्पतालमा सरुवा भयो। त्यसयता उनी वीर अस्पतालमा नै कार्यरत छन्।

त्यसपछि डा. रविनले सन् २०१५ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा नै युरोलोजी विषय अन्तर्गतको विशिष्टीकृत विषय एमसिएच अध्ययन गर्न थाले। सन् २०१८ मा तीन वर्षे एमसीएच अध्ययन पूरा भयो। जुन अध्ययन चिकित्सा शास्त्र विषयको विद्यावारिधि हो।

युरोलोजीकै भोकका कारण पाएका अन्य बढुवाका अवसर छाड्दा पदीय दृष्टिकोणले सरकारी जागिरमा प्रवेश गरेको १५ वर्षसम्म आठौँ तहमा नै थिए उनी। तर, डा. रविन २०७७ मा लोकसेवाको खुला परीक्षामार्फत आठौँबाट सिधै एघारौँ तहमा नाम निकाल्न सफल भए।

त्यसयता उनी वीर अस्पतालको युरोलोजी विभागको प्रमुखको जिम्मेवारीमा छन्। प्रमुख कन्सल्टेन्ट युरो सर्जन डा. रविन सह–प्राध्यापकको भूमिकामा समेत छन्।

डा. रविनकी श्रीमती मिरा थापा पनि चिकित्सक हुन्। रविन र मिराको प्रेम विवाह रहेछ। उनका ११ वर्षकी छोरी र चार वर्षकी छोरा छन्। दुवै चिकित्सक भएकाले छोराछोरीप्रति अभिभावकीय जिम्मेवारी पूरा पो गरेका छैनौँ कि भन्ने दुवैको मनमा खट्की रहन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....