उकेरा कोलम

न्युरो सर्जन डा. प्रकाशको अनुभूति : मृत्युको खबर किस्ता-किस्तामा सुनाउनुपर्छ


तस्बिर : कृष्पा श्रेष्ठ

डाक्टरले उपचार गरेका सबै बिरामी बाँच्छन् नै भन्ने निश्चित हुँदैन। वीर अस्पतालका न्युरो सर्जन प्रा.डा. प्रकाश बिष्टको जीवनमा पनि अथक उपचार गर्दागर्दै बिरामी बचाउन नसकेका तिता अनुभूति थुप्रै छन्।

यस्ता थुप्रै अनुभूतिमध्ये वीर अस्पतालकै एक जना कर्मचारीका श्रीमानलाई बचाउन नसकेको घटना भने उनको मानसपटलमा अझै ताजा छ। 

घटना यस्तो थियो- 
करिब १८ वर्षअघि एक जना बिरामीलाई टाउकाको रगतको नसा फुटेर आकस्मिक रुपमा अस्पताल पुर्‍याइएको थियो। ती बिरामी अस्पतालकै एक जना कर्मचारीका श्रीमान थिए। बिरामीको उमेर करिब ५० वर्षको थियो।

आकस्मिक रुपमा अस्पताल पुर्‍याइएका ती बिरामीको डा. उपेन्द्र देवकोटाको नेतृत्वमा शल्यक्रिया सुरु भयो। त्यो शल्यक्रिया टिममा डा. प्रकाश बिष्ट पनि थिए। 

बिरामीको टाउकाको रक्तनली फुटेको थियो। शल्यक्रिया सुरु गर्दा फुटेको नसा पनि पत्ता लाग्यो। फुटेको नसालाई चिकित्सकले क्लिप लगाएर टाले। रगत बन्द भयो। शल्यक्रिया सफल भयो। शल्यक्रियाको लागि खोलिएको टाउको बन्द गरियो। अप्रेसन थिएटरमा शल्यक्रिया भइरहँदा बिरामीकी श्रीमती भने बाहिर श्रीमानलाई कुरिरहेकी थिइन्।

तर, शल्यक्रिया सकेर बिरामीलाई होसमा ल्याउने बेलामा अकस्मात बिरामीको मुटु बन्द भयो। डा. प्रकाशले घटना सुनाए, ‘सबै गरेर आयौं। खोलेको टाउको बन्द गर्‍यौं। बिरामीलाई होसमा ल्याउने बेलामा अकस्मात मुटु बन्द भइदियो।’ 

शल्यक्रियापछि अथक प्रयास गर्दा पनि डा. प्रकाशको टिमले बिरामीको मुटु पुनः सुचारु गर्न असफल भयो। शल्यक्रिया त सफल भयो। तर अप्रेसन थिएटरमा नै बिरामीको मृत्यु भयो। जुन घटना सम्झँदा डा. प्रकाशलाई अहिले पनि ग्लानी हुन्छ।

डा. प्रकाश सुनाउँछन्, ‘जति प्रयत्न गर्दा पनि मुटु चलेन। अप्रेसन टेबुलबाट बाहिर लिएर आउनुभन्दा अगाडि नै उहाँको मृत्यु भयो।’ 

उपचारपछि श्रीमान् निको भएर फर्कने आशामा बाटो हेरिरहेकी श्रीमतीलाई श्रीमानको मृत्युको खबर सुनाउन निकै कठिन भएको डा. प्रकाशले सुनाए।

डा. प्रकाशले मृतककी श्रीमतीलाई मृत्युको खबर त सुनाए तर एकै पटकमा सुनाएनन्। तीन पटक लगाएर सुनाए। डा. प्रकाशले सुरुमा शल्यक्रिया सकिए पनि मुटुमा समस्या देखिएकाले बिरामीलाई ब्युँझाउने प्रयास भइरहेको बताए। जुनबेला बिरामीको सिपिआर भइरहेको थियो। तर संकेत राम्रो थिएन। 

दोस्रो पटकमा ‘मुटु एक पटक बन्द भएको थियो। चलाउने कोशिस जारी छ, हेरौं’ भन्दै खबर गरे।

तेस्रो पटक पटक खबर गर्दा भने डा. प्रकाशले मृतककी श्रीमतीलाई ‘केही लागेन। हामीले युद्ध हार्‍यौं’ भन्ने सन्देश दिए।

उपचारपछि बाँच्ने आशामा रहेका आफन्तलाई बिरामीको मृत्यु भएको खबर सुनाउन निकै सकस हुने उनले अनुभव सुनाए। डा. प्रकाशले भने, ‘हामीले अप्रेसन गर्न लगेको बिरामी अप्रेशन थिएटरमै गुमायौं कसरी भन्ने? यो त गाह्रो कुरा हो।’

‘रोगसँग उहाँ लड्न सक्नुभएन’ भनेर कुटनीतिक भाषामा मृत्युको खबर सुनाएको डा. प्रकाशले बताए। यसरी मृतकका आफन्तलाई मृत्युको सन्देश दिँदा निकै विचार गरेर दिनुपर्ने उनी बताउँछन्।

डा. प्रकाशका अनुसार कतिपय बिरामीको उपचारकै क्रममा अचानक मुत्यु हुने भएकोले चिकित्सकले मृतकका आफन्तले मृत्युलाई स्वीकार गर्ने कुशल टेक्निक अपनाएर खबर सुनाउनुपर्छ।

इमान्दारीपूर्वक बचाउने अथक प्रयास गर्दा पनि कतिपय बिरामी बचाउन नसक्दा साह्रै दिक्क लाग्ने उनी बताउँछन्। डा. प्रकाश सुनाउँछन्, ‘इमानदारीपूर्वक दिलोज्यानले प्रयास गर्दा पनि बिरामी गुमाउनुपर्छ।’

कोट उपहार 
डा. प्रकाशले अर्को एउटा रोचक प्रसंग कोट्याए। तीन वर्षअघि आफैंले उपचार गरेकी करिब ६० वर्षीया महिलाले फलोअपमा अस्पताल जाँदा डा. प्रकाशलाई कोट उपहार दिएकी रहिछन्।

ती महिलाको टाउकाको दुवैतर्फको भागमा रगत जमेको रहेछ। रक्तश्राव रोक्न शरीरमा आवश्यक प्लेटलेट्सको मात्रा कम भएकाले लामो समय उनको शल्यक्रिया नै हुन सकेन। प्लेटलेट्सको मात्रा कम भएको अवस्थामा शल्यक्रिया गर्दा रक्तश्रावको जोखिम थियो। चिकित्सकहरुलाई प्लेटलेट्स कम हुनुको कारण पत्ता लगाउन मुस्किल पर्‍यो। प्लेटलेट्स दिँदा पनि महिलाको शरीरमा मात्रा बढेन। जसले गर्दा शल्यक्रिया गर्नै मिलेन। बिरामीको भने अवस्था कमजोर हुँदै गयो। 

तर, डा. प्रकाशले एउटा उपाय निकाले। चिकित्सकको टिमसँग सल्लाह गरेर भने, ‘आजदेखि यी महिलालाई सबै औषधि बन्द गरेर नर्मल स्लाइन मात्रै चढाउँ।’ त्यसपछि महिलालाई दिइएको रक्तचाप र डाइबेटिज लगायतको औषधि डा. प्रकाशले बन्द गरे। सबै औषधि बन्द गरेको दुई दिनपछि नै शरीरमा प्लेटलेट्सको मात्रा बढ्यो। र, अवस्था सामान्य भयो।

त्यसपछि डा. प्रकाशको टिमले ती महिलाको टाउकाको शल्यक्रिया गर्‍यो। शल्यक्रिया सफल भयो। बिरामी ठिक भइन्। डिस्चार्ज भएर घर गइन्। डा. प्रकाश सुनाउँछन्, ‘बिरामी ठिक भयो। रगत साफ भयो।’ शल्यक्रियाका लागि योजना बनाएको तीन महिनापछि ती महिलाको शल्यक्रिया गर्न सफल भएको थियो।

डिस्चार्ज भएर घर गएको केही दिनमा अस्पताल आएर तीन महिलाले डा. प्रकाशलाई कोट सिलाएर उपहार दिने प्रस्ताव गरिन्। 

पाको उमेरकी महिलाले कोट सिलाउनका लागि इन्द्रचोकसम्म गइदिन अनुरोध गरिन्। डा. प्रकाशले पनि महिलाको बचन इन्कार गर्न नसकेर इन्द्रचोक पुगेर कोट छेकाए। महिलाले उपहार स्वरुप सिलाइदिएको कोट डा. प्रकाशले लगाए। जुन उनका लागि अविस्मरणीय छ। अहिले पनि ती महिला फलोअपमा अस्पताल आउँदा आफूलाई भेट्ने गरेको उनी सुनाउँछन्।

डा. प्रकाशलाई बेलाबखत उपचारपछि ठिक भएका बिरामीले उपहार लिएर भेट्न पुग्छन्। विशेषगरी दुर्र्गम क्षेत्रका बिरामीले कालो दाल, सिमी, मह लगायतका उपहार ल्याइदिन्छन्, उनलाई। सहरी क्षेत्रका बिरामीले भने टाई, कोट जस्ता उपहार दिने उनले सुनाए। तर चिकित्सकले उपहार लिन नमिल्ने उनको धारणा छ। यसरी उपचार लिँदा बिरामीलाई असर नपर्ने भए मात्रै लिन सकिने उनले बताए।

दुई वर्षे एचए लम्बिएर चार वर्ष
वि.सं. २०१८ सालमा भक्तपुरको सिरुटारमा जम्मिएका हुन् प्रकाश। प्राथमिक शिक्षा गाउँमा नै लिएका उनले एलएलसी भने काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविबाट २०३५ सालमा उत्तीर्ण गरे।

एसएलसीपछि प्रकाश त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज क्याम्पसमा ‘एचए’ अध्ययनका लागि भर्ना भए। तर २०३६ सालको आन्दोलनले पढाइमा पनि बाधा पर्‍यो। जसले गर्दा अढाई वर्षे एचए कोर्षको समय लम्बिँदा अध्ययन सक्न करिब चार वर्ष लाग्यो। २०३५ सालमा एचए भर्ना भएका उनको अध्ययन २०३९ सालको अत्यतिर मात्रै सकियो।

मिहिनेत देखेर तलब
एचए अध्ययन सकेको केही महिनामा २०३९ सालमा नै उनी एमबिबिएस अध्ययनका लागि बंगलादेश पुगे। बंगलादेशको ‘राजशाही मेडिकल कलेज’बाट २०४५ सालको अन्त्यतिर एमबिबिएस अध्ययन पूरा गरेर उनी नेपाल फर्किए। 

नेपाल फर्किनासाथ डा. प्रकाश २०४५ सालमा नै वीर अस्पतालमा बिना तलब काम गर्न थाले। ७ महिना भोलिन्टियर भएर काम गरे। त्यो बेला डा. एसके भट्टाचार्य वीर अस्पतालको निर्देशक थिए। प्रकाशको कामप्रति भट्टाचार्य प्रभावित भएछन्। 

त्यसैले भट्टाचार्यले प्रकाशलाई भनेछन्, ‘तिमीले भोलेन्टियर भएर यति धेरै मिहिनेत गरेर काम गरेका छौ। अब तलबमा काम गर्नुपर्छ। म तलबको व्यवस्था गरिदिन्छु।’ 

तत्कालीन निर्देशक भट्टाचार्यले डा. प्रकाशलाई वीर अस्पताल विकास समितितर्फ चिकित्सकको मेडिकल अधिकृतका रुपमा नियुक्त गरे। भोलिन्टियर काम गरेका प्रकाशले वीर अस्पताल छिरेको ७ महिनापछि तलब पाउन थाले। जसले उनलाई झन् ऊर्जा प्राप्त भयो।

२०४८ सालसम्म उनले वीर अस्पतालमा करार जागिरेका रुपमा काम गरिरहे। आन्दोलनका कारण त्यो बीचमा लोकसेवा परीक्षाहरु पनि खुलेनन्। 

खाली भवनमा एक्लो डाक्टर
डा. प्रकाश २०४८ सालमा लोकसेवाको परीक्षा दिएर सरकारी स्थायी चिकित्सकका रुपमा जागिरे भए। त्यसपछि जिल्ला अस्पताल, खोटाङमा उनको पहिलो पोस्टिङ भयो। 

प्रकाश खोटाङ पुगे। अस्पताल हेरे। तर, उनले त्यहाँ अस्पतालको भवनबाहेक केही देखेनन्। अस्पतालमा न पूर्वाधार थियो न जनशक्ति। न औषधिमुलो न त औजार नै थिए। जनशक्तिका नाममा अस्पतालमा उनी ठिंग एक जना मात्रै थिए। बाँकी ‘खाली भवन’ मात्रै थियो।

उनले खाली भवनमा बिरामीलाई कसरी उपचार गर्न सकिन्छ भनेर मनमनै सोचे। मन्थन गरे। जिल्लाका सरोकारवालासँग छलफलमा जुटे। स्थानीयको सहयोग भयो। अस्पताल चलाउने विषयमा क्षेत्रीय कार्यालय धनकुटासँग समन्वय गरे। सबैतिरबाट सहकार्य हुँदै गयो। उनले जनशक्ति तथा पूर्वाधार र अस्पतालमा आवश्यक स्रोत-साधन लगायतको व्यवस्थापन गर्दै गए। अस्पतालको खाली भवनलाई भर्ने काम गरे। 

२०४८ सालको चैतमा खोटाङ पुगेका उनले २०४९ सालको वैशाखबाट नै अस्पतालमा बिरामी जाँच्न (ओपिडी) सुरु गरे। उनले अस्पतालमा प्रसूति सेवा सुरु गरे। लठ्याएर गर्न मिल्ने शल्यक्रिया सेवा सुरु गरे। शरीरको जुन भागको शल्यक्रिया गर्ने हो त्यही भाग लठ्याएर (सानो–सानो लोकल एनेस्थेसिया) गर्न सकिने शल्यक्रिया गर्न थाले।

पहिलो काँक्रो उपहार
खोटाङमा बस्दा गरेका शल्यक्रियामध्ये एउटा शल्यक्रिया भने उनको मानसपटलमा ताजै छ। मिर्गौलाको समस्या भएकी करिब २२ वर्षकी महिला अस्पताल पुगिन्। सीमित स्रोत-साधनका बाबजुद स्वास्थ्य जाँच गर्दा महिलाको मिर्गौलाको वरिपरि पिप जमेको उनले पत्ता लगाए। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘पेरिनेफ्रिक एप्सेस’ भनिन्छ।

ती बिरामीको आर्थिक अवस्था कमजोर थियो। डा. प्रकाशले सोचे-मैले उपचार नगरे त महिला धरान, विराटनगर उपचार गर्न जाँदिनन्। 

त्यसैले उनले महिलाको त्यहीं शल्यक्रिया गरे। शल्यक्रिया गरेर मिर्गौलामा जमेको पिप फाले। बिरामीको स्वास्थ्य समस्या पूर्ण रुपमा ठिक भयो। उनी एमबिबिएस अध्ययन गरेका चिकित्सक भएपनि वीर अस्पतालमा काम गरेको तथा पढेको अनुभवले त्यो बेला जिल्ला अस्पतालमा बस्दा शल्यक्रिया गरेको उनले सुनाए।

वैशाखको अन्त्यतिर शल्यक्रिया भएको थियो। जेठको मध्यतिर ती महिलाले आफ्नो बारीमा फलेको काँक्रो डा. प्रकाशलाई ल्याएर उपहार दिइछन्। जुन क्षण डा. प्रकाश अहिले पनि बिर्सँदैनन्। 

सिडियोको भान्सामा खानपान
त्यो बेला खोटाङका सिडिओ रेवतीरमण काफ्लेले अस्पताल सञ्चालनमा निकै सहयोग गरेको डा. प्रकाश सुनाउँछन्। अस्पतालको क्वाटर तयार नहुँदासम्म डा. प्रकाश उनै सिडियोकहाँ बसे। उनकै भान्सामा खाए। ‘उहाँले सहयोग नगरेको भए त्यो ठाउँमा त्यति चाँडै अस्पताल सुरु गर्नै सकिँदैनथ्यो नि,’ उनी भन्छन्।

सर्जन अभावले पुनः वीरमा
डा. प्रकाश खोटाङमा लामो समय भने बस्न पाएनन्। चैतमा खोटाङ पुगेका उनी भदौसम्म करिब ६ महिना बसे। उनी त्यहाँ लामो समय बस्न नपाउनुको कारण रहेछ, वीर अस्पतालमा डा. प्रकाशको तहको शल्यक्रिया गर्ने डाक्टरको अभाव। सर्जिकल सेवा नै प्रभावित हुने भएपछि उनलाई वीर अस्पताल बोलाइयो। २०५१ सम्म उनी वीर अस्पतालमा नै काजमा रहे।

त्यसो त उनलाई अध्ययनको भोक मरेकै थिएन। सन् १९९४ सालमा ‘एमएस’ जनरल सर्जरी अध्ययनका लागि बंगलादेश पुगे। डा. प्रकाश बंगलादेशको ढाका विश्वविद्यालय अन्तर्गत ‘आइपिजिएमआर’ बाट सन् १९९७ मा एमएस जनरल सर्जरी विषयको अध्ययन सकेर नेपाल फर्किए। त्यसपछि वीर अस्पतालमा जनरल सर्जरी नै गर्न थाले। 

देवकोटाले देखाएको त्यो बाटो
वीर अस्पतालमा काम गरिरहेकै समयमा डा. उपेन्द्र देवकोटाले उनलाई एउटा प्रस्ताव गरे। डा. प्रकाशलाई देवकोटाले गरेको त्यो प्रस्ताव थियो- मलाई न्युरो सर्जन चाहिएको छ। म एक्लैले भ्याउँदिन। एमएस गरिसकेको भएकाले तिमी सर्जन भइसकेका छौं। न्युरो सर्जरीमा काम गर्दागर्दै तिमी न्युरो सर्जन हुन्छौं। 

त्यो बेला देवकोटाले भनेको वाक्य डा. प्रकाश सम्झन्छन्, ‘न्युरो सर्जरीमा मलाई गाह्रो भयो। आएर मलाई सहयोग गर भन्नुभयो।’ त्यो बेला न्युरो सर्जरी विधामा चिकित्सकको कमी थियो।

त्यो बेला वीर अस्पतालको न्युरो सर्जरी युनिट प्रमुखमा डा. उपेन्द्र देवकोटाले काम गरिरहेका थिए।

न्युरो सर्जरी विभागमा काम गर्दा आर्थिक रुपमा पनि बलियो हुने डा. देवकोटाले उनलाई सपना देखाइदिए। सुझाव दिए। त्यसपछि डा. प्रकाश पनि न्युरो सर्जरीतिर उनी आकर्षित भए। 

त्यसो त वीर अस्पतालमा करारको रुपमा काम गर्दा नै अस्पतालको आकस्मिक कक्षमा टाउकोको चोट पटक (हेड इन्जुरी) तथा स्पाइनल इन्जुरीका बिरामीको उपचारको व्यवस्थापन डा. प्रकाशले गरेका थिए। त्यो बेला एक्लै भएका कारण यस्तो समस्या परेका बिरामी डा. देवकोटाले उपचार गर्न भ्याउँदैनथे। त्यस्ता बिरामीको उपचार जनरल सर्जरीको टिमले नै गर्नुपर्थ्यो। प्रकाशले त्यो बेला नै बिरामीको टाउको खोलेर गर्ने शल्यक्रिया गरेका थिए।

डा. प्रकाशले सुनाए, ‘हेड इन्जुरीका बिरामी जनरल सर्जिकल टिमले नै हेर्नुपर्थ्यो। त्यतिबेलै टाउकोमा चोट लागेका बिरामीको टाउको खोलेर अप्रेसन गर्थें।’ जुनबेला उनी एमबिबिएस चिकित्सक थिए।

डा. देवकोटाको प्रस्तावपछि बंगलादेशबाट फर्किएको २/३ महिनामा नै उनी १९९७ देखि वीर अस्पतालको न्युरो सर्जरी युनिटमा काम गर्न थाले। त्यसपछि देवकोटासँगै उनले सन् १९९९ सम्म तीन वर्ष काम गरे।

तर, ती वर्ष न्युरो सर्जरीमा काम गरे पनि डा. प्रकाशले न्युरो सर्जनको रुपमा शैक्षिक प्रमाणपत्र भने नपाउने भए। त्यसपछि काठमाडौं विश्वविद्यालयले वीर अस्पतालको न्युरो सर्जरी युनिटमा ‘न्युरो सर्जरी’ विषयको अध्ययन सुरु गर्‍यो। 

डा. प्रकाशले पनि सन् २००० मा भर्ना भएर ‘एमसिएच’ सर्जरी अध्ययन सुरु गरे। त्यसपछि उनी न्युरो सर्जन भए। डा. प्रकाश न्युरो सर्जरी विशेषज्ञका रुपमा परिचित हुन थाले। त्यो ब्याचमा उनी सर्वोत्कृष्ट भए। जसबापत ‘महेन्द्र विद्याभुषण’बाट समेत सम्मानित भए। जुन विषय अध्यापन गर्ने शिक्षक भने डा. देवकोटा नै थिए। डा. प्रकाशले देवकोटासँग पढे। देवकोटा नेपालको पहिलो आधुनिक न्युरो सर्जन मात्रै नभएर न्युरो सर्जरी विषयको पहिलो प्राध्यापक समेत भएको उनले सुनाए।

डा. प्रकाश निरन्तर न्युरो सर्जनका रुपमा काम गरिरहेका छन्। करिब १५ वर्ष देवकोटासँग काम गरेका डा. प्रकाश अहिले वीर अस्पतालको न्युरो सर्जरी विभागको प्रमुख छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको (एमसिएच) कोर्ष को-अर्डिनेटरको भूमिकामा पनि छन् उनी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....