उकेरा कोलम

द्वन्द्वकालमा गोली लागेर दृष्टि गुमाउनेका साक्षी 


काठमाडौं : द्वन्द्वकालको भिडन्तमा कतिका अंगभंग भए। कतिले आँखाको ज्योति नै गुमाए। 

त्यो बेलाका भिडन्तमा गोलीका छर्रा लागेर दृष्टि गुमाउने केही व्यक्तिका साक्षी छन्, नेत्र रोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुंगेल। 

२०५६ देखि २०६८ सालसम्म बाँकेको फत्तेवाल आँखा अस्पतालमा कार्यरत उनले अस्पतालमै बिरामीले दृष्टि गुमाएको देखेका छन्। 

त्यतिबेलाको एक घटना उनी अझै सम्झिरहन्छन्। 

उनले घटना सुनाए– देब्रे आँखामा गोलीको छर्रा लागेका नेपाली सैनिक उपचारका लागि अस्पताल आएका थिए। तर, उपचारका क्रममा ती सैनिकको आँखा निकालेर फाल्नुपर्यो। 

उनले कारण खुलाए, ‘आँखा ननिकालेको भए इन्फेक्सन भएर ब्रेनमा समस्या आउन सक्थ्यो।’

ती सैनिकको मात्रै होइन, आँखामा गोलीको छर्रा लागेका अरु बिरामीको पनि उनले उपचार गरे। कतिको दृष्टि फर्काउन सके, कतिको सकेनन्। 

‘आँखामा गोलीको छर्रा लागेका धेरैको उपचार गरियो। कतिको सफल भयो, कतिको आँखै निकालेर फाल्नुपर्याे,’ ६२ वर्षीय डा. इन्दुप्रसादले सुनाए। 

०००

डोल्पाको आँखा शिविरको घटेको एक घटना पनि उनी मानसपटलमा ताजै छ। 

त्यहाँ आँखाको ज्योति गुमाएका ६० वर्षीय पुरुषले शल्यक्रियापछि दृष्टि पाएका थिए। आँखाको ज्योति पाएपछि ती व्यक्तिले डा. इन्दुप्रसादसँग भनेका थिए– अब म हिँडेर नेपालगञ्ज जान्छु। र, दमको उमचार गर्छु। 

०००

केही दिनअघि धादिङको आँखा शिविरमा दुवै आँखाको दृष्टि गुमाएका पाको उमेरका व्यक्तिले उनीसँग आँखाको शल्यक्रिया गर्न ढिपी कसे। ती बिरामीले एक आँखाको शल्यक्रिया गराइसकेका थिए। 

त्यसपछि डा. इन्दुप्रसादले उनलाई शल्यक्रिया गरे पनि दृष्टि नफर्किने बताए। तैपनि बिरामीले आफ्नो ढिपी छाडेनन्। त्यसपछि उनको आँखाको शल्यक्रिया गरियो। तर, सफल भएन। 

उपचारका लागि आएका बिरामीको दृष्टि फर्काउन नसक्दा पिरोलिन्छन् उनी। 

२५ सयभन्दा बढीलाई दृष्टि 

उनले दृष्टि गुमाएका धेरैको सफल उपचार गरिसकेका छन्। अहिलेसम्म उपचार गरेर २५ सयभन्दा बढीलाई दृष्टि दिएको उनको अनुमान छ। 

‘आँखासम्बन्धी सामान्य समस्या भएकाको त हजारौंको उपचार गरें हुँला,’ नेपाल आँखा अस्पतालमा कार्यरत उनी भन्छन्। 

जनैपूर्णिमामा जन्मिएकाले इन्दु नाम 

डा. इन्दुप्रसाद काठमाडौंको वसन्तपुरस्थित झोंछे टोलमा जन्मिएका हुन्। 

जनैपूर्णिमाको दिन जन्मिएकाले हजुरबुबाले उनको नाम इन्दु राखिदिएका हुन्। हिन्दुशास्त्र अनुसार पूर्णिमाको रात चन्द्र पूर्ण रूपले उदाउँछ। चन्द्रलाई इन्दु पनि भनिने भएकाले हजुरबुबाले इन्दु नाम राख्नुभएको उनी बताउँछन्। 

२०२८ सालमा एसएलसी

उनले २०२८ सालमा गणवाहल (धरहरा)को ‘नेपाल आदर्श मावि’बाट एसएलसी उत्तीर्ण गरे। 

एसएलसीपछि उनी स्वयंम्भुस्थित ‘आनन्द कुटी साइन्स कलेज’मा आइएस्सी पढे।

एमबिबिएस पढ्न हजुरबुबाको प्रेरणा

हजुरबुबाकै प्रेरणाले आफूमा डाक्टर बन्ने रहर जागेको डा. इन्दुप्रसाद बताउँछन्। ‘हजुरबुबाले तँ पनि एमबिबिएस पढ्नुपर्छ भनेर हौसला दिनुहुन्थ्यो,’ उनले सम्झिए।  

उनका हजुरबुबा मुक्तिनाथ ‘कविराज’ थिए। भारतको कलकत्तामा आयुर्वेदसम्बन्धी अध्ययन गरेका उनका हजुरबुबा नरदेवी क्याम्पसमा मेडिकल सुपरिटेन्डेन्ट पनि भएका थिए। 

एसएलसी उत्तीर्ण भएपछि हजुरबुबाकै प्रेरणाले एमबिबिएस पढ्ने तयारीमा जुटेका थिए उनी। 

एमबिबिएसमा छनोट नहुँदा बीएस्सी

त्यो बेला एमबिबिएस अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि भारतले ‘कोलम्बो प्लान’ नामक फेलोसिप (स्कलरसिप) दिन्थ्यो। उनले त्यही कोटामा स्कलरसिपका लागि आवेदन दिए। छनोटका लागि परीक्षा पनि दिए। तर, छनोट भएनन्।

उनले भने, ‘कोलम्बो प्लानमा पढ्न धेरै प्रयत्न गरियो। अलिकति प्रतिशत पुगेन।’

त्यसपछि उनले बिएस्सी पढे। 

दोस्रो प्रयासमा सफल 

बिएस्सीपछि फेरि उनले त्यही प्लानमा एमबिबिएस अध्ययनका लागि आवेदन दिए। र, छनोट भए। 

भारतको नागपुरस्थित ‘गभरमेन्ट मेडिकल कलेज’मा उनी एमबिबिएस अध्ययन गर्न थाले। उनको ब्याचमा तीन नेपाली थिए। 

त्यतिबेला एमबिबिएस अध्ययनका क्रममा डेढ वर्षको एनाटोमी (शवको चिरफार र अध्ययन) कोर्स हुन्थ्यो। त्यो कोर्समा शव चिरफार गर्नुपर्छ। 

‘सुरुसुरुमा त शव देख्दा डर लाग्थ्यो। आफैले चिरफार गरेर अध्ययन गर्ने भनेपछि त झन् शरीर नै सिरिङ्ग हुन्थ्यो,’ उनले सम्झिए।  

तर, विस्तारै उनले बानी पारे। 

सन् १९८२ मा उनी एमबिबिएस उत्तीर्ण भएर नेपाल फर्किए। 

पहिलो पोस्टिङ रामेछापमा 

एमबिबिएसपछि भारतबाट नेपाल फर्किएलगत्तै उनी नेपाल सरकारको जागिरे भए। उनको  पहिलो पोस्टिङ रामेछापको ‘रामेछाप हेल्थ सेन्टर’मा भयो। 

त्यहाँ कार्यरत रहँदा बालक मृत्युको घटना उनी कहिल्यै बिर्सदैनन्। 

घटना यस्तो रहेछ– हेल्थ सेन्टरमा उपचारका लागि ८ वर्षीय बालकलाई ल्याइएको थियो। डा. इन्दुप्रसादले बालकको चेकजाँच गरे। र, रोग पहिचान गरे– मेनेन्जाइटिस। 

डा. इन्दुप्रसादले बालकको उपचार थाले। तर, केही दिनपछि बालकको मृत्यु भयो। त्यसपछि उनले महसुस गरे– बालकलाई काठमाडौं रिफर नगरेर गल्ती भयो। 

रामेछापपछि टेकु सरुवा 

रामेछापमा एक वर्ष काम गरेपछि डा. ढुंगेल काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल सरुवा भए। टेकुपछि उनी दोलखाको जिरी अस्पताल पुगे। 

जिरी अस्पतालमा झाडापखाला लागेको बिरामी धेरै आउँथे। त्यो समयमा झाडापखाला लागेका धेरै बालबालिकालाई बचाएको उनी सम्झन्छन्। 

एमडी पढ्न फेरि भारत 

त्यसपछि उनी एमडी अध्ययनका लागि फेरि भारत गए। उनले भारतको नयाँ दिल्लीस्थित ‘अल इन्डिया इन्टिच्युड अफ मेडिकल साइन्स’ एमडी अध्ययन थाले। उनले एमडीमा नेत्र रोग अध्ययन गरे। र, सन् १९९२ मा एमडी उत्तीर्ण गरे। 

एमडी अध्ययनका क्रममा प्रोफेसरहरूले क्लिनिकमा प्राक्टिस नगर्नु भनेको उनी सम्झिन्छन्। क्लिनिकमा बिरामी जाँच्न थालेपछि बिरामी ठगिन्छन् भन्ने प्रोफेसरहरूको भनाइ थियो।

एमडीपछि त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा

भारतबाट एमडी अध्ययन गरेर फर्किएपछि उनी त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा काम गर्न थाले। त्यो समयमा चस्माको समस्या, मोतिविन्दु, जलविन्दु, खस्रे रोगका समस्या भएका बिरामी बढी आउँथे। 

भिटामिन ‘ए’ को कमी, आँखामा चोटपटकका बिरामी अस्पतालमा धेरै आउने गरेको उनले सम्झिए। 

अहिले भने नेपालमा मोतिविन्दुसँगै दृष्टि (टाढा वा नजिक नदेख्ने) समस्या देखिन थालेको उनी बताउँछन्। 

अहिले बच्चामा विभिन्न कारणले अन्धोपनको समस्या पनि धेरै देखिएको उनले बताए। अहिले पनि बच्चामा विभिन्न प्रविधिका कारण आँखाको समस्या थपिने गरेको उनी बताउँछन्।

त्रिपुरेश्वरको आँखा अस्पतालपछि पोखराको हिमालय आँखा अस्पताल, काभ्रेको बनेपास्थित शिर मेमोरियल आँखा अस्पताल, नेपालगन्जको फत्तेबाल अस्पताल पुगेर उनले काम गरे। 

नेपालगन्जपछि २०६८ सालमा उनी काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमै फर्किए। उनी आँखा अस्पतालको निर्देशक समेत भइसकेका छन्।

मोतिविन्दुको समस्यामा दृष्टि गुमे उपचार गर्दा ठिक हुने तर, जलविन्दुले दृष्टि गुमे उपचार गर्दा ठिक नहुने उनी बताउँछन्। 

उनले विदेशका विभिन्न मुलुकमा पुगेर तालिम तथा अध्ययन गरेका छन्। नेपालमा अहिले आँखाको राम्रो उपचार हुने भएकाले विशेषज्ञको अभावकै कारण विदेश गएर उपचार गर्नुपर्ने अवस्था नरहेको उनी बताउँछन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....