उकेरा कोलम

डा. प्रकाशको अनुभव : झाडापखालाले गाउँ नै सखाप हुन लागेको खबर पाएपछि...


तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : डा. प्रकाश प्रसाद साहले चिकित्सकीय पेसाका क्रममा भोगेका केही क्षणहरू यादगार छन्। जसमध्ये हुम्लाको जिल्ला अस्पतालमा २०६५ मा पुगेर काम गर्दाको एउटा क्षण उनको स्मृतिमा अझैँ ताजा छ। भएको के थियो भने हुम्लाको श्रीनगर भन्ने ठाउँको स्वास्थ्य चौकीमा करिब ३८ वर्षकी गर्भवतीलाई पुर्‍याइएछ। जहाँ वर्थिङ सेन्टर पनि थियो। सदरमुकामबाट करिब चार दिनको पैदल यात्रापछि श्रीनगर पुग्नुपर्थ्यो।

स्थानीय स्वास्थ्य चौकीमा महिलाले बच्चा जन्माउन सकिनछिन्। त्यहाँ सुत्केरी हुन नसकेपछि जिल्ला अस्पतालमा डा. प्रकाशलाई खबर आयो। जिल्ला अस्पतालबाट उनको टिमले स्वास्थ्य चौकीकी सिस्टरलाई फोनमा सुत्केरी गराउने टेक्निक सिकाए। सिस्टरले सुत्केरी गराउने प्रयास गरिन्। तर, केही चलेन। महिलाको स्वास्थ्य अवस्था झन् जटिल हुँदै गयो।

वर्षाको समय। पानी झमझम परेको थियो। त्यसैले अन्यत्र लान कठिन थियो। प्रसव पिडाले छटपटाएकी महिलालाई कसरी जिल्ला अस्पतालसम्म ल्याउने भनेर डा. प्रकाशले विभिन्न निकायसँग समन्वय गरे। हेलिकप्टरको व्यवस्थापन गर्न सकिन्छ की भनेर एयरपोर्टसँग पनि सम्पर्क गरे।

प्रकाशले श्रीनगरमा नै चामल बोकेर एउटा हेलिकप्टर जाने थाहा पाए। श्रीनगरमा हेलिकप्टर पुगेछ। हेलिकप्टरसँग सम्पर्क गरेर ती प्रसव पिडामा रहेकी महिलालाई जिल्लासम्म ल्याइदिन अनुरोध गरे। प्रमुख जिल्ला अधिकारीसँग पनि समन्वय गरे।

करिब ३५ हजारमा जिल्लामा ती बिरामी ल्याइदिन हेलिकप्टर सहमत भयो। त्यो खर्च स्वास्थ्य कार्यालयले नै बेहोर्‍यो। हेलिकप्टरलाई भुक्तानी गर्ने शीर्षक थिएन। तर, ज्यान बचाउने सवालमा कुनै अप्ठेरो परे सिडिओ लगायतले हामी छौँ भन्ने ढाडस दिएका थिए। जसले हेलिकप्टरलाई भुक्तानी गर्न सहज भएको प्रकाशले सुनाए।

महिलामा हेमोग्लोविनको मात्रा कम भएको रहेछ। जिल्ला अस्पतालमा ल्याएर ती महिलालाई चिकित्सकको टिमले सुत्केरी गरायो। आमा र बच्चा दुवैको ज्यान बाँच्यो। प्रसव पिडाले छटपटाएकी आमा र बच्चा दुवैको ज्यान बचाउँदाको त्यो क्षण डा. प्रकाशका लागि चिकित्सकीय जीवनकै यादगार क्षण हो।

ती महिला अस्पतालबाट करिब एक हप्तामा डिस्चार्ज भइन्।

झाडापखालाकाले गाउनै सखाप हुन लागेको खबर पाएपछि...

डा. प्रकाश जिल्ला अस्पताल हुम्लामा थिए। उनी हुम्ला पुगेको केही महिनापछि श्रीनगर भन्ने ठाउँमा नै झाडापखाला फैलिएछ। श्रीनगरमा झाडा पखाला फैलिएको खबर एक जना सांसदबाट डा. प्रकाशले जानकारी पाए। ती सांसदले डा. प्रकाशलाई भने,‘डाक्टरसाब श्रीनगरमा झाडापखाला फैलिएर चार जनाको मृत्यु भइसक्यो। तुरुन्तै टिम पठाउनुपर्‍यो।’

डा. प्रकाशले बुझे,-श्रीनगरमा झाडापखालाको भयावह स्थिति निम्तिएछ। त्यसपछि बल्लतल्ल स्थानीय स्वास्थ्य चौकीमा उनले सम्पर्क गरे। स्वास्थ्य चौकीबाट पनि झाडापखालाका धेरै बिरामी गम्भीर अवस्थामा भएको खबर पाए। खबर पाए अनुसार त्यहाँ दुई सय भन्दा बढी झाडापखालाका बिरामी सिकिस्त थिए। प्रमुख जिल्ला अधिकारी लगायतसँग उनले तुरुन्तै छलफल गरे।

स्थानीय तहले खर्च गर्ने गरी एक लाख २५ हजारमा हेलिकप्टर चार्टर्डको चाँजो डा. प्रकाशले मिलाए। त्यसपछि स्वास्थ्य सामाग्रीसहित उनले ९ र १० जना स्वास्थ्यकर्मीको टिम हेलिकप्टरमा श्रीनगरतर्फ पठाए। जिल्ला अस्पतालमा एक जना मात्रै चिकित्सक भएकाले उनी भने जिल्ला छाडेर हिँडेनन्।

खबर पाएको भोलिपल्टै त्यहाँ पुगेर स्वास्थ्यकर्मीको टिमले उपचार थाल्यो। दोस्रो दिन नजिकका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोली पनि श्रीनगर पुगेर झाडापखालाका बिरामीको उपचार सुरु गर्‍यो। धेरैको ज्यान जोगियो। डा. प्रकाशले पठाएको जिल्लाको स्वास्थ्यकर्मीको टोली एक हप्तापछि फर्कियो।

एचए अध्ययन सके लगत्तै पाँच हजारको जागिर

डा. प्रकाश सप्तरीको कन्चपुरमा २०२८ मा जन्मिएका हुन्। उनले कन्चनपुरकै सर्वोदय माविबाट २०४४ मा एसएलसी उत्तीर्ण गरेका हुन्। एसएलसीमा उनी जिल्ला टप मात्रै भएनन् अनिवार्य गणित विषयमा त सय पूर्णाङ्कमा सय नै नम्बर ल्याएका रहेछन्। त्यसैले त्रृटीका कारण पो गणित विषयमा सय नम्बर आएको हो की भनेर पुनः निश्चित गरियो। केही समय प्रमाणपत्र दिनै रोकिएछ। तर, सो नम्बर सही नै भएको निश्चित भएपछि प्रमाणपत्र पाए।

एसएलसीपछि काठमाडौँ आएर अस्कल क्याम्पसमा उनले आइएस्सी अध्ययन सुरु गरे। आइएस्सी पहिलो वर्ष उत्तीर्ण गरेपछि २०४६ मा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा ‘हेल्थ असिस्टेन्ट अध्ययन गर्न थाले। तर, त्यो बेलाको आन्दोलनका कारण पढाइमा बाधा पुग्यो। त्यसैले २०५० मा मात्रै उनको एचए अध्ययन पूरा भयो। आइएस्सी र एचए दुवै अध्ययन सकियो।

त्यसपछि एचए अध्ययन गर्दाका साथीहरूसँग उनी नवलपरासीको परासिमा सिएमए क्याम्पसमा गएर सिएमए, अनमि जस्ता विद्यार्थीलाई पढाउने प्रशिक्षकका रूपमा काम गर्न थाले। २०५० देखि २०५२ सम्म दुई वर्ष उनले त्यहीँ काम गरे। त्यहाँ उनी मासिक पाँच हजार तलब पाउँथे।

नवलपरासीपछि उनी गोरखा पुगे। त्यहाँ पनि सिसिटिभी अन्तर्गतका निजी सिएमए तालिम केन्द्रमा प्रशिक्षकका रूपमा काम गरे। गोरखामा २०५६ सम्म करिब पाँच वर्ष उनले काम गरे।

एचएबाट छात्रवृत्तिमा एमबिबिएस गर्ने अन्तिम भाग्य

त्यही बेला उनले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबिबिएस अध्ययनका लागि छनोट परीक्षा दिएका थिए। नभन्दै उनी छनोट परीक्षामा सफल भए। एचए अध्ययन गरेका विद्यार्थीको कोटामा उनले २०५६ मा एमबिबिएस अध्ययन थाले।

त्यो ब्याच नै एचए अध्ययन गरेकाले एमबिबिएस अध्ययन गर्न पाउने अन्तिम ब्याच थियो। भाग्यवश एचए कोटाबाट छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न पाउने अन्तिम ब्याचमा परे उनी। २०६२ मा एमबिबिएस अध्ययन पूरा भयो उनको।

लोकसेवा परीक्षाको दुःख

एमबिबिएसपछि डा. प्रकाश लमजुङको भोटे ओडार भन्ने ठाउँमा एउटा निजी क्लिनिकमा काम गर्न पुगे। लमजुङमा काम गर्दागर्दै २०६३ मा लोकसेवा परीक्षा खुल्यो। डा. प्रकाशले पनि लोकसेवा परीक्षा दिए। लोकसेवाको परीक्षा दिएपछि सरकारी जागिरे भएर आफ्नै जिल्लामा बस्ने योजनाले उनले लमजुङको एक वर्षे यात्रालाई टुङ्ग्याउँदै सप्तरी पुगे। सरकारी जागिरे भएपछि सप्तरीको कन्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्ने उनको इच्छा थियो।

आफ्नै जन्म क्षेत्र नजिक राजविराज पुगेर युनिक एजुकेश्नल एकेडेमीमा काम गर्न थालेका थिए। जहाँ एचए, स्टाफ नर्स, ल्याब, फार्मेसी लगायतको पढाई हुन्थ्यो।

लोकसेवाको नतिजा पनि आयो। लिखितमा उनी उत्तीर्ण भए। तर, त्यो बेलाको मधेस आन्दोलनका कारण उनलाई लोकसेवाको अन्तर्वाताका लागि काठमाडौँ आउन निक्कै कठिन पर्‍यो। यातायातका साधन ठप्प थिए। उनी सप्तरीबाट कोसी ब्यारेकहुँदै ठेला, साइकल जस्ता साधनमा यात्रा गर्दै भारतको बाटो हुँदै जोगबनी पुगेर विराटनगर आए। विराटनगरबाट हवाईजहाजमार्फत डा. प्रकाश काठमाडौँ आए।

काठमाडौँ आएर लोकसेवाको अन्तर्वार्ता दिए। अन्तर्वातको नतिजा उनले सोचे जस्तो आएन। डा.प्रकाशको नाम त वैकल्पिकमा पो निस्कियो। म ताक्छु मुढो बच्चरो ताक्छु घुँडो भन्ने उखान जस्तो पो भयो उनलाई।

तर, कतिपय चिकित्सकहरूले नियुक्ति लिए पनि एमडी तहको अध्ययन गरिरहेका थिए। जसले गर्दा लोकसेवाको परीक्षामा वैकल्पिक रूपमा छनोटमा परेका डा. प्रकाशको पालो आयो। उनले २०६४ मा नियुक्ति पाए। डा. प्रकाश लोकसेवामार्फत स्थायी सरकारी मेडिकल अधिकृतका रूपमा जागिरे भए।

पानीमा चोबलिँदै बिरामीको जाँच

नियुक्ति पत्र लिएपछि नवलपरासीको परासीस्थित तत्कालीन पृथ्वीचन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गोपाल खनाल भेटिए। डा. खनालसँग प्रकाशको चिनजान थियो। त्यसैले डा. गोपालले प्रकाशलाई नवलपरासीमा नै जान अनुरोध गरे। प्रकाश पहिले पनि त्यो ठाउँमा एचएका रूपमा बसेर काम गरेका थिए।

पृथ्वीचन्द्र अस्पतालमा त्यो बेला उपचार हुन नसकी रिफर भएपछि बाटैमा एक जना सुत्केरी महिलाको मृत्यु भएको रहेछ। त्यसैले त्यो बेला अस्पतालमा तोडफोड भएको रहेछ। त्यो घटनाले चिकित्सकको भागाभाग भएको रहेछ। त्यसैले जो पायो त्यही चिकित्सक नवलपरासीमा बस्नै मानेका रहेनछन्। तर, डा. प्रकाश त्यहाँ जान तयार भए।

उनी सरकारी जागिरेका रूपमा पहिलो पोस्टिङमा नवलपरासीको पृथ्वीचन्द्र अस्पताल पुगे। त्यहाँ बिहान नौ बजे अस्पताल छिरेपछि राती भएको पत्तै हुँदैनथ्यो रे। पुरानो तथा जीर्ण भवन थियो अस्पतालको। वर्षाको समयमा त बिरामी जाँच्ने कोठा कोठामा पानी भरिन्थ्यो। अस्पतालका कोठाभित्रको पानीमा छप्लायाङ्ग छुप्लुङ्ग गर्दै बिरामीको जाँच र उपचार गर्नुपर्ने बाध्यता थियो।

नवलपरासीमा करिब एक वर्ष काम गरेपछि उनले २०६५ मा कोसी बाढीको समयमा काजमा सप्तरीमा पुगेर तीन महिना काम गरे।

तराइको केटा हिउँ खाने बेलामा हुम्ला

त्यसपछि २०६५ को पुसमा डा. प्रकाश जिल्ला स्वास्थ्य  कार्यालयको प्रमुखको जिम्मेवारी लिएर हुम्ला पुगे। हुम्लाको जिल्ला अस्पताल प्रमुखको जिम्मेवारी सम्हाले। त्यो बेला जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख नै जिल्ला अस्पताल प्रमुख हुने चलन थियो।

तराइमा जन्मेका, हुर्केका उनलाई सुरुमा हुम्लाको चिसो काट्न निक्कै कठिन भयो। गएकै हप्ता हिउँ पर्‍यो। हिउँ परेको पर्‍यै। अक्सिजनको समेत कमी भएको महसुस भयो उनलाई। उनलाई त्यो हिउँद कटाउन निक्कै कष्ट पर्‍यो। खाने कुरा पनि मिलेन। तर, उनी हुम्लामा बानी पर्दै गए। त्यसैले त हुम्लामा २०६५ देखि २०६८ वर्ष करिब साढे तीन वर्ष बिताए डा. प्रकाशले।

एमपिएच अध्ययन र भोजपुर बसाई

हुम्लापछि डा. प्रकाश स्वास्थ्य मन्त्रालयको छात्रवृत्ति कोटामा एमपिएच (मास्टर्स इन पब्लिक हेल्थ) विषयको अध्ययनका लागि थाइल्यान्ड पुगे। एक वर्षको एमपिएच अध्ययनपछि उनी २०७० मा नेपाल फर्किए।

त्यसपछि डा. प्रकाश प्रमुखको जिम्मेवारी सहित भोजपुर जिल्ला स्वास्थ्य कार्यालय पोस्टिङ भए। भोजपुर बसेको केही महिनापछि उनी भन्दा सिनियर चिकित्सक प्रमुखको जिम्मेवारी लिएर त्यहाँ पुगे।

भोजपुरमा करिब एक वर्ष काम गरेपछि २०७१ मा डा. प्रकाश डोल्पास्थित जिल्ला स्वास्थ्य कार्यालय र अस्पतालमा प्रमुखको रूपमा सरुवा भए। त्यो बेलासम्म उनी आठौँ तहका चिकित्सक थिए। डोल्पामा काम गरिरहँदा उनी नवौँ तहमा बढुवा भए। उनी नवौँ तहमा जनरल हेल्थ सर्भिस (जहेस) समूहबाट पब्लिक हेल्थ एड्मिनिष्ट्रेशन (पहेए) समूहको उपस्वास्थ्य प्रशासकमा बढुवा भएका हुन्।

डोल्पामा करिब एक वर्ष काम गरेपछि उनको पदस्थापना स्वास्थ्य सेवा विभागमा भयो। तर, कामकाजका लागि भने उनी २०७२ मा जिल्ला स्वास्थ्य कार्यालय रामेछाप खटिए। रामेछापमा नै काम गर्दा उनी २०७३ मा दसौँ तहको वरिष्ठ स्वास्थ्य प्रशासकका रूपमा बढुवा भए। डा. प्रकाश सङ्घमा नै समायोजन भए।

रामेछापको करिब तीन वर्ष बसाइपछि उनी काठमाडौँको टेकुस्थित स्वास्थ्य सेवा विभागमा सरुवा भए। विभागमा सरुवा भएपछि २०७५ मा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको ‘महामारी नियन्त्रण’ शाखा प्रमुखको जिम्मेवारी पाएर काम गरे। त्यसपछि महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुखको रूपमा पनि काम गरे।

स्वास्थ्य मन्त्रालयसँग चित्त दुखाई

टेकुमा काम गर्दा नै गत वैशाखमा डा. प्रकाश ११ औँ तहको पब्लिक हेल्थ एड्मिनिष्ट्रेशन (पहेए) समूहको प्रमुख जनस्वास्थ्य प्रशासकका रूपमा बढुवा भए। तर, बढुवा भइसकेपछि भने स्वास्थ्य मन्त्रालयसँग डा. प्रकाशको चित्त दुखाई छ। किनकि बढुवा भएपछि उनलाई बढुवा भए अनुसारको सेवा तथा समूहमा कामकाजका लागि खटाइएन।

मन्त्रालयमा नै राखियो उनलाई। कोरोना भाइरस महामारीको दोस्रो लहरको त्यो समयमा अक्सिजनको चरम अभाव थियो। सिसिएमसीपछि अक्सिजनको व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिएको थियो। मन्त्रालयले अक्सिजन व्यवस्थापनका लागि टिम गठन गर्‍यो। उनका अनुसार उनी र डा. रोशन न्यौपानेको नेतृत्वमा दुई वटा अक्सिजन व्यवस्थापनका लागि टिम गठन भएको थियो। जुन व्यवस्थापनको जिम्मेवारी आफूले कुशल ढङ्गले गरेको डा.प्रकाशले सुनाए।

त्यसपछि पनि उनी बढुवा भएको तहमा मन्त्रालयले पदस्थापन नै गरेनछ। डा. प्रकाशलाई मिल्ने सेवा समूहमा बरु अन्य चिकित्सकलाई जिम्मेवारी दिइयो। उनले मन्त्रालयमा प्रश्न पनि गरे,-मेरो रिक्त भएको दरबन्दीमा किन पदस्थापन गर्नुहुन्न? मन्त्रालयका अधिकारीहरूको जवाफ आउँथ्यो,'त्यहाँ काम गरिरहेकालाई कसरी हटाउने र?'

पछिपछि त उनको काम मन्त्रालयमा जाने, हाजिर गर्ने अनि पदस्थापन गरिदिनुस् भन्दै अनुरोध गर्दैमा बित्न थाल्यो। अक्सिजनको व्यवस्थापनको समयमा होस वा अन्य बेला मन्त्रालयमा बस्न कोठा र कुर्सी टेबल नै नपाएको उनले सुनाए। उनले सुनाए,'हलमा, जहाँ पायो त्यहीँ बसेर अक्सिजनको व्यवस्थापनमा खटिए।'

जथाभावी सरुवाको दुःख

गत भदौमा बल्ल उनले भक्तपुरस्थित राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी पाए। जहाँ उनी बढुवा भएको सेवा र समूह मिल्थ्यो। त्यहाँ काम काज गर्न पुगे पनि उनको दरबन्दी अनुसार पदस्थापना भने भएन। दरबन्दी खाली भए पनि पदस्थापन नगरिदिनुको कारण अहिले पनि खोज्छन् उनी। तर, उनले चित्त बुझ्दो जवाफ पाएका छैनन्।

क्षयरोग केन्द्रमा प्रमुखको जिम्मेवारी पाएको पाँच महिना पनि नबित्दै उनलाई कर्णाली प्रदेशमा सरुवा गरियो। सङ्घको पाँच ठाउँमा दरबन्दी हुँदाहुँदै सङ्घको कर्मचारी भएकाले समायोजन विपरीत प्रदेशमा जान उनले अस्वीकार गरे।

त्यसपछि पनि उनलाई सेवा समूह नै नमिल्ने केन्द्रीय कारागार अस्पताल प्रमुखको जिम्मेवारी दिइयो। कारागार अस्पतालको प्रमुखको जिम्मेवारी पाएको उनले दुई महिना भयो। उनलाई थाहा छैन त्यहाँ कति बसाई हुने हो !

डाक्टरको सुख-दुःख :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....