डा. अजयको उपचार अनुभव : रक्सीको कुलत छुटाउने उपाय खोज्दा-खोज्दै मनोचिकित्सक

डा. अजयको उपचार अनुभव : रक्सीको कुलत छुटाउने उपाय खोज्दा-खोज्दै मनोचिकित्सक
तस्बिर : कृष्पा श्रेष्ठ

छारे रोगको उपचार गराउन किशोर छोरालाई लिएर आउँदा उमेर ढल्किसकेका बुबाले पोखेको वेदना सम्झँदा मनोचिकित्सक डा. अजय रिसालको मन चसक्क हुन्छ।

करिब १८ वर्षीय कान्छो छोरालाई परामर्श तथा उपचारका लागि ती बुबा डा. अजयकहाँ पुगिरहन्छन् ।  

ती किशोरलाई ६ महिनाको उमेरदेखि नै छारे रोग लागेको रहेछ। सानै उमेरमा मेनिन्जाइटिस भएर बिरामी भएका थिए उनी। पछि छारे रोग लाग्यो। धामीझाँक्री, झारफुक आदिमा समय बित्दा रोगको निदान हुन समय लाग्यो । 

अहिले छारे रोगको औषधि खाइरहेका ती  किशोरमा व्यक्तित्वजन्य तथा व्यवहारजन्य समस्या छ। जुन समस्याका कारण आफैं खानपान गर्न नसक्ने, आफैं शरीरको हेरचाह गर्न नसक्ने अवस्थामा छन्। छोराको रेखदेख उनै पाको उमेरका बुबा अनि बिरामी आमाले गरिरहेका छन्। 

एक दिन ती बिरामी किशोरका बुबाले कुराकानीका क्रममा डा. अजयलाई भने, डाक्टरसाब ! म र मेरी श्रीमती बाँचुञ्जेल त यसलाई औषधि उपचार गर्न ल्याउँला। दाजुभाइ–दिदीबहिनी कसैले पनि हेर्दैनन्। हेर्न भ्याउँदैनन् पनि। दिदीबहिनी विहे गरेर गइसके । दाजुहरु भिन्न भइसके। हाम्रो शेषपछि अनि हामीले काम गर्न नसकेपछि के गर्ने होला?'

ती बुबाको त्यो भनाइले डा. अजय निःशब्द भए। डा. अजयले मनमनै सोचे, जहिलेसम्म आउनुहुन्छ त्यहिलेसम्म म उपचार गर्छु। यो मेरो प्रतिज्ञा भयो।

त्यो संवाद सम्झँदा अनि ती पाका बुबालाई भेट्दा अहिले पनि डा. अजयको मन चसक्क हुन्छ। सोच्छन्- यस्तो समस्यामा परेका व्यक्तिलाई राज्यले व्यवस्थापन गरिदिए हुन्थ्यो नि।

आफूले उपचार गरेका बिरामीले आत्महत्या गरेको खबर सुन्दा
केही वर्षअघिको अर्को घटना डा. अजयको मानसपटलमा अझै ताजै छ। करिब ६० वर्षका मानसिक रोगको समस्या भएका अनि झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेका व्यक्तिलाई परिवारले उपचारका लागि डा. अजयकहाँ पुर्याए। डा. अजयको मनोचिकित्सा विभागको समूहले करिब एक महिना अस्पतालमा भर्ना गरेर उनको उपचार गर्यो। उनमा डिप्रेसको समस्या थियो।

उपचारको सुरुवातपछि ती व्यक्तिको समस्या ठिक हुँदै गयो। अस्पतालबाट डिस्चार्ज भए। डा. अजयको टिमले फलोअपमा आउनुपर्छ भनेर परामर्श दिँदै उनलाई डिस्चार्ज गरेको थियो।

डिस्चार्ज गर्ने समयमा ती व्यक्तिका आफन्तलाई परामर्श दिंदै एक पटक आत्महत्याको प्रयास गरेको व्यक्तिले फेरि आत्महत्याको प्रयास गर्नसक्ने सम्भावना ५० प्रतिशतभन्दा बढी हुने कुराका बारेमा बताउँदै सतर्कता अपनाउन सुझाव दिइएको थियो। 

तर, चिकित्सकले दिएको समयमा ती व्यक्ति फलोअपमा पुगेनन्। किन फलोअपमा आएनन् त? भनेर डा. अजय सोचिरहेका थिए। उनका आफन्तसँग एक पटक अस्पतालमा भेट्दा पो फलोअपमा नआउनुको कारण खुल्यो। बुझ्दै जाँदा डा. अजयले थाहा पाए, आफूले उपचार गरेका ती व्यक्तिले जुन बाटो नरोज्नुपर्थ्यो, त्यही बाटो रोजिसकेछन्। 

उनले अस्पतालबाट डिस्चार्ज भएको एक हप्तामा नै आत्महत्या गरेछन्। त्यो खबरले डा. अजयलाई निकै दुःखी बनायो। सफल शल्यक्रिया पछिको पोष्ट अपरेटिभ वार्डमा बिरामीको मृत्यु हुँदा एक जना सर्जनलाई जति दुःख लाग्छ, उनलाई त्यस्तै भयो। आफूले उपचार गरेका व्यक्तिले आत्महत्याको बाटो रोजेको खबर सुन्दाको त्यो क्षण सम्झँदा अझै पनि डा. अजयको मन चस्स हुन्छ। 

डा. अजयका अनुसार मनसिक रोगको जटिलताको परिणामस्वरुप व्यक्तिमा आत्महत्याको सोच आउँछ। जसकारण व्यक्तिले आत्महत्या गर्ने जोखिम हुन्छ। विष सेवन गरेर, पानीमा डुबेर, आगो लगाएर आत्महत्याको बाटो अपनाएको पाइन्छ। 

मनोचिकित्सकको दायित्व नै व्यक्ति आत्महत्याको चरणमा नपुगोस् भन्ने हो। तर कहिलेकाहीं डा. अजयले यो उद्देश्य विपरीत आफूले चिकित्सकीय विधि अपनाई औषधि उपचार गरेको अथक प्रयास खेर गएको खबर सुन्छन्। जसले उनलाई दुःखी बनाउँछ।

आत्महत्या प्रयास गरेका धेरै बिरामीको डा. अजयले उपचार गरेका छन्। यसरी आत्महत्या प्रयास गरेका व्यक्तिले उपचारपछि पुनर्जीवन नै पाएको महसुस गरेका बिरामीको संख्या पनि निकै भएको उनले सुनाए। 

आत्महत्याको प्रयासपछि उपचार गरेका व्यक्तिहरु नियमित फलोअपमा आउँदा  निकै कृतज्ञ हुने गरेको उनी सुनाउँछन्। तर आफूले उपचार गरेका व्यक्ति फलोअपमा नआउँदा भने किन आएनन् भनेर उनलाई खुल्दुली लागिरहन्छ। कतै उनीहरुले आत्महत्या नै पो गरे कि? मन चस्स हुन्छ उनको। 

एमबिबीएस अध्ययन
ललितपुरको जावलाखेलमा २०३५ सालमा जन्मिएका अजयले बालकुमारिस्थित हिन्दु विद्यापिठ नेपालबाट २०५१ सालमा एसएलसी उत्तीर्ण गरेका हुन्। उनले अमृत साइन्स क्याम्पसबाट २०५४ सालमा आइएस्सी उतीर्ण गरे।

अजयले आइएस्सीपछि एमबिबीएस अध्ययनका लागि छात्रवृत्ति पाउन धेरै ठाउँमा इन्ट्रान्स  दिए। २०५६ मा शिक्षा मन्त्रालयको छात्रवृत्ति पाएर भैरहवाको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ‘युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस’ पुगेर एमबिबीएस अध्ययन गर्न थाले उनले। २०६१ मा उनको एमबिबीएस अध्ययन पूरा भयो। 

त्यसपछि काठमाडौं आएर वीर अस्पताल, प्रसूति गृह, कान्ति बाल अस्पताल लगायतमा इन्टर्नसिप गरे उनले।

रक्सी सेवन गरेका व्यक्तिको मृत्यु भएको खबर सुनेपछि...
अजयले एमबिबीएस अध्ययन गरिरहँदा एउटा घटना घट्यो। उनले मनोचिकित्सा विषय छनोट गर्नुको विभिन्न कारणमध्येको एक बन्यो त्यो घटना। 

त्यो घटना के थियो भने, करिब ४२ वर्षका व्यक्ति अत्यधिक रक्सी सेवनका कारण स्वास्थ्य समस्या निम्तिएपछि उपचारका लागि अस्पताल पुगेका थिए। ती बिरामीको पेट फुलेको थियो। अस्पताल भर्ना भएका बिरामीको उपचारमा एमबिबिएस तेस्रो वर्षमा अध्ययनरत डा. अजय पनि खटिएका थिए। 

अस्पताल भर्ना भएका ती बिरामी र डा. अजय अनि उनका समूहका विद्यार्थीबीच बेडमा दिउँसो कुराकानी भएको थियो। सौहार्द्र स्वभावका ती लाहुरे दाइले निःसंकोच उनको शरीरमा जाँच-पडताल गर्न दिएका थिए। तर उनको त बेलुका नै मृत्यु भएछ।

अस्पताल नजिकै होस्टलमा बसेका डा. अजयले दिउँसो आफूले जाँच-पडताल गरेका व्यक्तिको मृत्यु भएको खबर सुने। मृत्युको त्यो खबरपछि उनले सोचे, ओहो! उनी मृत्यु हुनुको समस्याको जड त रक्सी सेवन रहेछ।

त्यो घटनापछि रक्सीको लतको समस्याबाट छुटकारा पाउने उपाय के हुन्छ? भन्ने उनले खोजी गर्न थाले। खोज्दै जाँदा समाधानको उपाय मनोचिकित्सासँग जोडिएको उनले थाहा पाए।

डा. अजयले थाहा पाए, रक्सी सेवनको  लत लाग्नु एक प्रकारको मानसिक समस्या हो। यस्तो समस्यालाई मनोचिकित्सकीय भाषामा ‘अल्कोहल डिपेन्डेन्ट सिन्ड्रोम’ भनिन्छ। जुन घटनाले डा. अजय मनोचिकित्सा विषयमा नै आकर्षित हुँदै गए।

डा. अजयका अनुसार उपचार पाएका व्यक्तिले केही महिनापछि पुनः रक्सी तथा लागुपदार्थको सेवन गर्न सक्ने जोखिम हुन्छ। उपचारपछि यस्तो लत तथा दुर्व्यसनबाट बिरामीले छुटकारा पाएको अवस्थामा खुसी नलाग्ने कुरै भएन उनलाई। यसरी उपचारमा सफलता मिल्दा आफूले अँगालेको पेसालाई धन्यवाद दिन्छन्, डा. अजय।

उनको झुकाव अध्यात्ममा पनि थियो र छ। त्यसैले अध्यात्ममा जाने, आत्मासँग जोडिने र मनलाई बुझ्ने विषय मनोचिकित्सा नै भएको निष्कर्ष निकाले उनले। त्यसैले उनी मनोचिकित्सा विषय छनोट गर्ने निर्णयमा पुगे।

स्वास्थ्यलाई अध्यात्ममा जोड्ने सेतुका रुपमा मनोचिकित्सालाई लिन्छन् उनी। पूर्वीय दर्शमा भएका गीता लगायतका ग्रन्थ मनोचिकित्साको अनुपम उदाहरण भएको उनले सुनाए।

त्यसो त उनलाई एमबिबीएस अध्ययनको क्रममा साइक्याट्री विभागमा पोष्टिङ हुँदा नै मनोचिकित्सा विषयमा झुकाव बढेको हो। त्यो बेला मनको समस्या, डिप्रेसन, एनजाइटी जस्ता समस्याका बिरामी उनले देखे। 

आत्महत्याको प्रयासपछि उपचारका लागि अस्पताल ल्याइएको बिरामी देखे। रक्सी, गाँजा जस्ता कुलतमा परेर छटपटाहट भएका बिरामीको समस्या देख्दा उनलाई लाग्यो, मानवलाई मानवका रुपमा उपचार गर्ने पद्धति मनोचिकित्सा नै रहेछ।

हुन त त्यो बेला मनोचिकित्सा विषय अध्ययन गर्ने भन्दा आफन्त तथा समाजका लागि हाँसोको विषय समेत हुन्थ्यो रे। तर परिवार तथा आफन्तमा मानसिक समस्याका विविध पाटा देखेका डा. अजयले भने मनोचिकित्सा विषयकै अध्ययन गर्ने अठोट लिइसकेका थिए।

भारतमा मनोचिकित्सा विषयको अध्ययन
एमबिबीएस अध्ययनपछि डा. अजयले २०६३ मा काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेस (धुलिखेल अस्पताल) मा ‘टिचिङ असिस्टेण्ट’ तथा मेडिकल अधिकृतका रुपमा करिब एक वर्ष काम गरे।

त्यसपछि भारतको ‘मणिपाल युनिभर्सिटीको कस्तुरबा हस्पिटल’ पुगी मानोचिकित्सा विषय (साइक्याट्री)मा डा. अजयले एमडी अध्ययन गरे। काठमाडौं विश्वविद्यालयकै छात्रवृत्तिमा उनले एमडी अध्ययन गरेका रहेछन्।

मनोचिकित्सा विषयको अध्ययन गरेर फर्केपछि २०६७ वैशाखदेखि काभ्रेको धुलिखेलस्थित काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेस (धुलिखेल अस्पताल)मा काम गरिरहेका छन् उनी। 

डा. अजय मनोचिकित्सकका रुपमा कार्यरत छन्। अहिले उनी प्राध्यापकको भूमिकामा समेत छन्।

पछिल्लो समय चिकित्सा शास्त्र विषय अध्ययन गर्ने विद्यार्थीमध्ये मनोचिकित्सा विषयमा आकर्षित हुने तथा यो विषय छनोट गर्ने विद्यार्थीको संख्या पनि बढ्दै गएको उनी सुनाउँछन्। विद्यार्थीले तयार गरेको शोध पत्रमा सिर्जनात्मक रुपमा अध्ययन गरिएको रिपोर्ट प्रस्तुत भएको देख्दा डा. अजयलाई आन्द लाग्छ। उनी गौरवान्वित हुन्छन्।

विद्यावारिधि
सन् २०१७ मा नर्वेको नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोजीबाट डा. अजयले विद्यावारिधि (पिएचडी) गरे। उनले क्लिनिकल मेडिसिनमा विद्यावारिधि गरेका हुन्। त्यो बेला नेपालका विभिन्न क्षेत्रमा पुगी एनजाइटी, डिप्रेसन, माइग्रेन, टेन्सनटाइप हेड्याक लगायतका विषयमा उनले अध्ययन गरे।

त्यो बेला अध्ययनको क्रममा नेपालमा करिब २२.७ प्रतिशत व्यक्तिमा एनजाइटी देखिएको, ११.७ प्रतिशत डिप्रेसनको समस्या देखिएको उनले सुनाए। त्यो बेला उनको अध्ययनका क्रममा माइग्रेन, टेन्सनटाइप हेड्याकजस्ता टाउको दुख्ने रोग भएका बिरामीको संख्याधेरै रहेको देखियो।

टाउको दुख्ने समस्या भएका बिरामीमा एनजाइटी र डिप्रेसनको समस्याको सम्भावना बढी देखिएको विद्यावारिधि अध्ययनको शोधपत्रमा समावेश गरेको उनले सुनाए। जुन रिपोर्टहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका शोधग्रन्थ र शोधपत्रहरुमा प्रकाशित पनि छन्।

विधावारिधिको सर्वेक्षणको सिलसिलामा नेपालका धेरै ठाउँमा उनी पुगेका छन्। सुदूरपूर्व झापादेखि सुदूरपश्चिम बैतडीसम्म उनका अध्ययनका क्षेत्र रहेका थिए। त्यो समयमा मानसिक समस्याको विषयमा ज्ञान नहुँदा मानसिक समस्यामा परेका व्यक्तिलाई थुनेर तथा बाँधेर राखेको उनले देखेका छन्। तर, बाँधेर तथा थुनेर राखेको व्यक्तिलाई सानो उपचारले ठिक भएको पनि उनी उनले देखे-भोगेका छन्।

मानसिक रोग भनेर नबुझ्दा भूतप्रेत लाग्यो भनेर धामिझाँक्रीकहाँ लाने चलन अझै निकै रहेको उनले सुनाए।

डा. अजयले हङकङबाट सोमाटिक एक्सपेरियन्सिङ्गको तालिम तथा ज्ञान लिएका छन्। सोमाटिक एक्सपेरियन्सिङ्गको अर्थ शारीरिक व्यायामको विधिले नै तनाव कम गर्ने तथा तनावबाट उत्पन्न हुने एनजाइटी तथा डिप्रेसन जस्ता रोगलाई निको बनाउन सकिन्छ भन्ने एक किसिमको उपचारात्मक पद्धति हो।

दायाँबायाँ हेर्दै उपचारमा छिर्थे
लाजगालको समस्याले मानसिक रोगको विषयमा खुल्न नसक्दा व्यक्तिले रोग पालेर बस्ने समस्या अझै भएको उनले सुनाए। केही वर्ष पहिलेसम्म उनको क्लिनिकमा स्वास्थ्य जाँच तथा उपचारका लागि पुग्ने मानसिक रोगी निकै असहज मान्ने गरेको उनको अनुभव छ।

दायाँ-बायाँ हेरेर कसैले देख्यो कि? भनेर सशंकित हुँदै  क्लिनिकमा पुग्ने गरेको उनलाई याद छ। डा. अजयले सुनाए, 'केही वर्ष अघिसम्म क्लिनिकमा बिरामी आउँदा दायाँबायाँ हेर्थे अनि स्वाट्ट भित्र छिर्थे।'

त्यतिमात्रै कहाँ हो र? एक ठाउँको व्यक्ति आफन्त तथा चिनेजानेको व्यक्तिले थाहा पाउलान् भनेर उपचारका लागि अर्को ठाउँमा पुग्ने गरेको उनले सुनाए। काठमाडौंका धेरै व्यक्ति धुलिखेल आइपुग्थे त्यो बेला।

मानसिक रोगिमध्ये करिब ८५ व्यक्ति उपचारको पहुँचमा पुग्न नसक्दा रोग पालेर बस्न विवश भएको उनी सुनाउँछन्। 

उनको अनुभवले भन्छ, पहिले मानसिक समस्यालाई रोगका रुपमा नलिने जमात ठूलै थियो। अहिले यो पनि एउटा रोग हो भन्ने चेतना बढ्दैछ।

डा. अजयले कैयौं यस्ता बिरामीको पनि उपचार गरेका छन् जसले मानसिक रोगको समस्याका कारण खाइरहेको जागिर छोडे। यस्ता बिरामी उपचारपछि नियमित काममा फर्केको धेरै उदाहरण भएको उनले सुनाए।

मनको रोगको उपचार गरेर व्यक्तिलाई बचाउँदाको खुसीका क्षणहरु निकै आनन्दमयी हुने उनले सुनाए। सिजोफ्रेनिया जस्तो जटिल मानसिक रोगको समस्या भएर बाटोमा हिँड्ने अवस्थामा पुगेका व्यक्ति पनि परिवारमा पुनःस्थापित भएका उदाहरण छन् उनीसँग।

पुराना डाक्टरको सुख-दुःख :

७ फागुन, २०७८, १९:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।