डा. बद्रीको भाेगाइ˗ सरकारी स्वास्थ्य संस्थामा राजनीतिक हस्तक्षेप हुँदा बिरामीले दुःख पाएका छन्

डा. बद्रीको भाेगाइ˗ सरकारी स्वास्थ्य संस्थामा राजनीतिक हस्तक्षेप हुँदा बिरामीले दुःख पाएका छन्

काठमाडौं : हाडजोर्नी तथा नसारोग विशेषज्ञ (स्पाइन सर्जन) डा. बद्री रिजाललाई दुई वर्षअघि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरबाट डडेलधुरा अस्पतालमा सरुवा गरियो।

डडेलधुरा अस्पतालमा न उनको विशेषज्ञता अनुसार साधन स्रोत थियो न त प्राविधिक जनशक्ति। अर्काेतर्फ ट्रमामा पनि चिकित्सक अभाव थिए। यही कारण उनी डडेलधुरा जान चाहेनन्। र, उनले ट्रमा सेन्टरमै काजमा बसेर काम गरे।

ट्रमाको नेतृत्वले आफूसँग विचार नमिल्ने देखेपछि पेण्डुलम बनाउन डडेलधुरा सरुवा गरिदिएको उनले बताए। 
ट्रमाको नेतृत्वसँग राजनीतिक आस्था नमिलेका कारण आफूमाथि पूर्वाग्रह गरिएको उनको दुखेसो छ। डा. बद्रीले प्रश्न गरे, ‘आस्था मिलेन भन्दैमा किन अनागरिकजस्तो व्यवहार ?’ 

स्रोत साधन नै नभएको ठाउँमा सरुवा भएर जाँदा राज्य र स्वयं चिकित्सकको लागि घाटा हुने भएकाले आफूले त्यहाँ जान नमानेको उनको जिकिर छ। 

उनले भने, ‘मैले जुन प्रकृतिको सर्जरी गर्छु, त्यसका लागि आइसियु सेटअप चाहिन्छ। प्राविधिक जनशक्ति चाहिन्छ। म त्यहाँ गएर त्यो सेवा दिन सक्ने ठाउँ छैन। डाक्टर मात्रै गएर त हुँदैन।’

आफ्नो विशेषज्ञता देखाउने साधन–स्रोत तथा जनशक्ति भएको ठाउँ भए जुनसुकै ठाउँमा पनि सरुवा भएर जाने उनले बताए। 

उनले भने, ‘सेवा गर्ने ठाउँ छ भने राज्यले पठाएको ठाउँमा नजाने कुरै हुँदैन।’ 

०००

करिव ७ महिनाअघि आफूलाई कान्ति बाल अस्पतालमा काजमा नै सरुवा गरिदिएको उनले दुःखेसो पोखे। 

‘दरबन्दी डडेलधुरा छ। सरुवामाथि सरुवा भयो। काज सरुवा भएर कन्सल्ट्याण्टका रूपमा कान्तिमा काम गरिरहको छु,’ उनले भने, ‘नियम मिचेर सरुवा भयो भनेर कुरा उठाउँदा व्यक्तिगतरूपमा नै गएर सिध्याउँछु भनेर साथीहरू लागे।’

‘जनताको पैसा दुरुपयोग गर्न पाइन्छ ?’

उनले ट्रमा सेन्टरले आफ्नो ठाउँमा करारमा चिकित्सक नियुक्ति गरेको दुखेसो पोखे। 

डा. बद्रीले भने, ‘मलाई उता पेण्डुलम बनाएर राखेको छ। मेरै काम गर्नलाई थप पैसा खर्च गरेर करारमा चिकित्सक नियुक्ति गरिएकाे छ। जनताको पैसा त्यसरी दुरुपयोग गर्न पाइन्छ ?’

००० 

डा. बद्रीले आफूलाई पूर्वाग्रहीरूपमा ट्रमाबाट डडेलधुरामा सरुवा गरेको प्रति चित्त दुखेको सुनाए। 

उनले भने, ‘म नेपाल सरकारको चिकित्सक। जहाँ आवश्यक छ त्यहाँ म काम गर्न पाउँदिनँ। राइट पर्सन, राइट प्लेस अवधारणामा जानुपर्याे नि।’ 

सरकारी स्वास्थ्य संस्थामा राजनीतिक हस्तक्षेपले गर्दा बिरामीले दुःख पाएकोे तीतो यथार्थ रहेको उनले सुनाए।

वयस्कको शल्यक्रिया गर्नेलाई कान्तिमा असहज 

उनी वयस्कको स्पाइन सर्जरी गर्छन्। कान्तिमा सरुवा गरिदिएपछि बालबालिकाको शल्यक्रिया गर्न समेत असहज भएको डा. बद्रीले सुनाए। आफूले ट्रमा सेन्टरमा दिन सक्ने सेवा र सीपको कान्तिमा अपेक्षितरूपमा प्रयोग हुन नसकेकोप्रति उनी चिन्तित छन्। 

ट्रमामा वयस्क व्यक्तिको शल्यक्रिया गरिरहनुभएको तपाईंले कान्तिमा बालबालिकाको अस्पतालमा त्यो सेवा दिन सम्भव छ त? भन्ने जिज्ञासामा उनले भने, ‘छैन। वयस्कको स्पाइन सर्जरी गरिरहेको मान्छे। बच्चामा आएर ट्रेनिङ गरेर काम सुरु गर्न मेरो समय (उमेर)ले नै भ्याउँदैन।’ 

कान्तिमा काम गर्दा व्यक्तिगतरूपमा आफूलाई कामको भार कम भए पनि राज्यले आफूलाई गरेको लगानी खेर गएको उनको तर्क छ। 

डा. बद्री भन्छन्, ‘म छात्रवृत्तिमा पढेको। यो दक्ष जनशक्तिलाई प्रयोग नगरेर मलाई पेण्डुलम बनाएर त राज्यलाई घाटा हो।’ 

राजनीतिक प्रभाव र शक्तिको आडमा जथाभावि चिकित्सकलाई दुःख दिने नियतले सरुवा तथा निषेध गर्ने प्रवृतिले हिनताबोध हुँदा सीप, ज्ञान र उर्जामा समेत प्रभाव परेको महसुस भएको उनी सुनाउँछन्। चिकित्सक शान्त र ऊर्जावान भएर उपचार तथा अध्ययन अनुसन्धानमा केन्द्रित हुने वातावरण नै नभएको उनको तर्क छ। 

‘दुःख दिँदा पीडाबोध’ 

आफै कार्यरत संस्थामा चिकित्सकको आवश्यक हुँदाहुँदै काम गर्ने स्रोत साधन नै नभएको ठाउँमा अनावश्यकरूपमा सरुवा गर्दा बिरामी सेवाबाट वञ्चित हुनुपर्ने अवस्था सृजना हुने डा. बद्रीले बताए।

उनले भने, ‘सेवा दिइरहेको छैन, हाजिर गरेर दिन काटिरहेको छ भने अर्को कुरा भो। सेवा दिइरहेको छ। डाक्टरको आवश्यक छ भने सरुवा गरेर डाक्टरलाई किन दुःख दिनुपर्याे ?’ 

राजनीतिक पहुँचका आधारमा काम नगर्ने चिकित्सक नेतृत्वमा पुग्ने अनि इमान्दार रूपमा काम गर्नेले चाहिँ उल्टै पीडा र निषेधको सजाय भोग्नुपर्दा तनाव र हिनताबोध महसुस भएको उनले सुनाए। 

डा. बद्रीले भने, ‘काम गर्दागर्दै दुःख दिँदा फ्रस्टेसन हुँदोरहेछ। किन काम गर्ने त? भन्ने सोच आउँदो रहेछ।’ 

अझ उनी त चिकित्सककै हकहितको लागि आवाज उठाउने संस्था नेपाल चिकित्सक संघको महासचिव जस्तो पदमा रहेर समेत काम गरिरहेका छन्।

‘छोरीहरूसँग भेट्दा हिजो आउनुभएन भनेर साेध्छन्’

उनकी श्रीमती पनि सरकारी जागिरे छिन्। उनका दुई छोरी छन्। सधैं अस्पतालमा व्यस्त हुने भएकाले छोरीहरूसँग निकै कम भेट हुने गरेको उनले सुनाए। 

डा. बद्रीले भने, ‘बेलुका पुग्दा छोरीहरू सुतिसकेका हुन्छन्। बिहान हिँड्दा उठेकै हुँदैनन्। अनि अलि फुर्सदले ढिलो उठेका दिन बाबा तपाईं हिजो आउनु भएन भन्छन्।’

सरकारी संस्थाले आफ्नै परिवार चिन्दैन 

एकातर्फ सोझोरूपमा नियमित काम गरिरहेको आफ्नै घरभित्रको चिकित्सकलाई सरकारले नचिन्ने, अर्कोतर्फ राजनीतिक आडमा आफैं कार्यरत संस्थामा सोझोरूपमा काम गर्ने चिकित्सक निषेधित हुनु दुःखद पक्ष भएको उनको अनुभूति छ। 

डा. बद्रीले १५/१६ वर्ष एउटा सरकारी संस्थामा बसेर काम गरेको सिनियर डाक्टरलाई आफैं काम गरेको संस्थाले नचिनेको देख्दा मन खिन्न हुने गरेको सुनाए। उनले भने, ‘सिनियर डाक्टरसा’बहरू दुई वर्ष बाँकी छँदै सरकारी संस्थाबाट छोडेर जानुहुन्छ।’ 

सरकारी संस्थामा लामो समय काम गरेका चिकित्सकलाई आत्मसम्मान हुने ठाउँ पनि नराख्ने प्रवृत्ति रहेको उनले बताए। उनले नेपालमा स्वास्थ्य संस्थाका नेतृत्वमा राजनीतिक पूर्वाग्रहका कारण असल मान्छेले भनेको कुरा पनि नसुन्ने प्रवृत्ति रहेको सुनाए। 

पेशामा हुने प्रणाली तथा प्रवृत्तिगत समस्यापछि डा. बद्रीले उपचारमा भएका आनन्दका क्षणहरू पनि सुनाए।

शिशु बाँचेको क्षण

उनले करिव १४ वर्षअघि बागलुङमा काम गर्दा भर्खर जन्मिएको शिशु बचाउँदाको खुसीको एउटा क्षण अझै भुलेका छैनन्। जन्मदा मुटुको गति नै नभएको शिशुको जन्मिएपछि सिपिआर (मुटु गतिमा ल्याउने विधि) गरेपछि शिशुको मुटुको धड्कन चलेर बाँचेको क्षण उनले सुनाए। 

डा. बद्रीले भने, ‘जन्मदा बच्चाको मुटुको गति नै थिएन। आधा घण्टा सिपिआर गरेपछि बच्चा फर्कियो। बच्चा रुन थाल्यो,’ शिशु बचाएको त्यो क्षण आफ्ना लागि अविस्मरणीय रहेको उनले सुनाए।

उनले उपचार गरेकामध्ये अर्को एउटा खुसीको क्षण पनि सुनाए। 

केही समयअघि बस दुर्घटनामा ढाड भाँचिएर खुट्टा अलिअलि मात्रै चलेका १६ वर्षका युवा शल्यक्रियापछि आफैं हिँड्न सक्ने भएको देख्दा खुसी लागेको उनले सुनाए। 

‘उनले खुट्टा टेक्न सक्दैनन् की भन्ने शंका थियो। तर, टेके,’ डा. बद्रीले भने, ‘रुकुमतिरको ओली भाइ हो। दुवै खुट्टा चलेर हिंडे।’ 

शल्यक्रिया गर्न लामो समय लागे पनि शल्यक्रिया सफल हुँदा थकान महसुस नहुने उनले सुनाए।

‘बालिका र महिलाको हात काट्नुपर्याे’

अस्पताल ढिलो पुग्दा कतिपयको मृत्यु हुने गरेको उनले सुनाए। दुर्घटनामा परेर घाइते युवाको अस्पताल पुग्नेबित्तिकै आँखै अगाडि मृत्यु भएको देख्दा मन खिन्न हुने गरेको उनले बताए।

 

उनले केही महिनाअघि करिव १२ वर्षकी बालिकाको हात भाँचिएपछि हात डोरीले बाँधेर ढिलो अस्पताल पुग्दा बालिकाको दायाँ हातै काट्नुपर्दा दिक्क लागेको सुनाए। उनले भने, ‘चाँडै अस्पताल ल्याएको भए हात बचाउन सकिन्थ्यो।’

तीन वर्षअघि करिव ३५ वर्षकी महिलाको हातमा अरिंगालले चिलेपछि अस्पताल पुग्न ढिला हुँदा दायाँ हातमा संक्रमण भएर काटेर फाल्न परेको घटना सम्झँदा अहिले पनि उनलाई खिन्नताबोध हुन्छ।

डा. बद्रीले भने, ‘करिव ३५ वर्षकी महिला अरिंगालले चिलेको तीन हप्तापछि आउनु भयो। ज्यान त बच्यो। तर, हात बचाउन सकिएन। काटेर फाल्नुपर्याे।’ 

यस्ता घटना सम्झँदा पीडादायक हुने उनले बताए।

अध्ययन र जागिर यात्रा

रूपन्देहीको पश्चिम अमुवामा २०३२ सालमा जन्मिएका डा. बद्रीले २०४७ सालमा ज्ञानोदय मावि बुटवलबाट एसएलसी उत्तीर्ण गरे।  

बद्रीले काठमाडौंको नरदेवी क्याम्पस आएर प्रमाणपत्र तहमा चिकित्सा सम्बन्धि (एचए) विषयको अध्ययन गरे। उनले प्रमाणपत्र तहमा आधुनिक चिकित्सा (एचए तह) र आयुर्वेदिक मिश्रित विषय अध्ययन गरेका रहेछन्।

प्रमाणपत्र तहमा चिकित्सा विषयमा अध्ययन गरे पनि त्यो बेला यो विषय अध्ययन गरेका विद्यार्थीले एमबिबिएस अध्ययन गर्न पाउने की नपाउने भन्ने अन्योलता सृजना भएको रहेछ। 

उनले भने, ‘प्रमाणपत्र तहको पहिलो वर्ष पढ्दा एमबिबिएस पढ्न पाइन्छ भनेर पढ्न थालियो। दोस्रो वर्ष पढ्दा एमबिबिएस पढ्न पाइने हो की नपाइने भन्ने अन्योल भयो। तीन वर्ष तनाव भयो। तर, पछि भाग्यवश पढ्न पाइयो।’ 
एमबिबिएस अध्ययन गर्न पाइने निर्णय भएपछि उनले एमबिबिएस अध्ययन थाले।

डा. बद्रीले त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज क्याम्पसबाट २०६२ सालमा एमबिबिएस उत्तीर्ण गरे। उनलाई राजनीतिकमा पनि झुकाव थियो। त्यसैले महाराजगञ्ज पढ्दा स्वतन्त्र विद्यार्थी युनियनको उपसभापतिमा निर्वाचित भएर समेत काम गरे। 

०००

एमबिबिएसपछि उनी २०६३ सालमा सरकारी स्थायी चिकित्सक भए। सरकारी जागिरे भएपछि बागलुङ जिल्ला अस्पतालमा उनको पहिलो पोस्टिङ भयो। त्यहाँ उनले करिव अढाई वर्ष काम गरे। त्यसपछि उनी काठमाडौंको गोकर्णेश्वर स्वास्थ्य केन्द्रमा सरुवा भए।

गोकर्णेश्वरपछि डा. बद्रीले थप एमएस (स्नातकोत्तर तह) अध्ययन गर्ने निर्णय गरे। डा. बद्रीले सन् २०१० मा त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज क्याम्पसमा नै स्नातकोत्तर तहको एमएस ‘अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरी’ विषयको अध्ययन थाले। यो विषयको अध्ययन गर्न जिज्ञासु डा. बद्रीले सन् २०१३ मा एमएस उत्तीर्ण गरे।

एमएस अध्ययन सकेलगत्तै उनले राष्ट्रिय ट्रमा सेन्टरमा नै काम गर्न थाले। डा. बद्रीले ट्रमा सेन्टरमा सहप्राध्यापकका रूपमा २०७७ असोजसम्म काम गरे। अहिले उनी कान्ति बाल अस्पतालमा काजमा सरुवा भएर काम गरिरहेका छन्।

उनलाई स्पाइन सर्जरी विषयमा थप अध्ययनको भोक त छँदै थियो। त्यसैले ट्रमामा हुँदै उनी ‘इन्डियन स्पाइनल इन्जुरी सेन्टर’ मा पुगेर सन् २०१७ मा स्पाइन सम्बन्धित तीन महिने अध्ययन (फेलोसिप) गरे। 

२६ असार, २०७८, १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।