राष्ट्रिय महिला खेलाडीलाई आत्महत्या गर्नबाट बचाउने मनोचिकित्सक

राष्ट्रिय महिला खेलाडीलाई आत्महत्या गर्नबाट बचाउने मनोचिकित्सक

काठमाडौं : डेढ महिनाअघि मनोचिकित्सक प्रा. डा. सरोजप्रसाद वझाकहाँ मनोपरामर्शका लागि पुगिन् ३५ वर्षीय महिला। दुई सन्तानकी आमा उनी राष्ट्रियस्तरकी खेलाडीसमेत हुन्।

आत्महत्या गर्ने निधो गरेकी ती महिला डा. वझाकहाँ मनोपरामर्शका लागि पुगेकी थिइन्। 

‘मलाई बाँच्न मन लागेन। आत्महत्या गर्न मन लागेको छ,’ आफूलाई भेटेपछि ती महिलाले भनेको डा. वझाले सम्झिए।  

त्यसपछि उनले ती महिलाको समस्या खुट्याए– कडा खालको डिप्रेसन। ‘मकहाँ परामर्शका लागि आउँदा उनी कडा खालेको डिप्रेसनमा पुगिसकेकी थिइन,’ उनले भने। 

डा. वझाले ती महिलालाई आत्महत्याको सोच आउनुको कारण सोधे। ती महिलाले श्रीमानले दैनिक रक्सी पिएर कुट्ने गरेको जवाफ दिएको डा. वझाले बताए। साथै ती महिलाले आफू चिनिएको खेलाडी भएकाले यो पीडा कसैलाई भन्न नसकेको बताइन्। 

ती महिलामा आत्महत्याको सोच आउनुको कारण यति मात्रै थिएन। 

श्रीमानले आफूले कमाएको पैसा सिध्याउने र तनाव दिने गरेकाले सहन नसकेर आत्महत्याको सोच आएको ती महिलाले डा. वझासँग परामर्श लिँदा बताएकी थिइन्। 

यही कारण ती महिलाले जीवनदेखि विरक्तिसकेकी थिइन्। तर, बच्चाको मायाले आत्महत्या गर्न सकेकी थिइनन् उनले। 

डा. वझाले ती महिलाले आफूलाई भनेको कुरा सुनाए, ‘श्रीमानको तनाव सहन नसकेपछि मलाई बाँच्न मन लागेन। आत्महत्या गर्न मन लागेको थियो। तर, बच्चाको माया लाग्यो।’

डा. वझाले ती महिलालाई मनोपरामर्श दिए। र, केही दिनका लागि औषधि पनि। 

०००

केही समयपछि ती महिला फलोअपमा आइन्। ती महिला फलोअपमा आएपछि आफूलाई निकै खुसी लागेको डा. वझाले सुनाए। कारण थियो– ती महिलाको रोग ठिक हुनु। 

त्यति बेला ती महिलाको मानसिक समस्या पनि समाधान भइसकेको डा. वझाले बताए। 

‘मैले जीवन भन्ने कुरा बल्ल फिल गरे। आफू छु त सबै ठिक हुँदो रहेछ। अब त म श्रीमानलाई मसँग बस्न समस्या भए उहाँलाई डिभोर्स पनि गर्न सक्छु,’ फलोअपमा पुग्दा ती महिलाले भनेको कुरा डा. वझाले सुनाए, ‘जुन बेला मलाई डिप्रेसनको अन्धकारले ढाकेको थियो। तपाईंसँगकाे परामर्शमा ठिक भएँ। अब मर्दिनँ।’

त्यसपछि ती महिला आफूले जीवन जिउन जानेको बताएको डा. वझाले सुनाए। ‘श्रीमानको रक्सीको लत सकेसम्म छुटाउने नमाने डिभोर्स गर्छु भन्दै ती महिला खुसी भएर घर फर्किइन्,’ उनले सुनाए। 

०००

डा. वझाले आत्महत्याको कोसिस गरेका धेरै मानसिक रोगीलाई बचाएका छन्। तर, आत्महत्याको सोच राखेकी ती महिला खेलाडीलाई बचाएको घटना उनका लागि अविस्मरणीय बन्यो। यसले उनलाई आत्मसन्तुष्टि मिल्यो।

यसो त ज्यान बचाउनु उनको चिकित्सकीय धर्म पनि हो।

मानसिक रोग ठिक हुने भएकाले बेलैमा मानसिक स्वास्थ्यको उपचार गर्न उनको सुझाव छ।

साथीका छोराले आत्महत्या गर्दा...

कतिपय मानसिक रोगको समस्या भएका व्यक्तिले आत्महत्याको बाटो रोज्छन्। यस्ता घटनाले उनको मन कटक्क हुन्छ।

करिव तीन वर्ष अगाडिको आत्महत्याको एउटा घटना कहिल्यै भुल्दैनन् डा. वझा। उनका मिल्ने साथीका करिव २२ वर्षका छोरालाई डिप्रेसनको समस्या रहेछ। 

एक दिन उनलाई साथीले छोराको उपचार गरिदिन भनेछन्। उनले भोलि बिहान ९ बजे अस्पतालमा लिएर आउनु भने।  

तर, उनका साथीका छाेराले भोलिपल्ट बिहान ७ बजे आत्महत्या गरेछन्। 

साथीले यो खबर डा. वझालाई सुनाए। त्यो सुनेपछि उनी निःशब्द भए। उनलाई लाग्यो– बेलैमा उपचार पाएको भए साथीको छोरा बाँच्थे की।
उनले त्यो क्षण सम्झँदै भने, ‘त्यो सम्झँदा अहिले पनि मन कटक्क हुन्छ।’

अहिले पनि नेपालमा दैनिक औसत करिव १६ जनाले आत्महत्या गरिरहेकोे उनले सुनाए। आत्महत्याको रोकथाम गर्न बेलैमा सचेत हुनुपर्ने उनी सुझाउँछन्।

अध्ययन र जागिर 

बागलुङमा जन्मिएका डा. वझाले काठमाडौंको महाराजगञ्ज मेडिकल क्याम्पसबाट एमबिबिएस र एमडी अध्ययन गरे। उनले साइक्याट्री (मनोचिकित्सा)मा एमडी गरेका हुन्। 

एमबिबिएस अध्ययनपछि उनले मेडिकल डाक्टरको रूपमा टिचिङ अस्पतालमा काम सुरु गरे। अहिले उनी टिचिङ अस्तालमा नै मानसिक स्वास्थ्य विभागको प्रमुखको भूमिकामा छन्। ‘एमबिबिएस र एमडीपछि टिचिङमै काम गरें,’ डा. वझाले भने, ‘अहिले मानसिक स्वास्थ्य विभागको प्रमुख र प्राध्यापक छु।’ 

एमबिबिएसपछि मेडिकल डाक्टरका रूपमा टिचिङ अस्पतालमा काम गर्दा उनी मानसिक रोग भन्नेबित्तिकै कडा किसिमको रोग होला भन्ठान्थे।

डा. वझाले एमबिबिएसपछि काम गर्दा मानसिक रोगको विषयमा आफूलाई लागेको धारणा सुनाए, ‘त्यो बेला मानसिक रोग भनेको कडा होला। गाह्रो विषय होला। यस्तो विषयको नेपालमा के महत्त्व होला भन्ने लागेको थियो। त्यो बेला मैले धेरै नबुझेको रहेछु।’

पछि काम गर्दा उनलाई मनोचिकित्सा विषयको अध्ययन गर्ने भोग जागिसकेको थियो। 

डा. वझाले एमडी अध्ययनका लागि छनोट परीक्षा दिए। उनी छनोट पनि भए। उनीसँगै अर्काे एक जना पनि छनोट भए। त्यति बेला एमडीको मनोचिकित्सा विषयमा दुई जनाको कोटा थियो। 

तर, अर्का एक जना एमडी अध्ययन बीचमै छाडेर अमेरिका पढ्न गएछन्। 

त्यसपछि डा. वझा मनोचिकित्सा विषयको पहिलो ब्याचमा अध्ययन गर्ने एक्ला विद्यार्थी भए। उनले सन् २००० मा मनोचिकित्सा विषयमा एमडी अध्ययन पूरा गरे। र, उनी नेपालमा अध्ययन गरेका पहिलो मनोचिकित्सक बने।

०००

५८ वर्षीय डा. वझाले एमडी अध्ययनपछि मनोचिकित्सा विषयको विशेषज्ञका रूपमा काम गर्न थालेको २० वर्ष बितिसक्यो। 

उनी मानसिक रोगका बिरामीलाई परामर्श दिन्छन्, उपचार गर्छन्। विद्यार्थीलाई मनोचिकित्सा विषय पनि पढाउँछन्। 

मनोचिकित्सा विषय अध्ययन गरेकोमा आफूले ठिक गरेको उनको निष्कर्ष छ।

मानसिक स्वास्थ्यप्रतिको जनचेतनाको कमी, जनशक्तिको कमी र मानसिक स्वाथ्यका लागि अपनाउनुपर्ने राष्ट्रिय नीतिको अझै कमी भएको डा. वझाले बताए। 

देशभर करिव दुई सय मनोचिकित्सक भए पनि अझै पनि यो विषयमा जनशक्तिको कमी रहेको उनले बताए। 

नेपालमा काम गरेर यी विषयमा अनुभव तथा ज्ञान र दक्षता अनुसार योगदान गर्ने मौका पाएको डा. वझाको अनुभूति छ। उनले भने, ‘अहिले आत्मसन्तुष्टि र गौरव महसुस गर्छु यो विषय पढेकोमा।’ 

एमडी अध्ययनपछि उनलाई सन् २००३ मा अस्ट्रेलियाबाट कन्सल्टेन्टका रूपमा काम गर्न बोलाएको थियो। तर, उनी गएनन्। 

नेपालमा काम गर्नुपर्छ भन्ने सोचले त्यहाँ नगएको उनले बताए। 

‘टेलिफोनबाट अन्तर्वार्ता लिएपछि तिमी ज्वाइन गर्न सक्छौ। कहिलेबाट आउँछौं ? भनेका थिए। मैले एक वर्षपछि विचार गर्छु भनें। तर, गइनँ,’ उनले सुनाए। 

त्यो बेला विदेश नगएर आफूले सही निर्णय लिएको उनको निष्कर्ष छ।

काेराेना महामारीमा डाक्टर–नर्सलाई मनोपरामर्श

कोरोना भाइरस महामारीको अवस्थामा मनोपरामर्शका लागि सम्पर्क गर्नेको संख्या बढिरहेको डा. वझाले सुनाए। उनले भने, ‘हरेक दिनजसो मनोपरामर्शका लागि फोन आउँछ। फोनबाट दिन सक्ने काउन्सेलिङ दिन्छु।’ 

विशेषगरी कोरोना भाइरस संक्रमणको पहिरो लहरभन्दा दोस्रो लहरमा एन्जाइटी, तनाव, डिप्रेसन, मन डराउने तथा उदास हुनेजस्ता समस्या देखिएर व्यक्तिले सम्पर्क गरिरहेको उनले सुनाए। 

विशेषगरी उनलाई दोस्रो लहरको अवस्थामा डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मी, व्यावसायी, बैंकिङ क्षेत्रमा काम गर्ने लगायतका व्यक्तिले सम्पर्क गर्छन्।

डा. वझाले भने, ‘उहाँहरू (स्वास्थ्यकर्मी)मा तनाव छ। कतिमा एन्जाइटीको लक्षण पनि छ। कतिमा डिप्रेसनको लक्षण छ। उहाँहरूमा तनाव व्यवस्थापनको काम गरिरहेका छौं।’

मानसिक समस्यामा परेको व्यक्तिलाई तनाव व्यवस्थापन गर्ने उपायका बारेमा भर्चुअली पनि परामर्श दिने गरेको उनले सुनाए। 

‘आज पनि जुमबाट डाक्टर, नर्सहरूलाई तनाव व्यवस्थापनको परामर्श दिएँ,’ डा.  वझाले सुनाए, ‘यो महामारीमा त मलाई हरेक दिन १०-१२ वटा कल आउँछ। मलाई निद्रा लागेन, डर लाग्यो, एन्जाइटी भयो भनेर आउँछ।’

२०७२ सालमा पनि आफूले राष्ट्रिय स्तरमा नै जनचेतना जगाउने मौका पाएको उनले बताए। 

बिरामी हिचकिचाउने क्रम कम

पहिलेभन्दा मानसिक रोगलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको उनले सुनाए। पहिले मानसिक रोगको समस्या भएका बिरामी अस्पताल जान हिचकिचाउने भए पनि अहिले भने अन्य शारीरिक रोगमा जस्तै अस्पतालमा पुग्ने गरेको डा. वझाको अनुभव छ। 

डा. वझा एमडी अध्ययन गरेको सुरुवाती दिनमा टिचिङ अस्पतालको ओपिडीमा २०-२५ जना बिरामी पुग्थे रे। ओपिडीमा अधिकांश कडा किसिमको मानसिक रोगको समस्या भएका बिरामी मात्रै पुग्थे। तर, अहिले सामान्य मानसिक समस्या भए पनि अस्पताल पुग्न थालेको उनले बताए। 

‘त्यो बेलाका बिरामी कडा मानसिक रोग भएपछि आउँथे,’ डा. वझाले सुनाए, ‘अहिले सामान्य मानसिक समस्या भए पनि आउँछन्। अहिले हाम्रो ओपिडीमा सय जनाभन्दा बढी बिरामी आउँछन्।’

उनले यो रोगको समस्या लिएर हिचकिचाहटबिनै स्वास्थ्य परीक्षण तथा स्वास्थ्य उपचार गर्नेको संख्या बढिरहेको सुनाए। डा. वझाले भने, ‘मानसिक रोगको उपचार सम्भव छ। राम्रोसँग उपचार गर्दा निको हुन्छ। नियन्त्रण तथा रोकथाम पनि गर्न सकिन्छ।’

२२ जेठ, २०७८, २२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।