उकेरा काेलम

बिरामीको मृत्युमा आँसु थाम्न नसक्ने अनुसन्धाता चिकित्सक

उपेन्द्र खड्का 


सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको रुचिको क्षेत्र अध्ययन तथा अनुसन्धान। उनले जिम्मेवारी पनि त्यस्तै पाए। ४४ वर्षीय उनी अहिले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्निकल रिसर्च युनिट संयोजक छन्।

उनले यो बीचमा धेरै अनुसन्धान गरेका छन्। त्यसमा विशेष हाइटीमा शान्ति सेनामा खटिएको नेपाली सेनाको टोलीमाथि लागेको गम्भीर आरोपको अनुसन्धान भने सम्झिरहन्छन्।

सन् २०१० मा हाइटीमा हैजा फैलियो। त्यसको दोष नेपाली सेनाले पायो। त्यो बेला उनी जापानबाट स्नातकोत्तर (पिएचडी) गरी फर्किएर टेकु अस्पतालमा काम गरिरहेका थिए। उनले यसबारेमा अनुसन्धान गरे र अनुसन्धानमुलक लेखमार्फत त्यसको प्रतिवाद गरे।

आरोपको प्रतिवाद गरिएको त्यो अनुसन्धानात्मक लेख अमेरिकाको इमर्जिङ इन्फेक्सियूस् डिजिजेज (सिडिसी) र अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजी’को प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भयो।

डा. पुनले भने, 'हाइटीमा हैजा नेपाली सेनाले फैलाएको हैन भन्ने लेखको कसैले पनि खण्डन गर्न सकेनन्।’

सन् २०१० जनवरीमा हाइटीमा भूकम्प गएपछि अक्टोबरको मध्यतिर नेपाली सेनाको ब्यारेक नजिकको नदिबाट हैजा फैलिएकाले नेपाली सेनाले नै हैजा फैलाएको भन्ने आरोप लागेको थियो।

भूकम्प गएको समयमा त्यहाँ मानवीय सहायताका लागि विभिन्न ठाउँबाट स्वास्थ्य परिक्षण नगरी पुगेका व्यक्तिले हैजा फैलाएनन् भन्ने के आधार छ? भन्ने डा.पुनको प्रश्न थियो। त्यो बेला आफ्ना लेख विभिन्न टेक्स बुक र जर्नलहरुमा समेत कोट गरेर छापिएको सम्झिए उनले।

हाइटीमा पुग्ने नेपाली सेनाको दिसाको परीक्षण गरेको संयुक्त राष्ट्रसंघ (युएन) ले पनि सेनामा संक्रमण नदेखिएको आधार उनले लिएका थिए। विभिन्न तथ्यगत आधारसहितको आफ्नो लेख प्रकाशित भएपछि अन्तर्राष्ट्रिय वैज्ञानिक मञ्चमा नेपाली सेनालाई हाइटीमा हैजा फैलाएको आरोप गलत सावित भएको उनको दावी छ।

अन्तर्राष्ट्रिय वैज्ञानिक मञ्चमा आफ्नो लेखको चर्चा भए पनि नेपालमा भने खासै चर्चा भएन।

भेट्न आएका वैज्ञानिक छक्क परे
करिब डेढ वर्ष अगाडिको कुरा सुनाए उनले। डा. पुनलाई भट्न अमेरिकाको सिडिसीबाट दुईजना वरिष्ठ वैज्ञानिक नेपाल आए। गफगाफको क्रममा पुनको काम थाहा पाएपछि उनीहरु एकआपसमा मुखामुख गर्दै कुरा गरेछन्, यो मान्छे अमेरिकाको सिडिसीमा हुनुपर्ने होइन र?

र, ती वैज्ञानिकले डा. पुनलाई प्रश्न गरेछन्, तिमी यहाँ के कसरी समय बिताउँछौ? डा. पुनले उत्तर दिए, 'दैनिक अस्पतालमा बिरामीको सेवा गर्छु। घर फर्किएपछि अध्ययनन/अनुसन्धानमा व्यस्त हुन्छु।’

ती वैज्ञानिकले सिडिसीमा काम गर्न जाने प्रस्तावको आसयमा कुरा गरिरहे। तर आफूले त्यति चासो नराखेको पुन बताउँछन्। 'म नेपालमा सन्तुष्ट छु भनेर जाने चाहना व्यक्त नगर्दा उनीहरु छक्क परे,' पुनले सुनाए।

विभिन्न जर्नलमा प्रकाशित लेख पढेर विदेशी वैज्ञानिकहरु उनलाई भेट्न आउँदा रहेछन्। डा. पुनले एक जना वैज्ञानिकलाई कसरी भेट्न आउनुभयो भन्ने जिज्ञासा राख्दा ती वैज्ञानिकले 'अस्ट्रेलियाका एकजना वैज्ञानिकले डा. पुनलाई जसरी पनि भेट्नु, सरुवा रोगको विषयमा धेरै जानकारी पाइन्छ भन्नुभएकाले भेट्न आएको’ बताएछन्।

डा. पुनले भने, 'नेपालमा हिमाल, पहाड, तराई तीनै किसिमको हावापानी छ। यो अध्ययनका लागि भर्जिन ल्याण्ड हो।’

बागलुङमा जन्म, रसिमायमा एमबिबिएस
बागलुङ जिल्लाको पाण्डखानीमा जन्मिएका डा. पुनका बुबा ब्रिटिस आर्मी भएकाले कलिलैमा बुबाआमाले हङकङ लगे। प्राथमिक तहसम्मको अध्ययन उतै गरे उनले। प्राथमिक तहको अध्यययनपछि नेपाल फर्किएका उनले काठमाडौँको कीर्तिपुरस्थित लेबोरेटरी उच्च माध्यामिक विद्यालयमा पाँच कक्षामा भर्ना भए र उच्चमाविसम्मको अध्ययन त्यहीं गरे।

त्यसपछि बेलायत सरकारको छात्रवृत्तिमा रसिया पुगेर एमबिबिएस अध्ययन गरेका उनी सन् १९९९/२००० मा एमबिबिएस उत्तीर्ण भए। त्यसपछि नेपाल फर्किएर विभिन्न अस्पतालमा एक वर्ष इन्टर्नसिप गरे। सन् २००१ बाट टेकु अस्पतालमा मेडिकल अफिसरका रुपमा उनको जागिर सुरु भयो।

टेकुमा बिरामीले खुट्टा राख्ने ठाउँ हुन्थेन
सन् २००३ ताका टेकु अस्पतालमा मलेरिया, जापानlज इन्सेफ्लाइटिस, कालाजार (कालाज्वरो), झाडापखालाका बिरामीहरु अत्यधिक आउँथे। बिरामीले अस्पतालका प्यासेज तथा भुईं समेत भरिएका हुन्थे। प्राय: झाडापखालाका बिरामी हुन्थे।

कालाजारका बिरामी त गाडी नै रिजर्भ गरेर अस्पतालमा आउने गरेको उनले सम्झिए। जापानिज इन्सेफ्लाइटिसका बिरामीको चाप त्यस्तै हुन्थ्यो।

मृत्युले दिक्क
त्यो समयको एउटा घटना उनी अझै पनि सम्झन्छन्। काठमाडौंकै करिब ४० वर्षीय व्यक्तिलाई झाडापखाला भएछ। तर ती व्यक्ति भोलि अस्पताल जाउँला भनेर भोलिपल्ट बिहान मात्रै अस्पताल पुगेछन्। अस्पताल पुग्दा उनको शरीरमा पानीको मात्रा निकै कम भइसेको थियो।

डा. पुनले त्यो घटना सम्झिँदै भने, 'उनको घरमा गाडी पनि रहेछ। भोलिपल्ट अस्पताल जान्छु भनेर बसेछन्। अस्पताल आउँदा त सिकिस्त थिए।’

ती व्यक्तिलाई बचाउन हर प्रयास गर्दा पनि बाँचेनन्। अति धेरै जल बियोजन भइसकेकाले उनको ज्यान गयो।

सामान्य उपचारले ठिक हुने, अनि काठमाडौं जस्तो अस्पतालको पहुँच भएको ठाउँमा पनि ढिला गरी अस्पताल पुग्दा ती ४० वर्षीय पुरुषले अनाहकमै ज्यान गएकोमा उनलाई अहिले पनि थकथक लाग्छ।

सुत्न बिर्सिएर अध्ययन
विभिन्न सरुवा रोगको उचित उपचारको पहुँचको अभावमा मृत्यु भएको आँखै अगाडि देखेका उनले जापान गएर सरुवा रोगबारे अध्ययन गर्ने निधो गरे। त्यसपछि टेकु अस्पतालको जागिर छोडेर सरुवा रोग विषयको अध्ययनका लागि सन् २००४ मा जापान पुगे। उनले नागासाकी विश्वविद्यालयमा छात्रवृत्तिमा स्नातकोत्तर (पिएचडी) अध्ययन सुरु गरे।

जापानमा उनी रातदिन अध्ययन गर्थे। कयौं पटक त बेलुका अध्ययन गर्न बस्दा बिहान छर्लङ्ग हुन्थ्यो। पढ्न थालेपछि खानपानको पनि वास्ता हुँदैनथ्यो रे। सुरुमा त जापानीहरुको खटाइ देखेर उनी पनि आत्तिए।

उनलाई एक दिन प्रोफेसरले सम्झाए। त्यसपछि अध्ययनमा नै मग्न हुन थाले डा. पुन। त्यो बेला जापानमा अध्ययन गर्दाको क्षण सुनाए, '३ घण्टा सुतिन्थ्यो। खानपान नै बिर्सन्थें। म दुब्लाएको थाहा पाएर घरमा मामुले जापानमा खान पाइँदैन की क्या हो भन्नुहुन्थ्यो।’

आफ्नो लागि स्नातकोत्तर  (पिएचडी) अध्ययन गर्नु भनेको एक प्रकारको तपस्या नै भएको उनले सुनाए। मिहिनेतको फल त मिठै हुन्छ। उनी पिएचडी अध्ययनमा सर्वोत्कृष्ट भए।

जापानको अवसर छोडेर नेपाल
अध्ययनपछि जापनको ट्रोपिकल मेडिसिन संस्था र उनका प्रोफेसरले जापानमा नै अध्ययन तथा काम गर्न अनुरोध नगरेका हैनन्  उनलाई। डा. पुनले सुनाए, 'प्रोफेसरले आकर्षक पोष्टमा प्राज्ञिक भएर काम गर्न पटकपटक अनुरोध गर्नुभएको थियो।’

तर, टेकुका बिरामी झल्झली उनको आँखामा आयो रे। उनलाई जापानमा बस्नै मन लागेन र गुण्टा कसेर आए नेपाल।

'मेरो एउटा स्वार्थ पनि थियो, जहाँ चुनौती हुन्छ। त्यहाँ अवसर पाइन्छ,’ उनले नेपाल आउनुको अर्को कारण पनि खुलाए।

विद्यावारिधिपछि नेपाल फर्किएर उनले टेकु अस्पतालमा नै काम सुरु गरे। डा. पुनले नै टेकु अस्पतालमा क्लिनिकल रिसर्च युनिटको स्थापना गरेका थिए।

फेलोसिप अस्वीकार गर्दा प्रोफेसर चकित
नेपाल फर्किएपछि जापानको आफैं अध्ययन गरेको विश्वविद्यालयबाट सन् २०११ मा उनलाई फेलोसिपको प्रस्ताव आएको थियो रे। तर उनलाई पुन: जापान जान मन लागेन। विश्वकै अब्बल मानिने फेलोसिप अस्वीकार गर्दा प्रोफेसर छक्क परेका थिए रे।

'प्रोफेसरको अनुरोध अस्वीकार गर्न मलाई निकै कठिन भयो। तीन दिन लगाएर एउटा चिठी लेखेर आउँदिन भन्ने जवाफ फर्काएँ,' उनले त्यो बेला फेलोसिप अस्वीकार गरेको क्षण सुनाए, 'जापान सरकारको प्रतिष्ठित फेलोसिप अस्वीकार गर्दा प्रोफेसर आश्चर्यमा पर्नुभयो।’

उनलाई पछि कतै मुर्ख्याइँ त गरिनँ भन्ने पनि लागेको रहेछ।

तर, नेपालमा बसेर लाइम डिजिज, कालाजार, चिकन गुनिया लगायतका रोगहरु पहाडी क्षेत्रतिर पनि सर्दैछन् भन्ने औंल्याउन पाएकोमा उनी मक्ख छन्।

रेविजले मृत्यु भएका युवा महिलालाई सम्झँदा...
बिरामीको मृत्यु देख्दा कसको मन नपोल्ला र। उनी पनि भावुक हुन्छन्। कयौं बिरामीको मृत्युमा डा. पुनका आँसु अडिएका छैनन्।

करिब १७ वर्षअघिको एक घटना सम्झिए उनले।

रेबिज लागेका युवा टेकु अस्पतालमा भर्ना भएका थिए। ती युवा भर्खर प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएका रहेछन्। अस्पतालमा बाँच्ने आशामा ती युवाले उनका बुबा-ममीलाई भनिरहेका थिए˗ तराइको जग्गा बेचेर इन्डिया लगेर भए पनि मलाई बचाउनु।
डा. पुनले ती युवाले बचाउन गरेको आग्रह सुनिरहेका थिए। उनको आँखा पनि रसाए। भर्ना भएको करिब ५ दिनमा युवाको मृत्यु भयो।

रेबिज लागेकी करिब ३५ वर्षकी महिलालाई उनका श्रीमानले अस्पताल लिएर आएका थिए। ती महिलाले आफू मर्ने थाहा पाइसकेपछि उनका श्रीमानको हात समातेर भनिरहेकी थिइन्, 'अब म मर्ने भएँ। छोराछोरी राम्रो हुर्काउनु।’

त्यो हृदयविदारक दृष्यले डा. पुनको मन कटक्क भयो। केही दिनमा महिलाको मृत्यु भयो। डा. पुनले भने, 'महिलाले श्रीमानको हात समातेर छोड्न नखोजेको देखिन्थ्यो।’

तर,  मृत्यु शय्यामा छटपटाइरहेका ती युवा र महिलालाई मृत्युका लागि सहजीकरण गरिदिनेबाहेक डा. पुनको टिमसँग बचाउने कुनै चिकित्सकीय विधि थिएन।

रेबिज लागेका केसहरु हृदयविदारक नै देखिने उनी बताउँछन्। रेविज लाग्नुपूर्व रेबिज भाइरस विरुद्धको खोप लगाए रेबिज नलाग्ने तर, रेबिज लागिसकेपछि मृत्यु निश्चित भएकाले हेलचेक्र्याइँ नगर्न डा. पुनले सुझाव दिए।

उनी भन्छन्, 'रेबिज लाग्न नदिनका लागि एन्टिरेविजको औषधि छ। तर रेबिज लागिसकेपछि उपचार छैन।’

रेबिज भाइरस मस्तिष्कमा प्रवेश गरेपछि लक्षण देखिन थाल्ने र लक्षण देखिएको करिब औसत एक हप्तामा मृत्यु हुने पुन बताउँछन्। सामान्यतः संक्रमित कुकुर लगायतले टोकेको १ देखि ३ महिनासम्ममा लक्षण देखिने उनी बताउँछन्।

कोरोना नौलो होइन
डा. पुनका लागि कोरोना भाइरस अनौठो होइन। सन् २००२ देखि २००३ मा नै अहिले देखिएको सार्स कोरोना भाइरसको प्रजाति सार्स कोरोना भाइरस (त्यसबेला सार्स भाइरस भनिन्थ्यो) देखिएको थियो। त्यो बेला पनि चीनबाट सुरु भएको भाइरसले विश्वमा तरंग ल्याएको थियो। उनले भने, 'त्यो बेला हामी पनि तर्सिएका थियौं।'

विशेषगरी चीनबाट फर्किएकाहरुमा कारोनाको संक्रमणसँग मिल्दाजुल्दो लक्षण देखिएको थियो। उनीहरुलाई टेकु अस्पतालमा भर्ना गरेर उपचार गरिन्थ्यो। डा. पुनले भने, 'टेकुमा भर्ना गरेर परामर्श, परीक्षण र उपचारको व्यवस्था गरिएको थियो।’

त्यो बेला टेकु अस्पताल मात्रै कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा भएको उनले सुनाए। उनले भने, 'नेपालमा सार्स भाइरसको उपचारका लागि अरु अस्पताल थिएनन्।

चीनबाट विश्वभर नै फैलिएको सार्स कोरोना भाइरस (सार्स कोरोना भाइरस˗१) करिब डेढवर्ष देखियो। त्यसैगरी साउदी अरब लगायत मध्यपूर्व मुलुकमा सन् २०१२ मा देखिएको मर्स कोरोना भाइरस अहिले पनि फाट्टफुट्ट देखिइनै रहेको डा. पुन बताउँछन्।

अहिले विश्वभर देखिएको कोभिड˗१९ पनि सार्स कोरोना भाइरसकै प्रजाति भएकाले यो भाइरस कतिसम्म रहन्छ भन्ने विषय यसको रुप कसरी परिवर्तन हुन्छ भन्नेमा भरपर्ने उनी बताउँछन्। यी ३ वटा महामारीको रुपमा देखिएका कोरोना भाइरस हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कान्तिपुर गाथा : तपाईंको आत्माले शान्ति पाओस् !

योभन्दा अगाडि, पहिलोपल्ट जुन कोभिडले नेपालमा आक्रमण गरेको थियो, त्यो कोभिड मास्क, स्यानेटाइजर र साबुन-पानीले पन्छिएको थियो। अहिलेको कोभिड निकै बलशाली देखियो। सरकारले सूचना जारी....

हिजोका कुरा : पञ्चायत समर्थकको कुटाइपछि विद्रोही बनेका नाटककार

सन् १९५४ मा धनकुटामा जन्मेका मल्ल सानैदेखि साहित्य, संगीत र नाटकको माहोलमा हुर्किए। धनकुटामा त्यतिबेला न बिजुली थियो, न सडक बाटो नै। गाडी हुने त....

ब्याच नम्बर ६९ : विमानस्थलै तस्करलाई ठेक्का दिएको त्यो समय

गोपी नेपालका युवा(युवतीलाई विभिन्न प्रलोभनमा पारेर लागु औषधको भरिया बनाउन सक्रियमध्येकी एक मुख्य पात्र हुन्। उनको समूहमा रहेर काम गर्दा पक्राउ परेकाहरू नेपालको कारागारमा पनि....

चौथो अंगमा कार्टुनिस्ट रविन सायमी : सम्पादक कर्पोरेट हाउसका हाकिम जस्ता भए

पहिलेदेखि नै राजनीतिक कार्टुनहरु बने हाम्रोमा। पञ्चायतकालमा प्रेस स्वतन्त्रता थिएन। यद्यपि, सरकार विरोधी पत्रिकाहरुले सरकारको व्यंग्य गर्थे।  सभ्य प्रकारको व्यंग्य भने २०४६ सालपछि नै हुन....

‘श्रीमतीको सपना पूरा गर्न सहरमा पसिना बगाउँदै छु’

सहरमा कोही व्यस्त छन्, घडेरी खन्न। कोही कौसीमा करेसाबारी बनाउँदै छन्। कोरोनाले सहरका मानिसलाई समय दिएको छ। उनीहरु समय कटाउन अनेक हर्कत गरिरहेका छन्। सरकारले....