आफ्नै रगत दिएर उपचार गर्दा पनि बच्चा नबाँचेपछि…

आफ्नै रगत दिएर उपचार गर्दा पनि बच्चा नबाँचेपछि…

बच्चालाई रगत दिइरहनु पर्यो। बुबाको रगत बच्चालाई मिल्दैनथ्यो। बच्चालाई ‘बी’ पोजेटिभ रगत चाहिन्थ्यो। डा. कल्पनाले भनिन्, ‘बुबाको रगत नमिल्ने, आमा अप्रेसन गरेको।’ अस्पतालमा पनि त्यो बेला ‘बी’ समूहको रगत सकिएको थियो। 

उपचार गरेर बिरामीको ज्यान बचाउनु त चिकित्सकीय धर्म नै हो। तर आफ्नै रगत दिएर उपचार गर्दा पनि बिरामी बचाउन नसक्दा भने एउटा चिकित्सकको मन कस्तो होला? 

बालरोग विशेषज्ञ डा. कल्पना उपाध्याय सुवेदीले चार वर्ष अघि मन नै कुँडिने एउटा यस्तै घटनाको सामना गर्नुपर्यो। आफ्नै रगत दिएर उपचार गर्दा समेत बिरामी बच्चालाई बचाउन नसकेको घटना सम्झँदा अहिले पनि उनलाई चसक्क घोच्छ।

घटना यस्तो रहेछ-

सुत्केरी हुने समयपूर्व नै स्वास्थ्य समस्या निम्तिएपछि एक जना गर्भवती थापाथलीस्थित प्रसूति गृह पुगिन्। ती महिला सामान्य रुपमा सुत्केरी हुन नसक्ने देखिएपछि शल्यक्रिया गरेर बच्चा निकालियो। गर्भमा जुम्ल्याहा बच्चा रहेछन्। 

एउटा बच्चाको त शल्यक्रिया गरेर निकालेको एक दिनमा नै मृत्यु भयो। बाँचेको अर्को बच्चामा पनि स्वास्थ्य समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार हुँदै थियो। बच्चालाई रगत दिइरहनु पर्थ्यो। 

ती महिलाको त्यो दोस्रो गर्भ रहेछ। पहिलो पटक पनि गर्भपतन भएको रहेछ। डा. कल्पनाले सुनाइन्, ‘पहिलो बच्चा खेर गएको थियो। दोस्रो बच्चा पनि आमाको स्वास्थ्यका कारण समय नपुगी निकाल्नुपर्यो।’

एउटा बच्चाको मृत्यु भए पनि अर्को बच्चा बाँच्ला भन्ने आमा-बुबालाई आश थियो। शल्यक्रिया गरिएकी आमालाई बच्चाका बुबाले बेला बेलामा बच्चा देखाएर बेडमा नै फर्काउँथे। बच्चा हेर्दा बाँच्ने आशाले घरीघरी आमाले दुखाइको पीडा भुल्थिन डा.  कल्पनाले बच्चाको बुबालाई ‘फेरि रगत चाहिन्छ, खोज्नुहोस्’ भनिन्। तर उनी रगत नपाएर थकित भइसकेका रहेछन्। उनले कल्पनालाई ‘डाक्टरसाब अस्पतालमा पनि बी पोजेटिभ रगत रहेनछ। मेरो मान्छेले २/३ चोटी दिइसक्नु भयो। रगत पाउनै कठिन भयो’ भन्ने जवाफ दिए। 

डा. कल्पनाको पनि रगत ‘बी’ पोजेटिभ नै रहेछ। बच्चालाई बचाउन सकिन्छ कि भनेर उनी आफैं रगत दिन तयार भइन्। 

डा. कल्पनाको रगत बच्चाको शरीरमा चढ्यो। रगत दिएपछि बच्चाको स्वास्थ्यमा केही सुधार देखियो। जसले कल्पनाको अनुहार उज्यालो भयो।

तर, डा. कल्पनाको खुसी धेरै टिकेन। बच्चा जन्मिएको १५ दिनपछि उपचारकै क्रममा फेरि एक्कासि समस्या बढ्यो र बच्चाको मृत्यु भयो। बच्चाको मृत्यु भएपछि आफ्नै रगत दिएर बचाउन अथक प्रयास गरेकी डा. कल्पनाको मन थामिएन। प्राण त्यागेको बच्चालाई सुम्सुम्याइन्। भक्कानिइन्। 

बच्चाको मृत्युले उनलाई यति गाह्रो भयो कि, बच्चाका बुबाआमालाई खबर सुनाउन बोली नै फुटेन। मन भारी बनाएर निकै असहज रुपले बुबालाई बच्चाको मृत्युको खबर सुनाइन्। 

भक्कानिँदै बच्चाको मृत्यु भएको कुरा सुनाएकी कल्पनालाई उल्टै ती मृतक बच्चाका बुबाले सम्झाए। मृत्यु भएका बच्चाका बुबाले ‘डाक्टरसाब तपाईंले आफ्नै रगत दिएर बचाउने कोशिस गर्नुभयो। हाम्रो भाग्यमा यस्तै रहेछ’ भन्दै सम्झाएको क्षण उनी कहिल्यै बिर्सिन्नन्।

सामान्यतः सुत्केरी हुने समय नपुगी तथा अंगको विकास राम्रोसँग नभई जन्मेका बच्चामा समस्या दखिँदै जाने उनले सुनाइन्। कहिलेकाहीँ त भेन्टिलेटरमा राखेको बच्चा ठिक भएपछि डिस्चार्ज गर्ने तयारी गरिरहेको बेला अचानक अर्को समस्या निम्तिएर मृत्यु हुँदा साह्रै दिक्क लाग्ने गरेको डा. कल्पना बताउँछिन्।

त्यसो त डा. कल्पनाले धेरै बच्चालाई रगत दिएर बचाएकी छन्। उनले सुनाइन्, ‘मैले  धेरैपटक बच्चालाई ब्लड दिएको छु।’

बच्चा जन्माएर आमाबुबा भाग्छन्


कतिपय बुबाआमा त बच्चामा स्वास्थ्य समस्या निम्तिएर आइसियुमा राखेपछि बाँच्दैन भन्ठानेर आस्पतालबाटै भाग्ने गरेको देखेकी छिन् डा. कल्पनाले। तर, आमाबुबाले माया मारेका बच्चा बचाउन पाउँदा भने उनी निकै खुसी हुन्छिन्। बुबाआमाले छोडेको अवस्थामा डाक्टर र नर्सले नै रगत दिएर बच्चाको उपचार गर्ने गरेको अनुभव उनीसँग छ।

आमाबुबाले बाँच्दैन भनेर माया मारेका बच्चालाई समेत बचाएर पछि बाल मन्दिरमा पठाउने गरेको उनी बताउँछिन्। ‘वर्षमा २–३ वटा यस्ता घटना हुन्छन्,’ उनले भनिन्।

करिब डेढ वर्षअघि आमाबुबाले अस्पतालमा बच्चा छाडेर भागेको एउटा घटना कल्पनाले सुनाइन्।

आमाबुबा भर्खर जन्मिएको बच्चाको टाउकोमा पानी जमेको थाहा पाएपछि अस्पतालबाट बच्चा छोडेर हिँडेछन्। 

बुबाआमा भागेपछि त्यो बच्चालाई अस्पतालले उपचार गर्यो। उपचारपछि बच्चा ठिक भयो। करिब दुई महिना अस्पताल राखेर बच्चालाई बाल मन्दिर पठाइएको थियो।

जन्म दिने आमाले नै बच्चा नबाँच्ने अथवा बाँचे पनि धेरै खर्च हुने थाहा पाएर भाग्ने गरेको घटनाले उनलाई दिक्क लाग्छ। आखिर किन आफैंले जन्म दिएको बच्चा माया मारेर भाग्छन्, उनको मनमा प्रश्न उब्जन्छ। डा. कल्पनाको मनमा आउने अर्को प्रश्न हो, ‘आफैंले जन्म दिएको बच्चा छोडेर किन भाग्छन् आमाहरुरु’  

झाडा–पखाला लागेकी डेढ वर्षकी बच्चीलाई बँचाएपछि…


डिसिएच (डिप्लोमा इन चाइल्ड हेल्थ) अध्ययन गर्दा कान्ति बाल अस्पतालमा झाडापखालाले शिथिल भएकी डेढ वर्षकी बच्चीलाई बचाउँदाको क्षण अहिले पनि बिर्सन्नन् डा. कल्पना। उनी अस्पतालमा ड्युटीमा रहेका बेला झाडापखालाले शिथिल भएकी डेढ वर्षको बच्चीलाई आमाले अस्पताल पुर्याएकी थिइन्। 

अस्पतालमा भर्ना हुँदा बच्ची बेहोस भइसकेकी थिइन्। डा. कल्पनाले उपचार थालिन्। उनको शरीरमा पानीको मात्रा अत्यन्तै कम भइसकेकाले हातबाट स्लाइन पानी चढाउन सम्भव भएन। त्यसपछि बल्लतल्ल बच्चाको खुट्टाबाट डा. कल्पनाले स्लाइन पानी चढाइन्। ‘बच्चाको शरीरमा पानी एकदमै कम थियो। नशा खोजेर स्लाइन पानी दिनुपर्ने। तर, नशानै भेटिएको थिएन,’ डा. कल्पनाले सुनाइन्। 

उनी रातभर उपचारमा खटिइन्। रातभर स्लाइन पानी चढाएपछि बिहान बच्चीको आँखा खुल्यो र स्वास्थ्यमा सुधार भयो। तीन दिनमा त ती बच्ची ठिक भएर अस्पतालबाट नै डिस्चार्ज भइन्। स्वास्थ्य जाँचपछि थाहा भयो, उनलाई हैजा भएको रहेछ।

एक दिन डिसिएच अध्ययनपछि वीर अस्पतालको आकस्मिक विभागमा डा. कल्पना बिरामीको उपचार गरिरहेकी थिइन्। कान्तिमा आफूले उपचार गरेकी तिनै बच्चीकी आमा ‘तपाईंले मेरी छोरी बचाउनुभएको नि’ भन्दै डा. कल्पनाको अगाडि पुगिन्। 

झाडापखालाबाट बाँचेकी टुकुर-टुकुर हिँड्ने बच्ची आमासँगै थिइन्। ती महिलाले डा. कल्पनालाई सुन्तला किनेर कृतज्ञता पूर्वक दिइन्। अप्ठ्यारो मानी-मानी डा. कल्पनाले सुन्तला स्वीकारिन्। ती महिला, आफूले बचाएकी बच्ची र अरु स्वास्थ्यकर्मीसँगै बसेर आकस्मिक कक्षमा नै सुन्तला खाएको डा. कल्पनाले सुनाइन्। 

रातभरि हातले श्वास दिएर सर्पले टोकेकी महिला बचाइयो


भैरहवाको भीम अस्पतालमा काम गर्दा सर्पले टोकेकी महिलालाई बचाएको क्षण पनि डा. कल्पनाका लागि अविस्मरणीय रह्यो।

घाँस काट्दा करिब २२ वर्षकी महिलाको हातको औंलामा सर्पले टोकेछ। महिला अस्पताल भर्ना भइन्। शरीरमा विष नफैलियोस् भनेर पाखुरामा कपडाले बाँधेर उनलाई अस्पाताल पुर्याइएको थियो। उनको शरीरमा भने सर्पको टोकाइका कारण असर देखिएको थिएन। 

रक्तसञ्चारमा समस्या हुने भएपछि ती महिलाले पाखुरामा बाँधिएको कपडा डा. कल्पनाले हल्का खुकुलो गरिदिइन्। कपडा खुकुलो गर्नैपर्ने हुन्थ्यो। तर, त्यसरी खुकुलो गरेपछि विष फैलने डर भने थियो। जुन कुरा उनलाई थाहा थियो।

शरीरमा सर्पले टोकेको विष फैलिएपछि मात्रै विषको असर काट्ने औषधि दिइन्छ। ती महिलाको पनि शरीरमा सर्पको विष फैलिँदै गएपछि डा. कल्पनाले सर्पको औषधि सुरु गरिन्। 

विषका कारण महिला प्लारालाइसिस भएर आँखै खोल्न नसक्ने भइन्। अस्पताल भर्ना भएको २/३ घण्टापछि त महिलालाई श्वास नै फेर्न गाह्रो हुन थाल्यो। प्यारालाइसिस भएर श्वास नै रोकिन थाल्यो। स्वास्थ्य अवस्था जटिल बन्यो।

अस्पतालमा भेन्टिलेटरको व्यवस्था थिएन। रिफर गर्दा तत्काल नजिकको सुविधासम्पन्न अस्पतालमा लान पनि सम्भव थिएन। त्यसैले डा. कल्पना आफैंले अक्सिजन ब्यागको सहायताले महिलालाई कृत्रिम श्वास दिन थालिन्। कल्पनाले भेन्टिलेटरको काम गरिन्। परिवारलाई भने महिला बाँच्दिनन् भन्ने परिसकेको रहेछ। अस्पतालमा पर्याप्त चिकित्सक तथा नर्स नभएकाले उनी आफैंले रातभरि ती महिलालाई ब्यागबाट हातले अक्सिजन दिइरहिन्।

नभन्दै बिहान ५ बजे महिलाले आँखा खोलिन्। आँखा खोलेपछि डा. कल्पनालाई यति आनन्द लाग्यो कि, खुसीले आँखा नै रसाए। रातभरको मिहिनेत सफल भयो। ज्यान बाँच्यो। महिला डिस्चार्ज भइन्। मेसिनरी रुपमा रातभरि श्वास दिएर महिलाको ज्यान बचाएको त्यो क्षण सम्झँदा अहिले पनि डा. कल्पना मनमनै भगवानलाई धन्यवाद दिन्छिन्।

भारतमा एमबिबिएस


काठमाडौंको चावहिलमा जन्मिएकी कल्पनाले काठमाडौंकै ज्ञानेश्वरस्थित ‘महेन्द्र भवन कन्या मावि’बाट २०३७ सालमा एसएलसी उत्तीर्ण गरिन्। सानैदेखि अध्ययनमा रुचि राख्ने उनले त्रिचन्द्र क्याम्पसबाट २०४० सालमा आइएस्सी उत्तीर्ण गरिन्।

कल्पनालाई सानैदेखि डाक्टर बन्ने रहर थियो। त्यसैले एमबिबिएस अध्ययनका लागि भारत पुगिन्। कल्पनाले सन् १९९१ मा भारतको ग्वालियरस्थित ‘जिआर मेडिकल कलेज’बाट एमबिबिएस उत्तीर्ण गरिन्। 

वीर अस्पतालमा फरक विभाग, फरक रोगको अध्ययन


एमबिबिएस सकेर नेपाल फर्किएर कल्पनाले १५ महिना कान्ति बाल अस्पतालमा मेडिकल अफिसरका रुपमा भोलिन्टियर भएर काम गरिन्। 

उनले कान्तिमा काम गर्दागर्दै लोकसेवा परीक्षा दिइन्। परीक्षाको नतिजा राम्रो आयो। २०५० सालमा सरकारी स्थायी चिकित्सकको रुपमा जागिरे भइन्। सरकारी चिकित्सक भएपछि उनको पहिलो पोस्टिङ वीर अस्पतालमा भयो। वीर अस्पतालमा डा. कल्पनाले करिब दुई वर्ष काम गरिन्।

वीरपछि उनी बालबालिका सम्बन्धी डिसिएच (डिप्लोमा इन चाइल्ड हेल्थ) विषय अध्ययन गर्न थालिन्। २०५३ सालमा चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसबाट एक वर्षे डिसिएच कोर्ष उत्तीर्ण गरिन्। 

डिसिएच अध्ययनपछि पनि उनले वीर अस्पतालमा नै काम गरिन्। डा. कल्पनाले बालबालिका सम्बन्धी विषय त अध्ययन गरिन्। तर अस्पतालमा बच्चाको विभाग थिएन। उनलाई बालबालिकाकै सेवा तथा उपचार गर्ने इच्छा थियो। त्यसैले कान्ति बाल अस्पतालमा सरुवाका लागि कोशिस गरिन्। सरुवा सम्भव नभएपछि उनले वीर अस्पतालमा नै काम गरिरहिन्। वीर अस्पतालमा काम गर्दा कहिलेकाहीँ बालबालिका आए चिकित्कहरुले डा. कल्पनाकहाँ रिफर गरिदिन्थे। 

तर, वीर अस्पतालमा काम गर्दा उनले फरक फरक विभागमा काम गर्ने मौका पाइन्। आकस्मिक कक्ष, मेडिसिन, नाक-कान-घाँटी, कार्डियोलोजी, नेफ्रोलोजी जस्ता विभागमा काम गरिन्। यसरी फरक-फरक विभागमा काम गर्दा बालबालिकाको फरक–फरक रोगको बारेमा सिक्ने मौका पाएकाले फाइदा नै भएको उनले सुनाइन्।   

भीम अस्पतालमा दुई वर्ष


डिसिएच अध्ययन सकेको करिब दुई वर्ष वीर अस्पतालमा काम गरेपछि भने डा. कल्पना पोस्टिङ मागेर भैरहवाको भीम अस्पताल पुगिन्। त्यो बेला उनका श्रीमानको पनि भैरहवाको आँखा अस्पतालमा सरुवा भएकाले पोस्टिङ मागेर भैरहवामा काम गर्न पुगेको उनले सुनाइन्।

भैरहवामा बस्दा नै उनका श्रीमान आँखा रोग विषयमा फेलोसिप गर्न भारत गए। डा. कल्पना भने भीम अस्पतालबाट सरुवा भएर कान्ति बाल अस्पताल आइन्। दुई वर्ष भीम अस्पतालमा काम गरेकी उनी २०५७ मा कान्तिमा सरुवा भएकी हुन्।

बालबालिकासँग रमाउने रहरले ‘पेडियाट्रिक’ 


डा. कल्पनालाई थप अध्ययनको भोक छँदै थियो। उनलाई बालरोग सम्बन्धी नै थप अध्ययन गर्ने इच्छा थियो। त्यसैले कान्तिमा करिब डेढ वर्ष काम गरेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग (पेडियाट्रिक) विषयमा २०५९ मा एमडी (स्नातकोत्तर तह) को अध्ययन थालिन्। डा. कल्पनाले २०६२ सालमा एमडी अध्ययन पूरा गरिन्। 

महिला भएको नाताले उनलाई धेरैजसोले प्रसूति तथा स्त्रीरोग विषय नै अध्ययन गर्न सुझाव दिएका थिए। तर एमबिबिएस अध्ययन गर्दा नै उनलाई बालबालिका सम्बन्धी रोगको विषयमा बढी चासो हुन्थ्यो। बालबालिकासँग रमाउन पाउँदा असाध्य आनन्द लाग्ने भएकाले आफूले बालरोगसम्बन्धी विषय छानेको उनी बताउँछिन्।  डा. कल्पना भन्छिन्, ‘मलाई बालबालिकासँग रमाउँदा आनन्द लाग्थ्यो। बच्चा भनेपछि एट्राक्सन हुन्थ्यो।’ 

तीन वर्षको एमडी अध्ययनपछि डा. कल्पना पुनः कान्ति अस्पतालमा नै काम गर्न फर्किइन्। एमडी अध्ययन गरेर कान्ति पुगेको केही महिनामा नै खुला प्रतिस्पर्धामा ९औं तहमा उनको नाम निस्कियो। ९औं तहमा नाम निस्किएपछि उनी २०६२ मा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पोस्टिङ भइन्। प्रसूति गृहमा भर्खर जन्मेका बच्चा मात्रै हेर्नुपर्ने हुन्थ्यो। डा. कल्पनालाई भने ठूला बच्चाको पनि चेकजाँच तथा उपचार गर्ने इच्छा थियो। त्यसैले उनले दुई वर्ष प्रसूति गृहमा काम गरेपछि फेरि पोस्टिङ मागेर कान्ति बाल अस्पतालमा नै पुगिन्। 

कान्ति पुगेको केही महिनापछि उनी १०औं तहमा बढुवा भइन्। कान्तिमा नै काम गर्दा २०७१ तहमा उनी ११औं तहमा बढुवा भइन्। ११औं तहमा बढुवा भएको केही महिनापछि २०७२ सालमा (भूकम्पअघि) डा. कल्पना पुनः पोस्टिङ भएर प्रसूति गृह पुगिन्।

उनले प्रसूति गृहमा काम गरेको ६ वर्ष भयो। डा. कल्पनाले सुनाउँछिन्, ‘म प्रसूति गृह आएको २/३ हप्तामा भूकम्प गएको थियो। त्यतिबेलादेखि अहिलेसम्म यहीँ छु।’

१९ भदौ, २०७८, १२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।