उकेरा कोलम

१९ हजार बालबालिका बेहोस बनाउने डाक्टर

उपेन्द्र खड्का 


सबैलाई बालबालिका बोलिरहुन्, चलिरहुन्, हाँसिरहुन् जस्तो लाग्छ। बालबालिका पनि त्यस्तै चञ्चल। उनीहरू स्थिर रहन पनि सक्दैनन्।
तर प्रा.डा. शान्ता सापकोटा भने बालबालिकालाई बेहोस बनाएर स्थिर गराउने काम गर्छिन्। हालसम्म उनले १९ हजारभन्दा बढी बालबालिकालाई बेहोस बनाएकी छिन्। 
 

तर नआत्तिनुस्, यो कुनै गलत काम होइन। उनी एनेस्थेसियोलोजिष्ट हुन्। अर्थात् चिकित्सा विज्ञानको यस्तो विधा जसले बिरामीलाई बेहोस बनाउने काम गर्छ। 

हुन त चिकित्सकले बेहोसीको अवस्थाबाट बिरामीलाई होसमा ल्याउनुपर्ने हो, तर शल्यक्रिया गर्ने बेला भने बेहोस नबनाई उपचार गर्नै मिल्दैन। 

डा. शान्ता, कमलो मनकी छिन्। बालबालिका रोए भने उनको मन थामिदैँन। तर एनेस्थेसियोलोजिष्ट डा. शान्ताले कान्ति बाल अस्पतालमा १९ वर्ष ४ महिना काम गर्दा १९ हजारभन्दा बढी बालबालिकालाई बेहोस बनाएकी छिन्। 

सुरुआती दिनमा त बालबालिकालाई बेहोस बनाउने विषयले उनको मन चसक्क हुन्थ्यो। हात, खुट्टा, मन सबै काम्थ्यो।

तर, कान्ति अस्पतालको पेडियाट्रिक एनेस्थेसियोलोजिष्टको रूपमा काम गर्न थालेपछि भने उनी विस्तारै बालबालिका बेहोस बनाउने काममा बानी पर्दै गइन्। बालबालिकासँगै रमाउन पनि थालिन्। उनी भन्छिन्, ‘कान्तिमा रहँदा वर्षमा एक हजार बालबालिकालाई बेहोस बनाउँथेँ। अहिले यही काममा रमाउँछु।’

पछि उनको वीर अस्पताल सरुवा भयो। त्यहाँ भने उनले वयस्क व्यक्ति बेहोस गराउने एनेस्थेसिया विधामा करिब ४ वर्ष काम गरिन्।

अहिलेसम्म अप्रीय घटना भएको छैन
६० वर्षीया शान्ताले आफ्नो काम गर्ने क्रममा कहिलेकाहीँ सामान्य किसिमका बाहेक अन्य गल्ती गरिनन्। आफूले बेहोस बनाएका कुनै पनि बिरामीको सो प्रक्रियाका कारण अप्रीय घटना उनले सुन्न परेन। यो उनलाई आफ्नो चिकित्सकीय कौशलको सफलता जस्तो लाग्छ। 

उनले भनिन्, ‘कतिपय अवस्थामा अप्रेसन थियटरमा शल्यक्रियाकै क्रममा बीचैमा बिरामी ब्यूँझिने पनि हुन्छ। तर, मैले बेहोस बनाएका बिरामी शल्यक्रिया नै नसकी व्यूँझिएको घटना भोग्नु परेन।’ 

बच्चा बेहोस बनाउँदा चुनौती 
वयस्कको तुलनामा बच्चालाई बेहोस बनाउँदा निकै चुनौतिपूर्ण हुने उनको अनुभव छ। बच्चामा बेहोस बनाउने औषधि चलाउँदा मात्रा मिलाउने क्रममा निकै होसियारी अपनाउनुपर्छ। 

एनेस्थेसियाका चिकित्सकलाई ‘बेहोस गराउने डाक्टर’ भनेर हल्का रुपमा लिने गरिएको डा. शान्ताको अनुभूति छ। शल्यक्रियापछि बिरामीको होस नआउञ्जेल एनेस्थेसियाको चिकित्सक बिरामीसँगै हुनुपर्छ। त्यसैले शान्ता, एनेस्थेसियाका चिकित्सकलाई पर्दा पछाडीको ‘हिरो’को रूपमा लिन्छिन्। 

उनका अनुसार औषधिको मात्रा थोरै बढी हुँदा पनि, धेरै बढी हुने र थोरै मात्र कम हुँदा पनि काम नगर्ने हुन्छ। 

उनको अनुभवमा भर्खर जन्मिएको बच्चाभन्दा बुवाआमा तथा अभिभावक चिन्न थालेका बच्चा अप्रेसन थिएटरमा जाँदा डराउँछन्। जसले गर्दा फकाएर निकै कुशल तरिका अपनाएर मात्रै अप्रेसन थिएटरमा लैजानुपर्छ। 

विदेशमा बेहोस गराउने बेलासम्म बच्चासँगै अभिभावकलाई राख्ने चलन भए पनि नेपालमा भने अभिभावक नै डराउने भएकाले यस्तो अभ्यास गर्न कठिन हुनेगरेको छ। नेपालमा अभिभावकबाट छुटाएर शल्यक्रियाका लागि बच्चा रुवाउँदै लगिन्छ। यतिबेला उनलाई निकै असहज लाग्छ। 

त्यसो त नेपालमा बालबालिकाका लागि भनेको जस्तो बेहोस गराउने औषधि पनि नपाइने उनले बताइन्। जे उपलब्ध छन्, तिनै औषधिले काम चलाउनुपर्ने वाध्यता रहेको खिन्न हुँदै उनले बताइन्। 

नसाबाट औषधि दिएर र ग्यास सुँघाएर बच्चालाई बेहोस बनाइने गरेको उनले सुनाइन्। ‘बच्चा ठूलो छ र नसा खुलेको छ भने नसाबाट बेहोस बनाउने औषधि दिइन्छ। तर, नसा खुलेको छैन भने ग्याँस सुँघाइन्छ र लठ्ठ पारेर बेहोस बनाइन्छ’, उनले भनिन्। 

पर्दा पछाडीको काम
एनेस्थेसियोलोजिष्टले कहिल्यै श्रेय पाउँदैनन्। शान्तालाई यो कुरा निकै खल्लो लाग्ने गर्छ। ‘जहिल्यै पर्दा पछाडी बसेर काम गर्नुपर्छ। शल्यक्रियामा टीमकै भूमिका हुने भए पनि एनेस्थेसियाका चिकित्सकले श्रेय नपाउँदा मन अलि कुँडिन्छ’, उनले भनिन्।

उनलाई सबैभन्दा नरमाइलो त तब लाग्छ जब शल्यक्रिया गरेका बिरामीको पूर्जामा बेहोस बनाउने चिकित्सकको नाम नै हुँदैन। बिरामीको उपचार सफल हुँदा उपचारको श्रेय शल्य चिकित्सकले पाएका हुन्छन्। उनले भनिन्, ‘सर्जनको नाम हुन्छ, कसको निगरानीमा भर्ना भएको छ भन्ने हुन्छ, तर एनेस्थेसिया कहाँ छ खोई?’ 

आम नागरिकमा शल्यचिकित्सककै प्रमुख भूमिका हुन्छ भन्ने बुझाइ हुन्छ। तर सर्जन राम्रो नहुँदा पनि शल्यक्रिया सफल नहुने र एनेस्थेसियाको कुशल व्यवस्थापन हुन नसक्दा पनि शल्यक्रिया सफल हुन नसक्ने उनी बताउँछिन्। 

एनेस्थेसियाका चिकित्सकलाई ‘बेहोस गराउने डाक्टर’ भनेर हल्का रुपमा लिने गरिएको डा. शान्ताको अनुभूति छ। शल्यक्रियापछि बिरामीको होस नआउञ्जेल एनेस्थेसियाको चिकित्सक बिरामीसँगै हुनुपर्छ। त्यसैले शान्ता, एनेस्थेसियाका चिकित्सकलाई पर्दा पछाडीको ‘हिरो’को रूपमा लिन्छिन्। 

एनेस्थेसियाका चिकित्सकले कोभिडको समयमा ‘क्रिटिकल केयर मेनेज्मेन्ट’ गर्ने भएकाले पछिल्ला दिनमा मानिसले चिन्न थालेको उनले सुनाइन्। 

शल्यक्रिया मात्रै हैन, आइसियु केयर, इन्डोस्कोपी, क्लोनोकोपी, ग्याट्रो, क्याथल्याब, रेडियोलोजीलगायत धेरै उपचार विधिमा एनेस्थेसियाको त्यत्तिकै महत्वपुर्ण भूमिका हुने उनी बताउँछिन्।

कहिलेकाहीं दबाब 
कतिपय बिरामीलाई बेहोस गर्न नमिल्ने हुन्छ। तर बेहोस गर्नै पर्ने दबाबमा उनी पुग्छिन्। विशेषगरी दूरदराजका गाउँबाट आएका बिरामलाई बेहोस गर्न नमिले पनि गर्न दवाव पर्ने गरेको उनको अनुभव छ। 

कारण– उनीहरूसँग पैसा कम हुन्छ। टाढाबाट अस्पताल पुगेका हुन्छन्। शल्यक्रिया गर्नका लागि बेहोस गराउन नमिल्ने अवस्थामा शल्यक्रिया नै रद्ध गर्नुपर्ने हुन्छ। 

कहिलेकाहीँ तर्साउने पनि गरिन्छ
बालबालिकाको शल्यक्रियाअघि खानपान गराउनु हुँदैन। तर, बच्चाको मायाले गर्दा अभिभावकले लुकीलुकी खुवाइदिन्छन्। शल्यक्रिया गर्नुअघि ६ घण्टा भोको बस्नुपर्छ। धेरै अभिभावकहरू यो कुरा हल्का रूपमा लिन्छन्। यसरी बच्चालाई खुवाउँदा समस्या निम्तिने उनले सुनाइन्। 

उनले भनिन्, ‘केही नखुवाउनु भन्छौँ तर आमाहरू मज्जाले दूध चुसाउनु हुन्छ। अप्रेसनपछि कहिले खान पाउने हो भनेर लुकाएर खान दिएको पाइन्छ।’

यसले गर्दा बेहोस बनाउने क्रममा बच्चालाई बान्ता आउने जोखिम हुने उनले बताइन्। कहिलेकाहीँ त आफूले अभिभावकलाई तर्साउनुुसमेत परेको उनको अनुभव छ। बच्चालाई खुवाएर पछि सर्कियो भने बच्चाको ज्यान पनि जानसक्छ भन्दै उनले धेरैलाई तर्साएकी पनि छिन्। 

त्यो दिन एनेस्थेसियाको ज्ञान नभएको भए...

ऐनेस्थेसिया विषयको महत्व उनले चितवनको भरतपुर अस्पतालमा अझ धेरै महसुस गरिन्। 

दशैँको समय थियो। डा. शान्ता र अर्का एक जना सर्जन भरतपुर अस्पतालमा ड्युटिमा थिए। त्यही बेला स्वास्थ्य समस्या भएर गर्भवति महिला अस्पताल पुगिन्। 

डा. शान्ता र सर्जनले ती महिलालाई स्त्री तथा प्रसूति रोग विशेषज्ञ र एनेस्थेसिया विशेषज्ञ पनि नभएकाले पोखरा अथवा काठमाडौं जान सुझाव दिए। तर, बिरामीका आफन्तले अन्त जान नसक्ने भन्दै भरतपुरमा नै उपचार गरिदिन आग्रह गरे। महिलाको शल्यक्रिया गर्नुपर्ने भयो।

उनीहरूले महिलाको शल्यक्रिया गर्ने आँट गरे। यति बेला शान्ता एमबीबीएस चिकित्सक थिइन्। सर्जनले बिरामीलाई बेहोस बनाउने औषधि दिए। तर, शल्यक्रिया गर्ने क्रममा बिरामी महिलाले सासै फेरिनन्। उनीहरू आत्तिए। 

तर भाग्यवश, शान्ता त्रिवि शिक्षण अस्पतालमा करार जागिरेका रूपमा ६ महिना एनेस्थेसिया विभागमा काम गरिसकेकी थिइन्। उनले सोही ज्ञान प्रयोग गरिन्। ती महिलाको श्वासप्रश्वास सुचारु भयो। 

शान्ताले शल्यक्रियाको अवधिभर एनेस्थेसियाको जिम्मा लिइन्। शल्यक्रिया सफल भयो। ती गर्भवति महिलाको ज्यान जोगियो। तर दुर्भाग्यवश, बच्चाको भने गर्भमा नै मृत्यु भइसकेको रहेछ। 

‘त्यो दिन एनेस्थेसियाको ज्ञान नभएको भए महिलाको निधन हुनसक्थ्यो’, उनले भनिन्।

नसा नभेट्दा चुनौती
नसाहरू लुकेर बसेको हुन्छ। शल्यक्रियाका क्रममा रगत, स्लाइन तथा औषधि दिनका लागि नसा भेटिनुपर्ने हुन्छ। तर बच्चाको नसा लुकेको हुन्छ। एकपटक एउटा बच्चाको नसा नै भेटिएन। शल्यक्रिया गर्न अप्रेसन थिएटरमा राखे पनि नसा नखुल्दा शल्यक्रिया नै ढिला भएको उनले बताइन्। 

चितवनमा काम गर्ने क्रममा २०५० सालमा उनको विवाह भयो। विवाहपछि एक दिन उनको स्वास्थ्यमा एक्कासी समस्या निम्तियो। उनको रक्तश्राव भएका कारण बेहोस बनाएर तुरुन्तै शल्यक्रिया गर्नुपर्ने भयो। तर त्यो बेला एनेस्थेसियाका चिकित्सकको संख्या निकै कम थियो। जसोतसो उपचार भयो। उनी निको भइन्।

६ महिनाको त्यो बच्चाको दिसा गर्ने प्वाल बनेको थिएन। बच्चालाई शान्ताको टीमले शल्यक्रियाका लागि बेहोस गरायो। तर डेढ घण्टा प्रयास गर्दा पनि बच्चाको हातमा नसा भेटिएन। सर्जनले शल्यक्रिया नै स्थगित गर्ने प्रस्ताव गरे। तर शान्ताले चिकित्सकको टीमसँग भनिन्, ‘एक पटक अन्तिम प्रयास गरौं त्यसपछि पनि नभए शल्यक्रिया स्थगित गरौँला।’ 

भाग्यवश, अन्तिम प्रयासमा भने बच्चाको हातको नसा भेटियो। नसा खुल्यो र शल्यक्रिया भयो।

अध्ययनमा लगाव, डाक्टरी मोह
डा. शान्ता चितवनको पटियानीमा २०१८ सालमा जन्मिएकी हुन्। सानैदेखि अध्ययनमा उनको लगाव थियो। उनले चितवनको भरतपुरस्थित ‘बालकुमारी मावि’बाट २०३४ सालमा एसएलसी उत्तीर्ण गरेकी हुन्। 

एसएलसीपछि उनी काठमाडौं आइन्। ‘अमृत साइन्स क्याम्पस’मा २०३५ सालमा आइएस्सी अध्ययनका लागि भर्ना भइन्। तर, आन्दोलनका कारण आइएस्सी सक्न ३ वर्ष लाग्यो।

आइएस्सीपछि उनी २०३९ मा ‘त्रिचन्द्र क्याम्पस’मा बीएस्सी अध्ययनका लागि भर्ना भइन्। तर, ३ महिनापछि एमबीबीएस पढ्न उनी भारत पुगिन्। शान्ताले सन् १९८९ मा भारतको राँचीस्थित ‘राजेन्द्र मेडिकल कलेज’बाट एमबीबीएस अध्ययन पूरा गरिन्। 

भारतमा पनि हड्तालका कारण एक वर्ष पढाइ लम्बिएको उनले बताइन्। सुरूमा त उनलाई डाक्टर नै बन्छु भन्ने सोच थिएन। तर, पढाइ राम्रो भएकाले अध्ययन गर्ने क्रममा उनलाई डाक्टरी पढ्ने रहर जाग्यो। 

त्यसपछि नेपाल फर्केर २०४७ सालमा उनले त्रिवि शिक्षण अस्पतालमा मेडिकल अधिकृतका रूपमा एक वर्ष करारमा काम गरिन्। 
शिक्षण अस्पतालमा काम गर्दागर्दै लोकसेवा परीक्षा दिएर २०४८ सालमा उनी सरकारी स्थायी चिकित्सकका रूपमा जागिरे भइन्।

सरकारी चिकित्सक भएपछि शान्ताको पहिलो पोष्टिङ चितवनको भरतपुर अस्पतालमा भयो। उनले भरतपुर अस्पतालमा २०५२ सम्म चार वर्ष काम गरिन्। 

आफ्नै स्वास्थ्यले एनेस्थेसियाको अध्ययन
भरतपुर अस्पतालमा काम गरिरहेकै बेला उनले शिक्षण अस्पतालमा २०५२ देखि २०५३ सम्म ‘एनेस्थेसिया’ विषयमा एक वर्षे ‘पोष्ट ग्राजुएट डिप्लोमा’ गरिन्। उनलाई शिक्षण अस्पतालमा मेडिकल अधिकृतका रूपमा एक वर्ष काम गर्दा नै एनेस्थेसिया विषय अध्ययन गर्ने रहर जागिसकेको थियो। त्यहाँ उनले एक वर्ष काम गर्दा ६ महिना एनेस्थेसिया र ६ महिना प्रसुतीसम्बन्धी विभागमा काम गरेकी रहिछन्।

शान्ताका गुरुहरूले पनि एनेस्थेसिया अध्ययनका लागि सुझाव दिएका थिए। 

त्यतिबेला चिकित्सा विषय अध्ययन गर्ने धेरैको रोजाइमा मेडिसिन, सर्जरी, प्रसूती तथा स्त्रीरोग जस्ता विषय पर्थे। उनले सुनाइन्, ‘एनेस्थेसिया रोजाइमा पर्दैनथ्यो।’ उनको पनि रोजाइमा प्रसुती थियो। तर आफूसँगै भएको एउटा घटनापछि उनले एनेस्थेसिया पढ्ने निधो गरिन्। 

चितवनमा काम गर्ने क्रममा २०५० सालमा उनको विवाह भयो। विवाहपछि एक दिन उनको स्वास्थ्यमा एक्कासी समस्या निम्तियो। उनको रक्तश्राव भएका कारण बेहोस बनाएर तुरुन्तै शल्यक्रिया गर्नुपर्ने भयो। तर त्यो बेला एनेस्थेसियाका चिकित्सकको संख्या निकै कम थियो। जसोतसो उपचार भयो। उनी निको भइन्।

उनी ब्यूँझिएपछि उनको प्राथमिकता फेरियो। उनी एनेस्थेसिया पढ्ने भइन्। 

उनलाई लागेछ– एनेस्थेसियाको चिकित्सक भएनन् भने अनुभवी सर्जनले पनि केही गर्न सक्दैनन्। 

कान्तिमा १९ वर्ष १९ बालबालिका बेहोस
‘पोष्ट ग्राजुएशन’ सक्ने अन्तिम समयमा उनी स्वास्थ्य मन्त्रालय सरुवा भएर करिब डेढ वर्ष काम गरिन्। २०५४ सालमा भक्तपुर अस्पताल सुरुवा भइन्। त्यहाँ ६ महिना काम गरेपछि शान्ता कान्ति बाल अस्पतालमा सरुवा भइन्। 

जागिरे जीवनको लामो समय उनले कान्ति बाल अस्पतालमा नै बिताइन्।  शान्ताले २०५४ देखि २०७३ सम्म १९ वर्ष ४ महिना कान्ति अस्पतालमा काम गरिन्। मेडिकल अधिकृतका रूपमा कान्ति बाल अस्पताल सरुवा भएकी उनी बढुवा भएर कन्सल्ट्याण्ट भइन्। ११औँ तहमा पुगिन्। प्रमुख कन्सल्ट्याण्ट भइन्। ऐनेस्थेसियाका विद्यार्थीलाई पढाउन थालिन्।

कान्तिबाट २०७३ मा उनी वीर अस्पताल सरुवा भइन्। शान्ताले २०७८ साउनसम्म वीरमा काम गरिन्। वीरमा एनस्थेसिया विभागको प्रमुखको जिम्मेवारी सम्हालेर प्राध्यापकका रूपमा पनि काम गरिन्। वीरमा उनी दुई महिना निमित्त निर्देशकको जिम्मेवारीमा पनि पुगिन्। उमेरका कारण साउन पहिलो साताबाट डा. शान्ताले सरकारी सेवाबाट अनिवार्य अवकास पाएकी छिन्। 

डा. शान्ताले सन् २००२ मा थाइल्याण्डको बैंककस्थित ‘रोयल कलेज अफ ऐनेस्थेसियोलोजिष्ट’बाट  ३ वर्षे फेलोसिप पनि गरेकी छिन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंगमा अजय फुयाल : सम्पादक क्लिकमै रमाउने, रिपोर्टरले मात्रै के गरोस् ?

२०४६ पछि प्रकाशनमा आएका दैनिक पत्रिकामध्ये सबैभन्दा पहिले नेपाल समाचारपत्रले खेलकुदको लागि पेज नै छुट्याउन थाल्यो। यसो हुनुमा पत्रिकाका प्रधानसम्पादकले खेल बुझ्नुभएको थियो। उहाँ आफैं....

विमलाको संघर्ष : जब लाज त्यागिन्, सफलतै-सफलता

६ कक्षा पढ्दापढ्दै गाँउबाट सहर पसेकी विमलाले चिया पसल सुरु गरेको १९ वर्ष भयो। यो १९ वर्षमा चिया पसलले विमलालाई निराश बनाएको छैन। ‘चिया बेच्न....

फेसन डिजाइनर तरुणिकाको प्रसव पीडा र खुसी : परिवार नियोजन भयो भनेर झुक्किँदा तेस्रो गर्भ

विहे भएको समयमा मलाई छातीमा चिसो लागेका कारण रुघाखोकीले निकै सतायो। त्यतिबेला कडा एन्टिबायोटिक खानुपर्‍यो। एक त नयाँ घर, त्यसमाथि सन्चो नभएर गाह्रो भइरहेको अवस्था।....

कलिलैमा टुहुरो भएका डा. उमेश आमा-बुबाको अनुहार सम्झिएर उपचार गर्छन्

उनलाई आमाले कलिलैमा छोडेर कहिल्यै नफर्किने बाटोमा गइन्। आमा बितेको याद नै छैन उनलाई। डा. उमेश सुनाउँछन्, ‘म सानै हुँदा आमा बित्नु भएको। मलाई याद....

कान्तिपुर गाथा : हान्ने र जान्नेको जालोमा पत्रकारिता

यो बाहेक उनको अर्को राष्ट्रिय थेगो पनि छ- धमलाको हमला। उनी यो थेगोमार्फत जान्न चाहने जनतालाई हान्न चाहन्छन्। ऋषि धमलाको एउटा विशेषता के भने, देशमा....