बुबाको मृत्यु हुँदा बिरामीको शल्यक्रिया गरिरहेका थिए डा. गेहनाथ

बुबाको मृत्यु हुँदा बिरामीको शल्यक्रिया गरिरहेका थिए डा. गेहनाथ
तस्बिर : कृष्पा श्रेष्ठ।

यसअर्थमा उनी आफू चिकित्सक भएकोमा गर्व गर्छन्। तर, यही पेशाको बाध्यताले घटेको एक घटनाले उनलाई बेलाबेला पिरोल्ने गरेको छ। 

घटना यस्तो रहेछ–

२०५९ सालमा उनी कास्की, पोखराको एक अस्पतालमा कार्यरत थिए। एक दिन उनी पाठेघरको क्यान्सर भएकी ५० वर्षीया महिलाको शल्यक्रिया गरिरहेका थिए। त्यही बेला झापामा रहेका उनका बुबाको मृत्यु भयो। तर, उनले त्यो खबर ढिलो पाए। 

कारण– उनी शल्यक्रिया गरिरहेका थिए। 

‘शल्यक्रिया गरिसक्दा राती अबेर भइसकेको थियो। त्यसैले ढिलो खबर पाएँ,’ उनले भने। 

बुबाको मृत्युको अन्तिम समयमा आफू बुबासँग रहन नपाउँदा उनको मन कटक्क हुने गरेको छ। 

त्यसपछि भोलिपल्ट मात्रै झापा हिँडे उनी। ‘न अन्तिम समयमा बुबाको मुख हेर्न पाएँ न त शल्यक्रिया गरेकी बिरामीसँग फलोअप गर्न,’ उनले बाध्यता सुनाए। 

‘अस्तव्यस्त पारिवारिक र सामाजिक जीवन’

चिकित्सकीय पेशा व्यस्त र संवेदनशील पेशा हो। उनी अहिले पनि अधिकांश समय अस्पतालमा नै बिताउँछन्। उनी चिकित्सकको पारिवारिक तथा सामाजिक जीवन नहुने तर्क गर्छन्। 

डा. गेहनाथले भने, ‘म कहिलेपनि पारिवारिक, सामाजिक योजना बनाउँदिनँ। बिरामी कतिखेर आउँछ भन्ने ठेगान नभएकाले ड्युटी सकेर ढुक्कले बस्ने अवस्था नै हुँदैन।’ 

आफूले अहिलेसम्म ढुक्कले चाडसमेत मनाउन नपाएको उनी सुनाउँछन्।

‘बच्चा बच्यो, आमाको मृत्यु’

करिब चार वर्षअघिको एउटा घटना पनि उनको मस्तिष्कमा ताजै छ। 

घटना यस्तो रहेछ–

त्यो बेला कलेजोको समस्या भएकी करिव ३० वर्षकी गर्भवती महिला उपचारका लागि आएकी थिइन्। ती महिलाको शल्यक्रिया गरेर बच्चा निकालियो। त्यसपछि महिलाको स्वास्थ्य जटिल बन्यो। र, त्यसको पाँच दिनपछि महिलाको मृत्यु भयो। 

‘ती महिलालाई बचाउन हरसम्भव प्रयास गरियो। तर, सकिएन,’ डा. गेहराजले सम्झिए। 

‘अस्पताल ढिलो पुग्दा क्यान्सर लागेकी महिलाको मृत्यु’

उपचार गरेका आएका बिरामीलाई बचाउन नसक्दा दुःखी हुन्छन् उनी। त्यसो त उपचार गर्न आएका सबै बिरामीको रोग सन्चो हुन्छ भन्ने पनि हुन्न। 

यस्तै एक घटना उनी सम्झन्छन्। 

६ वर्षअघि एचआइभी (पोजेटिभ) भएकी महिलाको पाठेघरको मुखको क्यान्सर भएर अस्पताल पुगेकी रहिछिन्। 

ती महिलाको पाठेघरको मुखको क्यान्सरको शल्यक्रिया गरियो। शरीरका अन्य भागमा क्यान्सर फैलन नदिन महिलाको केमोथेरापी र रेडियोथेरापी गर्नुपर्ने थियाे। तर, अस्पताल पुग्नुअघि नै ती महिलाको शरीरमा क्यान्सर फैलिसकेको थियो। 

डा. बरालले भने, ‘सायद उनको मृत्यु भयो की !’ 

‘अम्नियोटिक फ्लुइड इम्बोलिज्म’ले मृत्यु

उनले अर्को केस पनि सुनाए। करिब पाँच वर्षअघि अस्पताल पुगेकी एक जना गर्भवतीको बच्चा जन्माउने क्रममा मृत्यु भयो। कारण थियो– बच्चा बस्ने पानी फुटेर आमाको रगतमा जानु। 

डा. बरालले भने, ‘डेलिभरी हुने बेलामा पानी फुट्छ। त्यो पानी आमाको रगतमा जाँदा रियाक्सन भएजस्तो हुन्छ। र, आमाको मृत्यु हुन्छ।’ 
यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘अम्नियोटिक फ्लुइड इम्बोलिज्म’ भनिन्छ। 

यस्तो समस्या भए उपचार गर्दा पनि बचाउन नसकिने उनले बताए। ‘यो समस्या भए आमा बाँच्ने सम्भावना अत्यन्तै कम हुन्छ,’ उनी भन्छन्। 

करिब दुई हजारको गर्भपतन

सन् १९९६ मा डिजिओ अध्ययन पूरा गरेपछि डा. गेहराजले करिब दुई हजार जनाको गर्भपतन गराइसकेका छन्। 

उनले पहिलो पटक करिव सात हप्ताको गर्भपतन गराएका थिए। गर्भपतन गराएकी ती महिला बिरामी थिइन्। आफू बिरामी भएकाले शिशु पनि बिरामी जन्मन्छ भन्ने चिन्ताले ती महिला गर्भपतन गराउन आएको उनी सम्झन्छन्। 

चार वर्षयता भने उनले गर्भपतन गराएका छैनन्। कारण– उनी अहिले मेजर किसिमका सर्जरी (शल्यक्रिया)मा व्यस्त हुनु। 

त्यसो त उनलाई १४ वर्षकी बालिकाको गर्भपतन गराएको सम्झना पनि छ। यस्तै, ४५ वर्ष उमेरकी महिलाको गर्भपतन गराएको उनी सम्झन्छन्। 

२०–३० वर्ष उमेर समूहका महिला गर्भपतनका लागि पुग्ने गरेको डा. बरालको अनुभव छ। 

शारीरिक तथा मानसिक समस्या परेका गर्भवतीको उपचारात्मक हिसाबले गर्भपतन गर्नुलाई उनी सामान्य मान्छन्। उनी परिवार नियोजनको साध नअपनाई परिवार नियोजनजस्तै मानि गर्भपतन गराउनुलाई उचित मान्दैनन्। 

स्वास्थ्य समस्या नभएकाले गर्भपतन गराउन नहुने उनको सुझाव छ। उनले भने, ‘सकेसम्म म गर्भपतन नगराउनु नै भन्छु।’ 

डा. गेहनाथलाई सुरुमा त गर्भपतन नगरौं जस्तो लाग्थ्यो। तर, महिलाकाे मृत्युको कारण असुरक्षित गर्भपतन रहेकाे थाहा पाएपछि उनी कानुनी दायराभित्र रहेर गर्भपतन गराउन थालेका हुन्।  

गर्भपतनपछि कतिपयमा स्वास्थ्य जटिलता पनि निम्तन सक्ने उनी बताउँछन्। 

यस्तै एक घटना उनले सम्झिए– केही वर्षअघि एक महिला गर्भपतनपछि स्वास्थ्य समस्या हुँदा उपचारका लागि अस्पताल आएकी थिइन्। ती महिलाको पाठेघरमा प्वाल परेर रक्तश्राव भएको रहेछ। 

ती महिलाको उपचार गरियो। तर, बाँचिनन्। उनले भने, ‘ती महिलाको उपचार गर्न ढिलो भइसकेको थियो। समयमै आएको भए बचाउन सकिन्थ्यो।’ 

अध्ययन र जागिर

झापाको गैरिदहमा जन्मिएका गेहनाथले २०३७ सालमा गाउँकै स्कुलबाट एसएलसी उत्तीर्ण गरे। 

सन् १९९० मा काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबिबिएस उत्तीर्ण गरे उनले। 

एमबिबिएसपछि उनले विराटनगरको कोशी अञ्चल अस्पतालबाट जागिरे यात्रा सुरु गरे। विराटनगरमा करिव डेढ महिना काम गरेपछि ललितपुरको पाटन अस्पतालमा १५ महिना काम गरे। 

त्यसपछि डा. बरालले सन् १९९३ मा चिकित्सकको लोकसेवा परीक्षामा उत्तीर्ण गरे। त्यसपछि सरकारी जागिरे भएर धादिङको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा गएर काम गरे। त्यसपछि उनले सन् १९९५ मा एक वर्षे ‘पोस्ट ग्य्राजुएट डिप्लोमा इन गाइनोक्लोजी एण्ड अब्स्टेट्रिक्स’ (डिजिओ) अध्ययन गरे।

उनले डिजिओपछि करिव ९ महिना भरतपुर क्यान्सर अस्पतालमा काम गरे। त्यही समयमा पूर्वी अफ्रिकामा पुगेर पनि काम गर्ने अवसर पाए।

उनले एमडी भने प्रसूती तथा स्त्रीरोगको विषयमा नै गरे। सन् १९९९ मा उनले चिकित्सा शास्त्र अध्ययन संस्थानबाट प्रसूति तथा स्त्रीरोगमा एमडी उत्तीर्ण गरे। एमडीपछि उनले अढाई वर्ष झापास्थित मेची अञ्चल अस्पतालमा सेवा गरे। त्यसपछि कास्की, पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पाँच वर्ष खटिए। यस्तै, करिव १ वर्ष बाँके, नेपालगन्जमा रहेको भेरी अञ्चल अस्पतालमा काम गरे। 

२०६५ देखि २०७६ सालसम्म ११ वर्ष उनले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पताल नै काम गरे। प्रमुख कन्सल्टेन्ट समेत भए। त्यसपछि अहिले उनी विराटनगरस्थित नोबेल मेडिकलमा कार्यरत छन्।

त्यसो त उनले सन् २००८ मा दक्षिण कोरिया पुगेर स्त्री क्यान्सररोग विषयको पनि अध्ययन गरे। उनले यही बीचमा दुई वर्ष क्यानडा पुगेर सन् २०१३ बिजनेस एडमिनिस्ट्रेसन र २०१४ मा क्लिनिकल रिसर्च अध्ययन गरे।

नेतृत्वदायी भूमिकामा रहेको अवस्थामा अस्पताल व्यवस्थापन गर्न सहज हुन्छ भनेर उनले बिजनेस एडमिनिस्ट्रेसन विषयको अध्ययन गरेका रहेछन्। 

२९ फागुन, २०७७, १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।