उकेरा कोलम

बिरामीको रोदनका गीत गाउने डाक्टर


काठमाडौं : ‘जिउन बहुत कठिन छ डाक्टरसा’ब ! मर्न बरु आसान छ ! त्यही भएर मर्न खोजेको,’ बिष पिएर अस्पतालमा ल्याइएकी १८ वर्षीया युवती बाँचेपछि उनले डा. रणजितकुमार झासँग पोखेको रोदन हो यो। 

सात वर्षअघि काठमाडौंको बत्तीसपुतलीको एक अस्पतालमा बिष पिएर पुगेकी ती युवतीलाई बचाएपछि डा. रणजितकुमारले बिष पिउनुको कारण सोधेको थिए। त्यसको प्रत्युत्तरमा उनले उक्त जवाफ दिएकी थिइन्। 

युवतीकाे जवाफले डा. रणजितकुमारको मन छोयो। र, त्यहीबाट डा. रणजितकुमारले ‘जिउन बहुत कठिन छ साथी मर्न बरु आसान ! त्यही नि भन्छन् मानव जीवन ईश्वरको वरदान !’ बोलको गीत रचना गरे। युवतीले ‘डाक्टरसा’ब’ भनेको ठाउँमा ‘साथी’ भन्ने शब्द प्रयोग गरेको उनले सुनाए। 

अस्पतालमा युवतीले दिएको जवाफ सम्झँदै डा. रणजितकुमार घर फर्किरहेका थिए। त्यही क्रममा युवतीले भनेका विषयमा उनले गीत फुराए। उनले भने, ‘घर फर्किने क्रममा नयाँ बानेश्वर चोकको ट्राफिक जामसम्म आइपुग्दा गीतको मुखडा तयार भइसकेको थियो।’

युवतीको शब्द पैंचो लिएर गीतको सिर्जना गरेको उनले सुनाए। डा. रणजितकुमारले भने, ‘तराईतिरकी भएर हिन्दी शब्द मिक्स गर्दै बोलेकी थिइन्। ती युवतीले भनेको शब्दले मलाई छोयो। त्यसलाई गीतको रूपमा व्यक्त गरें।’ 

डा. रणजितकुमारले पीडामा रहेकी युवतीको जवाफबाट गीत सिर्जना गरे। अस्पतालमा देखेका बिरामीका दुःख, पीडा, रोदन तथा अभिव्यक्ति गीत–संगीतमार्फत आफूले व्यक्त गर्ने गरेको उनले सुनाए। 

४५ गीतमा स्वर

डा. रणजितकुमारले ४५ भन्दा बढी गीतमा स्वर दिइसकेका छन्। उनले ‘पूर्वीय सौगात’, ‘मैथिल मन’, ‘जीवन पथ’ गरी ३ वटा एल्बम निकालेका छन्। ‘पूर्वीय सौगात’ पहिलो एल्बम भएको उनले बताए। एल्बममा समेटिएका बाहेक उनले करिव १५ वटा फुटकर गीत रेकर्डिङ गराएका छन्। उनले यी गीत नेपाली र मैथिली भाषामा गाएका छन्। 

डा. रणजितकुमारले गाएका अधिकांश गीतको शब्द र संगीत आफ्नै रहेको उनले बताए। उनले भने, ‘पूर्वीय सौगातबाहेक सबै एल्बमका गीतको रचना मैले गरेको हुँ। ती गीतमा संगीत र स्वर पनि मेरै छ।’

नेपाली भाषामा समेटिएका एल्बमका गीतमध्ये ‘बसीबसी एउटा गीत लेखें’, ‘सरी माइ बाबा सरी माइ आमा’, ‘रातकी रानी’ बोलका गीतमा उनले मेलोडी स्वर दिएका छन्। 

आफूले गाएका यी गीतले राम्रै चर्चा पाउन सफल भएको डा. रणजितकुमारले सुनाए।

‘मैथिल मन’ एल्बमको मैथिली भाषामा आफै शब्द रचना गरेर गाएको ‘जागु जागु सब आवु चली’ बोलको क्रान्तिकारी गीतले पनि मनग्यै चर्चा कमाएको उनले सुनाए। 

उनले राजेशपायल राईसँग ‘जाग्यो तराई बल्यो मधेस, आयो हिमाल पहाडको सन्देश’ बोलको गीत गाएका छन्। यो गीतले पनि राम्रै चर्चा बटुलेको डा. रणजितकुमार बताए। यो गीतमा पनि शब्द र संगीत आफ्नै रहेको उनले सुनाए। 

डा. रणजितकुमारले पछिल्लो समय ‘नसोध मलाई के भो आजभोलि भन्दै’ बोलको गीत गाएका छन्। यो गीतको शब्द रचना र संगीत गिरिराज निरौलाले गरेको उनले बताए। यो गीतले मनग्यै चर्चा बटुलेको उनको भनाइ छ। उनले भने, ‘यसको भिजुअल पपुलर भएको छ।’

त्यसैगरी, उनले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीमा खटिएका चिकित्सकको मनोबल बढाउने किसिमको ‘हाम्रो जित अवश्य छ, हामी जित्ने छौं’ बोलको गीत गाएका छन्। उनले यो गीतले पनि राम्रै चर्चा पाएको बताए। डा. रणजितले भने, ‘चिकित्सकसम्बन्धी यो गीत पनि हिट भएको छ।’

क्याम्पसबाट गायन सुरु

रणजितकुमारले २०५० सालतिर क्याम्पसमा पढ्दादेखि नै स्टेजमा गीत गाउन थालेका हुन्। उनले भने, ‘आइएस्सी पढ्दा विभिन्न कलेजमा गएर गीत गाउँथें। क्रान्तिकारी गीत बढी गाउथें। काठमाडौंमा त्यो बेला मैले नगाएको कुनै पनि कलेज थिएन होला। फेब्रेट सिंगरका रूपमा मलाई बोलाइन्थ्यो। मेरो स्टेज प्रस्तुति निकै मन पराइन्थ्यो।’

राणजितकुमारले २०५३ सालतिर पहिलो गीत रेकर्डिङ गरेको सुनाए। उनको पहिलो गीतको बोल थियो– ‘तिमिलाई फरिया र चौबन्दी’। 

गीत–संगीत नशा

त्यसो त डा. रणजितकुमारको पहिलो प्राथमिकता बिरामीको उपचार नै हो। बिहान सबेरैदेखि बेलुका अबेलासम्म उनी अस्पतालमा नै व्यस्त हुन्छन्। 

चिकित्सकीय पेशा त्यसै पनि संवेदनशील पेशा हो। त्यसैले अस्पतालमा बिरामीको उपचार लगायतमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। जब अस्पतालबाट उनी निस्कन्छन् त्यसपछि गीत–संगीतको नशामा डुब्छन्। दिनभरिको व्यस्ततालाई छिचोल्दै बेलुका अबेर घर फर्किएर अस्पतालमा भएका घटना तथा गतिविधि थकान मार्दै सम्झन्छन्। 

उनले सुनाए, ‘घर फर्किएर आराम गरिरहेको बेलामा बिरामीले भनेका कुरा सम्झिन्छु। अनि गीत सिर्जना हुन्छ।’

बेलुका घरमा फर्किएर बिरामीको रोदन तथा दुःख पीडालाई सम्झिएर आफूले गीत सिर्जना गर्ने गरेको उनले सुनाए।

डा. रणजितकुमार अस्पतालबाट घर फर्किएपछि गितार लिएर बसिहाल्छन्। उनले सुनाए, ‘अस्पतालबाट साँझ फर्किएपछि जति थकान लागे पनि गितार लिएर बस्ने बानी छ। उलपुलट गीत गाउँछु। गितार नचलाएको दिन त के नपुगेको के नपुगेको जस्तो हुन्छ।’ गितार बजाउन थालेपछि नै शब्द फुर्ने उनले बताए।

बिरामीको रोदनलाई गीत–संगीतमा 

डा. रणजितकुमार संगीतलाई व्यक्तिको मनको वह व्यक्त गर्ने माध्यम र चिकित्सकलाई बिरामीको दुःख तथा पीडा बुझ्ने पेशाकर्मीका रूपमा लिन्छन्। 

उनले भने, ‘संगीत मान्छेको मनलाई व्यक्त गर्ने एउटा माध्यम हो। चिकित्सक भने मान्छेको दुःख–सुख तथा पीडा तथा भावना बुझ्न सक्ने पेशाकर्मी हो।’ 

अस्पतालमा बिरामीको दुःख, पीडा तथा रोदन जस्ता भोगाइलाई चिकित्सकले बुझ्ने भएकाले आफूले तिनै भावना गीत–संगीतमार्फत व्यक्त गर्ने गरेको उनले सुनाए। बिरामीको भावना तथा रोदनलाई गीतका रूपमा सिर्जना गरेको उनले सुनाए। 

आफू भावनामा डुब्ने भएकाले पनि बिरामीको रोदन गीत–संगीतका माध्यमबाट व्यक्त गर्ने गरेको उनको अनुभूति छ। उनी आफूले आफैलाई भावुक व्यक्तिकारूपमा मूल्यांकन गर्छन्। 

डा. रणजितकुमारले भने, ‘म भावुक छु जस्तो लाग्छ। यो उमेरमा हुँदा समेत अहिले पनि फिल्म हेर्दा आँसु आउँछ। कसैले भावनात्मक व्यवहार गर्याे भने आँखाबाट आँसु झर्छ।’

उपचारका लागि आउने बिरामीले मेरो गीत सुनेको तथा हेरेको भन्ने सुनाउने गरेको उनले बताए। कतिपय बिरामी त भिडियो हेरेका कारणले जँचाउने बहानामा आफूलाई भेट्न आउने गरेको समेत उनले सुनाए। 

कतिपय बिरामीले भने गीत गाउने डाक्टरले के बिरामीको उपचार गर्ला र? भन्ने दृष्टिकोणले पनि हेर्ने गरेको डा. रणजितले सुनाए। उनले भने, ‘रंगमञ्चमा जुटेको डाक्टर भनेर अर्कै किसिमले पनि हेरेको पाउँछु।’ 

उनी सप्तरीको स्थानीय तहमा आफूलाई चिकित्सका रूपमा चिनाएको भए पनि नेपालभरि भने गीत–संगीतका माध्यमबाट आफूलाई चिनाएको बताउँछन्। 

गीत संगीतमा डुब्नु र चिकित्सकका रूपमा बिरामीको उपचार गर्नु दुवैमा फरक–फरक किसिमको आत्मसन्तुष्टि मिल्ने गरेको उनको अनुभूति छ। 

बच्चाले ‘मेरो बुबा किन नबोल्नुभएको?’ सोधेपछि...

गीत–संगीतको चर्चापछि उनले चिकित्सकीय पेशाको एउटा घटना सुनाए। 

घटना यस्तो रहेछ– पाँच वर्षअघि काठमाडौं, बल्खुको एउटा अस्पतालमा करिव ३५ वर्षका एक जना शिक्षककोे निमोनियाका कारण मृत्यु भएछ। सिकिस्त अवस्थाका ती शिक्षकलाई डा. रणजितकुमारले बचाउन हरसम्भव प्रयास गरे तर, उनी सफल भएनन्। 

ती शिक्षकको श्रीमती र दुई जना करिव ६ र ४ वर्षका बच्चा अस्पतालमा नै थिए। मृतक शिक्षककी श्रीमती बच्चा च्यापेर रोइरहेकी थिइन्। त्यतिकैमा ४ वर्षीय बालकले डा. रणजितकुमारको खुट्टामा समाएर तोते बोलीमा सोधेछन्– मेरो बुबा किन नबोल्नुभएको? 

तर, डा. रणजितकुमारसँग ती बच्चालाई दिने कुनै उत्तर थिएन। बच्चाको जिज्ञासाले उनी निःशब्द भए। तप्प आँसु झारे। त्यो बेला एउटा ज्यान बचाउन नसकेकोप्रति उनलाई खिन्न महसुस भयो। 

रणजितकुमारले सुनाए, ‘बिहानै थियो। निद्रा पनि पुगेको थिएन। मैले बिरामी हेर्दा आफू रोएको त्यही दिन हो।’ 
त्यो घटना आफ्नो चिकित्सकीय पेशाको पीडादायी क्षण भएको उनले सुनाए। 

अध्ययन र जागिर

डा. रणजितकुमार सप्तरीको राजविराजमा २०३४ सालमा जन्मिएका हुन्। उनले राजविराजकै ‘राजदेवी मावि’बाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरे। 

एसएलसीपछि काठमाडौं आएर अमृत साइन्स कलेजमा आइएससी अध्ययन गरे उनले।

आइएससीपछि बंगलादेशको ‘राजसाही युनिभर्सिटी’ पुगेर एमबिबिएस अध्ययन गरेका उनले सन् २००५ मा एमबिबिएस उत्तीर्ण गरे।

एमबिबिएस अध्ययनपछि डा. रणजितकुमारले त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज)को मानसिक विभागमा करिव एक वर्ष करार जागिरेका रूपमा काम गरे।

त्यसपछि डा. रणजितकुमार २०६३ सालमा सातौं तहको सरकारी स्थायी चिकित्सकको रूपमा जागिरे भए। सरकारी जागिरे भएपछि उनको पहिलो पोस्टिङ गृहजिल्लाकै कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा भयो। 

उनले त्यहाँ २०६५ सालसम्म दुई वर्ष काम गरे। त्यसपछि डा. रणजितकुमारले त्रिभुवन विश्वविद्यालय (शिक्षण अस्पताल) महाराजगञ्ज क्याम्पसमा एमडी अध्ययन थाले। उनले इन्टरनल मेडिसिन (फिजिसियन) विषयमा सन् २०१२ मा एमडी उत्तीर्ण गरे। 

एमडी अध्ययनपछि करिव साढे चार वर्ष वीर अस्पतालमा कसल्टेण्टका रूपमा काम गरे उनले। वीरमा काम गर्दागर्दै उनी ९ औं तहमा बढुवा भएर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पोस्टिङ भए। उनी साढे चार वर्षदेखि सोही अस्पतालमा नै कार्यरत छन्। उनी अहिले १० औं तहमा बढुवा भएर वरिष्ठ कन्सल्टेण्टका रूपमा कार्यरत छन्। त्यसैगरी, १३ महिनायता उनी गजेन्द्रनारायण सिंह अस्पतालको प्रमुखको भूमिकामा छन्। 

पाँच महिनादेखि रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास समितिको निर्देशकको समेत जिम्मेवारी सम्हालिरहेको उनले बताए। 

उनले २०७७ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘जनसेवा श्री’ पदक पाएका छन्। पेशाप्रतिको प्रतिबद्धता र निष्ठाका कारण नै राष्ट्रपतिबाट पदक पाएको उनको भनाइ छ। 

डा रणजितकुमारले एमडीपछि सन् २०१३ मा मधुमेह र सन् २०१४ मा क्लिनिकल कार्डियोलोजीमा एक÷एक वर्षे फेलोसिप पनि गरेका छन्। करिव २५ भन्दा बढी मुलुकको भ्रमण गरेको उनले बताए।

व्यस्तताले गर्दा पछिल्लो वर्ष गीत–संगीतमा समय दिन कठिन भए पनि ८/९ वटा गीत रेकर्डिङको तयारी रहेको उनले सुनाए। उनले भने, ‘चिकिसकीय पेशासँगै जिम्मेवारी बढेको छ। दिनभरी बोल्दाबोल्दै घाँटी सुक्ने अवस्था हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....