उकेरा कोलम

डाक्टरका सुख–दुःख : डा. सागरलाई झस्काइरहने भूकम्पको घटना  


काठमाडौं : २०७२ सालको भूकम्पमा सिन्धुपाल्चोकको चौतारा अस्पतालमा कार्यरत थिए, डा. सागरकुमार राजभण्डारी। 

भूकम्पका घाइतेहरूले खचाखच भरिएको थियो अस्पताल। कोही चोट लागेका कोही अंगभंग भएका। घाइतेहरूको छटपटाहट उस्तै। 

डा. सागर टोलीसहित घाइतेको उपचारमा खटिए। तर, सामान्य अवस्थाजस्तो उपचार सहज थिएन। अस्पतालमा दिनहुँ घाइतेहरू थपिँदा उपचारमा चुनौती बढेको थियो। 

तैपनि उनको टोलीले हरेस खाएन। भोकप्यास नभनी केवल उपचारमा जुटिरह्यो। 

उपचारमा खटिएको तीन दिनमा आफूले खाना खाएको डा. सागर सम्झन्छन्।

‘भूकम्प गएको तेस्रो दिनसम्म पनि मैले केही खाएको थिइनँ,’ उनले सम्झिए, ‘तेस्रो दिन बिहान कसैले बोडीको तरकारी कचौरामा राखेर ल्याइदिनुभयो। त्यही तरकारीसँगै चिउरा खाँदा आँसु झरेको थियो।’

त्यतिबेला उनकाे टाेलीले टेण्टमा बसेर २४ सैं घण्टा उपचार गर्नुपरेको थियाे। साथै, गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउनुपर्थ्यो।  

त्यतिबेला जताततै शव देखिन्थे। घाइतेहरूको छटपटाहट सुनिन्थ्यो। त्यो कहालीलाग्दो क्षण सम्झदा अहिले पनि उनको मन झसंग हुने गरेको छ। 

‘एकै ठाउँमा ३५/३६ वटा शव थिए। तीमध्ये ५/६ एकै परिवारका। घरहरू ध्वस्त थिए,’ काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंगलबार दिउँसो उनले भूकम्पको घटना सम्झिए। 

त्यो घटनाले उनको मन अझै पनि चहर्याउने गरेको छ। उकेरासँग कुरा गरिरहँदा पनि उनी १ मिनेट बोल्नै सकेनन्। उनका आँखासमेत रसाए। त्यसपछि उनले आँसु पुछे। र, विस्तारै सहज बन्ने प्रयास गर्दै कुरा गर्न थाले।

उनी भूकम्प विस्थापितलाई खानेकुरा र पानीको व्यवस्थापनमा पनि खटिए। ‘भूकम्पबाट विस्थापित भई चौरमा बसेका हजारौं मानिसलाई खानेकुरा, पानीको व्यवस्थापन गरिदिनुपथ्र्यो,’ उनले सम्झिए।  

०००

सिन्धुपाल्चोकैकै अर्को घटना पनि भुल्न सक्दैनन् उनी। सिन्धुपाल्चेकको जुरे पहिरो (२०७०/०७१ तिर) जाँदा डा. सागर त्यहीँ थिए। पहिरोमा परी हराइरहेकाहरूको शव ४/५ दिनपछि पनि भेटियो। 

‘कसैको हात मात्रै भेटिन्थ्यो। कसैको (शव) अनुहारै चिनिँदैनथ्यो। कसैको आन्द्रा, भुँडी निस्किएको भेटिन्थ्यो,’ उनले सम्झिए। उनलाई त्यो घटना सम्झँदा अहिले पनि शरीर जिरिंग हुन्छ उनको। 

‘सुत्केरी बाँचिनन्’

चिकित्सकीय पेशामा रहँदा अर्काे घटना पनि कहिल्यै भुल्दैनन् उनी। 

पर्वतमा करिव ११ वर्षअघि ३१ वर्षकी महिलाको बच्चा जन्मिएपछि साल झर्ने बेलामा पाठेघरै बाहिर निस्किएछ। 
उपचार गर्दा पनि ती महिलालाई बचाउने प्रयास विफल भयो।

उनले भने, ‘बच्चा बाँच्यो। तर, आमाको मृत्यु भयो।’ 

त्यसो त बिरामीको उपचार गर्ने बेलाका सुख–दुःखका घटना साँचेका छन् उनले। पर्वतमा उपचार पाएर बाँचेका एक बिरामीले पूजा गर्नलाई उनको फोटो मागेछन्। 

डा. सागरले सुनाए, ‘स्टाफहरूसँग फलानो डाक्टरको फोटो छ की छैन भनेर माग्दा रहेछन्। स्टाफले किन भनेर सोध्दा पुजा गर्न भन्थे रे।’

हेल्थ असिस्टेन्ट हुँदै डाक्टर 

उनी हेल्थ असिस्टेन्ट हुँदै डाक्टर भएका हुन्।  एसएलसीपछि हेल्थ असिस्टेन्ट (एचए) पढ्न काठमाडौंको त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान हानिए। उनी २०३९ सालमा एचए उत्तीर्ण भए। 

त्यो समयमा चर्काे प्रतिष्पर्धा हुने उनी सम्झन्छन्। ‘निकै प्रतिष्पर्धा हुन्थ्यो। हामीसँग पढ्ने फस्टहरू र सेलेक्टेड मात्रै हुन्थे।’

एचए गरेपछि गाउँ फर्किएर दुई वर्ष उनका बुवालाई व्यापार गर्न सघाए। उनलाई आफ्नो पढाइ अनुसार काम नभएको महसुस भयो। त्यसपछि २०४१ सालमा उनी जागिरे पनि भए। जागिरे भएपछि बागलुङको राङखानी हेल्थपोस्टमा काम गर्न खटाइयो। त्यहाँ गएको अर्को वर्ष उनी स्थायी जागिरे भए। हेल्थपोस्टमा उनी र एक जना कार्यालय सहयोगी थिए। 

त्यो समयमा डिस्पोजेबल सिरिन्ज (सुइँ) थिएनन्। प्रयोग गरिसकेपछि सुई उमालेर सफा गरेर अर्कोपटक प्रयोगका लागि राख्नुपथ्र्यो। यतिसम्म की सुइँको टुप्पो ढुंगामा घोटेर तिखो पारेर राख्नुपथ्र्यो।

सागरले त्यो समयको क्षण सम्झँदै भने, ‘निडिल ढुंगामा घोटेरे चुच्चो बनाइन्थ्यो।’ 

त्यतिबेला बिहान ८ बजेदेखि साँझसम्मै हेल्थ पोष्ट खोल्थे। त्यो बेला एक दिनमा करिव ९० जना बिरामीको उपचार गरेको उनी सम्झन्छन्।

त्यसपछि उनी काजमा हेल्थ असिस्टेण्टका रूपमा जिल्ला अस्पताल, बाग्लुङ पुगे। त्यो बेला डाक्टरले हेपेपछि आफूले एमबिबिएस पढेको उनी सुनाउँछन्। 

उनले घटना सुनाए–  त्यो बेला शल्यक्रियाको केस म्यानेजमेन्ट प्रोटोकोल अनुसार गरौं भनेँ। तर, डाक्टरहरूले मानेनन्। एक जनाले त ‘बढी जान्ने न हो’ भन्दै झपारे। डाक्टरको त्यो बोलीले चित्त दुख्यो। र, फर्किए, राङखानी हेल्थपोस्ट। त्यसपछि एमबिबिएस गर्ने सोच आयो।

त्यसको केही समयपछि उनले युक्रेनको अडेसा स्टेट मेडिकल युनिभर्सिटी (तत्कालिन सोभियत संघ) मा एमबिबिएसका लागि छात्रवृत्तिमा निवदेन दिए। र, छनोट भए। त्यसपछि युक्रेन गएर एमबिबिएस पढे उनले। 

एमबिबिएस पढ्दा ३० शवको चिरफार

उनले युक्रेनमा २०४५ सालदेखि २०५२ सालसम्म एमबिबिएस अध्ययन गरे। 

एचए भएपछि नै हेल्थ पोस्टमा पोष्टमार्टम गर्न थालेका उनले एमबिबिएस पढ्दा कम्तीमा ३० वटा लास चिरफार गरे। उनले भने, ‘एमबिबिएस पढ्दा हरेक विद्यार्थीले ३० वटा लास चिर्नै पथ्र्यो।’ कारण थियो– हरेक अंगको अध्ययन गर्न। 

एमबिबिएस सकेर नेपाल

एमबिबिएसपछि उनी नेपाल फर्किएर नवलपरासीको परासी अस्पतालमा काम गरे। त्यसपछि २०५६ सालसम्म त्यहीं काम गरे। जापान गएर डेढ वर्ष ‘द रिसर्च इन्टिच्युड अफ ट्युबरकोलोसिस’ पुगेर टिबी सम्बन्धि तालिम लिए। 

त्यहाँबाट फर्किएर आएपछि बुटवलको लुम्बिनी अञ्चल अस्पताल सरुवा भए। त्यसपछि उनी बढि क्षय रोग र फोक्सोका बिरामीको उपचारमा केन्द्रित भए। २०५७ सालसम्म त्यहीँ काम गरे। त्यहाँबाट पनि सरुवा भएर जिल्ला अस्पताल, सल्यान पुगे।

धागोले बाँधेर बंगाराको उपचार 

द्वन्द्वकालमा जिल्ला अस्पताल, सल्यानमा रहँदा उनी एउटा केस सम्झन्छन्। करिब २० वर्षीय युवाको लडेर बंगारा भाँचिएको रहेछ। 

उनी त्यसपछि केही हप्तापछि मात्रै अस्पताल पुगे। तर, अस्पतालमा भाँचिएको बंगाराको उपचार गर्ने साधन थिएन। उनी उपचार कसरी गर्ने भन्ने दोधारमा परे। 

उनले एउटा नाइलनको धागो भेटे। त्यसपछि ती युवाको बंगरा बाँधे उनले। डा. सागरले भने, ‘त्यही उपलब्ध थियो।’ 
पछि उनको बंगारा ठिक भएछ। 

उक्त अस्पतालमा उनले २२ महिना प्रमुखको भूमिकामा रहेर काम गरे। 

उनी २०५९ सालमा जिल्ला अस्पताल, म्याग्दी सरुवा भए। त्यही क्रममा उनी त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, काठमाडौंमा एमडी अध्ययनका लागि पुगे। २०६२ सालमा एमडी उत्तीर्ण गरेर पुनः म्याग्दी फर्किए। र, त्यहाँ अस्पतालमा प्रमुखको भूमिकामा काम गरे। 

म्याग्दीपछि जिल्ला अस्पताल बाग्लुङ पु्गेका उनले त्यहाँ तीन वर्ष सेवा गरे। त्यसपछि जिल्ला अस्पताल पर्वतमा चार वर्ष काम गरे। त्यसपछि उनी सिन्धुपाल्चोक चौतारा अस्पताल सरुवा भए। 

त्यसपछि उनी बागलुङ अञ्चल अस्पताल पुगे। त्यसपछि भक्तपुरमा रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरको निर्देशक हुँदै गत वर्ष शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकुमा सरुवा भएका छन्। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....