उकेरा कोलम

जलन चिर्दै मुस्कान फर्काउने चिकित्सक


काठमाडाैं : डा.सन्तोष विक्रम भण्डारी मुस्कान फर्काउने डाक्टर हुन्। बिरामीहरू उनलाई भेट्नुअघि निकै अत्तालिए पनि उनलाई भेटिसकेपछि भने मुस्कान छोडेर जान्छन्। 

उनी आफैँ भने गम्भीर स्वभावका छन्। तर जुम्लाकी १३ वर्षीया बालिकाको मुस्कान खुल्यो भने चाहिँ उनको ओठमा मुस्कान थामिँदैन। प्लाष्टिक सर्जन तथा ह्याण्ड एण्ड माइक्रो सर्जन भण्डारीलाई बालिकाको पुनर्जीवन पाएको ओठको मुस्कानले आनन्द मिल्छ।

यसको कारण जान्न भने करिब ८ वर्षअघि फर्किनु पर्छ। 

जुम्लाकी ती बालिका पाँच वर्षकी थिइन्। उनको दुवै ओठ टालिएका थिए। ओठको बीचमा सानो प्वाल थियो। त्यही प्वालबाट उनलाई तरल पदार्थ मात्र खुवाइन्थ्यो। 

उपचार गर्न भन्दै जुम्लाबाट उनलाई काठमाडौंको सुस्मा कोइराला मेमोरियल अस्पतालमा ल्याइएको थियो।

डा.सन्तोषले उपचारका लागि ल्याइएकी ती बालिकाको मुख हेरे। दुवै ओठ टालिएको देखेर उनले बालिकाका बुवाआमासँग सोधे– ‘कसरी भयो?’

उनीहरूले जवाफ फर्काए– ‘छोरी डेढ वर्षको हुँदा बिरामी परिन्। पछि धामीलाई देखाइयो। धामीले चम्चा तताएर केही खुवाए। चम्चा निकै तातो थियो। मेरो दुधे छोरीको दुवैतर्फको ओठ पोल्यो। जल्यो।’

उनीहरू भक्कानिए। सन्तोष आत्तिए। तर उनको पेसा नै यही थियो। उनले बालिकाको ओठ निको पारेरै छोड्ने अठोट लिए। 

बालिकाको ओठ जोडिँदा मुख टालिएको थियो। उनी तरल पदार्थबाहेक केही पनि खान नसक्ने थिइन्। त्यो पनि पाइपले चुसेर खान्थिन्। दुधे बालिकाले राम्रोसँग आमाको दूध पनि खान पाएकी थिइनन्। 

पाँच वर्षको उमेरसम्म ती बालिका दालको झोल, जुस, पानी जस्ता तरल पदार्थ मात्र पिएर बाँचिन्। सन्तोष भन्छन्, ‘त्यो अकल्पनीय हो।’

सन्तोष र उनको टोलीले बालिकाको जोडिएको ओठलाई छुटाउने शल्यक्रिया थाल्यो। शल्यक्रिया सफल भयो। बालिकालाई खाना खान सहज हुँदै गयो। उनी  बोल्न पनि थालिन्। 

बालिकाका बुवाआमा खुसी भए। सन्तोषको मनले सन्तोष पायो। त्यसैपछि हो जब जब ती बालिका मुस्कुराउँछिन्, सन्तोष आफ्नो मुस्कान लुकाउनै सक्दैनन्।

शल्यक्रियापछि खुलेको ओठलाई आकारमा ल्याउन भने आठ वटा थप शल्यक्रिया भएको उनले सुनाए। आठ महिनाअघि पनि बालिकाको ओठको शल्यक्रिया गरी सन्तोषले ओठलाई आकार दिने काम गरेका थिए। 

उपचारपछि पुनर्जीवन पाएको बालिकाको ओठको मुस्कान उनको चिकित्सकीय विधिको सफलता हो। सन्तोषले भने, ‘प्लाष्टिक सर्जरी पढेर के गरिस्? भनेर कसैले सोध्यो भने बालिकाको ओठको मुस्कान फर्काउन सफल भएको सम्झन्छु। ठूलो आत्मसन्तुष्टि मिल्छ।’

सन्तोष अहिले पनि मनमनै प्रश्न गर्छन्– ‘त्यो बेला उपचार नपाएकी भए बालिकाको अवस्था के हुन्थ्यो होला?’ 

जब उपचार थालेको पाँच मिनेटमै निधन भयो 

तराईको एउटा गाउँमा चार वर्षअघि २५ वर्षकी एक महिलाले छोरी जन्माइन्। एकदिन उनी सुतिरहेकी थिइन्। उनी सुत्केरी भएको करिब दुई साता भएको थियो। उनका श्रीमानले ओछ्यानमा सुतिरहेकै अवस्थामा उनको शरीरमा मट्टितेल खन्याएर आगो लगाइदिए। 

उनलाई तत्काल उपचारको लागि सुस्मा कोइराला मेमोरियल अस्पताल पु¥याइयो। अस्पताल भर्ना हुँदा महिलाको शरीर पूरै जलेको थियो। उनी बेहोस थिइन्। सन्तोषको टीमले उनको उपचार त थाल्यो, तर ती महिलाको शरीरको बाहिरी भाग सत प्रतिशत जलेको थियो। उपचार थालेको पाँच मिनेटमै उनको निधन भयो। 

जलेको प्रकृति हेर्दा ती महिला बाँच्दिनन् भन्नैमै थिए सन्तोष। तर जसको पेसा नै ज्यान जोगाउने हो, उसले हिम्मत हार्न हुँदैन थियो। तर उनले सक्दो गर्दागर्दै पनि बचाउन सकेनन्। यो घटनाले उनलाई अझै पनि झस्काइरहन्छ।

सन्तोषका अनुसार ३० देखि ४० प्रतिशत शरीरको भाग आगोले पोल्दा ज्यान जोखिममा हुन्छ भने सत प्रतिशत जल्दा बचाउनै नसकिने हुन्छ। 

७० प्रतिशत जलेकी बालिका बाँचिन

सन्तोषको ज्ञान र अनुभवले के भन्छ भने, सामान्यतया ६० प्रतिशतभन्दा बढी शरीरको भाग जलेको अवस्थामा बिरामीको बच्ने सम्भावना लगभग हुँदैन। 

तर आठ वर्षअघि चिकित्सा विज्ञानलाई चुनौती दिने घटना भयो। त्यो चमत्कार सन्तोष र उनको टोलीले ग¥यो। ७० प्रतिशत जलेकी बालिकाको ज्यान जोगियो। 

उनी भन्छन्, ‘७० प्रतिशत आगोले पोलेर जलेको र त्यसमाथि पनि ढिलो अस्पताल आइपुगेकी १२ वर्षीया बालिकाको ज्यान जोगियो।’ 

करिब ४ महिनाको उपचारपछि ती बालिका निको भएकी उनले बताए।

वार्षिक ५० हजार जलेका बिरामी

नियतिले जल्नेहरू त छँदै छन्। तर नियतवश जलाउनेहरू देख्दा सन्तोषलाई भाउन्न भएर आउँछ। उनले उपचारकै क्रममा ‘केटी मन परेन’ भन्दै एसिड प्रहार गर्ने, ‘छोरी जन्मायो’ भन्दै तातोपानीमा चोप्ने घटनाहरू देखेका छन्।

सन्तोषको मनमा अरू बेला जलेका बिरामी जोगाएको खुसी भए पनि नियतवश हुने यस्ता घटना कम गर्न भूमिका निभाउन नसकेकोमा भने नैराश्य छाउँछ। 

व्यक्तिगत रिस रागका कारण कसैलाई आगोले जलाउने तथा एसिड प्रहार गर्ने जस्तो घटनाका दोषीलाई उचित कारबाहीको व्यवस्था नभएसम्म यस्ता घटना भइरहने उनको विचार छ। यस्ता घटनामा राज्यको मौनताले अपराधीको मनोबल बढ्ने उनी बताउँछन्। 

नेपालमा वार्षिक करिब ५० हजार जनालाई कुनै न कुनै हिसाबले आगोले पोल्ने, तातोपानीले पाल्ने, करेन्ट लागेर पोल्ने, एसिड तथा कुनै रसायनले पोल्ने, घाम र चिसो लगायतका कारण जलन हुने डा. सन्तोष बताउँछन्। जसमध्ये २५ सयको निधन हुने गरेको छ। 

एसिड प्रहारको हकमा भने उनी कार्यरत अस्पतालमा पछिल्लो १२ वर्षमा झन्डै सात वटा केस आएको उनले बताए। एसिड प्रहारबाट पीडित व्यक्तिको शरीरको भित्री भागसम्म असर गर्ने भएकाले यसको उपचारमा पनि समय लाग्ने उनी बताउँछन्। 

रहर इन्जिनियर र सङ्गीतमा, पढाई डाक्टरी

सन्तोष दोलखाको घ्याङ सुकाठोकरमा २०३५ सालमा जन्मिएका हुन्। तर सानैमा उनी बुवाआमासँग काठमाडौं छिरेका हुन्। उनलाई पनि अरूले जस्तै एसएलसीपछि इन्जिनियरिङ पढ्न मन थियो। तर प्रवेश परीक्षामा उनी ‘फेल’ भए।

त्यति बेला फेल भएका सन्तोष अहिले हरेक दिन आफ्नो कर्तव्य निभाउने क्रममा ‘पास’ हुने गरेका छन्। उनले सन् २००४ मा चीनको ‘चङ्चौ युनिभर्सिटी’बाट एमबिबिएस उत्तीर्ण गरेका हुन्। 

उनले डाक्टरी पढ्नुको पनि बेग्लै प्रसङ्ग छ। ‘प्लस टु’ अध्ययनपछि उनलाई कम्प्युटर इन्जिनियरिङ र सङ्गीत अध्ययन गर्ने रहर थियो। उनी इन्जिनियरिङको अध्ययनका लागि तयारी पनि गर्दै थिए। यता सन्तोषका अभिभावकले दोलखाकै गाउँमा बोर्डिङ स्कुल पनि चलाइरहेका थिए। त्यसैले ‘प्लस टु’पछिको खाली समयको सदुपयोग गर्न उनी दोलखा गएर पढाउन थाले। 

उनकी बहिनी भने एमबिबिएस अध्ययनका लागि चीनमा थिइन्। बहिनीलाई नौलो देशमा ‘होम सिक’ हुन थाल्यो। एक्लै सबैकुरा व्यवस्थापन गर्न नसकेपछि सन्तोषलाई पनि बुवाआमाले एमबिबिएस अध्ययनका लागि चीन पठाए। 

बुवाआमाले नै सबै प्रबन्ध गरिदिएकाले उनले निकै समयपछि मात्र थाहा पाए आफू चीन जान लागेको कुरा। उनले भने, ‘चीन जाने सोच नै थिएन। तयारी पनि थिएन। एमबिबिएस पढ्न चीन जाने थाहा पाएको १० दिन जतिमा त चीन पुगिसकेको थिएँ।’ 

उनी चीन गए, पढे र दाजु बहिनी दुवै अध्ययन सकाएर नेपाल फर्किए।

नेपाल आएपछि सन् २००४ देखि २००५ सम्म उनले वीर अस्पतालको आकस्मिक विभागमा मेडिकल अधिकृतका रूपमा भोलेन्टियर भएर एक वर्ष काम गरे। 

वीरमा बिरामीले पाएको सास्तीले देखायाे नयाँ बाटाे

जनशक्ति तथा स्रोत साधनको अभावमा पोलेका बिरामीले वीर अस्पतालमा राम्रो उपचार नपाएको देखेर उनलाई दिक्क लागेको थियो। उनले भने, ‘वीर अस्पतालमा त्यतिखेर पोलेको बिरामी आए भने वार्डमा बेड खाली हुँदैनथ्यो। ड्रेसिङ गरेर सिधै सुस्मा कोइराला अस्पताल पठाउने गरिन्थ्यो।’

उनका अनुसार आगोले पोलेको बिरामीलाई अस्पतालहरूले लिनै मान्दैन थिए। त्यस बेला प्लाष्टिक सर्जन पनि कम भएकाले आगोले पोलेको बिरामीको उपचार जेनेरल सर्जनले गर्ने चलन रहेको उनले बताए। 

प्लाष्टिक सर्जरी विषयको अध्ययनमा चिकित्सकहरूको ध्यान नजाँदा र वीर अस्पताल पुग्ने बिरामीले पाएको दुःख देख्दा उनको अन्तर्मनले प्लाष्टिक सर्जरी नै पढ्न सुझायो। र शुरु भयो सन्तोषको नयाँ यात्रा।  

मेडिकल अफिसरबाट निर्देशकको भूमिकामा

उनी सन् २००६ मा फेरि चीनको ‘चङ्चौ युनिभर्सिटी’मा नै ‘एमएस प्लाष्टिक सर्जरी’ विषय अध्ययनको लागि पुगे। सोही विश्वविद्यालयबाट एमबिबिएस अध्ययन गरेको हुनाले उनलाई थप अध्ययनका लागि प्रवेश पाउन कठिन भएन। 

डा. सन्तोषले सन् २००९ मा ‘एमएस प्लाष्टिक सर्जरी’मा स्नातकोत्तर तह उत्तीर्ण गरे। ‘एमएस प्लाष्टिक सर्जरी’ अध्ययन सकेर नेपाल फर्केपछि उनले जागिरका लागि भौँतारिनू परेन। 

नेपाल फर्कनासाथ साँखुस्थित ‘सुस्मा कोइराला मेमेरियल अस्पताल’ मा सन् २००९ मा उनले प्लाष्टिक सर्जनका रूपमा जागिर शुरु गरे।

६ महिना करारमा काम गरेपछि उनी स्थायी भए। सन् २०१२ मा त अस्पतालको उपनिर्देशकको जिम्मेवारी पाए। सन् २०२० मा त उनी निर्देशक नै भए। 

त्यसयता उनको जिम्मेवारी बिरामी र प्रशासन दुवैको रेखदेख गर्नु भएको छ। 

‘ह्याण्ड एण्ड माइक्रो सर्जरी’ अध्ययनले सीपको विकास

सुस्मा कोइराला मेमोरियल अस्पतालमा काम गर्दा नै उनलाई थप अध्ययनको मौका मिल्यो। सन् २०१७ मा उनी भारतको ‘गंगा अस्पताल’मा गएर ‘ह्याण्ड एण्ड माइक्रो सर्जरी’ विषयमा एक वर्षे फेलोसिप गरे। जुन अध्ययनले उनको सर्जरी सम्बन्धी ज्ञान तथा सीपमा थप निखार आयो। 

सोही अध्ययनपछि नसा जोड्ने, काटिएको हात तथा औँलाहरू जोड्न जस्ता काममा पनि उनी सरिक हुन थाले। 

न खाने ठेगान, न सुत्ने

सन्तोष बिहानैदेखि व्यस्त हुन्छन्। कुनै कुनै सर्जरी गर्न त १०÷१२ घण्टाभन्दा बढी लाग्छ। यस्तो बेला न भोक न तिर्खा! 

एक पटक त १२ घण्टा लाग्यो सर्जरी सक्न। उनले भने, ‘एउटी बालिकाको गालाको ट्युमरको सर्जरी बिहान ८ बजे थालेको, सक्दा बेलुकाको ८ बजेको थियो।’ 

उनले थपे, ‘सर्जरी सकेर बेलुका खाना खानुपर्ला भनेको त लगत्तै आकस्मिक कक्षमा चोर औँला दुई टुक्रा भएको बिरामी आएछन्। तुरुन्तै उनको पनि उपचार गरियो। काम सक्दा आधारात कटिसकेको थियो।’

सन्तोषका अनुसार उनको पेसामा यस्तो घटना भइरहन्छन्। 

चिकित्सकीय पेसामा लागेयता भनेको बेला खान र सुत्न नपाउनू उनका लागि सामान्य भइसकेको छ। सन्तोषलाई श्रीमती र दुई छोरीका लागि समय निकाल्न पनि कहिलेकाहीँ धौधौ पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....