उकेरा कोलम

डा. पशुपतिका ती ‘मिराकल’ सर्जरी 


काठमाडौं : प्रा. डा. पशुपति चौधरी करिव ७ वर्षअघि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिए। 

त्यो बेला अस्पतालमा उपचारका लागि ल्याइएका २४ वर्षीय युवकको घटना अझै पनि सम्झिने गरेका छन् उनले।   

उनले घटना सुनाए– 

मोरङको रंगेलीका राजवंशी थरका २४ वर्षीय युवकले साथीहरूसँग कुनै विषयमा बाजी राखेका रहेछन्। बाजी हारे आफूले हात काटेर भगवानलाई चढाइदिने बताएका रहेछन् उनले। 

दुर्भाग्य ! युवकले बाजी हारेछन्। त्यसपछि ती युवकले आफ्नै दायाँ हात अचानोमा राखेर छिनाएछन्। घटनाबारे थाहा पाएपछि अभिभावकले ती युवकलाई छिनिएको हातसहित अस्पताल पुर्याए।

डा. पशुपतिले ती युवकलाई अस्पताल ल्याएपछिको घटना सम्झिए, ‘ती युवकको दाहिने हातको नाडी र हत्केलाको बीचको जोर्नीको भाग छिनिएको थियो।’ 

अस्पताल पुर्याउँदा युवक बेहोस थिए। युवकको हातबाट अत्यधिक रक्तस्राव भएको थियो।

त्यसपछि युवकलाई भर्ना गरियो। र, उपचार थालियो।  डा. पशुपतिले सुनाए, ‘रगत दियौं। रगत दिएपछि उनको होस आयो। र, उनको छिनिएको हात जोड्ने क्रम सुरु गर्याैं।’ 

अप्रेसन थिएटरमा बेलुका ९ बजे युवकको हात जोड्न सर्जरी थालियो। तर, डा. पशुपतिलाई युवकको हात जोडिन्छ भन्ने झिनो आशा मात्रै थियो। किनकि हात छिनिएकाले नसा जोड्न मुस्किल थियो। 

डा. पशुपति भन्छन्, ‘रगतका नली सबै काटिसकेपछि जोडेर फेरि रगत बग्छ की बग्दैन भन्ने कुनै ग्यारेन्टी हुँदैन।’ 

तर, डा. पशुपतिको टिमले हरसम्भव उपाय अपनायो। अन्ततः बिहान ४ बजे युवकको सफल सल्यक्रिया भयो। अर्थात् युवकको हात जोडियो। 

उनले ती युवकको हात जोड्दाको क्षण सम्झिए, ‘बेलुका ९ बजे हात जोड्न सुरु गर्याैं। रगत नलि जोड्दा बिहानको ४ बजिसकेको थियो। सबै नसा जोड्नुपर्याे। सिलाउनुपर्याे।’

ती युवकको छिनेको हात जोडिनु डा. पशुपतिले ‘मिराकल’ (चमत्कार)को रूपमा लिए। डा. पशुपतिले भने, ‘संयोग भनौं वा भगवानको कृपाले भनौं। उनको हात जोडियो।’ 

डा. पशुपतिले हात छिनिएका बिरामीको उपचार गर्नु पहिलो घटना थियो। उनले भने, ‘दुर्घटनामा परेर औला छिनेका घटना आउँथे। हात नै काटेर आएको पहिलो घटना थियो हाम्रो लागि।’ 

ती युवकलाई १० दिन अस्पतालमै राखेर उपचार गरेपछि डिस्चार्च गरिएको डा. पशुपतिले सुनाए। 

हात काटेको करिव ८ घण्टामा युवालाई अस्पताल लगिएको थियो। काटेपछि जति चाँडो जोड्यो त्यति नै चाँडै हात जोडिने उनले सुनाए।

अहिले पनि ती युवक आफूलाई भेट्न आउने गरेको डा. पशुपतिले सुनाए। अहिले ती युवकले जोडिएको हातले हल्का किसिमका काम गर्न सक्ने उनी बताउँछन्। डा. पशुपतिले सुनाए, ‘ती युवक जोडिएको हातले कपडा लगाउन, खानपान गर्न सक्छन्।’ 

ती युवक कामै नपरे पनि तरकारी, फलफूल लिएर आफूलाई भेट्न आउने गरेको उनले सुनाए। 

अर्को चमत्कार !

उनले चिकित्सकीय करिअरमा नबिर्सिएको अर्काे घटना पनि छ। ९ वर्षअघि सिराहाका ४५ वर्षीय पुरुषको ढाडको सल्यक्रिया। 

ढाड भाँचिएपछि ती पुरुषलाई बिपी प्रतिष्ठानमा उपचारका लागि ल्याएको उनले सम्झिए। डा. पशुपतिले सुनाए, ‘उहाँको मेरुदण्डको हड्डी भाँचिएर दुवै खुट्टा नचल्ने भएको थियो।’

डा. पशुपतिले उनको शल्यक्रिया थाले। तर, डा. पशुपतिलाई दिलिपको ढाड ठिक होला भन्ने झिनो आशा मात्रै बाँकी थियो।

तैपनि डा. पशुपतिले उपचार थाले। अन्ततः उनको शल्यक्रिया सफल भयो। डा. पशुपतिका लागि चमत्कारिक सफलता थियो त्यो उपचार। 

त्यो सफलताले आफू पनि चकित भएको उनले सुनाए। डा. पशुपतिले भने, ‘शल्यक्रिया गरेर मेरुदण्डको हड्डी र नसा जोडें। अचम्मको कुरा त मैले मेडिकल साइन्समा नदेखेको कुरा भयो। उहाँ हिँड्न सक्नुभयो।’ 

उपचारपछि ठिक भएर ती व्यापारी अहिले पनि गाडी र मोटरसाइकल आफैं चलाएर भेट्न आउने गरेको डा. पशुपतिले सुनाए। कुनै–कुनै समयमा पिसाव नियन्त्रण नहुने बाहेक समस्या नभएको उनले सुनाए।  

घरको दुई तला माथिको कौशीबाट खसेर ती व्यापारीको ढाँड भाँचिएको थियो। 

ती व्यापारीको उपचार सफल भएको विषय अन्तर्राष्ट्रिय सम्मेलनमा पनि प्रस्तुत गर्दा डाक्टरले ‘मिराकल’ नै भएको निष्कर्ष निस्किएको डा. पशुपतिले सुनाए। सामान्यत पूर्णरूपमा मेरुदण्ड क्षति भए अपांगता (प्यारालाइसेस) हुने उनले बताए। 

ती व्यापारी (दिलिप)लाई अपनाएको उपचार विधि अन्य बिरामीमा पनि अपनाउँदा धेरै बिरामीको उपचारमा सफलता मिलेको उनले सुनाए। 

डा. पशुपतिले भने, ‘ती बिरामीमा जुन टेक्निक मैले प्रयोग गरें। अन्य बिरामीमा पनि त्यस्तै टेक्निक प्रयोग गर्दा धेरै बिरामीमा सफलता मिल्यो।’ 

ति बिरामीले प्रत्येक हप्ता फोन गर्ने तथा कहिलेकाहीं भेट्न आउने गरेको उनले सुनाए। उनले भने, ‘फोन गरिरहन्छन्। घर बनाउनुभयो भने इँटा दिन्छु भन्छन्।’

दुर्घटनामा मेरुदण्ड भाँचिएको पुरुषको उपचार

करिव चार वर्षअघि पनि यस्तै उपचार गरेका थिए उनले। 

उनले घटना सुनाए– विवाह गरेको एक महिना पनि नहुँदै श्रीमान–श्रीमती मोटरसाइकल दुर्घटनामा परेछन्। दुर्घटनामा परी श्रीमानकोे भने मेरुदण्ड नै भाँचियो।
त्यसपछि ती पुरुषलाई उपचारका लागि बिपी प्रतिष्ठान पुर्याइयो। 

अस्पतालमा पुगेका ती पुरुषको भगवानको नाम लिएर उपचार थालेको डा. पशुपतिले सुनाए। डा. पशुपतिले भने,‘भाग्यवश ती युवकको इम्प्रुभ भयो।’

अहिले ती पुरुष सामान्य काम गर्न सक्ने उनले सुनाए। अहिले पनि ती पुरुष आफूलाई भेट्न आउने गरेको डा. पशुपतिले बताए। भेटमा ती पुरुषले आफ्नो बच्चा नभएको बताएको डा. पशुपतिले सुनाए। 

अध्ययन र जागिर

पशुपति सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा २०२९ सालमा जन्मिएका हुन्। उनले सप्तरीकै राजदेवी माविबाट २०४४ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका हुन्।  

पशुपतिले आइएससी भने राराब क्याम्पस, धनुषामा अध्ययन गरे। त्यसो त उनका बुबाले आइएससी अध्ययनका लागि पशुपतिलाई भारतको पटना पुर्याए। तर, पशुपतिलाई त्यहाँ पढ्न मन लागेन। 

त्यसपछि काठमाडौं पुगेर उनका बुबाले अमृत साइन्स क्याम्पसमा भर्ना गरिदिए। काठमाडौंमा पनि केही दिन अध्ययन गरेपछि पशुपतिलाई पढ्न मन लागेन।

त्यसैले उनले अमृत साइन्स क्याम्पसबाट जनकपुर ट्रान्सफर लिएर फर्किएर आइएससी अध्ययन गर्न थाले। आइएससीमा पनि उनले ७३ प्रतिशतभन्दा बढी अंक ल्याए।

आइएससीपछि उनी सन् १९९४ मा एमबिबिएस अध्ययनका लागि बंगलादेश पुगे। पशुपतिले सन् २००० मा बंगलादेशको ‘सिलेट मेडिकल कलेज’बाट एमबिबिएस उत्तीर्ण गरेका हुन्। छात्रवृत्तिमा अध्ययनका लागि छनोट चरणको परीक्षा दिने करिव ३ सय विद्यार्थीमध्ये टप ३ मा आफ्नो नाम निस्किएको उनले सुनाए।

एमबिबिएस अध्ययनपछि उनी नेपाल फर्किएर सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सन् २००० देखि करिव २ वर्ष करार जागिरेका रूपमा मेडिकल अफिसर भएर काम गरे।

त्यसपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सन् २००३ मा एमएस (स्नातकोत्तर तह)को अध्ययन थालेका डा. पशुपतिले सन् २००६ मा अर्थोपेडिक्स सर्जरी विषयमा एमएस उत्तीर्ण गरेका हुन्। उनले छात्रवृत्तिमा नै एमएस अध्ययन गरेका हुन्। 

एमएस अध्ययन सकेपछि डा. पशुपतिले सन् २००६ मा नै बिपी प्रतिष्ठानमा लेक्चररको रूपमा करारमा जागिर सुरु गरे। 

अस्पतालमा करारमा जागिर सुरु भएको एक वर्षपछि उनी त्यहीं स्थायी जागिरे भए। सहप्राध्यापक (एसिस्टेन्स प्रोफेसर)मा बढुवा पनि भए। बढुवा हुँदै प्राध्यापक भएका डा. पशुपति सन् २००६ देखि निरन्तर प्रतिष्ठानमा नै कार्यरत छन्। 

तालिम र पुस्तक लेखन

डा. पशुपतिले भारतको अल इन्डिया इन्टिच्युड अफ मेडिकल साइन्सेसबाट ‘स्पाइन सर्जरी र कृत्तिम जोर्नी प्रत्यारोपण’सम्बन्धी ३ महिने तालिम लिएको बताए। उनले भारतको ‘गंगा हस्पिटल’बाट छिनेको हात जोड्ने र माइक्रो भास्कुलर सर्जरीसम्बन्धी ३ महिने तालिम लिएका छन्। 

त्यसैगरी जापान, कोरिया, अमेरिका, स्विजरल्याण्डजस्ता मुलुकबाट स्पाइन सर्जरी सम्बन्धित तालिम लिएका छन् उनले। डा. पशुपति करिव ३० मुलुकको भ्रमण गरिसकेका छन्। 

आफूले तालिम लिएर फर्केपछि नै धरानमा सन् २०१० मा कृत्तिम जोर्नी प्रत्यारोपण सुरु गरेको उनले सुनाए। 

डा. पशुपतिले करिव आधा दर्जन पुस्तक प्रकाशित गरेका छन्। उनले ‘ढाडको दुखाई˗समस्या र समाधान’, ‘हाडजोर्नीका समस्या, समाधान र अन्य समसामयिक विषयमा मेरो बिचार’, ‘फिजियो थेरापी र यसका फाइदाहरू’, ‘बेसिक ट्रमाटिक केयर’ जस्ता चिकित्सासम्बन्धी उनका पुस्तक प्रकाशित छन्। साथै उनले ‘दी ग्रेट सन्स अफ थारुज˗ शाक्यमुनि बुद्ध एण्ड अशोका दी ग्रेट’ नामक पुस्तक प्रकाशित गरेका छन्।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७५ सालमा ‘सुप्रबल जनसेवा श्री’ पाएका छन्।

किसान बुबाको डाक्टर पढाउने सपना

पशुपति मध्यम वर्गीय किसान परिवारमा हुर्किएका हुन्। खेती किसानी गर्ने उनका बुबाको दृढ इच्छाका कारण नै आफू डाक्टर बन्न सफल भएको उनले सुनाए। 
डा. पशुपतिले सुनाए, ‘म डाक्टर बनेको हेर्ने बुबाको सपना पूरा भयो। अहिले त उहाँ हुनुहुन्न।’

सानोमा गाउँमा हुँदा टिबीका कारण उपचार नै नपाएर गाउँका एक जना दाइको मृत्यु भएको देखेका पशुपतिलाई पनि डाक्टर बन्ने ठूलै सपना थियो। त्यो घटनाले पनि उनको बाल मानसपटलमा डाक्टर नै बनेर मान्छेलाई बचाउनुपर्छ भन्ने छाप बसिसकेको थियो। 

गाउँमा निःशुल्क उपचार

डा. पशुपतिले गाउँमा निःशुल्क उपचार गर्ने गरेका छन्। अहिले पनि सकेसम्म प्रत्येक हप्ता र नसके कम्तीमा महिनामा एक पटक आफ्नो गाउँमा पुगेर निःशुल्क उपचार गर्ने गरेको बताउँछन्। 

शनिबार तथा बिदाको दिन गाउँ गएको समयमा प्रत्येक पटक एक–डेढ सय बिरामीको स्वास्थ्य जाँच गर्ने गरेको उनले सुनाए। 

उनले भने, ‘एमबीबीएस पढेर फर्किएदेखि अहिलेसम्म गाउँमा गएर निःशुल्क चाँच र उपचार गरिरहको छु। बिरामीको उपचार गर्न आफूलाई कहिल्यै थकान नलाग्ने उनले सुनाए। कतिपय बिरामीले ठिक भएपछि खुट्टै ढोग्न खोज्ने गरेको उनले सुनाए।

त्यसो त उनी सधैं व्यस्त रहन्छन्। तर, काम र जीवनलाई व्यस्तताका बावजुत आफूले सन्तुलन गरिरहेको उनले बताए। उनका श्रीमती र दुई छोरा छन्। 

उनकी श्रीमती प्रदेश १ को प्रदेश सभा सदस्य रहिछन्। विशेषगरी बेलुकाको खाना सकभर परिवारसँग बसेर खाने गरेको उनले सुनाए। श्रीमतीले आफ्नो पेशा बुझेकाले काम र जीवनशैलीमा सहज भएको उनले सुनाए। उनले भने, ‘परिवारमा कम समयमा पनि गुणस्तरीय समय व्यतित गर्न सकिन्छ।’

कयौं बिरामी गाईबस्तु तथा जग्गा–जमिन बेचेर उपचारका लागि आउने गरेका उनी सुनाउँछन्। ‘यसरी उपचार गराउनेहरू घर फर्किएपछि के खान्छन् भन्ने चिन्ता लाग्छ,’ उनले भने। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....