उकेरा कोलम

डा. श्रेष्ठले भुल्नै नसक्ने दुई पात्र : तेजाब खाएकी बच्ची र मुटु काटिएकी महिला


करिब १२ वर्षअघि तेजाब खाएकी बालिकाको उपचार गर्दाको क्षण अहिले पनि झल्झली सम्झन्छन् प्राडा. किरणप्रसाद श्रेष्ठ। यो घटनालाई आफ्नो चिकित्सकीय जीवनकै एउटा अविस्मरणीय क्षण मान्छन् डा. श्रेष्ठ।

कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. श्रेष्ठसहितको टीमले तेजाब खाएकी दुई वर्षीया बालिकाको सफल उपचार गरेको थियो। 

भएको के थियो ?
ती बालिकाका बुवा सुनको काम गर्दा रहेछन्। उनले खाटमुनि बोतलमा तेजाब राखेका रहेछन्। खेल्ने क्रममा बुवाले राखेको तेजाब भेटेर ती बालिकाले खाइछन्।

तेजाब खाएपछि उनलाई वीर अस्पताल पुर्‍याइयो। डा. किरण लगायतको चिकित्सकको टीमले चेक जाँच गर्दा बालिकाको खाना निल्ने नली जलेको थाहा भयो। नली बन्द थियो। बालिका खानै नसक्ने अवस्थामा पुगेकी थिइन्।

अस्पतालमा उपचार सुरु भयो। उपचारको नेतृत्त्व डा. दामोदर पोखरेलले गरे पनि डा. किरणप्रसाद श्रेष्ठ प्रत्यक्ष रुपमा सहभागी थिए। 

डा. श्रेष्ठको टीमले बालिकाको पेटमा प्वाल पारेर नलीमार्फत खाना पठाउन मिल्ने बनाए। अस्पताल भर्ना गरेर पेटबाट खाना खुवाउन थालिएको करिब दुई महिनापछि शल्यक्रिया भयो। डा श्रेष्ठको टीमले शल्यक्रिया गरेर पेटको आन्द्रा माथि तानेर मुखनेर जोडे। शल्यक्रिया सफल भयो। 

त्यसरी सर्जरी गरेको १५ दिनसम्म बालिकालाई मुखबाट केही पनि खानपान गराउन हुँदैनथ्यो। तर, शल्यक्रिया गरेको डेढ हप्तामा बालिकाले दूध र बिस्कुट चोरेर खाइदिइछन्। जसले गर्दा आन्द्रा जोडेको मुखनेर संक्रमण भएर प्वाल पर्‍यो। जसले गर्दा मुखबाट खाएको खाना प्वाल परेको ठाउँ (घाँटी)बाट बाहिर निस्कन थाल्यो।  

त्यो प्वाल परेको ठाउँ टाल्नमात्रै ६ महिना समय लागेको डा श्रेष्ठले सुनाए। 

त्यो बेला अस्पतालमा ९ महिना राखेर बालिकाको उपचार गर्नुपरेको डा श्रेष्ठ सुनाउँछन्। त्यसपछि उनी डिस्चार्ज भइन्। वीर अस्पताल बच्चाको उपचार गर्ने अस्पताल नभएकाले उपचारका लागि आवश्यक स्रोत–साधन थिएनन्। न त डा. श्रेष्ठको टीमलाई बच्चाको जटिल किसिमको शल्यक्रिया गर्ने धेरै अनुभव नै थियो। तर उपचार गर्नुको विकल्प थिएन। 

स्रोत–साधको अभावका बाबजुद पनि बालिकालाई बचाएको खुसियालीमा डिस्चार्जका दिन अस्पतालमा भोज खाएको उनले सुनाए। ‘बच्चा डिस्चार्ज हुँदा त ठूलै भोज खायौं,’ डा श्रेष्ठले बडो आनन्दित मुद्रामा सुनाए, ‘उपचार सफल भएको त्यो क्षण हाम्रो लागि निकै खुसीको क्षण थियो।’ 

अर्को रमाइलो पक्ष त के छ भने, करिब चार महिनाअघि तिनै बालिका डा. श्रेष्ठलाई भेट्न वीर अस्पताल पुगिछन्। अहिले उनको उमेर करिब १५ वर्ष भइसक्यो। ती किशोरीले डा. श्रेष्ठलाई भेटेर मुस्कुराउँदै भनिन्, ‘मलाई त तपाईंले अप्रेसन गर्नु भएको हो नि, याद छ?’

त्यसपछि बल्ल डा. श्रेष्ठ आफूले १२ वर्षअघि उपचार गरेकी बालिका रहिछन् भनेर चिने। आफूले उपचार गरेकी बालिका ठूली भएर भेट्न आउँदा किरणको मन गदगद भयो।

विवाह गर्न मिल्छ कि मिल्दैन भनेर पारमर्श लिनका लागि ती युवती डा. श्रेष्ठलाई भेट्न अस्पताल पुगेकी रहिछन्। विवाह गर्न मिल्ने सुझाव दिए उनले। 

क्षणभरमा नै रगत सकिएर महिलाको मृत्यु
डा. किरणप्रसाद श्रेष्ठ मुटुको सर्जरी गर्दा बिरामी बचाउन नसकेको अर्को एउटा घटना कहिल्यै भुल्न सक्दैनन्। 

करिब २० वर्षअघि मुटुको समस्या भएर ५० वर्षकी महिला उपचारका लागि वीर अस्पताल पुगेकी थिइन्। ती महिलाको मुटुको भल्भ साँघुरिएकाले भल्भ ठूलो बनाउनुपर्ने थियो। कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन (सिटिभिएस) डा. लोकविक्रम थापाको टीमले महिलाको मुटुको शल्यक्रिया थाल्यो। जुन टिममा डा. श्रेष्ठ पनि थिए।

उनका अनुसार मुटुको शल्यक्रिया गर्दा रगत नबगोस् भनेर क्ल्याम्प (क्लिप जस्तै मुटु च्याप्ने) लगाउनुपर्ने हुन्छ। ती महिलाको शल्यक्रिया गर्दा मुटुमा हात पसाउनुपर्ने थियो। 

तर, उनको मुटु यति जीर्ण भइसकेको रहेछ कि क्ल्याम्प लगाउँदा क्ल्याम्पले कैंचीले काटेजस्तै मुटु काटियो। च्यातिएर भ्वाङ नै पर्‍यो। डा. श्रेष्ठले सुनाए, ‘त्यसपछि बिरामीको मुटुबाट ह्वालह्वाल्ती रगत बग्यो। रगत रोकिँदै रोकिएन।’ शल्यक्रिया गरिरहेको डा. श्रेष्ठको टीमलाई कसरी रगत आयो भनेर भेउ पाउन नै कठिन पर्‍यो।

करिब ३ मिनेटमा ५ लिटर रगत बग्यो। बिरामीको मुटु, शरीर सबै रगतले ढाकियो। शरीरको पूरै रगत सकियो। क्षणभरमा अपरेसन टेबुलमा नै बिरामीको मृत्यु भयो। 

पछि मात्र थाहा भएको थियो, क्ल्याम्पले जीर्ण भएको मुटु काटिएका कारण रगत बगेको रहेछ। सामान्यतयाः क्ल्याम्पले नकाट्ने भए पनि बिरामीको मुटु जीर्ण भएकाले काटिएको उनले सुनाए। डा. श्रेष्ठले सुनाए, ‘जीर्ण भएपछि मुटु चिज नरम जस्तै हुन्छ। छुँदा पनि प्याच्च जान्छ।’ जुन घटना सम्झँदा उनको मुटु अहिले पनि चसक्क हुन्छ।

अध्ययन र जागिर यात्रा
श्रेष्ठको जन्म विसं. २०१९ सालमा पाल्पा जिल्लाको तानसेनमा भएको हो। उनले तानसेनकै ‘सेन मावि’बाट २०३५ सालमा एसएलसी उत्तीर्ण गरेका हुन्।

उनले एसएलसीपछि काठमाडौं आएर अध्ययनका लागि अमृत साइन्स क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस र महाराजगञ्ज क्याम्पसमा प्रवेश परीक्षा दिए। परीक्षा दिएका तीन वटै क्याम्पसमा अध्ययनका लागि छनोट भएका उनी अमृत साइन्स क्याम्पसमा आइएस्सीमा भर्ना भए। 

त्यो बेला अब्बल विद्यार्थी अमृत साइन्स कलेजमा जान्छन् भन्ने सुनेपछि उनले त्यहाँ भर्ना भएका रहेछन्। उनी भन्छन्, ‘अमृत साइन्स कलेजमा एसएलसीमा बोर्ड फर्स्टदेखि बोर्ड टेनसम्म सर्लक्कै विद्यार्थी आउँदारहेछन्।’ 

तर, करिब चार महिना पढिसकेपछि श्रेष्ठले सोचे, मेरो उद्देश्य त डाक्टर बन्ने हो। डाक्टर नै पढ्ने हो भने अहिलेदेखि नै किन चिकित्सा विषय नै नपढ्ने? आखिर नाम निस्किएकै छ। 

उनले ६ महिना अध्ययन गरेपपछि अमृत क्याम्पसमा नपढ्ने निर्णय गरे। त्यसपछि त्रिवि महाराजगञ्ज क्याम्पसमा भर्ना भएर ‘एचए’ अध्ययन थाले। तर २०३६ सालको विद्यार्थी आन्दोलनका कारण अढाइ वर्षे एचए कोर्ष सक्न झन्डै चार वर्ष लाग्यो। जसले गर्दा श्रेष्ठले २०४० सालतिर मात्रै एचए अध्ययन पूरा गरे। त्यो ब्याचमा उनी सर्वोत्कृष्ट भए।

त्यो बेला एचए उत्तीर्ण भएका विद्यार्थीलाई तत्कालीन श्री ५ को सरकारले स्वास्थ्य सेवा विभागमा बोलाएर सिधै अस्थायी नियुक्तिपत्र दिन्थ्यो रे। ‘त्यो बेला एचए पास हुने वित्तिकै श्री ५ को सरकारले बोलाउँथ्यो। डाइरेक्ट अस्थायी नियुक्ति पत्र दिन्थ्यो,’ उनले सुनाए।

एक वर्षलाई दिएको औषधि तीन महिनामा सकिएपछि...
अस्थायी नियुक्ति पाएर जागिरे भएपछि उनले गृहजिल्ला पाल्पा छाने। उनी पाल्पाको दम्कडा भन्ने ठाउँको स्वास्थ्य चौकी इन्चार्ज भए। त्यो स्वास्थ्य चौकी नयाँ थियो। 

इन्चार्ज त भए तर समस्या यति थिए कि, सरकारले एक वर्षका लागि तोकेर पठाएको औषधिले तीन महिना पनि धान्दैनथ्यो। पुराना स्वास्थ्य चौकीहरूले भने बिरामीलाई १/२ दिनलाई औषधि दिने र बाँकी औषधि पसलबाट किनाउने रहेछन्। 

उनलाई भने त्यस्तो आइडिया थिएन। थप औषधि आउला भन्ने लागेको थियो। डा श्रेष्ठले सुनाए, ‘औषधि अरु पनि आउँछ होला भन्ने लागेको थियो। फूल कोर्ष औषधि दिँदा तीन महिनामै सकियो।’ 

औषधि छैन भनेर बिरामीलाई सम्झाउन समेत उनलाई निकै कठिन हुन थाल्यो। एक वर्षको लागि पठाएको औषधि कसरी सकियो भन्ने समेत प्रश्न उब्जिन थाल्यो।

उनले काठमाडौंमा औषधि पठाइदिन धेरै पटक पत्र पठाएर अनुरोध गरे। तर एउटै जवाफ पाउँथे, एक वर्षको लागि पठाएको हो, पुर्‍याउनु। हामीसँग औषधि छैन। स्वास्थ्य चौकीमा पुगेका बिरामीलाई औषधि अभावमा उपचार गर्न नपाउँदा उनलाई दिक्क लाग्यो।

त्यही समयमा पाटन अस्पतालमा एचएको लागि दरबन्दी खुलेको थियो। श्रेष्ठले जागिरका लागि निवेदन थिए। पाटन अस्पतालले उनलाई जागिरमा बोलाइहाल्यो।

६ महिना पाल्पामा काम गरेपछि उनले सरकारी जागिरबाट राजीनामा गरे। त्यसपछि २०४० मा पाटन अस्पतालमा जागिरे भए। त्यहाँ उनले करिब ११ महिना कम गरे। 

टप टेनलाई प्राथमिकता 
पाटन अस्पतालपछि उनी सन् १९८८ मा एमबिबिएस अध्ययनका लागि बंगलादेश पुगे। त्यो बेला छात्रवृत्तिमा बंगलादेश अध्ययन गर्न जान एचएका लागि छुट्टै कोटा थियो रे। प्रक्रिया पूरा गरेर उनी बंगलादेश पुग्दा ६ महिना कोर्ष अघि बढिसकेको थियो।

बंगलादेशमा एउटा कक्षामा दुई सय जना विद्यार्थी थिए। तर ढिलो पुग्ने भएकाले उनी लगायत नेपाली विद्यार्थीको रोल्न नम्बर पनि अन्तिममा नै परेको थियो। अन्तिम रोल नम्बर भएका विद्यार्थीलाई शिक्षकहरुले पनि त्यति वास्ता गर्दैनथे। कमजोर विद्यार्थीका रूपमा हेरिन्थ्यो। प्रयोगात्मक परीक्षामा समेत ‘टप टेन’का विद्यार्थीलाई धेरै प्रश्न सोधिरहन पर्दैन पास गर्ने हो भन्ने मनसाय रहेको उनले बताए।

अगाडि रोलनम्बर भएका विद्यार्थीलाई अध्ययनशील विद्यार्थीका रुपमा हेरिन्थ्यो। दुई वर्षसम्म भर्ना भएकै रोलनम्बर कायम हुन्थ्यो। परीक्षाको नतिजामा ‘टप टेन’ भित्र पर्नेको नयाँ रोल नम्बर हुन्थ्यो। ‘टप टेन’मा नपर्नेहरूका लागि पुरानै रोलनम्बर कायम हुन्थ्यो। उनको ब्याचमा ५ जना नेपाली थिए। तर परीक्षामा ३ जना ‘टप टेन’ मा परे। परीक्षाको नतिजा आउँदा श्रेष्ठ पनि ‘टप फाइभ’मा परे। 

त्यसपछिका परीक्षामा उनी निरन्तर ‘टप टेन ’भित्रै परिरहे। टप टेनमा परिसकेपछि अब कक्षामा पनि अगाडि बस्न थाले। प्रयोगात्मक परीक्षामा पनि उनी प्राथमिकतामा पर्न थाले। प्रयोगात्मक परीक्षामा टप टेनका विद्यार्थीलाई त शिक्षकले ‘उत्तीर्ण नम्बर’ दिएपछि बाँकी विद्यार्थीको इच्छा अनुसार नै नम्बर चढाइदिनथे रे।  डा. श्रेष्ठले सुनाए, ‘प्रयोगात्मक परीक्षामा बस्ने शिक्षकले उत्तीर्ण हुने नम्बर दिएँ, कति नम्बर बढाउने हो बढाउनु भन्नुहुन्थ्यो।’

राजशाही विश्वविद्यालयको ‘राजशाही मेडिकल कलेज’बाट सन् १९९२ मा एमबिबिएस अध्ययन सकेर उनी नेपाल फर्किए। बंगलादेशमा पनि त्यो बेला हडतालका कारण अध्ययन लम्बिएको उनले सुनाए। ‘एक पटक कलेज बन्द हुँदा ३/४ महिना बन्द हुने। हडताल भएपछि नेपाल आउँथ्यौं। खुलेपछि साथीहरूले टेलिग्राम पठाउँथे अनि जान्थ्यौं।’

वीरमा बेलायती परीक्षा
एमबिबिएस अध्ययन सकेर नेपाल फर्किएपछि डा. श्रेष्ठले वीर अस्पतालमा एक वर्ष ‘इन्टर्नसिप’ गरे।

उनको ‘फिजिसियन’ बन्ने इच्छा थियो। त्यो बेला स्नातकोत्तर अध्ययनका लागि विदेश नै जानुपथ्र्यो। तर बेलायतको ‘रोयल कलेज आफ सर्जन’ र ‘रोयल कलेज आफ फिजिसियन’ले ‘वीर अस्पताल’लाई तालिमका रूपमा मान्यता दिएको थियो। 

त्यो कोर्षको नाम हो, ‘फेलो अफ रोयल कलेज अफ सर्जन्स (एफआरसिएस)।’

नेपालमा तालिम लिए पनि बेलायतबाटै परीक्षा बोर्ड आएर चिकित्सा विषय अध्ययन गर्ने विद्यार्थीको परीक्षा लिन्थ्यो। परीक्षाको नतिजा पनि तुरुन्तै सार्वजनिक हुन्थ्यो।

डा. लक्ष्मीनारायण प्रसाद, डा. सच्चेकुमार पहाडी, डा. दिनेशनाथ डंगोल, डा. अञ्जनीकुमार शर्मा जस्ता चिकित्सकले बेलायतको रोयल कलेजमा नै अध्ययन गरेका थिए। यी डाक्टरहरुले दिने तालिमलाई मान्यता दिने भनेपछि नै वीर अस्पतालमा त्यो तालिम चलेको रहेछ। 

तर, त्यो बेला फिजिसियनको तालिम नभएकाले उनले सर्जरी विषयकै तालिम लिए। तालिमका दुई वटा भाग हुन्थे। इन्टर्नसिप सकेको एक वर्ष पुगेपछि यो तालिम लिन पाइन्थ्यो। पहिलो भागको परीक्षा दिने समयमा उनको इन्टर्न सकेको एक वर्ष १२ दिन  समय भएको थियो। त्यसैले उनी परीक्षामा सहभागी हुन पाए।

पहिलो भागको परीक्षा दिएको चार वर्षपछि मात्रै दोस्रो भागको परीक्षा दिन पाइन्थ्यो। उनले पहिलो भागको परीक्षा सन् १९९४ मा दिए। तर, दोस्रो भागको परीक्षा भने नेपालमा हुँदैनथ्यो। बेलायतमा नै परीक्षा दिन जानुपथ्र्यो। त्यसका लागि आर्थिक जोहो नहुने। त्यसैले निकै पहल गरेपछि मात्र दोस्रो भागको परीक्षा दिने व्यवस्था भएको उनी सम्झन्छन्।

एफआरसिएस नै नेपालमा आएर परीक्षा लिएको उनले सुनाए। नेपालमा दोस्रो भागको परीक्षा हुने भएपछि भारत, बंगलादेश, कुवेत, म्यान्मार, पाकिस्तानजस्ता मुलुकका विद्यार्थीहरु परीक्षा दिन आएको डा. श्रेष्ठले सुनाए। 

दोस्रो भागको परीक्षा सन् १९९९ दिएर उत्तीर्ण भए। अध्ययनको प्रमाणपत्र परीक्षा सकेको दुई घण्टामा नै पाइन्थ्यो रे। प्रमाणपत्रमा धेरै कुरा लेखिँदैनथ्यो। डा. श्रेष्ठ सम्झन्छन्, ‘प्रमाणपत्रको सानो कागजमा ‘यु ह्याभ सर्टिफाई दी एक्जामिनर’ मात्र लेखिएको लेखिएको थियो। नम्बर केही मतलब थिएन।’

त्यसपछि उनले जनरल सर्जनका रुपमा काम गर्न पाए। फिजिसियन बन्ने उद्देश्य राखेका डा. श्रेष्ठले निरन्तर सर्जरीको काम गर्न थाले। अहिलेसम्म उनी वीर अस्पतालमा नै कार्यरत छन्। 

उनलाई कार्डियोथोरासिकमा पनि चासो थियो। यो विषयमा  बेलायतमा ‘रोयल कलेज अफ सर्जनस् अफ इडिनवर्ग’ बाटै उनले ६ महिनाको तालिम लिएका छन्।

११औं तहका एक्ला डाक्टर
त्यो बेला दुई पटक लोकसेवा परीक्षा उत्तीर्ण भई सरकारी जागिरे भए पनि अध्ययनका कारण उपत्यका बाहिर पोस्टिङ भएकाले जागिर खाएका थिएनन्। उनले सुनाए, ‘त्यो बेला ट्रेनिङमा थिएँ। वीर अस्पताल छोड्न मिल्दैनथ्यो। दुवै पटक काठमाडौं बाहिर पोस्टिङ भएको थाहा पाएपछि नियुक्तिपत्र नै लिइनँ।’ 

फेरि २०५९ सालमा लोकसेवा परीक्षा उत्तीर्ण गरी स्थायी सरकारी चिकित्सकका रूपमा डा. श्रेष्ठको जागिर सुरु भयो। उनको पोस्टिङ वीर अस्पतालमा नै भयो। कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी (सिटिभिएस)को तालिम लिएका हुनाले वीर अस्पतालमा नै पोस्टिङ भएको उनले सुनाए। 

उनी अहिले नवौं, १०औं हुँदै ११औं तहम पुगेका छन्। तर सरकारीमा सिटिभिएस विषयको ११औं तहको एउटा मात्रै दरबन्दी भएको र त्यो तहमा आफूमात्रै रहेको उनी बताउँछन्। ‘सरकारीमा सिटिभिएसमा अरू कोही पनि नभएकाले म एक्लै हुन्थें जहिल्यै पनि। रोलनम्बर पनि एक, जाँच दिने पनि एकै जना मात्रै,’ उनी भन्छन्। 

गरिबको रोग
उनलाई सुरुदेखि नै मुटुको भन्दा फोक्सोको सर्जरीमा चासो थियो। फोक्सोको रोग गरिबलाई बढी लाग्ने रोगका रुपमा लिन्छन् उनी। डा. श्रेष्ठ भन्छन्, ‘फोक्सोको रोग गरिबलाई लाग्ने रहेछ। धेरैजसो टिबी बिग्रिएर आउने।’

यस्ता बिरामीले सेवा पाउन भनेर आफू सिटिभिएस सर्जन भए पनि फोक्सो र रगतको नलीको शल्यक्रियामा बढी केन्द्रित भएको डा श्रेष्ठ बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....