डा. कृष्णप्रसादको अनुभव : मृत्युका घटनामा पैसा कमाउन अस्पताल पुगेर धम्क्याउने समूह नै छन्

डा. कृष्णप्रसादको अनुभव : मृत्युका घटनामा पैसा कमाउन अस्पताल पुगेर धम्क्याउने समूह नै छन्

काठमाडाैं : महाराजगन्जस्थित कान्ती बाल अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद विष्टले १२ वर्षअघि क्यान्सरपीडित बालक मृत्युको घटना अझै भुल्न सकेका छैनन्।  

डा. कृष्णप्रसाद अस्पतालमा बिरामीको चेकजाँच गरिरहेका थिए। त्यही बेला एक बालक अस्पतालको शय्यामा छटपटाइरहेको देखे। उनी ती बालकको नजिक पुगे। 

उनलाई देखेपछि ती बालकले रुँदै भने, ‘डाक्टरसा’ब म बाँच्न चाहन्छु, बचाउनुहोस्।’ 

डा. कृष्णप्रसादका अनुसार १३ वर्षीय ती बालकलाई एएमएल क्यान्सर भएको रहेछ। ती बालककाे शरीरमा क्यान्सर फैलिसकेकाे थियो।बालकलाई श्वास फेर्न कठिन भइरहेको थियो। बालककाे शरीरमा रगतको मात्रा कम भइसकेकाले शरीरका अंगले काम नगर्ने अवस्थामा पुगेको डा. कृष्णप्रसादले बताए। 

उनीसँग ती बालकलाई बचाउने चिकित्सकीय विधि थिएन। 

ती बालक बाँच्दैनन् भन्ने उनले ठानिसकेका थिए। यसबारे उनले बालकका आमाबुबालाई पनि जानकारी गराइसकेका थिए। 

डा. कृष्णप्रसादले बाँचुञ्जेल कसरी ती बालकको पीडा कम गर्न सकिन्छ भनेर हरसम्भवको उपचार गरे। केही दिनमा उनको आँखाअगाडि बालकले प्राण त्यागे। 

ती बालकलाई बचाउन नसक्दा उनलाई ग्लानी महसुस भयो। ‘ती बालकले बचाउनुहोस् भन्दाभन्दै आफ्नै अघि मृत्यु भयो,’ डा. कृष्णप्रसादले सम्झिए, ‘यो घटनाले ग्लानी महसुस भयो। त्यो घटना कहिल्यै भुल्दिनँ।’

डा. कृष्णप्रसादका अनुसार एएमएल किसिमको क्यान्सर डरलाग्दो हुन्छ। यस्तो क्यान्सर भएका बालबालिका बचाउन सक्ने सम्भावना अत्यन्तै न्यून हुन्छ। 

‘एएमएल भन्ने क्यान्सर भएको बच्चा बचाउन धेरै गाह्रो हुन्छ। उपचार पनि धेरै महँगो छ,’ उनले भने, ‘धेरै मेहनत गर्न सके केही मात्रै बाँच्न सक्छन्। रोगै अप्ठेरो हो।’

अन्य किसिमको क्यान्सरमा १०० मा ८० प्रतिशत बिरामी बचाउन सक्ने सम्भावना भए पनि नेपालजस्तो मुलुकमा यो क्यान्सर लागेका बालबालिका करिव १०/१५ प्रतिशत मात्रै बचाउन सकिने उनले बताए। 

ढिलो पुग्दा मृत्यु

बिरामी बालबालिकालाई समयमै अस्पताल नपुर्याउँदा बालबालिकाको मृत्यु हुने गरेको उनी बताउँछन्। ढिलो अस्पताल पुर्याउँदा बालबालिकाको मृत्युले उनलाई दिक्क लाग्छ। 

उनले त्यस्तै एउटा घटना सुनाए– 

कोरोना भाइरसको दोस्रो लहरमा कान्ति बाल अस्पतालमा १२/१३ वर्षकी बालिकाको अस्पताल ढिलो लैजाँदा मृत्यु भएको घटना उनले सुनाए। 

पोस्ट कोभिडको समस्या भएकी ती बालिकालाई चिकित्सकले स्वास्थ्य अवस्था जटिल भएकाले अभिभावकलाई भर्ना गर्नुपर्छ भनेका थिए। तर, अभिभावकले नमानेर घर लिएर गएको उनले सुनाए। 

घर लगेको २ दिनपछि फेरि बालिकालाई अस्पताल पुर्याइयो। अस्पताल पुर्याउँदा बालिकाको स्वास्थ्य अवस्था जटिल भइसकेको थियो। अस्पताल भर्ना गरेको २ दिनमा नै बालिकाको मृत्यु भएको उनले सुनाए। ती बालिकालाई भर्ना गरेर उपचार गरेको भए बाँच्ने सम्भावना भएको डा. कृष्णप्रसाद बताउँछन्। 

यी घटनापछि अस्पतालमा मृत्युपछि हुने गरेका लफडाका घटना डा. कृष्णप्रसादले सुनाए।

अस्पतालमा डाक्टरले कुट्दा...

५९ वर्षीय डा. कृष्णप्रसादले कान्ति बाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बालबालिकाकोे विषयमा लफडा भएका घटना निकै देखेका र भोगेका छन्। 

डा. कृष्णप्रसादले सुनाए, ‘अस्पतालमा बिरामीको मृत्यु भएपछि जुलुस गर्ने, पैसा लिने, अस्पताल फुटाउने, यो त नियमित जस्तै थियो।’
त्यस्तै, कान्ति बाल अस्पतालमा एक जना बच्चाको मृत्युपछि मृतकका आफन्त भन्दै हुलदंगा गर्ने समूहले लफडा गर्दा डाक्टरले उनीहरूलाई नै पिटेको घटना डा. कृष्णप्रसादले सुनाए।

२०६२/०६३ पछिको घटना हो त्यो। त्यो बेला उपचारका क्रममा एक जना बच्चाको कान्ति बाल अस्पतालमा मृत्यु भयो। डा. कृष्णप्रसादले सुनाए, ‘कान्तिमा प्रकाश सुन्दर श्रेष्ठ, पुष्पराज शर्मा डाक्टरसा’बहरूले उपचार गर्दागर्दै उहाँहरूको युनिटमा भएको एक जना बच्चाको मृत्यु भयो।’

बच्चाको मृत्युपश्चात डाक्टरको लापरबाहीले बच्चाको मृत्यु भएको भन्दै अस्पतालमा मृतकका आफन्त भनिएकाहरूले हुलदंगा गरे।

उपचारमा खटिएका डाक्टरलाई अस्पतालमा नै थुनिदिए। अस्पताल जलाइदिने भन्दै धम्क्याए। हुलदंगा गर्ने समूहले मृतक बच्चाको उपचारमा संलग्न चिकित्सकलाई निकै दबाब दिएको उनी सम्झन्छन्।

मृतकका आफन्त भनिएका समूहले निकै हुलदंगा गरेपछि टिचिङका विद्यार्थी उल्टिएर कान्ति अस्पतालमा पुगे। त्यसपछि टिचिङका विद्यार्थी र कान्तिका डाक्टर मिलेर हुलदंगा गर्ने समूहलाई पिट्न थाले। 

त्यो समयमा नछुट्याएको भए लफडा गर्ने समूहलाई विद्यार्थीहरुले मार्ने जोखिम भएको डा. कृष्णप्रसादले सुनाए। उलने भने, ‘सायद १/२ जनालाई हामी ३/४ जना मिलेर नछेकेको भए केटाहरू (विद्यार्थी)ले मार्दिन्थे होला। तिनीहरूले निकै पिटाइ खाएका छन्। पिटाइ खाएपछि त भागे।’ 

त्यसरी डाक्टरले नै हुलदंगा गर्नेलाई पिटेको घटना उनी कहिल्यै भुल्दैनन्। चिकित्सकले सहनै नसकेर त्यो घटना घटाएको हुनसक्ने उनको आकलन छ। 

त्यो घटनापछि नेपालमा करिव २ वर्ष अस्पतालमा हुलदंगा हुने तथा डाक्टर पिट्ने घटना नसुनिएको उनी सुनाउँछन्। 

कान्तिमा यस्ता धेरै घटना मिलाएको उनले सुनाए। यस्ता घटनामा अभिभावकका मान्छे भन्दा पनि अधिकांश अन्य व्यक्ति नै हुने गरेको देखिएको उनी बताउँछन्। डा. कृष्णप्रसादले भने, ‘त्यस्ता घटनामा विचरा बुबाआमालाई केही थाहा हुँदैन।’ 

पैसा कमाउनका लागि मृत्युका घटना भएपछि अस्पताल˗अस्पताल पुगेर धम्क्याउने समूह हुने गरेको उनले सुनाए।

०००

पछिल्लो समय कतिपय चिकित्सक त एप्रोन खोलेर प्रतिकार गर्न तम्सिने गरेको पनि उनी सुनाउँछन्। डा. कृष्णप्रसादले केही वर्षपहिले कान्तिमा एक जना बिरामीको आफन्तले डाक्टरलाई पिट्छु भनेर धम्क्याउँदा ती डाक्टरले एप्रोन नै खोलेर धम्क्याउनेसँग भिड्न तम्सिएको घटना सुनाए।

डा. कृष्णप्रसादले भने, ‘कान्तिमा एक जना डाक्टरसा’बलाई एक जनाले पिट्छु, भनेछन्। डाक्टरले पनि एप्रोन खोलेर लु भिडु न त, म पनि तँजस्तै हो भनेपछि डाक्टरलाई पिट्छु भन्ने व्यक्ति भागेछन्।’

अध्ययन र जागिर यात्रा

कृष्णप्रसाद चितवनको (साविक) शिवनगरमा २०१८ सालमा जन्मिएका हुन्। उनले शिवनगरकै ‘नारायणी विद्यामन्दिर मावि’बाट २०३५ सालमा एसएलसी उत्र्तीण गरे। 

एसएलसीपछि त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज क्याम्पसमा ३०३६ सालमा हेल्थ असिस्टेन्ट (एचए) अध्ययन थालेका उनले २०४९ सालमा एचए उत्तीर्ण गरे।

एचए अध्ययनपछि अस्थायी जागिरेको रूपमा २०४० सालदेखि २०४१ सम्म करिव १६ महिना उनले म्याग्दीको पाखापानी हेल्थ पोस्टमा काम गरे। त्यसपछि गोरखाको जौबारीमा करिव ९ महिना काम गरे। उनले भने, ‘नारायणकाजी श्रेष्ठको गाउँमा काम गरें।’ 

त्यसपछि उनी एमबिबिएस तहको अध्ययनका लागि २०४२ सालमा सोभियत संघ रसिया पुगे। सोभियत संघमा अध्ययनका लागि छात्रवृत्तिमा छनोट भएको दिन उनका लागि अविस्मरणीय दिन हो। डा. कृष्णप्रसादले भने, ‘म त गाउँमा काम गरेको मान्छे। पढ्न जान पाउनु नै खुसीका कुरा हो।’

त्यहाँ ७ वर्ष अध्ययन गरे। तत्कालिन सोभियत संघको खार्कोभ मेडिकल इन्टिच्युडबाट २०४९ ‘डाक्टर अफ मेडिसिन’ अध्ययन पूरा गरे। 
रसियाबाट फर्किएपछि २०४९ सालमा अस्थायी सरकारी जागिरेका रूपमा पाल्पा जिल्ला अस्पताल पुगे। त्यहाँ उनले करिव १० महिना काम गरे। त्यसपछि उनी कैलालीको टीकापुर हेल्थ सेन्टर पुगे। उनले भने, ‘हेल्थ सेन्टरको म पहिलो डाक्टर हो त्यहाँ।’ 

टीकापुरमा केही समय काम गरेपछि उनी बिदामा चितवन घर फर्किएका थिए। तर, घर फर्कंदा उनको जागिर नै गएछ। डा.कृष्णप्रसादले भने, ‘२०५१ सालमा घर आएर म खारेजीमा परें। म अस्थायी थिएँ। स्थायी डाक्टर पुगेछन्। जागिर गयो।’ 

त्यसपछि २०५२ सालमा कान्ति बाल अस्पतालमा ४ महिना अस्थायी जागिरेको रूपमा काम गरे। कान्तिपछि उनी फेरि रसिया पुगे। रसियाको चेचेन रिपब्लिकनको ग्रोज्नीमा पुगेर द्वन्द्वग्रस्त ठाउँमा काम गरे। डा. कृष्णप्रसादले भने, ‘लडाइँग्रस्त ठाउँमा गएर ४ महिना काम गरें।’

त्यहाँबाट नेपाल फर्केर कान्ति बाल अस्पतालमा नै उनले अस्थायी जागिरेका रूपमा काम गर्न थाले।

थप अध्ययनको भोक त छँदै थियो। त्यसैले त्रिभुवन विश्वविद्यालय, महाराजगन्ज क्याम्पसमा स्नातकोत्तर तहमा बाल रोग विषयको (पोस्ट ग्राजुएट डिप्लोमा) अध्ययन थाले। २०५३ सालमा स्तातकोत्तर तहको बालरोग विषयमा विशेषज्ञता हासिल गरे। कान्तिमा काम गरेकाले पनि बालबालिकाको उपचारमा नै लाग्ने निर्णयले उनले बालरोग विषय छनोट गरे।

उनी २०५४ सालमा सरकारी स्थायी जागिरे भए। डा. कृष्णप्रसादको पोस्टिङ झापाको भद्रपुर भयो। तर, उनी त्यहाँ गएनन्। उनले भने, ‘नियुक्ति लिइयो, गइएन।’ 

त्यो बेला उनले सरकारी जागिर खाएनन्। सरकारी जागिरमा जतासुकै सरुवा भइरहने भएकाले पनि उनी झापा नगएका रहेछन्।

२०५५ देखि २०५६ सम्म विभिन्न अस्पतालमा बाल रोग विशेषज्ञको रूपमा काम गरे। उनले आर्मी अस्पतालमा करिब ६ महिना करारमा काम गरे। केही महिना काठमाडौंको क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा काम गरे।

उनलाई बालबालिकाको मिर्गौलासम्बन्धी अध्ययन गर्ने सोच आयो। त्यसैले सन् २००० (२०५७ साल) मा इजरायल पुगेर बालबालिकाको मिगौलाको उपचारसम्बन्धी (पोस्ट ग्राजुयट ट्रेनिङ) तालिम लिए। 

इजरालयबाट फर्केर उनी फेरि २०५८ सालमा कान्ति बाल अस्पतालमा नै करार जागिरे भएर काम गर्न थाले। करिव ६ वर्ष करारमा काम गरेपछि डा. कृष्णप्रसाद २०६४ मा कान्ति अस्पतालमा स्थायी जागिरे भए। 

२०५८ यता निरन्तर कान्ति अस्पतालमा काम गरिरहेका उनले कान्ति अस्पतालमा ३० वर्ष बिताइसकेका छन्। उनले सयौं बालबालिका बचाए। यो उनको चिकित्सकीय धर्म पनि हो। 

०००

बालरोग विशेषज्ञको समाज (नेपाल पेडियाट्रिक सोसाइटी)मा रहेर लामो समय काम गरेका उनले यो समाजमार्फत नेपालमा बालबालिकाको मृत्युदर कम गर्न योगदान पुगेको सुनाए। डा. विष्ट पेडियाट्रिक सोसाइटीको अध्यक्ष भएर पनि काम गरे। 

यो समाजले एकीकृत बाल रोग व्यवस्थापन सम्बन्धित बाल मृत्युदर कम गर्न डाक्टर, एचए लगायतलाई तालिम दिइँदा आफू ३० भन्दा बढी जिल्ला पुगेको उनले सुनाए। उनले भने, ‘यो तालिममा धेरै लागियो।’

उनी विशेषगरी बालबालिकाको मिर्गौला रोगको उपचार गर्छन्। मिर्गौला रोगको उपचार गरेर ठिक भएका व्यक्ति वयस्क भएपछि पनि उनलाई भेट्न आउँछन्। 

‘२ नम्बर’का बिरामी

त्यस्तै एउटा घटना उनी सम्झन्छन्। २०५८ सालमा उनले उपचार गरेका बिरामी करिव ५ वर्षअघि आएर डा. कृष्णप्रसादलाई भेटे। त्यो बेला कान्तिमा मिर्गौलाका बिरामी भर्ना गर्दा १, २, ३, ४...गर्दै नम्बर नाम दिँदै भर्ना  गरिन्थ्यो। 

ती ‘२ नम्बर’का बिरामी रहेछन्। ‘२०५८ सालमा उपाचार गरेको बिरामी करिव ५ वर्षअगाडि म त ‘२ नम्बर’को तपाईंकाे बिरामी भन्दै आएका थिए।’ 

त्यो बेला आफूले उपचार गरेका बिरामी ठिक भएर १५ वर्षपछि भेट्दा निकै आनन्द लागेको उनले सुनाए। 

रोग दोहोरिँदा विदेश जाने सपना भताभुंग

उनले अर्को रोग दोहोरिएको घटना सुनाए। डा. कृृष्णप्रसादसँग मिर्गौलाको उपचार गराएर ठिक भएका युवा २ वर्षअघि उनलाई भेट्न पुगेका थिए। उदयपुरका २० वर्ष उमेर भएका ती युवाले विदेश जाने योजना बनाएका रहेछन्। उनी स्वास्थ्य अवस्था परीक्षण तथा सुझावको लागि डा. कृष्णप्रसादलाई भेट्न पुगेका थिए।

उनलाई भेटेर ती युवाले भने, ‘डाक्टरसा’ब म त अब दुबई जान लागेको छु। ठिक छु।’ 

डा. कृष्णप्रसादले उनको स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाए। स्वास्थ्य परीक्षण भयो। तर, दुर्भाग्य ती युवामा फेरी मिर्गौलाको समस्या दोहोरियो। उनको विदेश जाने सपना भताभुंग भयो। डा. कृषणप्रसादले भने, ‘त्यो बाबुलाई औषधि उपचारपछि सञ्चोचाहिँ भयो। विदेश नजान सल्लाह दिएँ। विदेश गएनन्।’

डा. कृष्णप्रसाद कतिपय रोग दोहोरिने भएकाले हेलचेक्रयाइँ नगर्न सुझाउँछन्।

शिविरमा उपचार गरेका बिरामी भेटिँदा...

उनले २०६९ सालमा लमजुङमा स्वास्थ्य शिविरमा जाँदाको एउटा रमाइलो घटना पनि सुनाए। चितवनका एक जना फार्मेसी काम गर्ने व्यक्ति पनि त्यो टिममा औषधि वितरणका लागि पुगेका थिए। 

डा. कृष्णप्रसादलाई भेटेपछि ती वयस्क भइसकेका व्यक्तिले भने- डाक्टरसा’ब म १४ वर्षको हुँदा निमोनिया भएर कान्तिमा भर्ना हुँदा तपाईंले मेरो उपचार गर्नु भएको थियो।

०००

यस्तै, घटना छाेरीसँग पनि घटेकाे उनले सुनाए- 

छाेरी बानेश्वरको निजामती अस्पतालमा कार्यरत डाक्टर हुन्। एक दिन अस्पतालको क्यान्टिनमा खाजा खान जाँदा छाेरीले आफ्ना साथीसँग म कान्तिमा काम गरिरहेकाे बारेमा गफ गरेकी रहिछिन्।

त्यसपछि क्यान्टिनमा काम गर्ने एक जना कर्मचारीले छोरीलाई सोधेछन्˗ डा. कृष्णप्रसाद विष्टलाई चिन्नुहुन्छ ? 

छोरीले जवाफ दिइन्- मेरो बुबा हुनुहुन्छ।

त्यसपछि ती कर्मचारीले आफूले मबाट मिर्गौला रोगको उपचार गराएकाे बताइन्।

बिरामी बचेको कुरा सुन्दा आफूलाई थप ऊर्जा मिल्ने गरेको उनले सुनाए। 

१९ असार, २०७८, १५:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।