उकेरा कोलम

डा नवीनको प्रश्न : स्वास्थ्यकर्मी सहरमा मात्र बस्ने अनि गाउँका बिरामीलाई कसले हेर्ने?


३५ वर्षीय डा. नवीन दर्नाल प्युठान जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुन्। कोरोना भाइरस सङ्क्रमण बढेसँगै सङ्क्रमितको उपचार तथा व्यवस्थापनमा व्यस्त छन् उनी। दुर्गममा रहेको स्वास्थ्य संस्थाको नियति, न पर्याप्त जनशक्ति, न स्वास्थ्य सामाग्री, न भौतिक संरचना नै हुन्छ। डा. दर्नालले पनि कोभिड˗१९ व्यवस्थापनमा त्यो चुनौतीसँग मुकाबिला गरिरहेका छन्।

प्युठान जिल्ला अस्पतालमा ५० बेडमध्ये कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि २० वटा आइसोलेसन बेड, ५ वटा एचडियु बेड सञ्चालनमा रहेको डा. नवीनले बताए। अस्पतालमा नियमित सेवा पनि सुचारु रहेको उनले सुनाए।

तर, जिल्ला अस्पतालमा आइसियु तथा भेन्टिलेटर छैन। गम्भीर किसिमका बिरामीलाई एचडियुमा बाइप्याट मेशिनको सहायताले उपचार गर्ने गरेको उनले सुनाए।

आइसियु तथा भेन्टिलेटर आवश्यक पर्ने गम्भीर किसिमका कोरोना सङ्क्रमित बिरामीलाई दाङ, बुटवल र नेपालगन्जका अस्पतालहरूमा समन्वय गरी पठाउने गरेका छन्। डा.नवीनले भने,‘आइसियु चाहिनेलाई अन्य अस्पताल पठाउँछौँ तर, बेड नपाउँदासम्म यहीँ हाइफ्लो अक्सिजनमा राख्छौँ।’ 

दुर्गमको जाँच

प्युठान जिल्ला अस्पतालमा दैनिक ३०-४० जना ज्वरो क्लिनिकमा आउँछन्। अस्पतालमा एन्टिजेन विधिबाट कोरोना भाइरसको परीक्षण हुने गरेको छ।

ज्वरो क्लिनिकमा पुगेका बिरामीमध्ये दैनिक १४-१५ जनाको स्वाब सङ्कलन गरेर ऐन्टिजेन परीक्षण गरिने र एन्टिजेन परीक्षण गरिएकामध्ये करिब ६० प्रतिशतमा सङ्क्रमण पुष्टि भइरहेको उनले बताए।

‘चेक गरेका ६० प्रतिशतमा पोजेटिभ देखिन्छ,’ डा. नवीनले भने,‘पोजेटिभ आएका तर लक्षण नभएकाहरूलाई सम्बन्धित पालिकाको निगरानीमा होम आइसोलेसनमा पठाउँछौँ।’ एन्टिजेन परीक्षणमा पोजेटिभ आएका र लक्षण पनि देखिएका सङ्क्रमितलाई भने अस्पतालमा भर्ना गरेर उपचार गरिने गरेको उनले सुनाए।

जिल्लामा पिसिआर मेशिन नभएकाले पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर नजिकका ठाउँहरू दाङ, नेपालगन्ज वा बुटवल पुर्याउनुपर्ने बाध्यता रहेको उनले बताए। 

दैनिक स्वाब जम्मा गरेर पठाउन कठिन हुने तथा रिपोर्ट आउन एक हप्तासम्म लाग्ने गरेको उनले सुनाए। डा. नवीनले भने,‘त्यहाँ पनि चाप भएकाले आज पठायो भने रिपोर्ट आउन पनि ४-५ दिन देखि एक हप्ता लागेको अवस्था छ।’ 

पिसिआरको रिपोर्ट ढिलो आउने भएकाले रिपोर्ट आउँदा बिरामी डिस्चार्ज हुने, बिरामीको स्वास्थ्य अवस्था जटिल हुनसक्ने तथा कतिपय बिरामीको मृत्युको नै जोखिम हुने उनले बताए। 

त्यसैले पहाडी जिल्लामा एन्टिजेन परीक्षण जस्तो छिटो छरितो विधि नै अपनाउँदा बिरामीले समयमा नै उपचार पाउने उनको अनुभूति छ। ऐन्टिजेन नेगेटिभ तर, लक्षण देखिएका  व्यक्तिको स्वाब भने पिसिआर परीक्षणका लागि पठाइने गरेको उनले बताए। 

डा. नवीनले प्युठान अस्पतालमा वैशाख ६ गतेपछि जेठ ७ गतेसम्म ८२ जना कोरोना सङ्क्रमित भर्ना भएर उपचार गरेको जानकारी दिए। जसमा ५३ जना निको भएको, ६ जनालाई अन्य अस्पतालमा रिफर गरिएको र ९ जनको मृत्यु भएको उनले बताए। डा.नवीनले शुक्रवार भने,‘आज १४ जनाले सेवा लिइराख्नुभएको छ।’

२० देखि ४० वर्ष उमेर समूहका व्यक्ति नै बढी सङ्क्रमित देखिने गरेको उनले बताए।

जनशक्तिको अभाव, स्वास्थ्य सामाग्री र संरचना चुनौती

जिल्ला अस्पतालमा बसेर काम गर्दा जनशक्ति अभाव अर्को चुनौती हो। विज्ञ जनशक्तिको  अभाव थप चुनौती हो। डा. प्युठान अस्पतालमा करिब ३५-४० जनाको दरबन्दी भए पनि ३० जना स्वास्थ्यकर्मी मात्र छन्।

अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्रीको पनि  अभाव छ। काम गर्न चाहिने औजार र उपकरण पनि हुँदैन। पहिल्यै स्टकमा स्वास्थ्य सामाग्री नराखे स्वास्थ्य सामाग्रीको अभाव भइहाल्छ।

सुरुमा कोरोना सङ्क्रमितको उपचारका लागि पिपिई लगायत स्वास्थ्य सामाग्रीको अभाव भए पनि अहिले भने त्यो समस्या केही हदसम्म समाधान भएको उनले सुनाए। 

डा. नवीनले भने,‘पहिला स्वास्थ्य सामाग्रीको अभाव सृजना भएको थियो। प्रदेश सरकारले बजेटको व्यवस्थापन गरेपछि केही राहत भएको छ।’

तत्काललाई बिरामीको सेवाका लागि भौतिक संरचनाको पनि अभाव बेहोर्नु परेको उनले सुनाए। उनले भने,‘आइसोलेसन बनाउँछु भन्दा पर्याप्त ठाउँ छैन।’ भौतिक संरचना पुराना र जीर्ण भएको उनले बताए। 

केही समयअघि अक्सिजनको अभाव भए पनि अहिले भने नगरपालिका, उद्योग वाणिज्य संघ, डिसिसिएमसी लगायत जिल्लाको सहयोग भएकाले हाल अक्सिजनको व्यवस्थापन भएको उनले बताए। दैनिक बुटवल र नेपालगन्जबाट अक्सिजन ल्याउने गरेको उनले सुनाए। अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापनाका लागि अस्पताललाई डेढ करोड बजेट छुट्टाएकाले करिब डेढ महिनापछि अक्सिजन प्लान्ट स्थापना हुन सक्ने नवीनले बताए।

अस्पताल दैनिकी

उनी बिहान करिब १० बजे अस्पतालको आइसोलेसनमा पुगेर उपचाररत कोरोना सङ्क्रमितको अवस्था बुझ्छन्। खटिएका डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीसँग छलफल तथा परामर्श गर्नु उनको अहिलेको दैनिकी हो। रिफर गर्नुपर्ने अवस्थाका बिरामीलाई अस्पतालसँग समन्वय गरी रिफर गर्छन्।

त्यसपछि स्वास्थ्य उपकरण कति छन् स्टोरमा गएर हेर्छन्। उनी दिन भरी नै अस्पतालको व्यवस्थापनमा जुट्छन्। 

कतिपय बिरामीको उपचारका क्रममा नै मृत्यु हुन्छ। त्यो बेला मृतकको आफन्तसँगलाई परामर्श  गर्छन्। मृतकको शव व्यवस्थापनको लागि समन्वयमा जुट्छन्। प्रदेश तथा केन्द्रमा अस्पतालमा भएका कोभिडका बिरामी लगायतका विषयमा रिपोर्टिङ गर्छन्। सहयोग तथा समन्वयमा जुट्छन्। 

भीम अस्पतालको कोरोना व्यवस्थापन

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, बिजी डाँडामा जन्मिएका नवीनले वि.सं २०५७ सालमा अर्घाखाँचीको जनज्योति माविबाट एसएलसी उत्तीर्ण गरे। त्यसपछि प्लस टु रुपन्देही जिल्लाको बुटवलस्थित तिलोत्तमा क्याम्पसबाट २०६० सालमा उत्तीर्ण गरे।

नवीनले बाँके जिल्लाको नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजबाट २०६८ सालमा एमबिबिएस अध्ययन पूरा गरे।

एमबिबिएस उत्तीर्ण भएकै वर्ष उनी मेडिकल अधिकृतको रूपमा कपिलवस्तुको पिपरा अस्पतालमा करारमा जागिरे भए। कारार जागिर सुरु गरेको करिब २ वर्षमा मेडिकल अधिकृत ८ औँ तहमा स्थायी सरकारी चिकित्सकका रूपमा जागिरे भए।

त्यसपछि गृह जिल्ला अर्घाखाँची जिल्ला अस्पतालमा पोस्टिङ भए। अघाखाँचीपछि उनी एमडी अध्ययन गर्न थाले। 

डा. नवीनले २०७६ सालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्री तथा प्रसूति रोग विषयमा स्नातकोत्तर अध्ययन गरेका छन्। एमडी अध्ययनपछि स्त्री तथा प्रसूति रोग विशेषज्ञ भएर रुपन्देही जिल्लाको भैरहवास्थित भीम अस्पतालमा पुगे।  भीम अस्पतालमा पुगेपछि  २०७६ सालमा नै उनी ९ औँ तहमा मेडिकल सुपरिटेन्डेन्ट बढुवा भए।

उनी भैरहवाको भीम अस्पताल पुगेपछि कोरोना सङ्क्रमण सुरु भयो।  भीम अस्पतालमा करिब १ वर्ष काम गरे। अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको नेतृत्वदायी भूमिका सम्हाल्दै डा. नवीनले कोभिडको व्यवस्थापन गरेका थिए। 

उनले भने,‘म असोजतिर गएँ। चैतबाट त्यहाँ कोभिड सुरु भयो। मेरै नेतृत्वमा कोभिड व्यवस्थापन सुरु भयो।’

एक वर्ष अगाडी कोभिड अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्न निकै चुनौती थियो। स्वास्थ्यकर्मी नै कोरोना भाइरस भनेपछि त्रसित हुने अवस्था थियो। 

कोरोना सङ्क्रमित बिरामीको उपचारमा खटाउनुभन्दा पहिले चिकित्सकलाई मानसिक रूपमा तयार पार्न कठिन थियो। डा. नवीनले गत वर्ष कोरोना अस्पताल सुरु गर्दाको अनुभूति सुनाए,‘सुरुमा त गाह्रो भयो नि। स्वास्थ्यकर्मी पनि एकदम त्रसित हुनुहुन्थ्यो।’ 

स्वास्थ्यकर्मीलाई पिपिई जस्ता स्वास्थ्य सुरक्षाका सामाग्रीको कमी हुन नदिने प्रयास गरे। डा. नवीनले कोरोना संक्रमणबाट बचेर सेवा दिने विषयका बारेमा तालिमको व्यवस्थापन गरे।

स्वास्थ्यकर्मी पनि स्वास्थ्य सुरक्षामा विश्वस्त भए। त्यतिखेर भीम अस्पतालमा आकस्मिक र प्रसूति (डेलिभरी) बाहेक कोरोना सङ्क्रमितको उपचारका लागि व्यवस्थापन गरिएको उनले बताए। डा. नवीनले कोभिडका लागि भीम अस्पतालमा ५० बेडको व्यवस्थापन गरे। 

आफू भीम अस्पतालमा रहँदा करिब २ सय ५० जना कोरोना सङ्क्रमित बिरामी उपचारपछि फर्किएको उनले बताए। डा. नवीनले भने,‘म हुन्जेल कोही स्टाफ इन्फेक्सन पनि हुनुभएन। कोरोना सङ्क्रमित बिरामीको मृत्यु पनि भएन।’

राम्रो तालिम र पिपिइको व्यवस्था भएकाले नै आफू भीम अस्पतालमा हुँदासम्म कोही पनि स्वास्थ्यकर्मी सङ्क्रमित नभएको उनको तर्क छ।

भीम अस्पतालमा ज्वरो आएका बिरामीका लागि छुट्टै ज्वरो क्लिनिक थियो। अन्य बिरामीका लागि छुट्टै। स्वास्थ्यकर्मी र अन्य व्यक्तिमा कोरोना सङ्क्रमण हुन नदिन कोरोना सङ्क्रमित बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी र कोरोना बाहेकको बिरामीको उपचारमा खटिने बिरामीका लागि स्वास्थ्यकर्मीको छुट्टाछुट्टै टिमको व्यवस्थापन गरेको उनले सुनाए। 

उनले भने,‘कोरोना सङ्क्रमित र अन्य बिरामीका लागि हिँड्ने बाटो पनि छुट्टै व्यवस्थापन गरियो।’

कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले १४ दिन ड्युटी गरेपछि १४ दिन आइसोलेसनमा बस्ने व्यवस्था गरेको उनले सम्झिए। अस्पतालमा स्वास्थ्यकर्मीको सङ्ख्या कम भए पनि कोरोनाको चेन ब्रेक गर्न व्यवस्थापन पक्षलाई निक्कै ध्यान दिइएको उनले सुनाए।

भीम अस्पतालपछि उनी सरुवा भएर जिल्ला अस्पताल प्युठान पुगेको करिब ६ महिना भयो। 

दुर्गमको कामले सन्तुष्टि

जिल्लाका दूर दराजमा सामान्य रोगमा पनि हेलचेक्राई गर्दा व्यक्तिको ज्यान जाने अवस्था छ। त्यसैले स्वास्थ्यकर्मीहरू सहर केन्द्रित मात्रै हुन नहुने उनको मत छ। 

डा. नवीन भन्छन्,‘स्वास्थ्यकर्मी सहरमा मात्र बस्दा गाउँका बिरामीलाई कसले हेर्ने?’ दुर्गममा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई सरकारले थप प्रोत्साहन गर्नुपर्ने उनको तर्क छ। 

दुर्गममा बसेर काम गर्दा सामान्य नागिरकको अवस्थाका बारेमा नजिकबाट अध्ययन गर्न पाइने भएकाले त्यहाँको समस्या सम्बोधनका लागि नीति निर्माण तहमा बसेर काम गर्न सकिने उनले बताए।

दुर्गममा जनशक्तिसँगै स्वास्थ्य उपकरण र भौतिक संरचनामा ध्यान दिए स्वास्थ्य सुविधा विस्तारमा सहज हुने उनको सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....