डा जेबिनाको अनुभव : महिला चिकित्सक देखेपछि जँचाउन आएका पुरुष कुरा बङ्ग्याउन थाल्छन् 

डा जेबिनाको अनुभव : महिला चिकित्सक देखेपछि जँचाउन आएका पुरुष कुरा बङ्ग्याउन थाल्छन् 

काठमाडौँ : सार्वजनिक स्थानको माहौल हेर्दा नेपालमा अझै पनि कोरोना सङ्क्रमणको जोखिम छ र भनेझैँ माहौल देखिन्छ। मास्क हराउँदै छ मुहारमा। 

काठमाडौँको नक्सालमा रहेको ‘द स्किन क्लिनिक पुग्दा भने फरक दृश्य देखियो। डा. जेबिना लामा मास्क मात्र लगाएर हैन, गाउन, फेससिल्ड अनि पिपिई सेटमा बिरामी जाँच्दै थिइन्।

सौन्दर्य तथा छाला रोग विशेषज्ञ हुन् उनी। दुई वर्षको छोरो छ उनको। बिहानदेखि बेलुकासम्म काममा ब्यस्तहुँदा छोरालाई समय दिन नभ्याउँदा थक्क थक्क लाग्छ उनलाई।

डा. जेबिनाले भनिन्,‘बच्चालाई समय दिन नसक्दा मनै खिन्न हुन्छ।’ घरमै बसेर हुर्कँदै गरेको छोरालाई अनेक सिकाउने रहर छ उनमा। तर पेसागत जिम्मेवारीले भ्याउँदिनन्। रहर मनैमा अड्किइरहेको छ उनको।

गर्भवती हुँदा पनि त्यत्ति फुर्सद पाइनन् उनले। छालासम्बन्धी समस्या लिएर क्लिनिक आउनेको समस्या समाधानमै सक्रिय थिइन् अघिल्लो दिनसम्म। भोलिपल्ट व्यथा लाग्यो।

बच्चा जन्मिएको १२ दिनमै उनी पुन क्लिनिक फर्किइन्। उनले सुनाइन्,‘बच्चा पाउने एक दिन अगाडी पनि काम गर्दै थिएँ। बच्चा जन्मिएको १२ दिनमा म काम गर्न हिँडिहाले ।’ उनले बच्चा क्लिनिकमै ल्याएकी थिइन्।

छाला र सौन्दर्यको समस्या लिएर आउनेको उपचारपछि बच्चा भएको ठाउँमा पुगिहाल्थिन्।

थकित भएर साँझमा घर पुग्दा रिस उठ्छ

उनी सामान्यतः बिहान ७ बजेभित्र उठिसक्छिन्। छोरालाई खाना खुवाउँछिन्। छोराका लागि दिनभरि चाहिने सबै सामाग्रीको बन्दोबस्त मिलाउँछिन्।

अनि नास्ता गरेर करिब ९ बजे कामका लागि निस्किन्छिन्। छोराको हेरचाहमा डा. जेबिनाका सासू र ससुरा जुट्छन्। एक जना सहयोगी पनि छन् घरमा।

क्लिनिकमा पुगे लगत्तै दिनभर व्यस्त। दैनिक छालाजन्य समस्या लिएर क्लिनिकमा पुग्ने करिब ६० जना बिरामीलाई  परामर्श तथा उपचार गर्छिन्। उनले भनिन्,‘दिनमा १५ जना जतिको उपचार गर्छु।’

बाहिर खाना खान मन लाग्दैन। घर जान भ्याउँदिनन्। घरको खाना क्लिनिकै आइपुग्छ। १ बजेतिर खाना खान्छिन्।  पहिला नर्भिकमा समेत पुग्थिन् उनी। कोरोनापछि भने त्यता जान छाडेकी छन् उनले। 

बेलुका ७ बजेतिर घर पुग्छिन् उनी। घर पुगेपछि छोरालाई हो समय। दिनभरको कामले थाकेको ज्यान। २ वर्षको छोरालाई के थाहा आमा थाकेर आएकी छिन् भन्ने। उनलाई कहिलेकाहीँ झर्को लाग्छ। तर बच्चालाई समय दिन नसकेकोमा आफैसँग रिस पनि उठ्छ रे।

क्यान्सर जितेकी आमैले घरमा खाना, सुकुटी उपहार

चिकित्सा शिक्षा उनले चीनमा लिएकी हुन्। चीनमा एमडी गर्दा उनले हेरेको छालाको क्यान्सरको एउटा केस उनी कहिल्यै भुल्दिनन्। ७३ वर्षकी चिनिया आमैको नाकमा घाउ भएको थियो। 

कयौँ अस्पताल धाउँदा पनि ठिक भएको रहेनछ। घाउ बल्झिएर दुःख दिइरहन्थ्यो। घाउको उपचारमा भने मलहम मात्र दिइरहेका रहेछन्। डा. जेबिनाले उनको त्यो घाउको बायोप्सि परीक्षण गराएपछि थाहा भयो,त्यो सामान्य घाउ नभई क्यान्सर  रहेछ। धन्न त्यो फैलिने खालको थिएन।

उपचारपछि घाउ निको भयो। क्यान्सरबाट मुक्त भइन्, आमै। नाकको घाउ ठिक भएपछि बुढी आमै खुसी हुने नै भइन्। उनले डा. जेविनालाई दुई दिन घुमाउन लगिछन् परिवारका साथ। डा. जेबिनाले सम्झिन्,‘घुमाउन लानुभयो। घरमा नै बोलाएर खाना खुवाउनुभयो।’ चीनमा रहँदा बुढी आमैले डा. जेबिनालाई ड्राइमिट उपहार पठाइरहन्थिन्। 

डन्डिफोरको दुःख

डन्डिफोर उमेरजन्य समस्याको रूपमा लिइन्छ नेपालमा । तर सबै समस्या उमेरका कारण मात्र हुन्न। उनले एक घटना सुनाइन्।

करिब २५ वर्षकी युवती  अनुहारभरि डन्डिफोर लिएर ऊनीकोमा उपचारका लागि आइन्। औषधि खाए अलि कम हुने, छाड्यो कि फैलिहाल्ने। अनुहारै बिगारिसकेको थियो डन्डिफोरले।

स्वास्थ्य परीक्षणमा युवतिको ओभरीको समस्या देखियो। यही समस्याले डन्डिफोर आएको रहेछ। करिब एक वर्षको उपचारपछि युवतिको समस्या समाधान भयो। समस्या समाधानपछि अहिलेसम्म पनि ती युवती उनलाई भेट्न आइरहिन्छन्।

दीदीभाई डाक्टर र पाइलट

३८ वर्षीय डा. जेबिना काठमाडौँको थापाथलीमा जन्मिएकी हुन्। उनले ललितपुरको हात्तीबनस्थित ‘लिटिल एन्जल्स स्कुल’ बाट सन् १९९९ मा एसएलसी उत्तीर्ण गरिन्। उनकी आमाको चाहना छोराछोरी नै पाइलट बनुन् भन्ने थियो। बुबाको चाहना डाक्टर बनुन् भन्ने थियो।

सानैबाट बाबुआमाको चाहना सुन्दै हुर्किइन्। एसएलसीमा अब्बल नम्बर आयो। प्लस टु मा साइन्स पढिन्। त्यसपछि डाक्टर पढ्ने आँट आयो उनमा। 

‘बाबुआमाको चाहना सुन्दै हुर्किएकाले मेडिसिन पढ्छु भन्ने बिचार त थियो। तर सकिन्छ सकिन्न भन्ने अन्योल त भइहाल्छ। एसएलसीमा राम्रो नम्बर आएपछि भने सकिन्छ भन्ने लाग्यो।’ 

संयोग उनको भाइको मन पाइलटतिर तानियो। अनि त आमाबुबा दुवैको इच्छा पुरा भयो। उनी चिकित्सक भइन्, भाइ पाइलट।

प्लस टु पछि जेबिनाले एमबिबिएस अध्ययनका लागि चीनको ‘सिचुवान युनिभर्सिटी’मा एप्लाई गरिन्। अध्ययनका लागि छात्रवृत्ति पाइन्।

सुरुमा एमबिबिएस अध्ययन गर्न कठिन भयो उनलाई । कारण,–एमबिबिएस अध्ययनसँगै चिनिया भाषा पनि पढ्नुपर्ने। पढाई त अङ्ग्रेजीमै हुन्थ्यो। तर प्रयोगात्मकमा चिनिया भाषा नजानी बिरामी कसरी जाँच्नु ?

त्यसैले चिनिया भाषा नसिकी सुखै भएन। चिनिया भाषा परीक्षामा उत्तीर्ण नभए सर्टिफिकेट नै नपाइने। 

चीनमा परम्परागत मेडिसिनलाई पनि निक्कै प्राथमिकता दिइन्छ। एमबिबिएसको तेस्रो वर्षको कोर्समा परम्परागत चिनिया औषधीबारे अध्ययन गरिन् उनले। त्यो कोर्समा चिनिया जडीबुटीको प्रयोग कसरी हुन्छ ? चिनिया जडीबुटीको अवधारणा के हो? भन्ने पढाई हुन्थ्यो।

शव हेर्दा डर

एमबिबिएस अध्ययन गर्दा पहिलो वर्ष नै एनाटोमीको कोर्स पढ्नुपर्यो। यो कोर्समा शव चिरफार गरेर मानव शरीर अध्ययन गर्नुपर्छ। उनलाई शव हेर्दा सुरुमा त निक्कै डर लाग्यो रे। पाँच जना विद्यार्थीलाई एउटा शव। अध्ययनको पहिलो दिन पुरुषको शव परेको थियो। उनले भनिन्,‘बुढो शव थियो। शवको अनुहार हेर्नै सकिन्न।’

शव राख्दा भिजाएको रसायन ह्वास्सै  गन्हायो। साथी नभई नजिक जानै डराइन् रे उनी। तर बिस्तारै बानी पर्दै गयो। बानी नपारी सुख पनि त भएन। अध्ययनको विषय नै त्यही परेपछि गर्नु त पर्यो।

सन् २००६ मा एमबिबिएसको अध्ययन सकाएर उनी नेपाल फर्किइन्। नर भिक अस्पतालमा काम गर्न थालिन्। करिब ३ वर्ष नर्भिकमा काम गरेपछि एमडी अध्ययनका लागि चीन नै पुगिन्।

एमडीमा भाषाको तनाव

एमडी अध्ययनअघि चिनिया भाषाको परीक्षा दिनुपर्थ्यो। एमबिबिएस अङ्ग्रेजीमा पढे पनि एमडी भने चिनिया भाषामा नै पढिन्। एमडीको कोर्समा कक्षामै कमै बस्नुपर्ने। अधिकांश अभ्यासमै समय बित्थ्यो। 

उनले सन् २०१४ मा ४ वर्षे एमडी उतिर्ण गरिन्। एमडी गर्दा असाध्य रिसर्च हुने उनको अनुभव छ।

एक जना बिरामी अस्पताल आएदेखि उसको रोग निर्मूल नभएसम्म उसमा के के भयो ? कुन कुन विधि अपनाएर उपचार भयो सबै  अध्ययन गर्नुपर्थ्यो। केस स्टडी गर्दा विभिन्न ल्याब टेस्टदेखि कस्तो उपचार गर्ने सबै जिम्मा एमडिकै विद्यार्थीको हुन्थ्यो। 

उनले सुनाइन्,‘बिरामी निको नहुन्जेल बिरामीको साथमा नै हिँड्नुपर्थ्यो।’ 

उनका प्राध्यापक असाध्य कडा थिए रे। एमडी पढ्दा चिनिया नयाँ वर्ष बाहेक अन्य कुनै दिन बिदामा बस्न पाइनन् रे उनले।

उनले एमबिबिएस र एमडी गरी चीनमा करिब १० वर्ष अध्ययनमा बिताइन्। उनीहरू एमबिबिएस अध्ययन गर्दा विदेशी विद्यार्थी खासै थिएनन्। तर, पछिपछि बङ्गलादेश, पाकिस्तान, मलेसिया, अमेरिका, क्यानडाका विद्यार्थीहरू चीन आउन थाले।

हल्का मेकअप 

उनी आफैँ छाला तथा सौन्दर्य सम्बन्धी चिकित्सक आफ्नो सौन्दर्यबारे चैँ कत्तिको सचेत छिन् त ? अनुहारको सुन्दरताका लागि बिहान सामान्य किसिमका सनस्क्रिन, मोश्चराइजर क्रिम लगाउँछिन्। कस्मेटिक सामाग्री प्रयोग गर्दा गुणस्तरमा सजग हुनुपर्ने उनको सुझाव छ। उनी मेडिकेटेड कस्मेटिक प्रयोग गर्छिन्। 

उनी प्राय औपचारिक पोसाकमै देखिन्छन्। गर्मीमा हलुका किसिमका पाइन्ट, सर्ट उनको रोजाइमा पर्छन्। उनलाई कालो र सेतो रङ्ग खुब मन पर्ने रहेछ।

उनी भनिन्छन्,–ड्रेसले व्यक्तित्व झल्कन्छ। चिकित्सकले ड्रेसमा ध्यान दिनुपर्छ जस्तो लाग्छ।’ चिकित्सकीय विद्याको प्रकृति अनुसार कम्फर्टेबल ड्रेसमा ध्यान दिनुपर्छ जस्तो लाग्छ उनलाई।

पुरुष बिरामी हिचकिचाउँछन्

डा. जेबिनाले एमडी गरेपछि थाइल्यान्डको महिडोल युनिभर्सिटीबाट सुन्दरता सम्बन्धी फेलोसिप पाइन्। त्यहाँ गएर ‘एस्थेटिक’ ट्रेनिङ लिइन्। त्यसैले उनी रोग भन्दा बढी सौन्दयसँग सम्बन्धी समस्या बढी हेर्छिन्। यौनजन्य समस्या त्यत्ति हेर्दिनन् उनी। तर आएका विरामी फर्काउँदिनन्।

उनले भनिन्,‘छाला रोग विशेषज्ञ भन्दैमा सबै रोग हेर्नुपर्छ भन्ने छैन। म एन्टि एजिङ एक्सपर्ट हुँ।’

नेपालमा सकेसम्म पुरुष बिरामी पुरुष चिकित्सककोमा अनि महिला बिरामी महिला डाक्टरको परामर्श गर्न जाने चलन छ। त्यसमाथि पनि यौनजन्य रोगको सवालमा त पुरुषले पुरुष नै र महिलाले महिला नै डाक्टर खोज्छन्।

कहिलेकाहीँ पुरुष बिरामी यौनजन्य समस्या लिएर ऊनीकोमा आइपुग्छन्। तर समस्या भन्न निकै हिचकिचाउँछन्। ‘ उनीहरू झुक्किएर म कहाँ आउने रहेछन्। डक्टर महिला हो भनेपछि खुलेर समस्या भन्नै सक्दैनन्। कुरा बङ्ग्याउन थाल्नुहुन्छ। तर, हामी बुझ्छौँ।’

१५ फागुन, २०७७, १४:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।