उकेरा कोलम

…त्यसपछि डा. ढुण्डीराजको नाम सुन्नेवित्तिकै केपी ओली आगो भए


नाक, कान घाँटी रोग विशेषज्ञ डा. ढुण्डीराज पौडेललाई सरकारी जागिरको उत्तरार्धमा भने तितो अनुभूति भयो।

डा. ढुण्डीराजले वीर अस्पतालमा काम गरिरहेको बेला २०७६ सालमा राजीनामा दिए। राजीनामा त दिए तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनको राजीनामा मन्त्रिपरिषदबाट स्वीकृत नै गरिदिएनन्।

डा. गोविन्द केसीले जुम्लाबाट सुरु गरेको १४औं अनसनलाई सघाएको भन्दै डा. ढुण्डीराजप्रति ओली आगो भएका रहेछन्। जुन बेला डा. ढुण्डीराज नेपाल चिकित्सक संघमा वरिष्ठ उपाध्यक्षको भूमिकामा थिए।

त्यतिबेला डा. केसीलाई अनसन फिर्ता लिन अनुरोध गर्न जुम्ला पुगेका थिए, डा. ढुण्डीराज। तर ओलीका निजी चिकित्सक डा. दिलिप शर्माले डा. केसी र ओलीबीच फोनमा कुरा गराउन डा. ढुण्डीराजलाई दबाब दिए। ‘तर डा. केसीले प्रधानमन्त्री ओलीसँग कुरा गर्न मान्नुभएन,’ उनले सुनाए, ‘आदेशात्मक दबाब दिन खोजियो।’

डा. शर्मासँग फोनमा कुरा गरिरहेको बेला डा. शर्मासँगै रहेका अर्का व्यक्तिले यो डाक्टरलाई त ठिक गर्नुपर्ने रहेछ भन्ने आवाज सुनेका थिए डा. ढुण्डीराजले।

ओलीको त्यो बेलाको तुष राजीनामा दिँदा मन्त्रिपरिषदले स्वीकृति नदिएपछि मात्रै डा. ढुण्डीराजले थाहा पाए। डा. ढुण्डीले दिएको राजीनामापत्र वीर अस्पतालबाट सनाखत भएर स्वास्थ्य मन्त्रालय हुँदै मन्त्रिपरिषद पुग्यो। तर ओली उनको राजीनामापत्र देख्नेवित्तिकै आगो भए। 

‘प्रस्ताव क्याबिनेटमा जानुपर्दोरहेछ,’ डा. ढुण्डीराजले सुनाए, ‘केपी ओली त मेरो नाम सुन्ने वित्तिकै आगो भएछन्।’ त्यसपछि उनको राजीनामापत्र स्वीकृत नभई फर्कियो। डा. ढुण्डीराजले किन राजीनामा मागेछ भनेर ओलीले सोधखोज गरेछन्। 

ओलीको पूर्वाग्रहले गर्दा अस्पतालबाट सनाखत गराएर पठाएको राजीनामापत्र पनि स्वीकृत नभएको रहेछ। यो विषय प्रधानमन्त्री कार्यालयकै उच्च तहका कर्मचारीले सुनाएको उनी बताउँछन्। 

पछि तत्कालीन स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई हटाएर ओलीले भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्री बनाए। स्वास्थ्य मन्त्री भएपछि एक दिन मन्त्री ढकाल ढुण्डीराजकहाँ कान जँचाउन पुगे। ढकालले उनीसँग राजीनामा स्वीकृति नहुँदा लाज भएको भन्दै राजीनामा स्वीकृतिका लागि पहल गर्ने आश्वासन दिएछन्।

तर, ढकाललाई पनि ओलीको डर। ढकालले ढुण्डीराजको मात्रै नाम लैजाँदा ओलीले स्वीकृति नगरिदिने भन्दै अरु १/२ जनाको पनि राजीनामापत्र थपेर मन्त्रिपरिषद् लाने आश्वासन दिए उनलाई।

पछि ढुण्डीराजसहित अन्य दुई जनाको राजीनामापत्र मन्त्रिपरिषद् पुगेछ। जसमा एक जना अर्जुननरसिंह केसीका ज्वाइँ र अर्का विष्णु पौडेलको नाम थपिएछ। 

तर, फेरि पनि डा. ढुण्डीराजको नाम देखेपछि ओली सन्किएर राजीनामा स्वीकृत गर्नै मानेनछन्। अहिले निवर्तमान भएका तत्कालीन मन्त्रीहरुले डा. ढुण्डीराजसँग लाचारी प्रकट गर्दै त्यो घटना सुनाउने गरेको उनले बताए। 

राजीनामा स्वीकृत नभएपछि यो विषय कांग्रेस पार्टीमा पनि फैलिएछ। हल्लिखल्लीपछि उनको राजीनामा स्वीकृत भयो। २०७६ वैशाखमा मागेको राजीनामा एक वर्षपछि २०७७ साल साउनमा मात्रै स्वीकृत भएको डा. ढुण्डीराजले सुनाए।

अरु दुई जना चिकित्सक र तत्कालीन मन्त्री ढकाल लगायतको सहयोगले आफ्नो राजीनामा स्वीकृत भएको उनले सुनाए। 

ओलीले सजिलो गरी जागिर छोड्न नदिई अवकाशपछि सुविधा नपाउने किसिमले जागिर छोडाउन खोजेको डा. ढुण्डीराजको तर्क छ। उनले सुनाए, ‘त्यसलाई सुविधा नपाउने गरी बर्खास्त गरिदिनु भनेका रहेछन्। ओली निकै धुर्त रहेछन् भन्ने मैले त्यतिबेला थाहा पाएँ।’

उपेन्द्र यादव स्वास्थ्य मन्त्री हुँदा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा उपकुलपतिका लागि पनि उनले आवेदन पेस गरेका थिए। छनोटमा डा. देवनारायण साह उपकुलपति भए भने उनी दोस्रोमा परे।

सधैं खाना खुवाउने शिक्षकलाई माओवादीले मारे

डा. ढुण्डीराज २०५४ सालमा दोलखाको जिरी जिल्ला अस्पतालमा कार्यरत थिए। 

त्यो बेला तत्कालीन विद्रोही माओवादीले सधैं गएर खाना खाने घरका दोलखाका खड्का थरका शिक्षकलाई मारेका रहेछन्। 

यस्तो रहेछ घटना–

सधैंजस्तै त्यो दिन पनि माओवादीहरु ती शिक्षकको घरमा खाना खान गएका थिए। एक दिन माओवादीले खाना खाइरहेका बेला ती शिक्षकलाई काममा हिंड्न हतार भएछ। शिक्षकले माओवादीलाई तपाईंहरु खाएर जानु भन्दै घरबाट निस्केछन्।

माओवादीहरु पनि शिक्षकको घरमा खानपान गरेर निस्किए। तर शिक्षकको घरमा खाना खाएर तामाकोशी किनारैकिनार बाटोमा जाँदा माओवादी र प्रहरीबीच जम्काभेट भयो। दोहोरो भिडन्त भयो। केही माओवादी मारिए। केही बाँचे। डा. ढुण्डीराजले भने, ‘जम्काभेटमा केही माओवादी मारिएछन्। केही नदीमा हाम फालेछन्।’

बाँचेका माओवादीले आफूले खाना खाने घरका ती नै शिक्षकले प्रहरीलाई सुराकी गरेर आफ्ना साथीहरु मारिएको भन्ने ठानेछन्। माओवादीहरुले भिडन्त भएको केही दिनमा नै ती शिक्षकलाई विद्यालयमा पढाइरहेको अवस्थामा बोलाएर टाउको फुटाएर मारेछन्।

माओवादीले मारेका ती शिक्षकको पोष्टमार्टम डा. ढुण्डीराज पौडेलले गरे। त्यही बेला उनले शिक्षक मारिएको विषयमा चासो लिए। उनले सुनाए, ‘टिचरलाई विद्यालयबाट बोलाएर टाउको फुटाएर मारेछन्। पोष्टमार्ट मैले गरें।’ 

गफगाफको क्रममा प्रहरीलाई ती शिक्षकले सुराकी गरेको हो र? भनेर सोध्दा प्रहरीले अस्वीकार गरेको उनी बताउँछन्।

माओवादी आफैंले गएर खानपान गर्ने घरका ती शिक्षकलाई सुराकी गरेको भन्ने ठानेर मारेको त्यो घटना सम्झँदा अहिले पनि मन चस्स हुने उनी सुनाउँछन्। त्यो बेला जिरी अस्पतालमा उनी एक जना मात्रै चिकित्सक थिए।

११ वर्षमा विद्यालयमा पाइला

२०१८ सालमा बागलुङको कुस्मिसेरामा जन्मिएका ढुण्डीराजले ११ वर्षको उमेरमा विद्यालयमा पाइला टेकेका हुन्। सिधै ६ कक्षामा विद्यालय भर्ना भएका उनले त्यसअघि घरैमा आनौपचारिक रुपमा बुबा, दाइ, दिदीसँग पढ्न सिके। संस्कृत अध्ययन गरे। 

छोरालाई संस्कृत अध्ययन गराउने बुबाको उद्देश्य थियो। तर ढुण्डीराजको बाल मष्तिस्कमा भने विद्यालय गएर पढ्ने र ठूलो मान्छे बन्न रहर थियो। 

छोराको रहर अनुसार नै बुबाले चितवनको ‘पञ्चकन्या निमावि’ मा ६ कक्षामा भर्ना गरिदिए। गणित राम्रो जान्ने भएकाले शिक्षकले प्रवेश परीक्षा लिँदा ७ कक्षामा नै भर्ना गर्न तयार भए। तर गाह्रो हुन्छ भनेर ६ मा नै उनी भर्ना भए र ७ कक्षासम्म त्यहीं पढे। 

६ कक्षामा भर्ना हुनुअघि २०२३ सालमा नै उनको परिवार बागलुङबाट चितवन बसाइँ सरिसकेको थियो।

८ कक्षादेखि उनी चितवन, रत्ननगरस्थित ‘नेपाल मावि’ पढ्न थाले। त्यहींबाट २०३४ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् ढुण्डीराजले। पढाइ राम्रो भएका उनी हिसाब मिलेन भने राति सुत्दै उठ्दै हिसाब गर्थे। उनले सुनाए, ‘सपनामा हिसाब मिलाएको देख्थें। अनि जुरुक्क उठेर टुकी बालेर हिसाब गर्दा ठ्याक्कै मिल्थ्यो।’

प्रमाणपत्र तहमा भूमिगत आन्दोलन

एसएलसीपछि ढुण्डीराज अध्ययनका लागि काठमाडौं आए। त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज क्याम्पसमा प्रमाणपत्र तहमा ‘सामान्य चिकित्सा’ विषयको अध्ययनका लागि प्रवेश परीक्षा दिए। छनोट भएर अध्ययन थाले।

ढुण्डीराज महाराजगञ्ज क्याम्पसमा सामान्य चिकित्सा विषयको अध्ययन गरिरहेको अवस्थामा २०३६ सालमा पञ्चायत विरुद्ध विद्यार्थी आन्दोलन चर्कियो। जतिबेला उनी १७/१८ वर्षका थिए। ढुण्डीराज पनि नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध भए। २०३५ सालमा उनी महाराजगञ्ज क्याम्पसमा सचिवको भूमिकामा रहेर समेत पञ्चायतविरुद्ध आन्दोलनमा होमिए। ढुण्डीराजले भूमिगत रुपमा पञ्चायतविरुद्ध आन्दोलन गरेको सुनाए। उनले भने, ‘३६ सालको आन्दोलनमा अग्रज भूमिकामा नै थियौं।’ 

२०४९ सालमा राम्रै अंक ल्याएर प्रमाणपत्र तह उत्तीर्ण गरे। आन्दोलनका कारण प्रमाणपत्र तह अध्ययनको समय अवधि लम्बियो। त्यो बेला हड्तालका कारण धेरै प्रभावित भयो।

प्रमाणपत्र तह अध्ययन गरिसकेपछि एमबिबिएस अध्ययनका लागि पाँच वर्ष काम गर्नुपर्ने नियम भएकाले उनले तुरुन्तै एमबिबिएस पढ्न पाएनन्। 

त्यसैले ढुण्डीराजले प्रमाणपत्र तह सक्नेवित्तिकै हेल्थ असिस्टेन्ट (एचए) का रुपमा अस्थायी जागिर खाए। उनको पहिलो पोस्टिङ दाङ जिल्ला भयो। उनी त्यस क्षेत्रमा झाडापखाला एवं संक्रामक रोग नियन्त्रणका लागि खटिए। जागिरेका रुपमा रोल्पा, रुकुम, शल्यान लगायतका जिल्ला पुगे। २०४२ सालमा उनी  स्थायी जागिरे भए। 

आन्दोलनले गोलमाल पढाइ

एमबिबिएस पढ्न ढिला हुँदा उमेर घर्किने हो कि भन्ने चिन्ताले ढुण्डीराजलाई सताएको थियो।

तर, त्यही समयमा बिकम (स्नातक) तहको पनि परीक्षा दिएर उत्तीर्ण गरेकाले डाक्टर पढ्न पाइनँ भने सरकारी सेक्सन अफिसरमा जागिर खान्छु भन्ने सोच बनाएका थिए उनले। 

नभन्दै रसुवाको हेल्थपोस्टमा काम गर्दा नै २०४४ सालमा एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा भयो। परीक्षा दिए। ढुण्डीराजको प्रवेश परीक्षामा पहिलो नम्बरमा नै नाम निस्कियो। 

‘वर्षाको मौसममा रसुवाबाट हिंड्दै काठमाडौं आएर हेरेपछि नाम निस्किएको थाहा पाएँ,’ उनले भने। 

एमबिबिएस अध्ययन गर्न पाउने भएपछि उनी बडो खुसी भए। भर्ना भएर पढ्न थाले। तर २०४६ सालको आन्दोलनले फेरि पढाइमा बाधा पुग्यो। डा. ढुण्डीराजले भने, ‘२०४६ सालको आन्दोलनले पढाइ लटरपटर भयो।’ 

२०४६ को आन्दोलनमा पनि महाराजगञ्ज क्याम्पस नेविसंघ एकाइ अध्यक्षको भूमिकामा रहेर काम गरे उनले। आन्दोलनको प्रभावका कारण एमबिबिएस अध्यनका लागि ६ वर्ष लाग्यो। डा. ढुण्डीराजले २०५० सालमा एमबिबिएस उत्तीर्ण गरे।

एमबिबिएसपछि एउटा संस्थाबाट पूर्वी अफ्रिकाको डिबुटी भन्ने ठाउँमा पुगेर ९ महिना काम गर्दा मनग्ये आम्दानी भएको उनले सुनाए। 

२०५० सालमा बाढी-पहिरो जाँदा ताप्लेजुङ, सर्लाहीमा उद्धारका लागि खटेको देखेका जापानिजले डा. ढुण्डीराजलाई पूर्वी अफ्रिका लिएर गएका रहेछन्। 

अफ्रिकाबाट फर्किएर २०५१ सालमा उनले संखुवासभाको चैनपुरस्थित स्वास्थ्य केन्द्र (हेल्थ सेन्टर) मा डेढ वर्ष काम गरे। संखुवासभापछि उनी सरुवा भएर वीर अस्पताल पुगे। २०५२ सालमा नै निर्वाचित भएर नेपाल चिकित्सक संघको सहसचिवका रुपमा काम गरे उनले। 

वीर अस्पतालपछि २०५४ सालमा उनले दोलखाको जिरी जिल्ला अस्पतालमा गएर करिब १ वर्ष काम गरे। 

अध्ययनको भोक मरेकै थिएन। त्यसैले जिरीबाट फर्किएर २०५५ सालमा महाराजगञ्ज क्याम्पसमा एमडी एमएस (नाक, कान, घाँटी सम्बन्धी) अध्ययन थाले। एमडी एमएसमा राम्रो भएको उनी सुनाउँछन्।

मन्त्रीलाई घुक्र्याउँदा वीरमा सरुवा

एमडी एमएस अध्ययनपछि उनी २०५९ सालमा भरतपुर अस्पताल पुगे। भरतपुरमा २०६८ सालसम्म करिब ९ वर्ष काम गरे। भरतपुरपछि दाङको घोराहीस्थित उपक्षेत्रीय अस्पताल पुगे। त्यहाँ अस्पताल विकास समितिको अध्यक्षको भूमिकामा समेत काम गरे।

डा. ढुण्डीराजले २०७१ सालसम्म दाङमा नै बसेर काम गरे। बढुवा हुँदै ११औं तहमा पुगे। दाङमा ११औं तहको दरबन्दी थिएन। त्यसैले २०७१ मा सरुवा भएर २०७५ सम्म ४ वर्ष उनले वीर अस्पतालमा काम गरे। 

वीर अस्पतालमा सरुवा हुँदाको एउटा प्रसंग सुनाए डा. ढुण्डीराजले। प्रसंग यस्तो रहेछ–

बढुवा भएपछि कहाँ पोस्टिङ हुने भन्ने अन्योल थियो। त्यो बेला तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारी दाङको घोराही पुगेका थिए। त्यही क्रममा डा. ढुण्डीराज काम गरिरहेको उपक्षेत्रीय अस्पताल पुगेछन्, मन्त्री। अधिकारीले कहाँ पोष्टिङ हुने त? भनेर डा. ढुण्डीलाई सोधे?

उनले जहाँ खटाए पनि जान्छु भन्दै घुर्की पारामा जवाफ फर्काए। 

डा. ढुण्डीराजको जवाफपछि डा. खगराजले दाङमा राम्रो काम गर्नुभएको रहेछ। वीर अस्पतालमा नाक, कान, घाँटीको सेवा पनि राम्रो हुन्छ भनेर वीर अस्पतालमा भएका अर्का डाक्टरलाई सरुवा गराएर खगराजले आफूलाई पोष्टिङ गराएका थिए। 

डा. ढुण्डीराजले भने, ‘वीर अस्पतालमा मैले मागेको पनि हैन। त्यहाँ अर्कै डाक्टरको दरबन्दी थियो। उहाँलाई अन्तै सरुवा गरेर मलाई पोस्टिङ गराइयो।’

वीरमा सरुवा भएपछि उनी नाक, कान, घाँटी विभागको प्रमुखको रुपमा काम गर्न थाले।

सुध्रेन वीर

वीर अस्पतालमा आफ्नो विभागको सेवा सुधारका लागि प्रयास गरे पनि सफल नभएको उनको अनुभव छ। वीर अस्पतालका कर्मचारीमा अनुशासन नै नभएकाले अस्पताल सुध्रन कठिन भएको उनले तर्क गरे। काम गर्ने चिकित्सक तथा कर्मचारीको कामको मूल्यांकन पनि नहुँदा वीरमा सोचे अनुसारको काम गर्न नसकेको उनी बताउँछन्। 

सिनियरलाई छोडेर जुनियर डाक्टरलाई निर्देशक लगायतका विभागीय जिम्मेवारी दिँदा काम नै नहुने गरेको अनुभव डा. ढुण्डीराजसँग छ। चिकित्सा विज्ञान प्रतिष्ठान र वीर अस्पतालबीच सधैं द्वन्द्व पैदा हुने गरेकाले अस्पतालमा काम नै प्रभावित हुने गरेको उनी बताउँछन्।

अधिकांश समय उपत्यका बाहिर बिताएका उनले वीर अस्पताल पुग्दा त्यहाँको अवस्था देखेर दिक्क लागेको सुनाए। लाखौंमा किनिएका आधुनिक उपकरण सामान्य मर्मत नभई उपयोगमै नआई थन्किएका थिए। बल्लतल्ल सप्लायर्ससँग रोइकराइ गरेर मेसिन प्रयोगमा ल्याए उनले।

वीर अस्पतालको अवस्था नसुध्रिएको देख्दा अहिले पनि चिन्ता लाग्छ रे डा. ढुण्डीराजलाई। एसियाकै पुरानो अस्पतालमा अहिले मिर्गौला, कलेजो, फोक्सोदेखि मुटु समेत प्रत्यारोपण नियमित रुपमा भइरहनुपर्ने उनको धारणा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....