उकेरा कोलम

डा दिनेश, जसले स्टेथेस्कोप छाडेर चक-डस्टर समाए, त्यसैमा ४१ वर्ष रमाए

२०३७ देखि शिक्षण पेसा अँगालेका उनी ४१ वर्षसम्म निरन्तर यो पेसामा रमाइरहेका छन्। ६४ वर्षीय प्रा.डा. दिनेशलाई लाग्छ उनले बिरामीको उपचार नगरे पनि सयौँ विद्यार्थी पढाएँ। उनीहरू आज बिरामीको सेवामा जुटिरहेका छन्। कुशल चिकित्सक भएका छन्।


प्रा. डा. दिनेश बाँस्तोलाले दिनरात अस्पतालमा बिताउँदा आफ्नो जीवनशैली नै अस्तव्यस्त भएको अनुभव गरेपछि बिरामी जाँच्ने पेसा छोडेर शिक्षण पेसातिर लागे।

एमबिबिएस र एमडी अध्ययनका क्रममा आँखा झिमिक्क  गर्न नपाई लगातार ३६ घण्टा अस्पतालमा खट्नुपर्थ्यो। न खाने ठेगाना, न सुत्ने ठेगाना।

अस्पतालमा खटिँदा अति निन्द्रा लाग्यो भने एक, डेढ घण्टा कुर्सिमा बस्नेबाहेक झिमिक्कै निदाउनै नपाएको अनुभव सुनाउँछन्। उपचारपछि बिरामी ठिक हुँदा त आनन्द आउने, तर उपचार सफल नहुँदा झन् तनाव हुने उनले सुनाए।

जीवनै अस्तव्यस्त भएको अनुभव भएपछि उनले बिरामी जाँच्न छाडेर चिकित्सक उत्पादनतिर लागे।

'३४ देखि ३६ घण्टासम्म लगातार खट्नुपर्थ्यो। आँखा झिमिक्कै गर्न पाइँदैनथ्यो,’ डा. दिनेशले भने' अस्पतालमा खट्दा न खाने समय मिल्ने, न सुत्नको समय। सधैँ तनामा काम गर्नुपर्थ्यो। म यसरी तनावपूर्ण जीवन बाँच्न सक्दिन भनेर आफ्नो लाइन परिवर्तन गरेँ।’

एमडी अध्ययनपछि उनी उपचार गर्न छोडे र शिक्षण पेसातिर लागे।

अनमेल विवाह

डा. दिनेशले विसं २०४८ सालमा दिपेश्वरा नेपालसँग प्रेम विवाह गरे। दिनेश भन्दा दिपेश्वरा १२ वर्ष कान्छी। 'हाम्रो अनमेल विवाह हो,' डा. बाँस्तोलाले भने' विवाह गर्दा म ३४ वर्षको थिएँ। उनी २२ वर्षकी थिइन्।’

एसएलसीसम्मको अध्ययन गरेकी दिपेश्वराले विवाहपछि नै थप अध्ययन गर्न थालेकी रहिछन्। उनलार्ई चिकित्सक विषय  अध्ययनका  लागि दिनेशले प्रोत्साहित गरे। दिपेश्वराले पनि मेहनत गरिन्।

तर दुवै एकै पेसामा हुँदा दैनिकी धपेडीमय भयो। दुवैको काम जति बेला पनि तयार भएर बस्नुपर्ने। दिनेशले पढाइलाई एक विन्दुमा पुर्‍याइसकेका थिए। दिपेश्वराको बाँकी नै थियो। दिनेशसँग अप्सन थियो शिक्षण। उनी त्यता लागे।

'श्रीमतीको शिक्षालाई अगाडी बढाउनु थियो। उनी पनि चिकित्सक भएकाले घर गृहस्थी हेर्नुपर्ने भयो। डा. दिनेशले भन'मेरो शिक्षालाई भन्दा पनि उनको (श्रीमती)को शिक्षालाई बढी महत्त्व दिएँ।’

उपचारमा संलग्न हुँदा सधैँ धपेडी। प्राय तनावमै हुने दुवै। कमसेकम एक जनाको कामको प्रकृति बदलिए दैनिकी सहज होला कि भनेर दिनेश आफैँले पढाउनतिर लागे।

उनी शिक्षणतिर लागे। श्रीमती बिरामी जाँच्ने। उनको निश्चित समय हुन्थ्यो पढाउने। श्रीमतीको अनिश्चित।  निश्चित समय तालिकाका कारण सन्तान हुर्काउन उनले राम्रै समय पाए।

अहले डा. दिपेश्वरा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत कान्ति बाल अस्पतालको बाल रोग विभागमा प्राध्यापक छन्।

निराशाको कठिन घडी

दिनेशको दैनिकी चालिरहेको थियो। एक्कासि उनको स्वास्थ्यमा समस्या निम्तियो। विसं २०६४ मा उनलाई हृदयाघात भयो। मुटुको समस्याका कारण उनी महाराजगन्ज स्थिति शिक्षण अस्पतालको आइसियु कक्षमा  भर्ना हुनुपर्यो । त्यसपछि उनले नियमित औषधि सेवन गर्न थाले।

उनको मनमा अव बाँचिँदैन कि जस्तो पनि लाग्यो रे। आफ्नै मृत्युको गणना गर्न थाले उनी।

डा. बाँस्तोलाले बिरामी हुँदा मनमा खेलेका कुरा सम्झिए,अहिले नै मरेँ भने त श्रीमती र छोराछोरीको बेहाल हुन्छ। जसरी पनि २०-२५ वर्ष त बाँच्नुपर्नेछ भन्ने लागेको थियो।’

उनले आफ्नो आयुको हिसाब गरे। र, निष्कर्षमा पुगे,˗ राम्रो औषधि उपचार भए २५ वर्ष त बाँचिन्छ।

त्यसपछि चिकित्सकको सल्लाह बमोजिम काठमाडौँको सहिद गङ्गालाल राष्ट्रिय केन्द्रमा २०७० मा उनको मुटुको शल्यक्रिया (खुला मुटु शल्यक्रिया) भयो। उनले मुटुको शल्यक्रिया गर्नु अघि र पछिको क्षण सुनाए,बाँच्छु जस्तो लागेको थिएन। निराशाको घडी कठिन हुँदो रहेछ। तर, बाँचे।’

महामारीमा पहिले पनि स्वास्थ्यकर्मी भयभित थिए

करिब ३४ वर्ष अघि एचआइभीको सङ्क्रमण हुँदा अहिलेको कोरोना सङ्क्रमितलाई जस्तै व्यवहार हुने गरेको उनले अनुभव सुनाए।

एचआइभी एड्स, सार्स कोरोना भाइरस, मर्श कोरोना भाइरस, स्वाइन फ्लु, वर्ड फ्लु लगायतका रोगको महामारीको अवस्थामा चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मी तथा व्यक्ति भयभीत हुने गरेको उनले सुनाए।

महामारीको समयमा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले समेत सङ्क्रमितलाई छुन डराउने गरेको उनको अनुभव छ। तर, बिस्तारै त्यस्ता सङ्क्रामक रोगको व्यवस्थित उपचार हुँदै गएपछि स्वास्थ्यकर्मीसँगै अन्यको पनि आत्मबल बढ्दा बिस्तारै रोग सामान्य लाग्दै जाने उनले सुनाए।

नयाँ रोग आउँदा सबैलाई डर हुन्छ। स्वास्थ्यकर्मी पनि मानिसै हुन्। उनीहरू पनि डराउँछन्,' उनले भने' वातावरण अनुसार बिस्तारै रोगसँग फेमिलिएर भइन्छ। आत्मबल बढ्छ। यो कोरोनाकलामा पनि भएको त्यही हो। अहिले जटिल अवस्था छ। बिस्तारै अवस्था सामान्य बन्दै जान्छ।'

उनले भने,उपचार विधि फरक भए पनि उपचार सिद्धान्त एउटै हुन्छ ।’

पिँडी, आँगन र चौतारो शिक्षा

दिनेशले ऋषि पञ्चमीका दिन कपाल काटेर अक्षरारम्भ गरेका रहेछन्। त्यो बेला कपाल काटेर अक्षरारम्भ गर्ने परम\परा रहेछ। पीढी, आँगन र चौतारो शिक्षाको चलन थियो।

‘हामी पढ्न सुरु गर्दा स्कुल, पाठशाला थिएनन्,उनले त्यो बेलाको गाउँमा अध्ययन गरेको शिक्षा प्रणाली सुनाए,गाउँका जान्ने, बुझ्ने मान्छेले पिँढीमा राखेर पढाउँथे। केटाकेटी अलि धेरै भए भने आँगनमा राखेर पढाउँथे। अझै धेरै भए भने चौतारामा पढाउने चलन थियो।’

२०१४ साल असोजमा कास्कीको ह्याङ्जामा जन्मिएका दिनेश ६ कक्षासम्म ह्याङ्जाकै ऋषि कुल आश्रममा अध्ययन गरे।   २०३२ सालमा कास्कीको पोखरास्थित राष्ट्रिय उच्च माविबाट दोस्रो श्रेणिमा एसएलसी उत्तीर्ण गरे।

त्यसपछि उच्च शिक्षाका लागि काठमाडौँ आए। उनलाई सानैदेखि चिकित्सा शिक्षामा रुचि थियो। गाउँमा औषधि उपचार नभएर अकालमा मृत्यु भएका घटना उनले सुनेका थिए। त्यसैले काठमाडौँ आएर महाराजगन्ज केन्द्रीय क्याम्पसमा फार्मेसी कार्यक्रमको प्रमाणपत्र तहमा भर्ना भए। उनले २०३७ सालमा फार्मेसी कार्यक्रमको प्रमाणपत्र तह उत्तीर्ण गरे।

प्रमाणपत्र तह उत्तीर्ण भएपछि उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सुर्खेत सिएमए क्याम्पस सुर्खेतमा सहायक प्रशिक्षकको रूपमा जागिरे भए।

नेपालको एमबिबिएस भारतमा मान्यता

नेपालमा २०३६ मा महाराजगन्ज केन्द्रीय क्याम्पसमा एमबिबिएस पढाइ हुन थाल्यो। तर, नेपालको एमबिबिएस अध्ययनलाई भारतमा मान्यता दिइँदैनथ्यो।

नेपालको एमबिबिएसले भारतमा मान्यता पाउन १२ वर्ष कुर्नुपर्‍यो। निक्कै मेहनतसाथ पहल गरेपछि २०४८ सालमा नेपालको एमबिबिएसले भारतमा मान्यता पाएको उनी बताउँछन्। त्यो बेला दिनेश एमबिबिएसको अन्तिम वर्षमा  अध्ययन गरिरहेका थिए।

डा. दिनेश २०४७ सालमा नेपाल मेडिकल स्टुडेन्टस् सोसाइटीको अध्यक्ष समेत भएका थिए। त्यही बेला आफूले भारतमा पनि नेपालको एमबिबिएसलाई मान्यता दिलाउन पहल गरेको अनुभव सुनाए उनले। उनले भने'राजदूत लगायत विभिन्न व्यक्तिलाई भेट्यौँ। अनुरोध गर्‍यौँ। त्यसपछि नेपालको एमबिबिएसले भारतमा मान्यता पायो।’

त्यो बेला भारतमा नेपालको एमबिबिएसलाई मान्यता दिलाउन गिराप्रसाद कोइराला, सुशील कोइराला र कृष्णप्रसाद भट्टराईको भूमिका अतुलनीय भएको उनले बताए।

एमबिबिएस अध्ययनपछि केही वर्ष काठमाडौँ र उपत्यका बाहिर विभिन्न अस्पतालमा डा. दिनेशले काम गरे। दिनेशले एमबिबिएसको अध्ययनपछि २०४८ सालमा विवाह गरेका दिनेशका जोडीको एक छोरा र एक छोरी जन्मिए।

विवाह भएको १० वर्षपछि २०५८ सालमा दिनेश थप अध्ययनका लागि भारततर्फ लागे। भारतको कर्नाटक पुगेर मनिपाल एकेडेमी अफ हायर एजुकेसन’ मा फिजियोलोजी विषय अध्ययनका लागि  एमडीमा भर्ना भए।

त्यो बेला नेपालमा फिजियोलोजी विषयको पढाइ हुँदैनथ्यो। उनलाई रुचि यही विषयको थियो। एमडी अध्ययनपछि उनले बिरामी जाँच्ने पेसा परिवर्तन गरेर शिक्षण पेसा अँगाल्ने निधो गरिसकेका थिए। २०६१ सालमा काठमाडौँ महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय चिकित्सा क्याम्पसमा उपप्राध्यापक जागिर खुलेको थियो। डा. दिनेशले पनि जागिरका लागि परीक्षा दिए। परीक्षाको नतिजा राम्रो आयो। उनी खुला प्रतियोगिताबाट छनोट भई क्लिनिकल फिजियोलोजी’ विभागमा स्थायी उपप्राध्यापकको रूपमा जागिरे भए।

उनी २०६८ सालमा पदोन्नति भएर सहप्राध्यापक पदमा बढुवा भए।  २०७६ सालमा डा.दिनेशले उमेर हदका कारण त्रिवि चिकित्सा क्याम्पसबाट अनिवार्य अवकाश पाए।

अवकाशपछि केही महिना आराम गरेर उनी प्राध्यापनकै लागि जुम्ला पुगेका छन्। २०७७ सालबाटै डा. दिनेश जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिष्ठानमा क्लिनिकल फिजियोलोजी विभागमा प्राध्यापकका रूपमा कार्यरत छन्।

चिकित्सा विज्ञानका ६ विषयमा स्नातकोत्तर विषयको कार्यक्रम सञ्चालन तथा चिकित्सा क्षेत्रका विभिन्न विषयको पाठ्यक्रम निर्माणमा पनि नेतृत्वदायी भूमिका खेलिरहेको उनले बताए।

राजनीतिमा चासो

त्यसो त उनलाई राजनीतिमा पनि निक्कै चासो थियो। त्यसैले त  २०३६ सालको विद्यार्थी आन्दोलनमा आफू पढ्ने क्याम्पसका वीद्यार्थीहरुको नेतृत्व लिँदै बहुदलको पक्षमा नारा घन्काउँथे।

२०४६ सालको जनआन्दोलनमा पनि बहुदलको पक्षमा सक्रिय भएर विद्यार्थी आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको उनी बताउँछन्।

उनले भने'त्यो बेला २१ दिनसम्म त्रिवि शिक्षण अस्पतालमा दैनिक एउटा मैनबत्ती थप्दै २१ दिनसम्म २१ वटा मैनबत्ती बालियो। त्यो आफ्नै खर्चमा गरेको थिएँ।’

२०६३ सालको जनआन्दोलनमा समेत आफूले चिकित्सकहरूको तर्फबाट नेतृत्वदायी भूमिका खेलेको उनी बताउँछन्। निदेश २०५७ सालमा नेपाल प्राध्यापक सङ्घको निर्वाचित केन्द्रीय सदस्य भएका थिए।

४१ वर्षदेखि शिक्षक

२०३७ देखि शिक्षण पेसा अँगालेका उनी ४१ वर्षसम्म निरन्तर यो पेसामा रमाइरहेका छन्। ६४ वर्षीय प्रा.डा. दिनेशलाई लाग्छ उनले बिरामीको उपचार नगरे पनि सयौँ विद्यार्थी पढाएँ। उनीहरू आज बिरामीको सेवामा जुटिरहेका छन्। कुशल चिकित्सक भएका छन्।

प्रा. डा. दिनेशले पढाएका विद्यार्थी उनिभन्दा माथिल्लो तहमा पुगिसकेका छन्। आफूले पढाएका विद्यार्थी आफूलाई भेट्न आउँदा आनन्द लाग्ने अनुभूति उनी सुनाउँछन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....