युवतीको शवबाट प्रेरणा लिएर क्यान्सर रोग विशेषज्ञ 

युवतीको शवबाट प्रेरणा लिएर क्यान्सर रोग विशेषज्ञ 
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौं : तपाईंले क्यान्सर रोग विशेषज्ञ बन्ने प्रेरणा कहाँबाट पाउनुभयो ?

क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यलाई यो प्रश्न सोध्दा अचम्मको उत्तर पाउनुहुन्छ। उहाँको उत्तर आउँछ– युवतीको शवबाट।  

घटना यस्तो रहेछ– 

रसियाको रसियाको ‘त्भेर स्टेट मेडिकल एकेडेमी’मा एमबिबिएस अध्ययनका क्रममा एक दिन प्राध्यापकले उनीसहित सबै विद्यार्थीलाई पोस्टमार्टम कक्षमा लगे। त्यहाँ आचार्यले एक युवतीको शव देखे। 

युवतीको मृत्युको कारण थियो– पाठेघरको डिम्बाशयको क्यान्सर। 

युवावस्थामै क्यान्सरबाट मृत्यु भएको देखेपछि उनले क्यान्सर रोगबारे विशेषज्ञता हासिल गर्ने अठोट लिए। 

उनले २०६४ सालमा क्यान्सर रोगमा एमडी गरे। र, अठोट पूरा गरे। 

‘रसियामा डरैडरमा डाक्टरी अध्ययन’ 

सन् १९९२, उनी एमबिबिएस अध्ययनका लागि रसिया पुगे। त्यति बेला उनको कलेज भएको ठाउँमा दिनदहाडै चोरी–डकैती, लुटपाट हुन्थ्यो। बाटोमा हिँडिरहेका विद्यार्थी कुटिन्थे। 

विद्यार्थीले बिनाकारण कुटिएको देखेका थिए उनले। ‘त्यति बेला एकदमै गुण्डागर्दी थियो। त्यहाँका गुण्डा विदेशीलाई देख्यो भने लुट्ने–कुट्ने गर्थे,’ उनले सम्झिए। 

त्यसपछि उनी दोस्रो वर्ष मस्को नजिकैको सहरमा सिफ्ट भए। रसियामा विश्वविद्यालय परिवर्तन गरेर पढ्न पाइन्थ्यो। 

दैनिक परीक्षा

त्यति बेला एमबिबिएसमा प्रत्येक दिन परीक्षा हुन्थ्यो। उनले भने, ‘रसियाको पढाइ नराम्रो भन्छन् नि। त्यस्तो होइन। आज पढ्यो भोलिपल्ट परीक्षा दिइहाल्नुपथ्यो।’ 

त्यहाँको एमबिबिएस पढाइको प्रणाली राम्रो भए पनि एउटा पक्ष भने उनलाई चित्त बुझेको थिएन। 

त्यति बेला प्रत्येक वर्षको फाइनल परीक्षामा उत्तरपुस्तिकामा लेखिसकेपछि प्राध्यापकले विद्यार्थीलाई प्रश्न गर्थे। विद्यार्थीले उत्तरपुस्तिका नहेरी जवाफ दिनुपथ्र्याे। विद्यार्थीको जवाफका आधारमा प्राध्यापकले नम्बर दिन्थे। र, पास वा फेलबारे त्यति खेरै थाहा हुन्थ्यो। 

प्राध्यापकले आफूलाई मनपर्ने विद्यार्थीलाई बढी र मन नपर्नेलाई कम नम्बर दिने सम्भावना भएकाले त्यो प्रणाली मन नपरेको उनी सुनाउँछन्। 

त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थी पढाइमा अब्बल भएकाले प्राध्यापकले मनपराउने गरेको उनले सुनाए। 

‘शवको चिरफारपछि खाना खानै मन लाग्दैनथ्यो’

एमबिबिएस अध्ययनका क्रममा एनाटोमी (शवको चिरफार) कोर्स गर्दा शव पहिलो पटक देखेका थिए उनले। 

कोर्समा शवको चिरफार गर्दै विभिन्न भागको अध्ययन गर्नुपथ्र्यो। ‘चिरफार गरेको दिन त हातले खाना खानै मन लाग्दैनथ्यो,’ उनले सुनाए। 

६ वर्षपछि फर्किए नेपाल

उनी ६ वर्षको एमबिबिएस अध्ययनपछि नेपाल फर्किए। आफूसँगै साथी नवीनचन्द्र गौतम पनि नेपाल फर्किएको उनले बताए। 

नविनचन्द्रकै कारण विवेकले रसियामा एमबिबिएस अध्ययन गर्न पाएका थिए। 

नवीनचन्द्रले रसियामा एमबिबिएस अध्ययनका लागि वार्षिक १४ हजार रूपैयाँमा पढ्न पाइने सुनाएपछि दुवैले एमबिबिएसका लागि अप्लाइ गरेका थिए। 

‘परीक्षाकाे ५ मिनेट अघिसम्म ओछ्यानमा’

नेपाल फर्किएपछि उनी वीर अस्पतालमा काम गर्न थाले। 

वीरमा काम गरिरहँदा २०५५ सालमा लोकसेवाको परीक्षा खुल्यो। उनले परीक्षा दिए। र, उत्तीर्ण भए। त्यसपछि २०५६ सालमा सरकारी जागिरे भई मेडिकल अफिसरका रूपमा वीर अस्पतालमा नै काम गर्न थाले। 

उनले परीक्षा दिँदाको रोचक घटना छ। उनले घटना सुनाए– 

त्यति बेला म बत्तीसपुतली बस्थे। परीक्षा केन्द्र डिल्लीबजारमा थियो। परीक्षा दिउँसो २ बजे तोकिएको थियो। तर, परीक्षा सुरु हुन ५ मिनेट अघिसम्म उनी सुतिरहेका थिए। पानी परिरहेकाले जाउँ कि नजाउँ भइरहेको थियो। पछि जाने निर्णय गरे। र, मोटरसाइकलमा हुइँकिएँ। र, २ बजेर १५ मिनेटमा परीक्षा केन्द्र पुगें। 

त्यो समयमा करिव १ सय ५० जना डाक्टरको माग भएकोमा करिव ९० जनाले परीक्षा दिएको उनी सुनाउँछन्। 

‘उत्तीर्ण भएकामध्ये करिव ३० जनाले मात्रै जागिर गरे,’ उनले सुनाए, ‘त्यो समयमा डाक्टरहरू सरकारी जागिरमा खासै आकर्षण थिएनन्।’

वीरपछि दैलेख सरुवा

वीर अस्पतालपछि उनी २०५८ सालमा दैलेख सरुवा भए। त्यहाँ उनले करिव तीन वर्ष काम गरे। 

दैलेखपछि सरुवा भएर ललितपुरको लगनखेलस्थित मानसिक अस्पताल पुगे। त्यहाँ करिब एक महिना काम गरे। 

एमडी अध्ययन

त्यसपछि एमडी अध्ययनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा परीक्षा दिए उनले। अध्ययनका लागि नाम निस्किएपछि उनले वीर अस्पतालकै अंकोलोजी विभागमा विद्यार्थीका रूपमा काम थाले उनले। र, २०६४ सालमा एमडीको अध्ययन पूरा गरे।

एमडीपछि वीर हुँदै भरतपुर क्यान्सर अस्पतालमा

एमडीपछि उनले क्यान्सर रोग विशेषज्ञका रूपमा वीर अस्पतालमा काम गरे। त्यसपछि करिब तीन वर्ष उनले चितवनको भरतपुरको क्यान्सर अस्पतालमा रहेर सेवा गरे। 

चितवनबाट फेरि वीरमै फर्किए। त्यसको केही समयपछि उनी क्यान्सर रोग विभागको प्रमुख भए, अहिले पनि छन्। 

‘मर्नेबारे सोध्छन् बिरामी’ 

उनी क्यान्सर लागेका बिरामीले मर्नेबारे सोध्ने गरेको बताउँछन्। 

क्यान्सर लागेका बिरामीले आफ्नो मृत्यु हुने समयबारे थाहा पाउन चाहे चिकित्सकले जानकारी दिन उचित हुने उनी बताउँछन्। उनले भने, ‘हाम्रो मेडिकल इथिक्समा भन्नुपर्छ।’

केही दिनअघि उनीसँग क्यान्सरको उपचार गराइरहेका ७४ वर्षका वृद्धाले सोधेछन्– डाक्टरसा’ब अब म कति समय बाँच्छु ? 

त्यसपछि डा. विवेकले ती वृद्धाकी छोरीसँग वृद्धालाई बचाउन सकिने समयबारे भनिदिए। पित्तथैलीको क्यान्सर भएका ती वृद्धाको क्यान्सर चौथो स्टेजमा पुगिसकेको छ। 

डा. विवेकले कति बिरामीलाई बचाएका छन्। तर, सबै बिरामी सन्चो हुन्छन् भन्ने छैन। 

केही वर्षअगाडि २० वर्षकी एक युवतीलाई लिम्फोमाको क्यान्सर भएको रहेछ। ती युवतीको क्यान्सर फैलिएर उपचार गर्दा पनि निको नहुने अवस्थामा पुगेको रहेछ। यसबारे ती युवतीले पनि थाहा पाएकी रहिछिन्। 

वीर अस्पतालमा पुगेकी ती युवतिले डा. विवेकलाई अनुरोध गरिछन्, ‘डाक्टरसा’ब म बाँच्दिनँ। मलाई किमो नदिनु। बाँचुञ्जेल सजिलो हुने औषधि मात्रै दिनु।’ 

केही दिनअघि फेरि ती क्यान्सरपीडित युवतीले डा. विवेकलाई भेट्न आमालाई पठाइछन्। र, आमासँग भनिन्, ‘अब म धेरै त बाँच्दै बाँच्दिनँ। मलाई कसरी सजिलै मार्न मिल्छ। सोधेर आउनु।’ 

डा. विवेकले ती युवतिलाई केही सहज हुने औषधि दिएका छन्। बिरामी युवती घरमा नै बसेकी छन्। अस्पताल बस्नै मान्दिनन्। 
यस्ता बिरामीलाई ‘सञ्चो’ बनाउन नसक्दा उनको मन कटक्क काटिन्छ।

त्यसो त उनले उपचारबाट बिरामीलाई बचाएका पनि छन्। 

करिव १० वर्षअघि विष्णु चाैलागाईंकी पत्नीलाई कानमा क्यान्सर भएको रहेछ। कानको क्यान्सर निकै जोखिमपूर्ण मानिन्छ। सामान्यतः चाँडै मृत्यु हुन्छ।

शल्यक्रियापछि अस्पतालमा डा. विवेककहाँ परामर्श तथा उपचारका लागि ति महिला गइछन्। डा. विवेकले जाँच गरे। कानमा अझै क्यान्सरका कोशिका थिए। त्यसपछि उनले थप उपचार गरे। र, महिलालाई सञ्चो भयो। 

त्यसपछि ति महिलाले निरन्तर डा. विवेकसँग परामर्श गरिरहन्छिन्। अहिले ती महिलासँग डा. विवेककाे पारिवारिकजस्तो सम्बन्ध छ। 

०००

डा. विवेक बेलैमा स्वास्थ्य जाँच र उपचार गर्न सुझाउँछन्। आयुर्वेद तथा प्राकृतिक चिकित्साका नाममा विभिन्न भ्रममा नपर्न उनको सुझाव छ।

आयुर्वेदले क्यान्सर ठिक हुने भए आयुर्वेद र आधुनिक चिकित्साका चिकित्सकबीचको समन्वयमा मात्रै उपचार गर्नु उचित हुने उनी बताउँछन्। उनले भने,‘साँच्चै आयुर्वेदले निको हुने भए प्राकृतिक चिकित्सकले त्यसको बारेमा डिस्कस गर्नुपर्छ।’

नेपालमा क्यासरका बिरामी बढिरहेको भए पनि यसको रोकथाम तथा उपचारका लागि अझै गहिरो अध्ययन अनुसन्धान तथा व्यवस्थापन लगायतको योजना आवश्यकता रहेको डा. विवेकको विचार छ।

‘बेलैमा क्यान्सरको उपचार गर्न सके बिरामी बचाउन सकिन्छ। तर, क्यान्सरको स्टेज जति पछि भयो उति मृत्युको जोखिम बढ्छ,’ उनी भन्छन्। 

२२ फागुन, २०७७, १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।