डा. चुमनको सुख-दुख : टाउकोमा बाहिरैबाट गिदी भुलुक्क भुलुक्क ...

डा. चुमनको सुख-दुख : टाउकोमा बाहिरैबाट गिदी भुलुक्क भुलुक्क ...
तस्बिर : कृष्पा श्रेष्ठ

डा. चुमनलाल दासको मानसपटलमा आइरहने जिल्ला हो खोटाङ जहाँ उनले २०६१ देखि २०६३ सम्म करिब दुई वर्ष काम गरे। जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा काम गर्दाका क्षण सम्झँदा उनी अहिले पनि डराउँछन्। १८ वर्ष भइसक्यो त्यो घटनाको सामना गरेको। तर जब उनी त्यो दिन सम्झन्छन् नि कहालिन्छन्।

घटना पनि त्यस्तै रहेछ।

कुरा २०६२ तिरको हुनुपर्छ। त्यो बेला तत्कालीन माओवादी विद्रोह उत्कर्षमा थियो। एक दिन जिल्लामा उपलब्ध स्वास्थ्य सेवा लिएर संयुक्त शिविर टोली सदरमुकाम दिक्तेलबाट खोटाङ बजारतिर निस्कियो।

जिल्ला विकास समितिको सभापतिको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी, सेना, प्रहरी, प्रशासन लगायतको टोली शिविरका लागि छुटेको थियो। टोलीमा करिब सय जना थिए। स्वास्थ्य शिविरको नेतृत्व डा. चुमनलालले गरेका थिए।

संयुक्त शिविर टोलिमा सबैभन्दा अगाडिको लाइनमा सेना हिँड्यो। बिचमा जिविस सभापति, सहायक सिडिओ तथा प्रशासनलगायतका कर्मचारी थिए। डा. चुमन बिचैमा थिए। सबैभन्दा पछाडि थिए प्रहरी। माओवादीले धराप थापेको हुनसक्ने भएर तर, उनीहरू मूल बाटो हिँड्दैनथे। गोरेटो अनि सहायक बाटाहरू हिँड्थे। मूलबाटो हिँड्दा माओवादीको आक्रमणमा पर्ने डर थियो।

खोटाङ बजार जाने क्रममा राती बिचमा बास बस्यो टोली। डाँडाका घरहरूमा बसाई थियो। वरिपरिबाट सेना र प्रहरीले रात भरी पहरा दिए टोलीलाई।

डा. चुमनको मनमा भने रातभर कुरा खेले,'डाँडाको घर छ। पल्लो डाँडाबाट माओवादीले हाने भने त सिधै गइन्छ।' फेरी आफैँ मन बुझाउँथे,'गइएछ भने पनि गइयो अब।'

बिहान भयो। तर, माओवादीले आक्रमण गरेनन्।

भोलिपल्ट सदरमुकामबाट हिँडेको टोली खोटाङ बजार पुग्यो। टोलीले जिम्मेवारी अनुसारको आ–आफ्नो शिविर गरे। डा. चुमनले पनि स्वास्थ्य शिविरमा बिरामी जाँच्ने अनि औषधि दिने काम गरे।

'राति बसेको बेला माओवादीले वरिपरिबाट फाइरिङ गर्थे। कतिखेर भिडन्तमा परिने हो ठेगान थिएन। डराउँदै बस्नुपर्थ्यो। शिविरमा पनि बिरामीको जाँच तथा उपचार गर्दा डरै डर हुन्थ्यो,' उनले भने।

शिविरको बसाइपछि टोली सदरमुकाम दिक्तेल फर्किन बाटो लाग्यो। तर, बाटो लागेको केही बेरमा नै माओवादी र सेना अनि प्रहरीबिच भिडन्त सुरु भयो।

एक जना माओवादी बाँसमा चढेछन्। सेनाले प्रहार गरेको गोली लागेर ती माओवादी भुईँमा ढले। ती गोली लागेर घाइते भएका माओवादीलाई खोटाङ सिम्पानी भन्ने ठाउँमा लगेर डा. चुमनको टिमले उपचार गर्यो। सामान्य चोट लागेको थियो। ठिक भयो।

त्यसपछि फेरी टोली अगाडि बढ्यो। खोटाङ बजारबाट सदरमुकाम फर्कँदा टोली बिच बाटोमा बास बस्यो। उनलाई सम्झना भएसम्म बास बसेको त्यो ठाउँ छितापोखरी हुनुपर्छ। भोलिपल्ट बिहान झिसमिसमै टोली बाटो लाग्यो।

टोली खोलामा पुग्यो। उनलाई लाग्छ त्यो खोला साप्सु हुनुपर्छ जुन खोलाबाट केही घण्टाको यात्रापछि सदरमुकाम दिक्तेल पुगिन्छ। खोलो झर्ने र खोलाबाट उक्लने दुवैतर्फ ओरालो र उकालो बाटो हिँड्नुपर्छ।

सेनाको टोली खोलो तरेर माथि डाँडामा पुगिसकेको थियो। पछाडि प्रहरीको टोली जङ्गलको तेर्सो बाटो हुँदै खोलातिर आउँदैथ्यो। बिहानको करिब दस बजेको थियो। डा. चुमनलगायतको टिम ठ्याक्कै खोलाको पुलमा पुगेको थियो।

खोलामाथि वारी र पारी डाँडामा सेना र माओवादीबिच दोहोरो फाइरिङ चलिहाल्यो। वारी र पारी भिडन्त हुँदा गोलिका खोका पुल र खोलामा झरेको देखिन्थ्यो।

टड्याङ टड्याँङ र टुङटुङ टुङटुङ गर्दै गोलिका खोका पुल र खोलाका ढुङ्गामा बजेको सुन्दा र देख्दा उनीसहित टिम अत्तालियो।

डा. चुमनले दायाँ बायाँ हेर्दा खोला तर्ने बित्तिकै एउटा मचान देखे। मचानमा कोही थिएनन्। सेना र प्रहरी बाहेकको टिम टाउकामा गोली झर्ला कि भन्ने डरले हातले टाउको छोप्दै अत्तालिँदै मचानमा कोचिए।

घोप्टो परेर टाउको लुकाउँदै मचानमा सुते उनी पनि। डा. चुमनले मचानमा मकैको बोरा देखे। त्यही मकैको बोराले टाउको लुकाएर सुते उनी पनि।

भिडन्तकै बिचमा सेना–प्रहरीको टिमले डा. चुमनलाल लगायतको टिमलाई त्यहाँबाट लिएर अगाडी बढ्यो। सायद त्यो ठाउँमा बस्नु असुरक्षित भएर हुनुपर्छ।

जङ्गलको उकालो बाटो। डरले खुट्टा लरबराउँदै उकालो हिँड्दा आफ्नै छेउमा गोली आइपुग्थे। छेउबाटै सेना, प्रहरीले फाइरिङ गरिरहेको हेर्दै उनीहरू अगाडि बढ्थे।

बाँच्नु त छ। तर ज्यानले साथ दिइरहेको थिएन। अर्ध चेतजस्तै अवस्थामा उनीहरूलाई समाउँदै सेना–प्रहरीले लिएर अगाडि बढ्यो। सेना–प्रहरीले नडराउनु भन्दै ढाडस दिइरहेको उनलाई याद छ। तर मन कसरी मानोस्। मर्नबाट त जसलाई नि डर लागिहाल्छ नि।

त्यो भिडन्तमा तीन जना माओवादीको मृत्यु भएछ। त्यसपछि केही बेर भिडन्त रोकियो। बल्ल-बल्ल डाँडामा पुग्यो टोली।

डाँडामा सबैले थकाइ मार्न बसेका मात्रै के थिए फेरी माओवादीले घेर्यो भन्ने थाहा भयो। तुरुन्तै जिल्लाबाट सेना–प्रहरीको ब्याकअप टोली मगाइयो। जिल्ला नजिकै पुगिसेकेकाले ब्याकअप टोली पनि आइहाल्यो।

पुन भिडन्त हुने भएपछि सेना र प्रहरी मात्रै बसेर अन्यलाई भने छिटो छिटो दिक्तेल पठाइयो। दिक्तेलबाट तीन वटा घोडा मगाइयो। एउटा घोडामा जिविस सभापति, अर्कोमा सहायक सिडिओ र तेस्रो घोटामा डा. चुमनलाई चढाइयो। सेनाका कर्णेल घोडामा चढेनन्। हिँड्दै गए।

केही घण्टामा नै डा. चुमन दिक्तेल पुगे। सेना प्रहरीको टिम पनि अघि पछि लागेर दिक्तेल पुग्यो। शिविरका लागि हिँडेको सबै टिम दिक्तेल पुग्यो। दिक्तेल पुगेपछि त उनले पुनर्जन्म नै पाएको अनुभव गरे।

डा. चुमनले लामा श्वास फेर्दै सोचे,'धन्य भगवान् बाँचेँ। दोस्रो जीवन पाएँ।'

रक्ताम्मे भएर सुत्केरी बचाउँदाको क्षण

खोटाङमा नै काम गर्दाको अर्को क्षण पनि डा. चुमन भुल्दैनन्। उनी बुईपामा भासेक्टोमी शिविर लिएर पुगेका थिए।

त्यो शिविरमा करिब ३० वर्षकी सुत्केरी महिलालाई ल्याइयो। ती सुत्केरी महिलाले सकुशल बच्चा जन्माएकी थिइन्। तर, अत्यधिक रक्तस्राव भइरहेको थियो।

हुन त ती महिलाको रक्तस्राव रोकेर बचाउन मुस्किल पर्ने ठानेका थिए डा. चुमनले। तुरुन्तै नजिक हस्पिटल लान पनि सम्भव थिएन। गाउँले अनि आफन्तले उनलाई आत्मबल दिए। त्यसैले डा. चुमनले सीमित स्रोत साधनका बावजुत महिलाको रक्तस्राव रोकेर बचाउने आँट गरे।

शिविरमा त्यति साधन त थिएनन्। तर, उनले हातले पाठेघरमा थिचेर महिलाको रक्तस्राव रोक्ने कोसिस गरे। हातले थिचेर यसरी रक्तस्राव रोक्ने विधिलाई चिकित्सकीय भाषामा ‘बाइम्यानुअल कम्प्रेशन’ विधि भनिन्छ।

न एप्रोन थियो। न लामो पन्जा थिए। छोटा पन्जा थिए। डा. चुमनको पुरै कपडा रगतले भिज्यो।

धन्य होस्। महिलाको रक्तस्राव रोक्न डा. चुमन सफल भए। महिलाको ज्यान बाँच्यो। केही घण्टापछि ती आमाले आफ्नो बच्चा काखमा लिइन्। सम्भवतः काखमा लिएको बच्चा महिलाको दोस्रो बच्चा थियो। र, आफ्नो बच्चा काखमा लिन पाएकोमा सुत्केरी आमाले तप्लक्क खुसीका आँसु खसालिन्। डा. चुमनले मनमनै आफ्नो चिकित्सकीय पेसा र विधिलाई धन्यवाद दिए।

युवाको टाउकोमा बाहिरैबाट गिदी भुलुक्क भुलुक्क गरेको देख्दा...

खोटाङकै च्यास्मिटारमा डा. चुमन स्वास्थ्य शिविर लिएर पुगेका थिए। एक जना करिब २२ वर्षका युवा लडेर टाउको फुटेछ। चोट लागेको टाउकोमा गिदी नै देखिरहेको थियो। बाहिरबाट हेर्दै पानी उमालेझैँ रगत भुलुक्क भुलुक्क गर्दै गिदी चलिरहेको देखिन्थ्यो। सङ्क्रमण भए मृत्युको जोखिम थियो।

घाइते युवा अर्धचेत थिए। घाइतेलाई तुरुन्तै अस्पताल लानुपर्ने थियो। अस्पताल लान उनले सल्लाह पनि दिए। तर, तुरुन्तै अस्पताल लान सक्ने अवस्था थिएन। त्यसैले डा. चुमनको चिकित्सकीय ज्ञान तथा सिपले भ्याएसम्म युवालाई त्यहीँ उपचार गरे। औषधि दिए। ड्रेसिङ गरे। पट्टि बाँधिदिए। स्लाइन पानी चढाए।

जुन घरमा डा. चुमन बसे त्यही घरमा ती घाइते युवालाई राखेर उपचार गरे। उनी लगायत शिविरमा गएको स्वास्थ्यकर्मीको टिमले घाइतेलाई छाडेनन्। २-३ दिनपछि युवालाई केही राम्रो भयो। त्यसपछि परिवार तथा गाउँलेले ती घाइते युवालाई अस्पतालमा लगे। त्यसपछि भने ती घाइते युवा तथा उनका आफन्तसँग डा. चुमनको सम्पर्क हुन सकेन।

तर, ती घाइते युवा ठिक भएको उनको विश्वास छ। किनकि डा. चुमनलाले उपचार गरेपछि बच्ने अवस्थामा पुगेका थिए युवा।

‘बेटा पढाई छाड्देऊ’

डा. चुमनलाल २०२३ सालमा मोरङको साबिक बरडंगा वडा नं ९ मा जन्मिएका हुन्। सामान्य परिवारमा जन्मिएका उनलाई बुवाले पढेर प्रगति गर्न नसकिने भन्दै पढाइ छाडेर खेतीपातीमै सघाउन भनेका थिए।

उनी बुवाले त्यो बेला भनेको शब्द अझै सम्झन्छन्,‘बेटा पढाई छाडिदेऊ। हामीजस्तोले पढेर जागिर खान सकिँदैन।’ तर, उनलाई जसरी पनि पढ्ने रहर थियो। जागिरै खाने रहर थियो।

आठ कक्षादेखि भने चुमनलाल गाउँभन्दा अलि टाढा आफन्तकोमा बसेर मोरङको रंगेलीस्थित ‘पब्लिक मावि’मा पढ्न थाले। पढ्नलाई खर्च जुटाउन कठिन थियो। आठबाट नौ कक्षामा जाँदा उनको नतिजा राम्रो आयो। त्यसैले नौ कक्षादेखि भने विद्यालयले नै उनलाई होस्टलमा निःशुल्क खाने, बस्ने व्यवस्था मिलाइदियो।

किताब, कापी निःशुल्क गरिदियो। चुमनले २०४० मा एसएलसी उत्तीर्ण गरे। चुमनलाई इन्जिनियर वा डाक्टर नै बन्ने सपना थियो। जुन सपनाको उत्तर खोज्दै जाँदा उनले सिएमए पढ्ने अवसर पाए।

चुमनले एसएलसीपछि सोधखोज गर्दै जाँदा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ‘धनकुटा सिएमए क्याम्पस’मा ‘सिएमए’ अध्ययन गर्ने मौका पाए। अध्ययन थाले। उनले २०४२ मा सिएमए अध्ययन पूरा गरे। नतिजा राम्रो भयो।

जागिर खान सक्छौ रभनेपछि...

सिएमए अध्ययन सके लगत्तै उनले सप्तरीको राजविराजमा जागिरको परीक्षा दिए। पहिलो नम्बरमा नै उनको नाम निस्कियो। चुमन २०४३ मा अहेबको रूपमा सरकारी जागिरे भए। उनको पहिलो पोस्टिङ ओखलढुङ्गाको ‘च्यानम हेल्थ पोस्ट’मा भयो।

तर, नियुक्ति पत्र लिन जाँदा ओखलढुङ्गाको च्यानममा कोही बसेका छैनन्, तिमि भर्खरका केटा छौ, कसरी काम गर्न सक्छौ र? दुर्गम छ, भन्दिए कर्मचारीले। जसको उनले जवाफ दिए,'आखिर नेपाल नै हो। म गएर काम गर्न सक्छु।'

त्यसपछि नियुक्ति पत्र झोलामा बोकेर सिराहाको मिर्चैयादेखि दुई दिन हिँडेर डा. चुमन ओखलढुङ्गा पुगे। पहिलो पटक जागिर खान पुगेका उनमा उमङ्ग नै थियो। सुरुमा नै इलाका हेल्थ पोस्ट प्रमुखको जिम्मेवारी दिइएको थियो।

चुमनलाई अहेबकै जागिरे भएर त जिन्दगी बित्दैन? भन्ने मनमा कुरा खेल्न थाल्यो। त्यसैले उनले थप अध्ययन गरेर अझै आफ्नो ज्ञान तथा सीप र वृद्धि विकास गर्ने अठोट लिए।

त्यही बिचमा आइए पनि पढे।

ओखलढुङ्गामा काम गरिरहँदा ‘हेल्थ असिस्टेन्ट (एचए)’ अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय महाराजगन्ज क्याम्पसमा छनोट भए। उनी एचए अध्ययनका लागि करिब पाँच वर्षे ओखलढुङ्गा बसाइलाई टुङ्ग्याउँदै काठमाडौँ आए।

अहेबबाट फड्को

२०४८ मा महाराजगन्ज क्याम्पसमा एचए अध्ययनका लागि भर्ना भए। छात्रवृत्तिमा २०५१ मा एचए अध्ययन पूरा भयो। एचए अध्ययनपछि पनि उनलाई तुरुन्तै थप अध्ययन गर्ने भोक जाग्यो।

त्यसैले एमबीबीएस अध्ययनका लागि महाराजगन्ज क्याम्पसमा नै छनोट परीक्षा दिइहाले। छनोट भए। चुमन २०५२ मा एमबिबिएस अध्ययनका लागि छात्रवृति कोटामा भर्ना भए। एमबिबिएस अध्ययन राम्रो भयो। सन् २००० मा उनी एमबीबीए उत्तीर्ण भए।

एमबिबिएस अध्ययनपछि त उनले फड्को मारे। अहेबाट सिधै मेडिकल अधिकृत। २०५८ मा लोकसेवा मार्फत उनी मेडिकल अधिकृत सातौँ तहको स्थायी जागिरे भए।

मेडिकल अधिकृतका रूपमा जागिरे भएपछि चुमनलालको पोस्टिङ विराटनगरको तत्कालीन कोसी अञ्चल अस्पतालमा भयो। तर, उनी कामकाजका लागि भने मोरङको प्राथमिक स्वास्थ्य केन्द्र ‘मङ्गलवारे’मा खटिए।

२०५८ मा त्यहाँ पुगेका उनले २०६१ सम्म करिब तीन वर्ष मङ्गलवारे प्राथमिक स्वास्थ्य केन्द्रको प्रमुख भएर काम गरे। मङ्गलबारेमा काम गर्दा उनले सम्झन योग्य मध्येको एक काम हो, स्वास्थ्य बिमाको सुरुवात। सुरुमा आठ ठाउँमा स्वास्थ्य बिमा सुरु गर्ने सरकारी घोषणामध्ये मङ्गलवारे र नवलपरासीको दुम्कौलिबाट स्वास्थ्य बिमा सुरु भएको उनले सुनाए।

भिडियो एक्स–रे, हाइड्रोशील तथा परिवार नियोजनको शल्यक्रियाको सुरुवात लगायत मङ्गलबारेमा उनले सम्झन योग्य काम गरे।

मङ्गलवारेपछि सरुवा भएर डा. चुमनलाल २०६१ मा जिल्ला स्वास्थ्य कार्यालय खोटाङ पुगे। त्यहाँ उनले २०६३ सम्म करिब दुई वर्ष काम गरे।

एक वर्ष प्रमुखको भूमिकामा काम गरे। खोटाङमा नै हुँदा उनी सातौँबाट आठौँ तहमा बढुवा भए। त्यहाँ शल्यक्रिया गरी बच्चा जन्माउने लगायतको सेवा सुरु गरेको उनले सुनाए।

एमपीएच अध्ययन

खोटाङपछि डा. चुमन जिल्ला अस्पताल धनकुटामा प्रमुखका रूपमा सरुवा भए। तर, त्यहाँ उनले १३ दिन मात्रै काम गरे। त्यहाँ धेरै दिन काम गर्न नपाउनुको कारण थियो,‘मास्टर्स इन पब्लिक हेल्थ (एमपीएच)’ को अध्ययन।

धनकुटापछि उनले महाराजगन्ज क्याम्पसमा ‘मास्टर्स इन पब्लिक हेल्थ (एमपीएच)’ अध्ययन गर्न आए। २०६३ मा अध्ययन थालेका उनले २०६५ मा डेढ वर्षे एमपिएच अध्ययन सके। विशेषज्ञताको हिसाबले उनी पब्लिक हेल्थ फिजिसियन हुन्।

एमपिएच अध्ययनपछि उनी २०६५ मा जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाको खाँदबारी पुगे। त्यहाँ २०६८ सम्म करिब अढाई वर्ष काम गरे। केही समय जिल्ला स्वास्थ्य कार्यालय प्रमुखको भूमिकामा काम गरे।

त्यसपछि रौतहटको जिल्ला स्वास्थ्य कार्यालयको भूमिकामा कामकाज गर्न खटिए। त्यहाँ करिब चार महिना काम गरे। त्यही समयमा डा. चुमन आठौँबाट नवौँ तहमा बढुवा भए।

राम्रो कामको कदर

नवौँ तहमा बढुवा भएपछि डा. चुमनको उदयपुरको जिल्ला स्वास्थ्य कार्यालय गाईघाटमा पदस्थापन भयो। उदयपुरमा उनी २०७३ सम्म करिब साढे चार वर्ष स्वास्थ्य कार्यालय प्रमुखको भूमिकामा काम गरे। त्यहाँ पनि उनले शल्यक्रिया गरेर बच्चा जन्माउने विधि तथा सेवा सुरु गरे।

खस्किएको अस्पताल उनले सुधार्ने कोसिस गरे। त्यहाँ राम्रो काम गरेबापत उनी २०६९ मा उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट समेत पुरस्कृत भए। उदयपुरमा नै रहँदा उनी दसौँ तहमा बढुवा भए।

त्यसपछि उनको पोस्टिङ जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुममा भयो। त्यहाँ पुग्ने बित्तिकै  उनले जिल्ला अस्पतालमा शल्यक्रिया गरी बच्चा जन्माउने सेवा सुरु गरे। आकस्मिक कक्षको सेटअप गरे। अन्य सेवा बिस्तार गरे। त्यहाँ करिब दश महिना प्रमुखको भूमिकामा काम गरे। तेह्रथुम आफ्नो पालामा पूर्वाञ्चलकै राम्रो अस्पतालमा गनिएको उनले सुनाए।

तेह्रथुमपछि २०७३ कै अन्त्यमा सिराहाको जिल्ला स्वास्थ्य कार्यालय प्रमुखको रूपमा काम गर्न पुगे उनी। त्यहाँ २०७४ सम्म करिब १३ महिना काम गरे। अस्पतालको कम्पाउन्ड खण्डहर जस्तै थियो। त्यसलाई मर्मत गरे।

शल्यक्रिया व्यवस्थापन लगायतको सुधारको उनले काम गरे। तर, त्यहाँ सुधारात्मक कामका लागि अलि सहयोग नपाएको महसुस भयो उनलाई। त्यहाँ चुनौतीका बावजुत काम गरे। सिराहामा हुँदा उनी एघारौँ तहमा बढुवा भए।

रेनकोट लगाएर कोरोना सङ्क्रमितको उपचार

त्यसपछि डा. चुमनलाल २०७५ मा राजविराजको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल  सरुवा भए। त्यहाँ पनि उनले २०७७ सम्म करिब दुई वर्ष अस्पताल प्रमुखको रूपमा काम गरे। एनआइसियु तथा डाइलाइसिस लगायतको सेवा सुरु गरे। त्यहाँ उनले धेरै सुधारको काम गरे।

राजविराजमा हुँदा नै कोरोना भाइरस सङ्क्रमण सुरु भइसकेको थियो। सुरुमा त उनले रेनकोट, क्याप, मास्कलाई पिपिई बनाएर काम चलाए। केही महिनापछि पछि मात्रै पिपिएको व्यवस्थापन भयो। सुरुमा सङ्क्रमित व्यवस्थापन गर्न निक्कै चुनौती थियो। अस्पतालमा सङ्क्रमितको उपचार गर्न पनि स्थानीयको विरोधको चुनौती थियो।

त्यो दिन अक्सिजन नपाएको भए...

राजविराजपछि उनले २०७७ को असारमा विराटनगरस्थित ‘कोसी अस्पताल’ प्रमुखका रूपमा जिम्मेवारी पाए। त्यहाँ कोरोना भाइरसको पहिलो, दोस्रो र तेस्रो लहरको व्यवस्थापन गरे।

तर, दोस्रो लहरमा अक्सिजन लगायतको व्यवस्थापन गर्न निक्कै चुनौती परेको उनले सुनाए। एक दिन त अक्सिजन सकिएर करिब पाँच जना बिरामीको झन्डै ज्यान गएको। तर, भाग्यवश दश वटा अक्सिजन सिलिन्डर पाएर बिरामी बचाउन सफल भएको उनी बताउँछन्।

उनले भने,'दश वटा सिलिन्डर त्यो दिन नपाएको भए भेन्टिलेटरमा भएका बिरामीको मृत्यु हुन्थ्यो।'

उनले त्यहाँ २०७८ फागुन पाँच गतेसम्म करिब २० महिना काम गरे।

यही फागुन ६ गते डा. चुमनले टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारी पाएर काठमाडौँ आएका छन्। उनी सरकारी जागिरबाट अवकाश पाउन केही वर्ष मात्रै बाँकी छ।

डाक्टरको सुख-दुःख :

 

२१ फागुन, २०७८, १९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।