डा. पार्थको उपचार अनुभव : टियर ग्याँसले बेहोस युवादेखि स्टेथेस्कोप चुँडाइदिने युवतीसम्म

डा. पार्थको उपचार अनुभव : टियर ग्याँसले बेहोस युवादेखि स्टेथेस्कोप चुँडाइदिने युवतीसम्म

२०६२/०६३ को १९ दिने जनआन्दोलनका बेला डा. पार्थ गुरागाईं काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजको आकस्मिक कक्षमा काम गरिरहेका थिए। त्यो बेला अस्पतालको आकस्मिक कक्षमा काम गर्दाका केही क्षण उनको मानसपटलमा ताजै छन्।

जनआन्दोलनका क्रममा धेरै घाइतेको उपचार गरे डा. पार्थले। धेरैलाई बचाए। तर जनआन्दोलनकै क्रममा घाइते भएर आकस्मिक कक्षमा पुगेका करिब ५० वर्षका पुरुषलाई बचाउन नसकेको घटनाले भने उनको मन अझै चसक्क हुन्छ। छाती भारी हुन्छ।

घाइते भएर अस्पताल पुर्याइएका ती पुरुषलाई आकस्मिक कक्षमा खटिएको डा. पार्थ लगायतको टिमले उपचार थाल्यो। अश्रु ग्यास लागेर घाइते भएका पुरुषको श्वासप्रश्वासमा समस्या निम्तिएको थियो। उनी बेहोस थिए।

घाइतेलाई आइसियुमा राखेर उपचार गरियो। चिकित्सकको टिमले उनलाई बचाउन निकै गर्यो। बचाउनका लागि जाने र भएसम्मको चिकित्सकीय विधि अपनाइयो। 

तर, घाइतेलाई बचाउने चिकित्सकको प्रयास निरर्थक भयो। उपचारकै क्रममा उनले अस्पतालको आइसियुमा प्राण त्यागे। पछि ती पुरुष सहिद घोषित भएको सुनेको डा. पार्थले बताए।

व्यवस्था परिवर्तनको आन्दोलनमा होमिएका ती पुरुषलाई बचाउन नसकेको घटना सम्झँदा उनको मन चिसो हुन्छ। मन भारी हुन्छ। 

जनआन्दोलनका घाइतले युवाले धन्यवाद दिए
जनआन्दोलनकै क्रममा घाइते भएर आकस्मिक कक्षमा पुगेका करिब २५ वर्षका युवालाई बचाउँदाको क्षण सम्झँदा भने उनको मन शान्त हुन्छ।

भएको के थियो भने, डा. पार्थ नेपाल मेडिकल कलेजकै आकस्मिक कक्षमा काम गरिरहेका थिए। आन्दोलनका क्रममा घाइते भएका करिब २५ वर्षका युवालाई उपचारका लागि अस्पताल लगियो। ती युवा बेहोस थिए। 

उनको खुट्टा भाँचिएको थियो। शरीरका धेरै ठाउँमा चोटपटक लागेको थियो। डा. पार्थको टिमले जानेसम्मको चिकित्सकीय विधि अपनाएर युवाको उपचार गर्यो। उपचारपछि उनी होसमा आए। स्वास्थ्य अवस्था ठिक भयो। 

ती युवा अस्पतालबाट डिस्चार्ज भए। डिस्चार्ज भएर घर गएको केही समयपछि उनी पुनः नेपाल मेडिकल कलेज पुगे। त्यो बेला भने उनी उपचार गर्न गएका थिएनन्। घाइते भएर बेहोस भएको अवस्थामा ज्यान बचाइदिने चिकित्सकको टिमलाई धन्यवाद दिन पुगेका थिए। 

ती युवाले अस्पतालमा आफूलाई अप्ठेरो अवस्थामा बचाउने डाक्टरको खोजी गरेछन्। उनलाई उपचार गरेर बचाउनेमध्येका एक डा. पार्थ थिए भन्ने कुरा युवाले थाहा पाए।

त्यसपछि उनले डा. पार्थलाई भेटे। आफ्नो ज्यान बचाइदिएकोमा डा. पार्थलाई धन्यवाद दिए। जनआन्दोलनका क्रममा घाइते भएर उपचारपछि ठिक भएका युवा दिएको धन्यवाद डा. पार्थका लागि अविस्मरणीय छ। त्यो धन्यवाद सम्झादा सम्झँदा उनको मन शान्त हुन्छ। 

आन्दोलनका क्रममा रबर बुलेट गोली, अश्रुग्यास लागेका, प्रहरीको पिटाइ खाएका धेरै जना घाइतेको उपचार गरेका छन् उनले। आन्दोलनकारी र प्रहरी दुवै पक्षका घाइतेको उपचार गरेका छन्। कोही घाइते रक्ताम्मे भएर पुग्थे। कसैको अवस्था गम्भीर हुन्थ्यो। 

त्यो बेला घाइतेको उपचार गर्नुपर्ने चाप निकै पर्थ्यो। अस्पताल आवतजावत गर्न निकै कठिन हुन्थ्यो। एम्बुलेन्समा आवतजावत गर्दा पनि पनि डराइ-डराइ हिँडनुपर्ने अवस्था डा. पार्थले भोगेका छन्। 

युवतीले स्टेथेस्कोप नै चुँडाइदिइन्
नेपाल मेडिकल कलेजकै आकस्मिक कक्षमा काम गर्दाको अर्को प्रसंग पनि डा. पार्थका लागि अविस्मरणीय छ। 

मानसिक रुपमा विछिप्त करिब २२ वर्षकी युवतीलाई अभिभावकले उपचारका लागि अस्पताल पुर्याए। तर उनी अस्पताल भर्ना हुन नमानेर भाग्न खोजिरहेकी थिइन्। अस्पताल पुर्याएका उनका अभिभावकले युवतीलाई सम्हाल्नै सकेनन्। 

नर्सले पनि बिरामीलाई अँचेट्न सकेनन्। नर्सप्रति युवती आक्रमक भइन्। भर्ना गर्नै मुस्किल पर्यो। डाक्टर, नर्स जस्ता सेतो एप्रोन लगाएका स्वास्थ्यकर्मी देखेर उनी झन् आत्तिइन्। 

नर्सलाई नटेरेपछि डा. पार्थ युवतीलाई सम्झाउन पुगे। परामर्श दिने कोशिस गरे। तर डा. पार्थप्रति नै झम्टिइन् उनले। डा. पार्थले घाँटीमा भिरेको स्टेथेस्कोप नै खोसेर दाँतले टोकिन्। र, चुँडाएर फालिदिइन्। 

निकै बेरको मिहिनेतपछि समस्याको आकस्मिक व्यवस्थापन गरेर ती युवतीलाई थप उपचारका लगि मनोचिकित्सककहाँ पठायो डा. पार्थको टिमले। मानसिक रोगको विछिप्तताका कारण युवतीले गरेको त्यो व्यवहारबाट उनले एउटा व्यवहारिक ज्ञान सिके।

त्यो घटनाबाट डा. पार्थले सिकेको ज्ञान हो, अस्पताल पुग्ने बिरामीको कुशल ढंगले व्यवस्थापन नगरे दुर्घटना निम्तन सक्छ। यो विषयमा ध्यान दिनै पर्छ।

जनवादी विवाह देख्दा
डा. पार्थ तत्कालीन विद्रोही माओवादी र सरकारबीच शान्ति सम्झौता भएपछि माओवादीको शिविरमा पुगे। त्यो बेला उनी रोल्पास्थित माओवादी शिविरमा स्वास्थ्य शिविर लिएर पुगेका थिए।  

माओवादीको शिविरमा पसेर उपचार गर्दा उनलाई निकै अनौठो लाग्यो। केही भय र संसय पनि थियो। त्यो बेला माओवादी रापताप ठूलै थियो। त्यसैले उनको मन सशंकित हुनु स्वभाविकै हो।

डा. पार्थ त्यहाँ बस्दाबस्दै शिविरमा माओवादी जोडीको विवाह भएछ। माओवादीको भाषामा त्यो जनवादी विवाह थियो। त्यो जनवादी विवाह डा. पार्थलाई अनौठो लाग्यो। विवाह उनले देख्दै आएकोभन्दा अनौठो थियो।

जनवादी विवाहमा दुलाहा-दुलहीले माओवादीको बर्दी लगाएका थिए। विवाहमा उपस्थित भएकाहरु पनि बर्दीमा नै थिए। दुलाहाले दुलहीलाई अबिर लगाइदिए। बर्दीमा नै सजिएका माओवादी निम्तालुले पनि दुलाहा-दुलहीलाई अबिर लगाइदिए। विवाह सकियो। 

छनोटमा ‘कम्युनिटी मेडिसिन’
२०३६ सालमा विराटनगरमा जन्मिएका डा. पार्थले स्थानीय ‘देवकोटा मेमोरियल स्कुल’बाट २०५२ मा एसएलसी उत्तीर्ण गरे। 

उनले आइएस्सी भने भारतको सिद्धार्थ रेसिडेन्सियल स्कुलमा अध्ययन गरे। आइएस्सीपछि डा. पार्थ नेपाल फर्किएर सन् १९९९ मा ‘नेपालगञ्ज मेडिकल कलेज’ भर्ना भई एमबिबीएस अध्ययन गर्न थाले। उनले सन् २००५ मा एमबिबीएस अध्ययन पूरा गरे।

एमबिबीएस अध्ययनपछि काठमाडौंको जोरपाटीस्थित ‘नेपाल मेडिकल कलेज’ मा मेडिकल अधिकृतका रुपमा करिब दुई वर्ष काम गरे उनले। त्यही क्रममा पार्टटाइम जागिरेका रुपमा सुष्मा कोइराला मेमोरियल अस्पतालमा पनि केही समय काम गरे।

‘नेपाल मेडिकल कलेज’मा दुई वर्ष काम गरेपछि भने सुष्मा कोइराला अस्पतालमा नै उनी ‘फुल टाइमर’ जागिरेका रुपमा काम गर्न थाले। दुवै ठाउँमा गरी उनले करिब तीन वर्षभन्दा बढी काम गरे। केही समय निजी क्लिनिकमा पनि काम गरे।

त्यसपछि डा. पार्थले चितवनको भरतपुरस्थित ‘कलेज अफ मेडिकल साइन्सेस’ मा स्नातकोत्तर तह (एमडी)को अध्ययन थाले। ‘सामुदायिक चिकित्सा (कम्युनिटी मेडिसिन)’ विषयमा सन् २००९ मा ‘एमडी’ अध्ययन थालेका हुन्। सन् २०१२ मा एमडी अध्ययन सकियो। 

समाजमा फैलिन सक्ने तथा फैलन नदिनका लागि रोगको व्यवस्थापन लगायतमा यो विषयको जोड हुन्छ। 

सामुदायिक चिकित्सा विषयलाई चिकित्सकीय भाषामा ‘प्रिभेन्टिभ मेडिसिन’ पनि भनिन्छ। रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिने विधि-विज्ञानका विषयमा अध्ययन गरिने विषय हो यो।

डा. पार्थ पनि एक पटक बिरामी परे। उनले  सोचे, रोग लाग्न नदिने विषयमा ध्यान दिइयो भने त रोग लाग्ने समस्या पक्कै रोकथाम गर्न सकिन्छ। त्यसैले उनलाई यो विषयप्रति चासो बढ्दै गयो। यही विषयको अध्ययन गरें भने मैले राम्रो गर्न सक्छु भन्ने सोचे उनले।

नेपालजस्तो मुलुकमा सामुदायिक चिकित्सा विषयको अध्ययनले रोगको पहिचान गर्न तथा रोग फैलन नदिन भूमिका खेल्ने उनी बताउँछन्। नेपालको कुन क्षेत्र तथा कुन समुदायमा कुन मौसममा कस्तो रोगको जोखिम हुन्छ भन्ने लगायतको अध्ययन तथा ज्ञान लिई रोग नियन्त्रण योजना बनाउन यो विषयको अध्ययन निकै उपयोगी हुने उनको ठहर छ।

सामुदायिक चिकित्सा विषयको अध्ययनपछि क्लिनिकल अभ्यासभन्दा बढी नीति निर्माण पक्षमा नै बढी केन्द्रित छन् डा. पार्थ। रोग फैलन नदिन यो विषयको अध्ययन महत्वपूर्ण हुन्छ भन्ने उद्देश्यले नै उनले यो विषयको अध्ययन गरेका हुन्। 

एमडी अध्यययनपछि एमडी अध्ययन गरेकै मेडिकल कलेजमा उनले करिब एक वर्ष काम गरे। त्यसपछि आफू हुर्केको ठाउँमा फर्केर सेवा गर्ने सोच आयो। गाउँ फर्के। 

त्यही बेला विराटनगरमा विराट मेडिकल कलेज खुल्यो। डा. पार्थलाई पनि त्यहाँ बोलाइयो। उनी विराट मेडिकल कलेजमा ‘लेक्चरर’ जागिरेका रुपमा काम गर्न थाले।

डा. पार्थ काम गर्दै गए। बढुवा भए। उनी अहिले विराट मेडिकल कलेजमा सहायक प्राध्यापक (एसिस्टेण्ट प्रोफेसर) का रुपमा कार्यरत छन्। उनको बढुवा हुने बेला भएको छ। डा. पार्थ कलेजको  एमबिबीएस कार्यक्रमको शैक्षिक इन्चार्जको जिम्मेवारीमा समेत छन्। 

‘प्रब्लम बेस्ड लर्निङ’ को प्राध्यापनमा उनी सक्रिय छन्। यस्तो अध्ययनले बिरामीलाई उपचार गर्दा चिकित्सकले ट्याक्टिकल ढंगले बिरामीको उपचारमा सक्रिय हुने उनले सुनाए।

नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखाको वैज्ञानिक सचिव (साइन्टिफिक सेक्रेटरी) समेत छन् डा. पार्थ। यो संस्थाले कोरोनाको समयमा विशेषगरी पूर्वी क्षेत्रका चिकित्सकहरुलाई कोरोना व्यवस्थापनको बारेमा तालिम दिएको थियो। जसका लागि आफूले सक्रिय भूमिका खेलेको उनले सुनाए।
 
रक्सीले कोरोना भगाउने भ्रम चिर्न सक्रिय भूमिका
कोरोना भाइरस संक्रमणको सुरुवाति चरणदेखि नै मोरङ जिल्लाको विशेषगरी सीमा क्षेत्रका धेरै ठाउँमा विभिन्न निकायको समन्वयमा जनचेततनामूलक शिविर गरे उनले। जुन विविरले त्यो बेला धेरै मान्छेलाई कोरोना हुनबाट जोगाएको उनलाई महसुस हुन्छ। 

त्यो बेला रक्सी सेवन गर्दा कोरोना लाग्दैन भन्ने भ्रमले केही व्यक्तिले रक्सी सेवन गरेको भेटेका छन् डा. पार्थले। स्यानिटाइजरमा रक्सी हुन्छ, स्यानिटाइर हातमा लगाउनुको सट्टा रक्सी नै पिइयो भने कोरोना लाग्दैन भन्ने भ्रमले रक्सी पिएको भेटेको उनले सुनाए।

कतिले त कोरोना भगाउने भन्दै रक्सी पिउने बहाना नै बनाएको समेत उनले सुनाए। विशेषगरी लेखपढ नगरेका व्यक्तिमा त्यस्तो भ्रम पाइएको थियो। 

त्यस्तो भ्रम चिर्नका लागि पनि विभिन्न जनचेतनामूलक शिविर गरे उनले। शिविर लिएर नेपालका धेरै जिल्ला पुगेको डा. पार्थ बताउँछन्।

बारा र रौतहट क्षेत्रमा केही वर्षअघि हावाहुरिका कारण क्षति भएको समयमा पनि उनी स्वास्थ्य शिविर लिएर पुगेका थिए। जुन शिविरमा गरेको उपचार तथा स्वास्थ्य जाँचको प्रसंग पनि आफ्ना लागि अविस्मरणीय भएको डा. पार्थले सुनाए।

पुराना डाक्टरको सुख-दुःख :

 

१४ फागुन, २०७८, १५:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।