उकेरा कोलम

डाक्टरको सुख-दुख

पाँच सय आमाको कोख भर्ने डा. नूतन जसले सम्झिरहन्छिन् ५५ वर्षिया जुम्ल्याहाकी आमा


तस्बिर : कृष्पा श्रेष्ठ

‘टेस्ट ट्युब बेबी’ विशेषज्ञका रूपमा परिचित छिन् डा. नूतन शर्मा। प्रसूति तथा स्त्रीरोग, टेष्ट्ट्युब बेबी अनि गाइने ल्याप्रोसकोपिक सर्जन उनले अहिलेसम्म पाँच सय बच्चा टेष्टट्युवबाट जन्माउन सघाइसकेकी छिन्।

डा. नूतनले ‘टेस्ट ट्युब’ मार्फत बच्चा जन्माउने चिकित्सकीय विधि सिकेको करिब दश वर्ष भयो। उनले यो विधि मार्फत निःसन्तान भएकालाई सन्तान लाभ गराउने चिकित्सकीय विधि अपनाएको पनि त्यति नै समय भयो। टेष्ट्ट्युब मार्फत बच्चा जन्माउनुलाई अङ्ग्रेजीमा ‘इन भिट्रो फर्टिलाइजेशन (आइभिएफ)’ भनिन्छ।

डा. नूतनले पाँच सयभन्दा बढी निसन्तान आमालाई ‘टेष्ट् ट्युब’ विधिमार्फत सन्तान लाभ गराएकी छन्। ‘टेष्ट् ट्युब’ विधिमार्फत उनले गराएका गर्भधारणमध्ये केही प्रसङ्ग डा. नूतन अझै सम्झिरहन्छिन्। जसमध्ये ५५ वर्षीय रजस्वला नै सुकिसकेकी महिला एक हुन्।

करिब पाँच वर्ष अगाडिको प्रसङ्ग हो। ५५ वर्षीय ती महिला अल्का अस्पताल पुगेर डा. नूतनलाई भेटिन्। ती महिलाको रजस्वला हुन छाडेको ४-५ वर्ष भइसकेको थियो।

डा. नूतनलाई भेटेर ती महिलाले भनिन्,'डाक्टरसाब मलाई बच्चा पाउने मन छ। आमा बन्न चाहन्छु। बच्चा पाउन सक्छु त?'

ती महिलाको कुरा सुनेपछि डा. नूतनले ‘हेर्दा त जन्माउन सक्नु हुन्छ जस्तो देखिनु हुन्छ। तर, पहिले जाँच गरेर हेरौँ’ भनिन्।

ती महिलाले ढिला विवाह गरेकी थिइन्। डा. नूतनकहाँ पुग्दा ती महिलाको विवाह भएको करिब पाँच वर्ष मात्र भएको थियो। परामर्शपछि बच्चा जन्माउन योग्य छन् या छैनन् भन्ने एकिन गर्न डा. नूतनले ती महिलाको स्वास्थ्य जाँच गरिन्।

केही ल्याब परीक्षण भयो। जाँचपछि डा. नूतन ती महिलाले बच्चा जन्माउन सक्ने निष्कर्षमा पुगिन्। तर, ती महिलाको रजस्वला सुकेको र उमेर पनि ढल्की सकेकाले चुनौती भने थियो।

रजस्वला नै हुन छाडेकाले रजस्वला सुचारु गर्नका लगी डा. नूतनले ती ५५ वर्षीय महिलालाई हार्मोन थेरापी गराइन्। औषधि दिइन्। थेरापी तथा औषधि–उपचारपछि महिलाको रजस्वला भयो।

रजस्वला भएपछि डा. नूतनले टेष्ट्ट्युब विधिबाट ती ५५ वर्षीय महिलाको गर्भधारणका लागि चिकित्सकीयलगायतको व्यवस्थापन मिलाइन्। टेष्ट्ट्युब विधिबाट बच्चा जन्माउनका लागि सुइँ दिएर महिलाको अण्डा बनाइन्।

त्यसपछि डा. नूतनले महिलाको अण्डा निकालिन्। ती महिलाको श्रीमानको स्पम पनि निकालिन्। श्रीमानको स्पम र श्रीमतीको अण्डा लिएर टेष्ट्ट्युब विधिमार्फत गर्भधारणको प्रक्रिया अगाडि बढ्यो। एक प्रकारको सानो डिसमा अण्डा र स्पम राखियो। जसबाट ल्याबमा भ्रूण बनाइयो। त्यसपछि इन्कुबेटरमा राखेर करिब तीन दिन भ्रूण हुर्काइयो।

महिलाको पाठेघरमा भ्रूण हालियो। टेष्ट्ट्युब विधिबाट ती महिलाको गर्भधारण भयो। ती ५५ वर्षीय महिलाले गर्भधारण भएको पहिलो पटकमा नै जुम्ल्याहा बच्चा जन्मिए छोरा र छोरी।

पाको उमेरमा पहिलो सन्तानका रूपमा जुम्ल्याहा बच्चा जन्मिएपछि महिलाको खुसीको सीमा नै रहेन। बच्चा जन्माएपछि ती महिलाले डा. नूतनलाई भनिन्,‘तपाईँ मेरो भगवान् हो।' ती कृतज्ञ शब्दले डा. नूतन भावुक बनिन्।

ती महिलाले जन्माएका जुम्ल्याहा बच्चा अहिले स्वस्थ रहेको डा. नूतनले सुनाइन्।

'अहिले त उहाँका छोराछोरी ठूलाठूला भइसके। अहिले पनि उनीहरू सम्पर्कमा छन्,' डा. नूतनले उकेरासँग भनिन्।

अर्की करिब ५० वर्षकी महिलाको पनि हालसालै टेष्ट्ट्युब विधिमार्फत गर्भधारणको प्रक्रिया भइरहेको डा. नूतनले सुनाइन्। ती महिलाले टेष्ट्ट्युब विधिमार्फत गर्भधारण गरेको करिब चार महिना भयो। ती ५० वर्षीय महिलाको पनि पहिलो गर्भधारण हो। यसरी ढल्किँदा उमेरमा पनि टेस्ट ट्युब विधिमार्फत बच्चा जन्माउने रहर पूरा गर्नेको सङ्ख्या बढ्दै गएको उनले सुनाइन्।

६० प्रतिशत सफल

टेष्टट्युब विधि मार्फत प्राकृतिक गर्भधारणमा समस्या भइरहेका ६० प्रतिशत भन्दा बढिले बच्चा जन्माउन सफल भइरहेको डा. नूतनले सुनाइन्। तर, यो विधिमार्फत शत प्रतिशत गर्भधारण हुन्छ र बच्चा जन्मन्छ नै भन्ने एकिन भने हुँदैन।

कतिपय महिलाले टेष्ट्ट्युब विधि अपनाउँदा पनि बच्चा जन्माउने रहर पूरा गर्न सक्दैनन्। यस्तो अवस्थामा डा. नूतनलाई दुःख लाग्छ।

उनी भन्छिन् 'शत प्रतिशत सफल त हुँदैन। पाँच जनामा प्रयास गरियो भने तीन वटा सफल हुन सक्छन्। दुई वटा असफल हुन सक्छन्।

बच्चा जन्माउनै पर्ने दबाब परेपछि...

कतिपय महिला त बच्चा जन्माउनै पर्ने दबाब तथा तनावका कारण समेत टेष्ट्ट्युबमार्फत भए पनि बच्चा जन्माउन आउने गरेको डा. नूतनले सुनाइन्। केही वर्ष अघि करिब ४२ वर्षकी एक महिला बच्चा जन्माउनै पर्ने दबाबमा टेष्टट्युबमार्फत भए पनि बच्चा जन्माउन अस्पताल आएको प्रसङ्ग उकेरालाई सुनाइन्।

ती महिलाका श्रीमानले 'तँबाट  बच्चा भएन भने अर्को विवाह गर्छु' भनेका रहेछन्। उनले डा नूतनलाई श्रीमानले अर्को विवाह गर्ने डरले बच्चा जन्माउन आएको बताइन्।

बच्चा जन्माउनै पर्ने दबाब परेकी महिला देखेर डा नूतनलाई खिन्न लाग्यो। उनमा बच्चाको रहर भन्दा श्रीमानको दबाब बढि थियो। ती महिलाले टेष्टट्युवविधीबाट बच्चा जन्माइन्।

भारतकी छोरी, नेपालकी बुहारी

नूतन भारतको मुम्बइमा जन्मिएकी हुन्। त्यहीँ हुर्किइन्। विद्यालय तथा कलेज तहको अध्ययन मुम्बइमा नै पुरा गरिन्।

नूतनले भारतको नागपुर युनिभर्सिटी अन्तर्गतको ‘एनकेपी साल्भ इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड रिसर्च सेन्टर’ बाट सन् १९९८ मा एमबिबिएस अध्ययन पूरा गरेकी हुन्।

सन् १९९९ मा उनले भारतको मुम्बई स्थित ‘युनिभर्सिटी अफ मुम्बई’बाट ‘डिप्लोमा इन गाइनेक्लोजी एन्ड अब्सटेट्रिक्स (डिजिओ)’ अध्ययन गरिन्।

त्यसपछि नूतनको विवाह नेपालको जनकपुरका विजय शर्मासँग भयो। उनीहरूको मागी विवाह भएको थियो। उनका श्रीमान् डा. विजय टिचिङ अस्पतालका चिकित्सक हुन्। विवाहपछि श्रीमानसँग नूतन काठमाडौँ आइन्। काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)मा मेडिकल अधिकृत करार जागिरेका रूपमा प्रवेश गरिन्। त्यहाँ करिब एक वर्ष काम गरिन्।

नेपालमा नै काम गर्दा सुरुमा त डा. नूतनलाई निक्कै कठिन भयो। नेपाली भाषाको समस्या थियो उनमा। उनका लागि काठमाडौँ नयाँ ठाउँ, नयाँ जीवनशैली। 

सुरुमा त डा. नूतनलाई नेपालमा बस्नै मन लागेन। सम्पन्न परिवारमा हुर्किएकी उनलाई नेपालमा सङ्घर्ष गर्न चुनौती थियो। तर, बिस्तारै उनी अभ्यस्त हुँदै गइन्। भाषा बुझ्दै गइन्। चुनौतीका चाङ पन्छाउँदै चिकित्सकीय पेसालाई अगाडि बढाइन्।

नेपाली हावापानी तथा वातावरणमा उनी घुलमिल भइसकिन्। अहिले ती दिन सम्झँदा नूतनलाई आनन्द लाग्छ।

'सुरुमा नेपालमा काम गर्न सक्छु र जस्तो लाग्थ्यो। अव त यहीँ आनन्द लाग्छ। साँच्चै भन्ने हो भने अब त इन्डिया भन्दा यहाँ राम्रो लाग्छ,’ उनले भनिन्।

छोरी र छोरा यतै जन्मिए। यतै हुर्कंदैछन्। अहिले त उनी उता भारतमा बस्नै सक्दिनन् रे।  नेपाल छाडेर अन्त बस्नै मन लाग्दैन भन्छिन् उनी।

जागिर र अध्ययनकै प्रसङ्गको चर्चा गरौँ।

प्रसूति गृहको जागिरपछि डा. नूतन थप अध्ययनका लागि बङ्गलादेशको ढाका पुगिन्। उनले सन् २००६ मा बङ्गलादेशको ढाकास्थित ‘वङ्गबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटी (बीएसएमएमयू)’बाट प्रसूति तथा स्त्रीरोग (अब्सटेट्रिक्स एन्ड गाइनोक्लोजी ) विषयमा एमडी अध्ययन पूरा गरिन्।

बङ्गलादेशको ढाकाबाटै सन् २००७ मा उनले ‘एमसीपिएस’ र ‘डिप्लोमा अफ मेडिकल अल्ट्रासोनोग्राफी (डिएमयू)’ विषयको अध्ययन सकिन्।

अध्ययनपछि नेपाल फर्किएर उनले ‘काठमाडौँ मेडिकल’मा ‘एसिस्टेन्ट प्रोफेसर’का रूपमा काम गरिन्। त्यहाँ सन् २००९ देखि सन् २०१० सम्म एक वर्ष काम गरिन्। त्यो बेला उनी अल्का अस्पतालमा समेत काम गर्थिन्।

टेष्टट्युब विधिमा चाख

डा. नूतनलाई प्रसूति तथा स्त्रीरोग विशेषका रूपमा मात्रै कामले चित्त बुझेन। यो काम उनलाई औसत लाग्न थाल्यो। त्यसो त उनलाई एमबिबिएस अध्ययन गर्दा देखिनै बाँझोपनसम्बन्धी विषय मन पर्थ्यो। त्यो विषयमा नै विशेषज्ञता हासिल गर्ने भोक थियो उनमा। त्यसैले डा. नूतनले नेपालमा एक वर्ष काम गरेपछि भारत पुगेर टेस्ट्युब बेबी (आइभिएफ) सम्बन्धी तालिम लिइन्।

उनलाई बाँझोपनको समस्याको चिकित्सकीय विधिबाट समाधान गर्न रुचि जाग्दै जानुको पनि खास कारण छ। डा. नूतनलाई लाग्छ,बाँझोपनको समस्या भएको महिलामा प्रसव भन्दा बढी पिडा हुन्छ।

बाँझोपनको समस्या भएका व्यक्ति मानसिक रूपमा विच्छिप्त नै भएको देखेकी छन् उनले। त्यसैले पनि यो विषयमा उनी केही गर्न चाहन्थिन् र चाहन्छिन्।

डेढ दशकको सीप, व्यस्त सेड्युल

डा. नूतनले काठमाडौँका विभिन्न अस्पतालमा काम गर्न थालेको डेढ दशक भन्दा बढी भयो।

उनले अल्का हस्पिटलमा काम गर्दा करिब १० वर्ष अघि आफ्नै नेतृत्वमा ‘टेष्टट्यूब बेबी (आइभिएफ एन्ड फर्टिलिटी सेन्टर)’को स्थापना गरेकी थिइन्। जहाँ सयौँ (महिला–पुरुष)ले बाँझोपनको समस्याबाट मुक्त हुँदै सन्तान लाभ लिए। उनले अल्कामा करिब १३ वर्ष काम गरिन्।

पार्टटाइमरका रूपमा बयोधा, बीएण्डबी, कान्तिपुर, ग्लोबल अस्पतालमा समेत काम गरिन् उनले। सुरुवाती चरणमा उनी स्कुटर हाँकेर अस्पताल र क्लिनिक ओहोरदोहोर गर्थिन्। बिहानदेखि बेलुकी सम्मै ‘टाइट सेड्युल’ हुन्थ्यो।

करिब १२ वर्ष अघि स्कुटर दुर्घटनामा समेत परिन् उनी। माइक्रो बसले हानेछ। दुर्घटनामा हातको औलामा गहिरो चोट लाग्यो। जुन चोटको खत अहिले पनि गएको रहेनछ। दुर्घटनामा परेपछि उनले स्कुटर चलाउन छाडिन्। अहिले उनी आफैँ कार चलाउँछिन्।

करिब दुई वर्षयता उनी नर्भिक अस्पतालसँग आबद्ध भएकी छिन्। डा. नूतन ६ महिना यता ‘नर्भिक आइभिएफ सेन्टर’ व्यस्त हुन्छिन्। नर्भिकमा उनी ‘सिनियर आइभिएफ कन्सल्टेन्ट एन्ड ल्याप्रास्कोपिक सर्जन (गाइनोक्लोजी)’ का रूपमा कार्यरत छिन्। दुरविनको माध्यमबाट ल्याप्रोस्कोपी गर्दा महिलाले धेरै दुःख नपाउने भएकाले ल्याप्रोसकोपिक विधि तथा सिपप्रति उनी निक्कै कृतज्ञ छिन्।

डेढ दर्जन बढी तालिम

डा. नूतनले करिब डेढ दर्जन जति तालिम लिएकी छिन्। उनले सन् २००८ र २००९ र २०११ मा भारतको मुम्बई पुगेर आइभीएफ सम्बन्धी तालिम लिइन्। त्यसै गरी सिंगापुरबाट उनले सन् २००९ मा एडभान्स अब्स्टेट्रिक अल्ट्रासाउन्ड र २०१७ मा आइभिएफ सम्बन्धी तालिम लिइन्।

उनले भारतको दिल्लीबाट आइभिएफ तथा ल्यप्रोस्कोपिक सम्बन्धी सन् २०१६ मा फेलोसिप गरेकी छन्। हिस्टेरोस्कोपी सम्बन्धी पनि तालिम लिएकी छन्।

ल्याप्रोसकोपिकको तालिम लिएपछि दुरविनको माध्यमबाट हुने शल्यक्रिया गरिन्। डा. नूतनले सन् २०१७ मा सिंगापुरबाट आइभिएफ सम्बन्धी तालिम लिएकी छन्। उनले सन् २०१८ मा भ्रूण स्थानान्तरण (इम्ब्रोयो ट्रान्सफर) सम्बन्धी तालिम लिएकी छन्। दुबइबाट सन् २०२० मा स्नातकोत्तर तहको प्रजनन चिकित्सा तथा आइभीएफ लगायतका तालिम लिएकी छिन् उनले।

टेष्ट् ट्युब लगायत प्रसूति, स्त्रीरोग तथा प्रजनन सम्बन्धी सेवा लिन कोही नेपालबाट बिदेसिन नपरोस् भन्ने उनको चाहना रहेछ। बरु नेपालमै विदेशबाट उपचार गर्न आउने वातावरण बनोस् भन्ने उनको चाहना छ।

डाक्टरको सुख-दुःख :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....