एलोपेथी चिकित्सकले आयुर्वेदिक चिकित्सकमाथि दोष लगाउँदा चित्त दुख्छ डा. वासुदेवको

एलोपेथी चिकित्सकले आयुर्वेदिक चिकित्सकमाथि दोष लगाउँदा चित्त दुख्छ डा. वासुदेवको
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौं: आयुर्वेदिक चिकित्सक डा. वासुदेव उपाध्यायको मानसपटलमा बिरामीको उपचार गर्दाका केही क्षण ताजै छन्। डा. वासुदेवले सम्झिरहने मध्येको एउटा क्षण हो, करिब ६० वर्षका पुरुषको उपचार। जसको उपचार जुकाद्वारा रगत चुसाएर गरिएको थियो।

भएको के थियो भने ती ६० वर्षीय भारतीय नागरिक छालाको समस्या लिएर भारतको एउटा आयुर्वेदिक अस्पताल पुगेका थिए। जति बेला डा. वासुदेव भारतमा आयुर्वेद चिकित्सा विषयको बीएएमएस अध्ययनको सिलसिलामा अस्पतालमा काम गरिरहेका थिए।

एलोपेथी (आधुनिक) अस्पताल चहार्दा चहार्दा छालाको समस्या ठीक नभएपछि उपचारको अन्तिम उपायको खोजीमा भौँतारिँदै ती पुरुष आयुर्वेदिक अस्पताल पुगेका थिए।

डा. वासुदेव लगायत अस्पतालमा खटिएको चिकित्सकको टिमले ती ६० वर्षीय बिरामीको स्वास्थ्य जाँच गर्यो। हार खाँदै अस्पताल पुगेका ती पुरुषको हात, खुट्टा र गर्धनमा कत्लै कत्लाको छालाजन्य समस्या थियो। कत्ला देखिएको ठाउँमा रातो हुने, सुख्खा हुने, दाद जस्तो देखिने समस्या थिए। यस्ता समस्यालाई चिकित्सकीय भाषामा ‘सोरियासिस’ भनिन्छ। छालामा कत्ला निस्कने भएकाले यस्तो समस्यालाई कत्ले रोगका नामले समेत चिनिन्छ।

डा. वासुदेव लगायतको आयुर्वेदिक चिकित्सकको टिमले ती पुरुषको पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति अनुसार उपचार थाल्यो। ती ६० वर्षीय पुरुषको उपचारमा पञ्चकर्मका ‘वमन’ र ‘जलौका’ गरी दुई वटा उपचार विधि अपनाइयो।

वमन उपचार विधिमा आयुर्वेदिक औषधि सेवन गराएर बान्ता गराइन्छ। ती पुरुषका लागि करिब १५ दिन वमन कार्य गराइएको डा. वासुदेवले सुनाए।

वमन उपचार विधि सँगसँगै ती ६० वर्षीय पुरुषको ‘सोरियासिस’को समस्या भएको छालाको भागमा जलौका उपचार विधि पनि सुरु गरियो। समस्या भएका छालाको भागमा जुकाद्वारा टोकाई रगत चुसाएर गरिने उपचार विधिलाई आयुर्वेदमा जलौका उपचार विधि भनिन्छ। यस्तो विधिलाई आयुर्वेदिक उपचार विधिमा रक्तमोक्षण थेरापी समेत भनिन्छ।

आयुर्वेदमा ६ किसिमका जुकाको व्याख्या गरिएको डा. वासुदेवले सुनाए। सामान्यतः विषाक्त र विषाक्त नभएका गरी दुई किसिमका जुका हुन्छन्। यस्तो उपचार विधिका लागि भने विषाक्त नभएको जुका प्रयोग गरिन्छ।

ती ६० वर्षे पुरुषको समस्या भएको छालामा विषाक्त नभएका जुकाद्वारा टोकाइयो। जुकाले रगत चुस्यो। छालामा सोरासियासिस गराउने विकृत रगत जुकाले चुसेर लियो।

यसरी वमन र जुकाद्वारा रगत चुसाएर ती पुरुषको छालाको विषाक्त रगत फालियो। रगत सफा भयो। पुरुषमा छालाको समस्या कम हुँदै गयो। करिब अढाई महिना यस्ता दुई आयुर्वेदिक उपचार गरेपछि ती पुरुषको छालाको समस्या ठिक भयो।

छालाको समस्या ठिक भएपछि ती पुरुषमा खुसीको सीमा नै रहेन। अस्पतालबाट डिस्चार्ज भएपछि त ती पुरुषले अस्पताललाई ठुलो भित्ते घडी नै ल्याएर उपहार दिएछन्।

उपचारको खोजीमा अस्पताल चाहरेका ती पुरुषको छालाको समस्या आयुर्वेदिक उपचार विधिले ठिक भएको त्यो प्रसङ्गले डा. वासुदेवलाई आयुर्वेदिक चिकित्साप्रति थप विश्वास जाग्यो। आत्म विश्वास तथा आत्मसन्तुष्टि मिल्दै गयो।

ती पुरुषको रोग ठीक भयो। डा. वासुदेवलाई आयुर्वेदिक उपचारात्मक विषयको अध्ययन गर्ने थप ऊर्जा मिल्यो।

युवतिको छालाको समस्या ठिक भएपछि...

भारतमा एमडी अध्ययनका क्रममा छालाकै समस्या भएर आयुर्वेदिक अस्पताल पुगेकी करिब २२ वर्षकी युवती ठिक भएको प्रसङ्ग पनि डा. वासुदेव कहिल्यै भुल्दैनन्।

उपचारका लागि धेरै भौँतारिँदै छाला चिलाउने समस्या भएर युवती आयुर्वेदिक अस्पताल पुगेकी थिइन्। ती युवतिमा अनुहारको छाला, कुहिनो, घुँडा, नाडी, घाँटी जस्ता भागमा चिलाउने लगायतका समस्या थिए। छालाको यस्ता भागमा घाउ भएका थिए। पानी फोका आउने तथा छाला भिजेको जस्तो हुने, पानी बगिरहने समस्या थिए। छाला पोल्ने तथा जलन हुने, छालाको पत्रपत्र निस्कने जस्ता समस्या थिए।

आयुर्वेदिक चिकित्सकीय भाषामा यसरी रगतको खराबीका कारण हुने छालाजन्य रोगलाई रक्त विकार समस्या भनिन्छ।

अस्पताल पुगेकी ती युवतिमा डा. वासुदेवलगायतको टिमले ‘पञ्च वल्कल क्वाथ’ र ‘निम्बादी क्वाथ’गरी दुई किसिमको आयुर्वेदिक उपचार विधि सुरु गर्यो।

निमपत्ताको बोक्राको काँडा बनाएर नियमित सेवन गराइयो। जसलाई आयुर्वेदिक चिकित्सकीय भाषामा ‘निम्बादी क्वाथ’ भनिन्छ। त्यसैगरी ‘पञ्च वल्कल क्वाथ’द्वारा घाउ सफा गराइयो।

‘बर’, ‘पिपल’, ‘डुम्री’, ‘पारिस’ र ‘प्लक्क्ष’जस्ता ‘पञ्च वल्कल’ वनस्पतिजन्य औषधि पानीमा मिसाएर दैनिक दुई पटक छालाको समस्या भएको भागमा सफा गरियो। नुहाउन लगाइयो। केही आयुर्वेदिक शास्त्रीय औषधि सेवन गराइयो। ती युवतिको पनि करिब एक महिनाको उपचारपछि छालाको समस्या ठिक भएको डा. वासुदेवले सुनाए।

उपचारपछि ती युवतिले पुनः जन्म पाएको महसुस गरिन्। युवतिले डा. वासुदेव लगायतको उपचारमा खटिने टिमलाई धन्यवाद दिइन्। आयुर्वेदिक उपचार विधाका यस्ता सफलताले डा. वासुदेव यो पेसाप्रति प्रेरित हुँदै गए। आयुर्वेद चिकित्सा सिद्धान्तप्रति उनमा विश्वास बढ्दै गयो।

डा. वासुदेवले नेपाल फर्किएपछि बुटवलमा भण्डारी थरका एक जना करिब ४० वर्षका पुरुष आयुर्वेदिक उपचारपछि ठिक भएको देख्दा निक्कै आनन्द लागेको सुनाए। बाथको समस्या भएर हिँड्न नसकी रिक्सामा अस्पताल पुगेका उनलाई डा. वासुदेवले औषधि उपचार गरे। ४० वर्षीय ती पुरुष आयुर्वेदिक औषधि उपचारपछि ठिक भए। रिक्सामा अस्पताल पुगेका ती पुरुष फलोअपमा हिँडेरै जाँदा डा. वासुदेव आयुर्वेदिक उपचार पद्धतिप्रति कृतज्ञ भए।

एलोपेथी चिकित्सकको नजरमा आयुर्वेदिक चिकित्सकमाथि दोष

डा. वासुदेवको अनुभवमा बिरामीले एकातर्फ विभिन्न मेडिकल पसलबाट औषधि सेवन गर्छन्। जथाभाबी आयुर्वेदिक औषधि सेवन गर्दा पनि ठिक नभएपछि कयौँ बिरामी आयुर्वेद चिकित्सककहाँ पुग्ने गरेको उनको अनुभव छ। अर्कातर्फ एलोपेथि चिकित्सकीय उपचारले ठिक नभएपछि पनि आयुर्वेदिक चिकित्सककहाँ बिरामी पुग्ने प्रवृत्ति छ।

हुन त डा. वासुदेवलाई थाहा छ, सबै चिकित्सा विधि शत प्रतिशत सफल छैनन्। सबै रोग आयुर्वेदिक चिकित्सा विधिले नै ठिक हुन्छन् भन्नेमा उनी पनि विश्वस्त छैनन्। न त सबै रोग आधुनिक चिकित्सा उपचार विधिले नै ठिक हुन्छन्। परिवारमा कोही बिरामी भए रोगको प्रकृति अनुसार उनी पनि एलोपेथी अस्पतालमा उपचार गराउन पुग्छन्। 

कतिपय एलोपेथी चिकित्सकमा आयुर्वेद भन्ने विरक्तिकै अविश्वास देखिएको उनको अनुभूति छ। आयुर्वेद चिकित्सकको आधुनिक चिकित्साप्रति अविश्वास र आधुनिक चिकित्सकको आयुर्वेद चिकित्साप्रति अविश्वास भएको उनले महसुस गरेका छन्। तर, केही रोग यस्ता छन्, जुन एलोपेथीले उपचारमा नभए आयुर्वेद उपचार विधि अपनाउँदा ठिक हुने उनले सुनाए।

कतिपय रोगको समस्यामा घरेलु जडीबुटी सेवन गरेर नभएपछि बिरामी डा. वासुदेवकहाँ पुगेका छन्। उनी आयुर्वेदिक उपचार विधिले ठिक नहुने स्वास्थ्य समस्या भएका बिरामीलाई एलोपेथी चिकित्सककहाँ रिफर गरिहाल्छन्। कतिपय एलोपेथी चिकित्सकहरूले पनि बिरामीलाई आयुर्वेदिक चिकित्सककहाँ रिफर गर्ने गरेको उनले सुनाए।

तर, यसरी रिफर गर्दा कतिपय एलोपेथी चिकित्सकले आयुर्वेदिक चिकित्सकमाथि दोष लगाउने गरेको उनको अनुभूति छ। जन्डिसको समस्यामा बढी यस्तो दोष खेप्नुपरेको उनको अनुभूति छ। आयुर्वेदिक औषधि सेवनले गर्दा कलेजो बिग्रिएको भन्दै कतिपय एलोपेथी चिकित्सकको आयुर्वेदिक चिकित्सा विधाप्रति नै नकारात्मक धारणा बन्ने गरेको उनले सुनाए।

जथाभावी आयुर्वेदिक औषधि सेवन गर्दा मिर्गौला, कलेजो जस्ता शरीरका अङ्गमा नकारात्मक असर पर्दा दोष आयुर्वेदिक चिकित्सा सेवालाई आउने गरेको उनले सुनाए।

कुनै पनि औषधि जथाभाबी सेवन गर्दा साइड इफेक्ट हुने भएकाले चिकित्सकको सुझाव तथा परामर्शमा मात्र औषधि सेवन गर्न डा. वासुदेवको सुझाव छ।

एलोपेथी चिकित्सक तथा आम व्यक्तिले आयुर्वेदिक औषधिको पनि साइड इफेक्ट हुन्छ भन्ने कुरा बुझ्नुपर्ने उनको अनुरोध छ।

बिरामीले साइड इफेक्ट हुँदैन भनेर भकाभक आयुर्वेदिक औषधि सेवन गर्नाले साइड इफेक्ट हुन्छ। अनि आधुनिक चिकित्सकले आयुर्वेदिक औषधि सेवन गरेर स्वास्थ्य जटिलता निम्तियो भनी आयुर्वेद विधाप्रति नै नकारात्मक दृष्टिकोण राख्दा निक्कै दुःख लाग्ने उनले सुनाए।

उपचारमा ग्यारेन्टीको भ्रम

व्यावसायिक लाभालाई बढी प्राथमिकता दिएर खुलेका  स्वास्थ्य संस्थाले गर्ने भ्रामक प्रचारप्रसारका कारण पनि आयुर्वेदिक विधाप्रति नै कतिपयको नकारात्मक भ्रम उत्पन्न भएको डा. वासुदेवको गुनासो छ।

आयुर्वेदिक औषधिले रोग ग्यारेन्टिकासाथ ठिक हुन्छ, जरैदेखि ठिक हुन्छ, निर्मूल हुन्छ, साइड इफेक्ट हुँदैन भन्नु भ्रम मात्रै भएको उनले सुनाए। यस्तो भ्रमात्मक प्रचारका कारण आयुर्वेदिक चिकित्सक मर्कामा परेको उनको अनुभूति छ।

आधुनिक चिकित्सा विज्ञानको तुलनामा आयुर्वेदिक विद्यामा अनुसन्धानको कमी भने भएको उनी स्विकार्छन्।

स्वस्थ जीवनशैलीलाई नै प्राथमिकता दिनुपर्ने उनले बताए। त्यसो त आयुर्वेद उपचारात्मक पद्धति नभई जीवन जिउने पद्धतिका रूपमा लिन्छन्, उनी। यसमा खानपान रहनसहनलाई प्राथमिकता दिन्छ।

आफैँ नियम पालना गर्न कठिन

डा. वासुदेवले दश कक्षामा पढ्दा टाइफाइड भएर एन्टिबायोटिक औषधि सेवन गरेका छन्। त्यसयता कहिलेकाहीँ सिटामोलबाहेक एलोपेथी औषधि सेवन गरेको उनलाई याद छैन।

आयुर्वेदको सिद्धान्त अनुसार दिनचर्याका बारेमा अरूलाई बताउन जति सजिलो छ स्वनियम पालना गर्न डा. वासुदेव आर्फैलाई कठिन भने पर्छ। तर, उनी स्वास्थ्य जीवनशैलीका केही सिद्धान्त भने पालना गर्छन्। आयुर्वेद सिद्धान्त अनुसार खानपानको दृष्टिकोणले पेटलाई तीन भागमा विभाजन गरिन्छ। एक भाग ठोस पदार्थ, एक भाग पानी र अर्को एक भाग खाली।

त्यसैले उनी टन्न पेट खाँदैनन्। जति मिठो लागे पनि पेटको केही भाग खाली नै छाड्छन्। जसले गर्दा अहिलेसम्म डा. वासुदेवमा पेटजन्य समस्या परेको छैन रे। उनको ज्यान निक्कै फुर्तिलो पनि देखिन्छ।

अर्कातर्फ उनी बिहान सूर्योदय भन्दा पहिल्यै उठ्छन्। बेलुकाको सुताई भने कामको व्यस्ततामा निर्भर हुन्छ। उनी बिहान दैनिक १५-२० मिनेट योगाशन गर्छन्। भ्याएसम्म दौडने तथा साक्लिङ गर्छन्। आहार र निन्द्रामा उनी निक्कै ध्यान दिन्छन्।

शिक्षादीक्षा भारतमा

वासुदेव रुपन्देहीको तिलोत्तमामा २०३१ मा जन्मिएका हुन्। उनका बुवा भारतमा आयुर्वेदिक चिकित्सकका रूपमा जागिरे थिए। त्यसैले उनी पनि नेपालमा दुई कक्षासम्म पढेपछि भारत गए। शिक्षादीक्षा भारतमा नै लिए।

वासुदेवले सन् १९९० मा भारतको ‘गुजरात एजुकेसन बोर्ड’बाट एसएलसी उत्तीर्ण गरेका हुन्। उनले प्लस्टु पनि त्यहीँबाट अध्ययन गरे। बुवा आयुर्वेदिक चिकित्सक भएका कारण उनले सानैदेखि आयुर्वेदिक सम्बन्धी पुस्तक पढ्ने मौका पाए। आयुर्वेद सम्बन्धी ज्ञान लिँदै गए।

प्लसटुपछि उनले स्नातक तहको आयुर्वेदिक विषयमा सन् १९९२ मा अध्ययन गर्न थाले। उनले ‘गुजरात आयुर्वेद युनिभर्सिटी’मा स्नातक तहको ‘बीएएमएस’ आयुर्वेदिक विषयको अध्ययन सन् १९९७ मा पूरा गरेका हुन्।

वासुदेवको अध्ययन यतिमै रोकिएन। उनले सन् १९९८ मा आयुर्वेद विषयमा ‘गुजरात आयुर्वेद युनिभर्सिटी’मा नै ‘एमडी’ अध्ययन थाले। सन् २००१ मा वासुदेवले ‘एमडी’ जनरल आयुर्वेद विषयको अध्ययन पूरा गरे। छात्रवृत्तिमा अध्ययन गरेका हुन्।

नेपाल फर्किएर सरकारी जागिर सुरु

एमडी अध्ययनपछि एक वर्ष भारतमा नै आयुर्वेद क्याम्पसमा आयुर्वेदका विद्यार्थीलाई पढाए। त्यसपछि उनलाई नेपालमा नै काम गर्ने सोच आयो। सानैदेखि भारतमा बसेका तथा हुर्केका उनले नेपालमा नै केही गर्ने अठोट लिए। बुवाले पनि जागिरबाट अवकाश लिइसकेका थिए। त्यसैले डा. वासुदेवको परिवार नेपाल फर्कियो। उनी पनि फर्किए।

नेपाल फर्किएपछि उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ‘आयुर्वेद क्याम्पस’ नरदेवीमा एक वर्ष पढाए।

त्यसपछि डा. वासुदेव सरकारी जागिरमा प्रवेश गरे। लोकसेवामार्फत २०६० मा उनी सातौँ तहको अधिकृत आयुर्वेद चिकित्सकका रूपमा स्थायी सरकारी जागिरे भए। त्यो बेला उनले जागिर खाएको त्यो पदलाई अधिकृत कविराज भनिन्थ्यो।

सरकारी जागिरे भएपछि उनी गुल्मीको तमघाँसस्थित ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र’मा पोस्टिङ भए। २०६५ सम्म करिब चार वर्ष उनले गुल्मीमा काम गरे।

त्यसपछि डा. वासुदेव सरुवा भएर काठमाडौँको टेकुस्थित आयुर्वेद विभाग आए। २०६६ सम्म करिब डेढ वर्ष त्यहाँ काम गरे। विभागपछि २०६७ मा सरुवा भएर उनी सिन्धुपाल्चोकको ‘जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र’ पुगे। त्यहाँ उनले करिब दुई वर्ष काम गरे।

सिन्धुपाल्चोकपछि डा. वासुदेव २०६८ मा पुनः टेकुस्थित आयुर्वेद विभाग फर्किए। सङ्घीयतापछि मात्रै आयुर्वेद विभाग ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग’मा परिणत भएको हो।

अनि भयो छलाङ

विभागमा नै काम गरिरहँदा २०६९ मा लोकसेवामार्फत खुला प्रतियोगिता गरी नवौँ तहमा डा. वासुदेव बढुवा भए। उनी ११ औँ तहमा बढुवा हुनका लागि धेरै कुरिरहनु परेन। नवौँ तहमा बढुवा भएको एक वर्षमा नै उनी २०७० मा लोकसेवामार्फत खुला प्रतियोगिता गरी सिधै ११ औँ तहमा बढुवा भए। प्रगतिमा उनले छलाङ नै मारे।

११ औँ तहमा बढुवा भएपछि डा. वासुदेवको पदस्थापन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भयो। मन्त्रालयमा उनी आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखामा करिब तीन वर्ष काम गरे।

मन्त्रालयपछि फेरी २०७३ मा डा. वासुदेव महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा पोस्टिङ भए। पाँच वर्षदेखि निरन्तर उनी विभागको महानिर्देशककै जिम्मेवारीमा छन्। नीति निर्माण तहमा छन्। अहिले प्रशासनिक तहमा रहेर काम गरिरहेकाले बिरामी जाँच्ने तथा बिरामीको उपचार गर्ने मौका मिलेको छैन उनलाई। तर, बिरामीको जाँच तथा उपचार गर्नु नै उनको मुख्य उद्देश्य हो।

२८ फागुन, २०७८, २१:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।