ट्रमा सेन्टरका डा. ऋषिको उपचार अनुभूति : बिरामीले नै डाक्टर साप मेरो हात काटेर फालिदिनुस् भनेपछि...

ट्रमा सेन्टरका डा. ऋषिको उपचार अनुभूति : बिरामीले नै डाक्टर साप मेरो हात काटेर फालिदिनुस् भनेपछि...
तस्बिर : कृष्पा श्रेष्ठ

हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण  विशेषज्ञ डा. ऋषि विष्ट सरकारी स्थायी चिकित्सकका रूपमा जागिरे भएपछि पहिलो पोस्टिङ भएर सन् २००६ मा डोल्पाको ‘जिल्ला अस्पताल डोल्पा’ पुगे।

त्यो बेला भर्खरै तत्कालीन विद्रोही माओवादी र सरकारबिच शान्तिवार्ता भई सशस्त्र द्वन्द्वले विश्राम पाउँदै गरेको अवस्था थियो। तर, द्वन्द्व अन्त्यले निष्कर्ष पाइसकेको थिएन।

सरकारी जागिरमा प्रवेश गरेर डोल्पा पुगेका उनमा युवा चिकित्सकको जोस जाँगर र ऊर्जा तथा उमङ्ग कम थिएन। त्यसैले डा. ऋषि डोल्पा पुगेर जिल्ला अस्पतालमा मात्रै बसेनन्। डोल्पा पुग्नासाथ एकपछि अर्को गाउँ गर्दै द्वन्द्वकालभर चिकित्सक नपुगेका डोल्पाका धेरै ठाउँमा पुगेर बिरामीको उपचार गरे उनले।

सुरु सुरुमा डा. ऋषि जिल्ला अस्पतालबाट स्वास्थ्य शिविर लिएर गाउँ गाउँ पुग्दा कतिपय स्थानीय त डाक्टर हो की सेना भनेर दुबिधामा समेत परेछन्। अग्लो कदका ज्यानदार लक्का जवान डा. ऋषिले सेनाले जस्तै मसिनो कपाल काट्थे। जसले स्थानीय उनीदेखि झुक्किँदा रहेछन्।

डा. ऋषि डोल्पाको तल्लो भेगको तत्कालीन कालिका गाविस लगायतका ठाउँतिर स्वास्थ्य शिविर लिएर गए। जुन ठाउँमा द्वन्द्वका कारण लामो समयसम्म चिकित्सकको उपस्थिति हुन पाएको रहेनछ।

जिल्ला सदरमुकामबाट एक दिन हिँडेर डा. ऋषिको टिम कालिका गाविस पुगेको थियो। त्यहाँ उनको टिम भासेक्टोमी स्वास्थ्य शिविर लिएर पुगेको थियो।

सदरमुकामबाट डा. ऋषिको टिम गाउँ त पुग्यो। तर त्यहाँ सदरमुकामबाट अनुगमनका लागि सेनाको क्याप्टेनको टोली आयो भनेर हल्ला फैलिएछ। सिभिल पोसाकमा पुगेका उनको सेनाकै जस्तो लवज देखिएको थियो। जसले गाउँलेहरू झस्किए।

स्थानीय एक जना स्वास्थ्यकर्मीले सेनाको टोली आउँदै छ भनेर गाउँमा हल्ला फैलिएको कुरा डा. ऋषिलाई सुनाए। गाउँलेले आफूलाई सेनाको दृष्टिले हेर्दा डा. ऋषिलाई हाँस पनि उठ्यो। तर, नचिनेको ठाउँ केही हुने पो हो की भनेर मनमा चिसो पनि पस्यो।

गाउँमा स्वास्थ्य चौकी तथा स्वास्थ्य शिविरमा बसुन्जेल कतै सेना भन्ठानेर अप्ठेरो त पार्दैनन्! भन्ने मनमा डर लागिरह्यो रे।

अन्य स्वास्थ्यकर्मीको टिमले जिल्लाबाट आउनु भएको 'डाक्टर साब हो' भनेर गाउँलेलाई निकैबेर बताएपछि मात्रै उनलाई डाक्टर नै हो भनेर गाउँलेले पत्याएछन्।

बिस्तारै गाउँलेको भ्रम पनि हट्यो। त्यहाँ दुई दिन राम्रोसँग स्वास्थ्य शिविर सञ्चालन गरेर सदरमुकाम फर्केको प्रसङ्ग उनले सुनाए। पछि माओवादीका एक नेताले जिल्ला अस्पतालमा नै भेटेर सेनाको डाक्टर पो हो की भन्ठानेका थियौँ भनेर सुनाएको प्रसङ्ग पनि सम्झन्छन् उनी।

त्यो दिन हेलिकप्टरमा प्रहरीको उद्धार नभएको भए...

डा. ऋषिको मानसपटलमा ताजै रहने अर्को प्रसङ्ग हो, २०६४ को संविधान सभा निर्वाचन। जुन समयमा उनी जिल्ला अस्पताल डोल्पामा नै थिए। निर्वाचनको दिन मतदान स्थलमा खटिएका बिरामी प्रहरीलाई उद्धार गरेको प्रसङ्ग उनी कहिल्यै भुल्दैनन्।

संविधान सभाको निर्वाचनको दिन डा. ऋषि जिल्ला अस्पतालमा नै थिए। निर्वाचनको दिन डा. ऋषिले ‘उपल्लो डोल्पामा मतदान स्थलमा खटिएका एक जना प्रहरीलाई लेक लागेर (हाइ एल्टिच्युट सिक्ने भएर) सिकिस्त भएको खबर पाए। ती प्रहरीलाई तत्काल उद्धार गर्नुपर्ने भएकाले हेलिकप्टर आउँदै छ’भन्ने खबर आयो।

त्यो खबर पाइसकेपछि हेलिकप्टरले बिरामी लिएर आउन लागेको छ भन्ठानेर उनले अस्पतालमा उपचार व्यवस्थापनको जाँचो मिलाउन थाले।

अक्सिजन मेसिनको अवस्था, औषधि लगायत स्ट्याण्डबाई व्यवस्था गरे।

तर, फेरी केही बेरमा काठमाडौँबाट हेलिकप्टर जिल्लामा आइरहे पनि मतदानस्थलमा बिरामी भएका प्रहरी भएको ठाउँसम्म पुग्ने एकिन लोकेसन पत्ता लगाउन नसकिने भएकाले त्यो ठाउँ पुगेको कोही छन्? भनेर उनलाई सोधियो।

लोकेसन पत्ता लगाउन नसकेका कारण काठमाडौँबाट उडेको हेलिकप्टर डोल्पा सदरमुकाममा ल्यान्ड भएर त्यहाँबाट लोकेसन पत्ता लगाउन सक्ने मान्छे लगेर बिरामी प्रहरी ल्याउने कुरा भएछ।

हेलिकप्टर डोल्पा सदरमुकाम पनि पुग्यो। प्रहरी बिरामी भएको मतदान स्थलसम्मको लोकेसन कसले पत्ता लगाउन सक्छ भनेर सोध खोज भयो।

डा. ऋषि नै चुनाव हुनु भन्दा केही समय अघि मात्रै डोल्पाको उपल्लो क्षेत्र (प्रहरी बिरामी भएको मतदान स्थल) मा स्वास्थ्य शिविर सञ्चालन गरी घुमेर फर्केका थिए।

त्यहाँ भएका सरकारी निकायमध्ये डा. ऋषिले नै त्यो ठाउँको बारेमा सहज लोकेसन पत्ता लगाउन सक्ने देखियो। त्यसैले ती प्रहरीको उद्धारका लागि डा. ऋषि नै हेलिकप्टरमा जानुपर्ने भयो।

डा. ऋषि प्रहरीको उद्धारका लागि हेलिकप्टरमा चढे। आकस्मिक रूपमा उपचार गर्न सकिने केही औषधी तथा स्वास्थ्य सामग्री पनि बोके।

ठाउँ पत्ता लगाएर मतदानस्थल नजिक हेलिकप्टर ल्यान्ड गर्यो। प्रहरीलाई मतदान स्थलबाट उद्धार गरेर हेलिकप्टरमा राखियो। डा. ऋषिले प्राथमिक उपचार थाले।

‘प्रहरीलाई रेस्क्यु गरेर हेलिकप्टरमा नै उपचार गर्दै लिएर आयौँ’ उनले भने,'केही बेर जिल्ला अस्पतालमा राखेर उपचार गरेपछि त्यही हेलिकप्टरमा थप उपचारका लागि प्रहरीलाई सुर्खेत लगियो।'

अक्सिजनको कमीका कारण ती प्रहरीको फोक्सोमा पानी भरिएर श्वासप्रश्वासमा समस्या भएको थियो। ती प्रहरी अर्धचेतन भइसकेका थिए। धन्य ! भाग्यवश ती प्रहरी बाँच्न सफल भए। त्यो दिन उद्धार नभएको भए ती प्रहरी बाँच्न मुस्किल हुने डा. ऋषि सम्झन्छन्।

त्यो क्षण सम्झँदा मनै शान्त हुने उनले सुनाए।

उपल्लो डोल्पामा जाँदा ओडारमा बास

द्वन्द्वकालभरी चिकित्सकहरू उपल्लो डोल्पाका तत्कालीन आठ वटा गाविस नपुगेका ठाउँमा समेत आफू पुगेर स्वास्थ्य शिविर चलाएको डा. ऋषिले अनुभव सुनाए।

‘उपल्लो डोल्पाको सबै गाविस पुग्ने म मात्रै थिएँ होला’ उनले सुनाए' तिब्बत सीमा नजिकको छार्कालगायत गाउँहरुमा म पुग्न सके।'

उपल्लो डोल्पा पुग्दा अर्कै संसारजस्तो अनुभूति भएको उनले सुनाए। पैसाको चलन खासै नभएको र सामान नै ऐंचोपैंचो तथा साटासाट गरेर चलाउनले चलन भएको उनले देखे।

स्थानीय मौलिक ‘खाम’ भाषा डा. ऋषिलाई बुझ्न कठिन हुने नै भयो। नेपाली भाषा धेरैले बुझ्दैनथे। उपल्लो डोल्पामा जाँदा केही स्वास्थ्यकर्मी राम्रोसँग खाम भाषा बोल्न सक्ने थिए। त्यसैले आफूलाई केही सहजता भएको उनले सुनाए।

डोल्पाका ती ठाउँहरूमा जान एक हप्ता र फर्कन एक हप्ता गरी करिब १५ दिन भन्दा बढी समय लाग्ने भएकाले स्वास्थ्यका कार्यक्रम लान कठिन भएको उनले बताए।

त्यति मात्रै कहाँ हो र? बाटोका कयौँ ठाउँमा गाउँ समेत नभेटिने भएकाले केही स्वास्थ्यकर्मी त ओडारमा बास बस्नुपरेको थियो।

होटेल भेटिँदैनथ्यो। स्वास्थ्यकर्मीहरू स्वास्थ्य चौकीहरूमा खोप लगायतका स्वास्थ्यका नियमित कार्यक्रम सञ्चालनका लागि जाँदा यस्तै विभिन्न समस्या झेल्नु परेको प्रसङ्ग उनले सुनाए। उनी आफै पनि एक पटक ओडारमा बास बसेका छन्।

उनले भने,‘ग्रामीण भेगमा फिल्डमा खटिने स्वास्थ्यकर्मी स्वास्थ्यका वास्तविक मेरुदण्ड हुन्।’

चार दाना हाँसका अण्डा र यार्सा

जिल्ला अस्पताल डोल्पामा काम गर्दाका धेरै क्षणहरू डा. ऋषिका लागि सम्झनालायक छन्। जसमध्ये हाँसका अण्डा र यार्सा कोसेली पाएको क्षण पनि हो

बिहान करिब ६ बजेको समय थियो। क्वाटरमा बसेका डा. ऋषिलाई कर्मचारीले बोलाएपछि उनी अस्पताल पुगे। करिब पाँच वर्षका बालकको कुहिनो फुत्किएर अस्पताल पुर्याइएको रहेछ।

त्यसपछि डा. ऋषि नेतृत्वको टिमले ती बालकको कुहिनाको उपचार गर्यो। बालकको हातको सफल उपचारपछि ३/४ दिनमा फलोअपका लागि उनले बोलाएका थिए।

तीन दिनपछि आमाले ती बालकलाई लिएर फलोअपका लागि अस्पताल पुगिन्। फलोअपमा अस्पताल आउँदा डा. ऋषिका लागि ती बालककी आमाले चार दाना हाँसको अण्डा र २/३ वटा यार्सा कोसेली ल्याएकी थिइन्।

छोराको उपचार सफल भएपछि ती बालककी आमाले कोसेली दिँदा डा. ऋषिले पर्दैन त भने तर कृतज्ञ भएर ल्याइदिएको कोसेली उनलाई अस्वीकार गर्न मन लागेन। कोसेली लिए।

आर्थिक रूपमा कमजोर, खाद्यान्नको अभाव र एक आङमा लुगा लगाउन समेत कठिन  देखिएकी  ती बालककी आमाले दिएको त्यो कोसेलीले उनलाई भावुक बनायो।

क्वाटरमा लगेर स्वादले खाए।

सरकारी जागिरदुर्गममा पोस्टिङ

काठमाडौँमा २०३५ मा जन्मिएका ऋषिले सेन्ट जेभियर्स माविबाट २०५१ मा एसएलसी गरे। आइस्सी सेन्ट जेभियर्स कलेजबाट गरे। उनका बुवाआमा शिक्षण पेसामा भएकाले अध्ययनका लागि अघि बढ्न सहजता मिल्यो।

आइएस्सीपछि उनको डाक्टरी अध्ययन सुरु भयो। ऋषिले काठमाडौँको जोरपाटीस्थित काठमाडौँ विश्वविद्यालय अन्तर्गतको नेपाल मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि सन् १९९९ मा भर्ना भए। सन् २००४ मा उनको एमबिबिएस पूरा भयो।

एमबिबिएस अध्ययनपछि करिब दुई वर्ष उनले त्यहीँ मेडिकल अधिकृतका रूपमा करार जागिरे भएर काम गरे।

त्यसपछि डा. ऋषि लोकसेवा परीक्षामार्फत सन् २००६ मा सातौँ तहमा स्थायी चिकित्सकका रूपमा सरकारी जागिरमा प्रवेश गरे। सरकारी जागिरे भएपछि उनको पहिलो पोस्टिङ डोल्पाको ‘जिल्ला अस्पताल डोल्पा’मा भयो।

डोल्पामा डा. ऋषि सन् २००६ देखि सन् २००८ सम्म करिब दुई वर्ष बसेर काम गरे।

प्रेम विवाहडोल्पा बस्दा दुई वर्षमा तीन पटक भेट

सरकारी सेवामा प्रवेश गरेपछि डा. ऋषिले डा. लैला लामा ताङ्वेतानीसँग लगनगाँठो कसे। उनकी श्रीमती डा. लामा छाला तथा यौन रोग विशेषज्ञ हुन्। उनी वीर अस्पतालमा कार्यरत छिन्।

लैला ऋषिभन्दा केहीअघि सरकारी सेवामा प्रवेश गरिन्। विवाह भएको एक हप्तामा नै पोस्टिङ भएर डा. लैला मुस्ताङ पुगिन्। त्यसै गरी डा. ऋषि डोल्पा पुगे।

डोल्पा र मुस्ताङ छिमेकी जिल्ला भए पनि भौगोलिक विकटताका कारण उनीहरू भेटका लागि काठमाडौँ नै आउँथे। त्यसैले विवाह गरेको दुई वर्ष आफू मुस्ताङमा बस्दा लैलासँग ३/४ पटक मात्रै भेट भएको डा. ऋषिले सुनाए।

डा. ऋषि र डा. लैला काठमाडौँ (वीर अस्पताल)मा पोस्टिङ भएपछि मात्रै नियमित भेट्न र सँगै बस्न पाए। उनीहरूका सात र तीन कक्षामा अध्ययनरत दुई छोरा छन्।

डा. ऋषि घुमघाम गर्न मन पराउने चिकित्सक हुन्। दुई वर्ष अघि उनले करिब ६ हजार चार सय मिटरको मेरापिक हिमाल आरोहण गरेका थिए।

डोल्पापछि काठमाडौँ

डोल्पापछि डा. ऋषि काठमाडौँ सरुवा भएर स्वास्थ्य सेवा विभागको ‘राष्ट्रिय एड्स तथा यौन रोग निवारण केन्द्र’मा करिब दश महिना काम गरे। 

डा. ऋषिलाई थप अध्ययनको भोक छँदै थियो। त्यसैले उनले सन् २०१० मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा छात्रवृत्ति कोटामा स्नातकोत्तर तहको एमएस अर्थोपेडिक सर्जरी विषय अध्ययन थाले।

डा. ऋषिको सन् २०१२ मा एमएस अर्थोपेडिक सर्जरी विषयको अध्ययन पूरा भयो।

त्यसपछि उनको पोस्टिङ पनि वीर अस्पतालमा नै भयो। तर, २०७२ सालको भूकम्पका कारण वीरका संरचना भत्किएपछि अर्थोपेडिक विभागले राष्ट्रिय ट्रमा सेन्टरमा नै सेवा दिइरह्यो।

त्यसैले उनी पनि ट्रमा सेन्टरमा नै कार्यरत छन्। डा. ऋषि बढुवा भएर नवौँ हुँदै दसौँ तहमा पुगेका छन्। वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन र  सहप्राध्यापकको भूमिकामा समेत छन् उनी।

हिप र घुँडाको जोर्नी प्रत्यारोपण

डा. ऋषिलाई हाड जोर्नीको सर्जरी सम्बन्धी थप ज्ञान तथा सीप सिक्नु नै थियो। त्यसैले उनी सन् २०१६ मा भारत पुगेर ‘जोर्नी प्रत्यारोपण (ज्वाइन्ट रिप्लेस्मेन्टरआर्थो प्लाष्टि)’ सम्बन्धी फेलोसिप गरे।

विशेष गरी जोर्नी प्रत्यारोपण गर्नमा नै डा.  ऋषि केन्द्रित हुन्छन्। विशेष गरी घुँडा र हिप जोर्नी प्रत्यारोपणमा उनी बढी केन्द्रित हुन्छन्। शरीरका कुनै पनि अङ्गको प्रत्यारोपण (रिप्लेसमेन्ट) गर्नु जोर्नी प्रत्यारोपण हो।

तर, जोर्नी प्रत्यारोपण भन्दा पनि जोर्नी परिवर्तन भन्न रुचाउँछन् उनी। किनकि प्रत्यारोपणमा घुँडा लगायतमा बिग्रिएका जोर्नी सफा गरेर कृत्रिम जोर्नी राखिन्छ। त्यसै गरी रोग वा कुनै चोटपटक जस्ता कारण हिप तथा हिपको गेडि बिग्रिएको अवस्थामा कृत्रिम जोर्नी राखेर उपचार गरिन्छ।

त्यसै गरी हड्डी भाँचिएको, चोटपटक लागेको जस्ता हाड जोर्नीमा भएका समस्याको उपचार गर्नु डा. ऋषिको दैनिकी हो। 

भारतबाट आफूले जोर्नी प्रत्यारोपण सम्बन्धी ज्ञान तथा सिप सिकेर फर्केपछि नै वीर–ट्रमामा नियमित रूपमा जोर्नी प्रत्यारोपण हुन थालेको डा. ऋषिले सुनाए। त्यसो त उनले सन् २०१८ मा इजरायल पुगेर ट्रमा सर्जरी विषयमा फेलोसिप गरे।

अर्थोपेडिक पढ्ने अठोट

डा. ऋषिले अर्थोपेडिक तथा जोर्नी प्रत्यारोपण विषय नै रोज्नुको पनि खास प्रसङ्ग छ। एमबिबिएसपछि नेपाल मेडिकल कलेजमा एनेस्थेसिया विभागमा काम गरे। जुन विभागमा काम गर्दा उनले करिब सबै किसिमको शल्यक्रिया नजिकबाट देखे। त्यसैले उनलाई यो विषयप्रति चासो बढ्दै गयो।

त्यसपछि जब सरकारी जागिरे चिकित्सकका रूपमा डोल्पा पुगे त्यहाँबाट अझ बढी अर्थोपेडिक तथा जोर्नी प्रत्यारोपण विषय अध्ययनप्रति उनको चासो बढ्दै गयो।

डोल्पामा घाइते भएका केही व्यक्तिको उनले उपचार गरे। जुन प्रसङ्गले पनि डा. ऋषिले अर्थोपेडिक तथा जोर्नी प्रत्यारोपण विषय नै अध्ययन गर्ने अठोट लिए। भौगोलिक रूपमा सबै भन्दा ठुलो जिल्ला हो डोल्पा। तर, जिल्ला भरी उनी एक्लो डाक्टर थिए।

सदरमुकामबाट उपल्लो (माथिल्लो) डोल्पाका क्षेत्रहरूमा पैदल हिँडेर पुग्न एक हप्ता लाग्थ्यो भने फर्कन एक हप्ता। एक दिन उपल्लो डोल्पाबाट स्वास्थ्य शिविर सम्पन्न गरेर सदरमुकाम फर्कने क्रममा बाटोमा  करिब ५० वर्षका घाइते पुरुष भेटे। उनले भेट्नुभन्दा ३र४ दिन अघि ती व्यक्ति घरबाट लडेर घुँडामा चोट लागेर घाइते भएका रहेछन्।

डा. ऋषिले बाटैको एक स्वास्थ्य चौकीमा ती घाइते पुरुषको प्राथमिक उपचार गरे। त्यहाँबाट जिल्ला अस्पताल पुग्न करिब दुई दिन लाग्ने थियो।  ती घाइतेको जिल्ला अस्पतालमा पूर्ण उपचार सम्भव नदेखिएपछि त्यहाँ प्राथमिक उपचार गरेर घाइतेलाई नेपालगन्ज पठाउने योजना गरे उनले।

सडक नै थिएन। त्यसैले कि हवाईजहाज वा हेलिकप्टरबाट पठाउनुपर्ने भएकाले ती घाइतेलाई एयरपोर्ट लगियो। तर, एयरपोर्ट पुर्याइएको तीन दिनपछि मात्रै हवाई जहाज डोल्पा पुगेछ। त्यसपछि भने ती घाइते पुरुष हवाईजहाजबाट नेपालगन्ज पुगेर थप उपचार गरेछन्। पछि ती घाइते पुरुष ठिक भएको खबर पाएको उनले बताए।

त्यो बेला उनको मनमा खड्क्यो,–मलाई हाडजोर्नी सम्बन्धी राम्रो ज्ञान भएको भए अहिलेको भन्दा परिष्कृत उपचार दिन सक्थेँ। त्यसपछि हो उनले अर्थोपेडिक विषय अध्ययन गर्ने निष्कर्षमा पुगेको।

घाइतेलाई समातेर बसेको त्यो क्षण

राष्ट्रिय ट्रमा सेन्टरमा २०७२ वैशाखको भूकम्पमा बिरामीको शल्यक्रिया गरिरहँदा भूकम्पका पराकम्पन गएका ती क्षण उनको मानसपटलमा ताजै छन्। भूकम्प जाँदा बत्ती निभ्ने, अनि भवन नै हल्लँदा समेत शल्यक्रिया कक्ष छोडेर जान नमिलेको प्रसङ्ग सम्झँदा अझै उनको मन झस्कन्छ।

वैशाख २९ गते भूकम्प जाँदाको प्रसङ्ग सुनाए। त्यो बेला डा. ऋषिको टिम एक जना घाइतेको खुट्टाको शल्यक्रिया गरिरहेको थियो। शल्यक्रियामा खटिएको चिकित्सकको टिमलाई सुरुमा त सामान्य पराकम्प होला भन्ने लाग्यो। धेरै नै हल्लायो।  अप्रेशन थिएटरमा बत्ती पनि गयो। तर व्यकपअप मनिटरको ब्याट्रीको सहायताले अत्यावश्यक मेसिनहरू चलिरहेका थिए।

भूकम्पले यति हल्लायो की आफ्नो ज्यान ऐंच्याउँदै अप्रेशन टेबुलका बिरामीलाई ऐंच्याउन निक्कै मुस्किल परेको सम्झन्छन् उनी। केही बेरमा हल्लिने क्रम रोकिएपछि पुनः शल्यक्रिया सुरु गरे।

शल्यक्रिया सफल भएपछि मात्रै चिकित्सकको टिम अस्पतालको ढोका बाहिर निस्किएको अनुभूति उनले सुनाए। त्यो कहालीलाग्दो क्षणबाट पार पाइ अस्पतालबाट निस्किएपछि मात्रै आफूले परिवारमा फोन गरेको प्रसङ्ग उनले सुनाए।

परिवारमा ठिकठाक छ भन्ने खबर पाएपछि उनी निरन्तर अस्पतालमा घाइतेको उपचारमा नै खटिए।

हात काटेर फाल्दिनुहोस् डाक्टरसाब

केही समय अघिसम्म जोर्नी प्रत्यारोपणका लागि भारत लगायतका मुलुकमा जानुपर्ने बाध्यता भए पनि अहिले भने पनि अहिले त्यो बाध्यता नरहेको उनले सुनाए।

डा. ऋषिले हालसम्म दुई सय भन्दा बढी व्यक्तिको जोर्नी प्रत्यारोपण गरेको र हालसम्म ठुला जटिलता ननिम्तिएको बताए। तर, कहिलेकाहीँ भने स्वास्थ्य जटिलता निम्तन सक्ने विषयलाई भने नकार्न नसकिने उनी बताउँछन्।

त्यस्तै अथक उपचार प्रयास गर्दा गर्दै पनि पाँच वर्ष अघि करिब ५० वर्षका तराई मूलका एक पुरुषको हात काटेर फाल्नु परेको प्रसङ्ग भने उनलाई कारुणिक लाग्छ।

६ महिनासम्म उपचार प्रयास गर्दा समेत हात नबच्ने महसुस भएपछि ती बिरामी आफैँले,‘डाक्टरसाब प्रयास गर्नु भएकै हो। अब हातै काटेर फालिदिनुहोस्’ भनेछन्।  त्यो प्रसङ्ग सम्झँदा डा. ऋषिको छाती चिसो हुन्छ किनकि ती शारीरिक श्रम गरेर पालिने व्यक्ति थिए।

२१ साउन, २०७९, २२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।