डा. मिङ्मारको उपचार अनुभूति: शल्यक्रिया गर्दागर्दै अर्धचेतन बालकले भने ‘डाक्टरले हात काट्नुपर्छ, नत्र मर्छ भन्छ, मर्नु भन्दा त हात काटेकै राम्रो’

डा. मिङ्मारको उपचार अनुभूति: शल्यक्रिया गर्दागर्दै अर्धचेतन बालकले भने ‘डाक्टरले हात काट्नुपर्छ, नत्र मर्छ भन्छ, मर्नु भन्दा त हात काटेकै राम्रो’
तस्बिर : कृष्पा श्रेष्ठ

जीवनको ऊर्जाशील समय दुर्गमका अस्पतालमा बिताएका डा. मिङ्मार गेल्जेन शेर्पाको मानसपटलमा दुर्गममा काम गर्दाका धेरै क्षण ताजै छन्। जुन क्षणले उनलाई कहिले रमाइलो लाग्छ त कहिले मन खिन्न बनाउँछ। तर पश्चाताप गर्नुपर्ने क्षण भने छैन।

दुर्गममा काम गरेकोमध्ये २०३६ सालतिर तेह्रथुम जिल्ला अस्पतालमा एक गर्भवती महिलाको शल्यक्रिया गरेर मृत भ्रुण निकालेर आमाको ज्यान बचाएको क्षण कहिल्यै भुल्दैनन् डा. मिङ्मार। त्यो बेला उनी भर्खर सरकारी जागिरे भएर तेह्रथुम पुगेका थिए।

डा. मिङ्मार तेह्रथुम अस्पतालमा नै काम गरिरहेका थिए। सुत्केरी व्यथाले शिथिल बनेकी गर्भवती महिलालाई बोकेर अस्पताल पुर्याइयो। उनले महिलाको स्वास्थ्य परीक्षण गरे। 

स्वास्थ्य परीक्षण गर्दा ती महिलाको गर्भमा रहेको भ्रूणको मृत्यु भइसकेको थाहा भयो। पाठेघर फुटेर पेटभित्र रक्तस्राव भएर रगत जमिसकेको थियो। महिलाको स्वास्थ्य नाजुक अवस्थामा पुगिसकेको थियो। 

तुरुन्तै शल्यक्रिया गरेर मृत भ्रुण ननिकाल्ने हो भने महिलाको ज्यान जाने अवस्थामा पुगिसकेको थियो। स्वास्थ्य परीक्षणपछि डा. मिङ्मारले ती महिलाका परिवारलाई गर्भको भ्रूणको मृत्यु भइसकेको जानकारी गराए। तुरुन्तै शल्यक्रिया नगरे महिलाको ज्यानै जाने जोखिम भएको पनि जानकारी गराए। 

शल्यक्रिया त गर्ने तर कहाँ र कसरी गर्ने भन्ने तनावमा परे डा. मिङ्मार। उनी  एमबिबिएस चिकित्सक। विशेषज्ञ चिकित्सक नभए पनि शल्यक्रियाको ज्ञान तथा सीप भने सिकेका थिए। 

तेह्रथुम जिल्ला अस्पतालमा उपचार नभए ती महिलालाई रिफर गरेर विराटनगर पठाउनुपर्ने हुन्थ्यो। मोटरबाटो थिएन। त्यसैले बिरामीलाई बोकेरै विराटनगर पुर्याउनुपर्ने थियो। चाँडो लैजाँदा पनि विराटनगर पुग्न दुई दिन हिँड्नुपर्ने हुन्थ्यो। 

डा. मिङ्मारले सोचे,'दुई दिनसम्म शल्यक्रिया नगर्ने हो भने त बिरामी बाँच्न सक्दिनन्। त्यसैले उनले आफैँ शल्यक्रिया गरेर महिलालाई बचाउने निधो गरे। 

ती महिलाका परिवारलाई उनले स्वास्थ्य समस्याको अवस्थाका बारेमा बताए। ती महिलाका परिवारसँग डा. मिङ्मारले ‘यहीँ शल्यक्रिया गर्न गाह्रो त छ तर तुरुन्तै शल्यक्रिया गरेर मृत्यु भएको भ्रूण निकाल्नुपर्छ, मान्नहुन्छ भने। अनि यहीँ शल्यक्रिया गर्छु पनि भने। 

बिरामीका आफन्त शल्यक्रियाका लागि राजी भए। त्यसपछि डा. मिङ्मारले महिलाको शल्यक्रियाको तयारी गरे। बिरामीलाई अस्पतालको कोठामा लगे। आफैँ लोकल एनेस्थेसिया औषधि दिएर मासु मात्रै बेहोस बनाएर शल्यक्रियाको तयारी गरे। नर्सहरूको सहयोगमा डा. मिङ्मारले ती महिलाको शल्यक्रिया सुरु गरे। 

मृत्यु भएको भ्रूण निकाले। पाठेघर फुटेर पेटमा छरिएको रगत निकाले। पेटमा भएको फोहोर सफा गरे। पाठेघर सिलाइदिए। केही बेरको मेहनतपछि शल्यक्रिया सफल भयो। महिला होसमा फर्किइन्। ज्यान बाँच्यो।

दुर्गमका अस्पतालमा काम गर्दा त्यो बेला विशेषज्ञ चिकित्सक थिएनन्। अहिले पनि त्यही समस्या छँदै छ। त्यसैले अस्पतालमा आइपरेका उपचार समस्याको आफैँ व्यवस्थापन गर्नुपर्थ्यो। 

शल्यक्रिया सफल भएपछि ती महिलालाई वार्डमा सारियो। शल्यक्रिया गरेकाले १-२ दिन ती महिलाले खाना खान हुँदैनथ्यो। डा. मिङ्मारले १-२ दिन खाना खान हुँदैन है भनेका पनि थिए। तर महिलालाई परिवारले लुक्दै ढिँडो, भात खुवाएछन्। धन्न खानाले नकारात्मक असर गरेन।

केही दिन पछि ती बिरामी महिला र उनका परिवार अस्पतालबाटै भागे। कता भागे थाहा भएन। किन भागे त्यो पनि थाहा भएन। खोजी गर्दा बिरामीसँग सम्पर्क  हुन सकेन।

ती गर्भवती महिलाको उपचार गरेको करिब डेढ वर्षमा डा. मिङ्मार धरानबाट तेह्रथुम जाँदै थिए। झोला बोकेर धरानको फुस्रेबाट उनी एकै दिनमा हिँडेर तेह्रथुम पुग्थे। तेह्रथुमबाट पनि एकै दिनमा उनी धरान पुग्थे। त्यसैले अस्पतालका कर्मचारी डाक्टरसाबसँग हिँड्न सकिँदैन भनेर डराउँथे रे। 

डा. मिङ्मार बाटोमा हिँडिरहेको बेलामा सोलुखुम्बुकै चिनेका एक जना ठेकेदारसँग भेट भयो। ती ठेकेदार सडक बनाउन त्यहाँ पुगेका रहेछन्। चिनेका ती ठेकेदारले एक्लै हिँड्न हुँदैन भनेर एक जना सडक बनाउने मजदुरलाई डा. मिङ्मारसँग साथी पठाइदिए।

त्यसपछि डा. मिङ्मार ती मजदुर साथीसँग तेह्रथुम लागे। बाटोमा जाँदै गर्दा अलिमाथि पुगेपछि होटेलमा चिया खाजा खान बसे। होटेलमा एक जना लिम्बु थरका स्थानीय पुरुष पनि बसिरहेका थिए।

ती पुरुषले त्यो होटेलमा एक बोतल रक्सी र दुई दाना अण्डा किने। त्यसपछि ती पुरुषले एक हातमा स्थानीय रक्सी र अर्को हातमा प्लेटमा दुई दाना अण्डा बोकेर डा. मिङ्मार नजिक पुगे। 

ती पुरुषले डा. मिङ्मारलाई ढोगे। खुट्टा हटाउँदा हटाउँदै ती पुरुषले मिङ्मारको खुट्टैमा ढोगिहाले। खुट्टामा ढोगेनन् मात्रै हातमा बोकेको त्यो रक्सीको बोतल र अण्डा पनि ढोग्दै खुट्टा नजिक राखिदिए। 

ती पुरुषले ढोगिरहँदा डा. मिङ्मारलाई निक्कै असहज भयो। डा. मिङ्मारले सोचे,'सायद यी पुरुषको घरमा कोही बिरामी होलान्। त्यसैले बिरामीको उपचारका लागि जाऊँ भन्न ढोगेको हुनुपर्छ।'

किन त्यसरी ढोगे भनेर सोधखोज गर्दा त तेह्रथुम अस्पतालमा तिनै बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरेर मृतभ्रुण फ्यालेर डा. मिङ्मारले बचाइदिएकी महिलाका श्रीमान् पो रहेछन्। 

शल्यक्रियापछि ती महिलाले एउटा बच्चा जन्मिएको र स्वास्थ्य अवस्था राम्रो रहेको ती पुरुषले सुनाए। आफूले उपचार गरेकी तर अस्पतालबाट भागेकी ती महिला बाँचेको सुन्दा डा. मिङ्मार खुसी भए। 

त्यो बेला सुत्केरी ब्याथाले मृत्युको मुखमा पुगेकी श्रीमतीलाई बचाइदिने डाक्टर देखेपछि कृतज्ञ हुँदै ती पुरुषले त्यसरी डा. मिङ्मारलाई ढोगेका रहेछन्। ती पुरुषले उनलाई कोसेली खाइदिन अनुरोध गरे।

डा. मिङ्मारलाई पनि कृतज्ञ भएर दिएको कोसेली नखाइदिँदा खल्लो मान्लान् भन्ने लाग्यो। त्यसैले उनले थोरै रक्सी पिए। उनीसँग बाटोमा ठेकेदारले पठाएका मजदुर साथी पनि थिए। ती साथीलाई डा. मिङ्मारले रक्सी पिउने भनेर सोधे। ती साथीले पिउने भने। त्यो रक्सी र अण्डा बाटोबाट सँगै साथी गएका ती मजदुरले पिए। 

खानपानपछि रक्सी र अण्डा उपहार दिने ती पुरुषसँग बिदा मागेर डा. मिङ्मार र उनका साथी बाटो लागे। जाँदाजाँदै डा. मिङ्मार अघि लागे। ती साथी त पछाडि छोडिँदै गए। माथि पुगेर निक्कै बेर पर्खँदा समेत साथी आइपुगेनन्। त्यसपछि डा. मिङ्मारले केही स्थानीयलाई ती साथीको खोजी गर्न पठाए। 

खोजी गर्न जाँदा त ती साथी रक्सिले मातेर बाटैको ढुङ्गामाथि मस्त सुतेका रहेछन्।  त्यसपछि चार जना गाउँलेले तङ्ग्रँदै ती साथीलाई डा. मिङ्मार भएको ठाउँमा पुर्याइदिए।

डा. मिङ्मारलाई भेटेपछि ती साथीले निक्कै लज्जित हुँदै भनेछन्,'डाक्टरसाब म त मातेछु। यो कुरा मेरो ठेकेदार सा बलाई नभनिदिनु है।'

त्यहाँबाट करिब आधा घण्टा हिँडेपछि तेह्रथुम सदरमुकाम पुगिन्थ्यो। किन आधा घण्टा बढी उकालो हिँडाउनु भनेर ती साथीलाई डा. मिङ्मारले त्यहीँ बासको व्यवस्था गरिदिए। फर्कन खर्चबर्च दिए। उनी भने जिल्ला सदरमुकामतिर लागे। तेह्रथुमको त्यो प्रसङ्ग सम्झँदा अहिले पनि डा. मिङ्मारलाई रमाइलो लाग्ने रैछ।

७० वर्षे बाजेको उपचारपछि अस्पतालमा दसैँको टीकाको उमङ्ग

तेह्रथुममा नै पाको उमेरका बाजेको उपचार गरेको एउटा प्रसङ्ग पनि डा. मिङ्मार भुल्दैनन्। 

भएको के थियो भने ७० वर्ष नाघेका बाजेलाई दुई छोराहरूले अस्पतालमा बोकेर लगेका थिए। ती बाजेको ठुलो हाइड्रोशील जस्तो देखिने समस्या थियो। अण्डकोषमा रगत जमेको थियो। जसलाई चिकित्सकीय भाषामा हेमाटोशील भनिन्छ। त्यो समस्याले गर्दा ती बाजे हिँडडुल नै गर्न नसक्ने अवस्थामा पुगेका थिए। समस्या निक्कै पुरानो र ठुलो भइसकेको थियो। 

ती बाजेको शल्यक्रिया गर्नुपर्ने थियो। बाजेका छोराहरूलाई ३-४ बोतल स्लाइन पानी किनेर ल्याउन अनुरोध गरे डा. मिङ्मारले। अस्पतालमा स्लाइनको व्यवस्था थिएन। 

तर, एक जना छोरालेचाहीं ‘बाँच्ने जस्तो छैन, उमेर पनि पुग्यो के खर्च गर्नु छाडिदिऊँ’ भनेछन्। छोराले त्यसो भनेको सुन्दा डा. मिङ्मारलाई निक्कै दुःख लाग्यो। त्यसैले डा. मिङ्मारले अस्पतालका कर्मचारीलाई आफैँले पैसा दिएर स्लाइन पानी किन्न पठाए। कर्मचारीले स्लाइन पानी ल्याए।

शल्यक्रिया गर्नु पर्छ भन्दा समेत एक जना छोरा मानेका थिएनन्। तर, पछि सहमत भए। त्यसपछि छोराहरूलाई मनाएर डा. मिङ्मारले ती बाजेको हेमाटोशील समस्याको शल्यक्रिया सुरु गरे। त्यो हेमाटोशील ठुलो भएकाले शल्यक्रिया अलि जटिल थियो। 

डा. मिङ्मारले बाजेको अण्डकोषमा रगत जमेको  भागलाई काटेर फालिदिए। शल्यक्रियापछि ती बाजेलाई वार्डमा सारियो। बाजे तङ्ग्रँदै गए। 

दसैँको समय थियो। दसैँको टीकाको दिन ती बाजेका यति धेरै नातागोता टीका थाप्न अस्पतालमा पुगे की दसैँभरि अस्पतालको भुईँमा टीकै टिका भयो। ती बाजे र उनकी श्रीमती अस्पतालमा सँगै बसेर दशैंभरजसो नै टीका थाप्न पुगेका नातागोतालाई टीका लगाइदिए।

बाजे बाँचे भनेर आफन्तहरू टीका थाप्न अस्पताल पुगेको र बाजेले टीका लगाइदिएको त्यो रमाइलो वातावरणले डा. मिङ्मारलाई पनि रमाइलो भयो। त्यो क्षण सम्झँदा अहिले पनि डा. मिङ्मारलाई आनन्द लाग्छ। ती बाजे अदालतको तारिख बोक्ने काम गर्दा रहेछन्। उपचारपछि ती बाजेले आफ्नो काम सुरु गरे।

आँसु झार्दै बालकको हातको शल्यक्रिया

जिल्ला अस्पताल सोलुखुम्बुमा काम गर्दाको एउटा प्रसङ्ग पनि डा. मिङ्मार कहिल्यै भुल्दैनन्। करिब १३ वर्षका बालक घरको छानाबाट खसेछन्। ती बालकको हात भाँचिएछ। लडेर हिलोमा गाडिँदा हात फोहोर  भएको थियो। 

ती बालकको भाँचिएको हातको हड्डी देखिने गरी नै बाहिर निस्किएको थियो। गाउँकाले ती बालकको हातमा काठ पसेछ क्यारे भन्ठानेर खोतलेर काठ निकाल्ने कोसिस गरेका रहेछन्। जसले गर्दा झन् हड्डी बाहिर निस्किएछ। भाँचिएको हातको घाउमा फोहोर रगत लतपतिएको थियो।

त्यसपछि डा. मिङ्मारले बालकको हातको घाउको भाग छोडेर प्लास्टर गरे। औषधि उपचार गरे। बालक अस्पतालमा नै भर्ना हुनुपर्यो। ‘ग्यास ग्यांग्रिन’ भएर घाउ पाक्ने सम्भावना थियो। जसले गर्दा हात काट्नुपर्ने अवस्था थियो। केही दिनपछि ती बालकको घाउ पाक्यो। कुहिनोभन्दा केही तलसम्म हात नकाटी नहुने भयो। 

त्यसपछि डा. मिङ्मारले बालकका बुवासँग हात काट्नुपर्ने सुझाव दिए। तर बालकका बुवाले मानेनन्।

३-४ दिन ढिला भए कुम भन्दा तलको भागबाटै काट्नुपर्ने अवस्था निम्तने जोखिम छ भन्दै उनले सम्झाए। त्यो बेला डा. मिङ्मारले अहिले नकाटे पछि अझ कुम नजिक नै काट्नुपर्ने जोखिम निम्तने बुझाए। 

त्यो बेला पनि हात नकाटे सङ्क्रमण माथि सर्दै गएर बालकको मृत्यु नै हुने कुरा पनि सम्झाए। तर, बुवाले बालकको हात काट्नै मानेनन्।

३-४ दिन पछि भने बुवाले बालकको हात काट्न सहमति दिए। त्यो बेलासम्म कुम मुनिपट्टिको भागबाटै काट्नुपर्ने अवस्था भइसकेको थियो।

त्यसपछि डा. मिङ्मारले अस्पतालको नियमित शल्यक्रिया गर्ने भन्दा अन्य कोठामा ती बालकलाई लगे। किनकि नियमित शल्यक्रिया गर्ने कोठमा ती बालकको शल्यक्रिया गरिएको भए ग्यास ग्यांगिनका कीटाणु अन्य शल्यक्रिया गर्नुपर्ने बिरामीमा सर्ने जोखिम हुन्थ्यो। 

त्यसैले अन्य कोठाको टेबुलमा उनले बालकलाई सुताए।  डा. मिङ्मारले ‘केटामिनि’ एनेस्थेसिया दिएर बेहोस बनाई एक जना नर्सको सहायतामा बालकको हात काट्ने शल्यक्रिया सुरु गरे।

शल्यक्रिया गरिरहँदा औषधिको प्रभावका कारण दुखाई कम भए पनि अर्धचेतन अवस्थामा बालक बोलिरहेका थिए।

हात काट्ने शल्यक्रिया गरिरहँदा बालकले बोलेको शब्दहरू डा. मिङ्मार कहिल्यै भुल्दैनन्। 

शल्यक्रिया गरिरहँदा बालकले अर्धचेतन अवस्थामा नै भनेछन्,‘खै हात काट्नु भन्छ डाक्टरले, नकाटुँभन्दा मर्छ भन्छ। मर्नु भन्दा त हात काटेकै बेस हो। हात काटेपछि म के ले काम गर्ने होला।’

बालकका मुखबाट ती शब्दहरू निस्किरहेको सुन्दा शल्यक्रियाका क्रममा बालकको हात काटिरहेका डा. मिङ्मारको आँखाबाट आँसु रोकिएनन्। उनले बालकको हात काटिरहे। डा. मिङ्मारका आँखाबाट आँसु खसिरहे।

करिब डेढ घण्टाको मेहनतपछि ती बालकको हात काट्ने शल्यक्रिया सफल भयो। केही दिनको अस्पताल बसाइपछि ती बालक डिस्चार्ज भए। पछि सुन्दा ती बालक स्वास्थ्य चौकीमा जागिरे भएछन्।

सात महिनामा आमा र एमबिबिएस पढ्दा बुवाको निधन

मिङ्मार  सन् १९५३ मा सोलुखुम्बु जन्मिए। सात महिनाका हुँदा कहिल्यै नफर्कने बाटोमा गइन् उनकी आमा। त्यसैले मिङ्मारलाई आमाको अनुहार याद छैन।

उनले स्थानीय सल्लेरीमा ‘जनजागृति हाई स्कुल’मा नौ कक्षासम्म पढे। त्यसपछि अध्ययनका लागि मिङ्मार काठमाडौँ हानिए। काठमाडौँको विश्व निकेतन हाइस्कुलमा दश कक्षामा भर्ना भए। त्यहाँबाट २०२६ मा एसएलसी पास गरे।

अमृत साइन्स क्याम्पसमा उनले आइएस्सी अध्ययन गरे। त्यसपछि मिङ्मारको चिकित्साशास्त्र विषयको अध्ययन यात्रा सुरु भयो।

एमबिबिएस अध्ययनका लागि मिङ्मारले छनोट परीक्षा दिए। त्यो बेला कोलम्बो प्लान अन्तर्गत भारतमा छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययन गर्न पाइन्थ्यो। दुर्गम जिल्लामध्येबाट एक जनाले कोलम्बो प्लानको छात्रवृत्ति कोटामा अध्ययन गर्न पाइन्थ्यो। १८ वटा दुर्गम जिल्लाका विद्यार्थी बिच छनोट परीक्षा हुन्थ्यो रे।

मिङ्मारले पनि दुर्गमको कोटामा एमबिबिएस अध्ययनका लागि छनोट परीक्षा दिए। मिङ्मारको अध्ययन अब्बल थियो। त्यसैले त उनी कोलम्बो प्लान अन्तर्गत दुर्गमको कोटामा एमबिबिएस अध्ययनका लागि छनोट भए।

छनोट भएपछि मिङ्मार एमबिबिएस अध्ययनका लागि भारत पुगे। रायपुरस्थित सन् १९७३ मा ‘पण्डित जवाहरलाल नेहरु मेडिकल कलेज’मा भर्ना भए। उनी एमबिबिएस गरिरहेको अवस्थामा पेटको क्यान्सरका कारण ५३ वर्षको उमेरमा बुवा बिते। सन् १९७८ मा उनी एमबिबिएस अध्ययन सकेर नेपाल फर्के। त्यसपछि एक वर्ष नेपालमा नै इन्टर्नसिप गरे। 

एमबिबिएस पूरा भए लगतै डा. मिङ्मार २०३६ मा सरकारी जागिरमा प्रवेश गरे। उनको पहिलो पोस्टिङ तेह्रथुमको ‘तेह्रथुम जिल्ला अस्पताल’मा भयो। दुर्गममा बिरामीको उपचारका लागि उनी काठमाडौँ देखि धरान पुगे। धरानबाट झोला बोकेर हिँड्दै तेह्रथुम पुगे। अस्थायी सरकारी जागिरमा प्रवेश गरेका उनी ६ महिनापछि स्थायी भए। तेह्रथुममा उनले करिब डेढ वर्ष काम गरे। 

त्यसपछि डा. मिङ्मारको वीर अस्पताल सरुवा भयो। वीरमा उनले करिब एक वर्ष काम गरे। 

आँसु खसेको त्यो क्षण

वीर अस्पतालपछि २०३९ मा मिङ्मारको सोलुखुम्बुस्थित ‘सोलुखुम्बु जिल्ला अस्पताल’मा सरुवा भयो। त्यसो त उनलाई पनि आफू जन्मे हुर्केको जिल्लामा गएर सेवा गर्ने मौका पाउँदा खुसी नलाग्ने कुरै भएन। त्यसैले त उनले जीवनको महत्त्वपूर्ण ऊर्जाशील समय सोलुखुम्बु जिल्ला अस्पतालमा नै बिताए। त्यहाँ उनले करिब २४ वर्ष बिताए। 

जिल्लामा काम गर्दा उनले प्रसूति तथा स्त्री रोग सम्बन्धी उपचारका  लागि धेरै बिरामीले दुःख पाएको नजिकबाट देखेका थिए। त्यसैले उनले विशेष गरी प्रसूति सम्बन्धी विषयको अध्ययन गर्ने निर्णय लिए। 

मिङ्मार बङ्गलादेश पुगेर ‘डिप्लोमा इन गाइनेक्लोजी एन्ड अब्स्टेट्रिक्स’ विषय अध्ययन गरे। त्यसपछि सोलुखुम्बुमा काम गर्दा नै डा. मिङ्मारले सन् २००२ मा बेलायत पुगेर ‘डिप्लोमा इन रिपोर्डक्टिभ हेल्थ’ सम्बन्धी अध्ययन गरे। आफ्नै खर्चमा गएर रिपोर्डक्टिभ हेल्थ सम्बन्धी अध्ययन गरेको उनले सुनाए।

बेलायतमा मिङ्मारले प्रसूति सम्बन्धी ज्ञान तथा सीप सिके। ‘डिप्लोमा इन रिपोर्डक्टिभ हेल्थ’ सम्बन्धी त्यो अध्ययन विकासशील मुलुकको लागि लक्षित गरेर बनाइएको कोर्स थियो। जुन ज्ञान तथा सीप सिकेर उनी नेपाल फर्के। सोलुखुम्बु पुगे। त्यसपछि भने उनलाई जिल्ला अस्पतालमा प्रसूति सम्बन्धी समस्या लिएर अस्पताल पुगेका महिलाको उपचारका लागि निक्कै सहजता मिल्यो। उनले यस्तो समस्या भएका कयौँको ज्यान बचाए। 

सोलुखुम्बुमा २४ वर्ष विताउँदासम्ममा डा. मिङ्मार बढुवा हुँदै ११ औँ तहमा पुगे। त्यहाँ दसौँ तहसम्मको मात्रै दरबन्दी थियो। त्यसैले डा. मिङ्मार सन् २००६ मा सोलुखुम्बुबाट काठमाडौँस्थित स्वास्थ्य मन्त्रालयमा सरुवा भए। 

सोलुखुम्बुमा हुँदा डा. मिङ्मारले आँखा, पेट लगायतको शल्यक्रिया गरे। सिजरियन सेक्सन लगायत धेरै उपचारात्मक काम गरे। डा. मिङ्मार सोलुखुम्बुमा २४ वर्ष बस्दा डाक्टरको अभाव खासै हुन दिएनन्। उनी त्यहाँ खटिनै रहे। 

उनी सरुवा भएपछि भने जिल्लावासीमा पनि अब डाक्टर नआउने हुन् की भन्ने चिन्ता हुने नै भयो। जीवनकै ऊर्जाशील समय विताएका डा. मिङ्मारको सोलुखुम्बुबाट बिदा हुँदा भने आँसु अडिएनन्।  

मन्त्रालयमा सरुवा भएर डा. मिङ्मारले करिब एक वर्ष काम गरे। त्यसपछि उनी स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखामा सरुवा भए। जहाँ महाशाखा प्रमुखको रूपमा करिब साढे तीन वर्ष काम गरे।

त्यसपछि डा. मिङ्मारले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी पाए। सन् २०१३ मा उनले ६० वर्षे उमेर हदका कारण सरकारी जागिरबाट अवकाश पाए। त्यो बेला सोलुखुम्बुमा उपचार गरेका बिरामीले अहिले पनि सम्झने गरेको उनले सुनाए।

डा. मिङ्मार र उनकी श्रीमती सोलुखुम्बु ओहोरदोहोर गरिरहन्छन्। उनीहरूका दुई छोरा र एक छोरी छन्।

 

स्वास्थ्य शिविर लिएर दुर्गममा शल्यक्रिया

सरकारी जागिरबाट अवकाश भएयता स्वास्थ्य सम्बन्धी विभिन्न सामाजिक काममा व्यस्त भएको उनले सुनाए। उनी विशेष किसिमका स्वास्थ्य शिविर लिएर दुर्गमका गाउँ गाउँ पुग्छन्। डा. मिङ्मार ६०  भन्दा बढी जिल्ला पुगिसकेका छन्। आफूले स्वास्थ्य शिविरको व्यवस्थापन गर्ने गरेको उनले सुनाए। 

स्वास्थ्य शिविरका लागि करिब १५ वर्ष नेपाल बसेका एक जना बेल्जियमका  हाड जोर्नी विशेषज्ञ साथीले आर्थिक सहायता गर्ने गरेको र आफूले यस्ता शिविरको संयोजन गर्ने गरेको उनले सुनाए। सरकारी अस्पतालमा नै पुगेर स्वास्थ्य शिविर गरी शल्यक्रिया गरिने गरेको उनी बताउँछन्। तर, शिविर गरेबापत आफूले पैसा नलिने गरेको  उनले सुनाए।

विशेष गरी हाड जोर्नीको शल्यक्रिया गर्ने किसिमका स्वास्थ्य शिविर  लिएर दुर्गमका गाउँ गाउँ पुग्ने गरेको डा. मिङ्मार बताउँछन्। शिविरमा विशेष गरी हातखुट्टा भाँचिएर अपाङ्ग भएर बसेकाहरूको शल्यक्रिया गरिने गरेको उनले बताए। 

ग्रामीण अल्ट्रासाउन्डको सुरु

प्रसूति सम्बन्धी ग्रामीण भेगका धेरै महिलाहरूले दुःख पाएको नजिकबाट देखेका डा. मिङ्मारले नर्सहरूलाई अल्ट्रासाउन्ड सम्बन्धी सोलुखुम्बुमा हुँदा नै तालिम दिन सुरु गरेका थिए। त्यसै गरी अन्य जिल्लाका नर्सहरूलाई समेत अल्ट्रासाउन्डको तालिम दिएको उनले सुनाए। डा. मिङ्मारका अनुसार नर्सले अल्ट्रासाउन्ड गर्न थालेपछि तालिम लिएका दुर्गम जिल्लाहरूमा जटिल गर्भावस्था थाहा पाएर समयमै अस्पताल पठाइ मातृ मृत्युदर घट्न थालेको छ। 

सुदूर पश्चिमका सबै पालिकामा २र२ जना नर्सलाई यो तालिम दिइएको उनले सुनाए। जुन अल्ट्रासाउन्डको तालिमलाई ‘ग्रामीण अल्ट्रासाउन्ड’ नाम दिइएको र २१ दिने कोर्स आफैँले बनाएको उनले सुनाए। नेपालमा यसको अवधारणा आफैले ल्याएको डा. मिङ्मारले बताए। त्यसै गरी आफ्नै पहलमा करिब १० वर्ष अघि पाटन अस्पतालमा टेलिमेडिसिन पनि सुरु गरेको उनले सुनाए। 

२८ साउन, २०७९, १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।