उकेरा कोलम

डा. सन्दीपराजको उपचार अनुभव : १७ वर्षीया युवतीले मुखमा चम्चा हालेर वाकवाक गर्दा निलेर आमाशयमा पुर्‍याइन्


तस्बिर : कृष्पा श्रेष्ठ

डेढ महिना अघिको प्रसङ्ग हो। साँझ पर्न लागिसकेको थियो। पेट तथा कलेजो रोग विशेषज्ञ डा. सन्दीपराज कुँवर नर्भिक अस्पतालमा बिरामीको उपचारमा खटिइरहेका थिए। त्यही बेला अस्पतालको आकस्मिक कक्षबाट उनलाई फोन आयो। फोन गर्ने स्वास्थ्यकर्मीले भने,‘डाक्टरसाब बिरामीले फरेन बडी निल्नुभएको छ। तुरुन्तै आउनुपर्‍यो।’

सामान्यतः सिक्का, पिन, हड्डी लगायत अड्डीनुलाई चिकित्सकीय भाषामा ‘फरेन बडी’ भनिन्छ।

करिब १७ वर्षकी युवतीले केही अड्काएर अस्पतालको आकस्मिक कक्षमा पुगेको थाहा पाएपछि डा. सन्दीप आकस्मिक कक्षमा पुगे।

सिक्का, पिन, हड्डी, गुच्चा यस्तै वस्तु अड्काएर अस्पताल आउनेहरू हुन्थे। उनले त्यस्तै केही अड्किएको होला भन्ठाने। तर, सोचेको भन्दा फरक रहेछ। ती युवतीले त चम्चा अड्काएकी रहिछिन्।  

चम्चा अड्काएको सुन्दा डा. सन्दीप छक्क परे। व्यक्तिले हत्तपत्त चम्चा निल्दैनन्। झुक्किने उमेर पनि थिएन उनको। त्यसपछि के निलिएको हो भनेर यकिन गर्न एक्स–रे गरियो। एक्स–रे गर्दा चम्चा पेट (आमाशय)मा अड्किएर बसेको देखियो।

शल्यक्रिया गरी चम्चा निकाल्ने योजना बन्यो। त्यही अनुसारको तयारी पनि भयो।

शल्यक्रिया नगरी इन्डोस्कोपीको माध्यमबाट अड्किएको चम्चा निकाल्ने कि भन्ने सल्लाह पनि भयो। चिकित्सकको छलफलपछि पहिला शल्यक्रिया नगरी चम्चा निकाल्ने प्रयास गर्ने नभए मात्र शल्यक्रिया गर्ने निष्कर्ष निस्कियो।

चम्चा निल्ने ती युवतीमा मानसिक समस्या रहेछ। डा. सन्दीपका अनुसार एक किसिमको मानसिक रोगको बिरामीमा खाना खाइसकेपछि मुखमा औँला घुसारेर वाकवाक तथा बान्ता गर्ने प्रवृत्ति हुन्छ।

तर, त्यो दिन ती युवतीले मुखमा चम्चा हालेर वाकवाक गरिछन्। चम्चा घुसारेर वाकवाक गर्ने क्रममा कसो कसो स्वात्तै चम्चा निलिएछ। र, पेटमा गएर चम्चा अड्कियो।

पेटमा अड्किएको चम्चा निकाल्न ती युवतीलाई इन्डोस्कोपी कोठामा लगियो। डा. सन्दीप नेतृत्वको चिकित्सकको टिमले इन्डोस्कोपीको माध्यमबाट पेटमा अड्किएको चम्चा निकाल्ने सुरु गर्‍यो।

धन्न आधा घण्टाको मेहनतपछि इन्डोसकोपीको माध्यमबाट पेटमा अड्किएको चम्चा मुखबाटै निकाल्न सफल भयो उनको टिम।

डा. सन्दीपले सुनाए, ‘मुखबाट पाइप हालेर आमाशयमा अड्किएको चम्चा मुखबाटै बाहिर निकाल्यौँ।’

विना शल्यक्रिया पेटमा अड्किएको चम्चा निकाल्दा युवती त जोखिम मुक्त भइन् नै। युवतीका परिवार खुसी भए। इन्डोसकोपीको माध्यमबाट चम्चा निकाल्नु डा. सन्दीपको टिमको लागि पनि नौलो उपचार अभ्यास थियो। त्यसअघि चम्चा नै निलेर उनीकहाँ बिरामी पुगेका पनि थिएनन्।

तुरुन्तै चम्चा ननिकालिएको भए खाने नली चिरिने, सानो आन्द्रा छेडेर प्वाल पार्ने लगायतका जोखिम थियो। आन्तरिक रक्तस्राव हुन सक्थ्यो। इन्डोसकोपी गरेर चम्चा निकाल्ने प्रयासमा पनि खाने नली, पेट, आमाशय च्यातिने जोखिम थियो नै। तर केही पनि भएन। सामान्य चोट पनि लागेन।

केही स्वास्थ्य समस्या निम्तिहाल्ला की भनेर युवतीलाई एक दिन अस्पतालमा राखियो। केही खतराको सङ्केत नदेखिएपछि डिस्चार्ज गरियो।

जन्मदिनमा घाँटीमा हड्डी अड्किएपछि...

केही महिनाअघि अल्कोहल पिउँदै मासु खाने क्रममा हड्डी अड्काएका पुरुषको हड्डी निकालेको प्रसङ्ग पनि सुनाए डा. सन्दीपले।

करिब ४० वर्षका ती पुरुषले जन्मदिन मनाउने क्रममा अल्कोहलसँगै मासु खाँदा हड्डी अड्काएका रहेछन्। मात्दै जानेक्रममा मासु खाँदा ती पुरुषको घाँटीमा हड्डी अड्किएछ। त्यसपछि राति नै ती पुरुषलाई अस्पताल पुर्‍याइयो। अस्पतालमा पुर्‍याएपछि इन्डोसकोपीकै माध्यमबाट डा. सन्दीपको टिमले ती पुरुषको घाँटीमा अड्किएको हड्डी निकाल्यो।

वयस्क व्यक्तिहरू धेरै अल्कोहल पिएर अर्ध बेहोस अवस्थामा मासु खाँदा हड्डी अड्काएर अस्पताल पुग्ने गरेको अनुभव छ डा. सन्दीपको।

यो वर्ष मात्रै त्यसरी हड्डी अड्काएका चार जनाको इन्डोसकोपी गरेर हड्डी निकालिएको उनले बताए। त्यसैले उनी सकेसम्म अल्कोहल नपिउन सल्लाह दिन्छन्। अल्कोहल पिएको अवस्थामा मासु खाँदा ख्याल गर्न उनको सुझाव छ।

गत वर्ष मात्रै करिब १५ जना व्यक्तिले अड्काएका विभिन्न वस्तु इन्डोस्कोपीको माध्यमबाट निकालेको उनले सुनाए।

बालकले पिन अड्काएबालिकाले सिक्का

विशेष गरी पैसाको सिक्का, पिन जस्ता वस्तु र हड्डी लगायत अड्काएर अस्पताल आउने बालबालिकाहरू पनि टन्नै हुन्छन्। छ महिना यता तीन वर्षे बालकले पर्दाको पिन अनि पाँच वर्षे बालिकाले पैसाको सिक्का अड्काएर नर्भिक आएका थिए। सन्दीपले नै दुवै वस्तु निकालेका थिए।

केही महिना अघिको मात्रै प्रसङ्ग हो। करिब तीन वर्षका बालकले पर्दा अड्काउने पिन खाएछन्। पिन अड्काएपछि बालकलाई अस्पताल पुर्‍याइयो।

ती बालकको पनि विना शल्यक्रिया इन्डोस्कोपीकै माध्यमबाट मुखबाट पिन निकालेको अनुभव डा. सन्दीपले सुनाए। डा. सन्दीपका अनुसार त्यसरी मुखबाट अड्किएका वस्तु निकाल्न जोखिमै हुन्छ।

तर, इन्डोसकोपी विधि अपनाई अड्किएका त्यस्ता वस्तु छोपेर निकाल्ने औजार भएको उनले सुनाए। यस्तो विधिबाट अड्किएका वस्तु निकाल्दा आन्द्रा तथा नली कोर्ने, च्यातिने लगायतका जोखिम कम हुन्छ।

त्यसै गरी एक डेढ महिनाअघि मात्रै करिब पाँच वर्षकी बालिकाले दुई रुपैयाँको सिक्का खाएर अड्काइछन्। ती बालिकाको पनि इन्डोसकोपी विधिबाट अड्किएको सिक्का मुखैबाट झिकेका रहेछन् उनले।

यी दुवै बालक र बालिकाले घाँटीमा अड्काएको पिन र सिक्का कुशल तरिकाले निकालेपछि बालक र बालिका हाँसेको सम्झन्छन् उनी। अनि ती बालक र बालिकाका बुवा आमाको ओठमा छाएको मुस्कान सम्झँदा डा. सन्दीपलाई आनन्द लाग्छ।

शल्यक्रिया नै नगरी पाचन ग्रन्थीको पानी फालिने उपचार

सन् २०१४ बाट हालसम्म करिब नौ जना व्यक्तिको इन्डोसकोपिक अल्ट्रासाउन्ड विधिबाट पाचन ग्रन्थी (प्यान्क्रियाज) सुन्निने रोगको सफल उपचार गरेका छन् उनले।

जसमध्ये पाचन ग्रन्थी सुन्निएका एक वयस्क बिरामीको इन्डोसकोपिक अल्ट्रासाउन्ड विधिबाट उपचार गरेको प्रसङ्ग उनी सम्झिरहन्छन्।

पेटमा प्यान्क्रियाज (पाचन) ग्रन्थी हुन्छ। जुन ग्रन्थीको पाचन प्रक्रियामा ठूलो भूमिका हुन्छ। पचन ग्रन्थीले सुगर नियन्त्रण समेत गर्न सघाउँछ।

पाचन ग्रन्थी सुन्निने रोगलाई प्यान्क्रियाटाइटिस भनिन्छ। प्यान्क्रियाटाइटिसका कारण स्वास्थ्य जटिलता निम्तने उनले बताए। पाचनग्रन्थी सुन्निने रोग निक्कै असहज किसिमको हुने उनले सुनाए।  डा. सन्दीपका अनुसार पाचनग्रन्थी सुन्निएको खण्डमा विभिन्न किसिमका स्वास्थ्य जटिलता निम्तन सक्छन्।

पाचन ग्रन्थी सुन्निएपछि निम्तने धेरै स्वास्थ्य जटिलतामध्ये पाचन ग्रन्थी वरिपरि पानी भरिने एक हाे। जहाँ पानीको थैला जम्छ। जसलाई चिकित्सकीय भाषामा ‘सुडोसिस्ट’ भनिन्छ।

पानीको थैला ठूलो भएर पेटलाई नै थिचेर राखेको हुन्छ। जसले गर्दा खाना खाँदा बान्ता हुने लगायत स्वास्थ्य समस्या निम्तन्छन्।

यस्तो समस्या भएका ती वयस्क व्यक्तिको सर्जरी नगरी इन्डोसकोपिक अल्ट्रासाउन्डको माध्यमबाट उपचार गरियाे। उनकाे थैलीमा प्वाल पारेर पानी तानी आमाशयमा निकालेर दिसा–पिसाबको माध्यमबाट फालिएको डा. सन्दीपले सुनाए। त्यसपछि पाचन ग्रन्थी वरिपरि जम्मा भएको पानी सुक्यो।

‘इन्डोसकोपिक अल्ट्रासाउन्ड’को माध्यमबाट त्यो बेला नेपालमा नै पहिलो पटक यस्तो उपचार गरेको उनले सुनाए। सामान्य किसिमको इन्डोसकोपीबाट भने यस्तो उपचार गर्न नसकिने उनले बताए।

‘इन्डोसकोपिक अल्ट्रासाउन्ड’को माध्यमबाट पेट, आन्द्रा तथा नली जस्ता अङ्गभित्रै अल्ट्रासाउन्ड गर्दै के स्वास्थ्य समस्या भएको हो भन्ने विषय बाहिर स्क्रिनमा हेर्दै उपचार गर्न सहज हुने उनले सुनाए।

पानी फ्यालेपछि त्यही दिन बिरामी डिस्चार्ज भएका थिए। उनलाई निगरानीमा पनि राख्नु परेन। शल्यक्रिया गर्नुपरेको भए धेरै दिन अस्पताल बस्नुपर्ने थियो। बिरामीले घाउ लगायत विभिन्न समस्याका कारण बढी दुःख पाउनुपर्ने अवस्था हुन्थ्यो। यस्तो समस्या भएका धेरै बिरामीको भने शल्यक्रिया नै गर्नुपर्ने अवस्था निम्तने उनले सुनाए।

डा. सन्दीपले आफ्नो नेतृत्वमा इन्डोसकोपीको माध्यमबाट गरेका शल्यक्रिया अहिलेसम्म असफल नभएको सुनाए। तर, इन्डोसकोपीको माध्यमबाट उपचार नहुने देखिए शल्यक्रिया उपचार विधि नै अपनाउनुपर्ने उनी बताउँछन्।

अड्किएका बस्तु जबरजस्ती निकाल्न खोजेको खण्डमा त्यसबाट स्वास्थ्य जटिलता निम्तिएर ज्यानैसमेत जाने जोखिम हुने उनले सुनाए।

विशेष गरी इन्डोसकोपीको माध्यमबाट पेट, खाना नली, आमाशय, आन्द्रा जस्ता भागमा भर्खर पलाएका ट्युमर निकाल्नु उनको दैनिकी हो। घाँटी, नली र पेटजस्ता अङ्गमा अड्किएका वस्तु निकाल्छन् उनी।

त्यसैगरी पित्त थैलीबाट पित्त नलीमा अड्किएको पत्थरी लगायतका समस्या विना शल्यक्रिया इन्डोस्कोपीको माध्यमबाट उपचार गरिरहेको उनले सुनाए। पेटमा हुने कतिपय रक्तस्राव, खाने नलीका नसा फुलेर फुटेर हुने रक्तस्राव पनि इन्डोस्सकोपीको माध्यमबाट विना शल्यक्रिया उपचार गर्ने गरेको उनीसँग अनुभव छ।

झुक्किएर युवतीले एसिड पिएपछि

केही समय अघि झुक्किएर एसिड पिएकी युवतीको एसिडले जलेर खाने नली साँघुरो बनायो। उनले नली इन्डोस्कोपीको माध्यमबाट खोलेका थिए।

एसिडले जलेर नली साँघुरिएका कारण ती युवतीमा राम्रोसँग खाना ननिलिने, अड्किने जस्ता समस्या थिए। त्यसपछि इन्डोस्कोपीको सहायताले बेलुन फुलाएर नली फुलाएको उनले सुनाए। त्यसपछि ती युवतीको खाने नलीमा सुधार आएको र खानपान गर्न सहज भएको थियो।

झुक्किएर एसिड पिएपछि समस्या निम्तिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या  मनग्य देखिन्छन्। विशेष गरी ट्वाइलेट सफा गर्ने लगायतको कामका लागि पानीको बोतलमा राखिएको एसिड पानी भनेर धेरैले झुक्किएर पिउने गरेका छन्।

जसले गर्दा मुख, नली तथा आन्द्रा जलेर बिरामी अस्पताल आइपुग्छन्। तत्कालीन गर्ने उपचार त छँदै छ। सामान्यतः त्यस्तो समस्या भएको करिब ६ हप्तापछि नली सुकेको रहेछ भने खोल्दै जाने उनले सुनाए।

पाकिस्तानमा अध्ययनको क्रममा दैनिक दश जनाभन्दा बढी एसिड पिएका व्यक्तिको इन्डोस्कोपीको माध्यमबाट खाने नलीको प्वाल खोल्ने लगायतको उपचार गरेको अनुभव छ उनीसँग।

आत्महत्याको प्रयास र झुक्किएर दुवै किसिमले एसिड पिउने गरेको उनको उपचार अनुभव रहेछ। जथाभावी यस्ता एसिड राख्दा बच्चाले पिउने जोखिम हुनेतर्फ उनी सजग गराउँछन्।

त्यसो त तीन वर्षको हुँदा एसिड पिएका बच्चाको ६ वर्षको हुँदासम्म फलोअपमा राखेर उपचार गरेको अनुभव पनि छ उनीसँग।

ती बच्चाको खाना खाने मुखको नली जलेका कारण टाँसिएको थियो। अहिले ती बच्चा सात वर्ष पुगेको र समस्या समाधान हुँदै गएको उनले सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....