उकेरा कोलम

डा. संयुक्त जसले ४० हजारलाई बेहोस बनाउँदा दुर्घटना भोग्नु परेन


तस्बिर : कृष्पा श्रेष्ठ

एनेस्थेसियोलोजिस्ट डा. संयुक्त आचार्यले ११ वर्षको अवधिमा करिब ४० हजार बिरामीलाई बेहोस बनाएर ब्युँताइसकेका छन्। उनी वर्षमा ३६ सयभन्दा बढी बिरामीलाई बेहोस बनाएर ब्युँताउँछन्।

डा. संयुक्तलाई यादभएसम्म एमडी एनेस्थेसियोलोजी विषयको अध्ययन गर्दा तीन वर्षमा उनले १७ सय ६१ जनालाई प्राध्यापकको निगरानीमा बेहोस बनाएर ब्युँताएका थिए। उनी एनेस्थेसियोलोजिस्ट तथा पेन मेनेजमेन्ट (दुखाइ व्यवस्थापन) विशेषज्ञ हुन्।

गोरुले पेटमा हानेकी महिलालाई ब्युँताउँदा…
करिब सात वर्षअघि महिलालाई शल्यक्रियाका लागि बेहोस बनाउँदाको क्षण डा. संयुक्तको मानसपटलमा ताजै छ।  

भएको के थियो भने, काभ्रेकी करिब ४० वर्षीया महिलालाई गोरुले भुँडीमा हानेछ। महिला गोरुले हानेको तीन दिनपछि उपचारका लागि नेपाल मेडिकल कलेजको आकस्मिक कक्षमा राति करिब १० बजे पुगिन्। जुन बेला डा. संयुक्त आकस्मिक उपचार कक्षमा नै खटिएका थिए। ती बिरामी महिलाको पेट फुलेको थियो। 

चिकित्सकको टिमले ती महिलाको स्वास्थ्य परीक्षण गर्दा मिर्गौला, कलेजो, आन्द्राजस्ता भित्री अंगमा गहिरो चोट लागेको थाहा भयो। महिलालाई तुरुन्तै शल्यक्रिया गर्नुपर्ने थियो। 

तर, शल्यक्रिया गर्न जति चुनौती थियो त्यति नै एनेस्थेसिया दिई बेहोस बनाएर ब्युँताउन चुनौती थियो। किनकी, शरीरका भित्री अंगमा गहिरो चोट लागेकाले संक्रमण फैलिएर बिरामीको ज्यान जाने जोखिम त्यत्तिकै थियो। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘सेप्सिस’ भनिन्छ।

शरीरको भित्री अंगमा घाउ तथा संक्रमणका कारण बिरामीको मुटुको चाल असन्तुलिन थियो। रक्तचाप कम थियो। शरीरमा पानीको मात्रा कम थियो। ती महिलाको शरीरमा नुन र चिनीको मात्रा असन्तुलित भएको थियो। पेट नै फुलेका कारण बिरामीको श्वासप्रश्वासमा समेत असहजता थियो। बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने थियो। शल्यक्रिया गर्नुपर्ने थियो। तर चोटका कारण फैलिएको संक्रमणले गर्दा बेहोस बनाएर ब्युँताउन डा. संयुक्तका लागि ठूलो चुनौती थियो।

शल्यक्रियाको तयारी गर्न डा. संयुक्त लगायतको चिकित्सकको टिमले महिलाको एकपछि अर्को समस्याको उपचार गर्दै गयो। चिकित्सकको टिमले महिलाको रक्तचापको सन्तुलन मिलायो। चिकित्सकको टिमले मुटुको धड्कन सन्तुलित बनायो। 

त्यसपछि ती महिलाको शरीरमा कम भएको पानीको मात्रा बढाइयो। महिलामा भएका स्वास्थ्य समस्याको व्यवस्थापन गर्न डा. संयुक्तको टिमलाई करिब पाँच घण्टा लाग्यो। त्यसपछि बिहान तीन बजे महिलालाई शल्यक्रियाका लागि चिकित्सकको टिमले तयार गर्यो। अप्रेसन थिएटर पुर्याइयो। डा. संयुक्तले बेहोस बनाउने औषधि दिए। शल्य चिकित्सकले शल्यक्रिया सुरु गरे। शल्यक्रिया गर्न करिब साढे तीन घण्टा लाग्यो। 

धन्य! महिलाको शल्यक्रिया सफल भयो। डा. संयुक्तले कुशल एनेस्थेसिया दिई शल्यक्रिया सफल गराए। महिलालाई ब्युँताउन उनी सफल भए। बिहान साढे सात बजे त सफल शल्यक्रियापछि आइसियुमा नै डा.संयुक्तको टिमले बिरामीलाई सार्यो।

शल्यक्रिया गरेको एक हप्तापछि महिलालाई भेन्टिलेटरबाट निकालियो। भेन्टिलेटरबाट निस्किएको केही दिनमा त उनी अस्पतालबाट डिस्चार्ज भएर ठमठम हिँडेर घर गइन्। निकै जटिल अवस्थामा अस्पताल भर्ना भएकी महिला उपचारपछि हिँडेर घर फर्केको देख्दा आनन्द लगेको डा. संयुक्तले सुनाए।

दुई दिनको शिशुलाई बेहोस बनाउँदाको क्षण
डा. संयुक्तले दुई दिनको शिशुदेखि ९१ वर्षीय पाको उमेरका व्यक्तिसम्मलाई बेहोस बनाएर ब्युँताएका छन्। 

चार वर्षअघि दुई दिनको शिशुलाई बेहोस बनाएर ब्युँताएको क्षण उनका लागि अविस्मरणीय छ। आमाले स्तनपान गराउँदा ती शिशुको शरीर नै निलो हुने समस्या निम्तिएको थियो। शिशुको स्वास्थ्य जाँचका क्रममा खानाको नली र फोक्सोको (श्वासप्रश्वास) नली एक आपसमा जोडिएको पत्ता लाग्यो। 

यसको अर्थ खानाको नली र फोक्सोको नलीको बीचमा प्वाल भएको पत्ता लाग्यो। जुन समस्याका कारण आमाले खुवाएको दूध शिशुको पाचन नलीमा नपुगी फोक्सोतिर जान्थ्यो। जसले गर्दा स्तनपान गराउँदा शिशुको शरीर नै निलो हुन्थ्यो। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘ट्र्याकियो इसोफेजियल फिस्टुला’ भनिन्छ। आमाको गर्भमा रहँदा नै शिशुलाई यस्तो समस्या थियो।

शिशुको शल्यक्रिया गर्नैपर्ने भयो। शल्यक्रियाका लागि योजना बनाएपछि डा. संयुक्तले शिशुलाई बेहोस बनाए। चिकित्सकको टिमले शल्यक्रिया थाल्यो। करिब चार घण्टाको चिकित्सकको मिहिनेतपछि शल्यक्रिया सफल भयो। दुई दिनको शिशुलाई बेहोस बनाएर ब्युँताउनु डा. संयुक्तका लागि निकै चुनौती थियो। तरसफल भए।

९१ वर्षीय वृद्धलाई बेहोस बनाएर ब्युँताए
झापाका ९१ वर्षीय वृद्धलाई एक वर्षअघि बेहोस बनाएर ब्युँताएको क्षण पनि डा. संयुक्त सम्झिरहन्छन्। ती बाजे साइकल चलाउँदा लडेका रहेछन्। उनको तिघ्रोभन्दा माथिको भागको गेडी भाँच्चिएछ।

उनलाई उपचारका लागि नेपाल अर्थोपेडिक्स अस्पतालमा पुर्याइयो। बिरामीको तिघ्रामा शल्यक्रिया गरी पातो राख्नुपर्ने थियो। डा. संयुक्तले तिघ्राको निश्चित भाग मात्रै बेहोस बनाए। शल्यक्रियाका लागि निश्चित भागमा मात्रै बेहोस बनाउनुलाई चिकित्सकीय भाषामा रिजनल एनेस्थेसिया भनिन्छ। निकै पाको उमेर भएकाले बिरामीलाई बेहोस बनाएर ब्युँताउनु गाह्रो काम थियो।

चिकित्सकको टिमले शल्यक्रिया थाल्यो। हड्डीको टाउको फेरियो। पाता राखियो। शल्यक्रिया सफल भयो। उनी हिँडेर घर फर्किएको डा. संयुक्त सम्झन्छन्।

कोशी अस्पतालबाट २२ वर्षीय युवालाई रिफर गर्दा
डा. संयुक्त कोशी अस्पतालमा काम गर्दाको एउटा क्षण कहिल्यै भुल्दैनन्। जुन प्रसंगका कारण नै उनी एनेस्थेसिया विषय अध्ययन गर्ने निष्कर्षमा पुगेका थिए। करिब २२ वर्षका युवालाई कोशी अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो। ती युवालाई निमोनिया भएको थियो। अस्पताल भर्ना भएपछि उनलाई औषधि उपचार सुरु गरियो। 

उपचारमा डा. संयुक्त पनि खटिएका थिए। बिरामीको शरीरमा अक्सिजनको मात्रा कम थियो। मुटु छिटोछिटो चलेको थियो। श्वासप्रश्वास पनि छिटोछिटो थियो। 

चिकित्सकको टिमले उपचार गरिरहेकै थियो। तर युवाको स्वास्थ्य समस्या कम भएन। अस्पताल भर्ना भएको दुई दिनमा उनलाई अक्सिजनको आवश्यकता पर्यो। तुरुन्तै भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिनुपर्ने भयो। तर त्यसको व्यवस्थापन कोशी अस्पतालमा हुन सकेन। त्यसैले बिरामीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गर्नुपर्यो। फलोअपमा बुझ्दा ती युवा निमोनिया ठिक भएर घर फर्किएछन्।
 

बिरामीको दुःख देखेर डा. संयुक्तले सोचे– जुनबेला जे चाहियो त्यो नभएपछि बिरामीले दुःख पाउँछन्। ऐनेस्थेसियोलोजस्टि र पर्याप्त स्रोत–साधन भएको भए उनलाई रिफर गर्नुपर्ने थिएन।

त्यसपछि डा. संयुक्तले एनेस्थेसिया विषयको अध्ययनबारे सोच्न थाले।

डा. संयुक्तको अध्ययनको पहिलो प्राथमिकतामा मेडिसिन थियो भने दोस्रो प्राथमिकतामा एनेस्थेसिया थियो। त्यसैले यो विषयको अध्ययन गर्न पाएको खण्डमा बिरामीको आकस्मिक उपचार गरी धेरै बिरामी बचाउन सकिन्छ भन्ने सोचेर उनले एनेस्थेसिया विषय नै अध्ययन गर्ने निर्णय गरे। 

हुम्लामा १५ महिने बालकलाई बेहोस बनाउँदा...
अपांग संघमार्फत नेपालका धेरै ठाउँमा जाने मौका पाएको उनले सुनाए। संघमार्फत विभिन्न स्वास्थ्य (अर्थोपेडिक शल्यक्रिया) शिविर पनि उनले चलाए। यस्ता शिविरमा विशेषगरी बालबालिका लडेर भएका समस्या, पोलेर भएका समस्या लगायत हातखुट्टामा भएका समस्याको शल्यक्रिया गरी उपचार गरे। यस्ता शिविरमा डा. संयुक्त बिरामीलाई बेहोस बनाएर शल्यक्रियाका लागि तयार गर्छन्। त्यसरी शिविरमा नै शल्यक्रिया गर्दा एनेस्थेसिया तथा शल्यक्रियाको सेटअप नै शिविरमा लिएर जाने गरेको उनले सुनाए।

शिविरमा गएर उपचार गरेकामध्ये करिब चार वर्षअघि हुम्लामा १५ महिनाका बालकलाई एनेस्थेसिया दिएर बेहोस बनाई शल्यक्रिया गरेको क्षण डा. संयुक्त सम्झिरहन्छन्। ती बालकको दाहिले हात आगोले जलेर टाँसिएपछि मुठ्ठी नै परेको थियो। औंला जोडिएका थिए। 

तर, सफल शल्यक्रियापछि बालकको औंला छुट्याएर चल्ने बनाएका डा. संयुक्तले स्मरण गरे। 

बुवा बिरामी भएर भारत जाँदा उतै प्लस टु अध्ययन
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. १५, तीनथानामा २०३५ सालमा जन्मिएका संयुक्तले चन्द्रागिरिकै रोडोडेन्ड्रोन इन्टरनेसनल बोर्डिङ स्कुलबाट २०५० मा एसएलसी पूरा गरेका हुन्। 

एसएलसी सक्दा नसक्दै उनका बुवालाई बाथको समस्याले सतायो। त्यसैले बुवा–आमा सहित उनी र भाइ भारत गए। बुवाको उपचारको सिलसिलामा भारतमा उनले ‘प्लस टु’ अध्ययन गरेका हुन्। करिब एक वर्ष लामो उपचारपछि बुवाको स्वास्थ्य ठिक भयो। २०५२ मा संयुक्तको परिवार काठमाडौं फर्कियो। त्यो बेला बुवा सरकारी जागिरे थिए। अहिले शिक्षण पेसामा छन्।

पाकिस्तानमा एमबिबिएस अध्ययन
संयुक्तको डाक्टर नै बन्ने सपना थियो। त्यसैले एमबिबिएस अध्ययनका लागि उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (महाराजगञ्ज क्याम्पस), धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छनोट परीक्षा दिए। काठमाडौं विश्वविद्यालयमा पनि परीक्षा दिए। पाकिस्तान र बंगलादेशमा पनि परीक्षा दिएका थिए। 

तर, चिचकित्साशास्त्र अध्ययन संस्थान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनका लागि छनोट भएनन्। काठमाडौं विश्वविद्यालयमा अध्ययनका लागि छनोट भए। तर त्यहाँ अध्ययन गरेनन्। बंगलादेश र पाकिस्तानमा एमबिबिएस अध्ययनका लागि छनोट भए। त्यो बेला बन्द–हडताल बढी हुने सुनेपछि बंगलादेशमा पनि गएनन्। पाकिस्तानमा उनी जान तयार भएका थिए। तर संयुक्त जाने कोटामा अर्कै कोही व्यक्ति पो अध्ययनका लागि गएछन्। उनी जान पाएनन्। 

त्यसैले अर्को फेरि पाकिस्तानमा अध्ययनका लागि छनोट परीक्षा दिए। छनोट भए। उनी सन् १९९८ मा एमबिबिएस अध्ययनका लागि पाकिस्तान पुगे। संयुक्तले सन् २००३ मा पाकिस्तानको कराँचीस्थित बकाइ मेडिकल कलेजमा एमबिबिएस अध्ययन सकेर नेपाल फर्किए। 

डा. संयुक्तले काठमाडौं फर्किएर वीर अस्पताल, कान्ति बाल अस्पताल, प्रसूति गृह, त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा गरी एक वर्ष इन्टर्नसिप गरे। नेपालमा उनले मोरङको विराटनगरस्थित कोशी अस्पतालमा करिब साढे दुई वर्ष तलबी छात्रवृत्ति करारमा काम गरे। त्यहीं हुँदा भोजपुर जिल्ला अस्पतालमा दस दिन काजमा काम गरे।

एमबिबिएस अध्ययन पूरा भएपछि सन् २००८ मा संयुक्तको विवाह भयो। उनकी श्रीमती पनि प्याथोलोजी विषयकी चिकित्सक हुन्।

बेहोस बनाउने विषयमा एमडी
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा डा. संयुक्तले सन् २००८ मा स्नातकोत्तर तहको एमडी एनेस्थेसिया विषय अध्ययन गर्न थाले। उनले सन् २०११ म एमडी एनेस्थेसिया विषयको अध्ययन पूरा गरे। त्यो बेला उनी नेपालमा एनेस्थेसिया विषयको अध्ययन गर्ने एक सय २०औं नम्बरमा पर्छन्। अहिले भने नेपालमा करिब साढे पाँच सय एनेस्थेसिया विशेषज्ञ भएको उनी बताउँछन्।

एनेस्थेसिया विषयको अध्ययनपछि डा. संयुक्त जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा काम गर्न थाले। 

काठमाडौंमा उनलाई टिकाइराख्न सहयोग गर्ने एनेस्थेसियोलोजिस्ट डा. सविन गौतमप्रति उनी कृतज्ञ छन्। त्यो बेला डा. सविन नेपाल मेडिकल कलेजमा काम गर्थे। उनैमार्फत २०६८ देखि डा. संयुक्तले नेपाल मेडिकल कलेजमा काम गर्न थाले। त्यहाँ उनले एनेस्थेसियोलोजिस्ट तथा लेक्चररको भूमिकामा समेत काम गरे। 

डा. संयुक्त त्यहाँ दुई वटा भूमिकामा काम गर्न थाले। एउटा बिरामीको उपचार तथा अप्रेसन थिएटर चलाउने अर्को चिकित्साशास्त्रका विद्यार्थीलाई पढाउने। उनले नेपाल मेडिकल कलेजमा २०७८ माघसम्म करिब दस वर्ष काम गरे। डा. संयुक्त चाबहिलस्थित दीर्घायु गुरु अस्पतालमा पनि पार्टटाइमरको रुपमा काम गर्छन्।

डा. संयुक्त नेपाल अपांग संघ अन्तर्गतको नेपाल अर्थोपेडिक अस्पतालमा पनि आवद्ध भए। त्यहाँ उनले अध्ययन सक्नासाथ भिजिटिङ कन्सल्टेन्टका रुपमा काम गरिरहेका थिए। अहिले भने डा. संयुक्त फुलटाइमर जागिरेका रुपमा नै अर्थोपेडिक अस्पतालमा काम गर्छन्।

पर्दा पछाडिको काम
बिरामीलाई बेहोस बनाएर ब्युँताउने डा. संयुक्त एनेस्थेसिया निकै संवेदनशील विषय भएको बताउँछन्। सूक्ष्म त्रुटि भएको अवस्थामा बिरामीको ज्यान जानेतर्फ उनी सचेत हुन्छन्।

डा. संयुक्तको चिकित्सकीय जीवनमा अप्रेसन थिएटरमा नै बिरामीलाई बेहोस बनाएपछि ब्युँताउन नसकेको दुर्घटना भोग्नु परेको छैन। त्यो नै आफ्नो चिकित्सकीय जीवनको ठूलो सफलता मान्छन् उनी। एनेस्थेसियाकै क्रममा बिरामीको मृत्यु नहोस् भन्ने विषयमा उनी संवेदनशील तथा सजग हुन्छन्। 

बिरामी बेहोस् बनाएर ब्युँताउने पर्दा पछाडिको काम हो। त्यसैले सामान्यतया शल्यक्रियाको जस र अपजस पनि शल्य चिकित्सकले नै लिन्छन्। जटिल किसिमका शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाएर ब्युँताएपछि आफू पर्दा पछाडि बस्नुपर्दा कहिलेकाहीँ कताकता मन चसक्क हुने उनी बताउँछन्। 

डा. संयुक्त भन्छन्, ‘आफूलाई बेहोस बनाउने डाक्टर बिरामीले चिन्नुपर्छ। आफ्नो मान्छेलाई बेहोस बनाउने डाक्टर बिरामीका आफन्तले पनि चिन्नु उचित हुन्छ।’

डाक्टरको सुख-दुःख :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....