उकेरा कोलम

'हत्यारा डाक्टर खै' भन्दै मृतकका आफन्तले खोज्न थालेपछि...


डा. जितेन्द्र कँडेल २०७३ देखि २०७४ सम्म करिब १३ महिना मुगु जिल्ला अस्पतालमा बस्दाको क्षण कहिल्यै भुल्दैनन्। उनी सरकारी स्थायी चिकित्सक भएपछि पहिलो पटकको पोस्टिङमा मुगु पुगेका थिए।

मुगु अस्पतालबाट करिब दश किलोमिटरको दूरीमा एयरपोर्ट पर्थ्यो। डा. जितेन्द्र बिहान उठ्ने बित्तिकै एयरपोर्टमा हवाईजहाज ओहोर- दोहोर गरेको छ/छैन भनेर आवाज सुन्थे।

मुगुमा छँदा उनलाई हरेक बिहान एउटै चिन्ता हुन्थ्यो,'आज हवाई जहाज उड्ला की नउड्ला!'

हवाई जहाजको आवाज सुनेपछि डा. जितेन्द्रलाई आनन्द लाग्थ्यो। मन ढुक्क हुन्थ्यो। एयरपोर्टमा हवाईजहाज नबस्दा उनीलगायतका स्वास्थ्यकर्मीलाई एउटै चिन्ता हुन्थ्यो, 'आकस्मिक रूपमा स्वास्थ्य समस्या परे के गर्ने?'

आफूले अरूको उपचार गरे पनि आफूलाई केही आइपरे कसले उपचार गरिदेला भन्ने चिन्ता हुने रहेछ उनलाई।

‘बिहान प्लेनको आवाज सुनिँदा आफैँलाई केही भइहाल्यो भने मेरो रेस्क्यु हुन्छ भनेर मन ढुक्क हुन्थ्यो,’डा. जितेन्द्रले सुनाए,‘प्लेनको आवाज नसुनेको दिन कता कता मनमा डर लागिरहन्थ्यो।’

त्यसैले डा. जितेन्द्र हवाईजहाज बस्यो की बसेन भनेर दिनभर हवाईजहाजको आवाज सुन्दै बिरामीको औषधि उपचारमा खटिन्थे।

डरले चार घण्टा अस्पतालको कोठामा थुनिँदा

उपक्षेत्रीय अस्पताल डडेलधुरा’मा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा काम गर्दाको अर्को तितो अनुभूति सुनाए डा. जितेन्द्रले।

घटना २०७६ जेठ तिरको हो। करिब २४ वर्षकी गर्भवती महिलाले अस्पतालमा शिशु जन्माएपछि सात दिनमा डिस्चार्ज भएर घर फर्किइन्। उनको शल्यक्रिया गरेर बच्चा निकालिएको थियो।

ती महिलालाई डिस्चार्ज भएको एक हप्तामा अत्यधिक रक्तस्राव भएर स्वास्थ्य जटिलता निम्तिएछ। त्यसपछि उनलाई पुनः उपचारका लागि डडेलधुरा अस्पताल नै पुर्‍याइयो।

सुत्केरीपछि हुने यस्तो रक्तस्रावको समस्यालाई चिकित्सकीय भाषामा ‘पोस्ट पार्टम ह्यामोरेज’ भनिन्छ। अस्पताल पुग्दासम्म महिलाको स्वास्थ्य अवस्था जटिल भइसकेको थियो। अस्पतालमा दिनभर ती महिलाको उपचार नभएको हैन। डा. जितेन्द्र लगायत चिकित्सकको टिम ती महिलाको उपचारमा खटिरहेकै थियो।

महिलालाई शल्यक्रिया गर्नुपर्ने थियो। शल्यक्रियाका लागि आफन्तले हेलिकप्टरमार्फत अन्यत्र लाने कोसिस नगरेका पनि हैनन्।

तर, मौसमलगायतका कारण महिलालाई अन्यत्र लान सम्भव भएन। त्यसैले डडेलधुरामा नै शल्यक्रियाका लागि बेलुका चार बजे बिरामीका आफन्तले सहमति दिएपछि मात्रै डा. जितेन्द्रको टिमले महिलाको शल्यक्रिया थाल्यो।

दुर्भाग्य। अथक प्रयास गर्दा पनि डा. जितेन्द्रलगायत चिकित्सकको टिमले ती महिलाको ज्यान बचाउन सकेनन्। बेलुका करिब सात बजे अप्रेसन थिएटरमै महिलाको मृत्यु भयो।

मृतकका आफन्त र गाउँलेले अस्पतालमा हङ्गामा सुरु गरे। अस्पताल तोडफोड गर्न थाले। चिकित्सकको लापरबाहीले महिलाको मृत्यु भएको आरोप लगाउँदै आफन्तले हत्यारा डाक्टर भन्दै लखेटे। अस्पतालका केही चिकित्सक जङ्गलतिर भागे। कोही कोठामा थुनिएर बसे।

बिरामीका आफन्तले अस्पतालमा तोडफोड गर्दै हङ्गामा मच्चाउन थालेपछि डा.जितेन्द्रलगायत ती महिलाको शल्यक्रियामा खटिएको करिब दश जना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली भने शल्यक्रिया कक्ष नजिकैको एउटा कोठामा ढोकामा चुक्कुल लगाएर भित्रै बसे। बाहिर निस्कन सक्ने अवस्था नै भएन।

डा.  जितेन्द्र लगायत उपचारमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको टिम चार घण्टाभन्दा बढी अस्पतालको कोठामा थुनिएर बस्यो।

उनीहरूले प्रहरीलाई खबर गरे। त्यसपछि थुनिएको कोठाकै छेउमा प्रहरीको भ्यान पुगेर रातको करिब एक बजे डा. जितेन्द्र लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमलाई उद्धार गरेर लग्यो। एक हप्तासम्म अस्पतालको वातावरण  सहज भएन।

डडेलधुराको त्यो घटनाले अहिले पनि बेलाबेलामा डा. जितेन्द्र झस्कन्छन्। पछि छानबिन कमिटी बन्यो जसले ती महिलाको मृत्युमा चिकित्सकको दोष नरहेको देखायो।

दुर्गममा स्रोत साधनको अभावको चुनौतीका बावजुत उपचारमा खटिएका चिकित्सकलाई त्यसरी उल्टै दोष लगाउँदा भने निक्कै दुःख लाग्ने उनले बताए।

यात्रा: डाक्टरी विद्यार्थीको

नवलपरासीको बर्दघाट सुस्ता पूर्व गैँडाकोटमा २०४२ मा जन्मिएका जितेन्द्रले स्थानीय कन्टिनेन्टल आवासीय माविबाट २०५७ मा एसएलसी उत्तीर्ण गरेका हुन्। उनले प्लस टु भने चितवनको भरतपुरस्थित एपेक्स एकेडेमी अध्ययन गरेका हुन्।

प्लस टुपछि जितेन्द्रले २०६० मा नेपाल सरकारको छात्रवृत्तिमा नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजमा एमबिबिएस अध्ययन थाले। २०६६ मा जितेन्द्रले एमबिबिएस अध्ययन पूरा गरे।

एमबिबिएस अध्ययनपछि डा. जितेन्द्रले छात्रवृत्ति करारमा कञ्चनपुरको महाकाली अञ्चल अस्पताल र कालिकोट जिल्ला अस्पताल कालिकोटमा मेडिकल अधिकृतका रूपमा २०६८ सम्म दुई वर्ष काम गरे। जुन काम उनले छात्रवृत्तिमा अध्ययन गरेबापत गर्नैपर्‍थ्यो।

कालिकोटमा काम गर्दा २०६८ सालको एउटा घटना डा. जितेन्द्रको मानसपटलमा ताजै छ। त्यो बेला करिब आठ हप्ताकी गर्भवतीलाई कालिकोट अस्पताल पुर्‍याइएको थियो। ती गर्भवतीको उमेर करिब २२ वर्ष थियो। अस्पताल पुर्‍याउँदा ती महिलाको शरीरमा रगतको मात्र कम भइसकेको थियो।

डा. जितेन्द्र सहितको चिकित्सकको टिमले ती महिलाको भिडियो एक्स–रे गर्‍यो। भिडियो एक्स–रे गर्दा  भ्रूण पाठेघरमा नबसेर पाठेघर भन्दा बाहिर डिम्ब नलिमा बसेको देखियो। भ्रूण बसेको त्यो नली फुटेछ। जस कारण पेटमा रगत जमेको देखियो।

ती महिलाको कालिकोट अस्पतालमा आकस्मिक तथा प्राथमिक उपचार त भयो। जुन उपचार टिममा डा. जितेन्द्र पनि खटिएका थिए।

महिलालाई तुरुन्तै शल्यक्रिया गर्नुपर्ने अवस्था थियो। तर, अस्पतालमा शल्यक्रिया गर्नका लागि स्रोत, साधन तथा जनशक्ति नै थिएन।

त्यसैले ती गर्भवती महिलालाई अस्पतालले तत्कालिन मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत रिफर गर्‍यो। चार घण्टा स्टेचरमा बोकेपछि एम्बुलेन्स भएको ठाउँमा पुर्‍याइयो। त्यसपछि उनलाई एम्बुलेन्सबाट अस्पताल लगिँदैथ्यो।

तर, महिलालाई अस्पतालसम्म पुर्‍याउन नपाउँदै एम्बुलेन्समा नै प्राण गयो। एम्बुलेन्समा नै ती गर्भवती महिलाको मृत्यु भएको त्यो घटना सुन्दा डा. जितेन्द्रको मन अमिलो भयो। उनी निक्कै भावुक बने। त्यो घटनाको गहिरो छाप बस्यो उनको मनमस्तिष्कमा।

महाकाली र कालिकोटमा काम गर्दा नै हो डा. जितेन्द्रले नेपालमा नै बसेर काम गर्ने अठोट लिएको। उनले ती दुर्गम ठाउँमा काम गर्दा भौगोलिक विकटता तथा विशेषज्ञ सेवालगायतको समस्याका कारण समयमा नै औषधि उपचार नपाएर धेरै बिरामी उपचारबाट वञ्चित हुनुपरेको नजिकबाट देखे।

दुर्गममा बिरामीको पिडा नजिकबाट देखेका डा. जितेन्द्रले एकै ठाउँमा एक जना चिकित्सकले धेरै किसिमका स्वास्थ्य समस्याको प्राथमिक तथा आकस्मिक उपचार गर्न सक्ने विधाको विषयमा सोच्न थाले।

एउटा विषयको विशेषज्ञता हासिल गरेर एक प्रकृतिका स्वास्थ्य समस्याको मात्रै औषधि उपचार गर्नुभन्दा आकस्मिक रूपमा गर्नुपर्ने धेरै किसिमको उपचार गर्न सकियो भने धेरै जना बिरामीको ज्यान जोगाउन सकिने उनले महसुस गरे।

डा. जितेन्द्र कालिकोटमा बस्दाबस्दै दुई जना एमडीजीपिलगायत अन्य विषय अध्ययन गरेका चिकित्सक पुगे। जसले गर्दा त्यहाँ शल्यक्रिया हुन थालेपछि धेरै बिरामीको ज्यान जोगिएको उनले नजिकबाट नियाले। त्यसैले एक जना एमडीजीपि अध्ययन गरेका चिकित्सकले दुर्गमको अस्पतालमा कति परिवर्तन हुन सक्छ भन्ने उनले कालिकोटमा नै मनन गरे।

निक्कै सोचविचार पछि डा. जितेन्द्रले निष्कर्ष निकाले,–एमडीजिपि (मास्टर्स डिग्री इन जनरल प्राक्टिस) को अध्ययन गर्‍यो भने विशेष गरी दुर्गममा दुःख पाएका धेरै बिरामीको ज्यान बचाउन सकिन्छ। अव म यही विषय अध्ययन गर्छु।

परिवारकै उपचार गर्ने अलराउण्डर विधाको अध्ययन

डा. जितेन्द्रले स्नातकोत्तर तहमा आफूले चाहेकै विषय अध्ययन गरे। उनले २०६९ मा चिकित्सा शास्त्र अध्ययन संस्थान (महाराजगन्ज क्याम्पस) मा स्नातकोत्तर तहको एमडीजीपि (मास्टर्स डिग्री इन जनरल प्राक्टिस) विषय अध्ययन गर्न थाले। २०७२ मा एमडीजिपी अध्ययन पूरा भयो।

एमडीजीपि विभिन्न किसिमका स्वास्थ्य समस्या भएका बिरामीको प्राथमिक तथा आकस्मिक उपचार गर्ने विधा भएको उनले सुनाए। विशेष गरी यो चिकित्सा विषय अध्ययन गरेका चिकित्सक आकस्मिक रूपमा गर्नुपर्ने सबै किसिमको उपचार तथा व्यवस्थापनमा नै केन्द्रित हुने डा. जितेन्द्रले सुनाए। त्यसैले यस विषयलाई आजकाल ‘मास्टर्स डिग्री इन जेनेरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन’ भन्ने गरिन्छ।

एमडीजिपि अध्ययनमा विशेष गरी इमर्जेन्सी, मेडिसिन, पेडियाट्रिक, अर्थोपेडिक्स सर्जरी, जनरल सर्जरी, प्रसूति तथा स्त्रीरोग लगायत विषय पर्छन्। एमडिजिपी अध्ययन गरेका चिकित्सकले जीवन जोगाउन गरिने सबै आकस्मिक किसिमको शल्यक्रिया गरिने उनले सुनाए। त्यसै गरी आकस्मिक रूपमा गर्नुपर्ने सबै किसिमका उपचार गरिन्छ।

त्यसैले एउटा परिवारमा बालकदेखि वृद्धसम्मको होलिस्टिक रूपमा समग्र स्वास्थ्य समस्याको व्यवस्थापन तथा उपचार गर्न सकिने विधाका रूपमा समेत एमडीजीपिलाई लिइने गरेको डा. जितेन्द्र बताउँछन्।

यसलाई ‘अलराउण्डर’ उपचार गर्ने विषय विधाका रूपमा समेत चिनिन्छ। तर, आजकाल भने एमडिजिपि विशेषज्ञ डा. जितेन्द्र आफूलाई ‘फ्यामिली फिजिसियन’,‘इमर्जेन्सी फिजिसियन’का रूपमा चिनाउँछन्।

नेपालजस्तो भूपरिवेष्टित मुलुकमा धेरै व्यक्तिको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन यो विधालाई प्राथमिकता दिएर परिष्कृत गर्दै लानुपर्ने उनको मत छ। यो क्लिनिकल अभ्यासको पुरानो एमडी डिग्री हो।

एनएसआई नामक संस्थाको छात्रवृत्तिमा उनले एमडिजिपि विषय अध्ययन गरेका थिए।

त्यसैले एमडीजिपि अध्ययनपछि उनले करिब एक वर्ष डोटी जिल्ला अस्पतालमा एमडीजिपी (मास्टर्स डिग्री इन जेनेरल प्राक्टिस) विशेषज्ञका रूपमा काम गरे। एनएसआईको छात्रवृत्तिमा अध्ययन गरेबापत उनले करिब तीन वर्ष करारमा काम गर्नै पर्ने थ्यो। तर, आठ महिना  काम गरेपछि भने उनले छात्रवृत्ति करारमा काम गर्न परेन।

महिला र शिशुको ज्यान बचाउँदाको त्यो चुनौती

२०७२ को अन्त्यतिर डोटी जिल्ला अस्पतालमा काम गर्दा करिब २७ वर्षकी प्रसूति व्यथा लागेर अस्पताल पुगेकी महिलालाई बचाउँदाको क्षण पनि डा. जितेन्द्र भुल्दैनन्। ती गर्भवती महिलाको सुत्केरी हुनुपर्ने समय नाघिसकेको थियो।

प्रसूति व्यथा लागे पनि स्वाभाविक रूपमा बच्चाको टाउको निस्किएन। केही समयपछि त उनको दुखाई पनि हरायो। भिडियो एक्स–रे गर्दा पो गर्भवतीको पाठेघर फुटेको पत्ता लाग्यो। पिसाब थैली पनि फुटेको थियो।

तुरुन्तै शल्यक्रिया नगर्ने हो भने उनी र गर्भमा रहेको भ्रूण दुवैको मृत्युको जोखिम धेरै थियो। आमा र शिशु दुवैलाई बचाउने चुनौती त्यतिकै थियो।

तर, अस्पतालमा डा. जितेन्द्र बाहेक सबै जुनियर चिकित्सक थिए। त्यो बेला डोटी अस्पतालमा एनेस्थेसिया दिने चिकित्सक नै थिएनन्। त्यसैले डा. जितेन्द्रले नै ती महिलाको ढाडमा ऐनस्थेसियाको औषधि दिए। यजुनिर एक जना चिकित्सकलाई एनेस्थेसियाको व्यवस्थापन गर्न लगाए। त्यसपछि डा. जितेन्द्र नेतृत्वको चिकित्सकको टिमले गर्भवतीको शल्यक्रिया थाल्यो।

सीमित स्रोत साधन तथा जनशक्तिका बावजुत महिलाको शल्यक्रिया सफल भयो। गर्भवतीको ज्यान बाँच्यो। पाठेघर फुटेकै अवस्थामा पनि शिशु जीवित निकाल्न सफल भयो चिकित्सकको टिम। सामान्यतः पाठेघर फुटिसकेपछि जीवित शिशु निकाल्न निक्कै कठिन हुने उनले सुनाए।

त्यसरी पिसाब थैली फुटेका महिलाको पिसाब चुहिने जोखिम त्यतिकै हुन्छ। तर, औषधि उपचारपछि ती महिलाको पुरै स्वास्थ्य समस्या ठिक भयो। स्वास्थ्य सामान्य अवस्थामा आयो। करिब १५ दिनपछि ती महिला शिशु च्यापेर अस्पतालबाट डिस्चार्ज भइन्। ती महिला र शिशु बचाउन सफल भएको त्यो प्रसङ्ग सम्झँदा अझै पनि डा. जितेन्द्र गर्व तथा आनन्दित महसुस गर्छन्।

पेटभित्रै रक्तस्राव भएकी महिलालाई बचाउँदा

डोटीपछि डा. जितेन्द्रले २०७३ पौषसम्म करिब नौ महिना डडेलधुराको तत्कालीन ‘उपक्षेत्रीय अस्पताल डडेलधुरा’मा  एमडिजिपि विशेषज्ञका रूपमा करार जागिरे भई काम गरे।

त्यो बेला पेटभित्र अत्यधिक रक्तस्राव भएर करिब २४ वर्षीय गर्भवतीलाई बचाएको क्षण सम्झँदा डा. जितेन्द्रको मन आनन्दित हुन्छ। ती महिला गर्भवती भएको करिब सात हप्ता भएको थियो।

उनको गर्भ पाठेघरमा नबसी नलिमा बसेनछ। जुन गर्भ बसेको नलिनै फुटेछ। पेटभित्रै अत्यधिक रक्तस्राव भएर शरीरमा रगतको मात्रा नै कम भइसकेको थियो। ती महिलाको हेमोग्लोबिनको मात्रा नै निक्कै कम भइसकेको थियो। धनगढी पठाउँदा बाटैमा ज्यान जाने जोखिम भएपछि डा. जितेन्द्र लगायत चिकित्सकको टिमले सीमित स्रोत साधनका बावजुत त्यहीँ शल्यक्रिया गरेर बचाएको उनले सुनाए।

दुर्गमका अस्पतालमा प्रमुखको भूमिका

२०७३ मा लोकसेवाको परीक्षामा मार्फत डा. जितेन्द्र मेडिकल अधिकृत आठौँ तहको चिकित्सकका रूपमा स्थायी सरकारी जागिरे भए। स्थायी सरकारी जागिरे भएपछि उनको पहिलो पोस्टिङ मुगु जिल्ला अस्पतालमा भयो। मुगुमा उनी २०७३ फागुनदेखि २०७४ चैतसम्म सम्म करिब १३ महिना काम गरे।

त्यहाँ उनले निमित्त जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तथा निमित्त अस्पताल प्रमुखका रूपमा काम गरे। सङ्घीयता लागु हुनु अघिको संरचनामा जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत जिल्ला अस्पताल पर्ने भएकाले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नै जिल्ला अस्पतालको प्रमुख हुने व्यवस्था थियो।

रमाइलो पक्ष त के छ भने डा. जितेन्द्र जुन दिन मुगु पुगे त्यही दिन उनी नेतृत्वको चिकित्सकको टिमले एक जना गर्भवतीको शल्यक्रिया गरी ज्यान बचाएको थियो। अस्पतालमा पुगेकी ती महिलाको गर्भको भ्रूण पाठेघरभन्दा बाहिर बसेको रहेछ। जसले गर्दा भ्रूण बसेको नली फुटेर गर्भवतीको पेटमा रक्तस्राव भएको थियो। सरकारी जागिरे चिकित्सक भएपछि गर्भवती बचाएको त्यो नै आफूले गरेको पहिलो शल्यक्रिया भएको डा. जितेन्द्रले सुनाए। मुगु जिल्लामा त्यो नै पहिलो पटक उनले सुरु गरेको रप्चर्ड इक्टोपिक प्रेग्नेन्शि शल्यक्रिया थियो।

त्यति मात्रै हैन उनले मुगुमा पुगेपछि पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया सुरु गरे।

मुगुपछि डा. जितेन्द्र सरुवा भएर तत्कालीन ‘उपक्षेत्रीय अस्पताल डडेलधुरा’ पुगे। त्यहाँ उनले २०७४ चैत देखि २०७६ पुससम्म करिब दुई वर्ष निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा काम गरे। जहाँ उनले एमडीजीपि अध्ययनपछि करार जागिरेका रूपमा काम गरिसकेका थिए।

त्यसपछि उनी कैलालीको ‘टीकापुर अस्पताल’ पुगेर २०७७ मङ्सिरसम्म करिब एक वर्ष निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा काम गरे। जहाँ कोरोना भाइरस व्यवस्थापनको सवालमा राम्रो काम गरेको उनले सुनाए।

टीकापुरपछि डा. जितेन्द्र २०७७ मङ्सिरमा म्याग्दीको ‘बेनी अस्पताल म्याग्दी’मा सरुवा भए। त्यसयता उनी बेनी अस्पतालमा नै निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत छन्। जुन कार्यस्थल उनको घरबाट करिब ६ घण्टाको गाडी यात्रामा पुगिन्छ।

घर नपुग्दै छोराको जन्म

डा. जितेन्द्रका अढाई वर्षका छोरा र ६ महिनाकी छोरी छन्। डा. जितेन्द्रको छोरा जन्मँदाको पनि एउटा कथा छ। सुत्केरी हुने समय नजिकिएपछि डा. जितेन्द्र र डा. जितेन्द्रकी श्रीमती लक्ष्मी सापकोटा डडेलधुराबाट घरतर्फ लागे।

तर, गाडीको यात्रामा समय लाग्यो। जसले गर्दा नेपालगन्ज आइपुगेपछि नै लक्ष्मीलाई प्रसव व्यथाले च्याप्यो। त्यसपछि नेपालगन्ज मेडिकल कलेजमा नै भर्ना भएर शल्यक्रिया गरी उनीहरूको छोरा जन्मिए। त्यसपछि छोराको न्वारान गर्न मात्रै घर पुगेको डा. जितेन्द्रले सुनाए।

उनकी छोरी भने बेनी अस्पतालमा नै जन्मिइन्। पहिलो छोरा बाटोमा हिँड्दा नै जन्मिए। त्यसैले छोरी भने बेनी अस्पतालमा नै जन्माउने व्यवस्थापन उनले मिलाए। छोरी पनि शल्यक्रिया गरेर जन्मिएकी हुन्।

आफू कार्यरत संस्थामा नै चिकित्सक लगायतको टिम प्रतिको विश्वास गरी बच्चा जन्माउँदा चिकित्सक र जनमानसमा त्यस अस्पतालप्रति थप विश्वास जागेको महसुस भएको उनको अनुभूति छ। त्यसैले आफैँ कार्यरत अस्पतालमा यस्तो उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमप्रति उनी कृतज्ञ छन्।

जहाँ दुर्गम त्यहाँ जितेन्द्र

डा. जितेन्द्रले जुन-जुन ठाउँमा काम गरे त्यहाँ केही न केही सुधार गरे। त्यसैले त गत फागुनमा राम्रो काम गरेबापत उनी उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित पनि भए।

सरकारी जागिर खाइसकेपछि होस वा त्यसअघि नै किन नहोस् डा. जितेन्द्रले दुर्गम नै दुर्गममा बसेर काम गरेका छन्। उनी केही समय सुगममा बसेको भनेको टीकापुरमा नै हो।

सरकारी जागिरे भएपछि उनलाई दुर्गममा बसेर स्वास्थ्य समस्या भएका बिरामीको औषधि उपचार गर्ने बानी नै परिसकेको छ। उनी त्यसैमा रमाइरहेका छन्।

त्यसैले सरकारी जागिरे भएपछि पनि उनका छनोटमा दुर्गमका अस्पताल नै परे। दुर्गमका अस्पतालमा बसेर नयाँ सेवा सुरु गरी बिरामीको ज्यान जोगाउँदाको आनन्द नै बेग्लै भएको महसुस हुने गरेको उनले सुनाए।

जुन ठाउँमा काम गर्‍यो त्यही ठाउँमा आफूले सहयोग पाएकाले नै काममा सफलता मिलेको उनले सुनाए।

डाक्टरको सुख-दुःख :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....