६ घण्टा उमेरको शिशुलाई बेहोस बनाएर ब्युँझाएका डा. रुपेशको टर्निङ पोइन्ट

६ घण्टा उमेरको शिशुलाई बेहोस बनाएर ब्युँझाएका डा. रुपेशको टर्निङ पोइन्ट
तस्बिर : कृष्पा श्रेष्ठ

एनेस्थेसियोलोजिष्ट डा. रुपेशकुमार यादवले अहिलेसम्म करिब १७ हजार व्यक्तिलाई बेहोस बनाएर ब्युँझाइसकेका छन्।एमडी अध्ययनको क्रममा गुरुको निगरानीमा उनले करिब १८ सय भन्दा बढी र निजामती कर्मचारी अस्पतालमा करिब दश हजार व्यक्तिलाई बेहोस बनाएर ब्युँझाए।

कान्ति बाल अस्पताल करिब १८ सय र राष्ट्रिय ट्रमा सेन्टरमा डा. रुपेशले करिब तीन हजारलाई बेहोस बनाएर ब्युँझाइसकेका छन्। उनको मुख्या काम नै शल्यक्रियाका क्रममा बिरामीलाई बेहोस बनाएर ब्युँताउनु अनि आइसियु व्यवस्थापन गर्नु हो।

बङ्गलादेशको ‘युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी चिटागोंग (यूएसटीसी) बाट सन् २००४ मा एमबिबिएस अध्ययन पूरा गरेका उनले नेपाल फर्किएपछि विभिन्न अस्पतालमा एक वर्ष इन्टर्नसिप गरे।

इन्टर्नसिपपछि सन् २००६ देखि सन् २००८ सम्म दुई वर्ष कान्ति बाल अस्पतालमा मेडिकल अधिकृत तहमा करार जागिरेका रूपमा काम गरे।

बालबालिकासँग नजिकिन मन पराउने स्वभावका डा. रुपेशले कान्तिमा दुई वर्ष काम गरेपछि काठमाडौँकै ईशान बाल अस्पतालमा काम थाले। उनले सन् २००८ देखि सन् २००९ सम्म ईशानमा मेडिकल अधिकृतको रूपमा काम गरे।

ईशान बाल अस्पतालमा १५ वर्ष अघि काम गर्दा बालक मृत्युको एउटा घटना डा. रुपेशका लागि टर्निङ प्वाइन्ट बन्यो। अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएको त्यो घटनाको चोटले उनले एनेस्थेसिया विषय अध्ययन गर्न पुगे।

ड्युटी तालिका अनुसार डा. रुपेश दिउँसो दुई बजे ईशान बाल अस्पताल पुगे। अघिल्लो दिन दिउँसो दुई बजेदेखि भोलिपल्ट बिहान आठ बजेसम्म उनको ड्युटी पर्थ्यो।

त्यो घटना डा. रुपेशलाई प्रस्ट याद छ। घडीको घण्टा काँटाले दिउँसोको दुई हानेको थियो। उनी अस्पतालमा ड्युटीमा छिरेको करिब १५ मिनेटपछि नौ महिनाका बालकलाई आकस्मिक कक्षमा भर्ना गरियो। बालकको तौल करिब १२ किलो थियो। करिब १७  वर्षका बुवा र करिब १५ वर्षकी आमाले बालकलाई आकस्मिक कक्षमा भर्ना गरेको डा. रुपेश सम्झन्छन्।

आकस्मिक कक्षमा खटिएका डा. रुपेश लगायतको चिकित्सकको टिमले बालकको स्वास्थ्य जाँच गर्यो। बालकमा ज्वरो आएको थियो। आकस्मिक कक्षमा पुर्याउँदा बालक कामिरहेका थिए। त्यसरी काम्ने समस्यालाई चिकित्सकीय भाषामा ‘फिभरायल कन्भल्सन’ भनिन्छ। चिकित्सकको टिमले ढिला नगरी बालकको उपचार सुरु गर्यो।

बालकको शरीरको नसाबाट प्यारासिटामोल दिइयो। काम्ने समस्या कम गर्न अन्य औषधि पनि दिइयो। अक्सिजनको व्यवस्थापनलाई ध्यान दिएर औषधि–उपचार भइरहेको थियो।

आकस्मिक कक्षबाट बालकलाई आइसियुमा राखेर उपचार गरियो। औषधि दिएपछि काम्ने समस्या केही कम भयो। उपचारकै क्रममा अक्सिजन कम भएपछि बालकलाई श्वासप्रश्वासको सहजताको विधि अपनाइयो।

डा. रुपेशले सिनियर चिकित्सकसँग सल्लाह गरेर बालकलाई भेन्टिलेटरमा राखे। त्यो बेलासम्म बेलुकाको करिब आठ बजेको थियो। तर, भेन्टिलेटरमा राख्दा पनि बालकको स्वास्थ्य सामान्य अवस्थामा फर्कन सकेन। डा. रुपेश र सँगै खटिएका अर्का चिकित्सकले बालकको श्वासप्रश्वासको सहजताका लागि पालैपालो हातले ब्यागिङ गरिरहे।

उपचारसँगै बालकलाई समस्या हुनुको कारण पत्ता लगाउने प्रयासमा थियो चिकित्सकको टिम। जाने र भएसम्मको चिकित्सकीय विधि अपनाउँदा समेत रातभरको उपचारपछि पनि बालकको काम्ने समस्या रोकिएन। बिहानीपख त झन् काम्ने समस्या बढ्यो।

डा. रुपेशलगायतको चिकित्सकको टिमले उपचार गरिरहेकै अवस्थामा बिहान करिब साढे पाँच बजे बालकको मुटुको धड्कनै रोकियो। मुटुको धड्कन फर्काउन उनी लगायतको टिमले सिपिआर गर्यो। तर, त्यो प्रयासले बालकको मुटुको धड्कन फर्किएन।

चिकित्सकको टिमले करिब ४५ मिनेट सिपिआर गर्यो। तर, केही चलेन। ती बालकलाई बचाउने सवालमा कुनै पनि चिकित्सकीय विधि सफल भएन। अन्ततः रातभर एक झप्को नसुती मेहनत गर्दा समेत बालकलाई बचाउने चिकित्सकको प्रयास विफल भयो।

डा. रुपेशले त्यो बेलाको घटना सुनाए,‘अघिल्लो दिन दुई बजे दिउँसो देखि प्रयास गर्दा पनि बिहान हामीले बच्चा गुमाउनुपर्यो।’

रातभरी भोकै हर प्रयास गर्दा पनि बालक बचाउन नसक्दा उनीलगायत उपचारमा खटिएका टिमका आँखा रसाए। टिम निराश भयो।

बालकका बुवा आमालाई बालक बचाउन नसकेको खबर कसरी सुनाउने भन्ने चिन्ता पर्यो। तर, सुनाउनै पर्यो।

हुन त बालकको अवस्थाका बारेमा उपचारका क्रममा नै उनीहरूले बुवा आमालाई जानकारी दिइरहेका थिए। बुवा आमालाई छोरा बचाउन नसकेको कुरा डा. रुपेशको टिमले सुनायो।

चिकित्सकको टिमले उनीहरूलाई जीवित छोरा फर्काउन सकेनन्। छोराको मृत शव फर्काए। आमाबुवा भावविह्ल भए। बालकको मृत शरीर बुवा आमालाई दिँदा आफ्नो मुटु नै चिरिए जस्तो भएको डा. रुपेशले सुनाए।

मृत्यु भएका बालकका बुवा आमालाई हेर्दा उनीहरू सामान्य परिवारका नै देखिन्थे। खासै पढ लेख गरेका पनि थिएनन्। उनीहरूले अन्तरजातीय विवाह गरेका रहेछन्।

बुवा आमालाई मृत बालकको शव बुझाएपछि डा. रुपेश लगायत उपचारमा संलग्न चिकित्सकको टिम एउटा कोठामा बसेर बालकको मृत्युको कारणबारे छलफल गर्यो। तर, यकिन कारण पत्ता लाग्न सकेन।

त्यहीँ कोठामा घोरिएर उनले सोचे,' एनेस्थेसियाको डाक्टरले आइसियु व्यवस्थापनसमेत गर्छ। आइसियुको व्यवस्थापन महत्त्वपूर्ण हुन्छ।'

यति सोचेपछि उनले एमडी एनेस्थेसिया विषयमा गर्ने निर्णय गरे। उनले अर्को पनि सोचे,–अव म चाडै जागिर छाड्छु। अनि पुस्तकालयमा बसेर पढ्न थाल्छु। एनेस्थेसियामा एमडी गर्नै पर्छ।

छनोट परीक्षामा उत्तीर्ण हुँदै छाड्दै

बालक मृत्यु भएको त्यो घटनाको एक महिनापछि उनले एनेस्थेसिया विषयमा एमडी अध्ययनका लागि तयारी थाले। तयारी थालेको तीन महिनामा नै उनले काठमाडौँ विश्वविद्यालयमा एमडी अध्ययनका लागि छनोट परीक्षा दिए। लिखित परीक्षाको नतिजा राम्रो आयो। अन्तर्वार्ता दिने समयमा भने उनलाई ज्वरो आयो। ज्वरोले चापिरहेकै दिन सिटामोल खाएर उनले अन्तर्वार्ता दिए। भोलिपल्ट अन्तर्वाताको नतिजा आउँदा रुपेश एमडी अध्ययनका लागि छनोट परीक्षामा टपर नै भएछन्।

त्यसपछि पोखराको मनिपाल मेडिकल कलेजले डा. रुपेशलाई फोन गरेर एमडी अध्ययनका लागि स्पन्सर गर्ने अफर गर्यो। तर, अध्ययनमा खर्च गरिदिए बापत एमडी अध्ययनपछि मनिपाल मेडिकल कलेजमा पाँच वर्ष काम गर्नुपर्ने सर्त थियो।

उनले सोच,'तीन वर्ष एमडी अध्ययन गर्नै लाग्छ। पाँच वर्ष त्यहाँ बाँधिएर काम गर्दा त आठ वर्ष बित्छ। उमेरको ऊर्जाशील समय त बित्छ।'

अर्कातर्फ उनलाई एनेस्थेसिया र क्रिटिकल केयर दुवै विषयमा चासो थियो। त्यसैले केही सिनियरहरुले क्रिटिकल केयरमा बढी चासो भए चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वा चिकित्सा शास्त्र अध्ययन संस्थानमा अध्ययन गर्न सुझाव दिए।

त्यसैले छनोट परीक्षामा टप नै भए पनि उनले काठमाडौँ विश्वविद्यालयमा एमडी अध्ययन गर्न नगएर फेरी छनोट परीक्षाको तयारी थाले।

शिक्षा मन्त्रालयको कोटामा चीनमा एमडी अध्ययन गर्न जान छनोट परीक्षा दिए। त्यहाँ पनि उनी छनोट भए। एनेस्थेसिया अध्ययन गर्न पाउने भए। तर, एक वर्ष चिनिया भाषा अध्ययन र तीन वर्ष एमडी अध्ययन गरी चार वर्ष समय लाग्ने भएपछि उनी गएनन्।

लगत्तै उनले चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमडी अध्ययनका लागि छनोट परीक्षा दिए। त्यहाँ पनि उनी एमडी अध्ययनका लागि छनोट भए। तर, उनले त्यहाँ एमडीजिपी र प्याथोलोजी विषय मात्रै अध्ययन गर्न पाउने भए। जुन उनका प्राथमिकताका विषय थिएनन्। त्यसैले त्यहाँ पनि उनले पढेनन्।

त्यसको करिब दुई महिनापछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी अध्ययनका लागि उनले छनोट परीक्षा दिए। त्यहाँ पनि उनले एमडीजिपी र प्याथोलोजी मात्रै अध्ययन गर्न पाउने भए। त्यसैले धरानमा पनि उनले अध्ययन गरेनन्।

एनेस्थेसिया एन्ड क्रिटिकल केयरमा एमडी

धरानमा छनोट परीक्षा दिएको केही महिनापछि नै उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी अध्ययनका लागि छनोट परीक्षा दिए। उनी एमडी अध्ययनका लागि छनोट भए। जहाँ आफूले चाहेकै विषय अध्ययन गर्न पाए।

त्यसपछि बल्ल उनले २००९ मा एमडी अध्ययन थाले। डा. रुपेशले २०१२ मा एनेस्थेसिया एन्ड क्रिटिकल केयर विषयमा एमडी अध्ययन पूरा गरे।

निजामती अस्पतालमा सरकारी जागिरे

एमडी अध्ययनपछि डा. रुपेश निजामती कर्मचारी अस्पतालमा काम गर्न थाले। निश्चित ठाउँ पत्ता लगाएर बिरामीलाई धेरै दुखाई नहुने किसिमको रिजनल एनेस्थेसियाको सीपको पनि त्यहाँ विकास गरे।

तर, चार वर्ष काम गर्दा पनि स्थायीका लागि निजामती अस्पतालमा परीक्षा भएन। त्यसपछि डा. रुपेशले लोकसेवामार्फत सरकारी स्थायी जागिरका लागि तयारी गरे।

उनले लोक सेवा परीक्षा दिए। एक जना ऐनेस्थेसिया विशेषज्ञका लागि सिट खुलेको थियो। १३ जनालाई पछाडि पार्दै डा. रुपेश २०७५ मा ११ औँ तहको सरकारी चिकित्सकको जागिरे हुन सफल भए।

त्यो बेला उनकी श्रीमती निलम यादव पनि चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमडी अध्ययनका लागि छनोट भइन्।

स्थायी सरकारी जागिरे भएपछि डा. रुपेशले साढे पाँच वर्षे कामको यात्रा टुङ्ग्याउँदै सन् २०१८ मा निजामती अस्पतालमा जागिर छाडे।

सरकारी जागिरे भएपछि उनको पहिलो पोस्टिङ कान्ति बाल अस्पतालमा भयो। उनकी श्रीमती निलम भैरहवामा एमडी अध्ययन गर्न गइन्। त्यो बेला उनीहरूको छोरी डेढ वर्षकी थिइन्। त्यसैले उनीहरूले छोरीलाई जनकपुरमा मावली घरमा राखे।

कान्ति बाल अस्पतालमा काम गर्दा नै दुई पटक भारत पुगेर ‘रिजनल एनेस्थेसिया’को सिप बढाए। कान्ति बाल अस्पतालमा कमै शल्यक्रिया हुने भएकाले उनी सीपको धेरै प्रयोग हुने ठाउँ खोज्न थाले।

खोज्दै जाँदा उनले आफ्नो सीपको ट्रमा सेन्टरमा धेरै उपयोग हुने देखे। त्यसैले करिब डेढ वर्ष कान्ति बाल अस्पतालमा काम गरेपछि उनी २०७७ को पुसतिर राष्ट्रिय ट्रमा सेन्टरमा सरुवा भए। त्यसयता उनी ट्रमा सेन्टरमा नै कार्यरत छ।

ट्रमा सेन्टरमा एनेस्थेसिया विभागका प्रमुख तथा ११ औँ तहको प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्टका रूपमा उनी कार्यरत छन् अहिले।

६ घण्टाको शिशुलाई बेहोस बनाएर ब्युँताएको क्षण

डा. रुपेशले जन्मेको ६ घण्टाको शिशुदेखि एक सय ६ वर्षको पाको उमेर सम्मका व्यक्तिलाई एनेस्थेसियादिई बेहोस बनाएर ब्युँझाएका छन्।

६ घण्टाका बालकलाई बेहोस बनाएर ब्युँताएको प्रसङ्ग सम्झँदा उनी हर्षित देखिए। प्रसङ्ग तीन वर्ष अगाडिको हो। जुन बेला उनी कान्ति बाल अस्पतालमा काम गर्थे। भक्तपुरको एक अस्पतालमा उनलाई परामर्शका लागि बोलाइयो।

त्यहाँ एक जना २८ हप्ताको गर्भवती भएकी महिलाको पेट अत्यधिक ठुलो भएको रहेछ। भिडियो एक्स–रे गर्दा ती महिलाको गर्भमा रहेको बच्चाको पेटमा ‘ड्यूडेनल एटेसिया’को समस्या भएको रहेछ। यसको अर्थ गर्भको भ्रूणको खानाको नली नै बन्द भएको रहेछ। जसले गर्दा गर्भवतीको पेट ठुलो भएको रहेछ।

६ जनाको चिकित्सकको टिमले ती महिला गर्भवती भएको ३५ हप्तामा शल्यक्रिया गर्ने निर्णय गर्यो। योजना अनुसार ३५ हप्तामा शल्यक्रियाका लागि चिकित्सकको टिम तयार भयो। शल्यक्रिया गरेर चिकित्सकको टिमले शिशु निकाल्यो।

तुरुन्तै शिशुलाई शल्यक्रिया कक्षमा राखियो। डा. रुपेशले शिशुलाई बेहोस बनाए। जन्मेको साढे तीन घण्टामा शिशुको शल्यक्रिया सुरु भयो भने करिब अढाई घण्टामा शल्यक्रिया नै सफल भयो।

शल्यक्रिया सकेको करिब डेढ घण्टापछि त शिशुले आफैँले प्राकृतिक रूपमा नै श्वासप्रश्वास लिए। करिब पाँच दिनमा त आमा र शिशु दुवैलाई अस्पतालबाट डिस्चार्ज नै गरिएको उनले सुनाए।

त्यति सानो शिशुलाई बेहोस बनाएर ठुलो (मेजर) शल्यक्रिया गरी ब्युँझाएको डा. रुपेशका लागि त्यो पहिलो अनुभव थियो। भर्खर जन्मेको शिशुलाई बेहोस बनाएर ब्युँताउनु चुनौतीपूर्ण थियो। तर उनी सफल भए।

एक सय ६ वर्षकालाई बेहोस बनाएर ब्युँताउँदा

गत हप्ता मात्रै पनि डा. रुपेशले एक सय ६ वर्षका पाको उमेरका व्यक्तिलाई बेहोस बनाएर ब्युँताएका छन्। ती पाको उमेरका व्यक्तिको खुट्टाको तिघ्राभन्दा माथिल्लो भागको हड्डी (गेडिभन्दा मुनी) फुटेको थियो। बायाँ खुट्टा भाँचिएर नचल्ने अवस्थामा थियो।

ती पाको उमेरका बाजेलाई रक्तचापको समस्या थियो। मुटुको एउटा भल्ब नै निक्कै खुम्चिएको थियो।

भाँचिएको हड्डी जोड्नका लागि शल्यक्रिया गर्नुपर्ने थियो। ती बाजेका परिवारले भने जे परे पनि शल्यक्रिया गरिदिन र केही भए दोष नदिने सहमति जनाए।

तर, शल्यक्रिया गर्न बाजेको रक्तचाप र मुटुको भल्बमा समस्या भएकाले बेहोस बनाएर ब्युँताउन चुनौतीपूर्ण थियो। खुम्चिएको मुटुको भल्ब नखुलेसम्म बेहोस बनाउन पनि कठिन थियो। बाजेको कम्मर भन्दा तलको भागको शल्यक्रियाका लागि पुरै शरीर बेहोस बनाउन त पर्दैनथ्यो।

परिवारको आग्रहपछि अवस्था विश्लेषण गरेर चिकित्सकको टिम ती एक सय ६ वर्षका बाजेको खुट्टाको शल्यक्रिया गर्ने निष्कर्षमा पुग्यो।

शल्यक्रियाको सबै तयारी पूरा भएपछि शल्यक्रिया कक्षमा बिरामीलाई राखियो। डा. रुपेशले शल्यक्रिया गर्ने खुट्टालाई मात्रै लट्ठ्याए।

बाजेको जटिल शल्यक्रिया भएकाले करिब साढे तीन घण्टामा शल्यक्रिया सकियो। शल्यक्रिया गर्दागर्दै बाजेलाई बचाउन नसकिने हो कि भन्ने चिकित्सकहरूलाई निक्कै डर थियो। तर, ज्यान बाँच्यो। शल्यक्रिया सफल भयो। बाजे शल्यक्रिया कक्षबाट ब्युँतिए। पोस्ट अपरेटिभ वार्डमा सारियो। तेस्रो दिन वार्डमा राखियो। पाँच दिन अघि ती बाजे डिस्चार्ज नै भए। उनी बैसाखी टेकेर घर फर्किए।

दुई बाहेक सबै ब्युँतिए

त्यसो त शल्यक्रियाका लागि अप्रेसन थिएटरमा छिरेकामध्ये सबै व्यक्ति ब्युँतन्छन् नै भन्ने हुँदैन। कोभिड–१९ सुरु हुनुअघि एक जना चिकित्सकलाई बेहोस बनाएर बचाउन नसकेको घटना उनको मानसपटलमा ताजै छ।

त्यसै गरी एमडी अध्ययनका क्रममा पनि एक जनालाई ब्युँताउन नसकेको उनले सुनाए। यी दुई बाहेक अहिलेसम्म आफूले बेहास बनाएका सबैलाई ब्युँताउन सफल भएको उनले सुनाए।

छायामा परेका चिकित्सक एनेस्थेसियोलोजिष्ट

रुपेश कुमार वीरगन्जको बहुवरीमा सन् १९७८ मा जन्मिएका हुन्। उनले २०५२ मा काठमाडौँको सिद्धार्थ वनस्थली माविबाट एसएलसी उत्तीर्ण गरेका उनी एनेस्थेसिया विषयमा रमाएका छन्। सन् १९९८ भारतको राजाराम साह कलेजबाट उत्तीर्ण गरेका उनलाई सानै देखि चिकित्सक बन्ने सपना थियो।

पहिले एनेस्थेसियोलोजिष्ट चिकित्सकलाई अप्रेसन थिएटरमा मात्रै सीमित हुने चिकित्सकका रूपमा लिइन्थ्यो। एनेस्थेसियोलोजिष्ट छायामा पर्ने चिकित्सक पनि हुन्। सामान्यतया शल्यक्रिया गर्ने चिकित्सकले नै जस तथा अपजस पाउँछन्। तर, एनेस्थेसियोलोजीष्टको नाम नै आउँदैनथ्यो। तर, आजकाल भने अप्रेसन थिएटरमा मात्रै नभएर आइसियु व्यवस्थापनमा पनि एनेस्थेरियोलोजिष्ट चिकित्सकको प्रमुख भूमिका रहने गरेको डा.रुपेशले सुनाए।

आजकाल शल्यक्रिया गर्नु पूर्व बिरामी तथा बिरामीका आफन्तले बेहोस बनाउने चिकित्सक को छ? भनेर खोजी गर्ने गरेको उनले सुनाए।

श्वास फेर्न सहजताका लागि एनेस्थेसियोलोजिष्ट चिकित्सकको ठुलो भूमिका हुन्छ। कोभिड–१९ को समयमा पनि आइसियु व्यवस्थापनका लागि एनेस्थेसियोलोजिष्ट चिकित्सकको महत्त्वपूर्ण भूमिका निभाएको उनले सुनाए।

एनेस्थेसियोलोजिष्ट चिकित्सकले बिरामीलाई बेहोस बनाएर उठाउने मात्र नभई बिरामीलाई दुखाई कम गर्ने उपाय अपनाउने लगायतका काम गर्ने उनले सुनाए।

शल्यक्रिया गरिसकेपछि पनि पोस्ट एनेस्थेसिया केयर युनिटमा एनेस्थेसियोलोजिष्ट चिकित्सकले नै व्यवस्थापन गर्ने उनले बताए। त्यति मात्रै हैन आकस्मिक कक्ष, अस्पतालका वार्ड लगायतमा श्वासप्रश्वासको समस्या उत्पन्न भए एनेस्थेसियोलोजिष्ट चिकित्सककै ठुलो भूमिका हुन्छ।

२६ चैत, २०७८, १९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।