उकेरा कोलम

निजामती अस्पतालका डा दिनेश जो राजदूतको षड्यन्त्र चिरेर चिकित्सक बने


प्राध्यापक डा. दिनेश कुमार लम्सालको प्रारम्भिक शिक्षा रुपन्देहीको करहिया (हालको तिलोत्तमा नगरपालिका) को ‘शान्ति नमुना मावि’मा भयो र उनले त्यहीबाट एसएलसी उत्तीर्ण गरे। अध्ययनमा तीक्ष्ण रहेका उनी एसएलसीमा जिल्ला टप भए। अनि उनको यात्रा सुरु भयो काठमाडौँको। अब जिल्ला टप भएका व्यक्ति, उनले साइन्सै रोजे।  त्रिचन्द्र क्याम्पसमा आइएस्सीमा भर्ना भए।

लम्साललाई सानैदेखि डाक्टर बन्ने रहर थियो। यता त्रिचन्द्रमा आइएस्सी पढिरहेका उनी उता त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (महाराजगन्ज क्याम्पस) मा प्रमाणपत्र तहको ‘जनरल मेडिसिन’ विषय पनि पढ्न थाले।

राजदूतले बङ्गलादेशमा पढ्नबाट रोकेको त्यो क्षण

त्यो बेलाको नियम अनुसार प्रमाणपत्र तहमा जनरल मेडिसिन विषय अध्ययन गरेका विद्यार्थीले केही वर्ष काम गरेपछि मात्रै एमबिबिएस अध्ययन गर्न पाइन्थ्यो। त्यसैले लम्सालले पाटन अस्पतालमा करिब चार वर्ष काम गरे। त्यहाँ काम गर्दागर्दै उनले बङ्गलादेश गएर एमबिबिएस पढ्न छनोट परीक्षामा सहभागी भए।

उनी छनौट त भए तर त पढ्न बङ्गलादेश जान पाएनन्। उनी जान नपाउनुको कारण बने बङ्गलादेशका लागि नेपाली राजदूत। डा. लम्सालका अनुसार ती राजदूतले आफ्ना आफन्तलाई बङ्गलादेश ल्याउन उनीसहित अन्य २ जनाको ‘कन्फरमेशन लेटर’ नै दिएनन्। उनी जान सकेनन्।

डा. लम्सालले भने,‘राजदूतले अहिले बुझ्नु होला। करिब ३० वर्ष अगाडीको कुरा हो।’

परीक्षामा छनोट भएर पनि पढ्न बङ्गलादेश जान नपाएपछि उनी केही समय रनभुल्लमा परे। के गर्ने, के नगर्ने भयो। अनि मनमनै डाक्टर त जसरी पनि हुनैपर्छ भनेर कस्सिए। लम्सालले शिक्षा मन्त्रालयको छात्रवृत्ति कोटामा तत्कालीन रुसी महासङ्घमा एमबिबिएस पढ्न जान छनोट परीक्षा दिए। अनि छनोट भए। यो पाली कुनै सरकारी अधिकारी बाधक बनिदिएनन् उनलाई रुस जानबाट रोक्न। रुसमा सात वर्ष पढेर उनी नेपाल फर्कँदा नामको अगाडि डा लेख्ने भइसकेका थिए।

शल्यक्रियामा सक्रिय

तत्कालीन नियम अनुसार रुसमा पढेर फर्किएपछि उनले तीन महिना जति कान्ति बाल अस्पतालमा इन्टर्नसिप गरे। त्यहाँ उनी सर्जिकल विभागमा काम गर्थे। त्यो बेला पेडियाट्रिक विषयमा एमएस अध्ययन गरेका चिकित्सकले गर्ने शल्यक्रिया सिनियरको निगरानीमा मेडिकल अधिकृत हुँदा नै गरेको अनुभव उनले सुनाए।

त्यो बेला कान्ति बाल अस्पतालमा 'गर या मर' भन्ने अवस्थामा थियो। चिकित्सकको सङ्ख्या थोरै। रजिस्ट्रारले गर्ने काम मेडिकल अधिकृतले गर्नुपर्ने अवस्था थियो। नियम पुरा गरेपछि उनले नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकीय व्यवसाय गर्न पाउने अनुमति पत्र पाए।

गङ्गालाल र आम्दा अस्पतालका अनुभव

कान्ति बाल अस्पतालपछि डा. लम्साल झापाको  दमकस्थित आम्दा अस्पतालमा पुगे। त्यो गैर सरकारी संस्थाले सञ्चालन गरेको अस्पताल पर्‍यो। त्यहाँ डा. लम्सालले प्रसूति सम्बन्धी सिजरियन सेक्सन (सिएस) समेत गर्थे। मेडिकल अधिकृत हुँदा नै हर्नियाँ लगायतको शल्यक्रिया गरेको सम्झिए उनले। झापामा उनले करिब एक वर्ष काम गरे।

अनि उनी आम्दा अस्पतालकै विस्तारित ‘महिला तथा बालबालिका’ अस्पतालमा काम गर्न पुगे। जुन उनको घर पायक थियो। त्यो अस्पताल भर्खर सञ्चालनमा आएको थियो। उनी गएपछि नै बिरामी भर्ना सुरु भयो त्यो अस्पतालमा। उनले केही महिना मात्र काम गरे त्यहाँ।

बुटवलमा काम गरिरहेको बेला काठमाडौँको सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा चिकित्सकको माग भयो।  उनले आवेदन दिए। छनोट पनि भए। त्यसपछि डा. लम्साल केन्द्रमा आइपुगे।

त्यो बेला पनि गङ्गालाल अस्पताल भर्खर खुलेको थियो। उनी आएपछि नै त्यहाँ पनि बिरामी भर्ना प्रक्रिया सुरु भएको थियो। स्वास्थ्य समस्या देखिनेहरूलाई गङ्गालालमा ल्याउन गाह्रो थियो रे त्यो बेलामा । यो अस्पताल राम्रो छ, यहाँ काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी दक्ष छन् भनेर निक्कै वकालत गर्नुपरेको सम्झिए उनले। उनले त्यहाँ दुई वर्ष काम गरेपछि स्थायी भए। अनि थप एक वर्ष त्यही काम गरे।

 प्राथमिकतामा ‘फ्यामिली मेडिसिन’

गङ्गालालमा काम गरिरहेका बेला एमडी अध्ययनका लागि तयारी पनि गर्न थाले उनले। उनलाई चीनमा अध्ययनका लागि अवसर समेत आएको थियो। उनलाई चीन जान मन नलागेको पनि हैन। तर तगारो बनिदियो चिनिया भाषा। चिनिया भाषा पढ्न उनलाई झ्याउँ लाग्यो। अनि गएनन्।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी अध्ययनका लागि छनोट परीक्षा हुने भयो। उनले परीक्षा दिए र छनोट पनि भए। छनोटमा राम्रो अङ्क आएकाले उनले आफूले चाहेकै विषय पढ्न पाए। उनले ‘फ्यामिली मेडिसिन’ विषय छाने।

छनोटपछि उनले गङ्गालालको स्थायी जागिरबाट राजीनामा दिए अनि स्नातकोत्तर तहको ‘फ्यामिली मेडिसिन’ विषयमा एमडी अध्ययन गर्न थाले। तीन वर्षमा एमडीको अध्ययन सकियो।

उनी काठमाडौँ फर्किएको केही समयमै फेरि चिन जाने अवसर आयो। तर यो पाली विद्यार्थीको रूपमा हैन, शिक्षकको रूपमा। छिमेकी मुलुकको वातावरण कस्तो रहेछ भन्ने पनि उनलाई जान्न र हेर्न इच्छा थियो। त्यसैले उनी भिजिटिङ प्रोफेसरका रूपमा चीन गएर चिकित्साशास्त्रका विद्यार्थीलाई पढाउन थाले।

चीनबाट फर्केपछि उनी वीर अस्पतालमा फ्यामिली मेडिसिन विशेषज्ञका रूपमा काम गर्न थाले। त्यो बेला अन्य अस्पतालसँगै प्राध्यापनको अनुभव पनि सँगाल्दै गए।

निजामती अस्पतालमा कागजदेखि कुर्सीसम्म  मिलाए

वीर अस्पतालमा करिब नौ महिना काम गरेपछि डा. लम्साललाई काठमाडौँ मेडिकल कलेजमा काम गर्ने अवसर आयो। उनले त्यहाँ लेक्चररको रूपमा काम सुरु गरे। त्यही बेला २०६५ मा चीन सरकारको सहयोगमा विशेष गरी सरकारी कर्मचारीहरूको स्वास्थ्य सेवा दिने गरी निजामती कर्मचारी अस्पताल बन्यो ।

त्यो बेला निजामती अस्पतालका तत्कालीन कार्यकारी निर्देशकले डा. लम्साललाई भेटेरै निजामती कर्मचारी अस्पतालमा सँगै काम गर्न अनुरोध गरे। उनी पनि सहमत भए।

अस्पताल सुरुवाती अवस्थामा ४-५ जना मात्रै चिकित्सक थिए। कागजपत्र, कुर्सी, टेबल मिलाउनेदेखि लिएर अस्पताल सेटअप तथा व्यवस्थापन सबैतिर खटिनुपर्‍यो उनी।

 तीन जना बिरामी जाँचेर अस्पताल सुरु गर्दाका क्षण

१४ वर्ष अगाडि उनी निजामती अस्पतालमा  ‘फ्यामिली मेडिसिन तथा इमर्जेन्सि मेडिसिन’ विभाग प्रमुखको रूपमा प्रवेश गरेका थिए। अहिले पनि त्यही छन्।

एक त नयाँ अस्पताल त्यसमा पनि त्यहाँ सरकारी कर्मचारीको भने परीक्षण हुने भ्रम थियो।  तीन जना बिरामी जाँचेर  अस्पतालमा ओपिडी सेवाको सुरुवात गराएको उनले सम्झिए।

अस्पतालको ‘११५’ नम्बर कोठामा बसेर उकेराकर्मीसँग कुरा गरिरहँदा डा. लम्सालले सुनाए,‘यतिखेर जहाँबाट बसेर अन्तर्वार्ता दिइरहेका छु यही कोठामा बसेर तीन जना बिरामी हेरेपछि निजामती अस्पतालमा ओपिडी सेवा सुरु भएको थियो।’

नाम निजामती राखिए पनि सर्वसाधारणको पनि स्वास्थ्य परीक्षण हुने सन्देश गएपछि बिस्तारै स्वास्थ्य परीक्षण गर्न आउनेहरू बढ्न थाले। नयाँ अस्पताल भनेपछि स्वास्थ्य जाँच गराउन चाहनेहरूले कस्ता डाक्टर छन् भन्नेमा बढी चासो राख्ने उनले सुनाए।

सुरुवाती दिनमा कर्मचारीहरू निजामती अस्पतालमा आउन निक्कै हिचकिचाउने गरेको उनलाई सम्झना छ। थोरै सङ्ख्यामा चिकित्सक भएकाले आवश्यक सबै उपचार हुँदैनथ्यो। सीमित स्रोत-साधन थिए। आकस्मिक कक्ष र अस्पतालमा बिरामी भर्ना सुरु भएकै थिएन। निजामती अस्पतालको प्रचारप्रसार पनि नभएकाले अस्पताल राम्रो छ भनेर भेटेका र चिनेका मान्छेलाई आफैँ प्रचारप्रसार गर्नु परेको अनुभव सुनाए उनले।

सर्वसाधारणहरू त सरकारी कर्मचारी मात्र जाँच्ने अस्पताल भनेर आउन हिचकिचाउँथे। सरकारी कर्मचारीहरूमा पनि कनिष्ठहरू मात्रै आउने। वरिष्ठ तहका कर्मचारी निक्कै पछिबाट मात्रै अस्पतालमा आउन थाले।

'धेरै पछिसम्म पनि माथिल्लो तहका कर्मचारी यो अस्पतालप्रति कन्फिडेन्स थिएनन्। चिकित्सक अनि स्वास्थ्यकर्मीहरुले विश्वास आर्जन गर्न निकै मिहेनत गर्नुपरेको थियो,' उनले उकेरासँग भने' यतिसम्मको अस्पताल हुन्छ भन्ने कहाँ थियो र त्यो बेलामा।'

स्थायित्वको चिन्ता

उनी उहिल्यै स्थायी भए पनि पढ्न राजीनामा दिएका थिए। पछि उनी निजामती अस्पतालमा प्रारम्भबाटै जोडिए। तर स्थायी हुन सकेका छैनन् अझै। एकाध चिकित्सक मात्रै स्थायी भएको उनले बताए। यत्रो लामो समयसम्म काम गरेता पनि स्थायी हुन नसकेकोमा भने उनको चित्त दुखाइ छ।

 ‘६ सय जना कर्मचारीमा ४० जना कर्मचारी मात्रै स्थायी छन्,’उनले सुनाए,‘त्यसमा पनि डाक्टर त १-२ जना मात्रै स्थायी छन्। बाँकी सबै करारमा।’

डा. लम्साल निजामती अस्पतालको कुना कुनामा भएका समस्याका बारेमा जानकार छन्। ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने आफूसँग ज्ञान भएको उनले सुनाए। स्वाभाविकै पनि हो। किनकि उनी सुरुवातीकादेखि नै त्यो अस्पतालसँग जोडिएका छन्। अस्पतालको नेतृत्वका लागि उनले दुई  पटक कार्यकारी निर्देशकमा आवेदन पनि दिएका नै हुन्। दुवै पटक उनी वैकल्पिकमा परे।

समग्र उपचारको विधा

फ्यामिली मेडिसिन सम्बन्धी चिकित्सकलाई ‘फस्ट कन्ट्रयाक्ट डाक्टर’ पनि भनिन्छ। यो समग्र रोगको स्कृनिङ तथा उपचार गर्ने विशेषज्ञ विधा हो। डा. लम्सालले विकसित मुलुकमा फ्यामिली मेडिसिनका चिकित्सकसँग स्वास्थ्य जाँच गर्ने अभ्यास रहेको सुनाए। सम्भव हुनेसम्म फ्यामिली मेडिसिन सम्बन्धी चिकित्सकले नै औषधि उपचार गर्छन्। 

फ्यामिली मेडिसिनका चिकित्सकले आवश्यक ठाने अन्य विशेषज्ञ चिकित्सककहाँ रिफर गर्ने अभ्यास रहेको डा. लम्सालले सुनाए। सामान्यतया विशेषज्ञ चिकित्सकले औषधि उपचार गरेपछि फलोअप भने फ्यामिली मेडिसिन सम्बन्धी चिकित्सककहाँ नै गर्ने अभ्यास हुन्छ। जसले गर्दा बिरामीको उपचारको गुणस्तरीयता तथा सेवाको नियमितता राम्रो हुने उनी बताउँछन्। तर, नेपालमा भने यस्तो अभ्यास शिशु अवस्थामा नै छ।

नेपालजस्तो कम आय भएको देशमा त फ्यामिली मेडिसिन सम्बन्धी चिकित्सक अझ बढी आवश्यक रहेको उनले बताए।

‘एउटा बिरामीलाई पाँच किसिमको रोग लागेको छ भने पाँच वटा डाक्टरकहाँ जान सक्छ? उसको क्षमताले भ्याउँछ? खर्च कम लाग्ने विधि अपनाउनुपर्‍यो नि’ उनले भने।

उनी अहिले जनरल प्राक्टिस इमर्जेन्सी मेडिसिन एसोशीएसनको उपाध्यक्ष, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका प्राध्यापक अनि चिकित्सा शिक्षा आयोगमा विशेषज्ञ चिकित्सकको भूमिकामा समेत छन्। होल बडी चेकअप गर्ने अभ्यास निजामतीमा भित्रिनुमा उनकै देन ५।

हाल डा. लम्साल निजामती अस्पतालको शैक्षिक निर्देशको रूपमा समेत काम गरिरहेका छन्। उनले अस्पताललाई  शैक्षिक तथा अनुसन्धान विषयको अनुसन्धान तथा केन्द्र बनाउन प्रक्रिया अगाडी बढिरहेको सुनाए।

उनी अस्पतालको संस्थागत रिसर्च तथा रिभ्यु समितिका अध्यक्ष समेत हुन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का ‘इथिकल रिभ्यु बोर्ड’ को सदस्य समेत छन् उनी। स्वास्थ्य बिमा कार्यक्रम सुरु हुनु पूर्व स्वास्थ्य बिमा कार्यक्रमको खाका बनाउनदेखि कार्यान्वयन सम्मको अवस्थामा आफू संलग्न रहेको उनले उकेरासँग सुनाए।

‘हेल्थ इमर्जेन्सी र डिजास्टर’ व्यवस्थापनको विशेषज्ञ (मास्टर ट्रेनर) अनि निजामती अस्पतालको ‘सिभिल हब स्याटलाइट अस्पताल’ को संयोजक रहेका उनी चिकित्सकको सिप तथा अनुभवको सदुपयोग गर्न सके समग्र स्वास्थ्य क्षेत्रको विकासमा लाभ मिल्ने बताउँछन्।

डाक्टरको सुख-दुःख :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....