क्यान्सर सर्जन डा. दीपको अनुभव : आर्थिक रूपमा सक्षमहरू नै निको नि हुन्न पैसा नि सकिन्छ भन्दै समयमा उपचार गर्न आउँदैनन्

क्यान्सर सर्जन डा. दीपको अनुभव : आर्थिक रूपमा सक्षमहरू नै निको नि हुन्न पैसा नि सकिन्छ भन्दै समयमा उपचार गर्न आउँदैनन्

काठमाडौंः क्यान्सर सर्जन डा. दीप लामिछाने साढे तीन वर्षको अवधिमा दुई हजार भन्दा बढी क्यान्सर रोग लागेका व्यक्तिको शल्यक्रिया गरेका छन्।

उनले शल्यक्रिया गरेकामध्ये ६० दिन भित्र मृत्यु भएकाको सङ्ख्या न्यून छ। ६० दिन भित्रमा शल्यक्रियाका कारण बिरामीमा स्वास्थ्य जटिलता ननिम्तिए त्यसलाई शल्यक्रियाको सफलता मानिन्छ।

उनीकहाँ उपचारका लागि पुग्नेमध्ये कयौँ बिरामी अन्तिम अवस्थामा पुग्छन्। करिब अढाई वर्ष अगाडिको यस्तै प्रसङ्ग सुनाए डा. दीपले।

करिब ६० वर्षकी महिला भक्तपुर क्यान्सर अस्पताल पुगेकी थिइन्। स्वास्थ्य परीक्षणको क्रममा ती महिलालाई पेटको क्यान्सर भएको पत्ता लाग्यो।

महिलाको पेटको क्यान्सर निकाल्नका लागि शल्यक्रिया गर्नुपर्ने भयो।

डा. दीपले महिलाको शल्यक्रियाका लागि योजना बताए। समय मिलाए। तर, शल्यक्रिया गर्ने दिन नजिकिँदै गर्दा ती महिलाका परिवारले शल्यक्रिया गर्नै मानेनन्।

डा. दीपले ती महिलाका परिवारलाई उपचारपछि रोग निको हुनेबारे सुझाए। बुझाए।

ती महिलाका एक जना छोरा डा. दीपको सल्लाहअनुसार क्यान्सरको शल्यक्रिया गर्ने पक्षमा नै थिए।

तर, परिवारका अन्य सदस्य भने सहमत हुँदै भएनन्। डा. दीपको केही चलेन। शल्यक्रियाका लागि बोलाएको समयमा परिवारले ती महिलालाई अस्पताल लाँदै लगेनन्।

पेटको क्यान्सरको उपचार गरेकामध्ये करिब ७० प्रतिशत बिरामी निको हुन्छन्। शल्यक्रिया गर्नुपर्ने थियो। किमोथेरापि दिनुपर्ने थियो। यसले ती महिलाको क्यान्सर ठिक हुने सम्भावना बलियो थियो।

उपचारपछि ठिक हुने सम्भावना बलियो हुँदाहुँदै पनि उपचार नगर्दा डा. दीपको भारी भयो। मन अमिलो भयो। आमाको शल्यक्रिया गर्न नपाएका ती महिलाका छोरा डा. दीपलाई भेट्न पुगे। उनले डा. दीपलाई भेटेर वैकल्पिक चिकित्सकीय उपचार विधि (अल्टरनेटिभ) अपनाइरहेको सुनाए।

डेढ वर्षपछि तिनै क्यान्सर पीडित महिलालाई लिएर परिवार अस्पताल पुग्यो। डा. दीपले ती महिलाको स्वास्थ्य जाँच गरे। तर, त्यो बेलासम्ममा महिलालाई जन्डिस भइसकेको थियो। पेट र छातीमा पानी जमेको थियो। महिलाको स्वास्थ्य अवस्था निक्कै जटिल बनिसकेको थियो।

त्यो बेला कुनै चिकित्सकीय उपचारात्मक विधि अपनाउँदा समेत नबाँच्ने अवस्थामा थिइनन् महिला। महिलाको शरीरमा रगतको कमी थियो। रगत दिइयो। महिलालाई दुखाई कम गर्ने औषधि दिए उनले। त्यसपछि परिवारले घर लिएर फर्किए।

मृत्युको मुखमा पुगेकी महिलालाई हेर्दै मनमनै डा. दीपले सोचे,–डेढ वर्ष अघि उपचार गराउनुभएको भए तपाईँलाई बचाउन सकिन्थ्यो होला। माफ गर्नुहोस्। अव तपाईँसँग मृत्युवरण गर्नु बाहेकको बाँच्ने विकल्प छैन।'

बेलुका घरमा फर्कँदा महिला सम्झेर उनको मन पोल्यो। बचाउन सक्ने अवस्था हुँदाहुँदै उपचार नगरेपछि मृत्युको अन्तिम घडी कुर्न बाध्य महिलाको त्यो क्षण सम्झँदा अझै डा. दीपको मन कटक्क हुन्छ। मन भारी हुन्छ।

डा. दीपका अनुसार ती महिलाको पैसा नभएर उपचार नगरिएको पनि हैन। महिलाको आर्थिक अवस्था त्यति कमजोर देखिँदैनथ्यो।

डा. दीपको अनुभवमा यसरी क्यान्सरको उपचार नगरी घर फर्कनेमध्ये अधिकांश आर्थिक रूपमा कमजोर नभएकाहरुनै देखिन्छन्। पैसा नै नभएका व्यक्तिले त बरु पैसा छैन उपचारमा सहयोग गरिदिनुपर्यो भन्दै सहयोग माग्ने गरेको उनले सुनाए।

क्यान्सर भएपछि पैसा पनि सकिने, मान्छे पनि रहँदैन भन्ठानेर उपचार नै नगरी कतिपय व्यक्ति भाग्ने प्रवृत्ति रहेको उनले सुनाए।

शल्यक्रियापछि पेटबाट दिसा पिसाब

आर्थिक रूपमा सबल हुँदाहुँदै पनि परिवारले महिलाको उपचार नगरेको प्रसङ्गपछि आर्थिक रूपमा कमजोर भएकी महिलाको उपचारको प्रसङ्ग सुनाए डा. दीपले।

करिब तीन वर्ष अघिको कुरा हो। रुकुमकी ३९ वर्षीय महिला भक्तपुर क्यान्सर अस्पताल पुगिन्। डा. दीपले ती महिलाको स्वास्थ्य जाँच गरे। ती महिलाको पाठेघरको मुखको क्यान्सर थियो। डा. दीपको टिमले ती महिलाको पाठेघरको क्यान्सरको उपचारका लागि किमो थेरापी दियो। रेडियो थेरापी दियो।

डा. दीप नेतृत्वको चिकित्सकको टिम ती महिलाको उपचारमा सफल भयो। महिला उपचारपछि घर फर्किन्। तर, उपचार गरेको ६ महिनापछि ती महिला फेरी अस्पताल पुगिन्। ती महिलाको पुनः क्यान्सर फर्किएछ।

महिलाको क्यान्सरको उपचारका लागि जटिल किसिमको शल्यक्रिया गर्नुपर्ने भयो। शल्यक्रिया गरेर मलद्वार, पाठेघर, पिसाब थैली फाल्नुपर्ने भयो। दिसा र पिसाब गर्ने ठाउँ पेटमा बनाउनुपर्ने भयो।

डा. दीप नेतृत्वको टिमले ती महिलाको शल्यक्रियाका लागि योजना बनायो। शल्यक्रिया गर्यो। डा. दीप नेतृत्वको चिकित्सकको टिमले महिलाको शल्यक्रिया गरी मलद्वार, पाठेघर, पिसाब थैली निकाल्यो। पेटको बायाँतर्फको भागबाट दिसा गर्ने नली र दायाँतर्फको पेटको भागबाट पिसाब जाने नली निकालियो।

दिसा र पिसाबका लागि दिसा र पिसाब गर्ने आन्द्रा नै पेटबाट निकालिएको उनले सुनाए। ती नलीबाट आएको दिसा र पिसाब थाप्नका लागि ब्याग झुन्ड्याइएको हुन्छ। दिसा र पिसाब ब्यागमा थापेर फाल्नु पर्ने हुन्छ।

चिकित्सकले दिएको समयमा नै ती महिला फलोअपमा अस्पताल आइपुग्ने गरेको डा. दीप बताउँछन्। अहिले ती महिलाको स्वास्थ्य  अवस्था ठिक रहेको उनले सुनाए।

ती महिला बालबच्चालाई खाना पकाएर खुवाउने तथा घरको सामान्य दैनिकी गर्न सक्छिन् रे। शल्यक्रिया गरिएकी ती महिलाका श्रीमान् भक्तपुरको इँट्टाभट्टामा मजदुरी काम गर्थे।

उनीहरूको आर्थिक अवस्था कमजोर थियो। तर, चिकित्सकको सुझाव अनुसार उनीहरू उपचार गराउन तयार थिए। सही समयमा चिकित्सकको सुझाव अनुसार उपचार गरेकाले ती महिलालाई बचाउन सफल भएको डा. दीपले सुनाए।

भ्रमले भौँतारिएर अन्तिम अवस्थामा अस्पताल...

कतिपय क्यान्सर पीडित बिरामी विशेषज्ञ चिकित्सक बाहेक विभिन्न व्यक्तिको सल्लाहको भ्रममा परेर उपचार नै गर्न ढिला अस्पताल पुग्ने गरेको डा. दीपले सुनाए। त्यति मात्रै हैन विभिन्न किसिमका अप्रमाणित वैकल्पिक उपचार विधि अपनाउँदा पनि बिरामी अस्पतालमा ढिलो पुग्ने गरेको उनको अनुभूति छ।

आर्थिक अभाव हुने भन्दा आर्थिक अभाव नहुनेहरू नै विभिन्न भ्रमका कारण सही समयमा उपचारका लागि अस्पताल नपुग्ने गरेको डा. दीपको अनुभव छ।

विभिन्न ठाउँमा वैकल्पिक उपचार गर्दा नभएपछि मात्रै क्यान्सर अस्पतालमा उपचारका लागि पुग्ने व्यक्तिको सङ्ख्या धेरै हुने गरेको उनले सुनाए।

उपचारका नाममा चारैतिर भौँतारिएर आन्द्राबाट ह्वालह्वाल रगत बगेका कतिपय बिरामी उनीकहाँ पुग्छन्। कसैको मुखबाट रगत बगेको हुन्छ। कसैको जन्डिस हुन्छ।

स्वास्थ्य अवस्था जटिल भइसकेको अवस्थामा अस्पताल पुगेका बिरामीलाई पहिले किन अस्पताल नआउनु भएको भनेर सोध्दा फलानाले मर्छ भन्यो अनि नआएको भन्ने जस्ता जवाफ दिने गरेको डा. दीपले सुनाए। बिरामीका त्यस्ता कुरा सुन्दा उनलाई दिक्क लाग्छ।

हुन त चिकित्सकले उपचार गरेकामध्ये शतप्रतिशत बिरामी ठिक हुन्छन् नै भन्ने त हुँदैन। तर, स्वास्थ्य परीक्षणपछि क्यान्सर ठिक हुने सम्भावना भएका बिरामी पनि नियमित उपचारमा नपुगी विभिन्न व्यक्तिको भ्रमपूर्ण कुरा सुनेर उपचारमा नआउँदा उनको मन निक्कै दुःखी हुन्छ।

जन्म हाँडिगाउँमा, एमबिबिएस कोलकातामा

दीप काठमाडौँको हाँडिगाउँमा २०३७ सालमा जन्मिएका हुन्। उनले सिफलस्थित ‘हिमालय विद्या मन्दिर’बाट २०५५ मा एसएलसी गरे।

दीपले लैनचौरस्थित ‘नेशनल स्कुल अफ साइन्सेस’मा प्लस टु अध्ययन गरे। सानैदेखि पढाइमा तीक्ष्ण उनलाई डाक्टर बन्ने सपना थियो।

त्यसैले डा. दीपले भारतको कोलकातामा रहेको ‘युनिभर्सिटी अफ कलकत्ता’को ‘राधा गोविन्दकर (आरजीकार) मेडिकल कलेज’ पुगेर सन् २००० मा एमबिबिएस अध्ययन गर्न थाले। सन् २००६ मा उनको एमबिबिएस अध्ययन पूरा भयो।

दीपले जगदम्बा मदन पुरस्कार गुठीको छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययन गरेका हुन्।

नेपाल फर्किएर दुई वर्ष काम

एमबिबिएसपछि डा. दीप नेपाल फर्किए। फर्केको दुई हप्तामा नै डा. दीप सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मेडिकल अधिकृत करार जागिरे भए। काम थाले।

एक वर्षपछि उनले त्यहाँको जागिर छाडे। त्यसपछि थापथलिस्थित ‘नर्भिक इन्टरनेश्नल हस्पिटल’मा काम थाले। नर्भिकमा उनले एक वर्ष काम गरेपछि त्यहाँको जागिर छोडे।

छनोटमा सर्जरी विषय

त्यसपछि डा. दीपले चिकित्साशात्र अध्ययन संस्थान (महाराजगन्ज क्याम्पस) मा चिकित्साशास्त्र स्नातकोत्तर तह अध्ययनका लागि छनोट परीक्षा दिए। त्यहाँ अध्ययनका लागि छनोट भए। तर, आफूले चाहेको विषय पढ्न पाएनन्।

त्यसैले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छनोट परीक्षा दिए। त्यहाँ पनि आफूले चाहेको विषय अध्ययन गर्न पाएनन्।

त्यसपछि दीपले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा छनोट परीक्षा दिए। त्यहाँ उनले आफूले चाहेकै विषय पढ्न पाउने भए।

डा. दीपले पढ्न चाहेको विषय थियो,‘सर्जरी।’ चाहेकै विषय अध्ययन गर्न पाएपछि दीपले सन् २००८ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्नातकोत्तर तहको ‘एमएस जनरल सर्जरी’ विषयको अध्ययन थाले। तीन वर्षे यो विषयको अध्ययन सन् २०११ मा पूरा भयो।

अध्ययनपछि उनको पुनः जागिर खोज्ने सिलसिला सुरु भयो। अध्ययनपछि करिब दुई महिना उनले काम गरेनन्।

सर्जरी विषयको अध्ययनकै बिचमा डा. दीपले श्वेता बरालसँग लगनगाँठो कसे। दीपकी श्रीमती डा. श्वेता पनि रेडिएसन अंकोलोजिष्ट चिकित्सक हुन्। उनीहरू दुवै भक्तपुर क्यान्सर अस्पतालमा नै काम गर्छन्। उनीहरूको ११ वर्षीकी छोरी देश्ना छन्।

डा. दीप ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा सर्जनका रूपमा करार जागिरे भएर सन् २०११ मा काम गर्न थाले। त्यहाँ उनको पद रजिस्ट्रारको थियो।

स्वास्थ्य विज्ञान प्रतिष्ठान समेत भएकाले रजिस्ट्रार लेक्चरको रूपमा समेत त्यहाँ उनले काम गर्न थाले। बिरामी जाँच्ने तथा औषधि उपचार गर्ने, बिरामीको शल्यक्रिया गर्ने र चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउने उनको नियमित काम थियो।

पाटन अस्पतालमा जागिर थालेको चार वर्ष पछि डा.  दीप स्थायी भए। तर, क्यान्सरको शल्यक्रिया गर्दा भने उनी आफैँलाई बिस्तारै अलि चित्त बुझ्न छाड्दै गएको थियो।

डा. दीपलाई लाग्न थाल्यो,–क्यान्सर सर्जरी विषय नै अध्ययन गर्न पाए त क्यान्सरका ट्युमरको अझै राम्रो शल्यक्रिया गर्न सकिन्थ्यो।

त्यसपछि उनले क्यान्सरकै सर्जरी विषयको अध्ययन गर्न विदेश जाने सोच बनाउन थाले। उनी यो विषयको अध्ययन जसरी पनि गर्ने निष्कर्षमा पुगे।

तर, अस्पतालको स्थायी जागिर चटक्कै छाडेर जान मन थिएन उनलाई। त्यसैले डा. दीपले अध्ययन बिदा लिएर क्यान्सर सर्जरी विषयको अध्ययन गर्न विदेश जानका लागि व्यवस्थापनसँग कुरा गरे। तर, बिदा मिलेन।

त्यसपछि उनले एउटा निर्णय लिए। त्यो निर्णय हो,–जागिर त पछि पनि पाइन्छ। अहिले पढ्न जरुरी छ। यो देशमा क्यान्सरको सर्जरी गर्ने डाक्टरको खाँचो छ।

कोलकातामा क्यान्सर सर्जरी अध्ययन

पाटन अस्पतालमा पाँच वर्ष काम गरिसकेपछि डा.दीपले सन् २०१६ मा अध्ययनका लागि भारत जान लागेको भन्दै पाटन अस्पताललाई एउटा पत्र लेखे।

त्यसपछि  डा. दीप ‘क्यान्सर सर्जरी’ विषयको अध्ययनको लागि भारतको कोलकातास्थित ‘टाटा मेडिकल सेन्टर’मा पुगे।

घर परिवारबाट टाढा भएर कोलकातामा उनले तीन वर्षसम्म अध्ययन गरे। क्यान्सर सर्जरीको विषयमा ज्ञान तथा सीप हासिल गरे। यो उनको विशिष्टीकृत (सुपर स्पेशलाईजेशन) अध्ययन थियो।

सन् २०१८ मा डा. दीपको क्यान्सर सर्जरी विषयको अध्ययन पूरा भयो।

क्यान्सरकै खोजपड्तालमा केन्द्रित

क्यान्सर सर्जरी विषयको अध्ययनपछि डा. दीप नेपाल फर्किए। त्यसो त उनलाई जागिरका लागि पाटन अस्पतालको ढोका पनि खुल्लै थियो।

तर, उनले सोचे,–क्यान्सर सर्जरी विषयको अध्ययन गरेर आएकाले क्यान्सर अस्पतालमा नै काम गर्नु उचित हुन्छ।

नभन्दै उनले भक्तपुर क्यान्सर अस्पतालमा जागिर पाए। डा. दीप त्यहाँ २०७५ मा करार जागिरेका रूपमा प्रवेश उनी गरे। उनको जागिर कन्सल्टेन्ट क्यान्सर सर्जनका रूपमा भयो। जुन काठमाडौँ उपत्यकामा भएको एउटै सरकारी क्यान्सर अस्पताल हो।

डा. दीप साढे तीन वर्ष यता भक्तपुर क्यान्सर अस्पतालमा नै कार्यरत छन्।

क्यान्सर अस्पतालमा काम गर्न थालेपछि अझ बढी यो विषयसँग सम्बन्धित ज्ञान तथा सीप सिकेको उनलाई महसुस हुन्छ।

किनकि त्यहाँ विशेष गरी क्यान्सरकै बिरामी पुग्ने भएपछि अस्पताल छिर्नासाथ क्यान्सरकै विषयमा चर्चा हुन्छ। त्यसैको खोजपड्तालमा ध्यान केन्द्रित हुन्छ उनको।

फर्केर हेर्दा उनलाई लाग्छ,‘लामो जिन्दगीका यात्रामा तीन वर्ष छुट्टाएर क्यान्सर सर्जरीको विषयमा अध्ययन गरेँ। ठिक गरेँ।'

पाटन अस्पतालमा नै काम गरिरहेको भए उनी प्राध्यापक हुन सक्थे। तर, त्यो लोभलाई त्याग्ने निर्णय गर्नु नै उचित निर्णय भएको उनलाई महसुस हुन्छ।

डा. दीपलाई लाग्छ,त्यो लोभ त्यागेर नै क्यान्सर लागेका बिरामीको शल्यक्रिया गर्न सकेको छु। उनी यसैमा रमाउँछन्। यसैमा खुसी छन्।

त्यसो त उपचारका लागि चिकित्सक लगायतको टिम आवश्यक हुन्छ। भक्तपुर क्यान्सर अस्पतालमा, व्यवस्थापन, चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीको राम्रो सहयोगका कारण नै यो रोगको निदानका लागि काम गर्ने ऊर्जा मिलेको उनलाई महसुस हुन्छ।

क्यान्सरको उपचार विधिमध्ये शल्यक्रिया एक हो। क्यान्सरको उपचारका लागि किमोथेरापी र रेडियो थेरापीजस्ता विधि अपनाइन्छ। बिरामीको क्यान्सरको प्रकृति अनुसार प्राथमिकता निर्धारण गरी यी उपचारात्मक विधि अपनाउनुपर्ने हुन्छ।

चौथो स्टेजका पीडितलाई बचाएको त्यो प्रसङ्ग

त्यसो त क्यान्सर सर्जरी विषय अध्ययनपछि नेपाल फर्किएको एक महिनामा नै एक क्यान्सर रोगीको शल्यक्रिया गरेको क्षण उनको मानसपटलमा ताजै छ।

डा. दीप क्यान्सर सर्जरी विषय अध्ययन गरेर नेपाल फर्किएको एक महिना मात्रै भएको थियो। भक्तपुर क्यान्सर अस्पतालमा जागिरे भइसकेका थिए।

रुपन्देहीबाट करिब ५९ वर्षका क्यान्सर पीडित पुरुषलाई उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल लगिएको थियो। ती पुरुषलाई कोही चिकित्सकले डा. दीप नेपाल फर्किसकेका छन् भनेर नै रिफर गरिदिएका रहेछन्।

ती पुरुषको मलद्वारबाट क्यान्सर फैलिएर कलेजोसम्म नै पुगिसकेको थियो। जुन क्यान्सर चौथो चरण (स्टेज–४) मा पुगिसकेको थियो। पुरुषको स्वास्थ्य अवस्था जटिल थियो। तराई मूलका ती पुरुष नेपाली भाषा राम्रोसँग बुझ्दैनथे।

स्वास्थ्य जाँचपछि डा. दीपको टिमले ती पुरुषको शल्यक्रिया गर्ने योजना बनायो। तर, शल्यक्रिया गर्नु पूर्व ती पुरुषलाई किमो थेरापी दिनुपर्ने थियो। करिब चार महिना किमो थेरापी दिइयो। त्यही बिचमा रेडिएसन दिइयो।

त्यसपछि योजना अनुसार डा. दीपको टिमले ती पुरुषको मलद्वारदेखि कलेजोसम्म फैलिएको क्यान्सरको ट्युमरको शल्यक्रिया थाल्यो।

शल्यक्रिया गरी मलद्वार निकालियो। क्यान्सर भएको कलेजोको भाग निकालियो। शल्यक्रिया सक्न करिब आठ घण्टा लाग्यो। शल्यक्रिया सफल भयो।

शल्यक्रियापछि पनि करिब तीन महिना ती पुरुषलाई किमो थेरापी दिइयो। ती पुरुषको उपचारको समय करिब दश महिना समय लाग्यो। उनको उपचार सकिएको करिब दुई वर्ष भयो।

बेलाबेलामा ती पुरुष अझै फलोअपमा आएर डा. दीपसँग स्वास्थ्य जाँच गराउँछन्। अहिले भने ती पुरुष स्वस्थ रहेको उनले सुनाए।

चौथो चरणमा पुगिसकेको क्यान्सर पनि सही समयमा नियमित उपचार गरेका कारण ती पुरुषले क्यान्सर जित्न सफल भएको प्रसङ्ग उनले सुनाए। उपचारमा पाएको त्यो सफलताले बिरामीको ज्यान बाँच्यो।

चिकित्सकीय सीप तथा ज्ञानले ती पुरुष बिरामीलाई बचाउन सकेकोप्रति डा. दीप दङ्ग छन्। ती पुरुषलाई बचाएको प्रसङ्गले सही समयमा सही उपचार योजना भए बिरामी बचाउन सकिनेप्रति थप आत्मविश्वास मिल्यो डा. दीपलाई।

सामान्यतः उपचार गरेर क्यान्सर ठिक भएको दुई वर्षसम्म क्यान्सर फर्कने सम्भावना बढी हुने र दुई वर्षपछि भने त्यो जोखिम स्वाट्टै घट्ने उनले सुनाए।

अधिकांश शल्यक्रिया सफल

क्यान्सर रोग लागेका बिरामीको शल्यक्रिया सामान्यतया आकस्मिक रूपमा गर्नुपर्ने हुँदैन। योजनाबद्ध रूपमा शल्यक्रिया गर्न समय मिल्छ। त्यसैले शल्यक्रिया असफल हुने सम्भावना न्यून हुने डा. दीपले सुनाए। तर, आकस्मिक रूपमा शल्यक्रिया गर्नुपर्ने सवालमा भने जोखिम बढी हुन्छ।

त्यसो त करिब डेढ वर्ष अघि पेटको क्यान्सर फुटेर आकस्मिक रूपमा अस्पताल पुगेकी करिब ५० वर्षकी महिलाको शल्यक्रिया गरेको उनलाई याद छ। ती महिला अचेत अवस्थामा थिइन्। ती महिलाको रक्तचाप पनि अत्यन्तै कम थियो। मुटुको चाल धेरै थियो। अस्पताल पुग्दा स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो।

डा. दीप नेतृत्वको टिमले आकस्मिक रूपमा ती महिलाको शल्यक्रिया त गर्यो। तर, चिकित्सकको टिम ती महिलालाई बचाउन सफल भएन। शल्यक्रियापछि भोलिपल्टै महिलाको मृत्यु भयो। काठमाडौँमा नै घर भएकी ती महिलाले उपचार नै नगराई घरैमा बसेकी रहिछन्।

शल्यक्रिया सफल भएपछि चकलेट उपहार

कहिलेकाहीँ उपचारमा सफलता पाएर बाँचेका बिरामीले उपहार समेत दिने गरेको प्रसङ्ग डा. दीपले सुनाए। तीन महिना अघि मात्र उपचारमा सफलता मिलेपछि करिब ५० वर्षका पुरुषले आफ्नो उपचारमा खटिएको डा. दीप नेतृत्वको १९ जनाको टिमलाई खादा लगाइदिएर चकलेट बाँडेको सम्झना छ उनलाई।

अस्पतालबाट डिस्चार्ज हुनुअघि ती पुरुषले उपचारमा संलग्न टिमलाई त्यसरी सम्मान गरेका रहेछन्। डा. दीपको टिमले ती पुरुषको खानाको नलिको क्यान्सरको शल्यक्रिया गरेको थियो।

हरेक कामको सफलताका पछाडि गुरुको सकारात्मक भूमिका त्यतिकै महत्त्वपूर्ण हुन्छ। डा. दीप पनि क्यान्सरको सर्जरी सिकाउने गुरुहरूप्रति जहिल्यै कृतज्ञ हुन्छन्। जसमध्ये उनले सबैभन्दा धेरै सम्झने गुरु हुन् डा. सुदिप बेनर्जी।

२८ जेठ, २०७९, १८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।