डा. जनिथको अनुभव : क्यान्सर भएकी छोरीको उपचारै नगरी आमा र काका अस्पतालबाट भागेपछि...

डा. जनिथको अनुभव : क्यान्सर भएकी छोरीको उपचारै नगरी आमा र काका अस्पतालबाट भागेपछि...
तस्बिर : कृष्पा श्रेष्ठ

आफ्ना सन्तानप्रतिको माया शब्दमा वर्णन गर्न सकिँदैन। तर कतिपय व्यक्तिको मन यति कठोर हुँदोरहेछ जो उपचार गर्न ल्याएका सन्तानलाई उपचार नै नगराई अस्पतालबाटै भाग्दा रहेछन्।

४१ वर्षीय हाडजोर्नी तथा मांसपेसी क्यान्सर रोग विशेषज्ञ डा. जनिथ सिंह करिब दुई वर्षअघिको यस्तै घटना स्मरण गर्छन्।

धादिङकी करिब तीन वर्षीया बालिकालाई उनका आमा र काकाले उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पुर्याए। ती बालिकाको ढाडमा मांसपेसीको क्यान्सर (सार्कोमा) देखियो थियो। क्यान्सर खासै ठूलो र फैलिएको थिएन। उपचारपछि ठिक हुने किसिमकै थियो।

डा. जनिथले बिरामी बालिकाका आमा र काकालाई किमोथेरापी र शल्यक्रियापछि क्यान्सर ठिक हुने सुझाव दिएका थिए।

बालिकाका काकाले डा. जनिथसँग पहिलेकी पनि छोरी नै भएको र आर्थिक अभाव पनि भएकाले छोरीको उपचार गर्न नसक्ने सुनाए। आमा सोझी र अशिक्षित भएकाले काकाले नै बालिकाकाको उपचारको बारेमा निर्णय लिन्थे। 

बिरामीका आफन्तले आर्थिक अभाव भएको दुखेसो गरेपछि डा. जनिथले आफैं खर्च जुटाएर उपचार तथा शल्यक्रिया गरिदिने प्रतिबद्धता जनाए। डा. जनिथको प्रतिबद्धतापछि बिरामीका काका र आमा छोरीको उपचार गराउन सहमत भए जस्तो गरे। 

उपचारको चाँजोपाँजो मिलेपछि भक्तपुर क्यान्सर अस्पतालमा बालिकालाई किमो चालाएर उपचार गर्ने निर्णय भयो।

काका र आमाले छोरीलाई लिएर भक्तपुर क्यान्सर अस्पताल पुगे। क्यान्सर अस्पतालमा बालिकालाई भर्ना गरी नि:शुल्क उपचारका लागि अस्पतालले चाँजो मिलाइसकेको थियो। तर उपचारका लागि अस्पतालमा भर्ना गर्नुको सट्टा आमा र काका त बालिकालाई लिएर अस्पतालबाटै पो भागेछन्। 

डा. जनिथले सुनाए, ‘भर्ना हुन रेडी हुनु, हामी बेड मिलाउँछौं भनेर अस्पतालका कर्मचारीले भनेछन्। तर बेड तयार गरेर हेर्दा त उनीहरु (काका र आमा) बालिकालाई लिएर अस्पतालबाट टाप कसेछन्।’ 

भागिसकेपछि उनीहरुलाई खोजी गर्दा कहाँ गए पत्तै लगाउन नसकेको डा. जनिथले सुनाए। छोरी भएकै कारण ती आमा र काकाले छोरीको उपचार गर्नुको सट्टा अस्पतालबाट भागेको उनको बुझाइ छ। 

छोरीलाई उपचार गर्नुको सट्टा अस्पतालबाटै भागेको त्यो घटना डा. जनिथलाई अहिले पनि अनौठो लाग्छ। त्यो मात्रै हैन, विशेषगरी बालकको तुलनामा बालिकाको उपचार गर्न आएर भागेका यस्ता अन्य घटना पनि हुने गरेको डा. जनिथले सुनाए। 

जब मृत्युको मुखमा पुगेका बालकले नमस्कार गरे
डा. जनिथकहाँ हाडजोर्नी तथा मांसपेसी सम्बन्धी क्यान्सरको समस्या लिएर अस्पताल पुग्ने अधिकांश बिरामी बालबालिकाक नै हुन्छन्। उपचारपछि ठिक हुँदा त उनी लगायत खुसी हुने नै भए। तर अथक उपचार प्रयासपछि पनि बिरामी बचाउन नसक्दा उनको मन कटक्क हुन्छ।

अन्य अस्पतालबाट रिफर भई हाडजोर्नी सम्बन्धी क्यान्सरको समस्या भएर उपचारका लागि पुगेका बालकको एउटा प्रसंग डा. जनिथको मानसपटलमा ताजै छ। 

करिब आठ वर्ष अगाडिको कुरा हो। तनहुँका करिब १४ वर्षका बालकलाई उपचारका लागि भक्तपुर क्यान्सर अस्पतालमा पुर्याइएको थियो। ती बालकलाई जाङको हड्डीको क्यान्सर भएको थियो। क्यान्सर ठूलो थियो। बिरामीलाई किमो लगाई शल्यक्रिया गरेर क्यान्सर फाल्नुपर्ने भयो। 

किमोपछि शल्यक्रियाको जाँजोपाँजो मिलाएर डा. जनिथ नेतृत्वको चिकित्सकको टिमले शल्यक्रिया गरी बालकको क्यान्सर निकाल्यो। शल्यक्रिया सफल भयो। हाडजोर्नी तथा मांसपेसी क्यान्सर रोग सम्बन्धी तालिम लिएर नेपाल फर्किएपछि आफ्नै नेतृत्वमा डा. जनिथले पहिलो पटक ती बालकको शल्यक्रिया गरेका थिए। 

बालकको शल्यक्रिया सफल हुँदा डा. जनिथ जति खुसी थिए त्यति नै फेरि क्यान्सर फर्कने पो हो कि भन्ने चिन्ता पनि थियो। किनकी, क्यान्सर ठूलो भइसकेको थियो। जसले गर्दा क्यान्सरका कोषिका रगतमा फैलिन सक्ने सम्भावना थियो। 

जे नहुनु थियो, त्यही भयो। शल्यक्रिया सफल भए पनि बालकको शरीरका रगतमा क्यान्सरका कोषिका फैलिसकेका रहेछन्। शल्यक्रिया गरेको करिब डेढ वर्षपछि पुनः बालकको जाङको हड्डी र फोक्सोमा समेत क्यान्सर देखा पर्यो। कडा क्यान्सर भएको खण्डमा सामान्यतः उपचार गरेको एकदेखि दुई वर्षसम्ममा पुनः क्यान्सर देखापर्न सक्ने डा.जनिथ बताउँछन्।

औषधि उपचारपछि पनि बालकको फोक्सोको क्यान्सर ठिक हुने अवस्था थिएन। विस्तारै बालकको फेक्सो र जाङमा भएको क्यान्सर फैलिँदै गयो। उपचार त भइरहेको थियो। तर बालक बचाउने प्रयास निरर्थक हुँदै गयो। 

बालकको मृत्यु नजिकिँदै गएको छ भन्ने डा. जनिथलाई थाहा थियो। तर डा. उनीसँग बिरामी निको पार्ने कुनै उपाय थिएन।

बाँचुञ्जेल बालकलाई सहज बनाउने बाहेक कुनै चिकित्सकीय उपाय थिएन। बाँच्ने अवस्था नभएपछि आमाले बिरामी १४ वर्षीय छोरालाई आमाले तनहुँ नै लिएर जाने निर्णय गरिन्।  बालक बुवाआमाका एक्ला सन्तान थिए। 

बिरामी बालक डिस्चार्ज भइसकेका थिए। एक दिन डा. जनिथले बिरामी बालकलाई भेट्ने जाने निर्णय गरे। 

एक दिन बिहानै ती क्यान्सरपीडित बालकलाई डा. जनिथ भेट्न पुगे। छोराको उपचारका लागि आमाले कोठा भाडामा लिएर बसेकी रहिछन्। उनी पुग्दा बालक बसेका कोठाभित्र झुल्के घामले चियाइरहेको थियो। डा. जनिथलाई देख्नासाथ विस्तारै उठेर सकिनसकी बालक मुसुक्क मुस्कुराउँदै नमस्कार गरे। 

तर बिरामी बालक बोल्न सक्ने अवस्थामा थिएनन्। मृत्युको नजिक पुगिसेकका बालकले नमस्कार गरेको देख्दा डा. जनिथको मन झन् कटक्क भयो। नि:शब्द भए उनी।

बालकलाई भेट्दा डा. जनिथको मनमा एउटा कुरा खेलिरहेको थियो, ‘यी बालकलाई आफ्नो मृत्यु हुँदैछ भन्ने थाहा होला त!’

मृत्युको नजिक पुगेका बालकलाई डा. जनिथले ‘तिमी आत्तिनु पर्दैन। ठिक हुन्छ’ भन्दै सान्त्वना दिए। केहीबेर बालकसँग बसेपछि उनी फर्किए। 

त्यहाँबाट फर्किएपछि डा. जनिथले लेखक र्यान्डी पउस्चको ‘दी लास्ट लेक्चर’ नामक पुस्तक अध्ययन गरे। त्यो पुस्तकको अध्ययनपछि मृत्युको स्थितिमा पुग्दा मृत्युअघि मान्छेले के सोच्छ भन्ने कुरा उनले अझै बुझे। त्यो पुस्तक अध्ययनपछि उनले सोचे, ‘मेरो चिकित्सकीय पेसाका क्रममा अझै धेरै व्यक्तिको मृत्यु देख्नुपर्ने हुन्छ।’

उनले अर्को पनि सोचे, ‘व्यक्तिको मृत्यु भए उसको राम्रो कुरा बिर्सनु हुँदैन। मृतकको राम्रो पक्षको बिरासत सम्झनुपर्छ।’

त्यसपछि डा. जनिथ उपचारका क्रममा बिरामी मृत्यु भए मृत्युलाई स्वीकार्नुको विकल्प हुँदैन भन्ने निष्कर्षमा पुगे। त्यही अनुसार उनी मानसिक रुपमा तयार हुँदै जान थाले। 

डा. जनिथले कोठामा भेटेको एक हप्तापछि त ती १४ वर्षीय बालकले संसार छाडेछन्। बालक मृत्युको त्यो घटनाले उनलाई केही समयसम्म मानसिक रुपमा असहजता भयो। 

नेपालमा चिकित्सक, बिरामी तथा बिरामीका आफन्तबीच पनि मृत्युको बारेमा कम छलफल हुने गरेको उनले सुनाए। मृत्युपछि बिरामीका आफन्तलाई कसरी परामर्श दिने भन्ने चिकित्सकको महत्वपूर्ण भूमिका हुने डा. जनिथको अनुभूति छ। 

नयाँ प्रविधिले २३ वर्षीय डाक्टर बचाउँदा… 
करिब पाँच वर्षअघि क्रायो सर्जरी विधि अपनाई पहिलो पल्ट नेपालमा करिब २३ वर्षका एमबीबीएस अध्ययन गर्ने क्यान्सरपीडित विद्यार्थीको सर्जरी गरेको प्रसंग डा. जनिथ कहिल्यै भुल्दैनन्। अहिले ती व्यक्ति चिकित्सक भइसकेको उनले सुनाए।

एमबीबीएस अध्ययन गर्ने ती युवाको खुट्टाको पिँडुलाभन्दा माथिल्लो भागको हड्डीको क्यान्सर भएको थियो। शल्यक्रिया गरी लिक्विड नाइट्रोजन विधि अपनाई पुनः शल्यक्रिया गरेको भागमा हड्डी राखिदिएको डा. जनिथ बताउँछन्।

इन्डोप्रस्थेसिस सर्जरीको विकल्पमा क्रायो सर्जरी विधि अपनाइन्छ। इन्डोप्रस्थेसिस सर्जरीमा कृतिम हड्डी राखिन्छ भने क्रायो सर्जरीमा त्यही आफ्नै हड्डी पुनः प्रत्यारोपण गरिन्छ। क्रायो सर्जरी सस्तो पर्छ। 

यस विधिमा क्यान्सर लागेको हड्डीको भाग निकालिन्छ। त्यसपछि त्यो क्यान्सर लागेको हड्डी खुर्किइन्छ। त्यसपछि लिक्विड नाइट्रोजनमा डुबाइन्छ। जुन लिक्विड ‘माइनस एक सय ९० डिग्री सेल्सियस’ तापक्रमको हुन्छ। 

जसले गर्दा हड्डीमा भएका क्यान्सरका कोषिका मर्छन्। त्यस्तो हड्डी क्यान्सररहित हुन्छ। क्यान्सर रहित भएको हड्डी पुनः शरीरमा नै जोडिन्छ। क्रायो सर्जरी विधि अपनाई धेरै व्यक्तिको सर्जरी गरेको उनले सुनाए।

डा. जनिथका अनुसार सरकारी अस्पतालमा लिक्विड नाइट्रोजनमा प्रति व्यक्तिको उपचारका लागि करिब तीन हजार खर्च हुने र पाता लगायत खर्चमा करिब एक लाख भित्रमा उपचार सकिन्छ। यो विधिमा आफ्नै हड्डी राखिने भएकाले कृत्रिम जोर्नीभन्दा बलियो पनि हुन्छ। 

१५ सयभन्दा बढीको शल्यक्रिया
डा. जनिथले १५ सयभन्दा बढी व्यक्तिको ट्युमर तथा क्यान्सरको शल्यक्रिया गरेका छन्। जसमध्ये उनले पाँच सयभन्दा बढी हाडजोर्नी तथा मांसपेसीको क्यान्सर (सार्कोमा) भएका व्यक्तिको शल्यक्रिया गरेका छन्। त्यसैगरी हजारौंलाई उपचार गरेर बचाएका छन्। 

डा. जनिथका अनुसार ओस्टिओसार्कोमा क्यान्सरलाई निकै खराब क्यान्सरका रुपमा लिइन्छ। ओस्टिओसार्कोमा क्यान्सर भएका व्यक्तिमध्ये औषधि उपचारपछि करिब ७० प्रतिशतसम्म बिरामी बचाउन सकिने उनले सुनाए। अन्य क्यान्सर लागेका  व्यक्तिमध्ये ९० प्रतिशतसम्मलाई बचाउन सकिन्छ। 

विशेषगरी उनको दैनिकी हाडजोर्नी तथा मांसपेसीको क्यान्सर रोगको सर्जरी गर्नु हो। एक जना व्यक्तिको यो सर्जरी गर्न ५/६ घण्टाभन्दा बढी समय लाग्ने उनले सुनाए।

ज्ञान बाँड्ने निष्कर्षको त्यो प्रसंग 
स्वास्थ्य उपचारका सुरुवातका कयौं विधि तथा कार्यक्रम अहिलेसम्म पनि ‘नेपालमा पहिलो पटक सुरु भएको, पहिलो पटक गरेको’ भन्ने गरेको पाइएको डा. जनिथको अनुभव छ। तर यसरी पहिलो पटक गरेका उपचार लगायतका कामको ज्ञान तथा सिप सहकर्मी तथा भावि पुस्तालाई समेत बाँड्नुपर्ने उनको अनुभूति छ। 

यदि आफूले सिकेको सिप तथा ज्ञान आफैंमा मात्रै सिञ्चित गरेर राखी अरुलाई नबाँड्ने हो भने आफू नभएको खण्डमा बिरामीले त्यो उपचार नपाउने तथा बिरामीले दुःख पाउने समस्या हुनसक्ने डा. जनिथको अनुभूति छ। 

उनले सुनाए, ‘आफूमा भएको विशेषज्ञताको दिक्षा इच्छितलाई दिनैपर्छ। किनकी, सधैं आफू रहिरहिन्छ भन्ने हुँदैन।’ 

दुर्लभ रोग तथा जटिल उपचार दिने विशेषज्ञताको सावालमा भने झन् आफूसँग भएको ज्ञान तथा सिप अन्यलाई पनि बाँड्दा बिरामीले उपचारमा निरन्तरता पाउने उनी बताउँछन्।

एक दिन डा. जनिथलाई यस्तै समस्या परेको छ। करिब चार वर्ष अगाडि राष्ट्रिय ट्रमा सेन्टरमा नै एक जना घाइतेलाई उपचारका लागि भर्ना गरिएको थियो। ती घाइतेको खुट्टा नै काटेर फाल्नुपर्ने विषयमा चिकित्सकहरुबीच सल्लाह भइसकेको थियो। 

जसका लागि डा. जनिथको पनि सल्लाह लिइयो। जनिथले खुट्टा फाल्न नपर्ने संकेत देखेपछि शल्यक्रिया गरी कसरी खुट्टा जोगाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित भयो। चिकित्सकको टिमले ती घाइतेको शल्यक्रिया थाल्यो। 

शल्यक्रियाका क्रममा पनि डा. जनिथलाई घाइतेको खुट्टा बचाउन सकिन्छ भन्ने लागेकै थियो। त्यही अनुसार सफल रुपमा शल्यक्रिया प्रक्रिया अघि बढिरहेको थियो।

तर शल्यक्रिया गरिरहेको बेला डा. जनिथको घरबाट २० पटकभन्दा धेरै फोन आएछ। धेरै पटक फोन आएपछि एक जना चिकित्सकले शल्यक्रियामा व्यस्त डा. जनिथलाई फोन आएकोबारे खबर गरे। घरबाट फोन अएको थाहा पाएपछि उनले पनि कल ब्याक गरे। 

घरमा उनकी छोरी बिरामी भएकी रहिछन्। 

त्यसपछि डा. जनिथले शल्यक्रिया गरिरहेका अन्य चिकित्सकसँग ती घाइतेको खुट्टा बचाउन सकिने विषयमा केही सुझाव दिएर घरतिर दौडिए। छोरीलाई अस्पताल लगे। छोरीको स्वास्थ्य समस्या ठिक भयो। 

भोलिपल्ट उनले अघिल्लो दिन आफूले समेत शल्यक्रियामा सहभागी भएको चिकित्सकको टिमलाई सोध्दा थाहा भयो, ती घाइतेको खुट्टा बचाउन नसक्ने निर्णय भएछ। डा. जनिथलाई खुट्टा शल्यक्रिया गरी काटेर फालिएछ। खुट्टै काटेर फ्यालेको खबर सुनेपछि उनको मन अमिलो भयो।

त्यसपछि डा. जनिथले सोचे, ओ हो! यो ज्ञान र सिप भन्ने विषय त आफूमा मात्र सिञ्चित गरेर राखेर नहुने रहेछ। मैले १/२ जनालाई सिकाइदिएको भए त्यहाँ म चाहिँदैनथ्यो। जति धेरैलाई ज्ञान बाँड्यो उति नै बिरामीले सेवा पाउने रहेछन्। 

बिरामीको खुट्टा काटेर फ्याँक्नु परेको त्यो घटनापछि सिक्न चाहने चिकित्सकलाई आफूले सिकेको ज्ञान तथा सिप बाँड्न कुनै कञ्जुस्याईँ गर्न छाडेको डा. जनिथ सुनाए।

कम चिकित्सक, चक्रीय रुपमा सर्जरी
हाडजोर्नी तथा मांसपेसी क्यान्सर रोगको शल्यक्रिया गर्ने डा. जनिथको टिमका सहकर्मीहरु डा. ऋषिराम पौडेल (त्रिवि शिक्षण अस्पताल), डा. बिनायक ढुंगेल(भक्तपुर क्यान्सर अस्पताल), डा. बसन्त महर्जन (किष्ट अस्पताल), डा. दिपेन्द्र महर्जन (वीरेन्द्र सैनिक अस्पताल), डा. मन्दिप पाठक (बयलपाटा अस्पताल) हुन्। 

विगत तीन वर्षदेखि यही चिकित्सको समूह मिली टिमसार्क नामक समूह गठन गरी क्यान्सर सम्बन्धी विभिन्न जटिल शल्यक्रिया गरिरहेको उनले सुनाए। सामूहिक काम कामकै कारण सफलता मिलेकोप्रति उनी निक्कै गर्व महसुस गर्छन्।

यस विधाका चिकित्सक कम भएकाले यो टिमले नै चक्रीय रुपमा सर्दै आफू कार्यरत अस्पतालमा शल्यक्रिया गर्ने गरेको उनले सुनाए। टिमले नै शल्यक्रिया गर्दा त्यसको नतिजा राम्रो दिन सकिने उनको अनुभूति छ। 

डा. जनिथका अनुसार नेपालमा हाडजोर्नी तथा मांसपेसी क्यान्सर रोगको शल्यक्रिया गर्ने चिकित्सक करिब आठ जना मात्रै छन्। यो विधामा विशेषज्ञ चिकित्सक नै कम भएको उनले सुनाए।

सबै क्यान्सरमध्ये करिब एक प्रतिशत बिरामीमा हाडजोर्नी तथा मांसपेसी (सार्कोमा) सम्बन्धी क्यान्सर हुने गरेको उनले सुनाए। 

यस किसिमको क्यान्सर नेपालमा वर्षमा करिब तीन सय जनालाई देखिएको थाहा हुन्छ। सरकारी अस्पतालमा हड्डीको क्यान्सरको उपचार(किमो तथा शल्यक्रिया)का लागि करिब साढे दस लाख खर्च हुने उनी बताउँछन्। यस किसिमको क्यान्सरको उपचार नि:शुल्क हुनुपर्ने उनको तर्क छ। 

विगत दस वर्षदेखि खर्चको अभावका कारण एक जना पनि क्यान्सरका बिरामीलाई फर्काएको घटना भने नभएको उनले सुनाए। विभिन्न संघ/संस्था तथा व्यक्तिले पनि क्यान्सर पीडितका लागि आर्थिक सहयोग भइरहेको उनले सुनाए।

छनोटमा हाडजोर्नी तथा मांसपेसी क्यान्सर रोग 
काठमाडौंको नरदेवीमा जन्मिएका डा. जनिथले सेन्ट जेभियर्स स्कुलबाट २०५३ मा एसएलसी उत्तीर्ण गरेका हुन्। उनले सेन्ट जेभियर्स कलेजबाट आइएस्सी अध्ययन गरे।

जनिथ कास्कीको पोखरास्थित ‘मनिपाल कलेज अफ मेडिकल साइन्सेस’मा सन् २००० मा एमबीबीएस अध्ययनका लागि भर्ना भए। उनले पाटन अस्पतालमा एक वर्ष इन्टर्नसिप गरे। सन् २००५ डा. जनिथको एमबीबीएस अध्ययन पूरा भयो।

त्यसपछि करिब दुई वर्ष पाटन अस्पताल र ओखलढुंगामा मेडिकल अधिकृतको करार जागिरेका रुपमा काम गरे। पाटनबाट नै ओखलढुंगा गएर काम गर्नुपर्थ्यो।

त्यसपछि डा. जनिथ सन् २००७ मा भारतको चण्डिगढ पुगेर चिकित्सा शास्त्रको स्नातकोत्तर तहको अध्ययनका लागि ‘पिजिआइएमइआर (पोष्ट ग्र्याजुएट इन्टिच्युड अफ मेडिकल एजुकेसन एण्ड रिसर्च)’ मा भर्ना भए। जनिथले स्नातकोत्तर तहको एमएस अर्थोपेडिक सर्जरी विषयको अध्ययन सन् २०१० मा पूरा गरे। 

एमएस अर्थोपेडिक सर्जरी विषयको अध्ययन गरेर नेपाल फर्किएपछि उनले थापाथलिस्थित नर्भिक अस्पतालमा करिब एक वर्ष काम गरे। त्यसपछि उनी सन् २०१२ मा क्यानडाको टोरोन्टोस्थित ‘माउन्ट साइनाई अस्पताल’ पुगेर ‘हाडजोर्नी तथा मांसपेसी क्यान्सर रोग’ विषयको एक वर्षे तालिम (फेलोसिप) लिए। जुन विषयलाई चिकित्सकीय भाषामा ‘मस्कुलोस्केलेटल अंकोलोजी’ भनिन्छ। 

यो तालिमपछि  डा. जनिथ सन् २०१३ मा नेपाल फर्किए। नेपाल फर्किएपछि नर्भिक अस्पतालमा नै काम गर्न थाले। नर्भिकपछि उनले सन् २०१४ मा भक्तपुर क्यान्सर अस्पतालमा करार जागिरे रजिष्ट्रार चिकित्सकका रुपमा काम गर्न थाले।

सन् २०१५ मा उनी त्यहाँ स्थायी भए। त्यहाँ बढुवा हुँदै जुनियर कन्सल्टेण्ट अर्थोपेडिक्स अंकोलोजिष्ट समेत भए। तर भक्तपुर क्यान्सर अस्पतालमा डा. जनिथले उनले सन् २०१६ सम्म मात्र काम गरे। 

सन् २०१६ मा नै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा प्रतिष्ठान सेवा आयोगमार्फत अर्थोपेडिक सर्जनका रुपमा डा. जनिथ स्थायी जागिरे भए। त्यसयता उनी निरन्तर प्रतिष्ठानको राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा कार्यरत छन्।

३१ बैशाख, २०७९, १३:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।