उकेरा कोलम

डा. अच्युतबिक्रमको उपचार अनुभव : फोक्सोको ८० प्रतिशत भागमा निमोनिया भएका डिआइजी खरेल भाग्यले बाँचे


कलेजो रोग विशेषज्ञ डा. अच्युतबिक्रम हमालले सयौं बिरामीको उपचार गरे। धेरैको ज्यान बचाए। चिकित्सकीय भूमिकामा अस्पतालमा खटिँदाका केही अनुभव उनको मानसपटलमा अझै ताजा छन्। 

डा. अच्युतबिक्रमले उपचार गरेका बिरामीमध्ये सम्झिरहने एक व्यक्ति हुन्, नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल। 

कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा डिआइजी खरेल संक्रमित भएका थिए। खरेलको उपचारमा डा. अच्युत प्रत्यक्ष रुपमा खटिएका रहेछन्। 

कोरोना भाइरस संक्रमण भएपछि खरेललाई श्वास फेर्न असहज भएछ। त्यसपछि उनी नेपाल प्रहरी अस्पताल पुगेछन्। बेलुका अस्पताल पुगेका उनी अस्पताल भर्ना भए। 

राति करिब १० बजेतिर डा. अच्युतले खरेलको स्वास्थ्य जाँच गरे अनी सामान्य रुपमा अक्सिजन लगाएर खरेलको उपचार सुरु भयो।

तर, उनको स्वास्थ्य स्थिति हेर्दा डा. अच्युतले भोलिपल्ट नै आइसियु बेड तयार गर्नुपर्ने पूर्वानुमान लगाइसकेका थिए। त्यही अनुसार चिकित्सकको टिमले आइसियु व्यवस्थापन गर्‍यो। डा. अच्युतको टिमले भोलिपल्ट बिहान राउण्ड लिने क्रममा खरेलको शरीरमा अक्सिजनको मात्रा घटेर ‘स्याचुरेसन’ ४० मा झरेको थियो।

त्यसपछि उनको टिमले खरेललाई तत्कालै आइसियु कक्षमा सार्ने निर्णय गरेर बिहान करिब ९ बजे आइसियुमा सारियो। तर स्वास्थ्यमा सुधार भएन। त्यही दिन बेलुकी भेन्टिलेटरमा राख्नुपर्‍यो। नन् इनभेजिभ भेन्टिलेटरमा राखियो खरेललाई।

संक्रमणका कारण उनको फोक्सोको करिब ८० प्रतिशत भाग सेतो देखिसकेको थियो। फोक्सोको करिब ८० प्रतिशत भागमा कोरोना भाइरसका कारण निमोनिया भइसकेको थियो। खरेल बेहोस अवस्थामा भने पुगेका थिएनन्। करिब एक हप्ता उनलाई भेन्टिलेटरमा नै राखेर उपचार गरियो। त्यसपछि पनि लामो समयसम्म अक्सिजन दिइयो।

औषधि-उपचार भइनै रहेको थियो। डा. अच्युतको टिमले ‘टोसिलिजुम्याब’ नामक औषधि व्यवस्थापन गर्न खरेलको परिवारलाई भन्यो। सो औषधिले केही हदसम्म काम गर्‍यो। जुन औषधि त्यो बेला नेपालमा पाइँदैनथ्यो। 

भाग्यवस् नै भन्नुपर्छ, संक्रमणले गम्भीर रुपमा गाँजिसकेको खरेलको स्वास्थ्य अवस्था केही दिनपछि विस्तारै सुधार हुँदै आयो। दुई हप्तापछि उनी ठिक भएर डिस्चार्ज नै भए। डिस्चार्ज हुने बेलामा उपचारमा सबै चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति कृतज्ञ हुँदै खरेलले धन्यवाद दिए।

डिस्चार्जपछि खरेलले मोबाइलमा म्यासेज पठाउँदै आभार प्रकट गरेको डा. अच्युतले सुनाए।

तर, डिस्चार्ज भई घर फर्केर फलोअपमा अस्पताल पुग्दा समेत खरेलको फोक्सोमा निमोनियाको दाग थियो। ६ हप्तापछि निमोनियाको दाग हट्यो।

सही समयमा उपचार, आत्मबल, कोरोना विरुद्ध लड्ने शरीरको रोग प्रतिरोधात्मक क्षमता जस्ता कारण खरेललाई बचाउन सफल भएको अनुभव डा. अच्युतले सुनाए। अहिले खरेलको स्वास्थ्य अवस्था फिट एण्ड फाइन भएको डा. अच्युत बताउँछन्।

प्रहरीका उच्च अधिकारी हुन् वा सामान्य व्यक्तिको उपचारमा नै किन नहोस् उपचारको सिलसिलामा फरक महसुस नहुने उनको अनुभव छ। डा. अच्युत भन्छन्, ‘उच्च तहका कर्मचारीलाई उपचार गर्दा बढी फोकस हुने अनि जुनियर तहका कर्मचारीलाई उपचार गर्दा कम फोकस रहने मेरो बानी कहिल्यै रहेन।’

बिरामी बचाउन नसक्दाका ती क्षण...
त्यसो त डा. अच्युतको टिमले उपचार गरेका सबै कोरोना संक्रमित बाँचेनन्। अथक प्रयास गर्दा समेत बिरामी बचाउन नसकेका क्षण सम्झँदा अझै उनको मन अमिलो हुन्छ।

कोरोना संक्रमित बिरामीको स्वास्थ्य अवस्था सुधार हुँदै जाने अनि पुनः स्वास्थ्य जटिलता निम्तिएर बचाउन नसकिएका केही उदारण सुनाए उनले। 

बचाउन सकिने आश हुँदाहुँदै र अथक प्रयास गर्दागर्दै पनि नेपाल प्रहरीकै डिएसपीद्वय राजकुमार केसी र समीर खरेल लगायतलाई बचाउन नसकेको दुःखद् अनुभव उनले सुनाए। 

चौधरी थरका एक जना संक्रमित प्रहरी जवानलाई बचाउन नसकेको क्षण सम्झँदा पनि उनको मन भारी हुन्छ। ती जवानको स्वास्थ्यमा सुधार हुँदै गए पनि बीचमा एक्कासि स्वास्थ्य जटिलता निम्तियो। अक्सिजनको मात्रा कम हुँदै गयो। चिकित्सकको टिमको प्रयासका बाबजुद पनि उनलाई बचाउन नसकेको डा. अच्युतले सुनाए।

त्यसो त पहिलो लहरमा डा. अच्युत स्वयं पनि कोरोना भाइरस संक्रमित भए। संक्रमणको असरका कारण उनलाई करिब एक वर्ष पछिसम्म पनि स्वाँ-स्वाँ हुन्थ्यो। 

विशेषगरी कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा उपचार गर्दाका क्षणहरु डा. अच्युतका लागि अविस्मरणीय छन्। जतिबेला उनी भर्खर कलेजो रोग विषयमा डिएम अध्ययन पूरा गरेर प्रहरी अस्पतालमा फर्किएका थिए। 

त्यो बेला कोरोना संक्रमित बिरामीको सेवामा अहोरात्र खटिँदा समेत कयौंको ज्यान जोगाउन सम्भव नभएको सम्झँदा उनको मन खिन्न हुन्छ। 

आइसियु तथा वार्ड लगायतमा कोरोना संक्रमितको उपचारका लागि लगातार पाँच दिनसम्म २४सै घण्टाजसो संक्रमितको उपचारमा खटिएको सम्झन्छन् उनी। त्यो पनि पिपिई सेट लगाएर।

लगनशीलताको कदर गर्दै प्रहरी संगठनले उनलाई पुरस्कारका लागि सिफारिस समेत गरेको थियो। त्यसैले राष्ट्रपतिबाट गत वर्ष विभूषित समेत भएको उनले सुनाए। 

आफन्तले नमान्दा-नमान्दै आइसियुमा राखेर बाँचेका ती जवान
केही वर्ष अगाडि बिरामी बचाउँदाको एउटा प्रसंग डा. अच्युत कहिल्यै भुल्दैनन्। करिब ४५ वर्षका प्रहरी जवान (पुरुष) स्वास्थ्य समस्या भएपछि प्रहरी अस्पताल भर्ना भएका थिए। ती जवानमा टिबी, मेनेन्जाइटिस, मष्तिस्क घात (ब्रेन ह्यामरेज) जस्ता स्वास्थ्य समस्या थिए। 

अस्पताल पुग्दासम्ममा ती पुरुषको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो। उनलाई आइसियुमा नै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था थियो। तर भेन्टिलेटरमा राख्यो भने बिरामी फर्कंदैन भन्ने भ्रमका कारण ती बिरामीलाई आफन्तले भेन्टिलेटरमा राख्न मानेकै थिएनन्।

त्यसरी आफन्तको सहमतिबिना बिरामीलाई भेन्टिलेटरमा राख्न हुँदैन भन्ने पनि डा. अच्युतलाई थाहा नभएको हैन। तर उनलाई के पनि थाहा थियो भने, ‘भेन्टलेटरमा नराख्ने हो भने बिरामीको मृत्यु करिब निश्चित छ।’

त्यसपछि आफन्तले राख्न नमान्दा-नमान्दै पनि बिरामी बचाउने उद्देश्यले डा. अच्युतको टिमले बिरामीलाई भेन्टिलेटरमा राख्यो। आफन्तलाई पनि सम्झाउने प्रयास गरे।

नभन्दै केही दिनको उपचारपछि ती प्रहरी जवान ठिक भए। बाँचेर फर्केपछिको बिरामीको मुस्कान डा. अच्युतले नजिकबाट देखेका छन्। जुन मुस्कान सम्झँदा अहिले पनि उनलाई आनन्द लाग्छ।

जन्म नवलपरासी, लक्ष्य डाक्टर
अच्युत नवलपरासी (पश्चिम) को बर्दघाटमा जन्मिएका हुन्। उनले स्थानीय  सयपत्री इङ्लिस माबिबाट २०५५  मा एसएलसी उत्तीर्ण गरेका हुन्। एसएलसीपछि उनी काठमाडौं हानिए। काठमाडौंको डनबस्को कलेजबाट प्लस टु गरे।

अध्ययनमा तीक्ष्ण अच्युतको सानैदेखि डाक्टर बन्ने सपना थियो। त्यसैले सन् २००२ मा सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनका लागि भर्ना भए। सन् २००७ मा एमबिबिएस पूरा भयो।

त्यसपछि उनले झापास्थित आम्दा अस्पतालको ‘युएनएचसिआर’ एनजिओमार्फत भुटानी शरणार्थी शिविरको प्राथमिक स्वास्थ्य केन्द्रमा करिब एक वर्ष काम गरे। 

त्यही बीचमा स्वास्थ्यकर्मी झरना शाहसँग उनको विवाह भयो। झरना पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत नर्सिङतर्फ उपप्राध्यापकको भूमिकामा कार्यरत छिन्।  उनीहरुका ११ र चार वर्षका दुई छोरा छन्।

२०६७ मा डा. अच्युत त्रिभूवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा स्नातकोत्तर तहको एमडी ‘इन्टरनल मेडिसिन’ विषयको अध्ययनका लागि भर्ना भए। २०६९ मा एमडी अध्ययन सकियो।

सरकारी जागिर ढुंगेधाराको पानी
एमडी अध्ययनपछि रुपन्देहीस्थित कृमसन अस्पतालमा काम गर्न थाले डा. अच्युत। त्यहाँ करिब डेढ वर्ष कन्सल्ट्यान्ट फिजिसियनको रुपमा काम गरे।

तर, निजी अस्पतालको जागिर उनलाई वर्षे भेल जस्तो लाग्यो। वर्षे खहरे खोला जस्तै लाग्यो। 

डा. अच्युतले मनमनै सोचे, वर्षे भेलमा उर्लिएको पानी पिउने कि नियमित थोरै आइरहने ढुंगेधाराको पानी पिउने!

सरकारी जागिर उनलाई निरन्तर आइरहने ढुंगेधाराको पानी जस्तो लाग्यो। त्यसैले ढुंगेधाराकै पानी पिउने निष्कर्षमा पुगे।

त्यसपछि डा. अच्युतले निजी अस्पतालको जागिर छाडे। २०७१ मा उनी लोकसेवा परीक्षामार्फत गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरी अस्पतालमा स्थायी सरकारी जागिरे भए। उनको जागिर मेडिकल अधिकृतको रुपमा सुरु भयो। जागिर प्रवेश गर्दा प्रहरीतर्फ उनको तह ‘प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर)’ थियो।

मेडिकल अधिकृतका रुपमा जागिरे भए पनि उनले इन्टरनल मेडिसिन विषयमा विशेषज्ञता हासिल गरेका थिए। त्यसैले अस्पतालमा कन्सल्ट्यान्टको भूमिकामा काम गर्थे डा. अच्युत।

इन्टरनल मेडिसिन विशेषज्ञ भएका नाताले मेडिसिन विभागमा नै रहेर काम गरे। त्यो बेला जनशक्ति अभावका कारण इन्टरनल मेडिसिन विभागमा कन्सल्ट्यान्टको रुपमा समेत काम गरे। 

नेतृत्वको विश्वासले आइसियुको जिम्मेवारी
अनुभवका कारण सघन उपचार कक्ष (आइसियु) पनि उनको प्राथमिकतामा त्यत्तिकै पर्थ्यो।

त्यो बेला प्रहरी अस्पतालमा आइसियुको उद्घाटन भए पनि सुचारु भइसकेको रहेन छ। डा. अच्युत जागिरे भएको ६ महिनामा नै तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक सुमनशमशेर जबराले उनलाई आइसियु सञ्चालनको जिम्मेवारी दिएछन्।

आइसियु सञ्चालनमा त्यो बेलाको प्रहरी अस्पतालको नेतृत्वले डा. अच्युतलाई विश्वास गर्‍यो। त्यसैले नेतृत्वले आइसियु सञ्चालनको जिम्मेवारी दियो। उनले आइसियु रजिष्ट्रारको रुपमा काम गरे। 

डा. अच्युतले नेतृत्वले गरेको विश्वासलाई कर्तव्यनिष्ठ भएर काम गरे। त्यसो त एमडी अध्ययन गर्दा होस् वा निजी अस्पतालमा काम गर्दा, आइसियु सञ्चालन तथा व्यवस्थापन सम्बन्धी उनले राम्रो अनुभव बटुलेका थिए। अनुभवकै कारण उनी त्यो जिम्मेवारी लिन तयारी भए। उनी दुई वर्ष आइसियु सञ्चालन तथा व्यवस्थापनमा खटिए।

त्यसपछि लोकसेवाको खुला कोटाको परीक्षामार्फत २०७३ मा ‘प्राविधिक प्रहरी नायव उपरीक्षक’ दृतीय श्रेणीमा प्रवेश गरेर अस्पतालमा काम गर्न थाले। तर ‘प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर)’ को रुपमा प्रहरी अस्पतालमा काम गरिरहेका हुनाले उनको जागिर अवधि भने पहिलेकैबाट गणना भयो।

कलेजोमा विशिष्टिकृत
डा. अच्युतले २०७४ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा कलेजो रोग (हेपाटोलोजी) विषयमा डक्टर अफ मेडिसिन (डिएम) अध्ययन सुरु गरे। यो विशिष्टिकृत विषय हो। २०७७ मा उनको डिएम अध्ययन पूरा भयो। 

जीवनशैली तथा खानपान लगायत विभिन्न कारणले कलेजोमा देखिन सक्ने समस्याको चुनौती भविष्यमा बढ्दै जाने सम्भावना देखेकाले आफू यो विषयप्रति केन्द्रित भएको उनी बताउँछन्। 

डिएम अध्ययनकै बीचमा उनले भारत पुगेर ‘हेण्डस अन ट्रेनिङ’ लिए। जुन कलेजो रोगका बिरामी जाँच्ने, निदान तथा उपचार विधिको विषयको सिपमुलक तालिम भएको डा. अच्युतले सुनाए। 

त्यो बेलासम्म नेपाल प्रहरी अस्पतालमा कुनै पनि चिकित्सकीय विधामा डिएम अध्ययन गरेका चिकित्सक थिएनन्।  

मेडिसिन विभाग अन्तर्गतको कलेजो युनिटमा उनी काम गर्छन्। जुन युनिटका एक्लो विशेषज्ञ चिकित्सक हुन् उनी। कलेजो रोग विशेषज्ञ डा. अच्युतको दैनिकी प्रहरी अस्पतालमा बिरामीको स्वास्थ्य जाँच तथा उपचारमा नै बित्छ।

उनी प्रहरी अस्पतालको हाल मेडिसिन विभागमा कार्यरत एमडी इन्टरनल मेडिसिन गरेका चिकित्सकमध्ये सबैभन्दा अगाडि एमडी गर्ने चिकित्सकमा पर्छन्। 

त्यसो त आफू सुरक्षा संगठनको पहिलो कलेजो रोग विशेषज्ञ समेत भएकोमा गर्व गर्छन् डा. अच्युत।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....

७० वर्षदेखि चित्र बनाइरहेका गेहेन्द्रमान : चित्र मैले बनाएँ, छोराे नजरबन्दमा पर्‍याे

७० वर्षदेखि नेपालको आधुनिक कला क्षेत्रमा सक्रिय उनी यो उमेरमा कलाप्रतिकाे माेह उत्तिकै छ। राजधानीमा भइरहने विभिनन्न कलासम्बन्धी कार्यक्रममा उनी प्रायजसाे सहभागी हुन्छन्। खिचापोखरीको व्यापारिक....

बिन्दु पन्तको प्रसव पिडा र खुसी : गोरखपुरमा गर्भ जचाउँदा छोरा छ भने तर पत्यार लागेन

आफूलाई मन परेको क्षेत्रमा कार्यकारी पदमा बसेर सेवा गर्न पाएकोमा निकै रमाइलो लागेको बताउने उनको दुई सन्तान छन्। उनै बिन्दु पन्तले उकेरासँग आफ्नो प्रसव पिडा....

डा. शिरीषको उपचार अनुभव : तीन वर्षदेखि थला परेकी बज्यै सुई लगाएको एक घण्टामा जुरुक्कै उठेर हिँडिन्

डा. शिरीषकै एक जना सिनियर चिकित्सक साथीकी आफन्त रहिछन् ती आमै। साथीको अनुरोधमा उनले ती आमैको स्वास्थ्य एकपटक हेर्ने भएछन्। ह्वीलचेयरमा आमैलाई अस्पताल लगियो। स्वास्थ्य....

‘यो मन त मेरो नेपाली हो’ भनेर चिच्याउँदैमा कोही नेपाली नागरिक सावित हुँदैन

प्रेम आचार्यको आत्मदाह नेपाली जनताका लागि र नेपालको राजनीतिका लागि एकदमै नयाँ कुरा हो। यसमा कुनै शंका छैनः प्रेम आचार्यले आत्मदाह गरेर नेपाली समाज, शासन–व्यवस्था....