बाल शल्य चिकित्सक डा. रमनाको अनुभूति : माया मारेर घर पठाएको शिशुलाई एक महिनापछि अस्पतालमा देख्दा

बाल शल्य चिकित्सक डा. रमनाको अनुभूति : माया मारेर घर पठाएको शिशुलाई एक महिनापछि अस्पतालमा देख्दा
तस्बिर : कृष्पा श्रेष्ठ

शिशु नबाँचेपछि मृतकका आफन्तले पिट्न खोजेको क्षण सम्झँदा अहिले पनि बाल शल्य चिकित्सक डा. रमना राजकर्णीकार (शिल्पकार)को मन कटक्क खान्छ। 

घटना करिब चार वर्ष अघि कान्ति बाल अस्पताल पुर्याइएका एक शिशुको स्वास्थ्य परीक्षण गर्दा आन्द्रा राम्रोसँग नचलेको अर्थात् ‘इन्टेष्टिनल अब्स्ट्रक्शन’ भएको थाहा भयो। आन्द्रामा नसाको कमी भएका कारण शिशुको तीन पटक शल्यक्रिया भइसकेको थियो।

शिशुको आन्द्रा नै नचलेकाले चौथोपटक शल्यक्रिया नै गर्नुपर्ने भयो। एकपटक शल्यक्रिया गरेपछि आन्द्रा अड्किएर नचल्ने समस्या निम्तने जोखिम हुने डा. रमनाले बताइन्। शिशुमा पनि त्यहि समस्या देखियो।

अस्पतालमा बिहानै ति शिशुको शल्यक्रियाका लागि डा. रमनाको टिमले तयारी गर्यो। चिकित्सकको टिमले अप्रेशन थिएटरको व्यवस्थापन गर्यो। केही बेरमै शल्यक्रिया गर्ने तयारी भयो।

‘हामी अप्रेसनको तयारीमा थियौं,’ उनले स्मरण गरिन्, ‘तर, शिशुलाई अप्रेशन थिएटरमा लाने बेलामा बच्चालाई श्वास फेर्न गाह्रो भएको जानकारी आयो।’

खबर पाउनासाथ दौड्दै शिशु भएको वार्डमा पुगिन् डा. रमना। शिशुको उपचारका लागि चिकित्सकको टिम जम्मा भयो। तर, ति शिशुको श्वासप्रश्वासमानै अवरोध भएकाले तुरुन्तै सिपिआर गरियो। शरीरमा संक्रमण फैलिएर स्वास्थ्य जटिलता निम्तिई मुटुको चाल नै रोकिएछ। 

शिशुलाई श्वास फेराउनका लागि चिकित्सकको टिमले निक्कै मेहनत गर्यो। अथक प्रयास गर्दा पनि डा. रमनाको टिमको केही चलेन। उपचार गर्दागर्दै शिशुको मृत्यु भयो। 

तीन पटकसम्म शल्यक्रिया गर्दा बचाएको शिशु चौथो पटक शल्यक्रिया गर्ने तयारी गरिरहँदा मृत्यु भएको त्यो घटनाले चिकित्सकको टिम त निरास भयो नै, शिशुका बुवाआमाको मन कस्तो भयो होला! 

शिशुको मृत्यु भएको खबर सुन्नासाथ मृतकका अभिभावक र आफन्तले अस्पतालको वार्डमा नै डा. रमना, अन्य चिकित्सक र नर्सको टिमलाई गाली गर्दै घेरिहाले।

डा. रमनाले त्यो बेलाको घटना सुनाइन्, ‘म र साथीहरू थियौं। उहाँहरूले वार्डमा नै हामीलाई पिट्न खोज्दै एकैचोटी घेरिहाल्नुभयो।’
आफन्तले शल्यक्रिया ढिलो गरेका कारण शिशुको मृत्यु भएको भन्दै चिकित्सकको टिमलाई पिटुँला झैँ गरे। तर, शिशुलाई नै ढिला अस्पताल पुर्याइएका कारण शरीरमा संक्रमण फैलिएर शिशुको मृत्यु भएको डा. रमनाले सुनाइन्।

डा. रमना, अन्य चिकित्सक तथा नर्सको टीमले मृतक शिशुका आफन्तलाई शिशुको मृत्युको कारणबारे सम्झाउने हर कोशिश गरे। 

तर, जति सम्झाउन खोजे पनि आफन्तले झम्टिरहे। आफन्तले अस्वभाविक र आक्रमक व्यवहार देखाउन थाले। त्यसैले अस्पतालका सुरक्षा गार्ड र प्रहरी नै बोलाएर आफन्तलाई नियन्त्रणमा लिनुपरेको सम्झन्छिन् उनी। 

मृतक शिशुका बुवाआमा भने शिशुको शव हेर्दै भक्कानिरहेको डा. रमनाले नजिकबाट हेरिरहेकी थिइन्। त्यसले उनलाई मानसिक रूपमा थप पीडा भइरहेको थियो। 

त्यस्तो दुःखद घडिमा आफन्तले उपचारमा खटिएका चिकित्सक तथा नर्सलाई पिट्न खोजेपछि सुरक्षा गार्ड र प्रहरी नै बोलाएर नियन्त्रणमा लिनुपरेको घटना सम्झँदा अहिले पनि  डा. रमनालाई निक्कै दुःख लाग्छ। मन कुँडिन्छ।

आफन्तले मृतक शिशुको शव पनि दिनभरजसो नै लिन मानेनन्। दिनभरजसो नै छलफल र वार्ता गरेर शिशुको मृत्युको कारणबारे बुझाएपछि मात्रै आफन्तले शव बुझेको उनले सुनाइन्। पिट्न खोजिएको त्यो क्षण आफूलाई मानसिक रूपमा निक्कै तनाव उत्पन्न भएको डा. रमना सम्झन्छिन्। 

घटना सम्झँदै उनले भनिन्, ‘घरमा अहिलेसम्म कसैको पिटाई खाएको छैन। तर, अस्पतालमा पिट्न मान्छे आउँदा कस्तो हुन्छ होला? हामीलाई त्यो भन्दा मेन्टल ट्रमा के हुन्छ।’

बिरामी बचाउने अथक प्रयास गर्दागर्दै मृत्युभएपछि मृतकका आफन्तले कुटुँला, पिटुँला जस्तो गर्दा कहिलेकाहिँ त बेकारमा शल्यक्रिया विषय पढिएछ जस्तो लाग्ने गरेको डा. रमनाले सुनाइन्।

तर, शल्यक्रिया गरेर धेरै बालबालिका बचाएकोमा भने आफ्नो पेशालाई धन्यवाद दिन्छिन् उनी। त्यसैमा आनन्द लिन्छिन्। 

डाक्टरी आफैँमा जटिल पेशा हो, त्यसमाति सर्जरी विषय झन् जटिल। चौबिसै घण्टा पनि सतर्क हुनुपर्ने पेशा भएकाले पारिवारिक साथ विना यो पेशा कठिन हुने उनको अनुभव छ। तर, आफूले पारिवारिक साथ पाएकाले निर्धक्क काम गर्न सकेको उनले सुनाइन्। आफ्नो सफलताको श्रेय उनी दाइ र दिदीहरू, सासु र श्रीमानलाई दिन्छिन्।

आन्द्रा नचलेको शिशुको त्यो घटना...
केही वर्षअघि शिशुको मृत्यु भएको अर्को घटना सुनाइन् डा. रमनाले।

जन्मेको चार दिनमा शिशुलाई कान्ति बाल अस्पताल पुर्याइएको थियो। शिशुलाई बुटवलको एक अस्पतालबाट रिफर गरिएको रहेछ।

डा. रमनाको टिमले शिशुको स्वास्थ्य परीक्षण गर्दा आन्द्रामा नसाको कमी भएको थाहा भयो। शिशुलाई अघिल्लो केसको जस्तै हर्षप्रंक डिजिजकै समस्या थियो। 

आन्द्राको कुनै भाग (रेक्टम)मा नसाको कमीका कारण आन्द्रा नचलेपछि शिशुले दिसा गर्न सकेका थिएनन्। जसकारण शिशुमा पेट फुल्ने, मुखबाट वान्ता गर्नेजस्ता समस्या देखिएको थियो। शिशुलाई आईसीयूमा भर्ना गरियो।

आईसीयूमै मलद्वारबाट पाइप हालेर डा. रमनाको टिमले दिसा सफा गर्यो। तीन दिनसम्म दिसा सफा गरेपछि नसाको कमी छ वा छैन भनेर एकिन गर्न मलद्वारबाट मासुको टुक्रा लिएर परीक्षण गरियो। शिशुमा नसाको कमी भएको एकिन भयो।

त्यसपछि डा. रमनाको टिमले तत्काललाई शल्यक्रिया गरी ति शिशुको पेटबाट दिसा गराउने प्वाल बनाउने योजना बनायो। शल्यक्रिया गरी स्थायी दिसा गर्ने बाटो बनाउनुपर्ने थियो। दिसा सफा गर्ने, नाकमा ट्युब राखेर फोहोर निकाल्ने लगायत उपचार जारी नै थियो।

उपचार गर्दा गर्दै ति शिशुको शरीरमा यति धेरै संक्रमण फैलिएछ की शल्यक्रिया गर्नै नमिल्ने अवस्था निम्तियो। संक्रमण नियन्त्रणका लागि शिशुको उपचार भइरहेको थियो। सुत्केरी आमा र बुवा आईसीयू कक्षबाहिर बच्चा कुर्दै थिए।

तर, चिकित्सक टीमको केही जोर चलेन। हर प्रयास गर्दा समेत शिशुको शरीरमा फैलिएको संक्रमण नियन्त्रण हुन सकेन। आफ्नो सन्तानलाई काखमा लिने ति बुवा आमाको आशा पुरा भएन। चिकित्सकको टिमले बुवाआमालाई जीवित शिशु फर्काउन सकेनन्।

अथक प्रयासपछि पनि शिशु बचाउन नसकेको र ति बुबाआमाको आँखाका आँशु सम्झँदा डा. रमनाको मन अझै पनि चसक्क हुन्छ। भारी हुन्छ। कुराकानीकै क्रममा उनी केहीबेर निःशब्द बनिन्।

उनले भनिन्, ‘बच्चा काखमा लिन लड्पिरहेका आमाबुवालाई मृत्युको खबर सुनाउन निकै कठिन हुन्छ।’

बच्चाको उपचारमा खटिँदा आफ्नो बच्चा सम्झेर उपचार गर्ने गरेको उनले सुनाइन्। उनले भनिन्, ‘आफ्नो बच्चालाई निको गर्न हर प्रयास गरिन्छ नि! त्यसैले आफ्नो बच्चा सम्झेर उपचार गर्छु।’

डा. रमनाले करिब २५ सय बालबालिकाको शल्यक्रिया गरिसकेकी छन्। जसमध्ये करिब डेढसय बालबालिका बचाउन सम्भव नभएको उनले सुनाइन्। मृत्यु हुनेमध्ये अधिकांश जन्मेको एक महिनाभित्रका नवजात शिशु नै भएको उनले बताइन्। 

वयस्कको तुलनामा शिशुको तथा बच्चाको शल्यक्रिया गर्दा निक्कै संवेदनशीलता तथा जोखिम हुने उनले सुनाइन्। आन्द्राको समस्या,पिसाबको नली सम्बन्धी शल्यक्रिया र आगोले पोलेको शल्यक्रिया बढि गरिने उनको अनुभव छ।

माया मारेको शिशु बचेको त्यो चमत्कार

शिशुलाई बचाउन सम्भव नभएको घटनापछि चमत्कारीर रूपमा शिशु बाँचेको अर्को प्रसङ्ग डा. रमनाले सम्झिहालिन्।

घटना दुई वर्षअघिको हो । जम्मँदा नै शिशुको खानानली श्वास नलीसँग जोडिएको थियो। खानानली तलसम्म पूरा बनेको थिएन। मुखको भागबाट झरेको खानानली तल झरेपछि थैलोजस्तो भएर बसेको थियो। खानानली पाचन नलीसँग जोडिएको थिएन। नवजात शिशुमा देखिने यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘ट्राकियोइसोफेजल फिस्टुला’ भनिन्छ। 

खानानली नै पूरा नबनेकाले शिशुले खाएको पदार्थ फोक्सोमा जाने अवस्था थियो। खाद्यपदार्थ फोक्सोमा जाँदा शिशुमा निमोनियाको जोखिम थियो। ‘ट्राकियोइसोफेजल फिस्टुला’को समस्या भएका शिशुको जतिचाँडै शल्यक्रिया गर्न सक्यो त्यति नै शिशुलाई निमोनियाबाट बचाउन सकिने विषय चिकित्सकको टिमलाई थाहा नहुने कुरै भएन।

सबै तयारीपछि चिकित्सकको टिमले शिशुलाई अप्रेशन थिएटर लग्यो। डा. रमनाको टिमले शिशुको शल्यक्रिया थाल्यो। शल्यक्रिया गरी खानानली पाचन नलीमा जोडियो। शल्यक्रिया सफल भयो। 

तर, केही दिनपछिको स्वास्थ्य परीक्षणमा श्वास नलीसँग जोडिएको खानानली सिलाएको ठाउँबाट खाएको पदार्थ रसाएर फोक्सोमा गएको थाहा भयो। जसले संक्रमण भएर शल्यक्रिया गरेको ठाउँको घाउ पाक्ने, फोक्सोमा संक्रमण हुने लगायतको समस्या देखियो।

चिकित्सकको टिम पुनः शिशुको शल्यक्रिया गर्ने निष्कर्षमा पुग्यो । अस्पतालमा दश दिनसम्म शिशुको उपचार भइरहेको थियो।

त्यसपछि भने शिशुका बुवाआमा शिशुको शल्यक्रिया नै गर्न मानेनन्। शिशुलाई घरैमा लिएर जाने उनका बुवाआमाको निर्णय भयो।

डा. रमनाको टीमले शिशुका बुवाआमालाई शिशुको उपचार हुने भएकाले घर नलान निकै अनुरोध गरे। तर केही चलेन। विकट ठाउँबाट अस्पताल पुगेका उनीहरूले शिशुलाई जेपर्ला पर्ला भन्दै घर लिएर हिँडे। बुवाआमाले शिशुलाई घर लिएर हिडिरहँदा डा. रमनाको मन कटक्क भयो। उनले शिशुको माया मारिन्। उनले सोचिन्, ‘अब शिशु बाँच्नु भनेको मिराकल हुनु हो।’

तर, एक महिनापछि आफूले माया मारेको शिशुलाई कान्ति बाल अस्पतालको ओपिडिमा देख्दा उनी छक्क परिन्।

‘साँच्चै मिराकल जस्तै भएछ। करिब माया मारेका शिशु बाँचेछन्,’ उनले आँखा चम्किला पार्दै भनिन्, ‘स्वास्थ्य जाँच गर्दा बच्चाको स्वास्थ्य अवस्था ठिक भएछ। रसाएको नलीको भाग आफैँ टालिएछ। बच्चाको फोक्सो पनि राम्रो भएछ।’

अप्रेशन थिएटरमा नै दुई शिशुको मृत्यु

करिब चार वर्षअघि खाना नली पूरा नबनेको र श्वास नलीसँग जोडिएको समस्या भएका २र३ दिनका दुई जना शिशुको शल्यक्रिया गर्ने क्रममा अप्रेशन थिएटरमा नै मृत्यु भएको घटना डा. रमनाको मानसपटलमा अझै ताजै छ।

शिशुले अक्सिजन लिन नै नसक्दा सिपिआर गरेको र अथक प्रयासपछि पनि बचाउन नसकेको उनले स्मरण गरिन्। शल्यक्रिया कक्षमा नै शिशुको मृत्यु भएका ती घटना सम्झँदा अझै उनको मन झसङ्ग हुन्छ।

शल्यक्रिया कक्षमा नै मृत्यु हुँदा बच्चाका अभिभावकलाई मात्रै हैन आफूलाई समेत मृत्यु स्वीकार्न कठिन भएको उनको अनुभूति छ। 
पेटबाट आन्द्रा बाहिर निस्किएका शिशुलाई बचाउँदाको त्यो क्षण

तीन वर्षअघि जन्मजातै पेटमा प्वाल परेर आन्द्रा बाहिर निस्किएका शिशुलाई बचाएको प्रसंग सम्झदा डा. रमनालाई आनन्द लाग्छ। 

शिशुलाई जन्मिएकै दिन कान्ति बाल अस्पताल पुर्याइएको थियो। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘ग्याट्रोस्काइसिस’ भनिन्छ। विकट ठाउँमा घर भएकी ति आमाले काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा नै शिशु जन्माएकी रहिछन्। त्यसैले जन्मिएकै दिन शिशुलाई कान्ति बाल अस्पताल पुर्याइयो।

शिशुको पेटमा ठूलै प्वाल थियो। पेटको नाइटोसम्मको भाग पूरा बन्द नभएका कारण शिशुको आन्द्रा पेट बाहिर निस्कने समस्या भएको उनले सुनाइन्।

उनले भनिन्, ‘प्वालबाट आन्द्रा बाहिर निस्केका थिए। शल्यक्रिया गरेर पेट बाहिर निस्किएका आन्द्रा पेट भित्र हाल्नुपर्ने थियो। तर, शल्यक्रिया गरेर सुरुमै एकैपटकमा ति शिशुको आन्द्रा पेट भित्र छिराउन सम्भव थिएन।’ 

एकैचोटी पेटभित्र आन्द्रा छिराउँदा पेटको चाप बढेर फोक्सोलाई थिच्ने, शिशुलाई श्वास फेर्न गाह्रो हुने जस्ता समस्या निम्तने उनले सुनाइन्। त्यसैगरी एकैचोटी पेटमा आन्द्रा छिराउँदा नसा थिचिने, खुट्टा निलो हुने र शरीरमा राम्रोसँग रक्तप्रवाह नहुने जस्ता समस्या निम्तने उनको अनुभव छ।

त्यसैले डा. रमनाको टिमले शिशुको पेट बाहिर एक किसिमको थैलोमा आन्द्रा राख्यो। जुन थैलोलाई ‘साइलो ब्याग’ भनिन्छ। त्यसपछि पेट बाहिर निस्किएको जन्मजात भएको प्वाललाई शल्यक्रिया गरी सानो बनाइयो।

शिशु बढ्दै गएपछि पेटभित्र पनि ठाउँ बढ्दै जान्छ। जसले गर्दा आन्द्रा पेट भित्र छिर्न सहज हुने उनले बताइन्। उनले भनिन्, ‘एकैचोटी छिराउनु भन्दा थोरथोरै गर्दै आन्द्रा पेटभित्र छिराउनुपर्छ।’ 

डा. रमनाको टिमले ति शिशुको आन्द्रा राखिएको थैलोमा भएको आन्द्रा विस्तारै ठेल्दै पेटभित्र छिरायो। पाँचौं दिनतिर पेट बाहिर भएका सबै आन्द्रा पेट भित्र छिराउन चिकित्सकको टिम सफल भयो। त्यसपछि आन्द्रा बाहिर निस्किएको पेटको प्वाल बन्द गरियो। 

तर, पेटमा आन्द्रा छिराएर प्वाल बन्द गरेपछि शिशुको पेटमा संक्रमण भयो। जसले गर्दा पेट फुल्ने, नाकमा राखिएको पाइपमा हरियो पानी धेरै निस्कने, दिसा नगर्ने जस्ता समस्या निम्तिए। 

‘औषधि उपचार गरिरहेपछि पनि शिशुको स्वास्थ्यमा सुधार भएन। भाग्य नै भन्नुपर्छ। अथक उपचार प्रयासपछि शिशुलाई बचाउन सकियो’, करिव २० दिनको अस्पताल बसाइपछि भने ति शिशु ठिक भएर डिस्चार्ज गरिएको प्रसंग सुनाइन् डा. रमनाले।

ति शिशुलाई अहिले पनि बेला–बेलामा फलोअपमा आउने गरेको र स्वस्थ रहेको उनले सुनाइन्।

छनोटमा बाल शल्य चिकित्सा

काठमाडौंको थापाथलीमा जन्मिएकी रमनाले २०५९ मा ललितपुरको जावलाखेलस्थित ‘सेन्टमेरिज हाइस्कुल’बाट एसएलसी गरिन्। बुवा मोहनराज राजकर्णिकार र आमा निलमाया राजकर्णिकारले रमनाको अध्ययनमा जहिल्यै हौसला दिइनै रहे। त्यसैले त उनी आइएस्सी अध्ययनका लागि भारत पुगिन्। भारतको बैंलौरस्थित ‘बल्डवीन गर्ल हाइस्कुल’ बाट उनले सन् १९९६ मा आइएस्सी पूरा गरेर नेपाल फर्किन्।

त्यसपछि रमनायको चिकित्साशास्त्र अध्ययनको यात्रा सुरु भयो। रमना एममबीबीएस अध्ययनका लागि बंगलादेश पुगिन्। उनी बंगलादेशको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चिटागोंग (यूएसटीसी)मा सन् १९९७ मा एमबीबीएस अध्ययनका लागि भर्ना भइन्। सन् २००२ मा डा. रमनाको एमबीबीएस पूरा भयो।

एमबीबीएसपछि उनी नेपाल फकिइन्। नर्भिक अस्पताल र काठमाडौं मेडिकल कलेजमा करिब अढाई वर्ष मेडिकल अधिकृतका रूपमा करार जागिरे भइ काम गरिन्। 

त्यसपछि डा. रमना स्नातकोतर तहको एमएस ‘पेडियाट्रिक सर्जरी (बाल शल्य चिकित्सा)’ विषयको अध्ययनका लागि मा बंगलादेश पुगिन्। डा. रमनाले बंगलादेशको ढाकास्थित ‘बंगबन्धु शेख मुजिब मेडिकल युनिभर्सिटी (बीएसएमएमयू)’ मा सन् २००५ भर्ना भएर एमएस सर्जरी विषयको अध्ययन थालिन्। सन् २०१० मा एमएस पेडियाट्रिक सर्जरी विषयको अध्ययनपछि उनले नेपाल फकिईन्। 
त्यसो त एमबीबीए अध्यन गर्दादेखिनै यो विषय मनपर्ने भएकाले सर्जरी विषय छनोट गरेको उनले सुनाइन्।

सर्जरीमा पनि बालकालिकासँग घुलमिल हुन बढी मन पराउने स्वभाविक थियो उनको। साना बच्चाको पीडा हेर्न उनलाई कठिन हुन्थ्यो। आफ्नो समस्या पनि भन्न नसक्ने सानो बच्चाको रोगको निदान कसरी गर्न सकिन्छ भन्ने लाग्थ्यो उनलाई। त्यसैले उनले बालशल्य चिकित्सा विषय नै छनोट गरेको सुनाइन्। अवसर पनि भएकाले यो विषय छनोट गरेको उनले सुनाइन्।

बाल शल्य चिकित्सा विषय अध्ययनपछि डा. रमनाले कान्ति बाल अस्पतालमा भोलेन्टियरका रूपमा करिब आठ महिना काम गरिन्। केही निजी अस्पतालमा पनि काम गर्थिन्। त्यो बेला यो विषय अध्ययन गरेका चिकित्सकले जागिर पाउनै कठिन थियो रे। 

आठ महिना भोलेन्टियर काम गरेपछि उनी कान्ति बाल अस्पतालमा विशेषज्ञ चिकित्सकको रूपमा करार जागिरे भएर काम गर्न थालिन्।

कान्तिमा काम गरिरहेको समयमा सन् २०११ मा रमनाले इन्जिनियर प्रदीप शिल्पकारसँग लगन गाँठो कसिन्। सन् २०१३ मा छोरा प्रमन जन्मिए। प्रमन अहिले आठ वर्षका भएका छन्। कान्तिमा रमनाले सन् २०१६ सम्म करिब पाँच वर्ष करार जागिरेकै रूपमा काम गरिन्। 

सरकारी जागिर शुरु, पहिलो पोस्टिङ पोखरा

डा. रमना सन् २०१७ मा लोकसेवामार्फत नवौं तहकी स्थायी सरकारी जागिरे भइन्। सरकारी जागिरे भएपछि उनको पहिलो पोष्टिङ कास्कीको पोखरास्थित तत्कालिन पश्चिमाञ्चल अस्पतालमा भयो। त्यहाँ उनले करिब नौ महिना काम गरिन्। 

आइएस्सी अध्ययन गर्दादेखिनै घर बाहिर बसेकी उनलाई परिवारसँगै बस्ने चाहना हुनु स्वभाविकै हो। त्यो बेला उनका छोरा सानो थिए। त्यसैले डा. रमना सरुवा भएर सन् २०१८ मा काठमाडौंको कान्ति बाल अस्पताल आइन्।

त्यसयता निरन्तर उनी कान्ति बाल अस्पतालमा नै कार्यरत छिन्। वरिष्ठ कन्सल्टेण्ट पेडियाट्रिक सर्जन् उनी कान्ति बाल अस्पतालमा ‘बाल शल्य चिकित्सा विभागको युनिट–३’ को प्रमुखको जिम्मेवारीमा समेत छिन्।

डा. रमनाले वयस्कको तुलनामा साना बच्चाको शल्यक्रिया गर्नु निक्कै संवेदनशील हुने अनुभव सुनाइन्। नेपालमा बाल शल्य चिकित्सक करिब २० जना भएको उनले सुनाइन्।
 

११ भदौ, २०७९, २२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।