चौथो अंग : कतै रिपोर्टिङ गर्न हेलिकोप्टर लिएर जासम्म भन्छन्, कतै बस भाडा पनि दिँदैनन्

चौथो अंग : कतै रिपोर्टिङ गर्न हेलिकोप्टर लिएर जासम्म भन्छन्, कतै बस भाडा पनि दिँदैनन्

सन् २०१८ जुन २५ मा न्युयोर्क टाइम्सकी रिपोर्टर मारिया अबी हबिबले श्रीलंकालाई चिनियाँ ऋणले कसरी डुबाउँदैछ भनेर लामो स्टोरी गरेकी थिइन्।

चिनियाँ ऋणमा सर्त नै सर्त रहेकाले श्रीलंकाको समग्र अर्थतन्त्रमा असर पुर्याउने रिपोर्टमा उल्लेख थियो। उनले चिनियाँ ऋण कति घातक छ भन्ने तथ्य र तर्क प्रस्तुत गरेकी थिइन् आफ्नो स्टोरीमा।

त्यतिबेला उनलाई ट्रोल बनाइयो, श्रीलंकामा प्रवेश निषेध गरियो। पत्रिकालाई प्रष्टीकरण सोधियो तर  पत्रिका अडिग रह्यो।

ठ्याक्कै चार वर्षपछि श्रीलंका टाट पल्टनुमा चिनियाँ फ्याक्टरले धेरै प्रभाव पारेको देखियो। श्रीलंका टाट पल्टनुमा चिनियाँ ऋण पनि एक कारण रहेको अर्थविद्ले बताइरहेका छन्। 

विदेशी मिडियाले तथ्य र तर्कमा टेकेर कसरी कुनै पनि देशको राजनीतिक/आर्थिक वा जुनसुकै बिटको रिपोर्टिङ गर्छन् भन्ने यो एउटा सशक्त उदाहरण हुन् रिपोर्टर मारिया।

स्थानीय पत्रिका ‘गाउँघर’देखि ‘न्युयोर्क टाइम्स’ सम्म 
रुकुम घर भए पनि मैले दाङ जिल्लाबाट पत्रकारिता सुरुवात गरें। नेपाली माध्यमको पत्रकारिता थियो त्यो।

एसिया फाउण्डेसनको सहयोगमा सञ्चालित ‘गाउँघर’ भन्ने पत्रिका थियो। पत्रकार सुशील गौतमको घरमा डेरा गरी बसेकाले पनि मैले विनायोजना पत्रकारिता गरें। 

स्थानीय रिपोर्टिङबाट सुरु भयो मेरो पत्रकारिता। स्टोरी गर्दै गएपछि सिक्दै गइयो। नेपाल प्रेस इन्स्टिच्युटले फिचर स्टोरी गर्दा केही पैसा पनि दिन्थ्यो। 

माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा थियो। स्नातक सकेर स्नातकोत्तर तहको अध्ययन गर्न काठमाडौं आउन मन लाग्यो। काडमाडौं आउनुअघि घर गएँ। घर जाने क्रममा रुकुम र जाजरकोट चक्कर लगाएँ। केही फोटो खिचें र रिपोर्टिङ गरेँ। त्यतिबेला यी जिल्लामा पत्रकारहरु छिर्न पनि सक्दैनथे। सदरमुकाममा बस्न समेत गाह्रो थियो पत्रकारलाई। 

घरबाट फर्कँदा केही थान स्टोरी लिएर आएँ। र, एउटा म्यागेजिनमा बुझाएँ। तर त्यो म्यागेजिनले छाप्दैनौं भनेपछि अर्को म्यागेजिनमा बुझाएँ। त्यहाँ मेरो स्टोरी र फोटो छापियो। केही पैसा पनि दिए।

केही समय मैले म्यागेजिनमा काम गरेँ। ‘बुधबार’ साप्ताहिकमा पनि काम गरेँ। बुधबारले मलाई राजनीतिक शिक्षा प्रदान गर्यो।

त्यसपछि मेरो यात्रा 'राइजिंग नेपाल'मा भयो। ऐच्छिक अंग्रेजी नै लिएर पढेको भए पनि मेरो अंग्रेजी ठिकै थियो। जसै राइजिङ नेपालमा काम गरेँ, मेरो अंग्रेजी तिखारियो। यहाँ लामै समय काम गरेँ। 

सरकारी मिडियाको रवैया खासै मन नपरेपछि अर्को निजी क्षेत्रको अंग्रेजी दैनिक पत्रिकामा काम गरें। 

त्यतिबेला मलाई लाग्थ्यो, राजनीति नै समाचार हो। सिंहदरबार, संसद् भवन, पार्टी कार्यालय गएपछि फिल्ड गएको महसुस हुन्थ्यो। रिपोर्टिङ गर्ने यसरी नै हो भन्ने परेको थियो। 

२०७० सालको चुनावमा चुनावको रिपोर्टिङ गरें। जसले न्युयोर्क टाइम्ससम्मको यात्रा तय गरायो।

२०७० चुनावमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग धसिएको थियो। ठूला कार्गो जहाजहरु ल्याण्ड गर्न सम्भव थिएन। चुनाव आइसकेकाले युएनडिपीले कागज सप्लाई गर्न सम्भव छैन र स्थलमार्गबाट ल्याउँदा माओवादीबाट टुक्रिएको वैद्य माओवादीको डर हुन्छ भन्ने स्टोरी थियो। पत्रिकाको प्रमुख समाचार भयो यो।

चुनाव चाहनेले यो समाचार याद गरिरहेका रहेछन्। न्युयोर्क टाइम्सका पत्रकार नेपाल आउने भएपछि ‘कार्टर सेन्टर’का प्रमुखले घनश्याम ओझालाई भनेछन्। त्यसपछि मैले नेपाल आउने न्युयोर्क टाइम्सका रिपोर्टरलाई सघाउनुपर्ने भयो। न्युयोर्क टाइम्सका तत्कालीन साउथ एसिया चिफ गार्डनर ह्यारिस नेपाल आए । उनलाई मैले सघाएँ। जाने बेला उनले मलाई यहाँ न्युयोर्क टाइम्सको रिपोर्टर छैन, तपाईं बन्नुपर्ने हुनसक्छ है भनेर गए। 

उनी चुनाव भइन्जेल यतै थिए। त्यसपछिको रिपोर्टिङ मैले गरेँ। विदेशी मिडियाले नेपालको सशस्त्र द्वन्द्वलाई नजिकबाट नियालेका थिए। माओवादीले २०७० को चुनावी परिणाम स्वीकार्दैनौँ भन्दा न्युयोर्क टाइम्सले राम्रो कभरेज गरेको थियो। सायद उनीहरुलाई माओवादी फेरि द्वन्द्वमा फर्कन्छ कि भन्ने लागेको थियो। २०७० सालमा न्युयोर्क टाइम्समा उनै ह्यारीसँग मेरो जोइन्ट बाइलाइन आयो। 

फिल्डमा नगई स्टोरी हुँदैन
न्युयोर्क टाइम्स कुन स्तरको पत्रिका हो भन्ने भेउ पाइसकेको थिइनँ मैले। त्यहाँ जोइन्ट बाइलाइन पढेपछि साथीहरुले बधाई दिए। कसरी काम गर्ने, के गर्ने भन्ने थाहा थिएन। रिपोर्टिङ भनेकै राजनीति भनेर बुझेको मैले ग्लोबल अडियन्सलाई यहाँको राजनीतिक समाचार स्थानीय लाग्ने नै भयो। न्युयोर्क टाइम्समा काम गर्न थालेपछि उनीहरुको रिपोर्टिङ गर्ने तरिकाले प्रभावित भएँ म। 

केही उदाहरण- सन् २०१४ मा सगरमाथामा ठूलो घटना भयो। हिम पहिरोले १६ जना शेर्पाको मृत्यु भयो। मैले बिदा लिएकाले के भइरहेको छ, समाचार हेरेको थिइनँ। 

त्यतिबेला लाइन पनि गइरहन्थ्यो। डेटा खोलेर इमेल हेर्दा देखेँ, उनीहरुले एभरेष्ट जोनमा भएको घटनाबारे मसँग सोधिरहेका रहेछन्। यो घटनालाई यति ठूलो मान्छन् भन्ने पनि थाहा थिएन। हिमालयबारे कहिल्यै रिपोर्टिङ नगरेको हुँदा सम्पर्क पनि थिएन। जेन-तेन रिपोर्टिङ गरेँ। 

उनीहरुले यो समाचारलाई यति प्राथमिकता दिए कि इमेलमा नै जोडिए, हिमालय क्षेत्रबारे जानकारी राख्नेहरु, किताब लेख्नेहरु, एभरेष्ट चढेकाहरु र यस्तो घटना हुँदा रिपोर्टिङ गरेका रिपोर्टरहरु भेला भए।

एक जना न्युयोर्क टाइम्सका रिपोर्टरले केटु माउण्टेन गएको हिम पहिरोबारे रिपोर्टिङ गरेका रहेछन्। उनले हिमालय सम्बन्धी धेरै जानकारी समेत दिए। इमेल चेनमा छिरेर इस्युमाथि व्यापक छलफल गर्ने, पहिले के भएको थियोदेखि हिमालय रेन्ज कस्तोसम्म हो भनेर आधाभन्दा बढी जानकारी दिने काम भयो।

त्यहाँ भेला भएका रिपोर्टरले मलाई हेलिकोप्टर लिएर बेस क्याम्प गइहाल समेत भनेका थिए। कतिपय त्यहाँको मौसमबारे जानकारी नराख्ने पनि हुँदा रहेछन्। तर उनीहरु प्राय:जसो रिपोर्टिङ फिल्डमै पुगेर गर्नुपर्छ भन्ने मान्यता राख्ने रहेछन्। पछि मैले घाइते काजी शेर्पालाई काठमाडौँमै भेटेँ र उनीसँग आधारित भएर रिपोर्टिङ गरेँ। 

सम्बन्धित स्थान, प्रभावित व्यक्तिलाई प्रत्यक्ष भेटेर रिपोर्टिङ गर्नैपर्ने उनीहरुको स्कुलिङ रहेछ। 

दोस्रो, भूकम्पको बेला पनि उनीहरुले उत्तिकै प्राथमिकता दिए। भूकम्पमा घाइतेको सडकमै उपचार भएको, किचिएर मृत्यु भएका व्यक्तिहरुको फोटो सहित स्टोरी पठाएँ। ग्राउण्डमा खटिएको मान्छेले अपडेट पठाउने एक्सपर्टहरु बसेर स्टोरीलाई माझ्ने काम निकै गरे।  उनीहरुले केन्द्रबिन्दु जहाँ हो त्यहीँ जान केन्द्रित भए। 

दिल्ली, हङकङ, चीनमा भूकम्प जाँदा रिपोर्टिङ गरेका रिपोर्टर यहीं आए। उनीहरु एकै झमटमा को, कहाँ जाने, के गर्ने भनेर निर्णय लिने र स्रोतको मतलबै नहुने। एउटाले तीन वटासम्म स्याटेलाइट बोकेर हिँड्थे रिपोर्टिङमा। 

उताबाट अन्य रिपोर्टर आएपछि हामी बारपाक पुग्न प्रयत्न गर्यौं। तर रोड चिरै-चिरा परेकाले गोरखाका अन्य गाउँ पुगियो। जहाँ पुग्दा लास गन्हाउन थालिसकेका थिए। त्यहीँ पुगेर रिपोर्टिङ गरी हामी फर्कियौँ। 

स्थलमै पुग्दा त्यहाँको परिस्थिति बुझिने, सरकारी सूचनामा मात्र भर पर्नु नपर्ने भयो। आफ्नै सूचनामा संकलन गर्ने भए बाहिरका मिडिया। सरकार पुगोस्/ नपुगोस् मिडिया गएर रिपोर्टिङ गर्ने भए। विदेशी मिडिया फरवार्ड हुने रहेछन्। 

स्टोरीमा भूकम्प गएको स्थलगत रिपोर्ट आउने नै भयो। त्यसमा भूकम्प किन जान्छ, भूगोलको अवस्था कस्तो हो, वैज्ञानिक कारणहरु समेत प्रष्ट समाचारमा समावेश भएर आउँदा रिपोर्ट खँदिलो बन्ने नै भयो।

रिपोर्टरले पनि के बुझ्नुपर्यो भने, मैले कति वर्ष पत्रकारिता गरेँ, प्रमुख कुरा होइन। कति वटा कस्ता रिपोर्टिङ गरेँ? त्यसले के प्रभाव पार्यो? त्यतातर्फ ध्यान दिने हो। 

उनीहरुको पत्रकारिता राम्रो हुनुमा फिल्डमा जाने, आर्थिक समस्या नहुने, चेन अफ कमाण्डमा चल्ने र कहाँ-कहाँ गएर के-के अनुसन्धान गर्ने प्रष्ट हुने, आफूले गर्न लागेको रिपोर्टिङको विषयमा किताबदेखि अनुसन्धानका पेपरसमेत अध्ययन गर्ने प्रक्रियाले हो। 

सामाजिक न्याय प्राथामिकतामा 
विदेशी मिडियाले यहाँको जातीय विभेद, लैंगिक विभेद, जलवायु परिर्वतनदेखि प्राकृतिक प्रकोप जस्ता विषयलाई मात्र किन प्राथामिकता दिन्छन् भन्ने प्रश्न पनि नआउने होइन।

मैले सन् २०१३ देखि  हालसम्म न्युयोर्क टाइम्समा काम गर्दा के थाहा पाएँ भने, अन्तर्राष्ट्रिय मिडियाले सामाजिक न्याय र नागरिकसँग प्रत्यक्ष जोडिएका सवालमा रिपोर्टिङ गर्ने रहेछन्। नकारात्मक इन्ट्रेष्ट होइन, सामाजिक न्यायको लागि रिपोर्टिङ भएको देखिन्छ। 

जस्तै: मैले खानेपानी नभएर विस्थापित मुस्ताङको एउटा गाउँबारे स्टोरी गरेको थिएँ। कोभिड-१९ ले हजारौँ मानिस मारिँदा समेत यो स्टोरी न्युयोर्क टाइम्सको ग्लोबल इडिसनमा प्रथम पृष्ठमा छापियो। अर्को, भारतले बनाएको बाँधले नेपाली गाउँ कसरी डुबानमा पर्छ र जनधन क्षति हुन्छ भनेर रिपोर्टिङ गरेँ। यसले पनि राम्रो प्राथमिकता पायो। 

हामीलाई महत्वपूर्ण नलागेका रिपोर्टिङ उनीहरुले अहिले पनि गरिरहेका छन्। जलवायु परिर्वतनको रिपोर्टिङ गर्न नेपाल ग्राउण्ड जिरो हो। यसबारे उनीहरुले अहिले पनि रिपोर्टिङ गरिरहेका छन्। 

रिपोर्टिङ गर्दा ग्र्याजुएसन गरे जस्तो 
कुनै पनि विषयमा रिपोर्टिङ गरेको पत्रकार त्यो विषयमा ग्र्याजुएसन गरेको जस्तो अवस्थामा पुग्छ। केही समयअघि मात्रै मैले नेपालीहरु बेलायती सेनामा भर्ना हुने प्रक्रिया के हुन्छदेखि गोर्खा सैनिकलाई कस्तो विभेद छ भन्नेसम्ममा रिपोर्टिङ गरेको थिएँ। 

यो रिपोर्टिङ गर्दा गोर्खा सैनिकमा भर्ति हुने व्यक्तिको घरदेखि, उसले तालिम लिने तालिम केन्द्रदेखि ऊ छनोटमा नपरुन्जेलसम्म फलोअप गरिएको थियो। यो बीचमा गोर्खा सैनिकबारे लेखिएका किताबदेखि जर्नलमा छापिएका लेखसम्म अध्ययन गरियो। जसले गर्दा रिपोर्टिङ सकेर लेख्न बस्दा धेरै कुरा थाहा हुनुका साथै रिपोर्ट प्रकाशित हुँदासम्म ग्र्याजुएसन गरेको महसुस हुन्छ।

भन्न खोजेको के भने, नेपाली पत्रकारितामा कुनै पनि स्टोरी स्रोत र साधनले भ्याउने जति मात्रै पनि डिटेलमा रिपोर्टिङ गरेका हुँदैनौँ। 

जस्तो कि, तारा एयरलाइन्सको जहाज दुर्घटना भयो। अपडेट दियौँ तर यस सम्बन्धी रिपोर्टिङ छैन। अब पो झन् रिपोर्टिङ गर्ने खास समय हो त। त्यो क्षेत्रमा किन जहाज दुर्घटना हुन्छ, कसको कमजोरी हो अथवा भूगोल नै उस्तो हो कि। आरोप लगाउनलाई रिपोर्टिङ गर्ने भनेको होइन। तथ्य खोज्नेमा हाम्रो ध्यान गएन। 

अर्को, केही समय पहिले अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा नेपाली मारिए। जुन नेपालीहरु काम गर्ने कम्पनी थियो। मारिएका परिवार र घाइतेलाई तीन लाख डलर दिने भनेको कम्पनीले। तर कम्पनीले रकम दिएन। नेपाली मिडियामा यसको स्टोरी जति डिटेलमा आउनुपर्ने थियो आएन।

विदेशीले स्टोरीमा गर्ने लगानी पक्कै पनि हामी गर्न सक्दैनौँ। तर केही स्पेसिफिक स्टोरीमा गर्न सक्छौँ। मैले कामै भएको छैन भनेको होइन। जति हुनुपर्ने हो त्यति भने भएको छैन। 

सम्पादक मेन्टर हो
हाम्रोमा मुख्य समस्या भनेको मेन्टरसिप छैन। रिपोर्टरहरु त सबै उस्तै न हुन्। सम्पादक मेन्टर हो। के सम्पादकले मेन्टरको भूमिका निर्वाह गरेका छन् त? कति सम्पादकले रिपोर्टरसँग भिडेर रिपोर्टिङ गर्छन् शंकै लाग्छ।

मेन्टरसिप, पुग्ने पैसा र  सुरक्षा छैन पत्रकारलाई। बाँच्नका लागि पत्रकारिता गर्ने कि अरु काम गर्ने? पत्रकारले तलब आउने महिना गनेर बस्नुपर्ने होइन नि। के रिपोर्टिङ गर्ने भनेर सोच्ने पो हो त। स्टोरी गन्नुपर्ने पत्रकार महिना गनेर बस्नुपर्ने भयो। यहाँको अवस्था यस्तो भइदियो कि, मिडिया हाउसले तलबै नदिनाले काम गर्न सक्ने भएनन्? 

रिपोर्टरले पनि के बुझ्नुपर्यो भने, मैले कति वर्ष पत्रकारिता गरेँ, प्रमुख कुरा होइन। कति वटा कस्ता रिपोर्टिङ गरेँ? त्यसले के प्रभाव पार्यो? त्यतातर्फ ध्यान दिने हो। 

समाचार कक्षकै कुरा गर्दा, सम्पादकले क्षमतावानलाई भन्दा आफ्नो सर्कलको व्यक्तिलाई प्राथामिकता दिने भए। 

कपी एडिटरले पनि स्टोरी राम्रोसँग सम्पादन नगर्ने भए। रिपोर्टरले पनि नबुझेको कुरा डेस्कले सोध्यो भने किन सोध्यो भनेर निहुँ खोज्ने भए। खास स्टोरी तयार गर्ने त टिमले हो भन्ने बुझेको देखिएन। 

हाम्रोमा मुख्य समस्या भनेको मेन्टरसिप छैन। रिपोर्टरहरु त सबै उस्तै न हुन्। सम्पादक मेन्टर हो। के सम्पादकले मेन्टरको भूमिका निर्वाह गरेका छन् त? कति सम्पादकले रिपोर्टरसँग भिडेर रिपोर्टिङ गर्छन् शंकै लाग्छ।

सम्पादकले यसमा ध्यान दिनुपर्ने हो। सम्पादकहरु स्वतन्त्र हुन सकेनन्। पत्रकारिताको लागिभन्दा पनि आफ्नो जागिर जोगाउनतर्फ लागे। कोभिडकै बेलाको कुरा गरौं, त्यो बेला झन् धेरै रिपोर्टिङ चाहिने थियो। तर रिपोर्टर निकालिँदा सम्पादक चुप भए। स्थापित मिडियाकै सम्पादकहरु पत्रकारिता, पत्रकारभन्दा पनि आफ्नै जागिर जोगाउनतर्फ लागेको देखियो। 

मिडिया हाउसले पनि १०औँ वर्ष काम गरेको रिपोर्टर निस्कँदा मिडिया हाउसको क्षति भएको सम्झिएन। फ्रेसलाई ल्याउँदा र पाको रिपोर्टरले स्टोरी गर्दा फरक पर्छ भन्ने बुझेको देखिएन। फ्रेस रिपोर्टरलाई सिकाउनेको अभाव देखिएको कारण नै यही हो। 

विदेशी मिडियामा सनकको भरमा होइन, सिस्टममा काम हुन्छ। यदि कुनै देशमा घटना भयो र त्यहाँको रिपोर्टरको सुत्ने बेला भएको छ भने अन्य देशकाले त्यसबारे काम गरिरहेका हुन्छन्। 

सुधार्नुपर्ने त धेरै छन्। तर सीमित स्रोत र साधनका बाबजुद नेपालमा पनि लोभलाग्दा रिपोर्टिङ भइरहेका छन्। रिपोर्टरले कुनै पनि विषयको रिपोर्टिङ गर्दा ज्ञान नै बढ्छ भनेर अरुको रिपोर्ट पढ्न आवश्यक छ।

सम्पादक मेन्टरको भूमिकामा हुनुपर्छ। आर्थिक अभाव नहुने हो भने नेपालमा पनि राम्रो रिपोर्टिङ नआउने होइन। 

(गाउँघर, बुधबार, राइजिङ नेपाल, काठमाण्डु पोष्ट, रिपब्लिकाका पूर्वसंवाददाता शर्मा अहिले न्युयोर्क टाइम्स ग्लोबल इडिसनका लागि नेपाली संवाददाता हुन्। शर्मासँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)

चौथो अंगका पुराना श्रृंखला

३१ जेठ, २०७९, १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।