नेतृ अष्टलक्ष्मीको प्रसव पीडा र खुसी : छोरा-छोरीले तिमी हाम्रो आमा होइनौ, नत्र किन छाडेर हिँड्थ्यौ भनेको सम्झिँदा भक्कानो फुट्छ

नेतृ अष्टलक्ष्मीको प्रसव पीडा र खुसी : छोरा-छोरीले तिमी हाम्रो आमा होइनौ, नत्र किन छाडेर हिँड्थ्यौ भनेको सम्झिँदा भक्कानो फुट्छ

कुछी भ्वय (दुई मानाको चिउरा खाने भोज) को दिन थियो। दिनभर लगाएर सबै परिकार तयार गरियो। कुछी भ्वय देवी-देवतालाई चढाएर फर्कने समयमा कुलमाया शाक्यको पेट दुख्न थाल्यो।

उनी हतार-हतार घर पुगिन्। तर सामान पूजा कोठासम्म पुग्न समेत भ्याइनन्। प्रसव पीडाले छट्पटिँदै मटानको कोठाभित्र पसिन्। जेठी छोरीले पराल ओछ्यादिइन् कुलमायाका लागि।

सुत्केरी गराउने चनमाया महर्जन पनि तुरुन्तै आइपुगिन्। दशैंको अष्टमीका दिन कुलमायाको कोखबाट जन्म भयो अष्टलक्ष्मी शाक्यको।

निकै छोटो समय जम्मा ७१ दिन बागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य नेकपा एमालेकी उपाध्यक्ष हुन्। उद्योग मन्त्रालय र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी शाक्य, नेपाली राजनीतिमा खरो बोल्ने नेतृमा पर्छिन्। 

महिलाले ३३ प्रतिशत हैन, ५० प्रतिशत अधिकार पाउनुपर्छ भन्ने उनी माथिल्लो तहमा पुगेका नेताहरुलाई आँखै अगाडि आलोचना गर्न पछि पर्दिनन्। चाइनिज भाषासँगै कम्युनिष्टलाई पढ्न थालेकी शाक्य नेपाली कम्युनिष्ट आन्दोलनकी सुरुवाती नेतृ पनि हुन्। 

राजनीतिक यात्राका क्रममा जेल जीवनसँगै भूमिगत जीवन बिताएकी शाक्य अब भने नयाँ पुस्तालाई राजनीति छाडिदिने र आफू जेष्ठ नागरिकको हक-हितका लागि लड्ने योजनामा छिन्।

भूमिगतकालमै पार्टीकै नेता अमृत बोहोरासँग विवाह गरेकी शाक्यका एक छोरी र एक छोरा छन्। क्रान्तिकै बीच अनेक दु:ख-कष्ट सहेर बच्चा हुर्काएकी अष्टलक्ष्मी शाक्य आफ्ना प्रसव पीडा र खुसी उकेरामार्फत यसरी व्यक्त गर्छिन्ः

यहाँ हामीले कुरा त प्रसव पीडा र खुसीको गर्छौं। तर मेरो जिन्दगीमा भने हरेक कुरा राजनीतिसँगै जोडिन पुग्छ। त्यसैले मेरो प्रसव पीडा र खुसीको साक्षी बनेको छ राजनीति।

मेरो जन्म सम्पन्न परिवारमा भयो। पहिलो पटक एसएलसी दिँदा फेल भए पनि दोहोर्याएर दिँदा पास भएकी थिएँ म। दिदीले पढ्न नसकेकाले म हाम्रो परिवारको एसएलसी पास हुने पहिलो छोरी बनें। सबैतिरबाट बधाईको ओइरो लागेको थियो। आमा-बुबा खुसीले गद्गद् हुनुभएको थियो। सगुन समेत दिनुभएको थियो।

एसएलसी दिएपछि केही समय खाली भयो। ममा सानैदेखि केही सिक्नुपर्छ, छोरी भएर केही गरेर देखाउनुपर्छ भन्ने भावना थियो। बसन्तपुरमा नेपाल-चीन मैत्री संघले चिनियाँ पुस्तकालय खोलिदिएको थियो। पुस्तकालयमा चिनियाँ भाषा सिकाइन्छ भनेर म लगायत केही साथी त्यहाँ गएका थियौं।

चिनियाँ भाषा सिक्ने क्रममा त्यहाँका कम्युनिष्ट नेताहरुको जीवनी पढ्ने मौका पाएँ। जसले गर्दा मेरो आकर्षण कम्युनिष्ट आन्दोलनतिर रहन गयो।

तिनै पुस्तकहरुबाट मैले मन मिल्ने साथीको समूह बनाउन थालें। अध्ययन समूह गठन गरेर छोटो समयमै ६० जना मन मिल्ने साथी बनाएकी थिएँ मैले। यही समूहले क्रान्तिका लागि गाउँ जाने निर्णय गरेको थियो।

सुरुमा हामी सहरिया भेषमा गाउँ गएका थियौं। तर त्यहाँका मानिसहरु हामीदेखि भागे, डराए। त्यसपछि गाउँले भेषमा गाउँ छिर्यौं। मेलापातमा सहयोग गर्ने, उनीहरुसँगै खाने, सँगै बस्ने गरेर हामीले गाउँका मानिसलाई सचेत गराएका थियौं।

घरमै बन्दी भएपछि मैले आमाको ममतालाई कडीका रुपमा प्रयोग गरें। उहाँसँग म अब सुध्रिन्छु, जे भन्यो त्यही मान्छु भनें। उहाँले विश्वास गरेर ताला खोलिदिनुभयो। घरका काममा सहयोग गर्न थालें।

यी कुराहरु मजस्तो सम्भ्रान्त परिवारकी छोरीलाई सजिलो भने थिएन। सबैभन्दा सोझी र ज्ञानी छोरी म उग्र हुँदै गइरहेकी थिएँ। त्यसैले मलाई थाहै नदिई बुबा-आमाले मेरो विवाहको योजना बनाउनुभएछ।

घरमा विवाह गर्दिनँ भनेर जति झगडा गरे पनि मेरो कुरा सुन्नेवाला कोही थिएन। सुरुमा मैले मेरो प्रेमी छ, अमेरिका पढ्दैछ भनेर ढाँटे। फोटो र परिवार देखाऊ भन्न थालेपछि मैले झुट बोलेको पत्ता लागिहाल्यो। ममाथि झनै शंका बढ्यो।

केही सिप नलागेपछि बुबा-आमाले कुरा चलाउनुभएको केटाको बहिनीसँग सम्पर्क गरें। उनलाई बोलाएर, म तिम्रो दाइसँग विवाह गर्दिनँ, सुपारी फिर्ता लिन आऊ भनेको छ भनेर दाइलाई भनिदेऊ भनें। नभन्दै भोलिपल्टै उताबाट सुपारी फिर्ता लिन आए। म त खुसीले गद्गद् भएँ। तर मेरो परिवारका सदस्यको रिस भने झनै बढ्यो। मलाई कलेज पठाउन छाडेर घरमै बन्दी बनाइयो। 

एक महिनासम्म मलाई घरमा ताला लगाएर थुनियो। मेरी बहिनी सुनिता मेरो मर्म बुझ्थिन्। साथी सुलोचनालाई चिठ्ठी पठाउन उनैले मद्दत गरेकी थिइन्।

घरमै बन्दी भएपछि मैले आमाको ममतालाई कडीका रुपमा प्रयोग गरें। उहाँसँग म अब सुध्रिन्छु, जे भन्यो त्यही मान्छु भनें। उहाँले विश्वास गरेर ताला खोलिदिनुभयो। घरका काममा सहयोग गर्न थालें।

माल-सामान किन्न आमालाई गाह्रो हुन्थ्यो। ती कामहरुमा सहयोग गरें। पैसा बचाएर उहाँलाई मनपर्ने सामानहरु पनि किनिदिएँ। आमाको मन न हो, उहाँले मलाई पत्याइहाल्नुभयो।

म गहनाप्रेमी मानिस हैन। अहिले पनि म सुन लगाउँदिन। तर मैले केही गहना पहिल्यै लुकाएँ अनि भोज जाने भनेर आमासँग नयाँ कपडा र गहना मागें। आमाले बिना शंका मलाई मागेको कुरा दिनुभयो। दुई पानाको लामो चिठ्ठी लेखें र गहना पोको पारेर टाप कसें। म परिवारको सदस्यबाट पार्टीको सदस्य भएँ।

भूमिगत राजनीतिक यात्रा सुरु भयो मेरो। पिस्कर भन्ने ठाउँ मेरो कार्यक्षेत्र बन्यो। त्यही समयमा मेरो भेट भयो श्याम बोहोरा उर्फ कमरेड अमृतसँग।

उहाँको र मेरो विचार मिल्यो। हामी कमरेडली भावनाबाट जीवन सहयोद्धामा रुपान्तरण भयौं। हामीले विवाह गर्यौं।

०००
पिस्करमै काम गरिरहँदा म गर्भवती भएँ। त्यो समय अहिले जस्तो हरेक कुरा अस्पतालले निर्णय गर्ने खालको थिएन। त्यसैमाथि म त गाउँमा थिएँ। 

शरीर कमजोर हुने, वाकवाकी लाग्ने, थकाइ लाग्ने भयो। यी र यस्ता लक्षण देखिनुका साथै महिनावारी पनि रोकियो। शरीर भारी हुन्थ्यो। यी सबै कुराले म गर्भवती भएँ भन्ने थाहा भएको हो।

म सुत्केरी हुँदा त्यो बेलाका पार्टी महासचिव सिपी मैनाली दुई दर्जन कुखुराको अण्डा लिएर भेट्न आउनुभएको थियो। मलाई सबैभन्दा खुसी लागेको क्षण त्यही थियो।

हामी कहिले गुफामा बस्थ्यौं, कहिले घरको कुनामा। म दुई जिउकी भए पनि जब्बर थिएँ। पहाडका उकाली-ओराली गरिरहने। तर स्थानीय कमरेडहरुले धेरै दौडधुप नगर्न सुझाइरहनुहुन्थ्यो।

म जिद्दी स्वभावको भएकोले उहाँहरुले अफ्ठ्यारो बाटोमा ढुंगा राखिदिने, मेलामा दिएको खाजा पोको पारेर ल्याइदिने, कोदो र मकैको पिठोमा सिस्नु राखेर खोले बनाइदिने जस्ता काम गरिदिनुहुन्थ्यो। कहिलेकाहीँ त खानेकुरा नभएर नुनपानी तताएर पनि खुवाउनुहुन्थ्यो। 

आठ महिना पुगेपछि मेरो शरीरमा रगतको कमी देखियो। कमरेडहरुले सहर जान आग्रह गरे। पार्टीको सल्लाहमा पिस्करबाट मलाई बिदा दिइयो र काठमाडौं सरुवा गरियो।

मेरो अक्षर राम्रो थियो। हिँडडुल गर्न नसक्ने भएपछि मैले मसिनो अक्षरमा पार्टीका दस्तावेजहरु सार्न थालें। ती दस्तावेजका साथै जेलमा भएका कमरेडहरुलाई चिठ्ठी लेख्ने जिम्मेवारी मेरो भयो। निकै मसिना तर बुझिने अक्षरमा सानो कागजको टुक्रामा चिठ्ठी लेख्थें।

०००
मेरो सुत्केरी हुने समय आयो। पाटनको शान्त भवनमा केशरी श्रेष्ठ नाम राखेर भर्ना भएँ। बच्चा जन्माउन गाह्रो भयो मलाई। श्रीमान् पनि पार्टी कामको सिलसिलामा टाढा-टाढा पुग्नुहुन्थ्यो। तर सुत्केरी हुने समयमा भने सतर्कताका साथ आए र मसँगै रहनुभयो।

पहिलो बच्चा, पहिलो अनुभव। त्यो समयमा म निकै अताल्लिएकी थिएँ। अहिलेजस्तो अपरेसन गर्ने जमाना हुन्थ्यो भने म पनि त्यसै गर्थें होला। तर त्यो सौभाग्य हामीले प्राप्त गरेनौं। मैले मेरो पहिलो सन्तान छोरी जन्माएँ।

म सुत्केरी हुँदा त्यो बेलाका पार्टी महासचिव सिपी मैनाली दुई दर्जन कुखुराको अण्डा लिएर भेट्न आउनुभएको थियो। मलाई सबैभन्दा खुसी लागेको क्षण त्यही थियो। छोरीको नाम आस्था राखें।

भूमिगतकै समयमा मैले मेरो दोस्रो सन्तान छोरा पनि जन्माएँ। छोरा विश्वास पनि छोरी आस्था जन्माएकै अस्पताल पाटनको शान्त भवन जन्मिएको हो। दुई सन्तानबीच जम्मा १५ महिनाको फरक छ।

पेटभित्रको पीडाभन्दा बाहिरको पीडा धेरै भयो
नारी भएर जन्मेपछि बच्चा जन्माउनैपर्छ। त्यो मेरो कर्तव्य हो। सानैदेखि यो भावना मेरो मनमा थियो। त्यसैले ढिलो-छिटो बच्चा जन्माउनैपर्छ भन्नेमा म थिएँ। मेरा केही महिला साथीहरु भने क्रान्तिमा हिँडेको मानिस बच्चा जन्माउनेतिर लाग्न हुँदैन भन्ने पनि थिए। तर उनीहरुलाई मैले सम्झाएँ, क्रान्ति गरेकै अब आउने पुस्ताका लागि हो। सन्तानै नजन्माउने हो भने यो परिवर्तन केका लागि?

पेटमा हुँदासम्म बच्चा आफैंसँग थियो। मेरो पनि मुडस्विङ हुन्थ्यो। दिक्क लाग्ने, झर्को लाग्नेजस्ता कुराहरु हुन्थे। तर यसलाई मैले खासै महत्व दिइनँ। के खान मन लाग्ने, के नलाग्ने? त्यस्तो मौकै आएन। नुनपानी तताएर गुजारा चलाइरहेको मानिसले हदै सोचे टन्न एक छाक भात खान पाए हुन्थ्यो भन्ने सोच्थ्यो होला।

आफ्नो मतृत्वको कर्तव्य राम्रोसँग पूरा गर्नुहोस्, सन्तानभन्दा ठूलो केही छैन, राजनीति पनि हैन रहेछ। निष्ठुरी आमा बनेकोमा मलाई कहिलेकाहीँ ग्लानी पनि हुन्छ। आफूले गरेको देश सेवा सम्झेर चित्त बुझाउने गरेकी छु।

तर, जब बच्चाले धर्तीमा पाइला टेक्यो, दोजियाबाट दुई जिउमा छुट्टियौं। दुई शरीर एक हुँदा र दुई शरीर दुई हुँदाको अवस्थामा मैले धेरै पीडा भोगें।

मातृत्व भन्थ्यो, बच्चाको साथमा रहुँ। क्रान्ति भन्थ्यो, मेरा दुई बच्चा हैन, हजारौं बच्चाले तँ खोजिरहेको छ।

मैले हैरानी पाएको एक ठाउँको प्रसंग भने सुनाइहाल्छु। कीर्तिपुर पाँगामा थियो मेरो कार्यक्षेत्र। अहिलेजस्तो घर-घरमा शौचालय थिएन। अँध्यारोमा मानिसले देख्ला कि भन्ने डर मान्दै म खुला शौच गर्न खुखामुगमा जान्थें। 

एक दिन ब्युँझन अलि ढिला भएछ। झिसमिसे उज्यालोमा शौच गर्न जाँदै थिएँ। एक मानिसले देखेछ। अनि त्यो मानिसले मेरो पिछा गर्न थाल्यो। त्यसले म धनमाया दिदीकोमा बस्छु भन्ने थाहा पायो।

त्यो मानिसले गाउँले सबैलाई जितबहादुरले धनमायामाथि सौता हालेछ भनेर हल्ला फैलाउन सुरु गरेछ। यो घटना यतिसम्म बल्झियो कि, महिला आन्दोलनलाई सशक्त बनाउन हिँडेकी मैले अर्की महिलाको आँशु खसाल्न पुगें। पार्टीमा कमरेडहरु आएर सम्झाउँदा पनि म उनीहरुसँग बस्ने वातावरण बन्न सकेन। 

आफूले जन्माएका छोराछोरी अर्काको जिम्मा लगाउनु चानचुने कुरा हैन रहेछ। मेरो त श्रीमान् र श्रीमती दुवै राजनीति गर्ने। मेरा श्रीमानले कहिल्यै तिमी छोराछोरी हेरेर बस, म मात्रै राजनीति गर्छु भन्नुभएन। नत्र म पनि अन्य कमरेडहरुजस्तै यतिबेला पलायन भइसक्थें।

अहिले मलाई खड्किने कुरै मेरो मातृत्व हो। सानो छोरालाई समेत पार्टीको चिठ्ठी बोकाएर पठाएको सम्झन्छु। छोराछोरीलाई पार्टीको जिम्मा लगाएको सम्झन्छु। उनीहरुले बुझ्ने भएपछि तिमी को हौं, हामी चिन्दैनौं, तिमी हाम्रो आमा होइनौ, आमा भएको भए किन छाडेर हिँड्थ्यौ भन्दाको क्षण सम्झिन्छु, भक्कानो छुट्छ।

म सबै आमाहरुलाई यही भन्छु, मैले मातृत्वभन्दा राजनीतिलाई बढी प्राथमिकता दिएँ। तपाईँहरु आफ्नो मतृत्वको कर्तव्य राम्रोसँग पूरा गर्नुहोस्, सन्तानभन्दा ठूलो केही छैन, राजनीति पनि हैन रहेछ। निष्ठुरी आमा बनेकोमा मलाई कहिलेकाहीँ ग्लानी पनि हुन्छ। आफूले गरेको देश सेवा सम्झेर चित्त बुझाउने गरेकी छु।

अहिले मेरो छोरा-छोरीको विवाह भइसक्यो। नाति-नातिना पनि जन्मने क्रम जारी छ। बुहारी, ज्वाईँ बुझकी पाएकी छु। सन्तानको तोते बोली सुनेर बस्न नपाए पनि नाति-नातिनाको बोली सुनेर आफ्नो प्यास मेटाउने गरेकी छु।

यो पनि

असार १२, २०७९ आइतबार १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।