पूर्व राष्ट्रिय खेलाडी तथा फिफा रेफ्री बिनाको प्रसव पीडा र खुसी : व्यथाले च्यापेपछि अगाडिका मानिसलाई हिर्काएर भागौं जस्तो हुन्थ्यो

पूर्व राष्ट्रिय खेलाडी तथा फिफा रेफ्री बिनाको प्रसव पीडा र खुसी : व्यथाले च्यापेपछि अगाडिका मानिसलाई हिर्काएर भागौं जस्तो हुन्थ्यो

भक्तपुर, थिमीमा जन्मिएकी बिना निवाछे श्रेष्ठ महिला फुटबलकी पूर्व राष्ट्रिय खेलाडी हुन्। फिफा रेफ्रीको भूमिका निर्वाह गरिसकेकी उनले पुरुष फुटबलमा म्यान अफिसरको जिम्मेवारी समेत पूरा गरेकी छिन्।

राजनीतिक परिवारमा जन्मिएकी बिनाका बाबु प्रेमकृष्ण श्रेष्ठ प्रधानपञ्च थिए भने आमा न्हुच्छेमाया गृहणी। काका मदनकृष्ण श्रेष्ठ चाहिँ मध्यपुर थिमी नगरपालिकामा मेयर। उनै मेयर काकाको प्रेरणाले उनी खेलकुद क्षेत्रमा लागेकी हुन्।

झण्डै २५ वर्ष खेलकुदमा आवद्ध रहेकी बिनाका नाममा तीन वटा उत्कृष्ट खेलाडीको अवार्ड छन्। स्वर्ण, रजत र कास्य पदक त गनिसाध्य छैनन्। उनले दक्षिण एसियाली खेलकुद साफका तीन संस्करण खेलेकी छन्।

एथलेटिक्स खेलाडीका रुपमा खेल क्षेत्रमा प्रवेश गरेकी बिना फुटवलको राष्ट्रिय खेलाडी हुँदै रेफ्रीमा पुगेर रोकिइन्।

२० वर्षको उमेरमा विवाह गरेकी बिना दुई सन्तानकी आमा हुन्। उनी आफूले भोगेको प्रसव पीडा र खुसी उकेरासँग यसरी व्यक्त गर्छिन् :

म सानो छँदा बुबा प्रधानपञ्च हुनुहुन्थ्यो। सबैले मलाई प्रधानपञ्च छोरी भनेर चिन्थे। काका मदनकृष्ण श्रेष्ठ भने मेयर हुनुहुन्थ्यो। 

एक महिनाको बिदा थियो। काकाले मलाई सँगै जिम्न्याष्टिक खेल्न लैजानुभयो। यही खेलका कारण म यो क्षेत्रमा आकर्षित भएकी हुँ। मेरो आकर्षण थाहा पाएर काकाले नै यो क्षेत्रमा अगाडि बढ्न प्रेरणा दिनुभयो।

बुबा-आमाले भने मेरो खेलकुदप्रतिको चाखलाई खासै वास्ता गर्नुभएको थिएन। उहाँहरु सपोर्टमा पनि हुनुहुन्थेन, विरोधमा पनि हुनुहुन्थेन। बज्यै भने पूर्ण रुपमा विरोधी हुनुहुन्थ्यो। छोरी मान्छे भएपछि खेलकुदमा लाग्नु हुँदैन भन्ने उहाँको धारणा थियो।

काकाले मलाई लुकाएर सँगै लैजानुहुन्थ्यो। हरेक ठाउँमा ट्रेनिङ गराउनेदेखि, प्रतियोगितामा सहभागी गराउनसम्म लैजानुभयो। बुबाले जुनियर गेममा सहभागी गराउने समयमा एक्लै पठाउन नमान्नुभएकाले काकाले सँगै लिएर जानुभएको मलाई याद छ।

म दौडमा राम्रो थिएँ। त्यसैले काकाले मलाई यसमै फोकस गराउनुभयो। स्कुल च्याम्पियन, जिल्ला च्याम्पियन हुँदै क्षेत्रीय, राष्ट्रिय खेलहरु खेल्न थालें। पदक जित्न थालेपछि भने मलाई घरमा सहयोग गर्न थाल्नुभयो।

०००
करिब २० वर्षको उमेरमा मेरो विवाह भयो। घरबाट बुबा-ममीले नै 'यो केटो ठिक छ' भनेर मेरो विवाहको टुंगो लगाउनुभएको थियो। पाँच दिदी-बहिनी र एक छोरा भएको घरमा मेरा विवाह भएको थियो। मेरी दिदी र मेरो एकै लगनमा विवाह भयो।

मेरा श्रीमान् गंगाराम श्रेष्ठ अनि नन्द-आमाजु सबैले यो खेलाडी हो, खेलाडी भएपछि खेल्नुपर्छ भनेर सपोर्ट गर्नुभयो। त्यसैले त विवाह भएको पाँच दिनमा म ट्रेनिङका लागि रंगशाला गएँ। म हाफ पाइन्ट लगाउने बुहारी भनेर सासु-ससुरा लगायत सबैले स्वीकार गर्नुभयो।

बुहारी भएपछि कार्यभार भने बढ्यो। जति नै घरको काममा व्यस्त भए पनि मैले ट्रेनिङ एक दिन पनि छाडिनँ। घरको काम मेरा लागि अतिरिक्त ट्रेनिङ जस्तो भएछ।

०००
विवाह भएको झण्डै एक वर्षपछि म गर्भवती भएँ। ट्रेनिङमा थिएँ, अफ्ट्यारो भएजस्तो, वाकवाक आउलाजस्तो, रिंगाटा लागेजस्तो अनुभूति भयो। 

कडा तालिम गर्नुपर्ने भएकाले मेरो महिनावारी कहिले १५ दिनमा हुन्थ्यो त कहिले एक महिनाभन्दा पर सर्थ्यो। त्यसैले सुरुमा त केही नराम्रो खाएँ कि भन्ने लाग्यो। तर यो क्रम जारी रहेपछि मात्रै नजिकको क्लिनिकमा हामी श्रीमान-श्रीमती नै जँचाउन गयौं। नतिजा सकारात्मक आयो।

विवाह र बच्चा। यी दुवैका लागि म सुरुदेखि नै तयार थिएँ। मेरा श्रीमान् एक्लो छोरा भएकाले पनि घर-परिवारमा बच्चाको कुरा गरिरहनुहुन्थ्यो। त्यसैले पेटमा बच्चा आएपछि म खुसी नै भएँ। म भन्दा धेरै मेरो परिवार नै खुसी भयो।

बच्चा पेटमा आएपछि पनि म हरेक दिन रंगशाला पुगें। त्यतिबेला पुलिसमा भएकाले पनि मेरो ड्युटी जारी थियो। कडा तालिम गर्न नसके पनि म हल्का तालिम गरिरहन्थें। सामान्य दौडन्थें। आफूलाई सक्रिय राखिरहें। पेट पनि खासै ठूलो देखिएन। 

बच्चा पेटमा आएपछि खाना भने पटक्कै नरुच्ने भएको थियो। खाना खाँदा निकै परिश्रम गर्नुपर्थ्यो। त्यो बाहेक अन्य कुराहरु भने खासै परिवर्तन भएन। 

बच्चा जन्माउने डेट दिएको भन्दा १५ दिन अगाडि नै मलाई पेट दुख्न थाल्यो। पानी पनि बग्यो। अस्पताल जान मन थिएन तर घरका सबैले गाली गर्नुभयो। 

त्यो दिन खै केको बन्द पनि थियो। जसरी पनि अस्पताल जानैपर्ने भनेर कर गरेपछि श्रीमानसँग बाइकमा म पाटन अस्पताल गएँ। त्यो रात त्यहीँ राखियो। भोलिपल्ट बिहान चिकित्सकले औषधि दिए।

त्यो दिनभर पेट दुख्ने, रोकिने फेरि दुख्ने भइरह्यो। पेट दुख्दा मेरा मुखबाट 'ऐया! आमा' भन्ने शब्द निस्कने रहेछ। वरपर भएका मानिसले आमाको नाम लिन हुँदैन, भगवानको नाम लिनपर्छ भनेर सिकाउँथे। मैले जानीजानी भनेको हो र भन्ने लाग्थ्यो। अनि रिसाउँथे। मानिसको सल्लाह-सुझावले झनै झर्को लाग्ने, रिस उठ्ने हुन्थ्यो। झगडा गर्न मन लाग्थ्यो। अगाडिको मानिसलाई हिर्काएर भागौं जस्तो लाग्थ्यो।

०००
मैले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएँ। पेट नै स्याप्प गएजस्तो, म पनि आमा भएँ भन्नेजस्तो अनुभूति भयो। बच्चा राति नै जन्मिए पनि भोलिपल्ट बिहान मात्रै मलाई बच्चा दिइएको थियो। भोलिपल्ट दिनभर अस्पताल राखेर मलाई अर्को दिन बिहान मात्रै घर पठाइएको थियो।

कम तौलको, लामो, सानो बच्चा देख्दा कसरी बोक्ने होला भन्ने डर लाग्यो। घरमा सासुआमा भएकाले उहाँले हेर्नुभयो। कपडा लगाउँदा, तेल लगाउँदा जे गर्दा पनि दुख्ने हो कि भन्ने लाग्थ्यो।

आमाजुहरुले पनि उस्तै सहयोग गर्नुभयो। नानी धेरै रुने, दूध खुवाउँदा पनि जतिखेरै भोमिट गरिहाल्ने थिइन्। दिनमा तीन/चार पटक कपडा फेरिदिनुपर्थ्यो। कपडा फेर्ने काम नै मलाई सबैभन्दा अफ्ठ्यारो लाग्थ्यो।

०००
बच्चा जन्माएको दुई महिनामै म फेरि तालिममा फर्किएँ। सुरुमा विस्तारै हिँड्ने, अनि दौडने। पाँच महिनामा त म पहिले जस्तो थिएँ, त्यस्तै भएँ। खेलमा कमब्याक भइहालें। सानैदेखिको सपना भएकाले पनि मलाई जसरी हुन्छ गर्नैपर्छ भन्ने भाव थियो।

छोरी दुई वर्षको हुँदा उसले अलि तलतिर हेरेजस्तो अनुभूति हुन थाल्यो। अन्य मानिसले पनि त्यो कुरा याद गर्नुभएको रहेछ। मेरो एक जना नन्दले छोरीले आँखा राम्रोसँग देख्दैन कि क्या हो भनेर सोध्नुभयो। त्यसपछि हामीले उसलाई अस्पताल लग्यौं। नभन्दै उसको आँखा लो भिजनको रहेछ। नसाको समस्याका कारण उसले आँखा राम्रोसँग नदेख्ने रहेछ।

जन्मजात नै उसको आँखा लो भिजन भएको भन्दै उपचार नहुने चिकित्सकले बताए। हामीले छोरीको उपचार गर्न धेरै ठाउँ चहारेका थियौं। तर केही सिप लागेन। मलाई कतै मेरै लापरबाहीले छोरीको यो अवस्था त आएको हैन जस्तो लाग्छ। छोरीले नै मलाई सम्झाउँछिन्।

०००
छोरी पाँच वर्षकी भएपछि म फेरि गर्भवती भएँ। पहिलो सन्तानको समयमा केही अनुभव थिएन। तर दोस्रो सन्तानको समयमा म अनुभवी थिएँ। यो गर्न हुन्छ, यो हुँदैन भन्ने कुरामा धेरै ध्यान दिएँ। छोरीलाई आँखाको समस्या भएपछि अर्को बच्चा पनि त्यस्तै हुने हो कि भन्ने डरले मलाई धेरै सतायो। त्यसैले पनि पहिलोभन्दा दोस्रोमा म धेरै होसियार बनेको थिएँ।

पाटन अस्पतालमा दोस्रो सन्तान छोरा जन्माएँ। पहिलो काम बच्चा जन्मने बित्तिकै चिकित्सकलाई आँखा देखाउन लगिहालें।

छोरीको समयमा जस्तै छोराको समयमा पनि म पाँच महिनामा पुरानै शरीरमा फर्किहालें। दुई महिनाबाट तालिम सुरु भएको थियो।

पाँच महिनापछि खेल खेल्न थालिहालें। दुई सन्तान जन्मेपछि विभिन्न खेलमा स्वर्ण पदक जितें। एएफसीको इलिट रेफ्री बनें। दौड ब्याकग्राउन्डबाट आएकाले पनि मलाई रेफ्री बन्न सजिलो भयो। रेफ्री बन्दा खेलाडीभन्दा अझै छिटो दौडनुपर्ने हुन्छ। 

दुई सन्तान जन्माएपछि मानसिक रुपमा झनै बलियो बनायो। शरीर त आफ्नै हातको कुरा हो। कडा तालिमले शरीर बलियो भयो भने सन्तानका कारण मस्तिष्क बलियो भयो। सन्तानका कारण म पूर्ण रुपमा बलियो भएँ। किनभने, मानिसहरुले यसको दुई वटा बच्चा भयो, अब केही गर्न सक्दिनँ भनेर कुरा काट्थे। यही कुरा कटाइ नै मेरा लागि शक्ति बन्यो।

अहिले म अखिल महिला फुटबल संघको महासचिव पदमा छु। फिफाको रेफ्रीबाट यही वर्ष राजीनामा दिएँ। कोटा छ, मैले ओगटेर बस्दा नयाँ पुस्तालाई ठाउँ नहोला भन्ने लागेरै राजीनामा दिएकी हुँ। अहिले पनि म आफू कमजोर छु, उमेर सकियो भन्नेखालको अनुभूति आउँदैन।

खेलकुदमा लाग्दा मैले मेरो परिवारलाई समय दिन सकेको थिइनँ। साडी लगाएको फोटो खोज्न मुस्किल पर्छ मेरो। परिवारलाई समय दिन सकिनँ। सँगै घुम्न जान सकिनँ भन्ने कुराले नराम्रो लाग्छ। अबको समय भने परिवारलाई दिने योजनामा छु।

अहिले छोरी सन्जिया मास्टर्स पढ्दैछिन्। उनी अहिले मोटिभेसनल स्पिच दिने, लैंगिकता सम्बन्धी कक्षा लिने, अपांगता भएका व्यक्तिहरुलाई परिवार नियोजनका तालिम दिने लगायतका काम गर्छिन्। उनीप्रति म निकै गर्व गर्छु।

छोरा विशेषले प्लस टु सक्यो। श्रीमान् भने व्यापार-व्यवसायमा व्यस्त हुनुहुन्छ।

यो पनि

जेठ २९, २०७९ आइतबार १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।