प्रिन्सिपल कुमुदको प्रसव पीडा र खुसी : जब डाक्टरले आमा रोज्ने कि बच्चा भनेर हस्ताक्षर गराए

प्रिन्सिपल कुमुदको प्रसव पीडा र खुसी : जब डाक्टरले आमा रोज्ने कि बच्चा भनेर हस्ताक्षर गराए

हाइड एण्ड सिक किन्डरगार्डेनकी सञ्चालिका तथा प्रिन्सिपल कुमुद भट्ट चितवनमा जन्मिए पनि उनको बाल्यकाल काठमाडौंमै बित्यो।

बालबालिका भनेपछि हुरुक्कै हुने कुमुदले बालबालिका र शिक्षक दुवैलाई काम लाग्ने विषयवस्तु समेटेर ३३ वटा किताब लेखेकी छिन्। सही शिक्षकका हातमा परेमात्रै विद्यार्थी सुरक्षित हुने उनको तर्क छ।

बिबिएस अध्ययन गर्दागर्दै २१ वर्षकै उमेरमा बिहेकी गरेकी उनी दुई सन्तानकी आमा हुन्। सामाजिक कामसँगै विभिन्न अभियानमा समेत जोडिएकी कुमुदले आफ्नो प्रसव पीडा र खुसी उकेरासँग यसरी व्यक्त गरिन्:

मेरो बुबा नापी विभावमा जिएम हुनुहुन्थ्यो। अहिले रिटायर्ड भएर युएनमा काम गर्नुहुन्छ। ममी भने गृहणी।

म बाल्यकालदेखि नै धेरै गफ गर्नुपर्ने स्वभावकी थिएँ। पढाइमा सामान्य। डाक्टर, पाइलट बनुँलाजस्तो कहिल्यै लागेन। मेरो ध्यान आर्ट, क्रियटिभिटीमा जान्थ्यो। त्यसैले कहिलेकाहीं त परीक्षामा फेल पनि हुन्थें।

मेरा दाजुभाइ भने निकै तेजिलो दिमागका। फेल हुँदा ममीले त गाली गर्नुहुन्थ्यो तर बुबाले भने सधैं मेरो साइड लिनुहुन्थ्यो। अझ भनौं, मेरो कमजोरी लुकाउने काम बुबाले नै गर्नुहुन्थ्यो।

०००
बिबिएस तेस्रो वर्ष पढ्दै गर्दा मेरो बिहे भयो। त्यतिबेला म २१ वर्ष लागेकी थिएँ। ममीलाई ज्वाईं धेरै मन परेकाले मेरो मागी बिहे भएको थियो।

श्रीमान् आइटीमा मास्टर्स गर्दै होइसिन्थ्यो, हाइटीमा। बिहे लगत्तै एक महिनाका घुमघाम गर्न उहाँसँगै ब्याङ्कक गएँ। फर्किए लगत्तै गर्भवती भएँ। श्रीमान् भने पढाइको सिलसिलामा मसँग बस्न पाउनुभएन।

मलाई तीनदेखि चार महिनासम्म पनि बच्चा पेटमा आएको थाहै भएन। महिनावारी रोकिएको पनि याद गरिनछु।

घरमा ममी, जेठानीहरुले याद गर्नुभएको रहेछ। उहाँहरुले नै गरेर म अस्पताल जँचाउन गएँ। अस्पतालमा डाक्टरले बधाई छ, तपाईं प्रेग्नेन्ट हुनुहुन्छ भन्दा म दंग भएँ। । मैले पनि बच्चा जन्माउँछु र भन्ने भइरह्यो।

निकै दुब्लो थिएँ। घरमा सबै जनाले एकदमै केयर गर्नुभयो। तिमी त सानै छौ, गाह्रो हुन्छ भन्नुभयो। तर मलाई भने त्यस्तो केही फिल नै भएन।

लाज भने मज्जासँग लाग्यो। विशेष गरेर माइतीसँग लाज लाग्ने रहेछ। सकेसम्म पछ्यौराले पेट लुकाएर हिँड्थें। यो विषयमा कसैले कुरा नगरोस् भन्ने लाग्थ्यो। तर विस्तारै गाह्रो हुँदै गएपछि भने लाज भाग्दोरहेछ।

छाला झन् राम्रो हुँदै गएको थियो बच्चा पेटमा आएपछि। म त्यो समयमा निकै खुसी थिएँ। न पढाइको चिन्ता, न करिअरको। जे आए पनि टेक इट इजी। निकै इनोसेन्ट थिएँ। ढुक्कको।

पहिलो सन्तान भएकाले पनि सबै अनुभव नयाँ नै भयो। घरका अन्य परिवारले धेरै सपोर्ट गरेकाले मलाई केही डर लागेन। निद्रा धेरै लाग्ने, खुसी हुने। सरर आकाशमा उडिरहेको छु जस्तो लाग्ने। ममीले भगवान श्री कृष्णको फोटो राख्न भन्नुभएको थियो कोठामा। मलाई आमा बन्न लागेकोमा खुसीभन्दा पनि थाहै नपाएर खुसी लागेको थियो।

साथीहरु घुम्न जान्थे, फिल्म हेर्न जान्थे, म घरमै बसेर पनि ढुक्क थिएँ। साथीहरु गए, म जान पाएनँ भन्ने भएन। 

पाँच महिनापछि भने मलाई विस्तारै गाह्रो हुन थाल्यो। भर्याङ उक्लिन गाह्रो, सुतेको ठाउँमा ओर्किन फर्किन गाह्रो। पेट ठूलो हुँदै गएपछि खुट्टा पनि गल्न थाल्ने रहेछ।

खान भने सबैकुरा खान्थें। मन नपर्ने भन्ने कुरा केही भएन। 

ओम नर्सिङ होम राम्रो मानिन्थ्यो त्यो समयमा। डा. सुभद्राले मेरो चेकअप गर्नुभएको थियो। उहाँ पनि चलेको डाक्टर भएकाले मैले पूर्ण रुपमा चिकित्सकमाथि विश्वास राखें।

पेटमा बच्चा बढ्दै जाँदा, मलाई अनौठो फिलिङ्स आउँथ्यो- जस्तो कि, मेरो पेटमा मान्छे नभएर कुनै जनावर पो छ कि, हात-खुट्टा दुइटा हुनुपर्नेमा तीन वटा पो छ कि। औँलाहरु बढी पो छन् कि। त्यही भएर डाक्टरसँग जहिल्यै औंला पाँच वटा मात्रै छ नि, टाउको त जोडिएको छैन नि जस्ता प्रश्न सोधेर हैरान पार्थें।

बच्चा जन्मेपछि उसलाई कता राख्ने, के गर्ने भनेर तयारी गरिसकेको थिएँ। दही-चिउरा खाइसकेकी थिएँ। पेट यति ठूलो थियो कि आफ्नै खुट्टा देख्न छाडेको थिएँ। 

त्यस्तो अवस्थामा नि म निकै अल्लारे। श्रीमानको साथीको बिहेमा हामी दुवै बाइक चढेर गएका थियौं। पार्टीबाट आइपुग्ने बित्तिकै पेट दुख्न थाल्यो। महिनावारी हुँदाको समयमा जस्तै पेट दुख्यो। घरमा सबैलाई खबर गरें। विस्तारै ढाँड दुख्न थाल्यो। अनि मलाई अस्पताल लगियो।

०००
ब्यथा लाग्न थालेको चार घण्टामा मैले मेरो पहिलो सन्तान जन्माएँ। छोरी जन्मने बित्तिकै डाक्टरले लक्ष्मी आइन् भन्दै काखमा राखिदिएका थिए। छोरीको अनुहार देख्ने बित्तिकै रोउँ कि हाँसु भयो। अनुहार देख्ने बित्तिकै यो सपना हो या विपना हो जस्तो भयो। यो मेरै बच्चा हो त भन्ने पनि लाग्यो। सानो मान्छे छुँदा पनि केही होला कि भन्ने डर लाग्यो।

मलाई मेरो परिवारले विश्वास नै गर्नुभएन। स्तनपान गराउने बाहेक सबै काम घरमा जेठानीले, माइतमा ममीले गरिदिनुभयो। यसले च्यापिदिने हो कि भनेर सँगै सुत्न समेत दिनुभएन। बच्चा बोकेको मिलेन भनेर बोक्न पनि नदिने गर्नुभयो। ९ महिनासम्म मैले केही गर्नै परेन। 

बच्चा जन्मेपछि आफूलाई समय दिन भने भुलिनेरहेछ। राति खाट तानेको जस्तो, बोल्न नसकेको जस्तो, थिचेको जस्तो भएको थियो बच्चा जन्माइसकेपछि। कुमु भनेर बोलाएजस्तो लाग्ने तर त्यो वास्तविकता नहुने खालका अनुभव पनि भयो। सपना पनि बच्चा, विपना पनि बच्चा। हरेक कुरा बच्चासँगै जोडिन थाले।

०००
श्रीमानको मास्टर्स सकिएपछि जापानमा पिएचडी गर्ने स्कलरसिप मिल्यो। पाँच वर्षका लागि म पनि उहाँसँगै गएँ। 

जापान गएपछि बच्चा धेरै बिरामी हुने भयो। हरेक महिना अस्पताल लैजानुपर्ने अवस्था सिर्जना भयो। म छोरी मात्रै हेरेर पनि बस्न सक्थें तर एक वर्ष नपुग्दै छोरी डे केयरमा राख्न थालियो। दस महिनाको हुँदादेखि नै छोरीलाई हामीले डे केयरमा राख्न थालेका थियौं। जापानको सरकारले त्यो सुविधा दिएको थियो। उल्टै छोरीको दूध खर्च भनेर पैसा पनि दिन्थ्यो।

बच्चा डे केरयरमा जान थालेपछि म के गर्ने त भन्ने भयो। मैले बिबिएससँगै सफ्ट्वेयर इन्जिनियरिङमा पनि ब्याजलर्स गरेको थिएँ। तर मैले पढेका कुनै पनि विषयमा काम पाइएन। भाषाको कारण पढाइ काम लागेन। अनि मैले ट्रेनिङ लिएँ, किन्डरगार्डेनको।

हामी बसेको ठाउँ कन्ट्री साइड थियो, सिटी थिएन। मैले नभ्याएको समयमा श्रीमान् आफैं छोरीलाई साइकलमा राखेर डे केयर छाडेर आइसिन्थ्यो। मैले किन्डरगार्डेनको ट्रेनिङ लिएको समयदेखि नै केही पैसा कमाउन थालें।

अर्को भाग्यको कुरा के भयो भने, त्यहाँका ४० कटेका महिलाहरु म भए ठाउँमा अंग्रेजी पढ्न आउन थाले। म विभिन्न विषयमा उनीहरुसँग अंग्रेजीमा गफ गरिदिन्थें। उनीहरुले मलाई निकै माया गर्थे। चार जनाबाट सुरु गरेको पछि त ६५ जना महिला जम्मा हुन थालेका थिए।

स्कुल र घर गरेर मैले १३ घण्टा पढाउने गर्नथालें। छोरीको स्कुलका बच्चाहरु पनि कुमुद सेन्सेसँग अंग्रेजी सिक्ने भन्दै आउँथे।

म जापानमा एकदमै घुलमिल भएँ। त्यो मेरो जिन्दगीकै जादुमयी वर्षहरु थिए। अहिले पनि सपनामा ती दिनहरु आउँछ।

मेरो बच्चा, परिवार र करिअर। तीन कुरा एकदम राम्रोसँग एकसाथ अघि बढिरहेका थिए। स्कुलमा इन्चार्ज बनिसकेको थिएँ। त्यहाँका रेडियोहरुमा अन्तवार्ता समेत दिन्थें। सबैले इङ्लिसको सेन्से भनेर चिनिसकेका थिएँ।

श्रीमानको पढाइ सकियो। उहाँलाई सिंगापुरमा काम मिल्यो। अब मैले जापान छाड्नुपर्ने भयो।

त्यो समयमा मलाई सिकाउने सेन्सेले जापान नछाड्न धेरै अनुरोध गरेकी थिइन्। तिमी जिरो थियौ, हामीले यहाँसम्म ल्यायौं। अब यत्तिकै छाडेर जान मिल्दैन। तलब बढाइदिन्छु। भिजा थपिदिन्छु भनेका थिए। श्रीमानसँग गएको म एक्लै जापान बस्ने कुरै आएन। 

त्यस बेलासम्म म गोल वोरेन्टेड भइसकेको थिएँ। करिअरको चिन्ता लिने भएकी थिएँ। जापान छोड्दा म जति रोएँ, त्यति दुःख अहिलेसम्म लागेको छैन।

०००
छोरी साँढे पाँच वर्षकी भइन्। एक्लै भएकाले होला छोरी पनि निकै लजालु स्वभावकी हुन थालिन्। सबैले बच्चालाई साथी चाहिन्छ भन्न थाले। हामी दुवैलाई कुरा सही जस्तो लाग्यो र दोस्रो बच्चाको तयारी गर्यौं। योजना अनुसार नै म फेरि दोस्रो पटक गर्भवती भएँ।

जापानमा दोस्रो बच्चा तीन महिनाको हुँदा नेपाल फर्किएका थियौं। बच्चा नेपालमै जन्माउने अनि फेरि सिंगापुर स्थायी बसोबासका लागि जाने हाम्रो योजना थियो।

पहिलो बच्चाको समयमा म जस्तो थिएँ, दोस्रो बच्चाको पालोमा त्यसको ठिक विपरीत भयो। मलाई नेपाल रमाइलै लागेन। जतिखेरै आत्तिने, घडी हेरेको हेर्यै गर्ने। यति समयमा त म यस्तो काम गरिसक्थें भन्ने भावना पैदा हुने। केही गरेर पनि खुसी हुनै नसक्ने भएँ। घोडा जस्तो भएछु, त्यो रोकिँदा तनाव भयो।

अब म जिरोमा आइपुगें भन्ने अनुभूतिले सताउँथ्यो। 

इरिटेसन हुने, श्वास फेर्न गाह्रो हुने, जे खाए पनि वान्ता हुने। छोरा पेटमा आएपछि मलाई निकै तनाव भएको थियो। छोरीको पालोमा गाई जस्तो आनन्दको मानिस, एम्बिसन र करिअर ओरेन्टेड हुने बित्तिकै यति धेरै फरक गर्दोरहेछ।

म चुप लागेर बस्नै सकिनँ। सिंगापुरमा अंग्रेजी अझै राम्रो चाहिन्छ भनेर ब्रिटिस काउन्सिलमा कक्षा लिएँ। जापानले मलाई बच्चा कसरी जन्माउने, हुर्काउने सिकाएर पठाएको थियो। बच्चालाई पेटमा स्टोरी पढेर सुनाउँथे, पियानो क्लास जान्थें। तर मन भने अशान्त नै भइरह्यो।

यता छोरीको पनि तनाव। उसलाई कल्चर सक भएछ। जापानिजमा मात्रै बोल्दिने, मेरो कानमा मात्रै बोल्ने। जता पनि फोहोर भयो भन्ने। छोरीलाई पनि निकै गाह्रो भयो।

दसैं लगत्तै चिकित्सकले बच्चा जन्मने डेट दिए। सबै कुरा राम्रै भइरहेको थियो। तर अन्तिम समयमा समस्या आयो। बच्चा चल्नै छाडेछ। तीन दिनसम्म यस्तो भइरह्यो।

बच्चा तिन दिनदेखि चल्न छाडे पनि मैले वास्ता गरिनँ। तर घरमा सबैले गाली गरेपछि मात्रै अस्पताल गएँ। जाने बित्तिकै डाक्टर सुभद्राको गाली खाएको मलाई राम्रोसँग याद छ। 

बिहानको १० बजेर २० मिनेटमा अस्पताल पुगेको थिएँ। जाने बित्तिकै दोस्रो बच्चा जन्माउँदा पनि तिमी किन लापरबाही भएको भनेर उहाँले गाली गर्नुभएको थियो। 

अस्पतालमा मलाई हेर्ने बित्तिकै हातमा पन्जा लगाएर ह्विलचियरमा राखेर कुदाइहाले। भिडियो एक्स-रे गर्दा त बच्चाको ज्यान ९० प्रतिशत गइसकेछ। बाँच्ने चान्स जम्मा १० प्रतिशत मात्रै। आन्द्रा बटारिएर बच्चाले श्वासै फेर्न छाडेको रहेछ। 

डा. भोला रिजाल र सुभद्राहरुको बैठक बस्यो। बच्चा र आमा रोज्नुपरे आमा रोज्ने भन्दै हस्ताक्षर गराए। सुई लगाए। लठ्ठिए पनि के कस्तो भयो सबै याद हुने रहेछ। अस्पताल पुगेको २० मिनेटमा त मेरो अपरेसन गरेर बच्चा निकालिहाले। 

केही समय मात्रै ढिलो भएको भए बच्चा मात्रै हैन, आमाको ज्यान समेत खतरामा भएको चिकित्सकले बताएका थिए। 

बच्चा जन्मेपछि सबै जना ग्वाँ-ग्वाँ रोयौं। एकदमै स्केरी वातावरणबाट सकुसल आएका थियौं हामी दुई।

०००
दोस्रो सन्तान छोरा जन्मियो। घरमा सबैले चिकित्सकले आस मारेको तर ऊ बाँचेकाले भगवानले पठाएको हो, गाली नगर भन्नुहुन्थ्यो छोरालाई।

तुलनात्मक रुपमा छोरीभन्दा छोरा हुर्काउन धेरै गाह्रो भयो। छोरी निकै ज्ञानी थिइन्, यहाँ बसिराख है भन्दा हस् भनेर त्यहीँ बसिरहन्थिन्। तर छोरा ठिक उल्टो। एकदमै क्युरियस। चकचक गर्ने खालको।

अहिले छोरी निकै कुल छ। छोरा बतास छ। तीन महिनासम्म जापानमा म साइकल चलाउँथें। अहिले छोरा बाइक र साइकल भनेपछि हुरुक्क हुन्छ। म नै दुईथरी भएकाले बच्चा पनि त्यस्तै भएको हो कि।

०००
छोराको पास्नीपछि हामी सिंगापुर गयौं। तर त्यहाँ तीन महिना पनि बस्न सकेनौं। छोरीलाई कल्चर सक भयो। म आफैं डिप्रेस भएँ। छोरालाई निमोनिया भयो। अक्सिजन दिएर राख्नुपर्ने अवस्था आयो। 

सधैंका लागि नेपाललाई बाईबाई गरेर गएका थियौं। तर उहाँले धान्नै सक्नुभएन। अनि हामीले नेपाल फर्कने योजना बनायौं। श्रीमानले कन्ट्याक तोड्न नमिलेकाले दुई वर्ष उतै बस्नुभयो। म एक्लै बच्चा लिएर नेपाल आएँ।

करिअरको सुरुवात
छोरीलाई रोजबर्ग स्कुलमा राखेका थियौं। छोरा ९ महिनाको भइहाल्यो। म त घरमा बस्नै नसक्ने भएकी थिएँ। के गरौं, कसो गरौं भयो। करिअर ओरेन्टेड भएकाले मैले जसरी हुन्छ काम गर्नैपर्ने नत्र खुसी नहुने अवस्थामा पुगें।

घर नजिकै एक प्राइमरी स्कुलमा सेयर हालेर त्यहीँ काम गर्न थालें। इन्चार्जका रुपमा निकै कम पैसामा मैले काम सुरु गरें। यहाँको तरिका देखेर म त दंग परें। जापानको जस्तो बालमैत्री वातावरण यहाँ त छँदै छैन।

तीन महिनादेखि त्यही विद्यालयमा काम गरिरहेकी थिएँ। छोरी लजालु स्वभावको भएकाले म उसको स्कुल रोजबर्ग गइरहन्थें। मेरो कुराहरु सुनेर रोजबर्ग स्कुलले जागिरको अफर गर्यो।

छोरा १८ महिनाको भएपछि म रोजबर्गमा पढाउन थालें। काम नगरे म डिप्रेस हुने भएकाले मेरो माइतीले छोरा हेरिदिने हुनुभयो। गाडी थिएन, बुबाले ड्राइभर सहित आफ्नो गाडी पठाउनुहुन्थ्यो।

ती काम मैले पैसाको लागि गरेको थिइनँ। करिअरको भोक थियो। बिहान साँढे सातदेखि बेलुकी पाँच बसेसम्म स्कुलमा काम गर्थें। बच्चा मामु जाने भनेर रुन्थ्यो रे।

माइती टाढै थियो। बुबाले गाडी पठाइदिसिन्थ्यो। छोरा र छोरीलाई तयार पारेर सँगै धापासीमा रहेको माइती पुग्थें। त्यहाँ छोरो छाड्थें र छोरी लिएर रोजबर्ग पुग्थें।

मेरो धपेडी देखेर ममी बुला मेरो घर नजिकै अर्को घर लिएर बस्न थाल्नुभयो। माइतीको सहयोग पाएकाले मैले रोजबर्ग स्कुलमा निकै राम्रो काम गर्न थालें। त्यहाँ सात वर्षसम्म काम गरें। रातो बंगला, ब्रिटिस स्कुलहरुमा तालिम लिने अवसर मिल्यो। 

छोरालाई किन्डरगार्डेन त्यही स्कुलमा हालें। म गाडी चलाउँथें। छोरा र छोरीलाई सँगै स्कुल लिएर जान्थें। बाटोमा गीत गाउँदै, रमाइलो गर्दै जान्थ्यौं। रमाइलो गर्दै घर फर्कन्थ्यौं। बल्ल मैले जापान बिर्सिएँ। 

मेरो दुःख देखेर श्रीमानले फोर्सफुल्ली आफ्नै विद्यालय खोलिदिनुभयो। अर्की सहकर्मी इन्दिरा म्याम र म विद्यालय सञ्चालकमा थियौं। केही समय उहाँले मात्रै विद्यालय हेर्नुभयो। पछि मैले रोजबर्ग छाडेर आफ्नै विद्यालयमा काम गर्न थालें।

अहिले मलाई अरुको विद्यालयमा काम गरेको भन्दा झनै धेरै कन्फिडेन्ट भएको अनुभूति हुन्छ।

छोरी कुन्जल आर्किटेकमा ब्याचलर्स गर्दैछिन्। छोरा मयंक प्लस टु पढ्दैछ। श्रीमान् डा. चण्डिकाप्रसाद अहिले सेजको कार्यकारी निर्देशक हुनुहुन्छ। 

यो पनि

जेठ १५, २०७९ आइतबार १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।