कान्तिपुर गाथा : अहिले काठमाडौं महानगरपालिकामा जहाँ जे चाहिन्छ, त्यही पाइन्छ

कान्तिपुर गाथा : अहिले काठमाडौं महानगरपालिकामा जहाँ जे चाहिन्छ, त्यही पाइन्छ

‘भत्केको पुल’

‘भत्केको पुल हुनुहुन्छ? भत्केको पुल?’

‘सफा टेम्पो’ चालकको प्रश्न थियो। ‘भत्केको पुल हुनुहुन्छ कोही?’ सुन्दै अनौठो लाग्ने।

साँच्चै, कुनै समय यस्तो पनि आउला कि मानिसको नाम नै भत्केको पुल, फुटेको ऐना र च्यातिएको रुमाल होला।

ब्राण्ड ‘सफा टेम्पो’ भए पनि टेम्पो फोहोर थियो। भाडा सस्तो। सिनामंगलबाट मैतीदेवीसम्म जहाँ ओर्लिए पनि बीस रूपैयाँ। त्यहाँबाट उता सुन्धारासम्म पच्चीस रूपैयाँ।

‘छु छु। म यतै उत्रिने हो। यतै रोकी देउ बाबु’, एकजना भद्र महिलाले जवाफ दिइन्। उनको आवाज खस्न नपाउँदै टेम्पो ध्याच्च रोकियो।

मलाई भने भत्केको पुलले कुतकुत्याइ रहेको थियो। कसले राखेको होला यो नाम? बानेश्वरको नयाँ सत्तलबाट सिनामंगल र त्यहाँबाट पूर्व ठिमी, कटुन्जे र भक्तपुरजाँदा बागमती नदीमा पर्ने यो महान पुल कहिले र कसरी भत्केको पुल भयो? जे पायो त्यही। पुल थोत्रिएको थियो। भत्किएको थिएन।

पुरानो पुलको छेवैमा नयाँ पुल बन्न थालेपछि मानिसहरूले पुरानो पुललाई भन्न थाले भत्किएको पुल। पुल अलिकति पनि भास्सिएको थिएन। तर, कति भास्सिएको हो मानिसको दिमाग।

यो गाउँमा बस्न थालेको पनि सात दशक हुन लागिसक्यो। हामी साथीभाइहरू कसैलाई पनि अहिलेसम्म थाहा पाएका थिएनौं भत्केको पुल। टोलको नाम नै बदलिने हिसावले अहिलेसम्म गाउँमा केही पनि भत्किएको हाम्रो सम्झनामा थिएन।

गाउँबाट नगर भइसकेपछि के–के परिवर्तन भयो? त्यसको भेउ पाइएन। भेउ पाइएको भनेको दुइवटा सद्दे ढुंगेधारा–सानधारा र ठूलधाराको दुर्गती हो।

राधेश्याम थापा प्रधानपन्च हुँदा रेनु सिंहले बकस पाएको गाउँको पर्तीजग्गा कसको नाममा नामसारी भयो? थाहा छैन। खरीको बोट, राम मन्दिर, बनकाली– पर्तीको त हिसाव नै थिएन।

यहाँ अर्थात काठमाडौं महानगरको ९ नम्बर वडामा बगेकी बागमती नदीको प्रयागघाटमा दुई वटा पुल छः नयाँ पुल र पुरानो पुल। यी पुलमा खासै भिन्नता छैन। भत्केको पुल पुरानो र थोत्रो देखिन्छ। नयाँ पुल नेपाल सरकारका महान ठेक्काधिकारी पप्पुले वर्षौँ लगाएर बनाएको पुल जस्तो चम्किलो देखिन्छ।

हाम्रो जमानामा यहाँ यस्ता पुल नै थिएनन्। एउटा एकतर्फी पुल थियो। त्यसमा एउटा लहरी अटाउँथ्यो। शहरमा गाडी कम थिए। राजाले देशमा भर्खरै रोपिएको प्रजातन्त्रको बिरुवा मासेर आफ्नै निर्दलतन्त्र शुरू गरेपछि नेपाल घुम्न आएकी थिइन्– बेलायतकी प्रधानमन्त्री एलिजाबेथ द्वितीया।

विमानस्थलदेखि राजदरबारसम्मका बाटाघाटा, पुल–पुलेसाको मर्मत सम्भार भएको थियो। उनको स्वागतका लागि बागमती, धोवीखोला र टुकुचामा एकैखाले पुल बनाइएका थिए। ती पुल पैदल तरे पनि, मोटरबाट तरे पनि अनुभव रमाइला हुन्थे।

जीर्ण हुँदै गएको पुल भत्केको पुलको नामले चिनिएको पहिलो पटक होइन। चावहिल गणेशस्थानमुनि एउटा पुलको नाम पनि भत्केको पुल थियो। त्यो चाहीँ बन्ने बित्तिकै भत्किएको थियो। त्यो समयमा भ्रष्टाचारको छानविन गर्ने चलन थिएन। यसो छोइछिटो हुन्थ्यो र कुरा टुंगिन्थ्यो।

अब अहिले देशमा धेरै परिवर्तन भइसकेका छन्। पहिले बत्तीसपुतली र सिनामंगल दुई गाउँ पन्चायत थिए। त्यसपछि दुई गाउँ विकास भए। अहिले दुवै एक भएर महानगरपालिकाको नौ नम्बर वडा भएका छन्: काठमाडौं– ९।

अहिले काठमाडौं महानगरपालिकामा जहाँ जे चाहिन्छ, त्यही पाइन्छ। तर, पशुपति गौशालामा आकाशेपुल पाइँदैन। त्यो भन्दा अलि तल पिंगलास्थानमा आकाशे पुल नहुनु संयोग मात्रै हो। त्यहाँ आकाशे पुल वा भूमिगत मार्ग नहुँदा दुर्घटनाका सम्भावना बढ्ने नै भए।

यसो नजर लगाउने हो भने, काठमाडौंमा दुर्घटनाका सम्भावनाहरू अनन्त छन्। शहरका मानिसहरू विभिन्न आर्थिक वर्गमा विभाजित छन्। पछिल्लो समयमा चाहिँ मिलोवन जिलासले भनेजस्तै नयाँ वर्गको विकास हुन थालेको छ। देशका मानिसहरू देश छाड्न चन्चल हुन थालेका छन्।

सूर्य देवतालाई थाली चढाएजस्तो गरी हातमा मोबाइल समातेर कुरा गर्दै हिँड्छन् र भन्छन्– खोइ, कतिबेला मोबाइलमा भिसा खस्ने हो। मानिसहरू देश छाड्न ब्यग्र छन्। आफनो घर–परिवार छाडेर विदेश भासिने यो व्यग्रताको महत्वपूर्ण पक्ष हो पैसा। पैसा त कमाउनै पर्दछ। तर, आफैँलाई काम नलाग्ने हिसाबले पैसा कमाएर के गर्ने?

पैसा कमाउन खाडी नै जानुपर्दैन। यही सिनामंगलमा बसेर पनि मनग्गे पैसा कमाउन सकिन्छ। कति होटल खुलेका छन् लश्करै। दुई नम्बर रोडमा ठूल्ठूला कफी पसल छन्। गगन प्रधानले हिमालयन जाभा ल्याइसके। गोपाल कक्षपतीले नांग्लो रेष्टुराँको विस्तार यतै गर्ने चर्चा छ। प्रतिदिन हजारौं हजार मानिसको भीड लाग्ने यो ठाउँ विस्तारित भइसकेको छ।

उहिले यो क्षेत्रलाई भैमाल भनिन्थ्यो। भैमाल अर्थात दुईतिर नदी बहेको- एकातिर बागमती अर्कोतिर मनमती (मनोहरा)। बीचको उँचो स्थान अर्थात भैमाल। भैमालका किसानहरू शहरसम्म दूध पुर्याउँथे। दूधको प्रशस्त उत्पादन हुन्थ्यो। उहिले गौचरन थियो, भैमाल थियो। अहिले विमानस्थल छ। भैमाल कतै परिलक्षित छैन।

गोठाटार भन्ने गाउँ छ कि छैन ?

आशा गरौं ऐतिहासिक भैमाल भत्केको छैन।

कान्तिपुर गाथा

२९ असार, २०८०, १६:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।