कान्तिपुर गाथा : एउटा शहरको वृत्तान्त

कान्तिपुर गाथा : एउटा शहरको वृत्तान्त

फागुन सकिएपछि कान्तिपुर शहरको रौनक हराउन थाल्छ। शहर त्यसै पनि उजाड–उजाड लाग्छ। रुखका हाँगा–बिँगा सुक्ने क्रममा हुन्छन्। पात–पतिंगर झर्न थाल्छन्। फागुनभरि नै मौसमको तुजुक शीतल हुन्छ। शहरका लस्सी पसलहरूमा लस्सी खान पनि मन लाग्छ। तर, बरफ नराखेको। फागुन बरफको महिना होइन।

त्यसो त गर्मी कान्तिपुरको मौसम होइन। न हिजो गर्मी थियो न त आज। शहरको रमाइलो भनेको नै चैत नलागी शहर नतात्नु हो। चैतमा पनि गर्मीभन्दा उराठ बढी लाग्छ कान्तिपुर। शहरमा ‘चपला–अवला’हरूको गतिविधि त्यति बढेको हुँदैन।

मानिसहरू भन्छन्, ‘प्रकृति र वातावरणको लगातारको बिनासले कान्तिपुरको मौसम बदलिएको छ। यहाँका बाग्मती र बिष्णुमती जस्ता सर्वाधिक प्रसिद्ध नदी–नाला फागुन लागेदेखि नै गन्हाउन थाल्छन्। शहरको स्वरूप नराम्रोसँग बिग्रिएको छ। कतै थचक्क बस्ने ठाउँ छैन। कहीँ ठिंग उभिने ओत छैन। शहरको स्वरूप यस्तै–यस्तै छ।

हिजोआज शहर बढी नै राजनीतिक भएको छ। जता बसे पनि कसका बा कुन मन्त्रालयमा छन् र कसका काका कुन आयोगमा छन् भन्ने जानकारीको आदानप्रदान हुन्छ। समाज र संस्कृतिको चर्चा सुन्न शहरमा नागरिक आन्दोलन हुनुपर्छ। केही दिनपहिले विद्रूप राजनीतिका परिदृश्यको विरोधमा बालुवाटार घेर्न पुगेका नागरिक समाजका प्रतिनिधि शहरको पुरानो सम्पदा कमल पोखरी पुगेका थिए। कमल पोखरी चर्चामा थियो त्यतिखेर शहरका नागरिकहरू कमल पोखरीको बिग्रिँदो भविष्यलाई लिएर आक्रोशित थिए।

शहरमा सरकारले वा सरकारसँग सम्बन्धनमा रहेका एजेन्सीहरूले जेमा हात हाल्छन्, त्यो कुरा बिग्रिने गरेको छ। सुनिए अनुसार, स्थानीय राजनीतिका हाकिमहरू कमल पोखरीमा सिमेण्टका कमलका फूलहरू फुलाउन लागेका छन्। उनीहरू कमल पोखरीमा सिमेण्टले बनेका विष्णु भगवान र लक्ष्मीका मूर्ति सजाउन चाहन्छन्। उनीहरूको हातमा ‘पावर’ छ। हातमा ‘पावर’ हुनेले जे पनि गर्न सक्छन्।

कुनै बेला कान्तिपुर उपत्यका धारा र पोखरीले भरिएको शहर थियो। सिद्ध पोखरी, नाग पोखरी, हाँडी गाउँको पोखरी, देवपतनको लाम पोखरी, कमल पोखरी, रानी पोखरी : कति सम्झिनु र कति लेख्नु ! यीबाहेक अरु कतिपय पोखरी थिए, जसको अस्तित्व मेटिसकेको छ।

अहिले पनि त्यस्ता मानिसको जमात बाँचेको छ, जसले शहरभरिका साना–ठूला पोखरी देखेका थिए। ती पोखरीमा पौडिएका थिए। शहरका विभिन्न धारामा नुहाएका थिए। हनुमान ढोकाको पश्चिममा रहेको ढोकाटोलको ढुंगेधारादेखि हनुमान ढोकाको पूर्व बानेश्वरमा रहेको पिनासधारासम्म। धाराहरूको कुनै गिन्ती थिएन।

सुनधारा, कालधारा, गुर्जुको धारा, वैद्यको धारा, कपूरधारा, नारायणहिटीको धारा– ती सबैका आ–आफ्नै स्थानीय नाम पनि थिए, नेपाल भाषामा। अहिले ती पोखरी र धाराका ठाउँमा कंक्रिटका लट्ठा ठडिएका छन्। यी धारा र पोखरीबारे जानकारी दिने पुस्तक नभएका होइनन्। तर, पढनु भनेको साह्रै ठूलो दुःखको कुरा हो। अब अहिलेका मानिसमा त्यति दुःख गर्ने जाँगर पनि छैन। त्यति धैर्य पनि छैन। त्यसको अर्थ पनि छैन।

हो, पछिल्लो समयमा कान्तिपुर शहर अलि बढी नै राजनीतिक भएको छ। यो शहरलाई राजनीतिक भएको सुहाउँदैन। कान्तिपुरका मानिसहरू राजनीतिमा भन्दा पनि व्यापारमा लिप्त छन्। यहाँको राजनीतिमा भिजेका छन् उपत्यका बाहिरका बासिन्दा। यसले गर्दा शहरको आकार र उकार सबै विस्तारित भएको छ।

यहाँको राजनीतिको चरित्र पनि बदलिएको छ। पहिलेका ठूला नेताहरू पदका लागि यति साह्रो मारामारी गर्दैनथे। मानिसलाई शिक्षित तुल्याउँथे। अहिलेका ठूला नेताहरू आफू जति वर्षको भयो त्यति किलोको माला लगाउँछन्। माला पनि सडकमा उभ्याइएको स्वागतद्वार जत्रो ! एउटै माला दशौंजनाले समातेर ल्याउनुपर्ने र माला लगाउन उभिएकालाई सर्लक्क ओढाउनुपर्ने।

कान्तिपुरमा पहिलेपहिले देवी–देवताको मन्दिरको ढोकाहरूमा फूलपात र पूजासर्दम बिक्री गर्ने मानिसको लाइन हुन्थ्यो। अब अहिले शहरमा अनगिन्ती ‘फ्लावर पार्लर’ खुलेका छन्। फूलको बिक्री बढेको छ। त्यो बढ्नु शहरको सौन्दर्यका लागि राम्रो कुरा हो। तर, फूलको नाममा आडम्बरको व्यापार त्यति राम्रो लाग्दैन। ५–७ दिनअघि कुनै पत्रिकाले ५–६ सय किलो फूलको मालाको समाचार छापेको थियो। कुनै ठूला नेताको स्वागतमा गाउँका साना नेताहरूले बनाउन लगाएको माला। मानिसका रहर पनि के–के, के–के !

पुरानो आवरणमा कान्तिपुर एकदमै रमाइलो शहर थियो भन्छन । त्यो भनाइ सत्य होला। किनभने, कान्तिपुर शहरको जस्तो बान्की छ, त्यसलाई हेर्दा यो शहर नरमाइलो त हिजो पनि थिएन र आज पनि छैन। टोल बजारका गल्ली र बाटोघाटोमा मोटा इँटा र ढुंगा छापिएका। छेउका घरका छिँडीमा खाजा पसल। शहर सानो भए पनि जनसंख्याका लागि पर्याप्त हुने।

अँ, साँच्ची, त्यो बेलाका भट्टी पसलहरू कस्ता थिए होलान् ? खाजामा के–के खान्थे होलान् मानिसहरू ? थों र ऐलामा बढी के पिउँथे होलान् ? शहरका बारेमा जिज्ञाशा धेरै छन्। त्यो बेलाको तीन शहर (कान्तिपुर, ललितपुर र भक्तपुर)का बारे धेरै कुरा लेखिएका होलान् । तैपनि, ती पर्याप्त छैनन्। देशको केन्द्रका रूपमा रहेका तीन शहर नै नेपाल थिए त्यतिखेर। आजको जस्तो ‘डाइभर्सिफिकेसन’ कहाँ थियो र !

६ चैत, २०७७, १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।