उकेरा काेलम

कान्तिपुर गाथा : कथा परिवर्तनको 

किशोर नेपाल


कान्तिपुर एउटा शहरको नाम मात्रै होइन। भन्नु पर्दैन यो प्राचीन कालदेखिको सभ्यता हो। कुनैबेला यो शहरको नामले नै देश चिनिन्थ्यो। नेपाल देशको पर्याय थियो– कान्तिपुर उपत्यका। चार–पाँच दशक अघिसम्म पनि तीन शहर नेपाल भनेर चिनिन्थ्यो यो उपत्यका।

अहिले पनि कान्तिपुरलाई नेपाल भन्ने बूढापाकाहरू बाँचेकै होलान्। यसैको तर्जमा पुरानो समयका बुद्धिजीवी भन्ने गर्थे– काशी, काश्मीर, अजब नेपाल। कान्तिपुर अहिले पनि अजबको शहर छ। यहाँका मानिसहरू षडयन्त्रमा अभ्यस्त छन्। पहिलो राणा शासक जंगबहादुरभन्दा अघि के कति षडयन्त्र भयो ? त्यसको लेखाजोखा चाहिँदैन।

राणा शासन र त्यसको पूर्वसन्ध्यामा कति भाइ–भारदार कचाकच मारिए। त्यसको टुंगो छैन। दर्जनौं भाइ–भारदारको हत्यापछि चलेको थियो यहाँको शासन। एक सय चार वर्ष अनवरत चलेको त्यो शासन कसरी तासको घर लडेझैं लडेको थियो त्यो त भर्खरको कुरा भयो। 

खोइ के हो ? देशमा प्रजातन्त्र कहिल्यै फापेको छैन। तानाशाही कहिल्यै टिक्न सकेको छैन। अजबकै देश छ यो। यहाँको राजनीतिमा आँसु र हाँसोको संगम छ। सुख र दुःखको मेल–मिलाप छ। मानिसहरू सन्तुष्ट छन् :  भावीले जसको भाग्यमा जे लेखेको छ, जति लेखेको छ, त्योभन्दा एक पैसा पनि घटी–बढी कसैले पाउँदैन। यो जान्न गीता पढ्नै पर्दैन। मानिसहरू शहरमा जे जति सुख वा दुःख भोगिरहेका छन् त्यो सबै उनीहरूको कर्मको फल हो। त्यसमा कसैले चित्त दुखाएर केही हुँदैन। 

कान्तिपुर गाथा :  मंगलाचरण

कान्तिपुर शहरमा फलित ज्योतिषीको भाग्यवादी दर्शन लोकप्रिय छ।

कान्तिपुर शहर अहिले खुम्चिएको छ। केही वर्षअघिसम्म यो शहर चारैतिर फैलिएको थियो। शहरको उत्तरी भेगमा, बाग्मती नदीको मुहान नजिकको एउटा गाउँ सुन्दरीजलमा कर्णबहादुर नाम गरेको एकजना कर्मठ पुरुषले जन्म लिएको थियो। कर्णबहादुरको बालापन कसरी बित्यो ? ८० वर्षमा पाइलो टेक्न लागेको कर्णबहादुरको स्मृतिमा उसको बालापनको सम्झना के बाँकी होला र ?

त्यो खासै चासो र खोजीको विषय भएन। यत्ति हो कि, जवान भएपछि उसले सरकारको सिन्दूर लगाउने मौका पायो। उसलाई थलीका पण्डित बाले गोरखापत्र अड्डामा स्थायी भर्ती गराइदिए।

कर्णबहादुरले अलिकति पैसाको जोहो गरेर साइकल किन्यो। त्यो जमानामा साइकल किन्नु भनेको भैंसी किन्नुभन्दा चर्को थियो। अहिलेका केटाहरूले ‘टेक्स्ला’ र ‘पियुजेट’ कारको सोरुम घुमेर अन्त्यमा आइ–टेन र स्यान्ट्रो किनेको जस्तो। 
०००

कर्णबहादुर हरेक साँझ ७ बजे सुन्दरीजलबाट साइकल चढेर ‘गोरखापत्र’मा हाजिर भई सक्थ्यो। ऊ ‘गोरखापत्र’ अड्डाको स्थायी जागिरे थियो। उसलाई यसैमा गर्व थियो। देव शमशेर महाराजको सिर्जनाका रूपमा रहेको ‘गोरखापत्र’ले दिने मासिक तलवले उसको घर खर्च टर्दैनथ्यो। अचेल घर भन्नासाथ ‘हामी दुई, हाम्रा दुई’ भनिन्छ। उतिखेर, घर भन्नेबित्तिकै बाबु–आमा, भिन्नै नबसेसम्म दाजु–भाइ, बस्तुभाउ सबै सामेल हुन्थे। कर्णबहादुर जेठो थियो। घर–व्यवहार मिलाउने काम उसकै थियो। खेती नगरे भात खान पाइँदैनथ्यो।

कर्णबहादुरको परिवार गाउँको शौखिन मध्येको मानिन्थ्यो। घरमा दही–दूध छुट्दैनथ्यो। उतिबेला घरमा दही–दूध नछुट्नु भनेको समृद्धिको चिह्न थियो। कर्णबहादुरको जागिर सानो तहको भए पनि उसको घरमा सधैं मार्सी चामलको भात पाक्थ्यो। अहिलेको जस्तो यो नेताले मार्सी चामलको भात खायो र ऊ नेताले मार्सी चामलको भात खायो भनेर हल्ला गर्ने समय थिएन त्यो। जागिर त कर्णबहादुरले इज्जतका लागि खाएको थियो। ऊ आफ्नो खप्परमा राजाको सिन्दूर लगाउन पाएर सन्तुष्ट थियो।

कान्तिपुर गाथा : साँघुरिँदो शहरका सुकुमवासी 

कर्णबहादुरले आफनो एक्लो छोरो वरुणलाई शहरको इंग्लिस बोर्डिङ स्कुलमा भर्ना गरिदियो। त्यसपछि समय बदलिन थाल्यो। यता छोरोले एसएलसी दियो। उता बा रिटायर्ड भए। अड्डाबाट संस्थान भइसकेपछि पनि कर्णबहादुर जागिर धानेरै बसेको थियो। उसको मनमा छेस्का नपसेको होइन। उसलाई चेत थियो– उमेर हदले रिटायर्ड भएपछि कसैले केही गर्न सक्दैन। ऊ प्रधानसम्पादक मास्टर साहेबको मन परेको कामदार थियो। बेलाबेलामा पारस होटेलमा लरबराएका मास्टर साहेबलाई उही सम्हाल्थ्यो।

मास्टर साहेबले कर्णबहादुरलाई ६ महिनाका लागि ज्यालादारीमा नियुक्ति दिन लगाएका थिए। यो ६ महिनाको नियुक्ति तीन वर्ष तानियो। यता कर्णबहादुरको जागिर लम्बियो, उता गाउँमा हल्ला फैलियो– ओहो, कर्णबहादुर त बडो भाग्यमानी रहेछ। रिटायर्ड भएर पनि जागिरको म्याद थपिनु भनेको सानो कुरा हो त !

कर्णबहादुरले सोचेकै थिएन– उसको छोरो वरुणले पनि एसएलसी पास गर्छ। तर, छोराले एसएलसी पास मात्र गरेन, एसएलसी बोर्डमा थर्ड भएर सबैलाई चकित तुल्याइदियो। 

‘कर्णबहादुरको छोरो वरुणबहादुर एसएलसीमा बोर्ड थर्ड !’ गोरखापत्रका सम्पादकहरूले सफलताको कथा छापेका थिए। हिजोको दिनमा कर्णबहादुरले छोरोलाई बोर्डिङ स्कुलमा पढाएर पुल्पुल्यायो भनेर कुरा काटनेहरूको मुखमा बुजो लागेको थियो। कर्णबहादुर बूढो भइसकेको थियो। ऊ चाहन्थ्यो– अब छोराले जागिर गरोस्। जागिर गर्दै, पढ्दै गरोस्।

छोरो जागिर खान चाहँदैनथ्यो। अंग्रेजी स्कुलमा पढेको वरुण अंग्रेजी मकै फूल उठेको जसरी भुरुरुर्र बोल्थ्यो। उसलाई जागिर गर्न मन थिएन। कलेज पढ्न मन थियो। कि त्रिचन्द्र कि पब्लिक साइन्स कलेजमा। 

वरुणलाई संस्कारले थिचेको थियो। ऊ बाबुको कुरा काट्न सक्दैनथ्यो। केही काम गरेर आफ्नै खर्चले पढ्ने बातावरण थिएन।

कान्तिपुर गाथा : ‘यो हल्लै हल्लाको देश हो’

कर्णबहादुरले छोरोलाई खसी डोहोर्याएझैं डोहोर्याउँदै उनै मास्टर साहेबकहाँ लग्यो। मास्टर साहेब निकै बूढा भए पनि उनमा ‘दम’ थियो अझै। कर्णबहादुरले बूढालाई मार्सी चामल दुई पाथी, एक कुरुवा घिउ र एक ठेकी दही कोसेली लगेको थियो। बूढाले लामो कुरा गरेनन्। वरुणबहादुरलाई छापाखानामा खरदार बनाइदिए। 

त्यसपछि, वरुणबहादुरले पछाडि फर्किएर हेरेन। जागिर खाँदाखाँदै आइकम, बिकम र एमकम गर्याे। सबै पहिलो श्रेणीमा। त्यसपछि चार्टर एकाउण्टेन्टको कोर्स पढ्यो। बाबुलाई फापेको राजाको सिन्दूर उसलाई झन् धेरै फापेको छ। साथै, देशमा प्रजातन्त्र छैन। त्यो वरुणबहादुरलाई पनि चाहिएको छ।

यसरी नै चलेको छ कान्तिपुर शहर र यसको सभ्यता। सन्तान दर सन्तान। नियमितता पनि र क्रमभंगता पनि। पूँजीवाद, सामन्तवाद, समाजवाद र साम्यवाद– वादहरूको गज्याङ–गुजुङकाबीच स्वार्थवाद। प्रकरणहरू दोहोरिरहेका छन्। कर्णबहादुरले आफ्नो छोराको रजगज देख्न पाएन। ऊ अल्जाइमर रोग लागेर घरैमा थन्किएको छ। वरुणकी आमा छोराको ठूलो रातो गाडी देखेर दंग पर्छिन्। मोटर चढ्न डराउँछिन्। उनलाई कतै जानु पनि छैन। असक्त भएर पनि सन्तुष्ट छिन्।

कान्तिपुर गाथा– केपी बा : शब्दचित्र

कान्तिपुरमा समय यसरी नै बाँकटे हानिरहेको छ। 
शहरमा ठूलो परिवर्तन आएको छ। तर, शहरको संस्कार अहिले पनि पुरानै छ। सभ्यता बदलिन कठिन हुन्छ। पुरानो सभ्यता बदलिन त झनै कठिन हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तामाङ नायिका सुकुमायाको प्रसव पीडा र खुसी : परिवारले दिएको तनाव झेल्न नसकेर डेरा लिएर बसें

आमाका सात जना सन्तानमध्ये म पाँचौं नम्बरकी। छोरीमध्ये कान्छी। मपछि दुई भाइ जन्मे। छोरा नै चाहिन्छ भन्ने मानसिकतामा जकडिएको गाउँ-समाज थियो त्यतिबेला।

डा. प्रकाशबहादुरको कोरोनाकाल अनुभूति– बिरामीको फोन आउँदा कति रात सुत्नै पाइएन

न उनी समयमा खान पाउँथे न त सुत्न नै। कारण– अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारका लागि खटिनुपर्ने अवस्था थियाे।  कोरोनाको दोस्रो लहरमा नेपालगन्ज क्षेत्र महामारीको....

कान्तिपुर गाथा : ‘लुजडाउन’ तिर ‘लकडाउन’

पाँच जनाको परीक्षण गरेर ५० जनाको परीक्षण भएको अनुमान लगाउन थालेपछि देशका मसानघाटहरुमा शवको चाप बढ्छ। यो स्वभाविक हो। निषेधाज्ञाका कारण कान्तिपुर बाहिर जानसक्ने अवस्था....

हिजोका कुरामा अनिल स्थापित : गीत बजाउन त्यहींकै डाइरेक्टर अनि भिजे-आरजेलाई मोडल लिनुपर्ने समय आयो

घरको पहिलो तलामा अनिलका बुबाको काठमाडौंभरिमै चल्तीको ऐना पसल थियो। काठमाडौंभरि मोटरसाइकलको लुकिङ ग्लास फेर्ने त्यही एउटा पसल थियो। टाढा-टाढाबाट मोटरसाइकलको ऐना फेर्ने मानिस त्यो....

ब्याच नम्बर ६९ : चरेस तस्करीमा जोडिएका एभरेष्ट होटलका सञ्चालक लारी आउँदै आएनन्

यस अगाडिका तीन इस्युमा विमानस्थल हुँदै कसरी २ सय ५० किलो चरेस जर्मनी पुग्यो? त्यसमा विमानस्थलमा काम गरिरहेका लोडरको संलग्नता, लक्ष्मी कंसाकार खोज्न जाँदा अपनाएको....