कान्तिपुर गाथा : ‘यो हल्लै हल्लाको देश हो’

कान्तिपुर गाथा : ‘यो हल्लै हल्लाको देश हो’

कवि भूपी शेरचनले गफगाफ र कवितामा यसै भनेका थिएनन्– हल्लाको देश। कविको वाणी कति सत्य हुन्छ।

भूपी काठमाडौंमा जन्मिएका थिएनन्। उनको जन्म भएको थियो मुस्ताङको कुनै गाउँमा। कम्तीमा, मैले उनको गाउँको नाम बिर्सिनु हुँदैन थियो। तर, स्मृतिले धोका दियो। मैले बिर्सिएँ। मलाई क्षमा गर्नु होला।

तर, मैले भूपीको अनुहार र ओज बिर्सिएको छैन। लाजिम्पाटतिर ऊ बस्ने गरेको घर पनि बिर्सेको छैन। भाउजू पनि मेरो सम्झनामा बस्नु भएको छ थुपुक्क। तर, भूपीजस्तो महानतम प्रतिभालाई यति थोरै सम्झिएर पुग्दैन।

हो, हल्लै हल्लाको देश। भूपीले कविता लेख्दाको समयमा शहर कान्तिपुर यति ठूलो थिएन। देश पनि यति ठूलो थिएन। सानो र सुन्दर देश। हल्लै हल्लाको देश। आँखाको नानीजस्तो देश।

अहिले शहर कान्तिपुरको आकार बढेको छ। एक करोड जनताको देश तीन करोडको भएको छ।

टेलिभिजन थिएन पहिले। रेडियो मात्रै थियो। कान्तिपुरमा कालो रंगको, खरायोको कान जस्तो दुईवटा कान भएको, हेर्दै गह्रुँगो एउटा अनौठो भाँडो। वायरलेसको नाम थियो आकाशवाणी।

भूपी शेरचन गाउँमा भएका बेला आकाशवाणीमा कुरा गर्नु पर्याे भने घोक्रो सुकाएर चिच्याउनु पथ्र्यो। त्यसरी नै, जसरी अहिले यु–ट्युबका नायक, सहनायक, प्रतिनायक र खलनायकहरू गर्जिन्छन्।

केही गर्जनहरू प्रस्तुत छन् नमुनाका लागि–

प्रचण्ड कमरेड, ओखर खाने गर्नुहोस्। स्मरणशक्ति बढ्छ।

हालै युट्युबमा भेटिएको एउटा गरमागरम शीर्षक हो यो। कार्यक्रमका प्रस्तोतालाई प्रचण्ड कमरेडले ओखर नखाएकोमा चिन्ता छ।

अनि, अर्को त्यस्तै शीर्षक– केपी ओलीले राजीनामा दिँदै राजाको हातमा देशको चाबी सुम्पिए, भारतले राजालाई साथ दिँदै।

एउटा अर्को शीर्षकमा भरत दाहाल नामका विद्वान् भन्दै थिए, ‘भारतले केपी ओलीको औकात र हैसियत देखाइदियो। सत्ता जोगाउन कोशी बेच्ने तयारी।’

अनि, अर्का हुनुहुन्छ डा. सुरेन्द्र केसी। इतिहासका विद्वान्। उहाँ रिसाउनु भएको छ बेस्सरी । प्रश्न सोध्दै हुनुहुन्छ– के धमलाको निजी हो प्रचण्ड ?

त्यसपछि अलिकति सम्हालिएर दैनिक न्यूज नेपालसँग बोल्नुहुन्छ– अब गृहयुद्धदेखि राष्ट्रपति शासन लागू हुन सक्छ। 

 यो सत्य हो कि यहाँका मानिसले हल्लालाई आफ्नो संस्कार बनाइसकेका छन्।  तर, कान्तिपुर आफैमा हल्लै हल्लाको शहर होइन।

अनि, यही युट्युबमा भेटिनुहुन्छ नेपालका स्वनामधन्य चिकित्सक सुन्दरमणि दीक्षित। उहाँ आक्रामक शैलीमा प्रश्न सोध्नुहुन्छ– प्रचण्ड चितुवाजस्तो। मेरो टाउको चिलाएको छ रे ! के बोलेको हँ ?

प्रचण्ड आफै पनि बोल्दैछन्। ओलीलाई जवाफ दिँदै उनी भन्छन्– हामी तपाईंलाई जोकर नै भन्छौं। के जोकरले राज्यको संस्थासँग नै भाँडाकुटी खेलेर यति ठूलो हंगामा मच्चाउन सक्छन् ?

कुनै तरिकाले प्रचण्डको कुरा पनि ठीक होला।

युट्युबका विविध कार्यक्रमका शीर्षकहरू त यति भर्सटाइल छन् भने कार्यक्रम कति रमाइला होलान्।

कुनैबेला कमल थापाले राजा ज्ञानेन्द्रले पार्टी फुटाएको आरोप लगाएको कुरा समाचारमा आएको थियो। कमल थापाका यी कुरा सुनेका पत्रकार डिल्लीराम खनालले एकदिन देखेछन्, सडकमा कमल थापा कुर्लदै रहेछन्– ‘राजा चाहियो’।

कमल थापाको भाषण सुनेर खनाललाई उनीप्रति दया लागेछ।

 

हल्ला त यो पनि चलेको छ– राजा ज्ञानेन्द्र शाहले भर्खर मुख खोले। गोप्य योजनाहरू बाहिर आयो।

भूपीको पालामा यो देशमा कसले हल्ला मच्चाउँथ्यो ? त्यो त थाहा भएन। त्यतिबेला हल्ला मच्चाउने संयन्त्रहरू थिएनन्। अहिले त टोलका केटाहरू युट्युबमार्फत मिनेट मिनेटमा हल्ला मच्चाउँछन्।

स्मृति ट्युबमा बोल्दै थियो– ओली बा वैशाखमा चुनाव भन्छन्। चुनाव त मंसिरमा पनि गराउँदैनन्।

अर्को भन्दै थियो, प्रधानमन्त्रीले सरकार भंग गर्न नपाउने पनि संसदीय व्यवस्था हुन्छ ?

अर्कोले भन्यो– बाँदरको हातमा नरिवल।

हो, देशलाई हल्लाले हल्लायो होला। शहर हल्ला सुन्छ र गाईजात्रामा त्यसलाई दोहोर्याउँछ। यो सत्य हो कि यहाँका मानिसले हल्लालाई आफ्नो संस्कार बनाइसकेका छन्। युट्युब वर्तमानको संस्कृति बन्दै छ।

तर, कान्तिपुर आफैमा हल्लै हल्लाको शहर भने होइन।

९ माघ, २०७७, १७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।