कान्तिपुर गाथा :  मंगलाचरण

कान्तिपुर गाथा :  मंगलाचरण

उसलाई त्यतिबेला लागेको थियो– यसरी नभागेसम्म क्रान्ति आउँदैन। क्रान्ति नआएसम्म केही पनि बदलिँदैन। 

अहिलेसम्म पनि परिवर्तनको त्यो भूत लागेकोलाग्यै छ। 

थाहा छैन, २००७ सालपछि कति मानिस परिवर्तनको खोजीमा लागे ? त्यो पुस्तापछि अझै कति पुस्ता बीपी, गणेशमान, पुष्पलाल र मनमोहनको नाममा क्रान्तिको खोजीमा दौडिए होलान् ? कसैलाई थाहा छैन।

रमाइलो कुरा, शहर कान्तिपुर जसरी बदलिएको छैन त्यसरी नै यो शहरमा बनेका क्रान्ति र परिवर्तनका मोडेल पनि बदलिएका छैनन्। एक ताका, पन्चायतकालीन शासनमा, कान्तिपुरमा नारा लाग्थ्यो, ‘हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ, हाम्रो भाषा हाम्रो भेष प्राणभन्दा प्यारो छ।’ त्यही कालमा अर्को नारा लाग्थ्यो, ‘प्रजातन्त्र ल्याउनुछ , देशलाई बचाउनुछ।’ 

कत्रो संकीर्णता कि एउटाले भन्थ्यो, ‘हाम्रो राजा हाम्रो देश।’ अर्कोले भन्थ्यो, ‘प्रजातन्त्र ल्याउनुछ, देशलाई बचाउनुछ।’ जनताको नाम लिन कोही चाहँदैनथ्यो। 

कान्तिपुर साँच्चै एउटा सनसनी हो। सानो देशको विशाल राजधानी शहरको स्वाभाविक मान्यता पाएको छ यसले। स्वाभाविक किनभने यो त्यतिबेलाको बिजनेस सेन्टर थियो। 

प्रताप मल्लकै पालामा हनुमानढोकामा १६ भाषाको शिलालेख खडा भइसकेको थियो। शिलालेखमा के लेखिएको थियो ? यसको कुनै अर्थ थिएन। अर्थ यति मात्र थियो, वैभवशाली शहर कान्तिपुरमा देश–दुनियाँका १६ वटा भाषाको ज्ञान भएका मानिसहरूको उपस्थिति थियो। कान्तिपुर विशाल थियो। किनभने त्यतिबेला देशमा नेपालगन्ज थिएन, विराटनगर थिएन। कान्तिपुरको भौगोलिक सीमाले पोखरा, बटौली, दाङ, दोलखा, भोजपुर, ओखलढुंगाजस्ता पहाडी बजारहरू चिनेकै थिएन।

त्यतिबेला कान्तिपुर, पाटन र भादगाउँमा मिथिला देशको सम्मान थियो। जनकपुरकै प्रतिलिपि जस्तो, पोखरीहरूको सहर थियो कान्तिपुर।

देशमा संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्रको स्थापनापछि सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी)ले कान्तिपुरलाई सिंगापुर बनाउने परिकल्पना गरेर कुनै ‘नकाम’ गर्नुभएको थिएन।

इतिहास जसले पनि पढेका छन्। इतिहासको किनारामा बसेर जसले पनि कान्तिपुरको पोजिसनबारे सोचेका छन्, तिनलाई कान्तिपुरको महत्त्व थाहा छ। उतिबेला कान्तिपुर अहिलेको सिंगापुरजस्तै थियो। कान्तिपुर थियो पहाडी साम्राज्यमा समृद्धिको टापु।

मलेसियाको किनारामा रहेको सिंगापुर केही दशाब्दीसम्म निर्वस्त्र थियो। त्यसपछि यो सानो शहर सारा लटपटलाई एकातिर छाडेर समृद्धि कमाउन लाग्यो। कान्तिपुरका लागि त्यो अवस्था जुटेन।

यो शहरका खजमजिएका वस्त्रहरू अलिकति मिलाइदिँदा यो सिंगापुर भइहाल्थ्यो। तर, त्यस्ता मान्छे भेटिएनन्। भेटिएकालाई जेलमा सडाइयो। उनीहरू जेलबाट बाहिर निस्किँदा धेरै ढिलो भइसकेको थियो। किनभने, कान्तिपुरमा समृद्धि थाकका थाक थियो। किनभने, पाटन, भादगाउँ र छेउछाउका सहरको निर्धन अवस्थालाई जिस्क्याउँदै अघि बढेको थियो कान्तिपुर।

  

कान्तिपुरको हात उत्तरको हिमाली साम्राज्य भोट (तिब्बत)सम्म फैलिएको थियो। राज्य विखण्डनको सम्भावना थिएन। अरु कुनै कुराले असर पार्दैनथ्यो कान्तिपुरको अस्तित्व, चेतना र समृद्धिलाई।

स्ट्राटेजिक ! पछिल्लो समयमा कान्तिपुर बनेको छ बहुत स्ट्राटेजिक। राजनीतिमा पनि, सामरिक रणनीतिमा पनि, दक्षिणको छिमेकी भारत र उत्तरको छिमेकी चीनसँगको सम्बन्धमा पनि। 

देशमा अहिले चलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को राजनीतिमा भर्खरै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले केही यस्तै कुरा बताए कि– उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यक्तित्व सुधारका लागि धुँदाधुँदा ‘डोभ’ ब्राण्डको एक ब्रिफकेस साबुन र स्याम्पो खर्च गरे। तर पनि प्रचण्डको सफाइ भएन। सुधार त न आएकै हो। 

प्रधानमन्त्री ओली आफैले यो कुरा राम्ररी ‘रियलाइज’ गरेका छन् र त उनी स्पष्ट शब्दमा कुर्लिइ कुर्लिइ भन्छन्, ‘संसद् पुनस्र्थापना हुँदैन। म संसद्को ६५ प्रतिशत भोट जितेको बहुमतप्राप्त प्रधानमन्त्री। मैले विघटन गरेपछि सकियो। मेरो निर्णयलाई सर्वोच्च अदालतले उल्टाउन सक्दैन।’ 

प्रधानमन्त्री ओलीको भाषण सुनेका र भाषा बुझेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प्रधानमन्त्रीको कुरा सुनेर के सोचिरहेका होलान्?

जनता चाहन्छन्– संसद् विघटनको मामिलामा संसद्को मर्यादा राखियोस् र संविधानको अक्षरशःपालना गरियोस्।  प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेस भन्छ– तपाईंले संसद् पुनर्स्थापित गरे पनि ठीक नगरे पनि ठीक। हामीलाई तपाईंको निर्णय जे आए पनि ठीक । 

संस्थापनभित्रको प्रतिपक्ष संसद् विघटन हुनै नसक्ने बताउँछ। उता प्रधानमन्त्री ओलीको भाव र भाषा आदेशात्मक छ। उनको नियत निश्चित छ भन्ने थाहा छ प्रधानन्यायाधीशलाई। 

 

यसैलाई भनेको हो स्ट्राटेजिक। समयक्रमले कान्तिपुर रणनीतिक बनेको छ। यसका हरेक पक्षमा रणनीति छ। कोरोना भाइरसका कारण बेरोजगार बन्न पुगेका सामान्य नेपाली जनतालाई खुला मन्चमा दालभात खुवाउनु एउटा स्ट्रेटेजी थियो।

 संघीय सरकारले स्थानीय सरकार प्रयोग गरेर त्यसलाई बन्द गरायो। कोरोना होस् कि नहोस्, मानिसले बुझन थालेका छन्। हरेक रणनीतिमा कुनै न कुनै शक्तिको उपस्थिति छ। चिनियाँ कम्युनिस्ट पार्टीद्वारा निर्माण गरिएका भूमिहीनहरूको कथा समेटिएको सुप्रसिद्ध चिनियाँ ओपेरा प्रदर्शनको सम्भावना बोकेको छ कान्तिपुर शहरले। त्यसरी नै बलिउडका लोकप्रिय सिनेमाहरूको थप लोकप्रियताका सम्भावना त्यत्तिकै बोकेको छ। 

मानवीय भावना जागृत गर्ने गीतहरू सुनेर कान्तिपुरेहरू अभिभूत हुन्छन्– जानेवालों जरा मूडकर देखो मुझे। एक इन्सान हूँ मैं तुम्हारे तरह ! 

र त, यो कान्तिपुर हो। जसले सधैं आफूलाई व्यंग्य हान्न जानेको छ। आफैमाथि रोचक हाँसो हाँस्न जानेको छ। कान्तिपुर अर्थात् यो समृद्धिको टापु, यसको आफ्नै आकार अब सानो हुँदै गएको छ। टापुको समृद्धि गरिबीको घेराबन्दीमा पर्दै गएको छ। 
 

१७ पुस, २०७७, १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।