उकेरा काेलम

कान्तिपुर गाथा : साँघुरिँदो शहरका सुकुमवासी 

किशोर नेपाल


यतिबेला कान्तिपुर फसेको छ राजनीतिक प्रकोप र प्राकृतिक महाव्याधिको लठारोमा। राजनीतिका बड्डाहरू झगडा गर्दै छन्। प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली सांसद् रहेनन्। उनको अहिलेको प्रधानमन्त्रित्व अवैध हो भनेर औंला ठड्याउन सक्ने कोही निस्केका छैनन्।

प्रधानमन्त्री ओलीचाहिँ आफ्ना विरोधीको क्यारिकेचर उतार्नमा लागेका छन्। कहिले माधव नेपालको, कहिले झलनाथ खनालको। प्रधानमन्त्री ओलीको एकजना समर्थक भन्दै थियो, ‘बाको अभिनय दाम्मी थियो। मलाई उनको अभिनय कता कता चार्ली च्याप्लिनको अभिनयजस्तै लाग्यो। काफी दम है बुड्डेमें।’

उसको कुरा सुनेर मलाई रिंगटा लाग्यो। सोचें– यो केटोले बिनसित्ति किन चार्ली च्याप्लिनको अपमान गरेको होला ? तर, म केही बोलिनँ। बोलेर पो गर्नु के ? पाखुरीमा बल भएको भए जम्माएर बजाइदिँदा हुनेथियो। म जस्ता निर्बल, राजनीतिक प्रकोपको यो समयमा, आफूलाई राजनीतिक कार्यकर्ता भन्नेसँग तर्किएर हिँडेकै वेश हुन्छ। 

डराउनुपर्ने ठाउँमा डराइएन भने कान्तिपुर शहरमा बाँच्न कठिन हुन्छ।

एकातिर राजनीतिक प्रकोपले मानिसहरू दिक्क भएका छन् भने अर्कोतिर कोरोना भाइरस (कोभिड–१९) को हुण्डरीसँग डराएका छन् मानिस। कान्तिपुर शहरको जनसंख्या दिन प्रतिदिन बढ्दैछ। भन्छन् नि, जहाँ भीड त्यहीँ कोरोना। मानिस पनि कति कति । दर्जनौं हाइरेज्ड भवन, अनगिन्ती कोठाहरू र त्यत्तिकै धेरै संख्यामा बुइँगल र छिँडीले नपुगेर मानिसहरू मसान, मन्दिर र पोखरी मिचेर बस्न थालेका छन्। 

स–साना मन्दिर र ढुंगेधाराहरूले कतिपय घरहरूको भित्री खण्डको शोभा बढाएका छन्। पहिले–पहिलेका मानिसहरू खाली चौर, असारे पोखरी र सीमे–भूमे देवताका स–साना मन्दिरतिर आँखा लगाउँदैनथे। त्यतातिर गयो भने भूत–प्रेतले लखेट्छ भन्थे। जानेर वा नजानेर भूत–प्रेतको कुरा गरेपछि मानिसहरू पनि डराउँथे। अहिले कान्तिपुर र छेउछाउका गाउँ–टोलमा खाली ठाउँ देख्नै हुँदैन। कोदालो चलिहाल्छ। मानिसको जातले भूतको जातलाई विस्थापित गरेको छ।

हो त, शहर वरिपरि घरका खातैखात देखिन्छन्। सडकको छेउमा, बागमती, बिष्णुमती, रुद्रमती, इच्छामती जस्ता नदीका किनारमा, ठूला–साना पोखरीहरूको डिलमा  र मन्दिरका करेसाबारीमा जताततै देखिन्छन्, बाक्ला कागजले बनेका घरका खात। यसलाई भन्छन्– सुकुमवासी बस्ती। यी बस्तीलाई अन्यत्र कतै सारेर व्यवस्थित बनाउन अहिलेसम्मका कुनै पनि सरकारले सकेका छैनन्। पहिलो त, सुकुमवासीहरू आफूले कीलो गाडेको ठाउँ छाडेर कुनै हालतमा पनि अन्यत्र जान चाहँदैनन्। 

हातमा रहेको गुमाएपछि सान गरेर पाइँदैन। सरकार त सरकारै हो। त्यो के भन्छ, भन्छ। सरकारको के भरोसा भो र ? यस्ता कुरामा सरकारभन्दा सुकुमवासी सिपालु छन्। बानेश्वरतिर, बागमती किनारमा बाक्लो कागजको भित्ता र कालो प्लास्टिकको छाना हालेर बसेकी मनमाया भन्छिन्– सरकारले दिने नै हो भने हामीलाई खुरुक्क यही ठाउँको लालपुर्जा दिए भई हाल्यो । हामी यहीँ दुःखजिलो गरेर बस्छौं। यो त कुन्नि के जाति बुहारी बुधबार बार्छे भनेजस्तो भई गो नि।

सुकुमवासी बस्तीमा दुःखजिलो गरेर बस्ने मनमाया मात्रै होइनन्, अरु पनि धेरै छन् जसको पेशा नै हो दुःखजिलो गर्नु। ती अरु धेरैमा सुकुमवासी मात्र छैनन् दुःखजिलो नगर्ने हुकमवासी पनि छन्। हुकुमवासी अर्थात् राजाको विशेष जाहेरी विभागमा बिन्तीपत्र पठाएर सुकुमवासीमा नाम दर्ता गराउन सफल व्यक्तिहरू।

कान्तिपुर गाथा १ :  मंगलाचरण

धेरै सुकुमवासीले २०४० सालभन्दा अघि देखि नै नदी किनारालाई आवाद गरेका छन्। त्यतिबेलाको पन्चायत व्यवस्थामा नगर पन्चायत कान्तिपुर मात्रै थियो। बाँकी सबै गाउँ पन्चायत हुन्थे। एउटा गाउँ पन्चायतमा एउटा प्रधानपन्च हुन्थ्यो। त्यतिखेरको कान्तिपुर अहिलेको जस्तो शहरै शहरले भरिएको थिएन। शहर कान्तिपुर मात्रै थियो। बाँकी सबै गाउँ। त्यसबेला पर्ती जग्गाको व्यापार खुब फैलियो। के के भयो के के। सुकुमवासीको नाममा हुकुमवासीहरूले पर्ती जग्गामा कब्जा जमाए। वनकालीमा भैरेदाइको घर पछाडिको पोखरी मासियो। लामपोखरी मासियो। चक्रपथको निर्माणले पिंगलादेवी सडकमुनि स्थापित भइन्। पिंगलास्थानको मसान मासियो। सम्झनाहरू धमिलिँदै गएका छन्। बचेका सम्झनाले मन अमिलो पार्ने गरेको छ। 

सुकुमवासी बस्तीका अहिलेका तस्बिरहरू धमिला छैनन्। बागमती किनार ओगटेर बसेका बस्तीका अधिकांश छाप्राहरूमा एयरकण्डिसन जडिएको पनि भेट्न सकिन्छ। छाप्राभित्र ठूला स्क्रिन भएका स्मार्ट टेलिभिजन, रेफ्रिजेरेटर, भ्याकुम क्लिनरलगायत आधुनिक जीवनका ‘स्टाटस सिम्बोल’ मानिने घरेलु उपकरणको सुविधा भोग गर्नेको कमी छैन। राजनीतिमा उनीहरूको पहुँच र पकड निकै राम्रो छ। सबै पार्टीका प्रतिनिधि पात्रहरूले बस्तीको रखवाली गरेका छन्। चुनावको बेलामा एमाले, कांग्रेस र माओवादी पार्टीहरूका जिल्ला तहसम्मका स्थानीय नेताहरूको चलखेल निकै बढ्ने गर्छ। बस्तीमा रमझमका लागि आउने राजनीतिक कार्यकर्ताको लाम निकै लामो हुन्छ। चुनावमा चन्दा सबैलाई चाहिन्छ। गएको चुनावमा गोले तामाङ एक्लैले माओवादीलाई १० लाख रूपैयाँ चन्दा दिएको थियो। त्यत्रो चन्दा पाएर पनि माओवादी चुनाव हारेको थियो। कांग्रेस र एमालेले कसैबाट चन्दा पाएनन्। उनीहरूको हिस्सामा रमझम मात्रै परेको थियो।

हातमा रहेको गुमाएपछि सान गरेर पाइँदैन। सरकार त सरकारै हो। त्यो के भन्छ, भन्छ। सरकारको के भरोसा भो र ? यस्ता कुरामा सरकारभन्दा सुकुमवासी सिपालु छन्।

 

रमझमको आयोजना गरेर नेता रिझाउने काममा रन्जनराम अवाले खप्पिस मानिन्थ्यो। रन्जनले गरेको रमझमको आयोजनामा नेताहरूले मस्तै पिउने गर्थे। बस्तीको छेउमा रन्जनको इँटाभट्टा कारखाना थियो। त्यही भट्टा कुर्नका लागि उसले यो छाप्रो किनेको थियो सानाबाजेसँग। नेताहरू अक्सर राति ११ बजेसम्म चुस्की लगाउँथे। चुनावमा आफ्नो पार्टीको उम्मेदवार जित्ने कुरामा आश्वस्त भएर लडखडाउँदै बिदा हुने गर्थे। बस्तीमा अहिले पनि त्यो वैभव जारी छ।

सुकुमवासी बस्तीका अधिकांश नागरिकले मुखमा मास्क लगाएका छैनन्। यो बस्तीमा कोरोना पस्न सक्दैन भन्छ पीयूषराज। यो कुरा ऊ कसरी भन्छ त्यो ऊ नै जानोस्। बस्तीका वीरबहादुरलाई कोरोना भएर केएमसी लगेको। पैसा त कति लाग्यो लाग्यो। पैसाको खोलै बग्यो। सात लाख ५० हजार रूपैयाँ त वीरबहादुरकी श्रीमतीले आफ्नै हातले खर्च गरेकी रे। अझ भेन्टिलेटरमा राख्नुपरेको भए कति लाग्थ्यो लाग्थ्यो !

प्रकृतिलाई विस्थापित गरेपछि महाव्याधि नआएर के आउँछ ? सत्ताले अहंकार बढाउँछ, व्याधिले मानिसलाई कमजोर बनाउँछ। सडकमा हरेक मानिस पिठ्यूँमा कोरोना बोकेर हिँडिरहेको छ। सन्त्रास बागमती विष्णुमतीको सुकुमवासी बस्तीमा जति बाक्लो छ त्योभन्दा बाक्लो बहुतले भवनहरूमा छ। मानिस बोल्न चाहान्छ। उसको आवाजलाई केले छेक्छ, छेक्छ। देशका प्रधानमन्त्री आफ्नै कारणले असंवैधानिक बनेका छन्। उनी आफ्ना विरोधी नेताहरूको क्यारिकेचर गर्दै दिन बिताउँछन्। कार्यकर्ताहरू उनलाई चार्ली च्याप्लिनसँग तुलना गरेर मख्ख पर्छन्। यस्तै छ, यस्तै छ !

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तामाङ नायिका सुकुमायाको प्रसव पीडा र खुसी : परिवारले दिएको तनाव झेल्न नसकेर डेरा लिएर बसें

आमाका सात जना सन्तानमध्ये म पाँचौं नम्बरकी। छोरीमध्ये कान्छी। मपछि दुई भाइ जन्मे। छोरा नै चाहिन्छ भन्ने मानसिकतामा जकडिएको गाउँ-समाज थियो त्यतिबेला।

डा. प्रकाशबहादुरको कोरोनाकाल अनुभूति– बिरामीको फोन आउँदा कति रात सुत्नै पाइएन

न उनी समयमा खान पाउँथे न त सुत्न नै। कारण– अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारका लागि खटिनुपर्ने अवस्था थियाे।  कोरोनाको दोस्रो लहरमा नेपालगन्ज क्षेत्र महामारीको....

कान्तिपुर गाथा : ‘लुजडाउन’ तिर ‘लकडाउन’

पाँच जनाको परीक्षण गरेर ५० जनाको परीक्षण भएको अनुमान लगाउन थालेपछि देशका मसानघाटहरुमा शवको चाप बढ्छ। यो स्वभाविक हो। निषेधाज्ञाका कारण कान्तिपुर बाहिर जानसक्ने अवस्था....

हिजोका कुरामा अनिल स्थापित : गीत बजाउन त्यहींकै डाइरेक्टर अनि भिजे-आरजेलाई मोडल लिनुपर्ने समय आयो

घरको पहिलो तलामा अनिलका बुबाको काठमाडौंभरिमै चल्तीको ऐना पसल थियो। काठमाडौंभरि मोटरसाइकलको लुकिङ ग्लास फेर्ने त्यही एउटा पसल थियो। टाढा-टाढाबाट मोटरसाइकलको ऐना फेर्ने मानिस त्यो....

ब्याच नम्बर ६९ : चरेस तस्करीमा जोडिएका एभरेष्ट होटलका सञ्चालक लारी आउँदै आएनन्

यस अगाडिका तीन इस्युमा विमानस्थल हुँदै कसरी २ सय ५० किलो चरेस जर्मनी पुग्यो? त्यसमा विमानस्थलमा काम गरिरहेका लोडरको संलग्नता, लक्ष्मी कंसाकार खोज्न जाँदा अपनाएको....