कान्तिपुर गाथा– केपी बा : शब्दचित्र

कान्तिपुर गाथा– केपी बा : शब्दचित्र

भन्नु पर्दैन, गाथाका स्रोता र पाठक बाबारे सकेसम्म बढी खोजीनीति गर्छन्। को बा त ? बा भनेपछि बा। केपी बा भने पनि हुन्छ, ओली बा भने पनि हुन्छ। आखिर, उनी देशका ठूला हस्ती हुन्। संघीय लोकतान्त्रिक गणतन्त्रका जननिर्वाचित प्रधानमन्त्री।

उनी एक प्रतिभाशाली व्यक्तित्व हुन्। उनमा धेरै कुराको ज्ञान छ। अहिले भर्खर उनले भनेका छन्, तीन महिनाभित्र सबै नेपाली जनताले कोरोना भाइरसको भ्याक्सिन लगाइसक्ने छन्। भारत सरकारले १० लाख डोज भ्याक्सिन उपहार दिएपछि नेपाली जनताले भ्याक्सिन लगाउन पाएका छन्। सरकारले भ्याक्सिन खरिद गर्न चाहिने पैसाको जोहो गरिसकेको छ। अब हाम्रो देश नेपालमा करोडौं डोज भ्याक्सिन आउनेछ हवाईमार्गबाट। तीन महिनाको समयावधि तोकेका छन् बाले। कसैले पनि उनको प्रतिभालाई ‘अन्डरइस्टिमेट’ गर्न मिल्दैन। बाको स्मरण शक्ति तीक्ष्ण छ।

पहिलोपल्ट प्रधानमन्त्री हुँदा बाले पदीय दायित्वको खाता खोलेको पहिलो फाइल थियो– देशभरिका तुइनको विस्थापन। ठूला नदी र साना खोला–नाला जतासुकै देखिने, एउटै तारमा तुर्लुंग झुन्डिएका तुइनहरू मानव जीवनका लागि अत्यन्तै खतरनाक थिए। यो कुरा बुझेर नै बाले तुइन विस्थापनलाई उच्च प्राथमिकता दिएका थिए। बालाई यो अवस्थाको कल्पना मात्रैले पनि अत्यन्त दुःखी बनायो। नदी तर्दातर्दै कति बेला डोरी फुस्किने हो र मानिस दुर्घटनामा पर्ने हो ! 

केपी बाले प्रधानमन्त्रीका रूपमा ती तुइन विस्थापित गर्न फाइल सदर गरेपछि राजमार्ग–लोकमार्ग छेउछाउका तुइनहरू विस्थापित भए। तुइनको ठाउँमा कतै–कतै झोलुंगे पुलको व्यवस्था भएको पनि देखियो। त्यसपछि तुइन बिस्तारै बिस्तारै ओझेलमा पर्याे। यो अस्वाभाविक थिएन। डाँडा–काँडा, नदी–नालाको यो देशमा कताकता तुइन हल्लिएका छन् ? थाहा पाउनु सजिलो थिएन। थाहा पाउँदापाउँदै प्रधानमन्त्री पदमा बाको पहिलो इनिङ सकियो।

बा कुर्सीमा सजिलोसित बस्न पनि पाएका थिएनन्, प्रचण्ड आइहाले कुर्सी सम्हाल्न। उनका पछिपछि कांग्रेसी थिए। यो देखेर बा मर्माहत भए। उनलाई आफ्नो क्याबिनेटमा मन्त्री बनेर बसेका पार्टीले यसरी चटक्क छोडलान् भन्ने लागेको थिएन। बाका लागि त्यतिखेरको परिस्थिति अहिलेको जस्तो सजिलो पनि थिएन। स्थानीय चुनावपछि माओवादी र कांग्रेसको लगनगाँठो छिन्यो। बा र प्रचण्ड मिले। बाले एमाले त्यागे, प्रचण्डले माओवादी छाडे। नयाँ पार्टी बन्यो, नेपाल कम्युनिस्ट पार्टी (ने क पा)। बा र प्रचण्डको मेलले चुनावमा नेकपाले झन्डै दुई तिहाइ हान्यो। कांग्रेस जिल्लाराम भयो।

बा र प्रचण्ड मिले पनि बाको मनमा तुस थियो– त्यत्रो नाकावन्दीको सामना गरेको, रेलदेखि पानीजहाजसम्मको त्यत्रो सपना देखाएको मानिसकाविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउने ? प्रचण्डसँग एकता भएर गला मिलिसकेपछि बामा आएको यो चिन्तनले उनलाई लखेटिरह्यो। अन्त्यमा, पुस ५ गते बाले बदला लिए। प्रतिनिधिसभा पनि भंग भयो। नयाँ चुनावको घोषणा पनि भयो। बाको मनोविज्ञान बुझ्न कठिन छ। बा जे देखिन्छन्, त्यो होइनन्। उनी नेता बढी हुन कि अभिनेता ? यो पनि खोजीकै विषय छ।

प्रचण्ड–नेपाल समूहको आलोचना गर्दा उनी खोइरो नै खन्छन्। हँसाएर होस् वा रुवाएर, जसरी भए पनि विरोधीको दोहोलो काढ्नु उनको मुख्य उद्देश्य देखिन्छ। बा यस्ता कुरामा अभिनयको प्रयोग गर्न निपुण छन्।

अमेरिकी विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी पत्रकार तथा सामाजिक अभियन्ता रुचि श्रेष्ठ केही समयदेखि बाका राजनीतिक गतिविधि नियालिरहेकी छन्। उनको विचारमा, बाका सार्वजनिक गतिविधिले ‘सामाजिक मर्यादा र नियमको सीमा अतिक्रमण’ गरेका छन्। बा मानिसलाई हेप्ने, तर्साउने, चातुर्य प्रयोग गरेर धम्क्याउने कलामा माहिर छन्। उनी जिद्दी गरेर सबै कुरा जित्न र अर्काको विचारलाई थिच्न चाहन्छन्। उनको यो स्वभावले मानिसहरूलाई दिक्क लगाएको छ।

उनको बाल्यकाल उपेक्षित थियो भन्ने उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्। मनोविश्लेषणका आधारमा भन्दा बाको अहिलेको यो व्यवहार उनको उपेक्षित बाल्यकालको परिणाम हुनुपर्छ। उनले आफूलाई पीडितको अवस्थाबाट निकाल्न पीडकको भूमिकामा परिकल्पना गरे। यही मनोदशाका कारणले हो बाको मनमा सामन्तवादी शैलीले नै शक्तिशाली बनाउँछ भन्ने मनोभावना पलाएको।

सामन्तवादीहरूको जीवनशैलीले निकै उन्मादी बनाएको छ बालाई। उनका लागि सामन्तवाद शक्तिको प्रतीक बनेको छ। 

रुचिका अनुसार, बा राजनीतिमा रहेको सामन्तवादी प्रवृत्तिका सिर्जना हुन्। मानिसहरू उनका कुरा सुन्छन्। यस्ता कुरा सुन्न उनीहरू खप्पिस भएका छन्। नेतृत्वमा जहिले पनि उद्देश्यपूर्ण अनुराग हुनुपर्छ। बा समग्र अवस्थालाई तार्किक आधारमा प्रस्तुत गर्न सक्षम छैनन्। उनी भावनात्मक कुराहरूको प्रयोग गरेर बाजी जित्न खोज्छन्। तर, भावनाको प्रयोग गर्दा पनि तर्कको बलियो आधार हुनुपर्छ। 

अहिले बा उच्चासनमा छन्। यो उनको तेस्रो इनिङ हो। दोस्रो इनिङको दुई वर्ष दुई तिहाइ मतको समर्थनमा आनन्दले बिताएपछि बालाई के लहड चलेर हो, प्रतिनिधिसभा भंग गरेर वैशाखको दोस्रो पक्षमा नयाँ चुनावको घोषणा गर्न सिफारिस गरे। बाको यो काम कसैले मन पराएन। तर, बा त बा नै भए। कसैले मन पराए पनि के, मन नपराए पनि के !

बा त तकियामा टाउको राख्यो कि सपना देख्न थालिहाल्छन्। बाले आफ्नो पहिलो कार्यकालमा नै नेपाली जनताको घरघरमा रहेको ग्याँसको चुल्होमा सोझै पाइपलाइन जोडिदिने योजना बनाएका हुन्। योजना अनुसार, कतिपय किसानका घरमा पाइपलाइन जोडिएको पनि हो। तर, गाई–भैंसीले ठूलो भ्रष्टाचार गरे।

वैधानिक हिसाबले उनी प्रधानमन्त्री बनिरहन मिल्ने हो कि होइन त्यो दैवले नै जानुन्। उनी तेस्रो इनिङमा प्रतिनिधिसभा नभएको अवस्थामा प्रधानमन्त्री छन्। उनलाई संविधान, कानुन, नियम केहीले छुँदैन भन्ने उनको तर्क छ। उनी अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले बनाएका प्रधानमन्त्री हुन्, जुन प्रतिनिधिसभाको सदस्य भएको नाताले उनी प्रधानमन्त्री भएका थिए त्यो प्रतिनिधिसभा अहिले संवैधानिक इजलासमा पसारो परेको छ। मर्ने हो कि बाँच्ने हो, ठेगान छैन। केपी बालाई त्यसको मतलब पनि छैन।

केपी बा सदावहार पुलकित छन्। आल्हादित छन्। आनन्दविभोर छन्। भावोत्कर्षमा छन्। उनलाई थाहा छ– अदालतमा उनको हार हुँदैन, जे हुन्छ त्यो जीतै जीत हुन्छ। बिश्वासपात्र मन्त्रीहरूले भनेका छन्– पहिले नै सेटिङ सबै मिलाइएको छ। वैशाखमा चुनाव हुने कुरामा बालाई कुनै शंका छैन। उनी ढुक्क छन्। निश्चिन्त छन्। वैशाखमा चुनाव गराउने सर्तमा नै निर्वाचन आयोगको गठन–संगठन गरिएको चर्चा उसै बेला चलेको हो। हावा नचली पात नहल्लने चलन यहाँ पनि उत्तिकै छ। वैशाखको चुनावमा उनले दुई तिहाइभन्दा बढी मत ल्याउनेमा उनी विश्वस्त छन्। 

जेलमा बस्दा अरु बन्दीजस्तै केपी बा पनि रेडियो नेपालबाट नियमित प्रसारित हुने समाचार सुन्थे। त्यति बेलाका समाचारहरूमा एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका देश देशावरमा चुनाव र जनमत संग्रह भएको समाचार धेरै हुन्थे। ती चुनाव र जनमत संग्रहमा सरकार जसको खटनमा छ, उसैले ८०–९० प्रतिशत मत ल्याएर विजय प्राप्त गर्थयाे। यहाँ पनि त्यस्तै हो। केपी बाले जनताको नाडी छामेका छन्। जनता उनको पक्षमा छन्।

जनताले उनका सबै कुरा बुझेका छन्। सम्झिएका छन्। धेरै छन् बाका सपनाहरू। नेपाली जनतालाई थाहा छ देशका लागि यति महान सपना देख्ने पहिलो नेता केपी बा नै हुन्। सपना देखे पो योजना बन्छ। सपनै नदेखेपछि केही बन्दैन। अहिलेसम्म देश नबनेको कारण सपना देख्ने नेता नभएर हो। बा त तकियामा टाउको राख्यो कि सपना देख्न थालिहाल्छन्। बाले आफ्नो पहिलो कार्यकालमा नै नेपाली जनताको घरघरमा रहेको ग्याँसको चुल्होमा सोझै पाइपलाइन जोडिदिने योजना बनाएका हुन्। योजना अनुसार, कतिपय किसानका घरमा पाइपलाइन जोडिएको पनि हो। तर, गाई–भैंसीले ठूलो भ्रष्टाचार गरे। ग्याँस उत्पादनमा असहजता देखापरेकाले सरकार त्यसमाथि विचार गर्दै थियो कि सरकार नै ढल्यो। 

केरुङबाट कान्तिपुरसम्म र कान्तिपुरबाट लुम्बिनी–पोखरा हुँदै बाग्लुङसम्मै चुच्चे रेल चलाउने त सम्झौता नै छ। अन्तर्राष्ट्रिय विमान सेवाहरूको सोझो उडानबाट निजगढ विमानस्थल, त्यसपछि एक घन्टाको फास्ट ट्रयाक यात्रापछि, अलकापुरी, कान्तिपुरी नगरी !
 

१६ माघ, २०७७, १४:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।